सोमबार, असोज १०, २०७९
कसीमा त्रिवि-७

परीक्षा तालिका आउँदादेखि नतिजा पाउँदासम्म विद्यार्थीलाई सास्ती

कौशल काफ्ले  |  काठमाडौं, आइतबार, भदौ २६, २०७९

कौशल काफ्ले

कौशल काफ्ले

आइतबार, भदौ २६, २०७९, काठमाडौं

नेपाल समय
बल्खुस्थित त्रिवि परीक्षा नियन्त्रण कार्यालयमा विद्यार्थीको घुइँचो।

काठमाडौं– त्रिभुवन विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीले पढाइमात्र नभएर परीक्षाको विषयमा पनि ठूलै सास्ती बेहोर्नुपर्छ। परीक्षा तालिका सार्वजनिक हुँदादेखि नतिजा सार्वजनिक हुँदासम्म विद्यार्थीले दुःख पाइरहन्छन्। त्रिविको शिक्षण सिकाइ र पढाइको गुणस्तरलाई लिएर निरन्तर प्रश्न उठिरहे पनि त्यो भन्दा धेरै परीक्षा प्रणालीलाई लिएर उठ्ने गर्छ।

परीक्षाको तालिका सार्वजनिक भएपछि नै विद्यार्थीले सास्ती झेल्न थाल्छन्। बीचमा तालिका हेरफेर हुन सक्ने, परीक्षा केन्द्र बदलिन सक्ने जस्ता कुराले विद्यार्थीमा अलमल सिर्जना गर्छ। परीक्षा केन्द्रमा पुगेपछि पनि पर्याप्त ‘सिट’ उपलब्ध नहुने, मिलाएर बस्नुपर्ने बाध्यता र कच्चा डेस्क–बेन्चले विद्यार्थीलाई असहज महसुस गराउँछ। अमर्यादित र विना तालिम खटाइएका परीक्षा निरीक्षक (गार्ड)का कारण थप सास्ती झेल्न विद्यार्थी विवश छन्।

अक्सर विद्यार्थीलाई सहजीकरण गर्न र एकअर्कालाई ‘चिट चोर्न’ नदिने उद्देश्यले खटाइएका गार्डको अनावश्यक हप्कीदप्कीले वाक्क बनाउने गुनासो विद्यार्थीहरुले गर्ने गरेका छन्। जस्तो– भर्खरै सम्पन्न स्नातक दोस्रो वर्षको परीक्षामा देखिएका केही घटना हेरौं। चाबहिल चुच्चेपाटीको लुम्बिनी कलेजमा पशुपति बहुमुखी क्याम्पस, जया मल्टिपल क्याम्पसलगायतका  विद्यार्थीको केन्द्र परेको थियो। उक्त परीक्षा केन्द्रमा सुरुको दुई दिन पर्याप्त ‘सिट’ अभावले सास्ती झेल्नुपरेको विद्यार्थी सुनाउँछन्।  

परीक्षाको तालिका सार्वजनिक भएपछि नै त्रिभुवन विश्वविद्यालयका विद्यार्थीले सास्ती झेल्न थाल्छन्। बीचमा तालिका हेरफेर हुन सक्ने, परीक्षा केन्द्र बदलिन सक्ने जस्ता कुराले विद्यार्थीमा अलमल सिर्जना गर्छ। 

परीक्षा सुरु हुने समय भइसक्दा पनि ‘सिट प्लान’को काम सकिएको थिएन। कलेजले गरिदिएको करिब १० मिनेटको अलमलले विद्यार्थीहरु आत्तिएको पाइन्थ्यो। यद्यपि, अन्त्यमा उक्त क्याम्पसले व्यवस्थापन त गर्यो। तर, यस विषयमा प्रश्न गर्दा त्यहाँ कार्यरत एकजना शिक्षकले त्रिविको कमजोरी औँल्याए। उनले भने, ‘हाम्रोमा जबरजस्ती केन्द्र पारिदिन्छ। क्षमताभन्दा विद्यार्थी पठाउनु त उसको दोष हो नि। यतिमात्र क्षमता छ भन्दाभन्दै केन्द्र थोपरिदिएपछि कसरी मिलाउनु?’

