शुक्रबार, वैशाख ७, २०८१

भरतपुरमा छताछुल्ल गठबन्धनको त्रास

यस्तै गठबन्धन हारे दुर्घटना हुने प्रचण्डको चेतावनी, एमालेका नेताले मिल्नका लागि गरेको आग्रह उल्लेख गर्दै प्रचण्डले दिएको दोस्रो चेतावनी, कांग्रेसका बागी उम्मेदवारले आफ्नो कुरा नसुनेको रामचन्द्रको गुनासो र रेणुको महिमामण्डनले गठबन्धनलाई भरतपुरमा चुनाव जित्न सहज नभएको र त्यसका लागि नेताहरूले विभिन्न किसिकको धाकधम्की, चेतावनी, गुनासो र आग्रह गरेको बुझ्न सकिन्छ।
 |  बिहीबार, वैशाख २२, २०७९

तीर्थराज बस्नेत

तीर्थराज बस्नेत

बिहीबार, वैशाख २२, २०७९

काठमाडौं- गत स्थानीय चुनावमा भरतपुरको मेयरका लागि टिकट लिएर नेपाली कांग्रेसका नेता दिनेश कोइराला भरतपुर पुगेर मनोनयन दर्ता गराए। निर्वाचन आयोगले प्रक्रिया पूरा गरिरहेकै थियो। तर उम्मेदवारी फिर्ता लिने समय बाँकी रहँदै नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रबीच चुनावी तालमेल गर्ने निर्णय भयो। सोही निर्णयको जगमा भरतपुरको मेयरका लागि पुष्पकमल दाहालकी छोरी रेणुलाई नेपाली कांग्रेसले समर्थन गर्नुपर्ने भयो। उम्मेदवारी फिर्ता लिन कांग्रेसले कोइरालालाई आग्रह गर्‍यो। तर उनी तयार भएनन्। निर्वाचन आयोगमा काठमाडौबाट सभापति देउवाले चिठी पठाएर उम्मेदवारी फिर्ता लिइदिए।

triton college

गत स्थानीय तहको निर्वाचनमा सुरु भएको नेपाली कांग्रेस-माओवादी केन्द्रबीचको गठबन्धन यसपालिको चुनावमा आइपुग्दा विस्तार भएर ५ दलीय गठबन्धन बनेको छ। संघमा सरकार चलाएको यो गठबन्धनले सबै महानगर र उपमहानगरमा केन्द्रबाटै निर्णय गरेर साझा उम्मेदवार खडा गरी चुनावी मैदानमा होमिएको छ। ५ दल मिले पनि धेरै स्थानमा विपक्षी एमाले एक्लैले टक्कर दिइरहेको छ। यसले गठबन्धनका दलहरूलाई असुरक्षित बनाएको छ। 

सबैभन्दा बढी असुरक्षामा छ नेकपा माओवादी केन्द्र। माओवादीले गत निर्वाचनमा कांग्रेसको सहयोगका बाबजुद पनि झिनो मतान्तरले जितेको थियो। भतरपुर १९ नम्बरको मतपत्र नच्यातेको भए गत निर्वाचनमा माओवादी उम्मेदवार रेणु दाहाल विजयी हुनेमा धेरैले शंका गर्छन्। यसले मेयरमा दोहोरिने कुरामा रेणु ढुक्क बन्‍न सकेकी छैनन्। रेणुको जीवनभर मतपत्र च्यातेर जितेको आरोपले पछ्याइरहने छ। 

गठबन्धनका दल रेणुलाई जिताउन एकजुट भए पनि कार्यकर्तामा तीव्र विभाजन छ। यो विषयले सबैभन्दा बढी सताएको छ, प्रचण्डलाई। एक त आफ्नो भागमा एक मात्र महानगर। त्यहाँमाथि पनि कांग्रेसका बागी उम्मेदवार जगन्नाथ उम्मेदवारी फिर्ता लिन र निष्क्रिय बनाउन तयार नभएपछि उनको असुरक्षा चितवनको बृहत् भनिएको सभामा पोखिएको छ। 

रेणुलाई भोट नदिए देश दुर्घटनामा पर्ने धम्की 

corrent noodles
Metro Mart

मेयरका बाबुसमेत रहेका माओवादीका अध्यक्ष प्रचण्डले रेणुलाई भोट नहाले देश दुर्घटनामा पर्न सक्ने 'धम्की' दिए। तर भरतपुरका कांग्रेस कार्यकर्ताले रेणुलाई भोट हाले गठबन्धन २० वर्षसम्म लैजाने 'आश्वासन' दिए। कांग्रेस कार्यकर्ताले हसियाँ-हथौडामा भोट हाले गठबन्धन बलियो हुने भोट नहाले देश दुर्घटनामा जानसक्ने उनको चतावनी छ। यद्यपि प्रचण्ड आश्वासन तोड्न पनि केपी ओली जतिकै 'माहिर' छन्। 

