समुद्रबाट अंग्रेजहरू आएजसरी नै क्रिकेट खेल पनि पौडिँदै हिन्दूस्तानसम्म आइपुगेको हो। अंग्रेज भारत आइपुगेको लामो समयम्म पनि क्रिकेट भारतीयको खेल बन्न चाहिँ सकिरहेको थिएन। आफ्नो देशबाट छुट्टिनुपरेको पीडा, बिरानो मुलुक अनि भारतको गर्मी मौसममा हायलकायल भएका अंग्रेज नाबिक अंग्रेज नाबिक र उनीहरुका साथीले सुरुसुरुमा क्रिकेट खेल्ने गरेका थिए।
यता हिन्दूस्तानीहरु चाहिँ त्यो खेललाई परैबाट हेर्थे मात्र। हिन्दूस्तानको समुद्री किनारामा खेलिने अंग्रेजी खेल (क्रिकेट) लाई भारतका केही युवाहरुले पछि आफ्नै तरिकाले खेल्न सुरु गरे। भारतमा पहिलो पटक अंग्रेजले ल्याएको ‘धेरै खराब खेल’ खेल्न सिक्ने पारसी समुदायका युवा थिए।
उतिबेलाको बम्बई र अहिलेको मुम्बईमा आफ्नो परम्परागत भेषभुषामा क्रिकेटको कखरा सुरु भएको हो। भारतको ठूलो यो सहर लामो समयसम्म क्रिकेट र क्रिकेटरको गढका रुपमा रह्यो। हिन्दूस्तानमा सानो संख्यामा भएपनि पारसी समुदायले क्रिकेटलाई भारतसँग जोडे। एक समय त भारतीय क्रिकेट टिममा चारदेखि पाँच खेलाडी यही समूदायका हुने गर्दथे।
तर, विगतका यी पन्ना आज इतिहासमा सीमित भएका छन्। आजका भारतीय क्रिकेटर हेर्ने हो भने पारसी समूदायको प्रतिनिधित्व नगण्य छ। सन् १९७५ मा भारतको राष्ट्रिय टिमबाट क्रिकेट खेलेका फारुक इन्जिनयर पारसी समूदायका अन्तिम खेलाडी बनेका छन्। अहिले त राष्ट्रिय टिममा मात्र होइन, भारतको घरेलु क्रिकेटमा हेर्ने हो भने पनि पारसी खेलाडी भेट्न मुस्किल छ। अनि उनीहरुले भारतीय क्रिकेट टिममा अवसर बनाउन पनि पाएका छैनन्।
एक समय यस्तो थियो कि पारसी समुदायका चार खेलाडी एकैपटक भरतीय टिममा खेलिरहेका थिए। अहिले घरेलु क्रिकेटमा नै खोज्ने हो भने पनि औँलामा गन्न सकिने खेलाडी मात्र पारसी समुदायका छन्।
भारतलाई नै क्रिकेटका कखरा सिकाउने पारसी समुदाय क्रिकेट परिदृश्यबाट कसरी बाहिर गयो त?
