सोमबार, माघ २३, २०७९

मुक्तकमार्फत राजनीतिक व्यवस्था र साँढे प्रवृत्तिको भण्डाफोर

महेन्द्र वाग्ले  |  काठमाडौं, शनिबार, पुष २४, २०७८

महेन्द्र वाग्ले

महेन्द्र वाग्ले

शनिबार, पुष २४, २०७८, काठमाडौं

नेपाल समय

कृतिकार महानन्द ढकाल नेपाली साहित्यको क्षेत्रमा मुक्तककारका रुपमा परिचित हुनुपूर्व गजलकारका रुपमा परिचित नाम हो। उनका गजलका शेरहरु २०५२/२०५३ सालदेखिनै हामीले सुन्दै र पढ्दै आएका छौँ। प्रमाणपत्र तहको अध्ययन गर्दाको बखतमा नै उनका गजलहरुले नेपालगन्ज क्षेत्रमा उनलाई परिचित गराइसकेका थिए।

उनको खण्डित आत्मा (२०५८ गजल सङ्ग्रह), उस्तैउस्तै नदीका उस्तैउस्तै छालहरु (२०५९ गजल सङ्ग्रह), अव्यक्त प्रत्यासा (२०६३ गजल सङ्ग्रह), घाम उदाए (२०६८ हाइकु सङ्ग्रह) र सिमाना (२०७७ मुक्तक सङ्ग्रह) प्रकाशित छन्। यीबाहेक नियात्रा, कथा, गीत, समीक्षा, मुक्तक जस्ता साहित्यका अन्य विधामा पनि उनले कलम चलाएका छन्। 

साहित्य र साहित्यिक गतिविधिमा लामो समयदेखि क्रियाशील ढकाल पूर्णिमा साहित्यिक पत्रिका एवं मिसन टुडे राष्ट्रिय दैनिकको साहित्यिक सम्पादकका रुपमा कार्यरत रहे। साथै कोहलपुर टेलिभिजनबाट साहित्यमा पुर्‍याएको योगदान र पूर्णिमा साहित्य प्रतिष्ठानमा अध्यक्षका रुपमा खेलेको भूमिका र  सक्रियताले पनि उनको परिचय स्वतः स्थापित गरेको छ। साहित्यकारलाई परिचय गराउने विभिन्न पाटा छन्। तीमध्ये परम्परागत रुपमा गर्ने साहित्यकारको जीवनी र परिवेश तथा क्षेत्रसँग सम्बन्धित रहेर गरिने कृतिको चर्चाले मात्र एक साहित्यकार र कृतिको मूल्याङ्कन पूर्ण हुन सक्दैन।

यस अर्थमा  साहित्यकारले गरेका क्षेत्रगत क्रियाकलापको पनि आफ्नै स्थान र महत्व हुन्छ, तर कृतिमा प्रयुक्त विषयले पनि अझ साहित्यकारको ओजमा कान्ति प्रदान गर्ने हुनाले ढकालको नवीन कृति सिमाना मुक्तक सङ्ग्रहमा उल्लिखित विषयहरुलाई समसामयिकताका आधारमा नियाल्ने प्रयास गरिएको छ।    

समसामयिकता निकट, विशिष्ट घटनाक्रमबाट प्रभावित संस्कृति, समाज र विश्व व्यवस्थाको अन्तर्सम्बन्ध हो। यसमा समयको निरन्तरतामा तत्कालीन युगबोधको भूमिकालाई अपेक्षा गरिएको हुन्छ। यसलाई अत्यन्त गतिशील, चलायमान र तरल रुपमा लिइने समेत भएकाले वस्तु र समाजबीचको अन्तरसम्बन्धले पनि स्थान पाएको हुन्छ। विशेषतः २०४६ सालपछिको नेपाली समाजको नयाँ सोच, सङ्घर्षशील समाज र समाज तथा राष्ट्रप्रतिको विचारलाई समसामयिकताले समेटेको हुन्छ। ढकालका मुक्तकमा पनि समसामयिकताले अपेक्षा गरिएका विषय निम्न छन् :   

