६ वैशाख २०७९। बिहान ५ नबज्दै कलाकार सुशीला सिंह आफ्ना दुई सन्तानको निद्रा नखलबलाई उठिन्। मध्यबानेश्वरस्थित निवासबाट स्कुटी डो¥याएर गेट बाहिर निकाल्थिन्। अनि, सुनसान सडकलाई छिचोल्दै पुल्चोकतिर लागिन् ।
त्यहाँ पुग्नेबित्तिकै स्कुटीबाट स्टेन्ड, ह्यान्डग्लु पेपर, पेन निकालेर नजिकैको दृश्यतिर ध्यानले हेर्थिन्, जहाँ रातो मच्छिन्द्रनाथको रथ निर्माण हुँदै थियो। गुठियारका अनुसार चैत पूर्णिमाका दिन विधिवत् पूजा गरेपछि भोलिपल्टदेखि रथ निर्माण सुरु हुन्छ । यँवालहरूले रथमा पांग्रा जोडेसँगै तलामा राखिएका काठमा डोरी र बेत कस्ने काम थालिन्छ।
यही दृश्यलाई आफ्नो क्यानाभासमा उतार्न तयार थिइन्, सुशीला। सुशीलाले ६५ फिट अग्लो रथलाई हेरेर हुर्किए पनि चित्र बनाउने सोच भने पाँच वर्षदेखि बनाएकी थिइन्। बच्चा साना भएकाले समय निकाल्न भने सकेकी थिइनन्।
त्यही अधुरो सपना गत वैशाखमा पूरा गरिन्, उनले। रातो मच्छिन्द्रनाथको रथ निर्माण सुरुआतलाई प्रत्यक्ष हेरेर १९ वटा चित्र बनाइसकिन्। तीमध्ये १६ चित्र भने १६ दिन लगातार बनाएकी थिइन्। त्यही चित्रलाई गत १७ जुलाईबाट म्युजियम अफ नेपाली आर्टले प्रदर्शनीमा ल्याएको छ।
०००
जात्रा भनेको कथा, परम्परा, मिथक, किंवदन्ती, रीतिरिवाजहरूको संयोजन हो। अथवा उत्सव हो। यस्तै परम्परा हो रातो मच्छिन्द्रनाथको जात्रा, जसलाई शताब्दीयौंदेखि मानिँदै, पूजिँदै आएको छ। इतिहासविद्का अनुसार यसलाई संसारकै लामो जात्रा भनिने गरेको छ। पुर्खाको चलन र निरन्तरको अभ्यासले आजको पुस्तामाझ पनि लोकप्रिय छ, यो जात्रा। तर रथ निर्माण लाई प्रत्यक्ष हेरेरै बनाउनुको उद्देश्य के थियो?
सुशीला भन्छिन्, ‘कल्पना गरेर कोरिने चित्र थिएन, मच्छिन्द्रनाथको रथ चित्र, जसलाई मैले स्वयं बुझ्न चाहें, महसुस गर्न चाहें, आफैंले नबुझी चित्र कसरी कोर्नू?’ जब मान्छेलाई कुनै कामप्रति चासो हुन्छ, त्यसलाई पछ्याउन थालिहाल्छ। सुशीलाले पनि रथ निर्माणलाई निरन्तर पछ्याइन्।
‘६ वैशाखदेखि म दिनदिनै पुल्चोक जान्थें’, उनले भनिन्, ‘जब नजिकबाट रथ निर्माण गरेको देखें, आफैं बदलिएँ।’ रातो मच्छिन्द्रनाथको रथ केवल रथ होइन। यो आस्थाको केन्द्र हो। विश्वास हो, जसलाई देवता मानेर पुजिन्छ। बुँगा दया (अवलोकितेश्वर, वर्षाका देवता) को आगमन र लिच्छवि युगमा विनाशकारी खडेरी अन्त्य उत्सव मनाउन स्थापना गरिएको जात्रा थियो, जहाँ भगवान्को बास थियो। त्यसैले सुशीला भित्रैभित्र रथको प्रेममा परेकी थिइन्।
हरेक दिन बिहान निस्किने सुशीला अपराह्न मात्रै घर फर्किन्थन्। आँखाले देखेको चित्रलाई मनमा मात्रै नभएर कागजमा पनि बोकेर फर्किन्थिन्।