‘यो गठबन्धन राष्ट्रको आवश्यकता हो। यो गठबन्धन गणतन्त्र र लोकतन्त्रको आवश्यकता हो। देशको जनताको समृद्धि र विकासको आवश्यकता हो भन्ने नबुझेर हालिदैन हसियाँ हथौडामा भोट भन्नुभयो भने देश दुर्घटनामा जान सक्छ। रेणु दाहाल र चित्रसेन अधिकारीलाई विजयी गराउनुभयो भने गठबन्धनलाई १०, १५, २० वर्ष लाने मेरो प्रतिबद्धता हुनेछ,' प्रचण्डको चेतावनी छ, 'तपाईं जिल्लामा बसेर काम गर्ने नेता र चितवनबासी तपाईं जनताको हातमा पनि फैसलाको अधिकार छ। नेताको मात्रै होइन। तपाईहरुले नेतालाई अनावश्यक दबाब दिनुभयो, राष्ट्रिय आवश्यकतालाई नजरअन्दाज गर्नुभयो भने दुर्घटनामा जान सक्छ।’ देश दुर्घटनामा परे त्यसको जवाफ गठबन्धनको विरोधमा भाषण गरेर हिँड्नेले दिनुपर्ने थप चेतावनी दिए, 'देश दुर्घटनामा पर्ने खतरा छ, त्यसको जवाफ अहिले यो गठबन्धनको विरोधमा भाषण गरेर हिड्नेहरुले दिनुपर्नेछ।’

एमालेसँग फेरि मिल्ने धम्की

कांग्रेसीले रेणुलगायत आफ्नो दलका उम्मेदवारलाई भोट नदिए एमालेसँग मिल्न सक्ने पनि सम्भावना बाँकी रहेको भनेर प्रचण्डको कांग्रेसका नेताहरूलाई र कांग्रेस कार्यकर्ताहरूलाई पनि चेतावनी छ। एमालेका नेताहरुले पुनः मिल्न आउन आग्रह गरेको पनि उनले बताए। यद्यपि पाँचदलीय आमसभा भएकाले हुन सक्छ प्रचण्डले एमालेसँग भने नजाने बताए।

‘कतिपय बेला एमालेका कतिपय साथीहरु होइन हामी नै मिलौँ भन्न आउँछन् आजभोलि। म राजनीतिक दलहरुको फैसला हेर्न चाहन्छु। जनताको फैसला के हुन्छ, त्यसलाई शिरोपर गरेर अगाडि बढ्छु।’ आफू असुरक्षामा परेको महसुस गरेको अवस्थामा प्रचण्डले यस्ता चेतावनी विगतमा पनि दिँदै आएका छन्। 

प्रचण्डले दिएका दुई चेतावनीका विषयमा आफ्नो कुनै टिप्पणी नरहेको माओवादी नेता नारायणकाजी श्रेष्ठले बताए। 'प्रचण्डले आज दिनुभएको अभिव्यक्ति पूर्णतया सुन्‍न पाएको छैन,' श्रेष्ठले भने, 'उहाँको अभिव्यक्तिका विषयमा तत्काल कुनै टिप्पणी गर्न चाहन्नँ।' 


 

000

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पनि ५ दलको सभामा असुरक्षित देखिए। उनले नेपाली कांग्रेसलाई नेपाली कांग्रेसबाटै खतरा रहेको संकेत गरे। उनको मुख्य गुनासो चाहिँ जगन्नाथ पौडेलले आफूलाई पर्याप्त समय नदिएको र कुरा नै पूरा नगरी बीचैमा निस्किएको विषयमा थियो। 

मेयरका उम्मेदवार पौडेल र उनका समर्थकहरू कांग्रेस नै भएको र आफू नेता भएपनि आफ्ना कुरा  कार्यकर्ताले नै सुन्‍न नचाहेको गुनासो गरे। कांग्रेसका कार्यकर्ताबाट नै धोका हुने भन्दै उनको असुरक्षा देखाएका थिए। आफ्नो कुरा सुन्‍न नचाहेको बताएका रामचन्द्रले जगन्नाथले इमोसनमा, भावावेशमा र उत्तेजनामा मात्र उम्मेदवारी दिएको आरोप लगाए। 

