सोमबार, मंसिर १९, २०७९
कथा

श्रीमानको साथी

रमेश ज्ञवाली  |  काठमाडौं, सोमबार, असोज १७, २०७९

रमेश ज्ञवाली

रमेश ज्ञवाली

सोमबार, असोज १७, २०७९, काठमाडौं

नेपाल समय

'मम्मी, तपाईं बाथरुम गएको बेला बाबाको फोन आएको थियो। बाबालाई खाना नपकाउनु रे' छोरीले खबर गरी। भनेपछि आज पनि मेरा श्रीमान् उनको 'त्यही' साथीकोमा खाएर आउने होलान्।

मेरा श्रीमानले नयाँ ठाउँमा जागिर शुरु गरेको केही हप्तापछि उसको नाम नलिएको कुनै दिन हुन्थेन। मन्दिरको पुजारीले बरु कुनै दिन पूजा नगरी खाना खाए होलान्, तर मेरा श्रीमानले उसको नाम दिनमा धेरै पटक जपिरहन्थे। नाम त के भन्नु फेरि, उनको नाम त आजसम्म थाहा पाइएको छैन, उनको नामै साथी त होला। सधैं श्रीमानले साथी साथी भनेपछि।  

हुन त मेरो श्रीमान् साथी भनेपछि ज्यानै दिने खालका परे। तर यी नयाँ साथी अरुभन्दा धेरै कुरामा फरक रहे। कारण मेरा श्रीमानले कुनै न कुनै रुपमा उनलाई आफ्नो जीवनमै संलग्न गराउन थाले। फोनमा लामो कुरा गरेपछि, बेलुका ढिलो आउनुको कारण, शनिबारको दिनमा पनि घर नबसी हिँड्नुपर्ने कारण, छाडिसकेको चुरोट फेरि शुरु गर्नुको कारण वा उनका वरिपरिका  सानातिनादेखि ठूलै काम कुरामा उसकै अर्थात् साथीकै योगदान हुन थाल्यो। कहिलेकाहीँ लाग्थ्यो बाबुआमा, उसको श्रीमती वा भगवान् भन्दा पनि माथि पर्ने गरी कसरी त्यो मान्छे यिनको जिन्दगीमा आइपुग्यो?  

घरमा कति योजना, कार्यक्रम वा पारिवारिक जमघटहरु चाहे ती जतिसुकै महत्वपूर्ण हुन् तर बीचमा कतै त्यो मान्छेको प्रसंग आइपुग्छ अनि ती सबै भताभुंग हुन्छन् अर्थात् सारा संसार एकातिर अर्कोतिर एकमात्र उ।  कहिलेकाहीँ त लाग्ने कि त्यो साथी नभेट्दासम्म यो मान्छेको जीवन कसरी चलेको थियो होला, अहिलेको यसको पारा हेर्दा?

कैलालीको चौराहा, सानो ट्यांकीमा राखेको पसल र  त्यो उखरमाउलो गर्मी। लस्सी, चटपटे, गुट्खा र चुरोट बेच्ने बुबाको यो पसलमा सहयोगीको भूमिकामा म रहेको पनि वर्षौं भइसकेको छ। बुबालाई दमको व्यथाले च्याप्दै लगेपछि म एक्लै पसल धान्नुपर्ने बाध्यता आइलाग्यो, जसको कारण ५ कक्षामा पुगेपछि मेरो स्कुल छुट्यो। आफ्नो पढाइ छुटेपनि नजिकैको जनता माविका केटाकेटी स्कुल गएको, हाफ छुट्टीमा आफ्नै पसलबाट उनीहरुलाई विभिन्न सामान बेच्ने र ४ बजेको घण्टीपछि उनीहरु हुरुरु घरतिर लागेको हरेक दिनदेखि रहँदा मलई आफू पनि दैनिक स्कुल नै गइरहेको हो कि भन्ने भान वा भ्रम परिरहन्थ्यो।  

आफ्नै आँखा अगाडि सयौंले स्कुलको पढाइ सकेर कलेज पढ्न शहरतिर लागे भने कतिपय कलेज पढेर बिदा, दसैं छुट्टी त्यस्तैमा घर आउँदा तिम्ले बनाएको चटपटे अनि पानीपुरी  मिठो हुन्छ भन्दै सम्झेर आउँथे। 