(क) राष्ट्रियता

नेपाली राष्ट्रियताको विषय अति संवेदनशील विषय हो। नेपालीजातिको मूल पहिचान भनेको राष्ट्रप्रति श्रद्धाभाव, गौरवपूर्ण नेपाली इतिहासको गाथामा एकता समावेश हुनु हो। वर्तमान परिवेशमा यसलाई जगेर्ना गर्ने जटिल परिस्थितिको निर्माण भएको छ।  निम्न र मध्यमवर्गीय नेपाली मानसिकता विदेशमा छ भने राष्ट्र तथा सरकारको भूमिका गौण छ। यस्तो अवस्थामा मुक्तककार ढकालले समसामयिक राष्ट्रियताका विषयलाई यसरी नियालेका छन् :

विदेशमा खुन पसिनाको लगानी कहिलेसम्म? 

ए सरकार! बालुवामा पानी कहिलेसम्म? 

राष्ट्रले राष्ट्रिय नीति दिनै सकेन कहिल्यै

देशको छातीमाथि मनोमानी कहिलेसम्म? (पृ. ६०)

मुक्तककारको विचार आमजनताको विचार र समसामयिक परिस्थितिको उपज हो। यहाँ सरकारको लगानीलाई एकातिर बालुवामा पानी भनिएको छ भने अर्को सन्दर्भमा नेपाली दाजुभाइले विदेशमा गएर गरेको कार्य राष्ट्रको विकास र प्रगतिमा बालुवामा पानीसरि भएको यथार्थ छ। नेपालीको विदेशी भूमिमा कार्य गरेर प्रताडित भएको मानसिकतालाई राष्ट्रिय नीतिले सम्मान गर्न नसकेको हुँदा यसैको माध्यमबाट पनि सरकार र सरोकारवाला निकायलाई साङ्केतिक रुपमा खबरदारी गरिएको छ। 

नेपालीपन र नेपाली मनले राष्ट्र र राष्ट्रियतालाई सर्वोपरी राखेको हुन्छ। नेपाली मन नेपालीपनले गौरवान्वित हुन्छ। नेपालीलाई जसरी आफ्नो राष्ट्र प्यारो लाग्छ र नेपाली हुनुको गौरव हुन्छ, त्यसरी नै नेपालमा बोलिने विभिन्न किसिमका भाषा, रीतिरिवाज परम्पराअनुसारको लगाउने पोसाक आदि पनि हाम्रो पहिचानको विषय हो। यी सबैको संरक्षण र संवद्र्धनको जिम्मेवारी सबै नेपालीमा आएको छ। यस्तो सन्दर्भमा मुक्तकका निम्न पङ्क्ति सान्दर्भिक छन् :

भाषा नबदलियोस्, हाम्रो भेष नबदलियोस्

नेपालीपन नबदलियोस्, परिवेश नबदलियोस्

सत्ता बदलियोस् संस्कार बदलियोस् केही छैन

नेपाली हुनु मै गर्व छ मलाई, देश नबदलियोस्। (पृ. ६६)

मुक्तककारलाई सत्ताप्रति मोह छैन तर देशप्रतिको आघात प्रेमले छोएको छ। समकालीन परिवेशमा सत्ता परिवर्तन ठूलो कुरा नभएको र सत्ताले मात्र राष्ट्रको गौरवलाई बोक्न नसक्ने तर्फ मुक्तककार सचेत रुपमा प्रस्तुत भएका छन्। उनी नेपालीपन, नेपाली परिवेश, भाषा, भेषका विषयमा अडिग भएर राष्ट्रका प्रमुख विषय रहेको र त्यसतर्फ सबैको ध्यानाकर्षण गर्न चाहन्छन्।

