यतिबेला नीलो आकाश र नीलै धरतीबीचको शून्यताले एउटा वायुयानलाई निलिरहेको छ। त्यही यानका आरामदायी सिटमा छन् केही थान मानिसहरू। मानिसहरूको बीचमा एक थान मेरो आत्मा पनि समाहित छ। म जान्दछु, यो नीलो संसारको पेटभित्र भर्खर छिरेको वायुयान बाहिर निस्कन अझै नौ घण्टा लाग्नेछ। र म एउटा नीलो अस्तित्वको प्रेममा गहिरिँदै जाने छु।
हेर्छु, परपर फैलिँदै गएको एउटा भूमिगत साम्राज्य, जहाँ फराकिलो सहर बसेको अनुभव हुन्छ। त्यो अनुभूति नै वायुयान भित्रबाट देखिने एउटा मीठो सौन्दर्य हो। नीलो संसारको आफ्नै परिधि छ। र मेरो सोचाइका पनि आफ्नै सीमानाहरू छन्। ती सीमानाहरूबाट भागेर यसो यानभित्र दृष्टि डुलाउँछु। अगाडि सिटमा एक जोडी मुडुला टाउकाहरू देखिन्छन्। गेरू बस्त्र धारण गरेका उनीहरूको हातमा एक एकवटा बोधीचित्तका माला थिए। हुनसक्छ उनीहरू कुनै धर्ममार्गी थिए। या फेरि आआफ्नै रहरका पुजारी। म ती मुडुला टाउकाहरूबाट आँखा हटाएर फेरि नीलो साम्राज्यतिर आखा डुलाउँछु। बादलका थरिथरि आकृति र सूर्यका किरणहरूको आआफ्नै अमूर्त स्वरूप बन्दै बिग्रँदै थियो।
म पुनः अगाडिको सिटतिरै केन्द्रित हुन्छु। नहेरूँ भन्दा पनि मेरो दृष्टि घरिघरि उनीहरूको टाउकोमा ठोकिइरहन्छ। सिटको बीचमा भएको सानो प्वाल भएर मेरो चोर आँखा उनीहरूको हाततिर पुग्छ। उनीहरूका हात एक अर्कामा गजबले समातिएका थिए। मानौं अब कहिल्यै उनीहरूको हात एक अर्काबाट अलग्गिने छैनन्। एकपटक उनीहरूको आँखातिर हेर्न मन लाग्छ। सुटुक्क हेर्छु। उनीहरूका आँखा एकअर्कामा यसरी अडिएका थिए, जहाँबाट एउटा हात्ती ओहोरदोहोर गरोस्, उनीहरूले त्यसलाई देख्ने छैनन्। यहीबीचमा एउटा मुडुलो टाउकोले बिस्तारै अर्को मुडुलो टाउकोको अनुहारतिर आफ्नो अनुहार झुकायो। र उनीहरूबीच बडो आनन्दमयी ओष्ठ समागम भयो।
‘ओष्ठ समागम’ अहो कति सुन्दर दृष्य। त्यो पनि गेरू बस्त्रधारीहरू बीच। म मुग्ध हुन्छु। मानिसले एक अर्कालाई यसरी प्रेम गरेको दृष्य साँच्चिकै कलात्मक हुन्छ। साक्षाकृत चतुर्थ आर्य सत्य, साधना अर्थात् दुःख निरोध गामिनी प्रतिपद्को मार्ग, या फेरि कुनै दर्शन र सिद्धान्तका अनुसासन बन्दी !
के त्यहाँ दैहिक समागमको कुनै स्थान हुन सक्छर? त्यो आष्टाङ्गिक पन्थलाई हृदयदेखी नै आत्मसात् गरेपछि मान्छे भित्रका रागहरू समाप्त हुनुपर्ने तर्कको विश्लेषण आहा कति कमजोर ! यहाँ यो हृदयंगम दृष्य नै शाश्वत थियो। र मेरा सोचाइका अनुशासित गल्लिमा दौडिरहेका तर्कहरू यो अलौकिक दृष्यका अगाडि संकुचित थिए।
मैले चारैतिर बलिरहेका बत्ती एकाएक निभेको अनुभव गरें। अझ यसो भनौं त्यहाँ बलिरहेका सबै बत्ती उनीहरूको ओष्ठ समागमका लागि निभाइदिन चाहे। किनकी त्यो ओष्ठ समागम अनवरत चलिरहनुमा जुन आनन्द थियो त्यो अरू केहीमा थिएन।
ओष्ठ समागम एक जोड मुडुला टाउकाहरू बीच, यो एउटा उत्कर्ष थियो। कहिलेकाहीँ यसरी अपेक्षा नगरिएका सत्यहरू अनुभव गर्न पुग्छ जिन्दगीले। हो यस्तै अनुभवमा हराउनुको आनन्द उठाउँछु म र बिस्तारै प्रवेश गर्छु त्यो नीलो संसारमा !