'म त नपढेकी केटी, तपाईं सहरमा पढ्दै हुनुहुन्छ, फेरि हाम्रो परिवार पनि गरिब छ, यो त सम्भव नहुने कुरा हो,'  जब उनले मसँग विवाहको प्रस्ताव राखे अनायासै, मेरो इमान्दार जवाफ थियो यो।

मैले उनी गएपछि सम्झिने कोशिस गरें उनलाई, तर याद भएन किनभने स्कुल नजिकको पसलमा आउने जाने त कति हुन्छन् कति। उनले मलाई धेरै पहिलेदेखि नै मन पराइरहेका र एकोहोरो प्रेममै रहेको कुरा भोलिपल्ट बाबु र काकाहरु समेत मलाई माग्न भनेर घरमै आइपुग्दा बताए। धेरै कुरा गरेर घरमा मनाएपछि भर्खर साइन्समा १२ कक्षा पास उनी र कुनै बेला ५ कक्षा पढेकी मेरो विवाह हुने भयो अर्को महिना। पढाइ, आर्थिक र पारिवारिक अवस्था केही पनि मेल नखाने हाम्रो विवाह छिनिदा म मात्र होइन हाम्रो परिवार र सिंगो गाउँ नै अचम्म परेको थियो। आफ्नो नामसम्म बल्लबल्ल लेख्न सक्ने, झुत्रा कपडा लगाउने केटीलाई हुनेखाने परिवारको पढालेखा केटाले झ्याइँझ्याइँ पञ्चेबाजा ठोकेर बिहे गरे।

अन्माउने बेला ठूली आमाले मेरी आमालाई हाम्रो चलिआएको थारु भाषामा भनेकी थिइन्-मेह्रारु भाग्यसे खैठे मन्झली, तोर बिटिया भाग्यमान बा चिन्ता नाकर, अर्थात् आइमाइले  खाने भाग्यले हो माइली, तेरी छोरी भाग्यमानी रैछे चिन्ता नगर। 

घरमा कति योजना, कार्यक्रम वा पारिवारिक जमघटहरु चाहे ती जतिसुकै महत्वपूर्ण हुन् तर बीचमा कतै त्यो मान्छेको प्रसंग आइपुग्छ अनि ती सबै भताभुंग हुन्छन् अर्थात् सारा संसार एकातिर अर्कोतिर एकमात्र उ। कहिलेकाहीँ त लाग्ने कि त्यो साथी नभेट्दासम्म यो मान्छेको जीवन कसरी चलेको थियो होला, अहिलेको यसको पारा हेर्दा?

उनी बीएससी पढ्न काठमाडौं गएको ६ महिनापछि मलाई पनि सँगै ल्याए। म गाउँकी  केटी, नेपालगन्जसम्म पनि नटेकेकी एकैपटक काठमाडौं पुग्दा संसारको अर्को कुनामा पुगेझैं भयो। त्यसमाथि थारु बस्तीमा हुर्केकी हुनाले मेरो बोलीको लवज पनि अर्कै  थियो। एक प्रकारको भाषिक समस्या पनि थियो मलाई बोल्न र अरु बोलेको बुझ्न।

म कहिल्यै पनि उनको कुरामा प्रतिवाद, प्रतिरोध वा आनाकानीसम्म पनि गरेकी थिइनँ। हुन त उनले मलाई कहिल्यै पनि नपढेकी वा त्यस्तै स्तर नमिल्ने खालको कुरा वा व्यवहार देखाएनन्। वास्तवमा यो विषयमा हाम्रो कहिल्यै कुरा पनि भएन। उनका साथीहरुले मेडमलाई पनि जागिर गर्न पठाउ के सजिलो हुन्छ व्यवहार चलाउन भन्थे। अनि मलई पनि धेरैले सोध्थे, 'किन काम नगरी बस्नुहुन्छ ?'  पढेकी छैन भनेर न त मैले, न त उनले पनि कसैलाई र कहिल्यै भन्यौं। 'बच्चा हुर्कंदैछन् गरौंला नि' हामी दुवै को जवाफ यही हुन्थ्यो। भर्खर काठमाडौं आएको बेला उनले साथीहरुसँग गरेको कुराहरु आधासरो त म बुझ्न सक्थिनँ। कारण उनीहरु धेरै शब्द अंग्रेजी मिसाएर बोल्थे, म कसरी जान्नु र? नेपाली त बल्लबल्ल राम्रोसँग जान्ने कोशिसमा थिएँ। उनको आनीवानी लगायत धेरै कुरा क्रमश: म जान्दै गएँ, तर म सधैं केही नजान्ने जस्तो भएर नै दिनहरु कटाउँदै गरें।