सुशीला भन्छिन्, ‘कल्पना गरेर कोरिने चित्र थिएन, मच्छिन्द्रनाथको रथ चित्र, जसलाई मैले स्वयं बुझ्न चाहें, महसुस गर्न चाहें, आफैंले नबुझी चित्र कसरी कोर्नू?’ जब मान्छेलाई कुनै कामप्रति चासो हुन्छ, त्यसलाई पछ्याउन थालिहाल्छ। सुशीलाले पनि रथ निर्माणलाई निरन्तर पछ्याइन्।
पहिलो दिन, दोस्रो दिन, तेस्रो दिन। यसरी लगालग १३ दिनसम्म सशीला पुल्चोक पुगिन्। रथका तला थपिँदै गएझैं उनले कोरेका चित्रहरू पनि थपिँदै गए। जसरी रथको स्वरूप फेरिँदै थियो, उनको चित्रको बान्की पनि फेरिँदै गयो। उनी भन्छिन्, ‘एक दिनमा जति रथ निर्माण हुन्थ्यो, त्यति पेपरमा स्केच गर्थें।’
कला कोर्नलाई कलाकारले प्रायशः एकान्तबास रोज्छन्। एकान्तमा चित्रसँग संवाद गर्छन्। तर सुशीलाले खुला ठाउँमा चित्र कोर्नु थियो। भीडमा चित्र कोर्नु थियो। त्यसैले सुरुआती दिनमा उनलाई साह्रै गाह्रो भएको थियो। आत्मविश्वास जुटाउन तीन–चार दिन लाग्यो, उनलाई। चित्र कस्तो बन्ला भन्ने भन्दा पनि बनाइरहेको चित्रबारे कसैले प्रश्न गर्छ कि भन्ने पीर हुन्थ्यो, उनलाई। उनका अनुसार आत्मविश्वास पनि रथमा प्रयोग हुने बेतको गाँठोजस्तै हुँदो रहेछ, जुन बढ्दै बढ्दै जाने। एकअर्कासँग कनेक्ट हुने।
‘जति तला थपिँदै जान्थ्यो, त्यति आत्मविश्वासको तला पनि थपिँदै गयो मभित्र’, उनले भनिन्, किनकि रथ बनाउनेबाटै सहयोग पाएपछि मनभित्रको डर पनि कम भयो।’
उनले रथको चित्र कोर्दा कहिल्यै टाउको दुख्यो भन्न पाइनन्। कहिल्यै अबेरसम्म सुत्छु भन्न पाइनन्। एक दिन बाबु (छोरा) बिरामी हुँदासमेत उनले रथलाई माया मार्न सकिनन्। ६ वैशाखपछि उनको दैनिकी बिहान ५ बजे जसरी पनि निस्कनुजस्तो भयो। एक दिन ढिलो गरी जान्छु भन्न मनले मानेन। लगन र मिहिनेतका साथ रथ निर्माणलाई पछ्याउँदै गइन्। बेलुकी घर फर्किएपछि भोलि कुन एंगलमा राखेर चित्र कोर्ने, कुन भागलाई चित्रमा प्राथमिकता दिने आदि सोचमा डुब्थिन्, उनी।

जसरी बेतका रसीबाट रथ बलियो हुँदै थियो, त्यसैगरी पेनका रेखाबाट पेपरमा बनेको मच्छिन्द्रनाथको रथको चित्रले आकार हाल्दै थियो। मच्छिन्द्रनाथको रथको चित्र कोर्न उनले पहिला घरपरिवारलाई मनाउनुपरेको थियो। आमा, सासू र श्रीमान्लाई आफूले बनाउन लागेको चित्रबारे बुझाउन सकेपछि मात्रै मच्छिन्द्रनाथको रथबारे बुझ्न पाएको उनी सुनाउँछिन्। सुशीला भन्छिन्, ‘गृहणी भएपछि सबैको चित्त बुझाएर गर्न लागेको काममा हात हाल्नुपर्दो रहेछ। परिवारको सहयोगले नै यी चित्र कोर्न सकेकी हुँ।’
चित्र कोरिरहँदा बालबच्चा भएका महिलालाई ममताले गलाउने अनुभव उनको छ। उनलाई बेलाबेला ममी खोजेर बच्चा रुने हुन् कि भन्ने पीरले सताउँथ्यो। त्यसैले बिहानको समय काम गरेर चित्त नबुझे उनी साँझ पुल्चोक पुगेरै रथ बनाएको हेर्थिन्। सुशीला भन्छिन्, ‘कहिले साँझ पनि जान्थें। रथ निर्माणका भित्री कुरा सोधपुछ गर्थें।’