यसरी अलमलिएका विद्यार्थीलाई बस्ने स्थल त असहज हुने खाले थियो नै, त्यो भन्दा असहज थियो– गार्डहरुको व्यवहार। सहजीकरण गर्न बसेका गार्डहरु रुखो र अपरिपक्व देखिन्थे। जब विद्यार्थीले कुनै प्रश्न बुझिएन भनेर प्रश्न गर्थे– ठाडो र अमर्यादित जवाफ उनीहरुले दिइरहेको सुनिन्थ्यो। 

‘गार्ड नै भर्खरका केटाकेटी (स्नातक सुरु गर्दै गरेका) खटाएर पो हो कि, यो बुझिएन भन्दा ‘मैले बनाएको हो र? घरमा पढ्ने बेला कता ध्यान गा’थ्यो’ जस्ता ठाडो भाषामा जवाफ फर्काउनुहुन्छ। परीक्षा नियन्त्रक भन्दा बढी शासक भएजस्तो गर्नुहुन्थ्यो,’ परीक्षामा सहभागी विश्णु जोशीले भने।

प्रश्नपत्रको त्रुटिले पनि सास्ती
परीक्षामा अनेक सास्ती बेहोर्न बाध्य विद्यार्थीले त्रिविको प्रश्नपत्रका कारण पनि सास्ती पाउँछन्। गएको स्नातक दोस्रो वर्षकै परीक्षामा पहिलो दिनको प्रश्नपत्रमै त्रुटि पाइएको थियो। नेपाली विषयको प्रश्नपत्रको पहिलो नम्बरमै त्रुटि थियो। अनुच्छेदलाई आधार मानेर उत्तर लेख्नु भनी सोधिएको प्रश्नमा अनुच्छेद भने थिएन। र, त्यसबापतको नम्बर सित्तै उपलब्ध गराउने भन्दै त्रिविले टार्यो।

स्नातक दोस्रो वर्षको नेपालीको प्रश्नपत्र त्रिविका लागि सामान्य त्रुटि हो। त्रुटिले भरिएको त्रिविको परीक्षामा हुबहु प्रश्नपत्र दोहोरिने वा अर्को विषयको प्रश्न अर्कैमा सोधिनेसम्मका गल्ती हुन्छन्। 

पछिल्लो समय त्रिविको बीबीए छैटौं सेमेस्टरको प्रश्नपत्र एउटा प्राइभेट कलेजसँग हुबहु मिल्न गएको पाइएको थियो। व्यवस्थापन संकायतर्फको ‘एमजीटी २०३’ अर्गनाइजेसन बिहेवियर विषयको प्रश्नपत्र मोडर्न नेपाल कलेजको ‘प्रि–बोर्ड’ परीक्षाको प्रश्नपत्रसँग हुबहु मिल्न गएको थियो।

प्रश्नपत्र हुबहु मिलेको पाएपछि त्रिविले असार २२ मा लिएको बीबीए छैटौं सेमेस्टरको सो विषयको परीक्षा रद्द गर्यो। यस विषयको परीक्षा साउन १ गते हुने त्रिवि परीक्षा नियन्त्रण महाशाखाले जानकारी गराएर परीक्षा रद्द गरिएको थियो। विश्वविद्यालयले गरेको बदमासीको सजाय विद्यार्थीहरुलाई दिन लागिएको भन्दै विद्यार्थीहरुले आपत्ति जनाएका थिए।

स्नातक दोस्रो वर्षको नेपालीको प्रश्नपत्र त्रिविका लागि सामान्य त्रुटि हो। त्रुटिले भरिएको त्रिविको परीक्षामा हुबहु प्रश्नपत्र दोहोरिने वा अर्को विषयको प्रश्न अर्कैमा सोधिनेसम्मका गल्ती हुन्छन्। 

त्यसपछि पनि त्रिभुवन विश्वविद्यालयको परीक्षामा एकपछि अर्को लापरबाहीका शृंखला थपिँदै गए। बीबीए छैटौँ सेमेस्टरअन्तर्गतकै अर्को परीक्षामा पनि त्रुटि पाइयो। त्रिविले अघिल्लो सेमेस्टरमा सोसियोलोजीमा सोधिएको प्रश्न छैटौँ सेमेस्टरमा दोहोर्याएको थियो। 