यहाँ संस्कारको विषय सत्ताको साथमा आएको हुनाले सत्ताको खेल जसरी लाजमर्दो अवस्थामा पुगेको छ र अस्थिरता साथै सत्ता परिवर्तनको दिक्दारीले नेपाली मानसिकतालाई आघात पुर्‍याएको छ त्यस्तो कुसंस्कार पनि परिवर्तन अपेक्षा राखिएको छ। नेपाली सुसंस्कार रीतिरिवाज परम्परा आफैंमा गर्वको विषय भए पनि यहाँ सत्ताको सापेक्षतामा कुसंस्कार पनि बललिएमा स्वीकार हुने र वर्तमान परिवेशमा अन्तर्राष्ट्रिय थिचोमिचोमा नेपाल परेको सङ्केत ‘देश नबदलियोस्’ भन्ने आन्तरिक प्रेरणायुक्त विचारबाट प्रस्तुत भएको छ।

(ख) राजनीतिक व्यवस्था र साँढे प्रवृत्ति

नेपालमा विकासका ढोका खोल्ने असङ्ख्य सम्भावना छन् तर राजनीतिक व्यवस्थाले त्यसको सही दिशानिर्देश गर्न सकिरहेको छैन। नेपाली जनताले चुनेर पठाएका प्रतिनिधिहरू आफैं ठूलो देखाउने प्रवृत्तिबाट ग्रसित भई संसदमा नै 'कुर्ची तोडातोड' गर्दै रमिता देखाउन सक्रिय छन्। यस्तो समसामयिक विषयलाई मुक्तकमा यसरी उठान गरिएको छ :

रमिता हेर्न आउनुहोला, खटपट हेर्न आउनुहोला

लड्ने र भिड्नेहरुको जमघट हेर्न आउनुहोला

मेरो गोरुको बाह्रै टक्का मञ्चनका तयारी हुँदैछ

संसदमा सांसदहरुको चटक हेर्न आउनुहोला। (पृ.३)

जनताले संसद चुनेर राष्ट्रको अहम् जिम्मेवारी प्रदान गरेका छन् तर सांसदहरुको गरेको राजनीतिक, सामाजिक, सांस्कृतिक र आर्थिक व्यवहारले आमजनतालाई दुःखी तुल्याएको छ। आफ्नो मात्र विचार सर्वोपरी ठानेर आफ्नो नियम, कानुन, न्यायको पक्षलाई त्यागेर आफ्नो मात्र दुनो सोझ्याउने प्रवृत्तिले ग्रस्त संसदहरुको चटक नेपाली जनताले प्रत्यक्ष रुपमा थाहा पाएका छन्।

भोट दिएर पठाएको व्यक्तिलाई अर्को पटक भोटबाट च्यूत गराउन पाँच वर्ष कुर्नुपर्ने देखिएको हुँदा नेपाली संसदको रमिता, खटपट, कुर्ची फलाफल, हानाहान र चटक हेरेर बस्न बाध्य समसामयिक राजनीतिक विचारलाई मुक्तकमा सहज र आकर्षक रुपमा पस्किएको छ। यतिमात्र होइन विगतको दशकमा देशको बदलिँदो परिस्थितिमा पनि नेतागण नेपाली जनताप्रति उत्तरदायी नभएर भष्टाचार गर्न उद्यत रहेको यथार्थतालाई पनि मुक्तकमा स्थान दिइएको छ। विमान खरिदमा घोटाला, नेताहरुलाई बचाउन उपल्लो नेताले गरेको ढाकछोप, जनताले भोग्नुपरेको महँगी, निर्धारित नियम, कानुनअनुसार व्यवस्थित हुन नसकेका सन्दर्भलाई मुक्तकमा यसरी प्रस्तुत गरिएको छ :

यो देशलाई कहिले विमानले रुवायो

नेतानेताका तानातानले रुवायो 

रुवाउनु रुवायो महँगीले रुवायो

बदलिरहने संविधानले रुवायो।  (पृ.५२)

जनताले सुखको अनुभूति त्यतिबेला मात्र गर्ने छन् जतिबेला नेताहरु आफ्नो व्यक्तिगत स्वार्थ त्यागरेर तानातान नगरी राष्ट्रिय स्वार्थलाई मात्र देख्नेछन्। तर यहाँ त्यस किसिमका आदर्शवान, नैतिकवान र राष्ट्रिय स्वार्थलाई सर्वोपरी ठान्ने नेताहरु नरहेको र हामीले राष्ट्रिय खेलाडीको रुपमा हेर्ने व्यक्ति अनाडीका रुपमा प्रस्तुत भएका देखिन्छन्। यस्तो सन्दर्भमा मुक्तकको निम्न पङ्क्तिहरु उल्लेखनीय छन् : 

