काठमाडौं- तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले करका दर हेरफेर गर्न बिचौलिया खटाएको आरोपमा छानबिन गर्न गठित संसदीय समितिले प्रतिवेदनलाई अन्तिम रुप दिने काम गरिरहेको छ। कर्मचारीले असहयोगको आरोप लगाउँदै समितिले शर्मालाई 'क्लिन चिट' दिने गरी प्रतिवेदनलाई अन्तिम रूप दिने काम गरिरहेको हो।
बजेट निर्माणमा संलग्न कर्मचारीलाई करबाही सिफारिस गर्दै निवर्तमान अर्थमन्त्री जनार्दन शर्मालाई 'क्लिन चिट' दिने गरी प्रतिवेदन तयार गरिरहेको स्रोतको भनाइ छ। 'नेपाल प्रहरीको फरेन्सिक ल्याबबाट पठाइएको सीसीटीभी फुटेज पनि प्रष्ट नभएका कारण कुनै पनि प्रमाण फेला परेन। करका दर हेरफेरमा बिचौलिया सहभागी भएको भन्ने कुरा प्रमाणित हुने देखिएन,' समिति स्रोतले नेपाल समयसँग भन्यो, 'शर्मामाथि कारबाही सिफारिस गर्ने गरी प्रमाण प्राप्त भएको छैन। त्यही अनुसार प्रतिवेदन लेखनको काम भइरहेको छ।'
प्रतिपक्षी दल एमालेका सांसदहरुले सुरुमा विरोध जनाएपनि बजेट निर्माणमा संलग्न कर्मचारीलाई कारबाही सिफारिस गर्ने गरी प्रतिवेदन लेख्ने भएपछि सहमत भएको बताइएको छ। अर्थसचिव मधुकुमार मरासिनी, राजस्व सचिव कृष्णहरी पुष्कर, आन्तरिक राजस्व विभागका महानिर्देशक रितेशकुमार शाक्य, भन्सार विभागका महानिर्देशक कमलप्रसाद भट्टराईसहितका कर्मचारीले असहयोग गरेको आरोपसहित प्रतिवेदन निर्माण गर्ने काम अगाडि बढाइएको संसदीय छानबिन स्रोतको भनाइ छ।
'सीसीटीभी फुटेजमा बाहिरका व्यक्ति ल्याएको स्पष्ट प्रमाण पाउन सकिएन। प्रहरीले बुझाएको फुटेजमा एउटा सवारी साधान अर्थ मन्त्रालयको प्रांगणमा देखिएपनि उक्त दृष्य प्रष्ट छैन। बजेट निर्माणमा संलग्न कुनै पनि कर्मचारीको प्रष्ट जवाफ दिएनन्। सबै कर्मचारीको जवाफ कुनै पनि अनाधिकृत व्यक्ति संलग्नता नरहेको जवाफ नै रह्यो। त्यसैले संसदीय छानबिन समितिले कर्मचारीले अनुसन्धानमा असहयोग गरेको निष्कर्ष सहित प्रतिवेदन तयारी अगाडि बढाएको छ,' स्रोतले बतायो।

प्रहरीको फरेन्सिक ल्याबबाट रिकभर गराइएको सीसीटीभी फुटेजमा अर्थ मन्त्रालयमा इम्बोस्ड नम्बर भएको सेतो कार जेठ १४ गते राति प्रवेश गरेको देखिएको बताइएको छ। बजेट निर्माण भएको जेठ १४ गते राति १० बजेर ४७ मिनेटसम्म सवारी साधन नदेखिएपनि रातको १२ बजेर ११ मिनेटको क्लिपमा इम्बोस्ड नम्बरसहितको गाडी गाडी देखिएको बताइएको छ। प्रहरीले जेठ १४ का २६ र १५ का २५ वटा भिडियो क्लिप छानबिन समितिलाई बुझाएको टुक्रा–टुक्रा क्लिप भएकाले भित्र को प्रवेश गर्यो भन्ने स्पष्ट नदेखिएको छानबिन समितिका एक सदस्यले बताए।
000
संसदीय छानबिन समितिले जनार्दन शर्मालाई सफाई दिने गरी प्रतिवेदनको तयारी गरेसँगै उनी नै अर्थमन्त्रीमा पुन: नियुक्ति पाउने चर्चा सुरु भएको छ। नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल(प्रचण्डले) प्रधानमन्त्री शेरबहादुर देउवासँग शर्मालाई फर्काउनका लागि दबाब दिइरहेको बताइएको छ। प्रधानमन्त्री देउवासमेत शर्माप्रति खासै नकारात्मक नरहेका बताइएको छ।
असार २२ गते जनार्दन शर्माले प्रतिनिधिसभामा गएर राजीनामा दिनु अगाडि अर्थ मन्त्रालयका ४ जना सहसचिवलाई सँगै राखेर आफ्नो फोटो पूर्वअर्थमन्त्रीको सूचीमा नटास्न उनले निर्देशन दिएका थिए।
जनार्दन शर्मा अर्थ मन्त्रालय फर्किने संकेत अर्थ मन्त्रालयका अधिकारीहरुले पाइसकेका छन्। शर्मा फर्किएमा मन्त्रालयको अहिलेको कर्मचारीको टिमले नै काम गर्ने बुझिएको छ। फर्किए लगतै शर्माले कर्मचारी परिवर्तन गर्दा गलत सन्देश जाने भएकाले सोही टिमलाई केही समय निरन्तरता दिने पक्षमा रहेको अर्थ मन्त्रालयकै अधिकारीहरु बताउँछन्।