यो जीवनप्रति मलाई कुनै गुनासो पनि थिएन न त कुनै गर्व। छोरीहरुले स्कुलमा मेरो वेष्ट फ्रेण्ड फलानो हो भनेपछि मलाई के लाग्यो भने हामी सानोमा मन मिल्ने साथीलाई सैना भन्थ्यौं र सैना लगाउने वा मित बनाउने भन्थ्यौं। श्रीमानको त्यो साथी पक्कै छोरीहरुले भन्ने वेष्ट फ्रेण्ड होला भन्ने मेरो ठम्याइ रह्यो। 

छोरीहरुको बर्थडे, नयाँ वर्ष,  एनिभर्सरी जस्ता अनेक शब्द र ती दिनहरुमा गर्नुपर्ने कामहरुमा म अभ्यस्त हुँदै गैरहेकी थिएँ। विस्तारै काम र कुरा दुवैमा बानी परिसकेकोले  श्रीमानका साथीहरु आउँदा वा उनीहरुकोमा जाँदा डर लाग्न छाडिसकेको थियो मलाई। पछि त छोरीहरुले पनि धेरै कुरा सिकाउँदै गए। यस्ता जमघटमा उनका दर्जनौं साथीहरु आउँछन् अनि हामी पनि उनीहरुकोमा जान्छौं तर त्यो मान्छेचाहिँ कहिल्यै आएको थाहा लागेन कि त श्रीमानले उसलाई मसँग चिनाएनन्  त्यो चाहिँ थाहा पाउन सकिन।

धेरै कुरामा समय र परिस्थिति अनुसार म ढालिँदै गए पनि उनीसँग आँखा जुधाएर खै त हजुरको त्यो साथी भन्ने हिम्मत मेरो आइसकेको थिएन।  किन चाहियो तिम्लाई  भन्यो भने के जवाफ दिने थाहा थिएन मलाई। त्यसैले सोध्न सकिनँ। न त हामी कहिल्यै उसकोमा गयौं वा म लगिएँ। त्यो किन आउँदैन, कस्तो होला त्यो मान्छे जसले मेरो श्रीमानलाई फनफनी घुमाउन सकेको छ, विवाहित होला कि नहोला ? केटा हो कि केटी,  मेरो मनमा सधैं यस्तै कुरा आइरहन्थे। त्यो मान्छे शारीरिक रुपमा कस्तो होला भन्ने यावत् चासोका बीच सबैभन्दा सरोकार चाहिँ उसले मलाई भाउजू वा मेडम के भन्ला भन्ने एक किसिमको कौतुहल थियो मलाई। 

खोइ आफ्नो हैसियतअनुसारको चाहना त होला शायद। देशमा गएको ठूलो भूकम्प गएपछि जनजीवन अस्तव्यस्त भयो। श्रीमान् जागिरमा जान्थेनन् कैयौं दिन। त्यो बेला उनको दैनिकी त्यही साथीकोमा गएर बित्न लाग्यो। खाना खाएर निस्कने अनि बेलुकामात्र आउने। दिनदिन उतै जानुभन्दा त कहिलेकाहीँ साथीलाई यतै बोलाए हुने नि? मेरो यो मनको प्रश्न आफ्नै मनलाई सोध्ने मात्र हो, उनीसँग सोध्ने हिम्मत त कहाँ हुनु र?