आफ्नो कुरा सुनाउन जगन्नाथले बेवास्ता गरेपछि मञ्चबाट नै उनले फकाउने प्रयत्न गरेका थिए। ‘मैले आज बिहान मात्रै कृष्णलालजीलाई, भीमबहादुर श्रेष्ठजीलाई र जगन्नाथ पौडेलजीलाई म भएको ठाउँमा बोलाएर केही कुराहरु राख्न शुरु गरेँ। बसेर राम्रोसँग कुरा गरौँ भनेँ,' रामचन्द्रले गुनासो थपे, 'तर उहाँहरुले अलिकति धैर्य राख्‍न सक्नुभएन। उहाँहरु चाँडै उठेर जान खोज्‍नभयो। इमोसनमा, भावावेशमा र उत्तेजनामा मात्रै उहाँहरु असन्तुष्टि व्यक्त गरेर उत्रिएको जस्तो मलाई लाग्यो। राजनीतिक द्वन्द्व चलिरहेको छ, नेपाली कांग्रेसको प्रतिष्पर्धा माओवादी केन्द्रसँग होइन, प्रचण्डसँग होइन, नेपाली कांग्रेसको प्रतिष्पर्धा नेकपा एमालेको ओली प्रवृत्तिसँग हो। हाम्रो द्वन्द्व छ, हाम्रो असहमति छ।’

000

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पनि कांग्रेसको विवादबाट गठबन्धन घाटा हुनसक्ने संकेत गरेका थिए। सत्तारुढ गठबन्धनलाई नोक्सानी पुग्ने काम गरे अर्को गठबन्धनलाई मद्दत पुग्ने भएकाले त्यतातर्फ नलाग्न उनको आग्रह थियो। ‘अर्को गठबन्धनलाई मद्दत पुग्नेगरी, दक्षिणपन्थी गठबन्धनलाई मद्दत पुग्नेगरी, र यो वाम लोकतान्त्रिक गठबन्धनलाई नोक्सानी हुने गरी कसैले लाग्नु हुँदैन। 

अध्यक्ष नेपालले नेपाली कांग्रेसका असन्तुष्ट उम्मेदवारलाई वक्तव्य निकालेर उम्मेदवारी फिर्ता लिन आग्रह गरेका थिए। ‘नेपाली कांग्रेस भित्रको अलि समस्या देखिएको छ,' कांग्रेसका स्थानीय नेतालाई नेकपा एसका अध्यक्ष नेपालको चेतावनी छ, 'तपाईहरुले साँच्चै राजनीतिलाई निष्ठा र सर्मपणको विषय बनाउनुभएको छ भने व्यक्तिगत कुण्ठाको आधारमा नचल्नुस्। होइन तपाई फिर्ता लिनु हुन्‍न भने जनताले नै फैसला गर्नेछन्।

रेणुको महिमामण्डन

गत निर्वाचनमा 'मतपत्र च्यातिएको' विषय प्रचण्डले संकेत गरेका थिए। 'हामी गठबन्धनमा थियौँ। तर व्यवहारमा आउँदा मैले सहज देखिनँ। एउटा सहज नदेखिएको जिल्ला चितवन पनि हो त्यतिबेला। मेयरकै चुनाव पनि हो। म योभन्दा धेरै चाहिँ भन्न चाहन्‍नँ। त्यसले हामीलाई चिन्तित तुल्यायो,' उनले भनेका थिए। 

चुनावी सभामा रेणुले राम्रो काम गरेकाले पुन जित्नुपर्ने दाबी गरेका थिए। रेणुका कामको प्रशंशा गरेर उनीहरू विपक्षी उम्मेदवारलाई कमजोर देखाउने प्रयत्नमा थिए। 

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले रेणुमा जादु भएको र उनले आफ्नो हकमा चमत्कार नै गरेको बताए। रेणुलाई भोट माग्ने सभामा आउने भनेपछि आफ्नो दुखेको घाँटी ठिक भएको भन्दै उनले महिमामण्डन गरे। रेणुको भाषण सुनेर दंगदास भएको समेत भन्न भ्याए। 

'मेरो घाँटीले साथ दिँदैन भन्ने लागिरहेको थियो। चुनावी अभियानमा गएको त घाँटी च्याप्पै बसेछ। आज त स्वाट्टै खुलेछ। त्यसमा पनि रेणु दाहालको भाषण सुनेर दंगदाऽऽऽस भएको छु। त्यस्तो भाषण र कामको प्रतिवदेन जसरी प्रस्ततु भयो त्यस्तो मैले कल्पनै गरेको थिइनँ। बधाई छ रेणु दाहाललाई,' नेपालले भने।



