काठमाडौं– आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत आज शुक्रबार नेपालले नामिबियाको सामना गर्दैछ। नामिबियामा हिजो (डिसेम्बर १) बाट सुरु भएको खेलमा नेपालले आज पहिलो खेल खेल्न लागेको हो।
पहिलो खेलमा नै नेपालले आयोजकको सामना गर्दैछ। दिउँसो साढे १ बजेबाट सुरु हुने खेलमा नेपालले लिग २ को १४ औं खेल खेल्नेछ। यो सिरिज नेपाली टिमका लागि धेरै महत्वपूर्ण छ, किनभने अन्तिम चरणमा आएको लिगको पुछारबाट दोस्रो स्थानमा छ नेपाल। शीर्षस्थानको ओमनले सबै (३६) खेल खेलिसक्दा नेपालले भने १४ खेलमात्र खेल्न सकेको छ।
त्यसैले नेपालले अब सिरिजका सबै खेल खेल्न सक्ने अवस्था पनि छैन। यता नेपाली टिममा आज रोहित पौडेलले पहिलो पटक लिग २ मा कप्तानी गर्नेछन्। कप्तानका रुपमा यूएईविरुद्ध डेब्यु गरेका उनले आजबाट लिग २ पनि डेब्यु गर्नेछन्। यससँगै जारी लिग २ मै कप्तानी गर्ने नेपाली खेलाडीको संख्या दुई पुगेको छ।
लिग सुरु भएको चार महिनापछि घरेलु मैदानमा खेल्न पाएको नेपालको पहिलो सिरिजमा ज्ञानेन्द्र मल्लले कप्तानी गरेका थिए। बीचमा नेपाली टिमको कप्तान सन्दीप लामिछाने बने। अहिले रोहित पौडेल नेपाली टिमको कप्तान छन्।
‘अहिले टिमको अवस्था सन्तुलित छ। मलाई सबै खेलाडी र स्टाफले सपोर्ट गरिरहेका छन्,’ घरेलु मैदानमा भएको सिरिज सकिएपछि रोहितले भनेका थिए। यो सिरिजको पहिलो खेलमा अर्जुन साउदले अन्तर्राष्ट्रिय खेलमा डेब्यु गरे। उनी प्रशिक्षक मनोज प्रभाकरको योजनामा लगातार पर्न थालेका छन्। ‘समय दिएर नै खेलाडीहरुमा राम्रो बेस बनाउन खोजिरहेको छु। आशिफ र अर्जुन राम्रो खेलिरहेका छन् र उनीहरु पनि सिक्न खोजिरहेका छन्,’ ओपनिङ पार्टनरसिपबारेको प्रश्नमा प्रशिक्षक मनोज प्रभाकरको जवाफ छ।

नेपाललाई पछिल्लो समय अभ्यास गर्ने मैदानको अभाव थियो। त्यसैले नेपालले भारतको नयाँ दिल्लीमा अभ्यास गरेको थियो। क्यानले नेपाली क्रिकेट टिमलाई जति सुविधा दिइरहेको छ, त्यो राष्ट्रिय टिमलाई अभ्यास गर्नका लागि पर्याप्त नभएको पनि मुख्य प्रशिक्षक प्रभाकरले बताएका थिए। ‘राष्ट्रिय टिमले अभ्यास गरिरहेको बेलामा हामीलाई धेरै कुरा चाहिन्छ। नेट, अभ्यास गर्ने ठाउँ पनि सानो छ। हामी बाहिर जान खोजिरहेका छौं,’ प्रशिक्षक प्रभाकरले सिरिजअघि भनेका थिए।
त्यसपछि क्यानले भारतमा अभ्यास गर्ने वातावरण मिलाएको हो। भारतमा नेपालले डिडिसीएको रिजर्भ टिमसँग दुई एकदिवसीय क्रिकेट खेलेको थियो। सो खेलमा नेपालले एक जित निकाल्यो भने एक हार बेहोरेको थियो। अहिले त्यहि टिम नामिबियामा छ।
लिग २ को तालिकामा नेपाल
सन् २०२३ मा भारतमा हुने एकदिवसीय विश्वकपको लागि छनोट खेल पनि हो। त्यसका लागि केहि नियमहरु छन्। तर नेपाली टिम अब विश्वकपमा पुग्ने सम्भावनाबाट धेरै टाढा छ। सात टिम सम्मिलित लिग दुईको तालिकामा नेपाल छैटौं स्थानमा छ।
