काठमाडौं– २०४५ तिर कलाकार राजप्रकाशमान तुलाधर नरदेवीबाट हिँडेरै सुन्धारास्थित गोश्वारा हुलाक सेवा कार्यालय पुग्थे। तर चिठ्ठीपत्र लिन वा छाड्न पुग्दैनथे उनी। उनी गोश्वारा हुलाकको पछाडि उसैले थुपारेको कागजको थुप्रोमा हुलाक टिकट खोज्न पुग्थे।
कागजको थुप्रोमा खाममाथि टाँसिएको टिकट हेर्थे र हुलाक कार्यालयको छापले नछोएको टिकट उप्काएर खल्तीमा हाल्थे। हुलाक टिकटले खल्ती भरिएपछि सुन्धारा, असन, इन्द्रचोक हुँदै नरदेवी फर्किन्थे, राजप्रकाश।
आफ्नो घर नरदेवी पुगेर हुलाक टिकट भुइँभरि फैलाउँथे। टिकटमाथि भएको चित्रले उनलाई लोभ्याउँथ्यो। मानिस, चराचुरुंगी, हिमाल, देवीदेवता तथा मठमन्दिर अंकित चित्र भएको हुलाक टिकटप्रति लोभिन्थे।
‘म देवीदेवतासँग आकर्षित भएको नै हुलाक टिकटका कारण हो’, उनले विगत दिन सम्झिए, ‘पुनप्र्रयोगमा आउन सक्ने खाले हुलाक टिकट हनुमानढोका सँगै रहेको गणेशथान मन्दिरको पछाडितिर लगेर एक–दुई रुपैयाँमा बेचिन्थ्यो।’
मठमन्दिर तथा देवीदेवता चित्र अंकित हुलाक टिकटलाई भने उनी बेच्दैनथे, बरु टिकटको फोटो हेरेर कापीमा चित्र कोर्न बस्थे। त्यतिबेलै टाउकोमा टुटिल्को उठ्ने गरी आमाबाबाले हिर्काउने र चित्र बनाइरहेको कापी थुतेर पढ्न भन्ने गरेको उनी स्मरण गर्छन्।
‘मेरो टाउकाको एउटा छेउमा आमाले बनाइदिनुभएको ट्याटु छ भने अर्को छेउमा बुबाले बनाइदिनुभएको ट्याटु (टुटिल्को उठेर बनेको खतलाई उनी ट्याटु भन्छन्)। त्यसैले म सानैदेखिकै कलाकार हो नि’, बुबाआमाले टाउको हानेर बनाइदिएको ट्याटु सम्झिए, उनले।
सुन्धारा हुलाक अड्डाले बिस्कुन बनाएर फालेको फोहोरभित्र हुलाक टिकट खोजेपछि आफ्नो घर नरदेवी पुगेर भुइँभरि फैलाउँथे, राजप्रकाश। मानिस, चराचुरुंगी, हिमाल, देवीदेवता तथा मठमन्दिर चित्र अंकित हुलाक टिकटप्रति खुबै लोभिन्थे।
चाँगुनारायण मन्दिर, स्वयम्भू, पशुपति, विभिन्न ऐतिहासिक व्यक्तित्वको चित्रले उनलाई लोभ्याउँथ्यो। ४८औं वसन्त पार गरेका राजप्रकाशका आमाबाको चाहना भने छोरा डाक्टर वा इन्जिनियर बनोस् भन्ने हुन्थ्यो। तर उनलाई हुलाक टिकटमा अंकित चित्रले लोभ्याइसकेको थियो। नरदेवी आसपासका मन्दिर र मूर्तिलाई छुँदै हिँड्थे। बेलुकी घर फर्किएर कापीमा चित्र कोर्थे।
हुलाक टिकटमा भएका चित्रको साइज, आकार, रङ हेरेर उनी सोचमग्न हुन्थे। अनि कापीमा हुबहु उतार्ने कोसिस गर्थे। हुलाक टिकटलाई एकदम नजिक राख्नुपथ्र्यो उनलाई। नजिकको वस्तुको भेउ पाए पनि टाढाको केही देख्दैनथे। त्यसैले घरमा आमाबुबाको गाली र स्कुलमा कालोपाटीमा लेखेको अक्षर सार्न नपाउँदा गुरुको पिटाइ खानुपथ्र्यो। पढ्न अल्छी गर्छ भन्ने आरोप लाग्थ्यो, उनलाई।
