शनिबार, वैशाख ८, २०८१
  • गृहपृष्ठ
  • प्रदेश
  • प्रदेश १ : चुनावी अभियानमा होमियो एमाले, केन्द्रको निर्णय कुर्दै गठबन्धन

प्रदेश १ : चुनावी अभियानमा होमियो एमाले, केन्द्रको निर्णय कुर्दै गठबन्धन

गठबन्धनमा सिट बाँडफाँट ढिलो हुँदा चुनाव केन्द्रित गतिविधिहरु तीव्र रुपमा अगाडि बढाउन नसकिएको नेकपा एकीकृत समाजवादीका पोलिटब्युरो सदस्य महेश रेग्मीले बताए।
 |  शुक्रबार, भदौ ३, २०७९

नेत्र पी अधिकारी

नेत्र पी अधिकारी

शुक्रबार, भदौ ३, २०७९

विराटनगर- आगामी मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि नेकपा एमालेले चुनावी अभियान सुरु गरिसकेको छ। प्रदेश १ का १४ वटै जिल्लामा केन्द्रीय नेताहरुको उपस्थितिमा चुनाव लक्षित पार्टी प्रशिक्षण सकेर नेताहरु आफ्नो चुनावी क्षेत्रमा खटिइसकेका छन्। पार्टी अध्यक्ष केपी शर्मा ओलीले नेताहरुलाई आफ्नो चुनावी क्षेत्र छाडेर अन्यत्र नजान निर्देशन दिएका छन्। सम्भावित उम्मेदवारहरु चुनावी क्षेत्रमा घरदैलोमा जुटिसकेका छन्।

triton college

ओली आफैं पनि  गृहजिल्ला झापा आएका छन् केही दिनका लागि। पार्टी अध्यक्ष ओलीलाई भेट्न जाने जोसुकै नेतालाई उनले आ-आफ्नो चुनावी क्षेत्रमा केन्द्रित हुन निर्देशन दिने गरेको एक केन्द्रीय सदस्यले जानकारी दिए। अध्यक्षको निर्देशनअनुसार नेताहरु क्षेत्रमा परिचालन भइसकेका छन्। अध्यक्ष ओली स्वयं चुनावी अभियानमा लागिसकेका छन्। उनी पनि अहिले झापा क्षेत्र नम्बर ५ मा केन्द्रित भएका छन्। 

एमालेले प्रदेश निर्वाचन क्षेत्रीय कमिटी र संघीय निर्वाचन क्षेत्रीय कमिटीको भेला बैठकहरुलाई तीव्रता दिएको एमाले मोरङका सचिव रुपेश खतिवडाले जानकारी दिए। एमाले कार्ययोजनाका साथ निर्वाचन केन्द्रित कार्यक्रममा लागि सकेको उनले बताए। भदौभित्रमा पार्टीका सबै कमिटीका भेला बैठकहरु सक्न निर्देशन दिइएको उनले बताए। उनले भने,‘मोरङमा चुनावी अभियान सुरु भइसकेको छ।’ सम्भावित उम्मेदवारहरु पनि जनता समक्ष पुग्‍न थालिसकेको सचिव खतिवडाले बताए। उनले भने,‘सम्भावित उम्मेदवारहरु जनताका कुरा सुन्‍न घरदैलोमा गइसकेको अवस्था छ।’

एमाले चुनावी अभियानमा लागि सक्दा सत्तारुढ गठबन्धनमा आवद्ध दलहरु भने केन्द्रको निर्णय कुरेर बसेका छन्। केन्द्रबाट सिट बाँडफाँट नहुँदासम्म चुनाव अभियान सञ्चालन हुन नसकेको नेकपा माओवादी केन्द्रका मोरङ संयोजक विजय विश्‍वासले बताए। सिट बाँडफाँटको स्पष्ट खाका आएपछि चुनावी अभियान सुरु गरिने उनले बताए। उनले भने, ‘सिट बाँडफाँट नभएकाले गठबन्धन दलको बैठक बस्‍न सकेको छैन।’ व्यक्तिगत छलफल, भेटघाट भने निरन्तर भइरहेको उनले जानकारी दिए। 

