बिहीबार, भदौ २, २०७९
कथा

अधुरो सपना

अनिता घिमिरे  |  काठमाडौं, शनिबार, जेठ २१, २०७९

अनिता घिमिरे

अनिता घिमिरे

शनिबार, जेठ २१, २०७९, काठमाडौं

नेपाल समय

सपना भुलाई सारा आँशु पिएर जाऊ

मन्दिरमा छ तिम्रै तस्वीर लिएर जाऊ। 

केही सपना बिउँझिएरै देखिन्छन् केही सपना निदाएको समयमा। कुनै सपना सुन्दर हुन्छ त, कुनै कहालीलाग्दो। हरेक मान्छे आफ्नो सपनाको संसारमा रमाउन चाहन्छ, सपनालाई वास्तविक जीवनमा अनुभव गर्न चाहन्छ। कति मानिसहरूका सपना साकार हुन्छन् त कतिका सपना अधुरै रहन्छन्। यसको कुनै तथ्यांक छैन। 

२०७७ चैतमा माइत गएकी थिएँ। त्यसदिन दिउँसो मध्यान्हदेखि नै हुरीबतास चलिरहेको थियो। आकाश कालो–नीलो–धमिलो थियो। चट्याङ पनि पड्किरहेको थियो। म माइतिघर तरहरामा थिएँ। बतासले आँगनमा सुकाएका कपडाहरू उडाउन थालेपछि मेरी भाउजुले हतारहतार टिप्नुभयो। 

हुरी यस्तो असाधारण चल्यो कि मेरो दाजुले बनाएको गाईको गोठका छाना क्षणभरमै उडाएर लग्यो। घरका झ्यालका शिशाहरू हेर्दाहेर्दै झर्यापझुरूप फुटालिदियो। घरमा पनि केही बिनासै पो भयो कि जस्तो लागेर श्रीमानलाई फोन गरेँ, सम्पर्क हुन सकेन। राति खाना खाएर समाचार हेर्दै थिएँ, समाचारवाचिका बोल्दै गइन्– आजको हुरीबतासले धेरै ठूलो क्षति पुर्याएको छ। सुनसरी जिल्लामा मात्र १० करोड बराबरको सम्पत्ति नोक्सान भएको छ भने दुईजना छात्रले विद्यालयमै ज्यान गुमाएका छन्। विवेक नाम गरेका एक १२ वर्षका विद्यार्थीको धरान स्थित बिपी स्मृति प्रतिष्ठानमा अचेत अवस्थामा उपचार भइरहेको छ। 

जब मेरो कानमा गुञ्जियो– विवेक मिश्र, वर्ष बाह्र। अचेत अवस्थामा बिपीमा भर्ना गरिएको भनेर, मेरो श्वास नै रोकियो। बोली फुटेन। मेरो मुटुको धड्कन एकाएक बढ्यो। मेरो शरीर असाधारण रूपमा तातो भएर आयो। एकाएक मैले टेकेको धर्ती नै भासिएझै महसुस भयो। 

मेरै छेउमा बसेर समाचार हेरिरहनुभएका मेरो दाजुले भन्नुभयो– नानी तिमिले घरमा फोन गरेकी छैनौँ ? कतै हाम्रो भान्जा त होइनन् ?

अनि मेरै छेउमा बसेकी दाजुकी छोरीले भनिन्– हो बाबा हाम्रै भाइ हो, अब हामी हस्पिटल जानुपर्छ। मेरो दाजुले उत्तिनै बेला मेरो घरमा सम्पर्क गर्नुभयो। त्यो अचेत अवस्थामा रहेको बालक मेरै छोरा थियो। टेलिभिजनमा समाचार देखेको ३० मिनेटभित्र हामी हस्पिटल पुगिसकेका थियौँ। हामी हस्पिटलमा पुग्दा मेरो श्रीमान र मेरो घरका अरू चारजना सदस्यहरू पहिल्यै हस्पिटलमा हुनुहुन्थ्यो। बल्ल मैले मेरो श्रीमानलाई भेटेँ हृदय फुटेर आयो, म रूँदारूँदा बेहोस भएछु। 

भगवानको कृपा ममाथि बन्यो। चालिस घन्टापछि मेरो छोराले आँखा खोल्यो। ऊ थोरै चलमलायो। विस्तारै उसको होस आयो। उसको एउटा हात पनि भाँचिएको रहेछ। भाँचिएको हातको उपचार हुन तीन महिना लाग्यो। हस्पिटल भर्ना भएको एघारौं दिनमा मेरो छोरालाई अस्पतालबाट बिदा दिइयो। घर आएको अर्को दिन मैले उसलाई सोधेँ– बाबु तिमी त्यति ठूलो हुरी बतास चलिरहँदा विद्यालयमा के गरिरहेका थियौ ?

