बिहीबार, भदौ २, २०७९

अर्थतन्त्रको संगति कहाँनेर खुस्क्यो सरकार?

किशोर दाहाल  |  काठमाडौं, शुक्रबार, असार १७, २०७९

किशोर दाहाल

किशोर दाहाल

शुक्रबार, असार १७, २०७९, काठमाडौं

नेपाल समय

काठमाडौं- 'नेपाल पनि श्रीलंकाको बाटोमा जान लाग्‍यो' भन्‍ने वाक्यांश पछिल्लो समय धेरै सुन्‍न पाइन्छ। दक्षिण एसियाली मुलुक श्रीलंका अहिले आर्थिक संकटमा फसेको छ। प्रमुख प्रतिपक्षी दल नेकपा एमालेलगायतले नेपालको अर्थतन्त्र पनि श्रीलंकाको जस्तै बन्‍न लागेको भन्दै वर्तमान सरकारको चर्को आलोचना गरिरहेको छ। के नेपाल साँच्चै श्रीलंकाको जस्तै अवस्थामा पुग्‍न लागेको हो?, नेपालको अर्थतन्त्रको पछिल्लो अवस्था के छ? भन्‍ने विषयमा केन्द्रित रहेर  सेन्टर फर प्रोफेसनल जर्नलिजम स्टडिज शुक्रबार एक अन्तर्क्रिया गरेको छ। 

'नेपालको वर्तमान आर्थिक अवस्था एक सिंहावलोकन' शीर्षकमा गरिएको अन्तर्क्रियाको मध्यस्थता वरिष्ठ पत्रकार किशोर नेपालले गरे। उनले राष्ट्र बैंक पूर्वगभर्नरसमेत रहेका राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष  दीपेन्द्रबहादुर क्षेत्रीलाई अर्थमन्त्री र गभर्नरबीचको टसलको प्रसंग जोड्दै 'छापामार अर्थमन्त्री'ले बजेट ल्याउन हुने कि नहुने भन्दै प्रश्‍न गरेका थिए। आफूलाई 'छापामार' कै प्रवक्ताजस्तो गरी प्रश्‍न गरिएको भन्दै व्यग्यं गरेका क्षेत्रीले जवाफका लागि समय माग गरे। अन्तर्क्रियाको मध्यस्थता गरिरहेका नेपालले पनि 'आवश्यक समय' दिए। 

अर्थमन्त्री र गभर्नरबीचको झगडालाई श्रीमान-श्रीमतिको झगडासँग तुलना गर्दै जवाफ सुरु गरे, 'एउटा परिवारका श्रीमान-श्रमतीबीच बोलचाल नै बन्द भयो भनेर सुख पाउँदैनन्। छोराछोरीको हेरचाह, शिक्षा, दिक्षा दिन कस्तो गार्‍हो पर्‍यो भन्ने पनि अवस्था आउने भएकाले मलाई अर्थमन्त्री र गभर्नरबीचको सम्बन्ध त्यो भन्दा फरक हो जस्तो लाग्दैन। किनकी उहाँहरुले सेवा गर्नुपर्ने मुल दायित्व नेपाली जनता हो। अर्थमन्त्रीले गभर्नरलाई र गभर्नरले अर्थमन्त्रीलाई मात खुवाए भन्‍ने छुट उहाँहरुलाई छैन।' 

बजेटको कार्यान्वयन प्रमुख समस्या भएको भन्दै प्रभावकारी कार्यान्वयन र प्रणाली बसाल्न सफल भए 'छापामार अर्थमन्त्री' भएर पनि केही फरक नपर्ने उनले बताए। 

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. विश्‍व पौडेलले अर्थतन्त्र बाहिर प्रचार गरिए जस्ता समस्यामा नरहेको भन्दै बचाउ गरे। उनले रेमिट्यान्स आप्रवाह, वैदेशिक लगानी र सिमेन्टलगायतका वस्तुको निर्यातले भुक्तानी सन्तुलन र विदेशी मुद्राको सञ्‍चितिको संकटलाई रोक्ने बताए। विदेशमा श्रमिक पठाएर रेमिट्यान्स भित्र्याउनु नेपालको सबल पक्ष भएको तर्क पौडेलको थियो। विकसित मुलुकमा दक्ष कामदार पठाउने तयारी भइरहेकोसमेत उनले बताए। 

'नेपालका जनशक्तिलाई बेलायत अमेरिकालगायतका विकसित मुलुकमा पठाउन सके रेमिट्यान्सको दिगो स्रोत बन्‍ने र यसले विदेशी मुद्राको सञ्‍चितिमा महत्वपूर्ण योगदान गर्नेछ,'उनले भने, 'यो वर्ष विदेशमा ५ लाख नेपाली श्रमका लागि बाहिर गए। त्यो हाम्रो स्ट्रेन्थ हो। हामीले बेलायतमा नर्स पठाउने कुरा गरेका थियौं। विकसित मुलुकमा नर्स पठाउँदा त्यही सेटल हुने भए। जसले दिगो रेमिट्यान्स अर्को गन्तव्य अमेरिका पनि हो।' 