‘नेप्लिज सोसाइटी एन्ड पोलिटिक्स’ विषयको परीक्षामा त्रिविले पाँचौँ सेमेस्टरमा सोधिएको ‘सोसियोलोजी’को प्रश्न दोहोर्यायो। यसरी अर्कै विषयको प्रश्नहरु अर्कै विषयको परीक्षामा सोधिएपछि आक्रोशित विद्यार्थीले परीक्षा छोडेर आन्दोलनमा उत्रिनुपरेको थियो। त्रिविको यस्ता श्रृखंला अन्य परीक्षाहरुमा पनि दोहोरिने गरेको पाइन्छ।

जसलाई लिएर त्रिविले छानबिन पनि गर्यो। विश्वविद्यालयले हुबहु प्रश्नपत्र बनाउनेलाई ३ वर्षसम्म विश्वविद्यालयका आंगिक क्याम्पसमा पढाउन नपाउने गरी कारबाही गरिएको बताएको छ। त्रिवि रजिस्ट्रारको कार्यालय सूचना तथा जनसम्पर्क महाशाखाका अनुसार आरोपितलाई ३ वर्षसम्म डीन कार्यालयको परीक्षासँग सम्बन्धित कुनै पनि कार्यमा संलग्न नगराउने, त्रिभुवन विश्वविद्यालयअन्तर्गतका कुनै पनि परीक्षासँग सम्बन्धित कार्यमा संलग्न नगराउने तथा त्रिविअन्तर्गतका कुनै पनि आंगिक क्याम्पसमा प्राध्यापन गर्न नदिने निर्णय त्रिविले गरेको छ।

तर, गल्ती गर्ने प्राध्यापक को हुन् भन्ने सार्वजनिक गर्न सकेको छैन। सुरक्षा थ्रेट हुन सक्ने देखाउँदै त्रिविले कमजोरी गर्ने व्यक्तिको नाम गुपचुप राखेको छ। जुन त्रिविको अनैतिक कार्य रहेको एक प्राध्यापक बताउँछन्। उनी भन्छन्, ‘परीक्षा समिति त हुन्छ। त्यसको काम प्राविधिक काममात्र हो। त्यसमा कसलाई प्रश्न बनाउन दिने भन्ने कुरा विषय समिति अध्यक्षको हातमा हुन्छ। उसले नाम तोकेपछि प्राध्यापकहरुले काम गर्छन्। तर, यहाँ सिकार चाहिँ अरुलाई बनाइयो। विषय विज्ञ भनेर बोलाइएको मान्छेलाई बनाइयो।’

सामान्यतयाः सेमेस्टर प्रणालीको हकमा त्रिविको ऐनमा पनि विषय समितिको परामर्शमै परीक्षा सम्पन्न गर्ने भनिएको छ। विषय समितिको अध्यक्षकै निगरानीमा प्रश्नपत्र बनाउनेदेखि कपी जाँच्ने काम हुन्छ। तर, त्रिविले यस्ता कमजोरीमा विषय समितिको अध्यक्षलाई भन्दा पनि अरुलाई कारबाही गरेर टार्ने गरेको छ। ‘अरुका पनि कमजोरी त होलान्। तर, अध्यक्षले नै सबै हेर्नुपर्ने जिम्मा हुन्छ। ऊ दोषमुक्त हुन सक्दैन। प्रश्नपत्रको त्रुटिका कारण विद्यार्थीले सास्ती पाउनेको मुख्य कारण ऊ नै हो,’ ती प्राध्यापकले भने।

नतिजा कुर्ने सास्ती
त्रिविमा परीक्षा दिएपछि पनि विद्यार्थी ‘सास्ती’बाट मुक्त हुँदैनन्। उनीहरुको लागि दिक्कलाग्दो कुरा छ– लामो समयसम्म नतिजा कुर्ने। परीक्षा सकिएपछि कहिले नतिजा आउँछ भन्ने टुंगो हुँदैन। विद्यार्थीहरुले अर्को वर्षको परीक्षा दिइसक्दा अघिल्लै वर्षको नतिजा पाएका हुँदैनन्।

जस्तो– अहिले स्नातक तेस्रो वर्षमा अध्ययनरत विद्यार्थीले पहिलो वर्षकै नतिजा पाएका छैनन्। केही दिनअघि तीन वर्षे बीबीएस प्रथम वर्षको नतिजा सार्वजनिक गरे पनि चार वर्षेको परीक्षा दिएका विद्यार्थीले भने नतिजा पाएका छैनन्।