भगवानको कृपा ममाथि बन्यो। चालिस घन्टापछि मेरो छोराले आँखा खोल्यो। ऊ थोरै चलमलायो। विस्तारै उसको होस आयो। उसको एउटा हात पनि भाँचिएको रहेछ। भाँचिएको हातको उपचार हुन तीन महिना लाग्यो।

विवेकः म सन्तोष र सुशील उपन्यास पढिरहेका थियौँ। पढ्दापढ्दै म निदाएछु। म एउटा सुन्दर सपना देखिरहेको थिएँ। त्यसैबखत हुरीले मेरो विद्यालयको जस्ताको छाना उडाएछ। अनि छनामा राखेको निदाल झरेर मलाई थिचेछ। त्यसपछि के भयो मलाई थाहा भएन, मामु। 

–कस्तो सपना देखेको थियौ। हुरी वतास चलेको पनि थाहा नपाउने ?

विवेकः अँ, आमा सुन्दर थियो, एउटा विशाल स्कुल थियो, त्यो स्कूलमा त के के थियो के के ? 

–के थियो ? त्यस्तो। 

विवेकः स्कूलको एरिया नै धेरै थियो। त्यहाँ त फुटबल ग्राउण्ड, बास्केटबल कोर्ट, क्रिकेट पिच अनि पौडी खेल्ने पोखरी सबै कुरा विद्यालयको क्षेत्रभित्रै थियो। जब मैले त्यो स्कुलको वातावरण देखेँ मलाई पनि त्यही स्कुलमा भर्ना हुने इच्छा लाग्यो। अनि मैले त्यसै विद्यालयका प्रधान अध्यापकलाई भेटेर म त्यस विद्यालयमा भर्ना हुनसक्छु कि सक्दिन भनेर सोध्ने इच्छा भयो। त्यसपछि  म हेडसरको अफिस खोज्दै हिँडे। सबैभन्दा पहिला म एउटा यस्तो अनौठो कोठामा पुगेँ, त्यहाँ त विद्यालयको कपडा लगाएका मेरै उमेरका केटाकेटीहरू हातमा आरा र खुकुरी बोकेर काठ चिरिरहेका थिए। कोही रण्डा तानिरहेका थिए, कोही काठमा पोलिस गरिरहेका थिए। त्यही समूहको बीचमा मैले मेरो साइलो काकाको छोरा कमललाई देखेँ। मैले उसलाई बोलाउनुभन्दा पहिला उसले नै मलाई बोलायो। 

कमलः विवेक तिमी कसरी यहाँ ? 

– हेडसरको अफिस खोज्न आएको, तिमीहरूले यो के गरेको ?

कमलः हाम्रो ऐच्छिक कक्षा हो। हामी फर्निचर बनाइरहेका छौँ। जनक दाइ हाम्रो गुरू हो। 

–तिमी यो काठ चिर्न सिकेर के गर्छौ ?

कमलः म आफ्नो सपना पूरा गर्छु। 

–तिम्रो सपना के हो ?

कमलः मेरो सपना फर्निचर कम्पनीको बादशाह बन्ने हो। 

–के हो त्यो भनेको ?

कमलः म एक महिना पहिला टेलिभिजन हेर्दा सुनेको मेरो देशको प्रधानमन्त्रीको लागि सुत्ने खाट चीनबाट ल्याएको रे। अनि मैले त्यसैबेला अठोट गरेको छु कि म पनि एक दिन एउटा काठ उद्योग खोलेर विश्वभरका राजा, रानी मन्त्री र व्यापारीहरूलाई चाहिने मन पर्ने र धेरै मूल्य पर्ने सुन्दर र आरामदायी सामानहरू उत्पादन गरेर बेच्नेछु। 

कमलको कुरा सुनेर अक्क न बक्क भएँ। विद्यालयमा गएर पनि काठको काम सिक्ने अरे ! त्यसपछि म त्यहाँबाट निश्किएर अर्को कोठामा छिरेँ। त्यहाँ त झन विचित्र थियो। उही मेरै उमेरका केटाकेटी हातहातमा कैँची बोकेर कपडा काटिरहेका थिए। कोही कपडा सिलाइरहेका थिए। सबैका अगाडि एउटा एउटा सिलाइ मेसिन पनि थियो। भित्तामा एउटा ठूलो भित्ते पाटी झुण्डिएको थियो। त्यसमा विभिन्न किसिमका सुन्दर कपडाका नमुनाहरू शिशा कलमले कोरेर टाँसिएका थिए। सबैजना आफ्नो काममा मन्त्रमुग्ध थिए। 

उनीहरूले मलाई देखेनन्। म पनि छिटोछिटो त्यहाँबाट निस्किएँ। मैले कसैलाई केही पनि सोधिन। म त्यहाँबाट फर्किएर अगाडि गइरहेको थिएँ , एकजना शिक्षकसँग भेट भयो। मैले सोधेँ ...