लाग्छ यो नीलो साम्राज्य हावामा टक्क अडिएको छ। हावामा अडिएको यो संसारले सदियौ पार गरेको छ। कति युगका इतिहास होलान् यहाँ? भनिन्छ युगौयुगका संवादहरू यही ब्रमाण्डमा सुरक्षित छ। चाह्यौं भने हामीले आज पनि कुरुयुद्धका चित्कार यतैकतै सुन्न सक्छौं। या फेरि श्रीकृष्णले अर्जुनलाई बताएको गीता यतैकतै भेट्न सक्छौं। उफ् ! यो मनुष्य योनीको संकुचन। म चाहेर पनि आफूभित्र निदाएको ब्रम्हलाई जगाएर यी सब कुरालाई सजिलै प्राप्त गर्न सक्दिनँ। बरू मेरोअगाडि एउटा अबोध बालक देखा पर्छ। जसलाई म एउटा सिसाकलम थमाउँछु। र विस्तारै मेरो कल्पलोकमा प्रवेश गराउँछु। कल्पलोकमा पुगेको बालकले त्यहाँ त्यही मुडुलो टाउकोवाला गेरू बस्त्रधारीलाई देख्छ। त्यस मुडुलो टाउकोले त्यहाँ केही खोजिरहेको थियो। हावामा उडिरहेको वायुयानबाट फुत्त निस्केर एकाएक यो नीलो सभ्यतासँग जोडिनु आफैंमा एउटा रहस्य थियो।
त्यसलाई अन्तरिक्ष भन्नुहोस् या पृथ्वीको क्षितिज। हो क्षितिजलाई कहिल्यै छुन सकिँदैन यो सास्वत सत्य हो। तर यतिबेला त्यो बालक त्यही क्षितिजमा तयार भएको एउटा विश्रामगृहमा प्रवेश गरेको छ र देखिरहेको छ गेरू बस्त्रधारी एउटा मुडुलो टाउको भएको मानिसलाई। जो कल्पलोकको भित्तामा केही खोजिरहेको थियोरु बालक आश्चर्यचकित हुन्छ।
सँगै बसेको अर्को मुडुलो टाउको खोइ? उसले अबोध प्रश्न गर्छ। मुडुलो टाउकोले कुनै जवाफ दिँदैन।
–यो नीलो संसारमा सिसाकलम थमाएर यहाँ पठाउने मेरो अभिभावक कता गायब भयो? ऊ फेरि पनि बोल्दैन।
– के मैले कल्पलोक प्रवेश गर्नु अगाडि नै तपाईं यहाँ आउनुभएको हो? ऊ चुपचाप खोजिरहन्छ। बालकको जिज्ञासा जस्ताको तस्तै रहन्छ।
केहीबेर खोजेपछि उसले केही भेट्टाएजस्तो गर्छ। हुन सक्छ यो एउटा प्राकृतिक शक्तिको बोध थियो। या फेरि हुन सक्छ त्यो सिसाकलम थमाउने अभिभावकको रूपमा यो मुडुलो टाउकोको गन्तब्य निहित थियो। बालक उसका क्रियाहरूमा बिभक्त हुँदै गयो। आखिर कसरी त्यो मुडुलो टाउको भएको गेरूबस्त्रधारी मानिस यहाँ आइपुग्यो? के मलाईभन्दा पहिले त्यो सिसाकलम थमाउने अभिभावकले उसलाई आमन्त्रण गरेको थियो ? त्यो दिर्घ साधना जस्तो ओष्ठ समागमलाई छोडेर किन हिँड्यो होला ऊ? कहिल्यै नछुटिने गरि समातेको हात कसरी छुट्यो होला? त्यस्तो आलिंगनबद्ध प्रेमको दिर्घ साधनालाई छोडेर एकाएक एउटा मुडुलो टाउको मात्र कसरी यो शून्य संसारमा आइपुग्यो? प्रेमको साधनामा समाधिस्थ हुँदै गरेको अर्को मुडुलो टाउको खोइ? बालक प्रश्न माथि प्रश्नमुखी बन्यो। कुनै इतिहास पल्टाइ रहेको जस्तो देखिने त्यो मुडुलो टाउको असन्तुष्ट देखिँदै गयो। यो शान्त संसारमा आएर पनि के कुरामा अशान्त भइरहेको होला ऊ?
