काठमाडौं– प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले विगतका निर्वाचनभन्दा ४ मंसिरको निर्वाचन कम खर्चिलो भएको दाबी गरेका छन्। उनले हालै सम्पन्न निर्वाचन महँगो भएको कसैले प्रमाणित गरे तत्काल पदबाटै राजीनामा दिने बताए। शनिबार विराटनगरमा स्थानीय सञ्चारकर्मीसँगको भेटघाटमा विगतका निर्वाचनभन्दा आसन्न निर्वाचन सबै हिसाबमा सस्तो रहेको उनले दाबी गरेका हुन्।
प्रमुख आयुक्त थपलियाले २०६४, २०७०, २०७४ मा निर्वाचन सम्पन्न गराउने भएको खर्चको तुलनामा हालै सम्पन्न निर्वाचन खर्चको हिसाबमा महँगो भएको प्रमाणित गरेर देखाउन चुनौती दिए।
उनले भने, ‘२०६४ यता र हालै निर्वाचन सम्पन्न भइरहदा यो बीचमा कति मूल्यवृद्धि भएको छ। कर्मचारीको तलबभत्ता कति वृद्धि भएको छ। त्यतिबेलाका निर्वाचन लागतका हिसाबमा यो निर्वाचन कसैले महँगो भयो भनेर प्रमाणित गरे त्यही दिनदेखि राजीनामा दिन्छु।’ थपलियाले आगामी दिनमा निर्वाचन आयोगलाई थप सशक्त बनाउन नयाँ कानुन तर्जुमा गरिने बताए।