स्कुलमा कमजोर विद्यार्थी भए पनि राजप्रकाशले २०४८ मा एसएलसी दिए। कलेज नपढ्दै उनी पाठ्यक्रम बाहिरका किताब धेरै पढ्ने गर्थे। धर्म, संस्कृतिमा पनि राम्रो रुचि थियो। त्यसैले उनलाई तिनै धार्मिक देवीदेवताको चित्र बनाउन जाँगर चल्थ्यो। कापीका पाना सक्थे।
छोरो कुनै राम्रो विषय पढ्ला भन्ने आश गरेका बाआमालाई उनले निराश बनाए। किनभने, उनले कलेज जानुको साटो नरदेवीमै प्रेममान चित्रकारसँग कला सिक्न थाले। आर्ट सिक्न थालेपछि उनलाई बाआमाले सहयोग गर्न छाडे। आफूले भनेको बाटो नहिँडेको बात लगाएर छोरालाई सहयोग गरेनन्। तर राजप्रकाशमानका एक जना दाजुले आर्थिक सहयोग गर्न थाले। चित्रकारसँग आर्ट सिक्दासिक्दै उनले साथी पाए, समुन्द्रमानसिंह श्रेष्ठ। दुवैको संयोजनमा चित्र कोरिन थालेपछि उनीहरू ठमेल, असन, हनुमानढोका, भक्तपुर र पाटनका आर्ट पसलमा आफैंले सिर्जिएका कला बोकेर हिँड्न थाले। तर भनेजस्तो चित्र बिक्री हुँदैनथ्यो र पैसा पनि आउँदैनथ्यो। सोही कारण उनी बेलाबेला निराश हुन्थे।
कम बोल्ने स्वभावका राजप्रकाशलाई नरदेवीतिर देखेर त्यहाँका स्थानीय डराउँथे। टोले डनजस्तो समूह बनाएर हिँड्न थालेपछि नरदेवी टोलका धेरैले सम्झिने मानिस बन्दै गए उनी। उनलाई सम्झिनेले पैसा असुलिदिनसमेत अनुरोध गर्थे।
फसेको पैसा उठाउन उनी साथीहरू सँगै लिएर जान्थे। पैसा उठाइदिएबापत उनले पनि केही पाउँथे। अलिअलि पैसा आउने आश लाग्न थालेपछि उनले साहू, मालिक, हाकिमलाई कहिले कुटेर, कहिले थर्काएर, कहिले धम्क्याएर मानिसको पैसा उठाइदिन्थे। असुली गर्ने राजप्रकाशको बदमासीले हनुमानढोका पुगे। जेल सजाय भोगे।

चित्रकारिताबाट भनेजस्तो आम्दानी हुँदैनथ्यो। सोचेजस्तो चित्र बिक्री हुँदैनथे। तर गुन्डागिरी गरेर कमाएको पैसाले उनलाई चैन दिएन। घरपरिवारमा अप्रिय कहलिन थाले। टोलमा सबैको नजरबाट गिर्न थाले। धेरै पटक नरदेवीको शरणमा परेका राजप्रकाशले चित्रबाहेक अरू विकल्प सोच्न सकेनन्। उनै प्रेममान चित्रकार (गुरु) सँग मासिक २ हजार रुपैयाँ पाउने गरी तलबमा काम गर्न थाले। उनी भन्छन्, ‘केही वर्ष गुरुसँग सिकेपछि आफ्नै पसल खोलें।’
जीवनमा पहिलो चित्र २०० रुपैयाँमा बिक्री गरेको उनी सुनाउँछन्। भन्छन्, ‘त्यो चित्र बेचेर रङ किनेको थिएँ। हुलाक टिकटमा भएको त्यो चित्र भगवान्लाई भने उनले बिर्सिए।