यो प्रश्नको जवाफ सोचे जति सजिलो छैन। अर्को सवाल पनि खडा छ – आखिरमा भारतमा अंग्रेजको देखासिकीमा क्रिकेट खेल्न सुरु गर्ने यो सानो समुदायले क्रिकेट खेल्न चाहिँ किन सुरु गरेको होला? यसको गहिलो सामाजिक कारण र मनोविज्ञान छ।
तीव्र रुपमा इस्लाम धर्म फैलिरहेपछि पारसी समुदाय जाब फारस (आजको इरान)बाट विस्थापित भए। त्यतिबेला हिन्दूस्तान आएका पारसीले भारतको तटीय क्षेत्रमा छाप्रो बनाएर आश्रय लिने गरेका थिए।
पारसी समुदाय पश्चिमी भारतमा बसोबास गर्थे। उनीहरुले गुजरातको सुरत, अलंकेश्वर, नवसारी, र भरुचजस्ता स्थानमा रोजगारी गर्थे। पारसीहरुले व्यापार र वाणिज्यलाई आफ्नो व्यावसाय बनाएका थिए। तत्कालीन हिन्दू समाजले व्यापारलाई निकृष्ट मान्ने गरेको थियो त्यसैले व्यापारको क्षेत्रमा प्रतिस्पर्धा कम थियो। पारसीहरुलाई व्यापारमा सहज भयो।
प्रवासी जीवन र व्यापारमा पाएको सफलताले यो समूदायलाई तत्कालीन सत्ताको नजिक पुर्यायो। हिन्दुस्तानमा पारसीहरूको विस्तारैविस्तारै आर्थिक अवस्था पनि सबल बन्दै गयो। धेरै पिँढीसम्म चलेको यो सामाजिक व्यवस्थामा अंग्रेज भारत पसेपछि शक्तिशाली मोड आयो। बम्बईमा सत्ताको नयाँ केन्द्र विकास भयो।
‘अ कर्नर अफ फरेन फिल्ड’मा इतिहासकार रामचन्द्र गुहाले एक लेख उद्धरण गर्दै भनेका छन्- पारसीहरू जुन रफ्तारमा गुजरातबाट बम्बई आए, त्यही रफ्तारमा बम्बईको अर्थव्यवस्था र सांस्कृतिक विकास भइरह्यो।

रामचन्द्र गुहा लेख्छन्, ‘पारसी समुदाय मध्यस्थ थियो। उनीहरूले व्यापारिक फाइदाको लागि अंग्रेजहरुसँग मित्रवत् सम्बन्ध बनाए। पारसीले बम्बईमा व्यापार र कमिसन एजेन्टको रुपमा आफ्नो करिअर बनाए। उनीहरुले कानुन र औपनिवेशिक प्रशासनमा राम्रो ठाउँ बनाए।’
अंग्रेजहरुसँग मित्रवत् सम्बन्ध बनाउनका लागि यो प्रकृयाका धेरै आयामहरु थिए। क्रिकेटभन्दा पहिला नै बम्बईमा पारसी समुदाय अंग्रेजले कसरी कपडा लगाउँछन्, उनीहरु कास्तो भाषा बोल्छन् भन्नेमा सचेत थिए। अंग्रेजलाई प्रभावित पार्न संगीतको जानकारी राख्न थालिसकेका थिए। अंग्रेजहरुसँग एकसार हुनमा क्रिकेट सिक्ने कुरा मुख्य रुपमा विकसित भयो। यो निकै सजिलो र राम्रो करण थियो, अंग्रेजहरुसँग नजिकिने।
हिन्दू र मुसलमान समुदायका मानिसहरू कुलीन र सत्ताको चाहना राख्नेहरू व्यापार, प्रशासन र संगीतका क्षेत्रमा पारसीभन्दा धेरै पछि थिए। वास्तावमा हिन्दु र मुसलमानहरुले यो कुरामा पारसीको नक्कल गरेको पनि इतिहासकार बताउँछन्। अंग्रेज शासकमैत्री बन्ने प्रकृयामा पारसी समुदायले क्रिकेट खेल्न सुरु गरेका थिए। पछि धेरै राजारजौटाले पनि क्रिकेट खेल्न सुरु गरेका थिए।
