काठमाडौं– निर्वाचन आयोगले ४ मंसिरको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा समानुपातिक प्रणालीबाट निर्वाचित सदस्यलाई ३ पुस आइतबार प्रमाणपत्र वितरण गरिने बताएको छ।
आयोग परिसरमै वितरण गरिने प्रमाणपत्र प्रतिनिधिसभाका ११० र प्रदेशसभाका २२० गरी समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित ३३० प्रतिनिधिले पाउनेछन्।
आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले ३ पुसमा आइतबार अपराह्न प्रतिनिधिसभा तथा प्रदेशसभाको समानुपातिकतर्फ निर्वाचित सदस्यलाई प्रमाणपत्र वितरण गरिने बताए। प्रवक्ता पौडेलले भने, ‘समानुपातिकतर्फको मुख्य निर्वाचन अधिकृतको कार्यालय आयोगको केन्द्रीय कार्यालयमै रहेकाले समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित प्रदेशसभा र प्रतिनिधिसभा सदस्यलाई आयोग परिसरमै प्रमाणपत्र वितरण गरिनेछ।’
निर्वाचित सदस्यलाई प्रमाणपत्र बाँड्नुअघि आयोगले शनिबार सात वटै प्रदेशका प्रदेशप्रमुखलाई प्रतिनिधिसभा तथा प्रदेश सभा सदस्य निर्वाचनको अन्तिम परिणामको प्रतिवेदन बुझाउँदै छ। समानुपातिक निर्वाचन प्रणालीका सहायक निर्वाचन अधिकृतसमेत रहेका आयोगको कानुन तथा राजनीतिक दल व्यवस्थापन महाशाखाका प्रमुख एवं सहसचिव यज्ञप्रसाद भट्टराईले शनिबार सात वटै प्रदेशमा आयोगले प्रदेश प्रमुखलाई प्रतिवेदन बुझाउने बताए।
आयोगले २८ मंसिरमा प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको अन्तिम नतिजा सार्वजनिक गरेको थियो। जसअनुसार प्रतिनिधिसभामा प्रत्यक्षतर्फ १६५ र समानुपातिकतर्फ ११० तथा सात वटै प्रदेशको प्रदेशसभाका लागि ३३० जना प्रत्यक्ष र २२० जना समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित भएका छन्।