सर हेडसरको अफिस कता छ ?

सरः कोठा न ३१ हो। 

–३१ नम्बर लेखेको कोठा खोज्दै हिँडिरहेको थिएँ। जब कोठा नम्बर ३१ को अगाडि पुगेँ त्यहाँ एकजना महिला चिच्याइरहेको आवाज आयो। म त्यो आवाजलाई पच्छ्याउँदै अगाडि गएँ। एउटा कोठाको ढोका बन्द थियो। मैले आफै ढोका खोलेँ। ढोका खोल्नेबित्तिकै मैले एउटा मृत शरिर भुइँमा लडिरहेको देखेँ। त्यो मृत शरिरको छेउमा दुई जना बालक र उसकी श्रीमती चिच्याएर रोइरहेको देखेँ। कसैको लाश देखेर मेरो शरिर थरर काँप्यो। अनि ती अबोध बालबालिकाको मुखमा हेरेँ, त्यसैबेला मलाई एकजना लामो लामो कपाल पालेको सरले सोध्नुभयो– भाइ कसलाई खोज्नु भाको ?

–यो मरेको मान्छे को हो ?

सरः हा हु हा ...

सरः यहाँ कोही पनि मरेको छैन भाइ, यो अभिनय सिक्ने कक्षा हो। म ट्वाल्ल परेँ। मैले ती सरलाई पहिला कतै देखेको जस्तो अनुभूति भयो। अनि मैले सम्झिने धेरै कोशिश गरेँ। जब म फर्किएर हेडसरको अफिसतिर जाँदै थिएँ, मलाई याद आयो तीं लामो कपाल भएका अभिनय सिकाउने  सर त राम लक्ष्मण चलचित्रको हिरो राजेश हमाल पो रहेछन्। 

म फेरि कोठा नम्बर ३१ को अगाडि आइपुगेँ। एक  जना सर आफ्नो कुर्सीबाट जुरूक्क उठ्नुभयो अनि कोट फुकालेर टेबलमाथि राखेर आफ्नो अफिसको झ्यालको शिशा पुछ्न थाल्नुभयो। मलाई अन्योल भयो, त्यो मानिस हेडसर हो वा सरसफाइ गर्ने कर्मचारी हुन्। म केही कुरा नगरी त्यहाँबाट बाहिर निश्किएँ। 

कतिबेला मेरो टाउकोमा रूखको हाँगा बजारियो मलाई पत्तै भएन। म बेहोस भएछु। मलाई अस्पिटल लगिएछ। मलाई केही पनि थाहा भएन। मेरो होस आउँदा मैले मेरो आँखा अगाडि हजुर र बुवालाई देखेँ। 

छोराको कुरा सुनेर मेरो आँखा रसायो। उसले जुन कुरालाई सपना भनिरहेको थियो त्यो त एउटा बालकको नैशर्गिक अधिकार थियो। यही सपना थियो जसले उसलाई मृत्युको मुखमा पुर्याइदियो। छोराको कुरा सुनेर मेरो पुरानो घाउ बल्झियो। दश वर्ष पहिला मेरी १६ वर्षकी छोरी यस्तै सपना बोकेर माओवादी जनयुद्धमा होमिएकी थिई। ऊ भन्थी, माओवादी जनयुद्ध सफल भयो भने देशमा नयाँ शिक्षानीति आउँछ। 

व्यवहारिक शिक्षा लागू हुन्छ। यो पुरानो बुर्जुवा शिक्षा नष्ट गर्नुपर्छ। उसले दश कक्षामा पढ्दै गरेका किताबहरू आगोमा जलाएर घर छोडेर हिँडेकी थिई। उसलाई आफ्नो सपनासँग यति धेरै मोह थियो कि मैले उसलाई सम्झाउन सकिन। मेरो दुर्भाग्य घर छोडेको चार महिनापछि उसले यो संसार पनि छोडी, नेपाली सेना र माओवादी छापामारहरूबीचमा भएको भिडन्तमा उसले प्राण त्याग गरी। 

