शुक्रबार, मंसिर २३, २०७९

४० हजार पियन र लेखापालको व्यथा कसले सुन्ने?

कौशल काफ्ले  |  काठमाडौं, बुधबार, भदौ ८, २०७९

कौशल काफ्ले

कौशल काफ्ले

बुधबार, भदौ ८, २०७९, काठमाडौं

नेपाल समय
राजधानीको माइतीघर मण्डलामा विद्यालयका कर्मचारीको धर्ना। फाइल फोटो

काठमाडौं- शिक्षा मन्त्रालय, शिक्षामन्त्री, शिक्षासचिव हुँदै अब अर्थ मन्त्रालय र सरकारका सरोकारवाला अंगविरुद्ध विद्यालयका कर्मचारीहरू एउटै प्रश्न गरिरहेका छन्, 'हामीमाथि अपमान किन?’

करिब ८ दिनदेखि देशभरका विद्यालयका कार्यालय सहयोगी र लेखापाल काठमाडौंमा आन्दोलन लिएर आएका छन्। अभिभावकीय भूमिका निर्वाह गर्नुपर्ने प्रशासनको केन्द्र सिंहदरवारलाई आफूहरुका व्यथा सुनाउन नजिकै माइतीघर मण्डलामा आइपुगेर भदौको चर्को घामपानी सहेर चर्को स्वरमा उही प्रश्न विद्यालयका कर्मचारी दोहोर्‍याई-तेहर्‍याई सोधिरहेका छन्। 

आन्दोलन अलि पृथक छ। घरी गीत गाउँछन्, घरी गजल–कविता सुनाउँछन्। कलामार्फत आफ्नो व्यथा सुनाएर आन्दोलन गरिरहेका छन् उनीहरु। तर, सुन्ने कसले? जसले सुन्नुपर्ने हो, उसले सुनेको नसुन्यै गरिरहेको छ, समाधानका लागि वार्तासमेतको सुरसार थालेकै छैन राज्यले। त्यसैले आफ्नो आवाजलाई थप सशक्त बनाउन उनीहरुले थप रणनीति बनाइरहेका छन्। 

‘सानातिना बाधा अड्चन गाल्नुपर्छ हामीले
लक्ष्यप्राप्ती तर्फ कदम चाल्नुपर्छ हामीले।।
भदौ ९ गते सबै कर्मचारी आउनुस् काठमाडौमा
शोषकहरुलाई पाता फर्खाइ ‘पाल्नुपर्छ’ हामीले।’

गजलमार्फत नै भदौ ९ मा हुने कार्यक्रमको लागि अपिल गर्दैछन्, लेखापाल बालकृष्ण सापकोटा। सापकोटाका अनुसार ९ गते विशाल आमसभा आयोजना हुनेछ। कम्तिमा १० हजार कर्मचारीको उपस्थितिमा खुलामञ्चमा विरोध कार्यक्रम गर्ने उनीहरुको योजना छ। त्यस्तै, ११ र १२ गते डिजिटल आन्दोलन अर्थात फोन/मेसेजबाट सम्बन्धी निकायको ध्यानाकर्षण गराउने र १२ गतेदेखि १८ गतेसम्म विद्यालय ठप्प पार्ने तयारी आन्दोलनरत कर्मचारीको छ। 

‘हाम्रो माग चाहीँ के हो भने, दरबन्दी कायम गर्नुपर्‍यो। सेवा सुविधाको ग्यारेन्टी गर्नुपर्‍यो। आजसम्म अन्य शिक्षकको तलब बढिरहँदा सँगै काम गर्ने कार्यालय सहयोगी र कर्मचारीले केही पाएका छैनन्। तलब पनि अति न्यून छ। त्यसैले राज्यले गरेको अपमानविरुद्ध आन्दोलन गरेका हौँ,’ सापकोटाले भने।

नेपाल समय
बालकृष्ण सापकोटा।

विद्यालयमा काम गर्ने कार्यालय सहयोगीले सरकारबाट ८ हजार र लेखापालले १३ हजार तलब पाइरहेका छन्। दरबन्दी विना नै काम गरिरहेका उनीहरूको सेवा/सुविधाको कुनै टुंगो छैन। तलब वृद्धि हुन विद्यालयको निजी स्रोत अथवा स्थानीय सरकारमा भर पर्नुपरेको छ। 