यसरी आफैलाई प्रश्न माथि प्रश्न गरेर भएन, अब बालक ऊ नजिक पुग्यो र दुई हात जोडेर निउँरिदै भन्यो–
प्रणाम महामुनी ! महामुनीले कुनै जवाफ दिएनन्। उनी आफ्नै धुनमा शास्त्रका पुराना पत्रहरू पल्टाउन ब्यस्त देखिए। बालकलाई एक पटक फर्केर पनि हेरेनन्।
परपर फैलिँदै गएको एउटा भूमिगत साम्राज्य, जहाँ फराकिलो सहर बसेको अनुभव हुन्छ। त्यो अनुभूति नै वायुयान भित्रबाट देखिने एउटा मीठो सौन्दर्य हो। नीलो संसारको आफ्नै परिधि छ। र मेरो सोचाइका पनि आफ्नै सीमानाहरू छन्। ती सीमानाहरूबाट भागेर यसो यानभित्र दृष्टि डुलाउँछु।
– यसरी के खोजिरहनु भएको हो महामुनी ? बालकले प्रश्न दोहोर्यायो।
– तपाइ को हो ? कसरी यहाँ आइपुग्नु भो? महामुनीले जवाफको साटो उल्टो प्रश्न गरे।
– म त एक बालक हुँ महामुनी। मेरो अविभाक बायुयानमा तपाइको पछिल्लो सिटमा बसेर संगै यात्रारत छ। बरू तपाई भन्नुस कसरी मेरो भविभावकको कल्पलोकमा तपाईं आइपुग्नुभयो ?
– कल्पलोक त जसको पनि हुनसक्छ, अथवा जो पनि आउन सक्छ। बरू तपाई भन्नुस के कारण मेरो पिछा गर्दै हुनुहुन्छ ?
– मैले तपाइको पीछा गरेको होइन महामुनी। बरू यो नीलो संसारमा मलाई सिसाकलम थमाउने मेरो अविभावक खोइ ? उसैले मेरो दृष्टी चेतनालाई यो कल्पलोकमा आमन्त्रित इसारा गरेको हो । तर आश्चर्य ओष्ठ समागमको दिर्घसाधना छोडेर तपाई पो यहाँ देखिनु भयो !
– कल्पलोक त हरेक मनुष्यको सरोबर हुन्छ। तर दुर्घटनाबस एउटै कल्पलोकमा दुइ फरक आत्माहरू भेटिनु यो सम्भव कुरा होइन। बरू पछाडीको सिटमा बसेको तपाइको अविभावक कुण्ठित छ।
– त्यो यानभित्र तपाइहरूले ओष्ठ समागममा सबै भन्दा बढी खुसी हुने मेरै अविभावक हो महामुनी सायद उसले जति आनन्द तपाइहरूले पनि उठाउनु भएन होला।
– त्यो तिम्रो दृष्टी भ्रम हो। तिम्रो अविभावक कुण्ठित छ। हुन सक्छ ऊ पनि अपूर्ण छ। भयंकर प्यासी छ। त्यसैले त म देखि रहेछु तपाईको सिसाकलम भित्र निकै प्रश्नहरू खादिएका छन् ।
– हो मसंग धेरै प्रश्नहरू छन्। पहिलो प्रश्न, तपाईसंगै रहेको अर्को मुड्लो टाउको खोइ?
– म जान्दथे तपाइले यो प्रश्न सबै भन्दा पहिला सोध्नु हुनेछ। किनकी हामी बीचको दिर्घसाधनालाई घुरेर हेर्ने मध्ये तपाईको अविभावक नै सबै भन्दा नजिक थियो।
– त्यसरी खुलेयाम ओष्ठ समागम भए पछि नहेर्ने कुरा कसरी हुन्छ महामुनी? मेरो अविभावकले हेरेको मात्र होइन मिठो आनन्द पनि उठाएको थियो।
– आनन्द उठायो रे? त्यसो भए किन बत्ती निभाइदियो?