यतिसम्म कि त्रिविअन्तर्गतको स्नातक प्रथम वर्षको नतिजा सार्वजनिक नहुँदै दोस्रो वर्षको परीक्षा सम्पन्न भएर विद्यार्थी तेस्रो वर्षमा अध्ययन गर्न थालिसकेका छन्। पहिलो वर्षको परीक्षा सम्पन्न भएको करिब १४ महिना बितिसक्दा पनि नतिजा आएको छैन। 

यसलाई लिएर कतिपयले सामाजिक सञ्जालमा आक्रोश पोखिरहेका छन्। ‘पहिलो वर्षकै रिजल्ट आएको छैन। दोस्रो वर्षको कहिले आउने हो। यस्तो द्विविधाका बीच कसरी पढ्ने हो र? त्रिविले पूर्णरुपमा ‘डिमोटिभेट’ गरिरहेको छ,’ पशुपति बहुमुखी क्याम्पस दोस्रो वर्षमा अध्ययनरत वासुदेव काफ्लेले भने।

त्रिविमा परीक्षा दिएपछि पनि विद्यार्थी ‘सास्ती’बाट मुक्त हुँदैनन्। उनीहरुको लागि दिक्कलाग्दो कुरा छ– लामो समयसम्म नतिजा कुर्ने। परीक्षा सकिएपछि कहिले नतिजा आउँछ भन्ने टुंगो हुँदैन। विद्यार्थीहरुले अर्को वर्षको परीक्षा दिइसक्दा अघिल्लै वर्षको नतिजा पाएका हुँदैनन्।

पहिलो वर्षको नतिजा ननिकाल्दा यो वर्षमा अड्किएर बसेका तीनवटा ‘ब्याच’ भइसकेका छन्। पहिलो वर्षको नतिजा कुरिरहेका पहिलो ब्याच, त्यसपछि गत मंसिरमा परीक्षा दिएका (हाल दोस्रो वर्ष) एउटा ब्याच, परीक्षा कुर्दै गरेको अर्को ब्याच गरी तीन ब्याच पहिल्यै वर्षको वरपर छन्। त्यसमाथि हाल कक्षा १२ को परीक्षा दिएका विद्यार्थी थपिएपछि पहिलो वर्षमा पढ्ने र नतिजा कुर्ने गरी चारवटा ब्याच हुनेछन्।

यसरी नतिजा ढिलो निकाल्ने अनि परीक्षा गर्न हतारिने त्रिविको पुरानै रोग हो। गत वर्ष मात्र त्रिविले बीबीएस तेस्रो वर्षको नतिजा नआउँदै चौथो वर्षको परीक्षा सञ्चालन गरेको थियो। चौथो वर्षको परीक्षा सुरु गरिसक्दा परीक्षा भएको एक वर्ष बितिसक्दा पनि तेस्रो वर्षको नतिजा निकालेको थियो। 

सामान्यतयाः परीक्षा सम्पन्न भएको तीन महिनाभित्र नतिजा आउनुपर्ने हुन्छ। तर करिब एक वर्षसम्म नतिजा ननिकालेर अर्को वर्षको परीक्षा लिन हतारिनु विद्यार्थीमाथि त्रिविको लापरवाही देखिन्छ। यसबारे प्रश्न गर्दा त्रिविका सहायक परीक्षा नियन्त्रक घनश्याम ठाकुर नतिजा आउन अझै केही समय कुनुपर्ने बताउँछन्।

‘हामी काम गरिरहेका छौं। अझै केही समय नतिजा आउँदैन,’ उनले भने, ‘अहिले नतिजा नआउनुमा चाहिँ कोरोनाले मुख्य समस्या गरायो। कोरोनाकालमा परीक्षा दिएकाको हकमा लथालिंग भएको हो। नम्बर, विषयहरु नै गलत लेखेका छन्। त्यो सबै बल्ल मिलिरहेको छ। त्यसैले छिटो नतिजा निकाल्न सकेनौँ।’