000

९ गतेको आमसभा सफल पार्न बुधबार मात्र धनकुटाबाट आइपुगेका छन्, ६१ वर्षीय सन्तबहादुर तामाङ। ‘नजिकनजिकका साथीहरु आउनुभएको थियो। हामी चाहिँ भोलि हुने आमसभालाई थप सहयोग गर्न आएका हौँ। सँगै काम गरेका ‘मास्टर’ले जहिले तलब बढ्दा खुसीयाली मनाए। हामी दु:ख गर्नेहरुले सधैँ अपमान महसुस गर्नुपर्‍यो। त्यसैले सेवासुविधाको माग गर्न काठमाडौं आएका हौँ,’ उनले भने।

विद्यालयका कर्मचारी भनिएपनि तामाङ धनकुटाको मोहानबुदुकस्थित बुदुक माध्यमिक विद्यालयमा पढाउँछन्। उनले पाउने तलव जम्मा ८ हजार मात्र हो। जीवनको ऊर्जाशील समय न्यून तलबमा काम गरेका उनले बुढ्यौली लागेसँगै विना कुनै सेवासुविधा विद्यालयबाट निस्काशित हुनुपर्ने भएको छ। त्यसैको आक्रोश उनमा देखिन्छ।

‘मैले विद्यार्थीको सिँगान पुछ्नेदेखि स्कुलका सबै सरसफाइको काम गरेँ। घण्टी पनि बजाएँ, घण्टी बजाउना साथ कक्षाकोठामा पुगेर पढाएँ। निर्धारित समयअगावै पढाइसकेर फेरि घण्टी बजाउन आइपुग्नुपर्थ्यो,' उनले गुनासो गरे, 'शिक्षकहरूले पढाउने मात्र हुन्, हामी (कर्मचारी शिक्षक)ले त विद्यालयका सबै काम गर्नैपर्थ्यो। मेरै जस्तो दोहोरो काम गर्ने सबै विद्यालयमा छन्। मलाई कामबाट निकाल्ने समय भइसक्यो। यतिका वर्ष गरेको सेवावापतको सुविधा के?’ 

नेपाल समय
६१ वर्षीय सन्तबहादुर तामाङ।

उमेरका कारण विद्यालय छोडेपछि तामाङका अन्य विकल्प पनि छैनन्। सेवासुविधा नपाए आफ्नो छोरालाई त्यहीँ काम दिन अनुरोध पनि गरे। छोरालाई काममा लगाउन पाए बुढेसकालमा ‘माम’को जोहो हुन्छ भन्ने आश उनमा थियो। तर, स्थानीय सरकार र विद्यालय व्यवस्थापन समिति कसैले सुनेनन्। स्थानीय तहमा नसुनिएको आवाज संघीय सरकारलाई सुनाउन माइतीघर आइपुगेका हुन्, तामाङ।

सुनसरीका ६० वर्षीय गुणराज निरौलाको जिम्मेवारी विद्यालयको लेखापालको हो। उनी पनि भदौ १ गतेदेखि नै माइतीघरमा धर्ना दिइरहेका छन्। ०४३ सालमा स्थायी नियुक्ति पाएर सुनसरीको चन्द्रकमल माध्यमिक विद्यालयमा कार्यरत छन्। जीवनको उतरार्धमा सेवासुविधामा बञ्चित गराई राज्यले अपमान गरेको महसुस गरेपछि आन्दोलन गर्न उनी काठमाडौंसम्म आएका हुन्। 

‘६० वर्षको मान्छेलाई राज्यले सामान्यत: काममा खटाइरहन मिल्दैन। तर, विद्यालयको कर्मचारीको हकमा त्यस्तो कुनै व्यवस्था छैन। उमेर हद छैन। निक्लिएपछि पाइने सेवासुविधा पनि छैन। उमेर छउन्जेल स्कुलमा काम गरियो, अब वृद्ध भएपछि कसले हेर्छ?,’ उनले दुखेसो पोखे, ‘ती पढाउने शिक्षकलाई चाहिँ बिरामी बिदा, अन्य सुविधा हुन्छ। हामीलाई केही हुन्न। ननटिचिङ स्टफ राज्यबाट हेपिएका छौँ।’  

नेपाल समय
सुनसरीका ६० वर्षीय गुणराज निरौला।

यति अपमानित महसुस गर्दा पनि यत्रो वर्ष यही पेसामा किन?

