काठमाडौं– नेपाल प्रज्ञा–प्रतिष्ठानद्वारा २०९औं भानु जयन्ती अवसरमा ‘भानुभक्तको जीवनी विषयक प्रवचन तथा नयाँ पुस्ताबाट भानुभक्तीय रचना वाचन’ कार्यक्रम आयोजना गरियो। प्रज्ञा भवनको देवकोटा सभाकक्षमा आयोजित कार्यक्रममा कुलपति गंगाप्रसाद उप्रेतीले नयाँ पुस्ताका बीचमा भानुभक्तलाई पुर्याउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताए।
उनले विगतमा भानु जयन्तीमा कुनै एउटा विषयलाई लिएर भानु–विमर्श गर्ने गरिएकामा यसपटक बालबालिकाद्वारा आदिकवि भानुभक्तको रचना वाचन गर्ने कार्यक्रम राखिएको उल्लेख गरे। उनले भने, ‘छन्दमा कविता सिर्जना गर्ने सीप विद्यार्थीले सिकून् भन्ने नै प्रज्ञा–प्रतिष्ठानको उद्देश्य हो। यसले कविता–साहित्यको प्रवद्र्धनमा समेत उल्लेखनीय योगदान दिनेछ।’
भानु बहुआयामिक व्यक्तित्व भएको र भौगोलिक सीमाभन्दा बाहिर गएर भानु जयन्ती मनाउनुपर्नेमा उनले जोड दिए। उनले भाषा–संस्कृतिको एकताको विम्बका रूपमा भानुभक्तलाई लिइने गरिएको बताए।
कार्यक्रमका सभाध्यक्ष तथा उपकुलपति डा. जगमान गुरुङले आयोजित कार्यक्रम पुस्ता हस्तान्तरणको सुन्दर नमुना भएको विचार व्यक्त गरे। उनले भानुभक्तलाई विद्यार्थीका बीचमा पु¥याउने उद्देश्यले बालबालिका केन्द्रित कार्यक्रम गरिएको उल्लेख गर्दै प्रवचनकर्ताबाट भानुभक्तको जीवनीसम्बन्धी नयाँ कुरा आएको बताए।
भानुभक्तजस्ता विलक्षण क्षमताका प्रतिभालाई राष्ट्रले खोजी–खोजी सम्मान गर्नुपर्नेमा उनले जोड दिए। कार्यक्रममा सदस्य सचिव प्रा. जगतप्रसाद उपाध्यायले नेपाली कविता–साहित्यका आदिकवि भानुभक्तको जन्म जयन्ती अवसर पारेर भानु प्रतिष्ठानसँगको सहकार्यमा भानु जयन्तीसम्बन्धी विभिन्न कार्यक्रम आयोजना गरिँदै आएको जानकारी दिए।
भानुभक्तले रामायण प्रश्नोत्तर, भक्तमालाजस्ता कृतिको सिर्जना गरेर नेपाली कविता–साहित्यमा ठूलो गुन लगाएको उल्लेख गर्दै उनले संस्कृत साहित्यमा समेत भानुभक्तको ठूलो योगदान रहेको बताए। उनले भने, ‘भानुभक्तका कृतिले तत्कालीन समाजको वास्तविक प्रतिनिधित्व गरेका छन्। त्यसलाई अहिलेको समयसँग तुलना गर्न मिल्दैन। भानुभक्तमा उच्च दार्शनिक चेत, संस्कृतिप्रतिको उच्च अनुराग र आध्यात्मिकता रहेको पाइन्छ। तत्कालीन समाजमा रहेको प्रशासनिक ढिलासुस्तीलाई भानुभक्तले आफ्ना कवितामा व्यंग्यात्मक हिसाबले प्रस्तुत गरेको सन्दर्भमा त्यसले अहिलेको समाजको समेत प्रतिनिधित्व गर्दछ। भानुक्तका रचनाले हामीलाई अगाडि बढ्न मार्गदर्शन गर्दछन्।’
