काठमाडौं– लेखक तथा अभिनेता खगेन्द्र लामिछानेले सुरेश प्राञ्जलीको उपन्यास ‘पानीघट्ट’ माथिको अन्तरसंवादको सुरूवातमा भने, ‘आफूले लेख्न र बोल्न चाहेको भाषा लेख्ने मान्छे भेटेँ।’
लेखकद्वय लामिछाने र प्राञ्जली गण्डकी क्षेत्रले जन्माएको स्रष्टा हुन्। दुवै स्याङ्जाली। र, उपन्यास 'पानीघट्ट'को परिवेश पनि दुवै लेखकद्वयको गृहजिल्ला। त्यसैले उपन्यासको आवरण सार्वजनिकदेखि लोकार्पणसम्म लामिछाने किताबसँग नजिक भए। पुस्तक पढिरहँदा आफ्नै समाज र परिवेशमा प्रवेश गरेको बताए लामिछानेले। उनले भने, ‘आफ्नो गाउँको बारीको डिलमा बसेर तल्तिर, मास्तिर अनि पर्तिरका मान्छेहरूको जीवन हेरिरहेजस्तो पनि लाग्यो।’
पानीघट्ट पढिरहँदा लामिछानेले बाल्यकालदेखि देख्दै आएको समाजको कथाव्यथालाई नजिकबाट चिहाइरहेको बताए। पात्रको चरित्र चित्रण र स्थानीय भाषालाई लेखक प्राञ्जलीले मिठो बनाएको भन्दै खुलेर प्रशंसा गरे, ‘भाषिक दृष्टिले त मैले झनै अपनत्व महसुस गरें। पानीघट्टले मलाई नोस्टाल्जिक बनायो।’
तीस र चालिसको दशकतिर गण्डकी क्षेत्रको ग्रामीण समाजमा महिलाहरू बाँच्नका लागि मात्रै संघर्ष गरेनन्। स्थानीय भाषा र गण्डकी भेगमा गाइने लोकगीतलाई पनि सँगसँगै लिएर बाँचे। प्रेमिल मन लिएर लाहुरेलाई गरेको प्रतीक्षा र आफ्नै सुखदुःखको गीत गाउने महिलाको कथालाई मिठो शैली भनेका छन् प्राञ्जलीले।
प्राञ्जली सानैदेखि गुरुङ समुदायमा हुर्किए। गुरुङ समुदायको रोधी संस्कृतिलाई नजिकबाट मात्रै हेरेनन्, उनले आत्मासात् पनि गरेका छन्। लामिछानेसँगको अन्तरसंवादमा आफूले रोधी संस्कृतिका विषयमा पढ्न मन लागेको बताए। भने, ‘रोधी संस्कृतिका विषयमा पढ्न मन लागेको थियो, तर पढ्न पाइनँ। त्यसैले बाल्यकालदेखि देखेको रोधी संस्कृतिमाथि लेख्ने कोसिस गरेको हुँ।’
लामिछानेले अन्तरसंवादमा सोधेको एक प्रश्नमा प्राञ्जलीले पानीघट्टमार्फत गुरुङ संस्कृतिलाई मूल धारको साहित्यमा ल्याउने जमर्काे गरेको बताए। ‘रोधी संस्कृति र लाहुरे परम्परामाथि लेखिएको पुस्तक एकदमै कम छन्। त्यो अभाव पूरा गर्ने कोसिस गरेको हुँ,’ उनले भने। फाइन प्रिन्टबाट प्रकाशित भएको पानीघट्टको भाषा र शैलीमा काम गर्दाका अनुभव पनि सुनाए प्राञ्जलीले।
ब्रह्माण परिवारको सन्तान भएकोले लामिछाने पानीघट्टको प्रमुख पात्र बाहुनी ठिटी जूनमायाको बारे खुले। जूनमाया र गुरुङ ठिटो रनबहादुरबीचको रोचक प्रेमकथाको सिलसिला सुनाए। आफ्नो बाल्यकाल सम्झिए, ‘केही घटना क्रम आफैंसँग घटेको पाएँ पुस्तकमा।’
सामाजिक मूल्य रुपान्तरण तथा सांस्कृतिक अन्तरर्घुलनको साक्षी हुन सक्ने बताए लामिछानेले। पानीघट्टबाट लैंगिक विभेदको विरुद्ध आवाज उठाउन खोजेको कुरा पनि जोडे उनले। भने, ‘यसको भाषिका मात्रै बलियो छैन, पानीघट्टले एउटा ऐतिहासिक कालखण्डको पनि उजागर गर्छ।’
सोमबार नेपाल प्रज्ञा प्रतिष्ठानमा लोकार्पण भएको उपन्यास पानीघट्टमाथि आप्रवासनविद् गणेश गुरुङले पनि बोलेका थिए।
लेखक प्राञ्जलीले कर्णालीको जनजीवन, संस्कृति झल्किने उपन्यास ‘तुइन’बाट पाठकको मन जितेका थिए। फाइन प्रिन्ट प्रकाशन गृहबाट प्रकाशित पानीघट्ट उनको दोस्रो उपन्यास हो। गुरुङले पचासको दशक अगाडि ग्रामीण नेपाली महिलाको विवाह अघि र पछि बेहोर्नुपरेको कहरलाई ‘पानी’ र ‘घट्ट’को विम्बात्मक नाम दिएको बताए। भने, ‘उपन्यास पढ्दै जाँदा सकिएको थाहै पाइनँ। कति छिटो सकियो भनेर थकथकी लाग्यो। साह्रै मन छोयो।’
उपन्यासको विषयवस्तुसँगै आफ्नो जीवनका अनुभव पनि जोडेर पानीघट्टमा प्रयोग भएका भाषा तथा संवाद दोहोर्याए गुरुङले। उनले भने, ‘तीस र चालिसको दशकको सेरोफेरोमा हुने प्रेम र गुरुङहरू लाहुर जाँदा नेपालमा रहेका गण्डक क्षेत्रका महिलाको सामाजिक र मनोवैज्ञानिक असरको मिहीन चित्रण गरेका छन् लेखकले। साथै भाषिक सौन्दर्यको दृष्टिले पनि लोभलाग्दो कृति बन्न सकेको छ।’
आफूले बाँचेको समाज र आफ्नो बाल्यकाललाई उपन्यासले सम्झाइदिएको समेत उनले बताए, ‘कता कता मेरै गाउँको कथा हो, कताकता मलाई नै पात्र बनाएर लेखेको जस्तो।’
नेपाल एयरलाइन्समा कार्यरत प्राञ्जली खासै खुलेर बोल्दैनन्, तर खुलेर लेख्न सक्छन् उनी। पुस्तक र अखबारी लेखनमा कलम चलाउँदै आएका प्राञ्जलीको पहिलो उपन्यास ‘तुइन’ मार्फत कर्णालीको एक युवक माओवादी जनयुद्धको भुमरीमा रुमल्लिएर आफ्नै गाउँबाट पलायन हुनुपरेको दुखान्त कथा भनेका थिए।