गठबन्धनमा सिट बाँडफाँट ढिलो हुँदा चुनाव केन्द्रित गतिविधिहरु तीव्र रुपमा अगाडि बढाउन नसकिएको नेकपा एकीकृत समाजवादीका पोलिटब्युरो सदस्य महेश रेग्मीले बताए। पार्टीका कार्यक्रम, गतिविधिहरु भने निरन्तर सञ्चालन भइरहेको उनको भनाइ छ। उनले भने, ‘सिट बाँडफाँट टुंगिएपछि उम्मेदवारसहित अभियान तीव्र पारिने छ।’ गत वैशाखमा सम्पन्‍न स्थानीय तह निर्वाचनमा मोरङमा गठबन्धन हुन नसक्दा परिणाम आफ्नो पक्षमा पार्न नसकिएको उनले बताए। स्थानीय तह निर्वाचनमा अन्तिम समयमा आएर धोका भएकाले गठबन्धन भए कसरी जाने र नभए कसरी जाने भन्ने विषयमा पार्टीमा छलफल भइरहेको उनको भनाइ छ। 

corrent noodles
Metro Mart

मोरङमा एमालेबाट को-को छन् आकांक्षी?
क्षेत्र नम्बर १ बाट घनश्याम खतिवडा र डा. शिवमाया तुम्वाहाम्फे आकांक्षी देखिएका छन्। खतिवडा ०७४ मा प्रत्यक्ष निर्वाचित सांसद हुन् भने डा. तुम्वाहाम्फे समानुपातिक सांसद हुन्। प्रतिनिधिसभाको उपसभामुख र मन्त्री समेत भइसकेकी उनले आगामी निर्वाचनमा प्रत्यक्ष उम्मेदवारी दिने बताउँदै आएकी छन्। एमाले स्थायी कमिटी सदस्यसमेत रहेकी उनले प्रत्यक्षमा उम्मेदवारी दिने गरी लबिङ गरिरहेकी छन्। प्रदेश कमिटी सदस्य रहेका सांसद खतिवडा पनि पुन: प्रत्यक्षमा उम्मेदवारी दिने तयारीमा छन्। उनी आफ्नो विकल्प अरु कोही हुन नसक्ने बताउँछन्।  

सोही क्षेत्रबाट प्रदेश (क) मा भूपाल जिमी, रुपेश खतिवडा र देवी आचार्य (ख) बाट डिल्ली राम शर्मा अधिकारी, खड्ग बस्नेत र शान्ति लिम्बु आकांक्षी देखिएका छन्। खतिवडा जिल्ला सचिव, आचार्य निवर्तमान गाउँपालिका अध्यक्ष , बस्‍नेत पूर्व जिविस सभापति र लिम्बु केराबारी गाउँपालिकाकी निवर्तमान उपाध्यक्ष हुन्। 

क्षेत्र नम्बर २ बाट मोरङ अध्यक्ष ऋषिकेश पोखरेल एक्लो उम्मेदवार देखिएका छन्। ०७० को दोश्रो संविधानसभा निर्वाचनमा निर्वाचित भएका पोखरेल ०७४ को निर्वाचनमा पराजित भएका थिए। सोही क्षेत्रको प्रदेश (क) बाट मेघराज कट्टेल, हसन इमाम वक्स, डिबी कार्की (ख) बाट लीलाबल्लब अधिकारी, डिल्ली दाहाल र इर्जालाल राजवंशी आकांक्षी देखिएका छन्। अधिकारी प्रदेश सांसद तथा निर्वमान राज्यमन्त्री हुन्। 

क्षेत्र नम्बर ३ बाट स्थायी कमिटी सदस्य भानुभक्त ढकाल र गुरु बराल आकांक्षी देखिएका छन्। सो क्षेत्रबाट ढकालको सम्भावना बढी देखिएको नेताहरुको भनाइ छ।  बराल गत फागुनमा सम्पन्‍न राष्ट्रियसभा निर्वाचनमा गोलाप्रथामा पराजित भएका थिए। राष्ट्रिय सभाको उम्मेदवार भइसकेकाले उनको सम्भावना कम रहेको बताइएको छ। सोही क्षेत्रको प्रदेश (क) मा रामकुमार बस्‍नेत, किशोर राई (ख) बाट राजकुमार ओझा, ज्ञानेन्द्र सुवेदी, राजकुमार बस्‍नेतको चर्चा छ। बस्‍नेत अनेरास्वयूका पूर्व उपाध्यक्ष हुन्। राई पथरीशनिश्चरे नगरपालिकाका निवर्तमान मेयर हुन्। ओझा प्रदेश सांसद तथा पूर्व राज्य मन्त्री तथा सुवेदी बेलबारी नगरपालिकाका निवर्तमान प्रमुख हुन्। 

क्षेत्र नम्बर ४ बाट केन्द्रीय सदस्य विनोद ढकाल र जीवन घिमिरे आकांक्षी देखिएका छन्। ढकाल निर्वाचन क्षेत्र परिवर्तन गरेर क्षेत्र नम्बर ४ मा जान लागेका हुन्। यसअघि उनी पहिलो संविधानसभा निर्वाचनमा डा. शेखर कोइरालासँग पराजित भएका थिए। घिमिरे सोही क्षेत्र अन्तर्गतका प्रदेश सांसद तथा पूर्वमन्त्री हुन्। सोही क्षेत्रको प्रदेश (क) बाट कुमार आचार्य, नरेन्द्र बस्‍नेत र राजकिशोर विश्वास, (ख) मा जीवन घिमिरे एक्लो देखिएका छन्। 