करका दरहरु हेरफेरमा व्यापारिक साँठगाँठ गरेको आरोप लागेका शर्माले अर्थमन्त्रीमा पुनःनियुक्तिलाई प्रतिष्ठाको विषय बनाएका छन्। आफ्नो राजनीतिक करिअरमा असर गरेकाले आरोपलाई गलत सावित गराउन भएपनि शर्मा मन्त्रालय फर्किन चाहेका छन्।
माओवादी केन्द्रका नेता वर्षामान पुनले शर्माले अर्थमन्त्रीबाट राजीनामा दिएकै दिन त्यसको संकेत गरिसकेका थिए। पत्रकारहरुसँग कुराकानी गर्दै पुनले संसदीय छानबिन समितबाट निर्दोष सावित भए शर्मा नै अर्थमन्त्री फर्किने अभिव्यक्ति दिएका थिए।

असार २२ गते जनार्दन शर्माले प्रतिनिधिसभामा गएर राजीनामा दिनु अगाडि अर्थ मन्त्रालयका ४ जना सहसचिवलाई सँगै राखेर आफ्नो फोटो पूर्वअर्थमन्त्रीको सूचीमा नटास्न उनले निर्देशन दिएका थिए।
वितगमा पटकपटक आफूलाई मन्त्री पदको अफर आउँदा समेत अन्य नेतालाई मन्त्री बनाएको व्यक्ति भएकाले आफूलाई पदको मोह नभएपनि यस पटक भने आफ्नो प्रतिष्ठासँग जोडिएको विषय भएकाले पुनः फर्कनेमा अर्थ अधिकारी विश्वस्त छन्। हालका सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की अर्थमन्त्री हुन इच्छुक देखिएपनि उनलाई उनी निकटका कर्मचारी तथा सल्लाहकारले अर्थमन्त्री नबन्न सुझाव दिएका थिए।
000
जेठ १४ गते अनाधिकृत व्यक्ति प्रवेश गराई करका दरहरु हेरफेर गरेको समाचार प्रकाशित भएपछी पूर्वअर्थमन्त्री शर्मा विवादमा तानिएका थिए। उपभोक्ता हित संरक्षण मञ्चले सूचना हकको अन्तर्गत सीसीटीभी फुटेज माग गरेको थियो। तर, अर्थ मन्त्रालयको योजना अनुगमन तथा मूल्याङ्क महाशाखाले फुटेज डिलिट भएको पत्र पठाएको थियो। १३ दिनभन्दा बढीको फुटेज स्वत हटेर जाने भन्दै पत्र पठाएपछी प्रतिनिधसभामा शर्माको राजीनामा माग गरिएको थियो।
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रोस्टममा उभिएरै निश्चित घरनाको प्रभाव र दबाबमा परेर करको दर हेरफेर गर्न काम अनुचित भएको भन्दै शर्माले तत्काल राजीनामा दिनुपर्ने माग गरेका थिए। त्यस्तै नेपाली कांग्रेसका महामन्त्री गगन थापाले समेत शर्माले छानविनका लागि मार्ग प्रस्सत गर्न सुझाव दिएका थिए। प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले बजेट तथा अर्थमन्त्रीमाथि उठेका कुनै पनि प्रश्नको उत्तर नदिने भन्दै संसद वहिष्कार गरेपछी शर्माले संसदबाटै राजीनामाको घोषणा गरेका थिए। बजेट निर्माण अर्थसचिव, राजस्व सचिव र दुईजना महानिर्देशक बाहेक अन्य व्यक्तिको संलग्नता भएको र आफु राजनीतिक व्यक्ति भएकाले राजीनामा दिएर नैतिकता देखाएको उनले बताएका थिए।
कानुन संगत ढंगले आफुले करको दर हेरफेर गरेको र यसमा कुनै पनि त्रुटी नगरेको शर्माले बताएका थिए। विगतमा कुनै पनि अर्थमन्त्रीले आफूमाथिको लागेको आरोप छानबिन गर्दा राजीनामा नदिएको भन्दै उनले आफूले उच्च नैतिकता र राजनीतिक संस्कार देखाएको बताएका थिए।
शर्मामाथि छानबिन गर्नका लागि जेष्ठ सदस्य लक्ष्मणलाल कर्णको नेतृत्वमा ११ सदस्यीय छानबिन समिति गठन भएको थियो। प्रमुख प्रतिपक्षी दल नेकपा एमालेबाट चार, नेपाली कांग्रेस र माओवादी केन्द्रबाट २/२, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी नेपाल र लोकतान्त्रिक समाजवादी पार्टीबाट १–१ गरी ११ सदश्य छानबिन गठन भएको थियो। सभामुख अग्निप्रसाद सापकोटाको पहलमा गठित सर्वदलीय समितिमा खगराज अधिकारी, देव गुरुङ,मिनबहादुर विश्वकर्मा, प्रदीप ज्ञवाली, भानुभक्त ढकाल, विमला विक, सुरेन्द्र यादव, लक्ष्मणलाल कर्ण, शक्ति बस्नेत, सरला यादव र सीताराम मेहता रहेका छन्। पुष्पा भुसाल उपसभामुखमा नियुक्त भएपछि उनको स्थानमा नेपाली कांग्रेसका तर्फबाट विश्वकर्मा छानबिन समिति सदस्य भएका थिए। छानबिन समितिले पूर्वसचिव र अर्थ मन्त्रालयका १७ कर्मचारीसँग बयान लिएको थियो। असार २२ गते गठन भएको छानबिन समितिले असार २८ गते काम थालेको थियो।
जनार्दन दोहोरिए के गर्लान् अर्थका कर्मचारी?