जब मैले मेरो छोरीलाई सम्झिएँ, मेरो छाती फुलेर आयो, मेरो श्वास फेरि रोकियो। आज छोरी भएको भए उ कति कलकलाउँदी हुँदी हो। म जत्रै हुँदी हो। मेरी छोरी होइन साथीजस्तै हुँदी हो। मेरो शरिर तातेर आयो। मुटु चिसो भयो। आँखा त्यसै त्यसै रसाएर आए। मेरो छोराले मलाई छेउमा बसेर हेरिरहेको रहेछ। छोरा उठेर मलाई अंगालो हालेर भन्यो– आमा हजुरले रूनु पर्दैन अब। मलाई ठिक भइसक्यो। म भोलिबाट स्कुल जान पनि सक्छु। 

यद्यपि मलाई त कहिल्यै पनि ठिक नहुने चोटले गिजोलेको थियो। मेरो घाउ कहिल्यै निको हुने छैन। मेरो सास रहुन्जेलसम्म यो दुखिरहनेछ। मलाई मेरी छोरीको अभाव सधैं महसुस भइरहनेछ। जब मेरो छिमेकीकी छोरीले विश्वविद्यालयको प्रमाणपत्र हातमा समाएको फोटो फेसबुकमा हेर्न पुग्नेछु फेरि एकपटक मेरो सास रोकिनेछ। अनि मेरो छाती चर्किनेछ। मेरो बच्चाले देखेको सपना पुरा गर्न नसक्दा मैले पलपल मर्नु परेको छ। एउटी आमा भएको नाताले मेरो एउटै इच्छा छ, कुनै पनि बालबालिकाले सुन्दर सपना नदेखुन् ताकि मेरो छोरीले जस्तो अकालमा प्राण त्याग्नु नपरोस्। 


प्रकाशित: June 4, 2022 | 20:58:41 काठमाडौं, शनिबार, जेठ २१, २०७९

तपाईं को प्रतिक्रिया

तपाईं को प्रतिक्रिया

ट्रेंडिंग

कांग्रेस केन्द्रीय समितिमा थपिँदै आठ महिला

संविधानअनुसार अहिले कांग्रेसको केन्द्रीय समितिमा महिलाको संख्या ३३ प्रतिशत नपुगेका कारण ३३ प्रतिशत पु¥याउन आठ जनालाई केन्द्रीय समितिमा मनोनयन गर्न लागिएको हो।

पञ्चायती व्यवस्थाका हार्डलाइनर मरीचमानको अविचलित राष्ट्रवाद

तीन दशक लामो पञ्चायती व्यवस्थाका अन्तिम प्रधानमन्त्री मरीचमान सिंह २०४६ को बहुदलीय व्यवस्थाका कारण राजा वीरेन्द्रबाट बर्खास्तीमा परे। त्यो समय कसैसँग नझुक्ने अडान लिएर बसेका मरीचमान भारतको नाकाबन्दी, जनआन्दोलनको उभारलगायत यिनै र यस्तै घटनाक्रमले कतै नायक बने, कतै खलनायक।

आरजुबारे देउवाको त्यो वचन तर यो प्रयास!

पार्टी सञ्चालनका सन्दर्भमा होस् वा सरकार सञ्चालनमै पनि किन नहोस्, आरजु हावी भइरहेकी छन्। यसलाई राजनीतिक जानकारहरुले देउवाको उत्तराधिकारी हुने प्रयासका रुपमा बुझेको देखिन्छ।

प्रचण्डसामु बाबुरामको 'बाध्यात्मक शरण'

सात वर्षअघि माओवादी विचारधाराको औचित्य समाप्त भएको घोषणा गरेर कम्युनिस्ट विचारधारा पूर्ण रूपमा त्यागेको बताएका बाबुराम नयाँ पार्टी खोलेर पनि राजनीति उँभो लाग्ने छनक नदेखिएपछि प्रचण्डतिरै लहसिनुपर्ने बाध्यतामा पुगेका छन्।

२०७४ मा जसले जिताए, तिनै बन्नेछन् विष्णु पौडेलको तगारो

रुपन्देहीको निर्वाचन क्षेत्र नम्बर २ बाट लगातार पछिल्ला ३ निर्वाचन जितेका विष्णु पौडेल नै एमालेबाट निर्विकल्प उम्मेदवार हुन्। पौडेलले २०६४, २०७० र २०७४ को निर्वाचनमा क्रमशः भक्ति पाण्डे, डा. बाबुराम भट्टराई र युवराज गिरीलाई हराएका थिए।

राष्ट्रपतिद्वारा नागरिकता विधेयक फिर्ता : अब के हुन्छ?