जवाफमा राज्यले धोका दिएको ठहर गर्दै उनी भन्छन्, ‘आसै आसमा राख्यो नि। 'अब हुन्छ, भइहाल्छ’ भनेर आश्वासन देखाएकोले ‘होला–होला’ भन्दै बसियो। नत्र त उहिल्यै खाडी मुलुकतिरै गएर कमाइन्थ्यो होला नि।’

उमेरले पाको मात्र होइन, युवा पनि आन्दोलनमा सहभागी छन्। ३५ वर्षीय योगेन्द्र पौडेल ८ दिनदेखि माइतीघरमा धर्ना दिन आइरहन्छन्। उनी झापाको अर्जुनधारा-६ मा पर्ने लक्ष्मी माध्यमिक विद्यालयमा कार्यलय सहयोगीको रुपमा ८ वर्षदेखि कार्यरत छन्। भदौ ९ गते हुने विशेष आन्दोलनमा जुटिरहेका छन्। 

‘सरकारले हामीलाई जहिले ओझेलमा पार्‍यो। प्रत्येक वर्ष बजेट भाषण हुन्छ। सँगै काम गरेका अन्य शिक्षक रमाउँदा हामी कर्मचारीको दु:ख जहीँको त्यहीँ हुन्छ। अवकाशपछि पाउने सेवासुविधामै विभेद गरिएको छ। जबकि हामीले हाजिर गर्ने रजिस्टरसम्म एउटै हुन्छ। अनि आन्दोलन नगरेर के गर्नु,’ पौडेल आक्रोशित सुनिए।

पौडेलकाअनुसार उनलाई पनि आश्वासनले यो पेसामा बाँधेर राख्यो। विदेशी मुलुकमा काम गरेर फर्किएका उनले पछि सेवासुविधाको सबै व्यवस्था हुन्छ भनेर आश पाएपछि जागिर थाले। गुणराज निरौलाको झैँ आसै आसले उनलाई अल्झायो।


नेपाल समय
३५ वर्षीय योगेन्द्र पौडेल।

पौडेलको बुबा पनि २८ वर्ष कार्यालय सहयोगीको रुपमा काम गरे। पछि आफ्नै बुबाको ठाउँमा उनले जागिर खाएका हुन्। ‘तेरो बाउले यत्रो काम गर्दा केही पाएनन्। अब केही हुन्छ जस्तो छ, तँ नै बस् अहिले’ भनेपछि मैले यो पेसा रोजेको थिएँ। अहिले आएर फसियो,’ उनले भने।

000

हुन त यो आन्दोलन अहिले मात्र सुरु भएको हैन। विद्यालयका कर्मचारी २०३६ सालदेखि नै असन्तुष्ट थिए। २०३६ सालमा आएर २०२८ सालको शिक्षा ऐनमा व्यवस्था गरिएको कुरा हटाइएपछि कर्मचारी आक्रोशित बनेका थिए। २०२८ सालको शिक्षा ऐनमा विद्यालयका कर्मचारीको सेवासुविधा निजामती कर्मचारीको सरह हुने व्यवस्था थियो। त्यसबेला उनीहरुलाई नेपाल सरकारले नै नियुक्ति दिन्थ्यो। तर, २०३६ सालमा आएर उक्त व्यवस्था उल्टाइयो।

२०३६ सालमै शिक्षक संघठनको जन्म भयो। सोही साल शिक्षा ऐनको दोस्रो संशोधन भएको थियो। त्यसबेला विद्यालय कर्मचारीको सेवासुविधालाई हटाइएर स्कुलले व्यवस्थापन गर्ने भनिएको थियो। सरकारले दिने नियुक्तिलाई स्कुलले नै दिने भनियो। ‘त्यसपछि हामी घरको न घाटको भयौँ,’ आन्दोलनरत ६२ वर्षीय विष्णु अधिकारी भन्छन्। उनी हाल झापाको शान्ति आदर्श माध्यमिक विद्यालयमा कार्यरत छन्।