यद्यपि, नतिजा ढिलो हुनुमा त्रिविकै फितलो संरचना कारक रहेको एक प्राध्यापक बताउँछन्। उत्तरपुस्तिका जाँचमा संलग्न एक प्राध्यापकका  अनुसार राजनीतिक पहुँच भएकाले कपी जाँच्न पाउने र उनीहरुको हेलचेक्र्याइँले समस्या उत्पन्न हुने गर्छ। ‘हामीलाई छिटो सके धेरै पैसा दिने त भनिन्छ। तर, चार महिना लगाएर जाँचेको मान्छेले पनि राजनीतिक पहुँच छ भने सुरुकै महिनामा बुझाइसकेको किर्ते दर्ता गराउँछ। यसरी उसले सुरुमै बुझाउँदा पाउने रेटकै पैसा त लिन्छ, यता नतिजामा ढिलाइ पनि गरिदिन्छ,’ ती प्राध्यापकले भने।

नतिजा पाएपछिको सास्ती
त्रिविमा नतिजा निस्किएपछि पनि अधिकांश विद्यार्थी सास्ती झेल्न विवश हुन्छन्। कारण, प्रायःको सर्टिफिकेटमा देखिएको त्रुटि। त्रिविअन्तर्गतको परीक्षा नियन्त्रण कार्यालय (पनिका) पुग्दा त्यहाँ नाम सच्याउन आइपुगेका थुप्रै विद्यार्थी भेटिन्छन्।

विश्वविद्यालयका गोप्य शाखादेखि अन्य कोठाहरुमा नाम सच्याउने विद्यार्थीले सास्ती झेल्नुपर्छ। प्रशासनको गल्तीमा विद्यार्थीले सजाय पाउनुपर्छ। जस्तो– त्रिवि पनिकामा गत बुधबार लाइन बस्न पुगेकी एक विद्यार्थीको व्यथा सुनौँ। उनले त्रिविको स्नातक एक वर्षे बीएड अध्ययन गर्ने योजना बनाइन्। विद्यालय तहमा शिक्षक बन्न लाइसेन्स आवश्यक पर्ने भएकाले पनि त्यसका लागि एक वर्षे बीएड गर्नुपर्ने बाध्यता उनमा थियो। 

त्यसैले उनले त्रिविमा भर्ना भएर परीक्षा दिइन्। नतिजा आएको केही समयपछि उनी सर्टिफिकेट लिन त्रिवि परीक्षा नियन्त्रण कार्यालय (पनिका) पुगिन्। लाइन बस्नुपर्ने भएकाले बिहानको ९ बजे नै त्रिवि पुगेकी उनको दिउँसोको १२ बजेपछि बल्ल पालो त आयो, तर ट्रान्सक्रिप्ट आएन। कारण, उनको नाम त्रिविमा ‘रजिस्टर’ नै भएको रहेनछ। जबकि उनलाई त्रिविले क्याम्पसमै रजिस्ट्रेसन नम्बर पठाएको थियो। सोही नम्बरका आधारमा आफूले फारम भरेर परीक्षा दिएको उनी बताउँछिन्।

‘सुरुमा फारम लिन एक ठाउँ, पैसा बुझाउन अर्को कोठा धाउँदै बित्यो। १० नम्बर कोठाबाट १४ मा, १४ बाट फेरि १० नम्बरमा पठायो। १० नम्बरमा पनि कुनाकुना रहेछ। ओहोरदोहोर गर्दै हैरान। तैपनि काम बनेन,’ नाम नखुलाउने सर्तमा उनले भनिन्। नाम खुलाउँदा थप उल्झन हुनसक्ने डर उनमा देखिन्थ्यो।

यसरी त्रिविकै कच्चा कामले विद्यार्थीले सास्ती पाइरहेका हुन्छन्। अझ रोचक के भने, प्रशासनको गल्तीमा विद्यार्थीले जरिमाना तिर्नुपर्छ। त्रिविको गल्तीमा विद्यार्थीले दस्तुर बुझाउनुपर्ने अनौठो नियम त्रिविमा छ।

कर्मचारी अभावले काम बिग्रँदै गएको होः पनिका
त्रिविको परीक्षा नियन्त्रण कार्यालय भने कर्मचारी संख्या घट्न थाल्दा समस्या उत्पन्न भएको बताउँछ। सहायक परीक्षा नियन्त्रक घनश्याम ठाकुरका अनुसार पहिला २५२ कर्मचारी रहेकोमा अहिले १३० जनामात्र छन्। यसरी कर्मचारी घट्दै जानु तर नयाँ नियुक्ति नहुनुले जनशक्तिको अभाव रहेको उनले बताए। 