भूकम्पको केही समयपछि मेरा श्रीमानलाई एपेन्डिक्सको अप्रेसन गर्नुपर्ने भएपछि सिभिल हस्पिटलमा भर्ना गरियो। विरामी श्रीमानको हेरचाह गर्नुपर्ने मेरो मुख्य काम, मलाई मनमनमा लागिरह्यो उनको बेस्ट फ्रेण्ड भेट्न यो बेला त कसो नआउला र? म नभएको बेला भेटेर गयो भने त म उसलाई देख्न पाउन्न भन्ने डरले अस्पतालको ३ दिने बसाइमा चौबिसै घण्टा आफै खटें, तर व्यर्थ, अहँ त्यो मान्छे आएन।

वर्षौं भयो एउटा अदृश्य मान्छेको प्रतीक्षा गरेको साक्षात्कारका लागि, तर फेला परेन। न त श्रीमानसँग मुख फोर्न नै सकें। यसबाट म कताकता बेचैनी र तनावको अवस्थामै पुगें। म एक साधारण केटी, ठूलो मान्छेसँग बिहे गरेकी, २ वटा छोरी हुर्किंदैछन्, काठमाडौंमा घर छ। चाहिएको जिनिस श्रीमानले किनिदिन्छन्, माया पनि गरेकै छन्। सबै भरिपूर्ण हुँदा पनि एउटा सानो र अज्ञात समस्याको भूमरीमा मडारिन लागें म। यी सबै भौतिक सुखको बीचमा मलाई एकाएक केही कुराको अभाव लाग्न थाल्यो। चौबिसै घण्टा मेरो चिन्तन अब उनको साथीको बारेमा हुन लाग्यो। यतिका वर्षसम्म गर्न नसकेको हिम्मत जुटाएर पटक पटक सोध्न खोजें श्रीमानसँग तर लाख प्रयत्न गरे पनि सकिनँ।

मीठु,

जिन्दगी कति निर्दयी रैछ, कति निष्ठुरी रैछ। सँगै बाँच्ने र मर्ने कसम खाएर पञ्चेबाजा बजाएर तिमीलाई घर भित्र्याएको थिएँ। आज मैलै तिमीसँग माफी माग्दैछु किनभने तिमी र तिम्रो परिवारले नमान्दा पनि जोडबल गरेर तिमीलाई आफ्नो जीवनमा ल्याएको थिएँ तर हाम्रो जीवन हराभरा बनाउन र बाँकी जीवनमा तिमीलाई साथ दिन नसक्ने भएँ।

तिमीलाई थाहा छ, मेरो एकजना साथीसँगको पहिलो भेटपछि म बदलिन शुरु गरें। तिमीहरुलाई कम वास्ता गर्न थालें, पारिवारिक जमघटहरुबाट भाग्न थालें। यो सबै गर्नुको कारण तिमीहरुलाई म विनाको जीवनप्रति अभ्यस्त गराउनु थियो। जब मलाई क्यान्सर भएको स्पष्ट भयो र डाक्टरले मेरो आयु तोकिदियो, त्यसपछिको मेरो समय आफ्नो जागिरभन्दा पनि उपचार र तिमीहरुसँग टाढा हुने विभिन्न तौरतरिका अपनाउनतिर लगाउन थालें ताकि म नहुँदा पनि तिमीहरुलाई जीवन जिउन, घर चलाउन बानी बसोस्। आफ्नै  एनिभर्सरी मनाउने भनेर छोरीहरुले केक ल्याएर उत्सव मनाउने तयारी गर्दा ठिक्क केक काट्ने बेला साथी भन्दै म किन भाग्थें होला र?

मीठु, 

त्यो साथी भनेकै क्यान्सर थियो जोसँग म लडिरहेको थिएँ, सानी छोरी जन्मिएको केही समयपछि। त्यसरी जमघट, रमाइलो र धेरै कार्यक्रममा तिमीहरुलाई छाडेर अनि भागेर जाने म कहिले अस्पतालमा असह्य  पीडादायी किमोथेरापीमा हुन्थें भने कहिले चौरमा बसेर दिनभर रोएरै समय बिताउँथें। मलाई विश्वास छ, अब तिमी र छोरीहरुले मेरा ती सबै अनुपस्थितिलाई माफी गर्नेछौ।