चित्र कोर्न निस्किएको देखेर आहारिस गर्नेहरू चित्र बनाएर जब प्रदर्शनीमा राखिन्, तब परिवार र अरुहरूले विश्वास गरेको उनले बताइन्। गृहणीको जिम्मेवारीले निरन्तर चित्र कोर्न नपाएकी सुशीलाले परिवारलाई मात्रै होइन, आफैंलाई पनि विश्वास दिलाइन्।
चित्रमा रथको पांग्रा बनाउन निकै कठिन थियो। हरेक दिन त्यसको एंगल फरक हुन्थ्यो भने चित्रमा पनि फरकपन आउनुपथ्र्यो। उनी भन्छिन्, ‘चक्का भन्ने चीज जताबाट हेरे पनि गोलो देखिनुपर्छ। त्यो चित्रमा पनि देखिनुपर्छ।’
सन् २००४ मा एकाउन्ट विषयमा स्नातक र ललितकलाबाट मास्टर सकाएकी सुशीला लगातार १३ दिनसम्म पुल्चोक चित्र कोर्नैका पुगिन्। उनले दुई चरण गरेर १९ वटा चित्र बनाइभ्याइन्।
जात्रा सकिएसँगै रथ यात्रा पनि रोकियो। एनको चित्र कोराइ रोकियो। जाउलाखेल पुगेर रथ विसर्जनसँगै भोज सुरु हुन्छ। त्यही भोजमा सहभागी भएर अन्तिम अवस्थाको रथको चित्र कोरिन्। रथको जीवनलाई चित्रमा कोरेकी सुशीला भन्छिन्, ‘रथको पनि एउटा जीवन हुँदोरहेछ । रथमा भगवान् थिए, देवी–देवता थिए। तिनका पनि केही मान्यता हुँदा रहेछन् भन्ने लाग्यो।’
चित्र कोरिरहँदा बालबच्चा भएका महिलालाई ममताले गलाउने अनुभव उनको छ। उनलाई बेलाबेला ममी खोजेर बच्चा रुने हुन् कि भन्ने पीरले सताउँथ्यो। त्यसैले बिहानको समय काम गरेर चित्त नबुझे उनी साँझ पुल्चोक पुगेरै रथ बनाएको हेर्थिन्। सुशीला भन्छिन्, ‘कहिले साँझ पनि जान्थें। रथ निर्माणका भित्री कुरा सोधपुछ गर्थें।’
हरेक मान्छेभित्र केही न केही कला, सीप हुन्छ, जुन सबैले देख्न सक्दैनन्। त्यस्तै रथभित्र पनि केही अद्भूत शक्ति छ भन्ने लाग्यो उनलाई। उनी भन्छिन्, ‘चित्रबाट पनि रथको भित्री शक्ति बुझाउने कोसिस गरेकी छु।’ उपत्यकामा हुने अनेक जात्रामध्ये सबैभन्दा ठूला रथ जात्रा मच्छिन्द्रनाथको रथलाई कसरी ठड्याइन्छ भन्ने कथा मार्मिक छ।
बुँगा दियोको रथ हेरालुका आँखा अगाडि बढ्छ। त्यसपछि पहिले पांग्रा, काठका स्तम्भहरू। विस्तारै तलाहरू थप्दै जान्छन् र कंकाल बन्छ। कुनै फलामका किलाबिना काठ र बेतका डोराबाट रथ बन्छ। बेतका गाँठा समान हुन्छन् र त्यसको एकअर्कासँग सम्बन्ध हुन्छ । बेतका गाँठा समान भएझैं मानिस–मानिसबीच पनि समानता हुनुपर्ने बुझाइ छ, उनको। सुशीला भन्छिन्, ‘उपत्यकामा अनेक संस्कृति, मिथक, परम्परा भएर पनि हामीले बुझाउन सकेका छैनौं। तीमध्येको एउटा संस्कृति हो, रातो मच्छिन्द्रनाथको रथ जात्रा। यसलाई कलामार्फत बुझाउन सकियोस् भन्ने उद्देश्य हो।’
नेपालको कला–संस्कृति मात्रै जोगाउन सके संसारलाई जित्न सकिने बताउँछिन् सुशीला। संसारका लामो मच्छिन्द्रनाथको जात्रा बनेर बुझाउनै सके पनि हुन्थ्यो भन्ने लाग्छ, उनलाई। रथ असाध्यै भारी छ र लामो र ठूलो कोलहालबीच निर्माण हुन्छ। यो स्थिर छ। मानिस यसलाई सामना गर्न सक्छन्।