अध्यक्ष नेपालले भरतपुर महानगरपालिकाको मेयरमा रेणु दाहालको योग्यताको जाँच भइसकेको समेत दाबी गरे। रेणुलाई माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको छोरी भएकै कारण मात्र गठबन्धनले मेयरमा नउठाएको उनको दाबी थियो। ‘मेयरमा रेणु दाहाललाई यस आधारमा होइन कि उहाँ पुष्पकमल दाहाल प्रचण्डकी छोरी त्यस रुपमा हेर्ने पनि होइन। अनि छोरी भएपछि अर्को पार्टीमा जाउँ भन्ने? योग्य छ, सक्षम छ भने उसलाई राजनीतिमै आउन भन्नुपर्छ। त्यस आधारमा दण्डित गर्ने होइन। योग्यताको जाँचमा रेणु दाहाल उत्कृष्ट काम गर्नुभएको छ,’ नेपालको भनाइ थियो। 

रेणुको महिमामण्डन गर्न प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पनि पछि परेनन्। 'रेणुलाई सहयोग गर्नुपर्छ भन्ने मेरो मान्यता छ। बरुजु नभएको नगर उहाँले बनाउनु भएको छ,' उनले भने, 'ठाउँठाउँ सडक पिच बनाएकाले  यहाँको जग्गाको भाउ बढेको छ। काठमाडौंको भन्दा महँगो भएको छ। अन्तर्राष्ट्रिय रंगशाला बनाउने घोषणा गर्नु भएको छ। यो सानो कुरा हो? यस्तो काम गर्ने नभएर को हुन्छ त यहाँ?  यस्तो राम्रो काम गर्ने मान्छेलाई हरायो भनेदेखि यहाँको जनताले के भन्लान्? भरतपुरका जनताले के भन्लान्? महानगरपालिकाका मान्छेले के भन्लान्? जसले यस्ता–यस्ता काम गर्ने अठोट लिनुभएको छ। सबै साथीहरुले सहयोग गरेर उहाँलाई जिताउनुस्।'

गठबन्धनका शीर्ष नेता एउटै मञ्‍चमा 

रेणुका लागि भोट माग्न चितवनमा गठबन्धनका सबै दलका शीर्ष नेता पुगेका थिए। प्रचण्ड र रेणुले कमजोर  महसुस गरेपछि गठबन्धनका सबै दलका नेताहरूलाई एकै मञ्चमा भेला पारेर आफ्नो पक्षमा माहोल पार्न प्रचण्ड सफल भए। 

रेणुलाई भोट माग्ने सभाका लागि नेपाली कांग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा एकदिन अघि नै चितवन पुगेका थिए। नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल र शंकर भण्डारी पनि चितवन पुगेका थिए। मन्त्री उमेश श्रेष्ठ पनि चितवनमा नै थिए। विमानस्थलमा सेनाको हेलिकोप्टरबाट पुगेका देउवालाई श्रेष्ठकै गाडीमा राखेर आफ्नै होटलमा पुर्‍याएका थिए। 

एकीकृत समाजवादीका अध्यक्ष नेपाल, जनता समाजवादीका नेता राजेन्द्र श्रेष्ठ र माओवादीका अध्यक्ष प्रचण्डसहित थुप्रै नेताहरूले यतिबेला भरतपुरलाई केन्द्रमा राखेर चुनावमा खटिएका छन्। चिववनका सबै पालिकाका उम्मेदवारलाई पनि कार्यक्रममा बोलाइएको थियो। नेताहरूको केन्द्रीकरणका गर्नुका पछि पनि गठबन्धनले भरतपुरलाई प्रतिष्ठाको विषय बनाएको तर त्यहाँ अवस्था सहज नदेखेपछि नेताहरूलाई भेला पारेर सभा गरेको हो। 

यस्तै गठबन्धन हारे दुर्घटना हुने प्रचण्डको चेतावनी, एमालेका नेताले मिल्नका लागि गरेको आग्रह उल्लेख गर्दै प्रचण्डले दिएको दोस्रो चेतावनी, कांग्रेसका बागी उम्मेदवारले आफ्नो कुरा नसुनेको रामचन्द्रको गुनासो र रेणुको महिमामण्डनले गठबन्धनलाई भरतपुरमा चुनाव जित्न सहज नभएको र त्यसका लागि नेताहरूले विभिन्न किसिकको धाकधम्की, चेतावनी, गुनासो र आग्रह गरेको बुझ्‍न सकिन्छ। 

प्रकाशित: May 05, 2022| 21:27 बिहीबार, वैशाख २२, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...