अब त तिमीलाई स्पष्ट हुनुपर्छ किन मैलै सबै जायजेथा तिम्रो नाममा राखेको थिएँ भन्ने। हाम्रो बेडरुममा रहेको दराजको कालो झोलामा घर र बैंकका कागजातहरु, एटीएम र त्यसको पिनकोडहरु छन् छोरीलाइ हेर्न लगाउनु। मैलै लेनदेन सबै मिलाइसकेको छु। तिमीहरुलाई दैनिक खर्च र छोरीहरुको बिहेवारीको लागि पनि केही भरथेग हुने गरी बचत छाडेर जाँदैछु। जनता मावि नजिकको त्यो ट्यांकीको पसलमा बेसेकी अवोध र निर्दोष मीठुको हाँसोको बदलामा तिमीलाई धेरै आँशु छाडेर...।

यसभन्दा अगाडि मैले चिठी पढ्न सकिनँ, फेरि हरिसिद्धि, ललितपुरको नेपाल क्यान्सर अस्पतालका स्टाफले मेडम यता सही गर्नुस् त भन्दै मेरा श्रीमानको मृत शरीर मलाई हात लगाउँदै थिए। 

मेरा आँखा श्रीमानको मुढोझैं लडिरहेको शरीर र छोरीहरुको अनुहारमा थिए भने मेरा कानमा ठूली आमाका तिनै शब्द गुन्जिरहेका थिए- मेह्रारु भाग्यसे खैठे मन्झली, तोर बिटिया भाग्यमान बा चिन्ता नाकर

अर्थात् आइमाइले खाने भाग्यले हो माइली, तेरी छोरी भाग्यमानी रैछे चिन्ता नगर।


प्रकाशित: October 3, 2022 | 18:50:00 काठमाडौं, सोमबार, असोज १७, २०७९

तपाईं को प्रतिक्रिया

ट्रेंडिंग

काठमाडौं महानगरको प्रस्टीकरण : तीन निकायको सहकार्यमा अनधिकृत सुकुम्बासी बस्ती हटाउँछौं

राष्ट्रिय भूमि आयोगले काठमाडौं नगरभित्रका सुकुम्बासीको समस्या समाधान गर्न ढिलाइ गरेपछि आफैं अगाडि सर्नुपरेको प्रस्टीकरण काठमाडौं महानगरले दिएको छ।

समानुपातिकतर्फ १ करोड मतगणना हुँदा कुन दललाई कति?

निर्वाचन आयोगका अनुसार आज बिहान ९ बजेसम्म एक करोड आठ लाख दुई हजार ९०७ मतगणना भएको छ।

देशव्यापी सांगीतिक यात्रामा निस्किँदै नेपथ्य

देशको पूर्वी कुनादेखि पश्चिम कुनासम्म आफ्ना लोक–रक धुन सुनाउने योजनाका साथ नेपथ्य यसै साता काठमाडौंबाट बाहिरिने भएको हो।

असुरक्षित सडकको सिकार भएका महावीर

वैज्ञानिक समाजवादी पार्टीमा जोडिएपछि सेलिब्रेटी छविप्रतिको मोह घट्दै गएको थियो। समानता र विभेदको अन्त्य उनका अर्जुन दृष्टि थिए। उनको उद्देश्य र काम जात व्यवस्था अन्त्य गर्नेमा केन्द्रित थियो।

के हो रामकुमारीको सन्देश?

खुलेको मुस्कानसहित उक्त तस्बिर सार्वजनिक भएपछि बाम एकताको आकलन धेरैले गरे। हुन पनि चुनावी मतपरिणाम आउँदै गर्दा बाम एकता गरेर नयाँ सरकार बनाउनुपर्ने धारणा एमाले र नेकपा एसका धेरै नेताको देखिन्छ।

धनुषा ४ मा कांग्रेसका यादवले ६८६ मतले लिए अग्रता

मतगणना जारी रहँदा नेपाली कांग्रेसका महेन्द्र यादवले आफ्नो अग्रता बढाउँदै लगेका छन्। मतगणनाको सुरुदेखि नै नेकपा (एमाले) रघुवीर महासेठले अग्रता लिएका थिए।

सरकार गठनको पहिलो प्रयास गठबन्धनले गर्ने, प्रधानमन्त्रीको दौडमा को–को?

