काठमाडौं- नेपाली साहित्यमा धेरै लेखक कविताबाट आख्यानतिर लागेका छन् । कवितामा जमिरहेकाहरू कथा, उपन्यासतिर कति सफल छन् त ?
२२औं अन्तर्राष्ट्रिय पुस्तक प्रर्दशनीको सातौं दिन शुक्रबार सरस्वती प्रतीक्षा, उपेन्द्र सुब्बा र बुद्धिसागरबाट पत्रकार लक्ष्मण श्रेष्ठले यही विषय खोतल्ने प्रयास गरे । उनीहरू तीनै जनाको पृष्ठभूमि कविता हो र अहिले आख्यानमा जमेका छन् ।
‘काव्यबाट आख्यानतिर लाग्दाको फाइदा के छ ?’ श्रेष्ठले बुद्धिसागरलाई प्रश्न गरे । गजल र कविता हुँदै आख्यानमा लागेका बुद्धिसागरको जवाफ थियो, ‘शुरुवात जहाँबाट पनि हुन सक्छ । आफूलाई व्यक्त गर्न सक्ने माध्यम बलियो हुनुपर्यो ।’ आख्यानमा आफ्ना कुरा भन्न उनी सहज मान्छन् ।
प्रतीक्षाको त ‘बागी सारंगी’ कविता संग्रह नै छ । हालै ‘नथिया’ उपन्यास लिएर आएकी छन् । तर, अझै उनी ‘कवि सरस्वती प्रतीक्षा’ पहिचानमै गर्व गर्छिन् । उपन्यास अर्को गन्तव्य हो, उनका लागि।
आख्यानको बाटो उनको सानैदेखिको सपना हो । त्यतिबेला ‘अटो’ भर्ने क्रममा उनले ठूली भएर उपन्यासकार बन्ने लेखेकी थिइन् । र, अहिले आख्यानकार बनेकामा खुशी छिन् ।
सुब्बाको परिचय कवि र कथाकार मात्र होइन, फिल्मको स्क्रिप्ट लेखक पनि हो । ‘कवितामै साहै्र मन लाग्छ,’ उनी भन्छन्, ‘फिल्म लेख्ने त भात खाने मेलो हो ।’
अहिले आफ्ना कथामा कथा कम भेटेको महशुस गर्छन्, उनी आफैं । भन्छन्, ‘छुटेको कथालाई आफूले टिपेको मात्रै हो ।’ कथा लेख्न उनलाई साह्रै सकस लाग्छ । ‘प्रकाशकले पैसा अग्रिम दिएकाले नै कथा लेखेको हुँ,’ उनी भन्छन् ।
सरस्वतीलाई पत्रकार श्रेष्ठ सोध्छन्, ‘बजारमा कविता र आख्यानमा कस्तो अन्तर छ ?’
‘मुद्रणको हिसाबले आख्यान अगाडि देखिए पनि कविताको विशेषता आफ्नै ठाउँमा छ,’ सरस्वती भन्छिन्, ‘हजार किताब बिक्री हुँदैमा बजार ठूलो देख्नु भ्रम हो ।’
बजारले कस्तो खालको आख्यान खोज्न सक्छ ? सरस्वती भन्छिन्, ‘लेखकले निर्धारण गर्ने हो । र, सरल लेख्ने हो, जो सबैको पहुँचमा पुग्न सकोस् ।’
‘कविता शिखर हो,’ बुद्धि भन्छन्, ‘पहिलोदेखि अन्तिम हरफसम्म आनन्द लाग्छ भने पाठकलाई पनि आनन्द लाग्छ ।’
उनको विश्लेषणमा एक झिल्कोमा लेखिएको किताब पनि राम्रो हुन सक्छ र योजना बनाएर लेखिएका पुस्तक गतिला हुन्छन् भन्ने हुँदैन । आनन्दको मूल्य बुझ्न सक्यो भने अरू चिज तपसिलमा रहने उनको धारणा छ ।
बुद्धिसागरका ‘कर्णाली ब्लुज’ र ‘फिरफिरे’ दुवैमा ‘नोस्टाल्जिया’ हाबी छ । उनी भन्छन्, ‘आफूले देखेको समाजकै वरिपरिका कथा उठाउने हो ।’ उनको भनाइमा किताब लेख्नु भनेको कथा मात्रै लेख्नु होइन, सोच्नु, हेर्नु र बुझ्नु पनि हो ।
सुब्बा भने कविता र कथा लेखनमा कुनै फरक देख्दैनन् । उपन्यास लेख्न भने उनमा धैर्य छैन । कुनै कुनै कविताका हरफमा उनी उपन्यासको ‘थिम’ पाउँछन् ।
एउटा कविता लेखिसक्दा सरस्वतीलाई मोक्ष प्राप्त गरेझैं लाग्छ । आख्यानमा भने पटक–पटक मोक्ष पाएको अनुभूति हुन्छ उनलाई । र, कविबाट उपन्यासकार बन्न जोखिम देख्छिन् ।
बुद्धिसागरको तर्क छ, ‘कविहरूले एउटै कुरालाई अनेक तरिकाले विम्बात्मक बनाउन सक्छन् ।’ त्यसो भए कविहरू किन अन्य विधामा लागेका हुन् त ? सुब्बाको जवाफ छ, ‘लेखकले सबै विधामा लेखेको राम्रै हो ।’
वास्तविक जिन्दगी दोहोर्याएर बाँच्न सकिन्न, चाहेर पनि सकिन्न । त्यसलाई याद मात्रै गरिन्छ । बुद्धिसागर भन्छन्, ‘स्मृतिमा रहेका पलहरूलाई कागजमा उतार्नु भनेको जिन्दगी आख्यानमा दोहोर्याएर बाँच्ने मौका पाएजस्तै हो ।’
प्रकाशित: Dec 31, 2017| 06:23. 00 आइतबार, पुस १६, २०७४