क्षेत्र नम्बर ५ बाट योगेन्द्र मण्डल र केन्द्रीय सदस्य रामलाल साह आकांक्षी देखिएका छन्। मण्डल जीवन विकास समाजका अध्यक्ष हुन्। सो क्षेत्रबाट मण्डलको सम्भावना बढी छ। साह ०६४ को संविधानसभा निर्वाचनमा सो क्षेत्रबाट पराजित भएका थिए। सोही क्षेत्रको प्रदेश (क) मा ज्ञानेश्वर राजवंशी, सन्तोष साह र मनोज अग्रवाल (ख) बाट रामलाल साह, बालेश्वर कामत, मीना यादव, वसन्ती यादव, दिलसाद आलम आकांक्षी देखिएका छन्। राजवंशी प्रदेश सांसद तथा पूर्वमन्त्री हुन। यादव समानुपातिक सांसद हुन्। 

क्षेत्र नम्बर ६ बाट स्थायी कमिटी सदस्य तथा मन्त्री लालबाबु पण्डित एक्ला उम्मेदवार देखिएका छन्। सोही क्षेत्रको प्रदेश (क) बाट सत्यनारायण चौधरी र हरि घिमिरे (ख) बाट पर्शुराम वस्नेत र रमेश पोखरेल आकांक्षी देखिएका छन्। प्रदेश (ख) बाट पोखरेल अघिल्लो निर्वाचनमा पराजित भएका थिए। 

गठबन्धनबाट को–को छन् आकांक्षी?
सत्तारुढ गठबन्धनको सिट बाँडफाँट टुंगिन बाँकी रहे पनि नेताहरुले दाबी गर्न सुरु गरिसकेका छन्। प्रतिनिधि तथा प्रदेश सभातर्फ ०७४ र सो भन्दा अघि प्रत्यक्ष निर्वाचितहरुले आफ्नो क्षेत्रमा दाबी कायम रहेको बताएका छन्। 

मोरङ क्षेत्र नम्बर १ मा नेपाली कांग्रेस सभापति डिगबहादुर लिम्बुले दावी गर्दै आएका छन्। उनी २०७० को दोस्रो संविधानसभा निर्वाचित भएका थिए। क्षेत्र नम्बर २ बाट डा. मिनेन्द्र रिजाल र सुजाता कोइरालाले दाबी गर्दै आएका छन्। क्षेत्र नम्बर ३ मा कांग्रेसकै सुनिल शर्माले दाबी गर्दै आएका छन्। उनी ०७४ मा एमाले उम्मेदवार भानुभक्त ढकालसँग पराजित भएका थिए। 

क्षेत्र नम्बर ५ बाट माओवादी केन्द्रका शिवकुमार मण्डलले दाबी गर्दै आएका छन्। सो क्षेत्रबाट ०७० को दोस्रो संविधानसभामा निर्वाचित कांग्रेस केन्द्रीय सदस्य अमृत अर्याल आकांक्षी देखिएका छन्। सो क्षेत्रमा जनता समाजवादी पार्टीले पनि दाबी गर्दै आएको छ। जनता समाजवादीको प्रभाव क्षेत्र सोही मात्रै हो। क्षेत्र नम्बर ६ मा डा. शेखर कोइराला र रमेशजंग रायमाझी आकांक्षी देखिएका छन्। राष्ट्रियसभा सदस्य समेत रहेका रायमाझी एक वर्ष कार्यकाल रहँदै राजीनामा दिएर उम्मेदवार बन्‍ने बताउँदै आएका छन्। रायमाझी संस्थापन पक्षका नेता हुन्। 

प्रदेशसभामा गठबन्धनतर्फ मोरङ १ (क) मा माओवादी केन्द्रका कुशल लिम्बु र (ख) मा एमालेबाट निर्वाचित भएका उपेन्द्र घिमिरे नेकपा एकीकृत समाजवादीमा छन्। क्षेत्र नम्बर २ (क) मा कांग्रेसका शिवनारायण गनगाई, क्षेत्र नम्बर ३ (क) मा कांग्रेसका सुयर्माराज राई, क्षेत्र नम्बर ४ (क) मा माओवादी केन्द्रका विजय विश्वास, ५ (ख) मा जसपाबाट जयराम यादव, क्षेत्र नम्बर ६ (क) मा कांग्रेसका चुमनारायण तवदार र (ख) मा केदार कार्की निर्वाचित भएका थिए। 

प्रकाशित: Aug 19, 2022| 13:19 शुक्रबार, भदौ ३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।