उनले कृष्णमन्दिर, गणेश, पशुपतिनाथ, चाँगुनारायण, स्वयम्भूजस्ता अनेक आकृति अंकित हुलाक टिकटका चित्र बनाए। तर सबै राम्रा भएनन्। मन्दिर बनाउँदाबनाउँदै उनले देवीदेवताका चित्र कोर्न थाले।
देवीदेवता बुझ्नकै लागि चित्र कोरेको बताउने राजप्रकाश अहिले पनि देवीदेवतामाथि नै घोत्लिन्छन्। देवीदेवताका चित्रमाथि अनेक आकृति भेट्छन्। नरदेवी नृत्यका वाद्यगुरुसमेत रहे उनी। ‘गुँला’ पर्वका बेला प्रत्येक घरबाट एक जना बाजा बजाउँदै स्वयम्भू जानेमध्येमा उनी पनि समेटिन्छन्।
नरदेवी मन्दिरसँग नेपाल–तिब्बत लडाइँको समय त्यहाँ समातिएका एक जना भोटु पाण्डे नामक काजीको नाम नजोडी रहन सकिन्न।
तिब्बतमा नेपाली मूलका व्यापारीले उनलाई नरदेवीको भाकल गरी आँखा नखोली सात दिन, सात पाइला चाल्नू, त्यसपछि तिमी नेपाल खाल्डो पुगेर नरदेवी जीर्णोद्धार मन्दिरमा तीन वटा लामा सुनको छाना चढाउनू भनेको सम्झिए, ‘नरदेवीमाईसँग मेरो लगाव गहिरो छ। त्यसैले मेरा चित्रमा सांस्कृतिक विविधता र देवीदेवताका चित्र नै हुन्छन्। मैले ती भोटु पाण्डेको चित्र पनि बनाएँ।’
उनका अनुसार वज्रयान तथा शैवतन्त्रका विभिन्न सन्दर्भलाई अझै पनि गुह्य रूपमा लिइन्छ। यी कला तथा ग्रन्थलाई किन गुह्य रूपमा राखिएका होलान् भन्नेमा राजप्रकाश देवीहरूलाई ज्ञानले भरिपूर्ण भएकाले नग्न रूपमा प्रस्तुत गरिन्छ। सोही कारण गलत अर्थ नलागोस् भनी गुह्य रूपमा राखिएका होलान् भन्छन्, उनी।
संघर्षका दिनमा राजप्रकाशका चित्र हेरेर केही ग्राहकले उनैलाई सोध्ने गर्थे, ‘यो चित्र कसले बनाएको हो?’ मैले भन्थें उनी। ग्राहकले नपत्याउँदा उनी खिन्न हुन्थे। भन्छन्, ‘म सानो भएर पनि चित्र संकलकले पत्याएनन्। क्षणभरका लागि निराश हुन्थें।’
जीवनमा पहिलो चित्र २०० रुपैयाँमा बिक्री गरेको उनी सुनाउँछन्। भन्छन्, ‘त्यो चित्र बेचेर रङ किनेको थिएँ। हुलाक टिकटमा भएको त्यो चित्र भगवान्लाई भने उनले बिर्सिए।
राजप्रकाशले चोभारमा रहेको आदिनाथको मन्दिरबारे अध्ययन गर्ने मौका पाए। त्यहाँका एक गुरुले उनलाई राजा अशोककी पुत्री नेपाल आएको घटना सुनाएका थिए। किंवदन्तीअनुसार ती राजकुमारी छालासम्बन्धी रोग (कोरी) ले पीडित थिइन्। भारतका जानकारले नेपालमा गए रोग ठीक हुन सक्ने बताएपछि काठमाडौंको चोभारमा रहेको आदिनाथको मन्दिर नजिकै कार्तिक पूर्णिमादेखि मंसिर पूर्णिमासम्म एक महिना शुद्ध भई व्रत बसेर रोग ठीक भएको भन्ने जनविश्वास छ। राजप्रकाशले उक्त महिला महान् भिक्षुणी भई चोभारमै दिव्य शरीर पाएको कुराको विषयलाई चित्रमा उतारेका थिए।