– ऊ चाहन्थ्यो उज्यालोका कारण त्यो आनन्द नबिथोलीयोस्।
–यहीनेर छ त्यो कुण्ठा। जब वायुयान भित्र बलेका सबै बत्ती निभाइ दिएर उसको दृष्टीचेतनाले यो नीलो संसारतिर पाइला सार्यो। प्रेमको दिर्घसाधना त्यतीबेलै बहिसकृत भयो बालक? तपाईंको अविभावक संकुचित छ। र सबै भन्दा बढी कुण्ठित।
– तपाईंहरूको साधना कसरी बहिस्कृत भयो महामुनी? उसले त बहिस्कार गरेको थिएन।
– प्रेमको दिर्घसाधनालाई अध्यारोमा अनुभव गर्न खोज्नु नै बहिस्कृत चेतनाको उपज हो बालक। किनकी अध्यारोमा उसले देखेका यि मुडुला टाउकाहरूको कुनै अस्तित्व छैन। अध्यारो एउटा अपूर्ण यात्रा हो। । त्यसैले हामी उज्यालो चाहन्छौ। मतलब बुझ्नु भयो होला प्रेमको दिर्घसाधना सर्वमान्य हुनुपर्छ। तर यो मामलामा हामी सधै बहिस्कृत भयौ। जब तपाईको अविभावकको दृष्टीचेतना हामीबाट भागेर बायुयानका बत्ती निभाउन पुग्यो, तब प्रेमको दिर्घसाधना बिफल भयो।
– त्यसलाई बिफल भएको मान्नुमा के औचित्य छ र महामुनी। बरू तपाईले ओढ्नु भएको आवरणको ढोंग त्यागेर सर्बमान्य प्रेमको दिर्घ साधनामा जाने आँट किन गर्नु हुन्न ?
– बिधाता, हो यही कल्पलोकमा बसेर त्यो विधाताले हाम्रो नियती कोरिदिएको छ। र म त्यही नियतीको सिकार हुँ बालक। म चाहन्छु त्यो नियतीचक्रलाई सदाका लागि खारेज गरुँ। यति भनेर ऊ चुप लाग्यो। र पुनः पुराना मक्किएका शास्त्र पल्टाउन ब्यस्त भयो। बालकले गेरू बस्त्र, मुडुलो टाउको, र बोधीचित्तलाई पालै पालो हेरिरह्यो। उसको ब्यग्रता देखेर जान्न सकिन्थयो ऊ भित्र अनगिन्ती भावहरू एकै पटक सल्बलाइरहेका छन्। उसलाई लागेको छ बिधाताले त्यो बेला बनाएको खेस्रा यतैकतै छोडेको छ। अथवा मानिसको सोच र कल्पनामा घुलन गरिदिएको छ र ऊ त्यस चक्रलाई सदाका लागि खारेज गर्न चाहन्छ।
–वास्तवमा यसरी के खोजीरहनु भएको छ तपाई ? आष्टाङ्गिक पन्थ या दुख निरोध गामिनीको मार्ग रु केही बेर उसको ब्यग्रताको दर्शक बने पछि बालकले सोधी छाड्यो।
– यतिबेला म ति दुवै कुराको खोजी बाहिर छु । बरू तपाइले सम्बोधन गरेको यो महामुनी रूपको खारेजी चाहन्छु। त्यसको लागि यो नियती चक्र बद्लिनु जरुरी छ। मानिसका कल्पलोकले तयार गर्ने भ्रम पखाल्न जरूरी छ।
– यस्तो बिराट र वैज्ञानिक परिचयलाई खारेज गर्ने चाह राख्नु मूर्खता होइन र महामुनी।
– यो आवरण बिराट र वैज्ञानिक होला, तर यो रूप आफैमा कुरूप छ। जबसम्म प्रेमको श–शरिर दिर्घसाधना यो नियतीचक्रमा समावेस हुदैन तबसम्म यो अपूर्ण नै रहन्छ। महामुनीको आवरण भित्र रहेका हजारौं हजार प्यासी आत्माहरूलालाई हेर्नुहोस, कसरी छटपटाइ छटपटाइ मृत्युवरण गरेका छन्। मलाई पनि अतृप्तीले घोचीघोची मारोस् यो स्वीकार्य छैन ।
– एउटा मनुष्यको कल्पलोकमा नियती चक्रको खारेजी सम्भव होला र ? तपाईको हृदयको ब्याथाले केहीबेर यहाँ विश्राम गरेर जान त सक्ला तर मनुष्यलोकमा नियतीचक्रको खारेजी मृत्यु पश्चात नै सम्भव छ महामुनी।
– मलाई कल्पलोकमा होइन, स्वर्गलोकमा पनि होइन यहीँ मनुष्यलोकमा स–प्रेम दिर्घसाधना प्राप्त गर्नु छ बालक। त्यो पनि यही मुडुलो टाउको, गेरूबस्त्र, र बोधिचित्तका साथमा। अर्थात एउटा उज्यालोमा।
–एउटै जिन्दगीमा दुई दुईवटा साधना प्राप्तीको लोभ किन गरिरहनु भएको तपाईं?