विस्तारै विस्तारै पारसीहरु क्रिकेटबाट लोकप्रिय बन्दै गए। उनीहरुले सन् १८५० देखि १८९० बीच सहरमा कमसेकम ३० भन्दा धेरै क्रिकेट क्लबको स्थापना गरिसकेका थिए।
त्यतिबेला नै प्रतिष्ठित शोराबजी शापुरजीले घोषणा गरेका थिए- पारसी टिमबीच उत्कृष्ट हुने टिमले नगद पुरस्कार जित्नेछ। विस्तारै क्रिकेट सामुदायिक भावनाको माध्यमबाट अघि बढ्दै गयो। रामचन्द्र लेख्छन्, ‘प्रतिष्ठित पारसी सर कोवाराजी जहाँगी बार्टले त्यही समयको पत्रिका ‘रस्त गुफ्तार’मा विज्ञापन गरेका थिए- जसले आवेदन दिन्छ, उसैले क्रिकेट किट पाउँछ।
पारसी समूदायमा यसरी रुचि लिने एउटा समूह बनिरह्यो। र, त्यसको एक असर हिन्दू र मुसलमान समूदायमा प्रभावशाली मानिस पनि आफ्नो समुदायमा यो खेलको विस्तार गर्न थाले। क्रिकेट सामुदायिक प्रतिस्पर्धाको माध्यम बन्न थाल्यो। यसबाहेक विस्तारै विस्तारै राजनीतिक मानिस पनि यो खेलको सम्पर्कमा पुग्न थाले। पारसीले भलै अंग्रेजको नजिक पुग्नका लागि यो खेल खेल्न थालेका थिए तर पछि उनीहरुले बम्बईमा आफ्नो मैदानलाई लिएर अंग्रेज पोलो खेलाडीलाई लिएर कानुनी लडाईं पनि गरेका थिए। त्यसमा उनीहरुलाई भारतीय राष्ट्रिय आन्दोलनका नेताहरुको पनि समर्थन मिलेको थियो।
ब्रिटिस राज्यहरुको धेरै बलियो रहेको बम्बईमा पछि पारसीहरुले अंग्रेजसँग प्रतिस्पर्धा गर्न थालेका थिए। पछि सन् १९०६ मा हिन्दू र मुसलमानबीच पनि क्रिकेट प्रतियोगिता भएको थियो। त्यसपछि चार टिम सम्मिलित भएर खेल्न थालेपछि प्रतियोगिता चुतुष्कोणीय हुने गरेको थियो।
अहिले भारतीय खलाडीले युरोपेली खेलाडीलाई हराएको चर्चा गर्दा मोहन बगान क्लबको नाम आउने गर्दछ। तर त्यसभन्दा पहिले ने पारसीहरुले युरोपेली खेलाडीलाई हराइसकेका थिए। तर यो जितको चर्चा हुने गर्दैन। किन त? किनेभने पासरीहरु मित्रताको लागि मात्र खेल्ने गर्दथे, प्रतियोगिताको रुपमा हेरिँदैन थियो। विस्तारै यसरी खेल्ने क्रम टुट्दै गयो।
भारतीय क्रिकेटमा पारसीको बाहुल्यता रह्यो। त्यहाँ त उनीहरुको एकाधिकार नै रह्यो। सामाजिक रुपमा समृद्ध समुदाय भएपछि उनीहरुले अन्य समुदायसँग खेल्न छोडेका थिए। आज १९०६ मा हिन्दू टिमले अंग्रेजलाई हराएको केही चर्चा हुन्छ। तर त्यसअघि सन् १८८६ र १८८८ मा पारसीले निकालेको जितबारे भने धेरै लेखिएकै छैन। यी टिमले त्यहाँ धेरै खेले खेलेका थिए।
जब भारतमा मुक्ति आन्दोलन भइरहेको थियो, त्यतिबेला हिन्दु र मुसलमानले साथ दिएका थिए। तर पारसी समुदाय भने मौन बसेको थियो। त्यहि भएर नै त्यतिबेलाको समाचारमा हिन्दू र मुसलमानले निकालेको जितको खुबै चर्चा हुने गरेको थियो।