‘पुराना हट्दै जाँदा नयाँहरु कम छिरिरहेका छन्। कर्मचारी नै सय जना हाराहारीमा घटिसके। तैपनि हामीले सकेको राम्रो गर्ने प्रयत्न त गर्छौं नै,’ उनले भने। विद्यार्थीको कमजोरीका कारण पनि सास्ती हुने ठाकुरले औंल्याए। आफ्नो असक्षमतामा विद्यार्थीलाई दोष देखाएर लाचार हुँदै उनले भने, ‘कति समस्या त विद्यार्थीमा पनि हुन्छ। तीन वर्षेको विद्यार्थीले चार वर्षेमा फारम भरेको हुन्छ। कतिको के गल्ती हुन्छ। त्यो सबै मिलाउँदा पनि केही त्रुटि हुन्छन्। यसमा के नै गर्न सकियो र?’

यो पनि


प्रकाशित: September 11, 2022 | 16:03:31 काठमाडौं, आइतबार, भदौ २६, २०७९

तपाईं को प्रतिक्रिया

ट्रेंडिंग

चीनमा सैन्य 'कू' को हल्ला, राष्ट्रपति सी नजरबन्दमा छन् त?

सोसल मिडियामा भने सीबारे अनेकन 'हल्ला' भइरहेका छन्। चीनियाँ राष्ट्रपति सीलाई वास्तवमा के भएको भन्‍ने कुरालाई सहजै भन्‍न सकिँदैन।

समान अवसरको मागसहित शेखर समूहले खवरदारी सभा गर्ने

नेपाली कांग्रेसको डा. शेखर कोइराला समूहले पार्टीभित्र समान अवसर र न्यायका लागि खवरदारी सभा आयोजना गर्ने भएको छ।

लेखक केशव दाहालको 'माधवी ओ माधवी' सार्वजनिक

'मोक्षभूमि' उपन्यासका लेखक केशव दाहालको गैरआख्यान निर्बन्ध लेखन संगालो 'माधवी ओ माधवी' शुक्रबार विमोचन गरिएको छ।

काठमाडौंका १० निर्वाचन क्षेत्र : पुराना दललाई स्वतन्त्र र नयाँ दल चुनौती

स्वतन्त्रदेखि झिनामसिनाका पार्टीबाट उम्मेदवारी घोषणा गरिएपछि संघीय राजधानीसमेत रहेको काठमाडौंका १० निर्वाचन क्षेत्रमा ठूला दलहरूलाई चुनाव जित्न गठबन्धनको भर। गठबन्धन गर्दा कांग्रेसको सुरक्षित किल्ला अन्य दललाई सुम्पिनुपर्ने बाध्यता।

वित्तीय संघीयता मजबुत बनाउन राजनीतिक र प्रशासनिक इच्छाशक्ति आवश्यक

राजस्व बाँडफाँटका कतिपय मुद्दामा केन्द्र, प्रदेश र स्थानीयबीच समन्वय अभाव देखिन्छ। यसका लागि वित्तीय हस्तान्तरण ऐनमा केही संशोधन गरेर अगाडि बढ्न आवश्यक छ।

कार्यकालपछि राष्ट्रपति भण्डारीले राजनीतिक नेतृत्व गरे अति राम्रो : गोकुल बाँस्कोटा

बिहीबार ट्विट गर्दै बाँस्कोटाले पूर्वराष्ट्रपतिले राजनीति गर्नु हुँदैन भन्ने कानुनी व्यवस्था नरहेको उल्लेख गर्दै राष्ट्रपतिलाई राजनीतिक नेतृत्व लिन सुझाव दिएका हुन्।

ब्याजदर बढेपछि व्यापारी र बैंकर्सबीच द्वन्द्व, हस्तक्षेप नगर्ने पक्षमा राष्ट्र बैंक

बैंक तथा वित्तीय संस्थाले ब्याजदर बढाएको विषयमा निजी क्षेत्रका उद्योगी र व्यापारी असन्तुष्ट छन्। निक्षेपको ब्याज बढाउँदा कर्जाको पनि ब्याज बढ्ने भएकाले त्यसले उद्योग र व्यापार सञ्चालनमा नकारात्मक असर पार्ने भन्दै उनीहरू असन्तुष्ट बनेका हुन्।

निधिले छोडे पनि धनुषा-३ मा गठबन्धनको हानाथाप, को बन्ला जुलीको प्रतिस्पर्धी?