रथमा ३२ वटा दैवीगुण पनि रहेको जनविश्वास छ। यो कयौं टुक्रा काठ थपेर निर्माण गरिएको हुन्छ। अथवा रथ भनेको चारपांग्रे भैरव, लामो पुञ्जका रूपमा नाग, प्रत्येक १० दिशामा संरक्षक, तोरणमा सहस्रभुज लोकेश्वर, ताराष, वैरोचन, अमिताभ, रत्नसंभव, वज्रसत्त्व आदि त्रिभुजको संयोजन हो। छाता (छत्र) गजुरले चढाइएको छ। सूर्य र चन्द्रमाका छवि उपस्थित छन्।

जसरी रथ धेरै तत्त्व मिलेर बनेको हुन्छ, त्यसरी नै हामी पनि हाम्रो संस्कृति र परम्पराका विभिन्न तत्त्वबाट बनेका हुन्छौं। तिनीहरू हाम्रा प्रतिनिधि हुन् र हामी तिनका प्रतिनिधि हौं भन्छिन्, उनी।
‘हामीले बाहिरी कुरा मात्र देख्छौं। त्यसमा के देखिन्छ? हामीमध्ये थोरैले लुकेको कुरा सोच्न रोक्छौं,’ उनी भन्छिन्, ‘आखिर रथ उभिन सक्दैन जबसम्म यो जनतासँग र जनता एकअर्कासँग हुँदैनन्।’
आजको आधुनिक समय यी जात्राको महत्त्व घट्दै गएको छ तर युवा पुस्तामाझ लोकप्रिय भने छ। बढ्दो सहरीकरणले मच्छिन्द्रनाथको जात्रालाई जोगाउन गाह्रो भएको छ। जब फराकिला बाटाहरू साँघुरिँदै गए, जात्रामा अनेक अप्ठ्यारा आउन थाले। त्यसैले यस्ता जात्रालाई जीवन्त बनाउने रथबारे चित्रमार्फत बुझाउन जरुरी ठान्छिन्, उनी । सुशीला भन्छिन्, ‘यस्ता संस्कृति कतै दुर्लभ त हुने होइनन्। त्यसो नहोस्, यसलाई अन्तर्राष्ट्रियकरण गर्न सकियोस् भन्ने हो।’
पहेंलो र कालो रङ खेल्न रुचाउने सुशीला रङमा भन्दा स्केचमा चित्र कोर्न लालायित हुन्छिन्। कलामै भविष्य बनोस् भन्ने चाहिन्छन्। म्युजियम अफ नेपाली आर्टमा कागज र सेरामिक्सबाट बनेका आर्टलाई उनले ‘उडान सीमाभन्दा बाहिर’ शीर्षक दिएकी थिइन्।
सन् २०१८ मा चीनमा चित्रकला प्रदर्शनी गरेकी सुशीला आर्टमा लाग्न पुरुषलाई भन्दा महिलालाई गाह्रो देख्छिन्। अझ विवाहित महिलालाई चुनौती नै रहेको लाग्छ, उनलाई। विवाहित महिलालाई आफ्नो सिर्जनात्मक पेसालाई व्यवसायको ‘फ्रन्ट लाइन’मा ल्याउन चुनौती देख्छिन्, सुशीला।
उनी भन्छिन्, ‘महिला बाहिर मात्रै नभएर सफल गृहणी पनि हुनुपर्दछ। त्यसका लागि घरमै संघर्ष हुन्छ। सिर्जनात्मक काम गर्ने अवसर हुँदाहुँदा पनि परिवारको खुसीका लागि चुपचाप त्याग गर्नुपर्ने हुन्छ।’
उनले ‘आमा शक्ति’ इँटाका आर्ट प्रदर्शनीमा राखेकी छन्, जसको मुल्य ५ करोड पर्छ। यो बेच्ने उद्देश्य भने नभएको उनी सुनाउँछिन्। उनी भन्छिन्, ‘एउटा घर बनाउन कति मिहिनेत, समय, लगानी लाग्छ। त्यसको दुःख बुझाउन आर्ट रोजेकी हुँ।’
कुनै जमाना थियो– पोस्टकार्ड दिने/लिने। त्यो जमानामा सुशीलाले कहिल्यै किनिनन्, पोस्टकार्ड। आफैं चार्ट पेपर किनेर पोस्टकार्ड बनाउँथिन्। मनमा लागेको चित्र कोर्थिन्। आफ्ना साथीलाई बाँड्थिन्।
‘तँ चित्रकार हुन्छेस् क्या हो भनेर फुर्काउँथे। अहिले उनीहरूले ठीकै भनेका रहेछन्’, उनी विगत कोट्याउँछिन्।