१७ अंक भएको नेपालभन्दा अघि रहेको यूएईको पनि २७ अंक छ। त्यसैले नेपालले अब एक स्थान सुधार गर्न पनि लगातार पाँच खेल जित्नुपर्ने हुन्छ। अहिलेको तालिका हेर्दा चौथो स्थानमा रहेका नामिबिया नेपालभन्दा १५ अंकले अघि छ। अमेरिका १८, दोस्रो स्थानको स्कटल्यान्ड २३ र शीर्षस्थानको ओमन नेपालभन्दा २७ अंक माथि छ।
ओमनले लिग २ साइकलका सबै खेल खेलेको छ भने अन्य कुनै देशले लिग दुई सम्पन्न गरेका छैनन्। सबैभन्दा कम खेले खेल्नेमा नेपाल नै छ। नेपालले अहिलेसम्म २० खेल मात्र खेलेको छ।
नामिबिया र यूएईले नेपालभन्दा धेरै २६–२६ खेलमा सहभागिता जनाएका छन्। यि मात्र नेपाली टिमका समस्या भने होइनन्। खेलाडी र प्रशिक्षकबीच असमझदारी, अभ्यास गर्ने कमजोर ठाउँ, टिमबीच तालमेल नहुनु, कप्तानी र प्रशिक्षकको निरन्तर बदलावजस्ता कुराले गर्दा नेपाली टिम अघि बढ्न सकेको छैन।

केन्या भ्रमणमा खेलाडी र प्रशिक्षक नै असमझदारी पैदा नभएको थियो। त्यसबारे प्रशिक्षक बोलोका छन्। ‘म धेरै कडा स्वभावको छु। अनि चाँडो रिजल्ट चाहन्छु। मैले जुन कुरा सिकाइरहेको छु, त्यसमा फिट हुने खेलाडी नै टिममा रहन्छन्। मेरो खेलाडीलाई हेर्ने आफ्नै नजर छ,’ प्रभाकरको जवाफ छ, ‘जसले जे भने पनि म विश्वकपमा खेल्ने शैली फलो गरिरहेको हुन्छु।’
यसरी नेपाली टिमले प्रशिक्षकै पिच्छे फरक खेल अभ्यास गरिहेकाले नेपाली टिममा बदलाव पनि छ। त्यसैले आजबाट नेपाली टिमको नयाँ परीक्षा सुरु हुँदैछ। अब जसरी भए पनि एकदिवसीय मान्यता जोगाउनु पर्ने अवस्थामा नेपाली टिम पुगेको छ। किनभने लिग २ को तालिकाको पुछारका दुई टिमको एकदिवसीय मान्यता रहन पनि सक्छ, नरहन पनि सक्छ। लिगपछि यो मान्यता जोगाउनका लागि अर्को खेल खेल्नुपर्ने हुन्छ। त्यसमा हार बेहोरे नेपाल एक दिवसीय मान्यता विहिन बन्ने खतरा छ।
लिगको यो शृंखलामा नेपालले नामिबियासँग दुई र स्कटल्यान्डसँग दुई खेल खेल्नेछ। यि दुवै टिम तालिकामा नेपालभन्दा बलियो अवस्थामा छन्। रन रेट राम्रो छ र टिम पनि फर्ममा छन्। त्यसैले पनि नेपालले धेरै कुरामा ध्यान पुर्याउँदै प्रतियोगिता खेल्नुपर्ने हुन्छ।
पछिल्लो पटक नेपालले स्कटल्यान्डमा यिनै दुई टिमसँग प्रतिस्पर्धा गर्दा एक खेलमा मात्र जित निकालेको थियो। त्यसैले नेपालले अहिले थप संयमित भएर खेल्नुपर्ने छ। त्यो खराब प्रदर्शनपछि नेपाली टिमबाट प्रशिक्षक पुबुदु दाशानायकले राजीनामा दिएका थिए। त्यसपछि नेपाली टिममा मनोज प्रभाकरको इन्ट्री भएको हो।
नेपालको खेल तालिका
नामिबिया र नेपाल– १ः१५ बजे (आज)
नेपाल र स्कटल्यान्ड– डिसेम्बर ४ तारिख १ः१५ बजे
नेपाल र नाबिमिया– डिसेम्बर ७ तारिख, १ः१५ बजे
नेपाल र स्कटल्यान्ड– डिसेम्बर ८ तारिख, १ः१५ बजे