कार्यक्रमका संयोजक साहित्य (लोकवार्ता र बालसाहित्य विभाग) प्रमुख डा. देवी नेपालले बालबालिकामार्फत भानुलाई अग्रज पुस्तासित जोड्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको उल्लेख गर्दै विभागद्वारा बालसाहित्यका विभिन्न विधामा नयाँ र महत्त्वपूर्ण कृतिहरू ल्याउन लागिएको जानकारी दिए। उनले भानुभक्तबारे अबको अध्ययन निकै गहन रूपले गरिनुपर्दछ भन्ने कुरा कार्यक्रमले प्रस्ट पारेको बताए।
कार्यक्रममा भानुभक्तको जीवनी विषयक प्रवचन राख्दै प्रा.डा. शिर्वराज आचार्यले भानुभक्तका बारेमा गरिएको अध्ययनको सारसंक्षेप प्रस्तुत गरे। भानुभक्तीय जीवनी र जीवनपरक गरी ६ जनाले अध्ययन गरेको, विश्लेषणात्मक भानुजीवन दुई जनाले र शोधप्रबन्ध भानु जीवनी भारततर्फ तीन र नेपालतर्फ तीन जनाले अध्ययन गरेको उनले बताए।
उनले भने, ‘नेपालमा भानुभक्तको जन्म जयन्ती मनाउने कार्यको सुरुआत २०१० बाट गोपाल पाण्डे असीमको सक्रियतामा सुरु भएको हो। भानुभक्तको जन्म जयन्तीबारे इतिहास शिरोमणि बाबुराम आचार्यले समर्थन जनाएपछि असार २९ गते उनको जन्म जयन्ती मनाउन थालिएको हो।
अनुसन्धानबाट भानुभक्तको न्वारानको नाम चिन्तामणि आचार्य भएको पुष्टि भएको छ। भानुभक्तमा कानुनको उच्च ज्ञान रहेको र पिताजीको सेवामा समेत समय खर्च गरेका कारण सन्तान प्राप्तिमा विलम्ब भएको पाइन्छ।
कार्यक्रममा राजधानीका विभिन्न विद्यालयका विद्यार्थीले भानुभक्तीय रचना वाचन गरेका थिए । एम्बिसन एकेडेमीकी छात्रा चक्षु भट्टराई, प्रज्ञा स्कुलका छात्र अवसर सुवेदी, भ्याली स्कुलकी छात्रा गरिमा घिमिरे, वेद विद्याश्रमका छात्र हेमन्त भट्ट, लिटिल एन्जेल्सकी छात्रा पलक ताम्राकार, संस्कृत मावि रानीपोखरीका छात्र सदृश सुवेदी र ज्ञानदीप शिक्षा सदनकी छात्रा दीपशिखा मुखियाले भानुभक्तीय रचना वाचन गरेका थिए।
कार्यक्रमका अन्त्यमा विद्यार्थीलाई कुलपति उप्रेतीले सहभागिताको प्रमाणपत्र वितरण गर्नुका साथै नेपाल प्रज्ञा–प्रतिष्ठानबाट प्रकाशित बाल साहित्यसम्बन्धी कृति उपहारस्वरूप प्रदान गरेका थिए। कार्यक्रममा प्राज्ञ परिषद्का सदस्यहरू, पूर्वसदस्यसचिव प्रा.डा. जीवेन्द्रदेव गिरी, प्राज्ञ परिषद्का पूर्वसदस्यहरू, प्राज्ञसभाका सदस्यहरू, भानु प्रतिष्ठानका अध्यक्ष प्रा.डा. व्रतराज आचार्य तथा नेपाली शिक्षा परिषद्की अध्यक्ष रमा शर्मालगायतको उपस्थिति थियो। गोरखापत्र दैनिकका पत्रकार शेषकान्त पण्डित प्रतिवेदक रहेको कार्यक्रमको सहजीकरण लक्ष्मी गौतमले गरेकी थिइन्।