यसअघि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले ल्याएको नागरिकता अध्यादेश भने जारी गरेकी थिइन्। असंवैधानिक रुपमा संसद् विघटन गर्दै ल्याएको नागरिकता अध्यादेश जारी गरेकी राष्ट्रपति भण्डारीले संसद्‌बाट पारित गरेको विधेयक भने फिर्ता गरेकी हुन्।

तालाबन्दी र तोडफोडले बिगारेको त्रिवि : माग एउटा, नियत अर्कै!

पछिल्लो समय भने तालाबन्दी राजनीतिक पाटोसँग भन्दा पनि लेनदेनको पाटोसँग जोडिएको उपप्राध्यापक रेशम थापा बताउँछन्। ‘पहिला राजनीतिक कारण हुन सक्थ्यो। तर, हिजोआज यो बिल्कुल आर्थिक पाटोसँग जोडिएको छ। लनेदेनको कुरा मिले ताला खुल्छ। नत्र लागिबस्छ,’ थापाले भने।

नयाँ तलबमान र ग्रेड लागू गर्ने मन्त्रिपरिषद्को निर्णय

सरकारले सबै राष्ट्र सेवक कर्मचारीहरूको नयाँ तलबमान र ग्रेड स्वीकृत गरेको छ।

यी ३२ निर्वाचन क्षेत्र, जहाँ गठबन्धनलाई पर्न सक्छ सिट बाँडफाँटमा सकस

२०७४ मा बाम गठबन्धन बनाएर संघीय सांसद भएकाहरू दल बदल र पाँच दलीय गठबन्धनभित्र समेटिएपछि आउँदो चुनावमा कांग्रेसका आकांक्षी उम्मेदवार र सत्ता साझेदार दलका नेताहरू आ–आफ्नो दाबीसहित टिकटका लागि दौडधुप गर्दै छन्।

यी कांग्रेस नेता जो अहिले गुमनाम छन्

गुमनाम नेताको अग्रपंक्तिमा छन्- पूर्वमहामन्त्री तारानाथ रानाभाट, केबी गुरुङ, पूर्वमन्त्री बलदेब शर्मा मजगैया, विनयध्वज चन्द।

थप समाचार

नेपाल समय
रचना

हुलाक टिकटका कारण चित्रकार बनेका राजप्रकाशमान

सुन्धारा हुलाक अड्डाले बिस्कुन बनाएर फालेको फोहोरभित्र हुलाक टिकट खोजेपछि आफ्नो घर नरदेवी पुगेर भुइँभरि फैलाउँथे, राजप्रकाश। मानिस, चराचुरुंगी, हिमाल, देवीदेवता तथा मठमन्दिर चित्र अंकित हुलाक टिकटप्रति खुबै लोभिन्थे।
नेपाल समय
रचना

भाषा–संस्कृतिका विम्ब भानुलाई सम्झिँदै नयाँ पुस्ता

नयाँ पुस्ताका बीचमा भानुभक्तलाई चिनाउने उद्देश्यले प्रज्ञा प्रतिष्ठानले रचना वाचन कार्यक्रम आयोजना गरेको हो।
नेपाल समय
रचना

क्यानभासमा क्यारिकेचर

नाफा हलमा तीन दिनसम्म चल्ने प्रदर्शनीमा सहभागी ४० बढी कलाकारले हाँस्य कलाकार हरिवंश आचार्य, रंगकर्मी सुनिल पोखरेल, पत्रकार ऋषि धमलालगायत विभिन्न क्षेत्रका व्यक्तित्वका क्यारिकेचर समावेश गरेका छन्।
नेपाल समय
रचना

युवा [कविता]

बुद्ध दिन्छु भन्थ्यौ आमा, युद्ध पठाइछ्यौ,
नेपाल समय
रचना

जो कवितामा बाँचे, फिल्मले हँसाए र नाटकले रूवाए

‘प्रेम नुहुनजस्तो कुरूपता केही हुन सक्दैन,’ कवि रिजालले वाशु शशीले भनेको सम्झिए’ ‘देश सीमानाहरूबाट बन्दैन, मानिसहरूबाट बनेको हुन्छ।’

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

House -138, Suruchi Marg, New Baneshwor, Kathmandu, Nepal
फोन : +977-1-4790242 / +977-1-4790040
इमेल : nepalsamayanews@gmail.com
  • प्रबन्ध निर्देशक
    तरुणप्रताप शाह
  • प्रधान सम्पादक
    नारायण अमृत
  • महाप्रबन्धक
    जीवन तिम्सिना