यद्यपि व्यवसायिक रुपमा लागेका खेलाडीले भने त्यसपछि पनि चार कोणात्मक प्रतियोगिता खेलेको थियो। यसरी भारतले पहिलोपटक १९३२ मा आधिकारिक टेस्ट खेल्यो। त्यतिबेला चाहिँ दुई पारसी खेलाडी थिए, फिरोज र सोराबजी। राजारजौटाको प्रभावले भारतीय टिम सजिएको थियो। त्यस्तो बलामा पनि देशको थोरै हिस्सामा रहेका पारसी समुदायको दुई खेलाडी हुनु ठूलो कुरा थियो। त्यसपछि लगातर पारसी खेलाडी टिममा रहे।
सन् १९४६ मा रुसी मोदीले पहिलो पटक इंग्ल्यान्डविरुद्ध टेस्ट डेब्यु गरेका थिए। खासमा उनी चम्किएका चाहिँ रणजी ट्रफीबाट हो। जहाँ उनले लगातार पाँच शतक हाने। र एकै प्रतियोगितामा हजार रन पुरा गर्ने पहिलो खेलाडी बने। त्यसपछि १९६२ सम्म भारतीय टिमको हिस्सा रहेका उमरीगरले १९४८ मा डेब्यु गरेका थिए। उनले चाहिँ ५९ टेस्टमा १२ शतक प्रहार गरेर ३६३१ रन बनाएका थिए।

पारसी समूदायमा जसरी क्रिकेट सुरु भए पनि उनीहरुले अन्तर्राष्ट्रिय स्तरमा खेल्नका लागि दक्षता हासिल गरिसकेका थिए। पारसी समुदायका रुसीको तुलना महान् क्रिकेटर गैरी सोबर्ससँग हुन्थ्यो। त्यतिबेला उनलाई ‘गरिबहरुको गौरी सोबर्स’ भनेर पनि चिन्थे।
सन् १९६० को दशकको सुरुमा पारसी समुदायको प्रदर्शन यति शसक्त थियो कि एक पटक उनीहरुको समुदायबाट चार खेलाडी राष्ट्रिय टिममा थिए। त्यतिबेला भारतले पाकिस्तानसँग खेल्दा पाली उमरीगर र नरी कान्ट्रेक्टर थिए। पछि रुसी सुर्तीले पनि टिममा स्थान बनाए। यी तीन खेलाडी रहिरहेकै समयमा फारुख इन्जिनियरको आगमनले भारतीय टिममा चार पारसी खेलाडी बनाएको थियो। फारुख चाहिँ भारतीय क्रिकेटमा सबैभन्दा चर्चित खेलाडी बने। उनी भारतको पहिलो विकेटकिपर ब्याट्स्मेन मानिन्छन्।
उनलाई मानिसहरु यसरी पनि चिन्छन् कि उनले एक खेलमा ५४ रन बनाएका थिए र नौ छक्का प्रहार गरेका थिए। अर्थात् सबै रन छक्काबाट बनाएका थिए। तर फारुखपछि कुनै पारसी खेलाडी टिममा परेनन्। उनले चाहिँ सन् १९७५ सम्म खेले।
अब प्रश्न उठछ, यति गौरवशाली समुदायले क्रिकेट किन छोड्यो? अनि कसरी उपस्थिति शून्य भयो? उनीहरु यस्तो समयमा पलायन भए कि त्यतिबेला भारतमा क्रिकेटको लोकप्रियताले आकाश छोएको थियो। जानकारहरु बताउँछन्- यसको कारण पारसीको कम जनसंख्या हो। अनुमान अनुसार भारतमा पारसी समुदायका ८० हजारदेखि एक लाखसम्म जनसंख्या छ।
पहिले एक समय यस्तो थियो कि, क्रिकेट भन्नेबित्तिकै मुम्बईलाई चिनिन्थ्यो। तर भारतले १९८३ मा विश्वकप जितेपछि त्यसको प्रभाव विभिन्न सहरमा पर्यो र क्रिकेटको क्रेज सबैतिर बढ्दै गयो। यसले प्रतिस्पर्धा बढायो। अनि बम्बईको दबदबा पनि घट्न थाल्यो। यसले बम्बईमा रहेका पारसी समुदायलाई पनि प्रभाव पार्यो।
यता, पारसी समुदाय व्यापार र रोजगारीजस्तो सुरक्षित भविष्यतर्फ अग्रसर भएकाले पनि क्रिकेटमा समय दिन छोडेको चर्चा हुने गरेको छ।
(सत्याग्रहबाट भावानुवाद गरिएको)