सत्ता गठबन्धनकै सरकार बने प्रधानमन्त्री को? कांग्रेसभित्र कम्तीमा ५ आकांक्षी देखिँदा माओवादी अध्यक्ष प्रचण्ड पनि यसैको दौडधूपमा छन्।

धनुषा ४ मा रघुवीर महासेठलाई पछि पार्दै कांग्रेस उम्मेदवारको अग्रता

धनुषा ४ मा नेपाली कांग्रेसका उम्मेदवार महेन्द्र यादवले अग्रता लिएका छन्। आइतबार साँझबाट पछि परेका उनले पछिल्लो अपडेटअनुसार अग्रता कायम गरेका हुन्।

कर्जा-निक्षेप अनुपातमा राष्ट्र बैंक लचक

तोकिएको कर्जा–निक्षेप अनुपात नपुगे बैंक तथा वित्तीय संस्थालाई लाग्ने जरीवानालाई तरलता जोखिममा समेत आधारित हुने गरी पुनरवलोकन गर्न सकिने व्यवस्था गरी लचकता अपनााएको हो।

थप समाचार

नेपाल समय
रचना

एक्काइसौं शताब्दीलाई सुकुम्बासी भ्रुणको गाली

विनोदविक्रम केसीको कविता 'एक्काइसौं शताब्दीलाई सुकुम्बासी भ्रुणको गाली'
नेपाल समय
रचना

श्रीमानको साथी

घरमा कति योजना, कार्यक्रम वा पारिवारिक जमघटहरु चाहे ती जतिसुकै महत्वपूर्ण हुन् तर बीचमा कतै त्यो मान्छेको प्रसंग आइपुग्छ अनि ती सबै भताभुंग हुन्छन् अर्थात् सारा संसार एकातिर अर्कोतिर एकमात्र उ। कहिलेकाहीँ त लाग्ने कि त्यो साथी नभेट्दासम्म यो मान्छेको जीवन कसरी चलेको थियो होला, अहिलेको यसको पारा हेर्दा?
नेपाल समय
रचना

डा. रोकालिखित ६ कविता संग्रह एकसाथ विमोचन

हाटखोलास्थित सुशीला कोइराला नाटकघरमा एक कार्यक्रमबीच वरिष्ठ कवि तुलसी दिवस र डा. रोकाले संग्रहहरु विमोचन गरेका हुन्।
नेपाल समय
रचना

हुलाक टिकटका कारण चित्रकार बनेका राजप्रकाशमान

सुन्धारा हुलाक अड्डाले बिस्कुन बनाएर फालेको फोहोरभित्र हुलाक टिकट खोजेपछि आफ्नो घर नरदेवी पुगेर भुइँभरि फैलाउँथे, राजप्रकाश। मानिस, चराचुरुंगी, हिमाल, देवीदेवता तथा मठमन्दिर चित्र अंकित हुलाक टिकटप्रति खुबै लोभिन्थे।
नेपाल समय
रचना

कथा, किंवदन्ती र रीतिरिवाजको संयोजन रातो मच्छिन्द्रनाथलाई आँखैअगाडि कोर्दा...

रातो मच्छिन्द्रनाथको रथ निर्माणलाई प्रत्यक्ष हेरेरै १९ वटा चित्र कोरेकी सुशीलाले १६ चित्र भने १६ दिन लगातार बनाएकी थिइन्। उडान सीमाभन्दा बाहिर शीर्षक दिएर उनका चित्रलाई गत १७ जुलाईबाट म्युजियम अफ नेपाली आर्टले प्रदर्शनीमा ल्याएको छ।

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

House -138, Suruchi Marg, New Baneshwor, Kathmandu, Nepal
फोन : +977-1-4790242 / +977-1-4790040
इमेल : nepalsamayanews@gmail.com
  • प्रबन्ध निर्देशक
    तरुणप्रताप शाह
  • प्रधान सम्पादक
    नारायण अमृत
  • महाप्रबन्धक
    जीवन तिम्सिना