– किनकी इन्द्रियहरू सधै प्रश्नमुखी छन्। र मलाई सोधी रहन्छन् यो मुडुलो टाउको के हो? किन मलाई गेरूबस्त्र धारण गराइयो ? र किन यो मुडुलो टाउकोप्रति पनि यतिविघ्न मोह छ मलाई? यो समाजको कस्तो उत्पादन होरु के यी बिना उत्पीडन, बिनाप्रश्न आफैले चाहेर बनेका मुडुला टाउकाहरू हुन्? हुन् भने किन यसभित्र आर्तनाद छ? किन पीडाको उच्च स्वर सुन्नु पर्छ मैले ? हामीले बाँचेको समाज प्रेमको हो की घृणाको किन बुझन सक्दिन म? किन हामीले गरेको ओष्ठ समागममा समाजले बत्ती निभाउँछ? जीवनका डर र छुद्रताहरूलाई जित्न धारण गरेको सिद्धान्तले कसरी मलाई उल्कापात गरायो? र हामीहरूकै बीचबाट एउटा महामुनी जैविक बलत्कारी कसरी बन्यो? जब यी प्रश्नका उत्तरहरूको बोध हुनेछ, मेरो दैहिक चेतना स्वतः स्थीर हुनेछ। त्यतीबेला बडो कष्टले हिडेको यो बाटो आफै भत्काइदिने छु या जैविक भोकको ध्वनिमा आफुलाई बिर्सजन गरिदिने छु। तर यो असामान्य सिद्धान्तमा जीवन डोहोर्याउँदै गर्दा प्राकृतीक सत्यसंग बर्जित हुनु बिलकुलै कहालीलाग्दो छ ।
आज म जे छु बोधीसत्वको चाहनाले नै छु। तर यसै भित्र रहेर मानिस हुनुको स्वाधीन अनुभूतिलाई खोजी गर्नु कसरी गलत हुन्छ? यो रूप धारण गर्नुपर्ने नियती लिएर जन्मिएकैले हामीले भोगेको असन्तुलनको क्षतिपूर्ति यो समाजले दिन सक्दैन भने हाम्रो दैहिक समागममा प्रश्न उठाउने अधिकार पनि यो समाजलाई छैन। यो असन्तुलनले उठाउने प्रश्नचिन्ह सबै भन्दा बढी यही मुडुलो टाउकोमा ठोकिएको छ र यो लामो इतिहासलाई योगसिद्धी र साधनाको नामले कुष्ठित बनाउदै ल्याएको छ। एउटा जैविक अस्तित्वलाई जबर जस्ती समाप्त गर्नुपर्ने कठोर नियमन प्राकृतिक नै हुन्छ, यो मान्न तयार छैन म।
मुडुलो टाउकोको धारा प्रवाह प्रवचन सुनेर बालक नाजवाफ उभिन्छ। उसको सिसाकलम भित्रबाट सबै प्रश्नहरू आपसेआप पाखा लागेजस्ता हुन्छन्। मानिसको शरीर र मनको तार छुट्टाछुट्टै भएर पनि एक छ कि, एक भएर पनि दुई फरक चिज बनाइयो? कुन विन्दुमा पुगे पछि शरिर र मनको विभाजन पूर्ण हुन्छ ? गेरू बस्त्र, मुडुलो टाउको, मान्छेको मन या फेरी शरिरको भोक, अर्थात ओष्ठ समागम। बालकले एकपटक महामुनीतिर हेर्यो। यतिबेला उनका औलाहरूमा त्यही सिसाकलम थियो जुन उसको अविभावकले उसलाई दिएर कल्पलोकमा पठाएको थियो।
महामुनीले एक पटक सिसाकलमको फेदमा रहेको इरेजर तिर हेर्छन्। र केही रेखाहरू मेटाउन थाल्छन्। मानौ उनको नियतीचक्र त्यहीनेर उभिएको छ। र मेटिदै छ बिस्तारै।
महामुनीले मेटाउँदै गरेको नियतीचक्र मेटिन्छ मेटिँदैन थाह छैन। तर उनले चलाइरहेको इरेजरले कल्पलोकको भित्तो मेटिँदै जान्छ र यो मिठो भ्रम बाँचिरहेको बालक ममा समाहित हुन्छ। त्यतिबेलै वायुयान भित्रका सबै बत्तीहरू बल्छन्। सबैतिर उज्यालो फैलिन्छ। उज्यालोमा ती जोडी मुडुला टाउकाहरू मुस्कुराउँछन् र प्रेमको दीर्घसाधनामा पुनः लीन हुन्छन्।