सन् २०१४ मा बनाएको ‘हरित तारा’को एक चित्र ठमेलका व्यापारीमार्फत चीन पुगेपछि उनका चित्रको माग त्यहाँ पनि हुन थालेको हो। अहिले चिनियाँ संकलकले उनका चित्र संकलन गर्न थालेका छन्। यतिखेर भने आफ्नो चित्रको मूल्य पाउन थालेको बताउँछन् उनी। भन्छन्, ‘चित्रकारितामा भविष्य छैन तर ममाथि विश्वास गरिन थालेको छ।’
हालै ठमेलस्थित म्युजिक अफ नेपाली आर्टस् मोनामा सञ्चालित कला प्रदर्शनीमा विभिन्न समय बनेका ५ वटा चित्र अमेरिका पुगेको उनी बताउँछन्। पाँच योगिनी, पद्सम्भव, हेरम्ब गणेशलगायत अनेकौं भगवान्का चित्र बनाएका राजप्रकाशको घरमा अहिले पनि पुराना चित्रहरूको संकलन छ। अझ हुलाक टिकटमा अंकित भगवान्को चित्रलाई उनले प्रिन्ट गरेरै राखेका छन्।
उनका अनुसार गणेशलाई हिन्दु धर्म तथा बुद्ध धर्ममा समेत ठूलो देवताको रूपमा लिइन्छ। गणेशको चित्रमा भने गणेशकै टाउकोमाथि अरू टाउको थप्दै पाँच टाउको भएका गणेशका चित्र कोरिएका छन्, जसलाई हेरम्ब गणेशको नामले पुकारिन्छ। नेपालमा गणेशको तान्त्रिक अभ्यासका लागि हेरम्ब गणेशलाई महत्त्वपूर्ण मानिन्छ।
‘चोभारमा रहेको गुरु पद्मसम्भवको चित्र, काठमाडौंमा उपासना गरिने ५ योगिनीको चित्र र कुरकुल्लालगायतको चित्र देश–विदेशमा प्रदर्शनमा पुगेका छन्’, उनी भन्छन्, ‘नेपाली समाजमा अहिले आफ्नो सम्पदालाई जतन नगर्दा भविष्यमा ती तिनलाई खोज्न विदेशी मुलुक पुग्नुपर्ने जस्तो भइसक्यो। नेपालले अझै कलालाई नजिकबाट बुझ्न सकेको छैन।’
राजप्रकाश हिन्दु धर्मका देवीदेवताका मात्रै नभएर पौभा चित्रकलामा पनि पोख्त छन्। तिब्बती परम्परागत चित्रकला थान्कासँग मिल्दोजुल्दो हुने पौभा चित्रकलाका कपडामा देवीदेवताका विभिन्न मुद्रामा आधारित चित्र कोरिन्छ।
सानैदेखि विभिन्न नेवारी संस्कृति र परम्परा अँगाल्दै हुर्किएका राजप्रकाश भन्छन्, ‘पौभा चित्र बनाउन गहन अध्ययन, विचार र धार्मिक नियम हुन्छ। सबै बुझेर धैर्यपूर्वक कोर्नुपर्ने हुँदा यो कला बनाउन धेरै समय लाग्छ।’ विगत ३० वर्षदेखि आर्टमै सक्रिय कलाकार राजप्रकाश अहिले ‘वाटर कलर’मा पनि काम गर्छन्।
हुलाक टिकटमा भएका विभिन्न चित्रबाट प्रभावित राजप्रकाश कलाकारितामा मौलिकता खोजिरहेका छन्। नेपालको सांस्कृतिक रूपमा पुजिँदै आएको धार्मिक शक्ति र देवीदेवतालाई चित्रमार्फत विश्वमा बुझाउन, चिनाउन खोजिरहेका छन्।
कलाको धनी देश भएर पनि नेपाली कला स्वदेशमै बुझाउन नसकिरहेको बताउने राजप्रकाश प्रश्न गर्छन्, ‘कलाको बजार नेपालमा कहिले बन्ने होला?, चित्रकारिताले कहिले फस्टाउने अवसर पाउला?’