असार २२ गते अर्थमन्त्री शर्माले आफूमाथि लागेको आरोपको सफाइका लागि पत्रकार सम्मेलन गर्न चाहेका थिए। पत्रकार सम्मेलन गर्नका लागि कर्मचारीले नै साथ दिएका थिएनन्।
जनार्दन शर्मा मन्त्रीबाट नहटे अर्थ मन्त्रालय नै नबस्ने बताएका कर्मचारी प्रधानमन्त्रीको आदेश भन्दै मन्त्रालयमा बस्ने निष्कर्षमा पुगेका छन्।
अर्थसचिव मधुकुमार मरासिनी श्रीमती बिरामी भएको बहानामा बिदा बसेका थिए। राजस्व सचिव कृष्णहरी पुस्कर अष्ट्रिया भ्रमणमा गएका थिए। सिनियर सहसचिव केदारनाथ शर्मा बिदामा थिए। त्यसपछिका सिनिअर सहसचिव भुपाल बराल पनि स्वास्थ्यको कारण देखाउँदै मोबाइल स्विच अफ गरेर बसे।
पत्रकार सम्मेलन गर्नका लागि अर्थ मन्त्रालयका कर्मचारीले नै अहसोग गरेको महसुस गरी शर्माले प्रतिनिधि सभामा सभामुखसँग समय माग्दै आफ्नो राजीनामा घोषणा गरेका थिए।
जनार्दन शर्मा मन्त्रीबाट नहटे अर्थ मन्त्रालय नै नबस्ने बताएका कर्मचारी प्रधानमन्त्रीको आदेश भन्दै मन्त्रालयमा बस्ने निष्कर्षमा पुगेका छन्। शर्मा मन्त्री भएर फर्किएर आएपनि कर्मचारीलाई तत्काल नहटाउने संकेत पाएका कर्मचारीले मन्त्रालयमा नै बस्ने निष्कर्षमा पुगेका हुन्।
बजेट निर्माणमा खटिएका आर्थिक विश्लेषण महाशाखा प्रमुख महेश आचार्य बागमती प्रदेशका अर्थसचिव भएर गएका छन्। उनको स्थानमा सार्वजनिक वित्त व्यवस्थापन तालिम केन्द्रका तालिम प्रमुख एवं मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा समन्वय महाशाखा प्रमुख समेत रहेका राजेश्वर ज्ञवाली जाने निश्चित भएको छ। तालिम केन्द्रमा प्रदेशको अर्थिक मामिला तथा योजना मन्त्रालय भर्खरै अर्थ मन्त्रालय आएका सुमन दाहाल जाने भएका छन्।
जनार्दन शर्मा फर्किएमा अर्थसचिव मधुकुमार मरासिनी, राजस्व सचिव कृष्णहरी पुष्कर, सहसचिव भुपाल बराल र बजेट तथा कार्यक्रम महाशाखा प्रमुख चक्रबहादुर बुढाले अर्थ मन्त्रालय छोड्ने मनस्थिति बनाएको चर्चा मन्त्रालयमा हुने गरेको थियो। अर्थमन्त्री शर्मा मन्त्रीको रुपमा नफर्किए अर्थसचिवमा राष्ट्रिय योजना आयोगका सदस्य-सचिव केवलकिरण भण्डारी, सञ्चार सचिव बैकुण्ठ अर्याल र प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा रहेका रामप्रसाद घिमिरेको चर्चा थियो। तर, शर्मासँग भण्डारी र अर्याल काम गर्न रुचि नदेखाएकाले मरासिनी नै अर्थसचिवको रुपमा थप केही समय रहने अर्थमन्त्रालय स्रोत बताउँछ।
बलुवाटार तत्काल मन्त्रालय नछोड्न आदेश आएकाले शर्मा फर्किएमा केही समय तिनै कर्मचारीले जिम्मेवारी समाल्ने तयारी भएको मन्त्रालय स्रोतको दाबी छ।