उता २०७४ सालमा धनुषा ३ बाट निर्वाचित सांसद एंव लोसपाका वरिष्ठ नेता राजेन्द्र महतोले यही क्षेत्रबाट चुनावी मैदानमा उत्रने तयारीमा छन् भने लालकिशोर साह, जितेन्द्रकुमार यादव, विजयकुमार भगत र सर्वजित ठाकुरको नाम सिफारिस गरेको छ।

प्रेमगीत–३ लाई लिएर किन आयो चलचित्र क्षेत्रमा हलचल?

‘प्रेमगीत–३’लाई लिएर नेपाली फिल्मकर्मीहरू विभाजित भएका छन्। कोही हिन्दी भर्सनलाई नेपाली फिल्मसरह कर छुट दिनुपर्ने र कोही दिन नहुने पक्षमा उभिएका छन्।

सरकारको आग्रह लत्याउँदै सीपीसीको सुरक्षा रणनीति बैठकमा राष्ट्रपति भण्डारी सहभागी

चिनियाँ कम्युनिस्ट पार्टीले बुधबार आयोजना गरेको भर्चुअल सम्मेलनमा राष्ट्रपति भण्डारीले रेकर्डेड भिडियो सन्देश पठाएको राष्ट्रपति कार्यालयले पुष्टि गरेको छ।

थप समाचार

नेपाल समय
शिक्षा

कृषिमा विद्यार्थीको आकर्षण बढ्दो

पर्वतको फलेवास नगरपालिका-४ स्थित मुडिकुवाको एक विद्यालयमा प्राविधिक धारअन्तर्गत बालीविज्ञान विषय अध्ययन गर्ने विद्यार्थीको आकर्षण बढेको छ।
नेपाल समय
शिक्षा

नक्कली प्रमाणपत्र बनाएर राहत शिक्षकको जागिर, अख्तियारले हाल्यो मुद्दा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शिव माध्यमिक विद्यालय देवहरियामा कार्यरत प्राथमिक तह राहत शिक्षक गीता सोडारीविरुद्ध मुद्दा दायर गरेको हो।
नेपाल समय
शिक्षा

एन-प्याब्सनको प्रश्नपत्रमा छिमेकी देशसँग प्रधानमन्त्री निरीह बनेको आरोप, गल्ती भएको भन्दै क्षमायाचना

'छिमेकी देशहरूको थिचोमिचो सहेर निरीह भएर रहेका हाम्रो देशका प्रधानमन्त्रीलाई तपाईं के सुझाव दिनुहुन्छ?' ९ कक्षाका विद्यार्थीलाई एन प्याब्सनको प्रश्न थियो।
नेपाल समय
शिक्षा

शुभश्री कलेजमा दसैं फेष्टिभल

नयाँ बानेश्वरस्थित शुभश्री कलेज अफ म्यानेजमेन्टले शुक्रबार दसैं उत्सव मनाएको छ।
नेपाल समय
शिक्षा

काठमाडौं स्कुल अफ लमा अस्वभाविक शुल्क वृद्धि गरेको भन्दै अनेरास्वियूको विरोध

कानुन विषयको पठनपाठन हुने यस कलेजले पाँच वर्षे बीएएलएलबीको शुल्क ९ लाख ८० हजारबाट एकैपटक १२ लाख पुर्‍याएको विद्यार्थीले बताएका छन्। पछिल्लो पाँच वर्षमा नै कलेजको शुल्क दोब्बर भएको बताइएको छ।

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

House -138, Suruchi Marg, New Baneshwor, Kathmandu, Nepal
फोन : +977-1-4790242 / +977-1-4790040
इमेल : nepalsamayanews@gmail.com
  • प्रबन्ध निर्देशक
    तरुणप्रताप शाह
  • प्रधान सम्पादक
    नारायण अमृत
  • महाप्रबन्धक
    जीवन तिम्सिना