नेपालगञ्ज– दिउँसो अबेर मात्र घाम देखिएको नेपालगञ्जमा बेलुकीको चिसो बढ्दै गएको थियो। घडीको सुईले ठीक ६ बजाउनासाथ पर्दामा ‘सा कर्णाली’ म्युजिक भिडियो बज्न थाल्यो। त्यतिबेलै त्यहाँ वायु होइन, आवाजले गर्दा एक्कासि तापक्रम बढेको महसुस भयो।
मञ्च अगाडिको रंगशालाको प्याराफिटमा सपरिवार बसेका लक्ष्मीकान्त उपाध्यायका निम्ति यो सुखद क्षण थियो। किनभने, अगाडि प्रस्तुत भइरहेको गीत कुनै बेला उनैको संकलनबाट नेपथ्यले प्राप्त गरेको थियो डोल्पा दुनैका लक्ष्मीकान्तले यो गीत दशकौं अघि सुनेका थिए। त्यसमा केही जुम्ली प्रभाव मिसाएर तयार पारेको यो गीतलाई झन्डै डेढ दशकदेखि नेपथ्यले गाउँदै आएको छ। यो क्षणलाई प्रत्यक्ष साक्षात्कार गर्नकै निम्ति उनी अघिल्लो दिन मात्रै डोल्पादेखि नेपालगञ्ज सपरिवार आएका थिए।
दुई म्युजिक भिडियो देखाएपछि लगत्तै मञ्चमा चढेको नेपथ्य टोलीले पहिलो प्रस्तुतिका रुपमा ‘आँगनै भरि हिउँ नै झरे’ गीत सुनाएको थियो। नेपथ्य ब्यान्डकै यो पहिलो सिर्जना यसअघि गत साता हेटौंडा कन्सर्टमा पनि पहिलो गीतका रुपमा प्रस्तुत भएको थियो ।
गीत प्रस्तुत गरिरहँदा मञ्चको पृष्ठभूमिमा स्थापनाकालीन नेपथ्यकै टोलीका तस्बिर देखाइएको थियो। गीत अघि बढ्दै जाँदा ब्याण्डले बितेका ३३ वर्षमा गरेको यात्राको झलक आउने गरी तस्बिर संयोजन गरिएको थियो। १० वर्षको अन्तरालपछि नेपथ्य नेपालगञ्जमा दोस्रो पटक प्रस्तुत भएको हो।
अघिल्लो पटक ‘शान्तिका लागि शिक्षा’ अभियान लिएर ब्यान्ड सन् २०१२ मा यहाँ आएको थियो। त्यतिबेला यहाँस्थित बागेश्वरी चलचित्र मन्दिरमा कन्सर्ट देखाइएको थियो भने यसपालि पहिलो पटक नेपालगञ्जका दर्शकमाझ खुला अकासमुनि बनाइएको विशाल मञ्चमा नेपथ्य प्रस्तुत भएको छ।
विराटनगर, वीरगञ्ज, हेटौंडा र चितवनपछि यो यस पटकको शृंखलामा पाँचौं प्रस्तुति थियो। अघिल्ला कन्सर्टजस्तै यसमा पनि दर्शकको उत्साहपूर्ण उपस्थिति देखिन्थ्यो।
बिहीबार बेलुकीको कार्यक्रममा नेपथ्यले दोस्रो गीतका रुपमा ‘भेँडाको ऊनजस्तो’ पस्कियो। त्यतिबेला सधैंजस्तै नेपालगञ्जमा पनि इफेक्टको प्रयोग गरेर मञ्च अगाडि हिउँ झरेको देखाइएको थियो। ब्यान्डको अर्को पुरानो गीत ‘छेक्यो छेक्यो देउराली डाँडा’ सुनाइयो।त्यसपछि ब्यान्डका मुख्य गायक एवं अगुवा अमृत गुरुङ दर्शकसँग भलाकुसारी गर्न अघि बढे।
‘संगीतसँगसँगै मानवताको सेवा गर्ने उद्देश्यले यहाँ आउनुभएका सबै दर्शकलाई स्वागत गर्न चाहन्छु,’ उनले थपे, ‘हिमाल, पहाड र मधेसदेखि नेपालगंजमा जम्मा भई यो ठाउँ गुलजार बनाइदिने तपाईंहरु सबैलाई धन्यवाद ।’
त्यसपछि उनले गीत गाए
‘खान्नँ म त लामपाते सुरती
लाऊँ कि नलाऊँ जुग जाने पिरती’
नेपथ्यका पुरानै गीतहरु ‘चरी मर्यो’ र ‘जोमसोमे बजारमा’ले निरन्तरता पाए।
‘जोमसोम छेउमा डोल्पा छ, डोल्पायता जुम्ला र कैलाश मानसरोवर देखिने हुम्ला झनै राम्रो, मुगु राराको झन् के कुरा?’ अमृतले नेपालगञ्जकै मास्तिर रहेका भेगको सुन्दरताबारे उल्लेख गरे।
त्यसपछि अमृतले धौलागिरितिर तयार पारिएको गीत सुनाएः
‘शिरफूल शिरैमा वनफूल वनैमा
हिउँको फूल धौलासिरीमा’
अमृतले नेपालगञ्ज आएकोबेला धम्बोजी चोकैमा गाडाका गाडा मानिसहरु भारततिर गइरहेको दृश्य देखेको सुनाउँदै उहिलेदेखिको लाहुरे परम्परा सम्झे र त्यसैसँग जोडिएको गीत ‘नैना ताल’ सुनाए। घरपरिवारबाट निकालिएर सडकमा आश्रित बन्न पुगेका मुलुकभरका नागरिकको सेवामा खटिएको मानव सेवा आश्रमसँग मिलेरै नेपथ्यले यस पटकको देश दौडाहा गरेको हो।
नेपालगञ्जको कन्सर्ट सकिएपछि ७० सदस्यीय नेपथ्य टोली पाँच वटा ट्रक र दुइ वटा बस चढेर धनगढी प्रस्थान गरेको छ। धनगढीमा आगामी ३ पुसमा नेपथ्य गुञ्जिनेछ।