आगामी आर्थिक वर्षमा एक खर्ब रुपैयाँको सिमेन्ट निर्यात गर्ने बजेटको लक्ष्य पनि उनले सुनाए। अन्तर्राष्ट्रियरुपमा भएको मूल्यवृद्धिको असर वैदेशिक ऋणको ब्याजदरमा पर्नसक्ने भएकाले आयोजनाहरु चाँडो सम्पन्‍न गराउनेतर्फ आफ्नो ध्यान भएको उनको भनाई थियो। \

हाम्रो अर्थतन्त्रको आफ्नै विशेषता छ। यसले ठूलो फड्को मार्नै सक्दैन। यसलाई आफ्नै गतिमा छोडिदियौं। मलाई विकास विरोधी नभन्‍नुहोला। म विकास अर्थशास्त्रको विद्यार्थी हुँ। तर, सन १९९० मा आर्थिक उदारीकरणले अर्थतन्त्रमा उद्योगधन्दा विकास विस्तार र स्वामित्वको ट्रान्सफरको मात्रै कुरा आयो। तर, वैकल्पिक अर्थतन्त्र कसैले पनि प्रस्तुत गर्न सकेन

'केही वर्षपछि हाम्रो वैदेशिक ऋणको ब्याजदर बढ्छ भन्‍ने छ। अहिले १ प्रतिशतमा पाएको ब्याजदर २ प्रतिशत पुग्‍ने भन्‍ने छ। त्यसैले मेरो ध्यान पूर्वाधार आयोजनाहरु चाँडो सम्पन्‍ने होस भन्‍नेतिर छ,' पौडेलले भने। श्रीलंका टाँट पल्टिनुको प्रमुख कारण वैदेशिक ऋण र यसको व्यवस्थापन भएको पौडेलले बताए। श्रीलंकाको प्रतिव्यक्ति आय, प्रतिव्यक्ति विद्यालय भर्ना दरलगायतका कुनै सूचक नघटे पनि उनको विदेशी मुद्राको सञ्‍चिति नबढ्दा निर्यात गर्ने क्षमता घटेको पौडेलको तर्क थियो। नेपालमा पनि एकै वर्षमा ३०० अर्बले विदेशी मुद्राको सञ्चिति घट्दा समस्या आएको पनि उनले जानकारी गराए।

अक्सफोर्ड विश्वविद्यालयमा विकास अर्थशास्त्रका प्राध्यापक डाक्टर विजन पन्त उपाध्यक्ष पौडेलको भनाईप्रति सन्तुष्ट देखिएनन्। राजनीतिक नियुक्ति लिएर सत्तामा बस्दा खराब कुरालाई पनि सकारात्मक भन्दै हिड्नुपर्ने बाध्यता रहेको भन्दै कटाक्ष गरे। यस्तै हुने भएकोले आफूले तत्कालिन प्रधानमन्त्री सुशील कोइरालाको पालामा विकास तथा सामाजिक विज्ञबाट राजीनामा दिएको पनि स्मरण गराए। 

'मलाई नीतिगत तहमा बसेर केही काम गर्न सकिन्छ भन्‍ने लागेको थियो। शक्ति संरचनाभित्र बसेर केही अनुभव लिन मन थियो। मेरो अनुभव राम्रो नभएपछि मैले मैले राजीनामा गरेको थिएँ,' उनले भने, 'सत्तामा बसेपछि सबै कुरालाई सकारात्मक ढंगले प्रस्तुत गर्नुपर्ने बाध्यता हुन्छ। प्रतिरक्षात्मक पद हो, त्यो। नेपाली उखान जस्तै त्यहाँ बसेर नुनको सोझो गर्नुपर्छ।'

नेपालको अर्थतन्त्र संगतिभित्र नचल्ने र फरक प्रकारको विशेषता भएको उनले औंल्याए। 'हाम्रो अर्थतन्त्रको आफ्नै विशेषता छ। यसले ठूलो फड्को मार्नै सक्दैन। यसलाई आफ्नै गतिमा छोडिदियौं। मलाई विकास विरोधी नभन्‍नुहोला। म विकास अर्थशास्त्रको विद्यार्थी हुँ। तर, सन १९९० मा आर्थिक उदारीकरणले अर्थतन्त्रमा उद्योगधन्दा विकास विस्तार र स्वामित्वको ट्रान्सफरको मात्रै कुरा आयो। तर, वैकल्पिक अर्थतन्त्र कसैले पनि प्रस्तुत गर्न सकेन,' उनले भने।