नेपाल समय
६२ वर्षीय विष्णु अधिकारी।

शिक्षा ऐनको दोस्रो संशोधन भएपछि ०३५ सालमा लोकसेवा आयोग नै पास गरेका कर्मचारीले पनि नियुक्ति पाएनन्। त्यसबेला करिब २० जना कर्मचारीले लोकसेवा पास गरेका थिए। यसले विद्यालयका कर्मचारीमा असन्तुष्टि पैदा गर्दै गयो। लोकसेवा पास गरेका २० जना र पछि स्कुलले नियुक्ति गरेका ८७९ जना कर्मचारी मिलेर २०६३ सालमा सर्वोच्च अदालतमा रिट हालेका थिए।

उक्त रिटको फैसला गर्दै २०६७ सालमा २० जनामध्ये जीवित १६ जनालाई तुरुन्त नियुक्ति दिन आदेश दियो। तर, ऐन संशोधन भएकोले सिधै नियुक्ति दिने प्रावधान थिएन। अन्ततः १६ जना कर्मचारीलाई शिक्षकमा रुपान्तरण गरी नियुक्ति दिएर थामथुम पारियो। बाँकी ८७९ जना र त्यसपछि नियुक्त भएका करिब ४० हजार हाराहारी कर्मचारी भने राज्यको सेवा सुविधाबाट बञ्चित भए। र, नेपाल विद्यालय कार्यकारी परिषद् स्थापना गरेर निरन्तर आन्दोलित छन्।


प्रकाशित: August 24, 2022 | 21:54:33 काठमाडौं, बुधबार, भदौ ८, २०७९

तपाईं को प्रतिक्रिया

ट्रेंडिंग

सकियो समानुपातिक मतगणना, तीन दिनमा सिट बाँडफाँट हुने

निर्वाचन आयोगका अनुसार आज साँझ प्रत्यक्ष र समानुपातिक दुवैको गणना सकिएको हो। प्रत्यक्षतर्फको गणना हिजै सकिएको थियो भने समानुपातिक गणना भइरहेको थियो।

जनैसुपारी फिर्ता भएपछि युवतीले त्यागिन् प्राण, परिवारको जाहेरीमा युवक पक्राउ

युवतीको मृत्यु भएसँगै परिवारका सदस्यले घटना शंकास्पद रहेको भन्दै प्रहरीमा जाहेरी दिएका छन्। बुद्धनगर घर भएकी २७ वर्षीया पुष्पा न्यौपानेले सुधन संग्रौलाको घरबाहिर पुगेर साँझ सवा ७ बजे आफूलाई आगो लगाएकी थिइन्। सख्त घाइते भएको अवस्थामा युवतीलाई अस्पताल लगिएको थियो।

सत्ताको राइँदलोमा माओवादी, प्रचण्डलाई प्रधानमन्त्रीको अफर दिएर कांग्रेसबाट छुट्याउने एमाले रणनीति

पार्टी सभापति देउवादेखि महामन्त्री गगन थापासहित आधा दर्जन प्रधानमन्त्रीको आकांक्षी रहेका बेला माओवादीले कांग्रेसभित्रको घरझगडाको फाइदा उठाउन खोजेको राजनीतिक वृत्तमा चर्चा छ।

समानुपातिकको मतगणना मंगलबार सकिने, त्यसपछि के हुन्छ प्रक्रिया?

प्रतिनिधिसभामा सो प्रणालीतर्फ हालसम्म एक करोड चार लाख ३० हजार चार सय ३९ मतगणना सकिएको छ।

आफूलाई निर्णायक दाबी गर्ने माओवादीका तीन दाउ

शनिबार र आइतबार माओवादी मुख्यालय पेरिसडाँडामा बसेको पदाधिकारी बैठकले दुईथरी कुरा बाहिर ल्यायो। पहिलो दिन अर्थात् शनिबारको बैठकमा माओवादीले एमालेसहितका अन्य दलसँग पनि सहकार्य गर्न सकिने कुरा बाहिर ल्यायो। तर आइतबारको बैठकमा भने सो कुरालाई ढाकछोप गरेर वर्तमान सत्ता गठबन्धनकै नेतृत्वमा सरकार बन्नेबारे छलफल भएको बताइयो।

न निर्णय न टेन्डर ! आफ्नै शोरुमबाट वडाध्यक्षका लागि भनेर मेयरले किनिन् १० मोटरसाइकल

करिब ४० लाख रुपैयाँ सरकारी बजेट दुरुपयोग गरी नगर कार्यपालिकामा प्रस्ताव नै नलगी स्वमर्जी मोटरसाइकल किनेपछि मेयर शाही विवादमा तानिएकी छन्।

कांग्रेस केन्द्रीय समिति बैठक बोलाउन नेता महरको माग

नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले कांग्रेसले तत्काल केन्द्रीय समिति बैठक बोलाएर आम निर्वाचनको समीक्षा र गठबन्धन तथा दलभित्र भएका घात-अन्तरघातको छानबिन गर्न माग गरेका छन्।

नेपाल–भारत सीमामा ढुंगा हानाहान

दार्चुलास्थित नेपाल–भारत सीमामा तनाव भएको छ। भारतीय नागरिकले नेपाली नागरिकमाथि ढुंगा प्रहार गरेको बताइएको छ।

संसद्‍मा हुने १२ मध्ये ५ वटाले राष्ट्रिय दलको मान्यता नपाउने

७ वटा दलले समानुपातिकको थ्रेसहोल्ड कटाएर राष्ट्रिय दलको मान्यता पाउने भएका छन् भने पाँच वटा राष्ट्रिय दल नहुने भएका छन् ।

विश्वकपमा मेस्सीले तोडे म्याराडोनाको रेकर्ड

त्यसै क्रममा टिमका लागी एक गोल गरेका अर्जेन्टिनाका कप्तान लियोनेल मेस्सीले आफ्ना देशका लिजेन्ड खेलाडी डिएगो म्याराडोनाको किर्तीमान तोडेका छन्।

थप समाचार

नेपाल समय
शिक्षा

स्ववियु निर्वाचनको तयारीमा त्रिवि

२८ वर्ष उमेर हद र मिश्रित निर्वाचन प्रणाली लागू भएपछि त्रिविका क्याम्पसमा नियमित स्ववियु निर्वाचन भएको छैन।
नेपाल समय
शिक्षा

प्रावि तहको नतिजा प्रकाशनमा ढिलाइ हुने

मावि तहमा नाम निकाल्न सफल भएका शिक्षक निमावि तहमा दोहोरिनेको संख्या बढी देखिएकाले निमाविमा सिफारिस भइसकेपछि मात्रै प्रावि तहको नतिजा प्रकाशन गरिने आयोगले बताएको हो।
नेपाल समय
शिक्षा

पर्वतमा एक्ला विद्यार्थी पढाउँदै एक्ली शिक्षिका

पर्वतको मोदी गाउँपालिकास्थित चित्रेमा रहेको दुर्गा भवानी प्राथमिक विद्यालयमा विद्यार्थी अभाव।
नेपाल समय
शिक्षा

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम कार्यान्वयन गर्न पत्राचार

केन्द्रले स्थानीय तहलाई पत्राचार गर्दै भौतिक पूर्वाधार निर्माण, आईसीटी ल्याब निर्माण तथा पुस्तकालय स्थापना कार्यक्रम कार्यान्वयन निर्देशन दिएको हो।
नेपाल समय
शिक्षा

कञ्चनपुरको महाकाली आधारभूत विद्यालय, जहाँ ३ शिक्षकले पढाउँछन् ६ विद्यार्थी

भर्ना हाजिरीमा १७ जना उल्लेख रहे पनि विद्यालयमा १ छात्र र ५ छात्राले अध्ययन गर्दै आएका हुन्।

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

House -138, Suruchi Marg, New Baneshwor, Kathmandu, Nepal
फोन : +977-1-4790242 / +977-1-4790040
इमेल : nepalsamayanews@gmail.com
  • प्रबन्ध निर्देशक
    तरुणप्रताप शाह
  • प्रधान सम्पादक
    नारायण अमृत
  • महाप्रबन्धक
    जीवन तिम्सिना