सत्तामा सधैँ खेलाडीहरु मात्रै देखिन्छन्

जे जति देखिन्छन् अनाडीहरु मात्रै देखिन्छन्

आफ्नो हातले सिन्को भाँच्न सक्दै सक्दैनन्

खाली उपदेश दिने गफाडीहरु मात्र्र देखिन्छन्। (पृ. ७१)

सत्तामा साँढेको बिगबिगी छ भन्ने विचार यहाँ चरितार्थ भएको देख्न सकिन्छ। समकालीन परिवेशमा आफूले केही नजाने पनि सर्वज्ञ ठान्ने सत्ताधारी व्यक्तिहरुले देश बनाउने जिम्मा लिएका छन् तर आफूले देखाउने व्यवहार, कूटनीतिक सम्बन्ध, राजनीतिक परिस्थितिको ज्ञान, रणनीतिक कौशल नभएर जोकर बनेका छन्। मुक्तकमा त्यस्ता व्यक्तिहरुलाई अनाडीको संज्ञा दिइएको छ। आफूले केही गर्न नसक्ने अर्थात मुक्तककारको शब्दमा सिन्को भाँच्न सक्दै नसक्नेले उपदेशमूलक गफमात्र बाँडेका छन् र नेपाली जनताको संवेदनामा चोटसमेत पुर्‍याएका छन्। यस्तो यथार्थलाई मुक्तकमा व्यङ्ग्यात्मक घोचो लगाएर सत्ताधारीलाई सुध्रन आग्रह गरिएको छ। 

(ग) प्रतिकारको स्वर र विद्रोह

साहित्यकार साहित्य लेखनमा विद्रोही भएर पनि देखा पर्दछ र उसका प्रतिकारका स्वरहरु आमजनताका तथा पीडित पक्षका आवाजका रुपमा रुपान्तरित भएका हुन्छन। मुक्तककार ढकालका मुक्तकहरु यस्ता विशेषताले  भरिएका छन्। जस्तै ः

बाहुला सुर्केर छाती देखाएर तर्साउन नखोज

चक्कु छुरी समाई माथि देखाएर तर्साउन नखोज

न सगरमाथा झुक्ला, न शीर झुक्ला कहिल्यै

चुल्ठेमुन्द्रे साथी देखाएर तर्साउन नखोज। (पृ. ५)

सोझासाझाका दिन गए भन्ने भन्ने बा, बाजेका भनाइ अहिलेको समाजमा हामी सहजै देख्न पाउँछौँ।  निर्धालाई होच्याउने र इमानदार व्यक्तिलाई तर्साउने जस्ता गतिविधिले प्रत्साहन पाएको परिवेशमा सधैं एकैनास हुँदैन र कुनै व्यक्ति वा समुदाय त्यसको प्रतिकारका लागि पनि तयार भएर रहेको हुन्छ। मुक्तककारले अरुलाई तर्साउने, धम्काउने व्यक्तिहरुलाई चुल्ठेमुन्दे्रको संज्ञा दिएका छन् तथापि सबै चुल्ठो पारेको र मुन्द्रा लगाएको व्यक्ति खराब चरित्रको हुन्छ भन्ने उक्त मुक्तकको भाव पक्कै होइन।

यसर्थ उक्त मुक्तकबाट होच्याउने प्रवृत्ति, धाकधक्कु र डर देखाउने प्रवृत्तिको प्रतिकार भाव सहज रुपमा अभिव्यक्त भएको पाइन्छ। मुक्तकमा प्रतिकारका स्वरहरु प्रस्तुत हुने क्रममा बढ्दो भ्रष्टाचारको विषयलाई पनि उठान गरिएको छ। नेपाली जनताले भ्रष्टाचारको अन्त्य, कानुनी राज्य प्रणली, सुशासनका लागि ल्याएको प्रजातन्त्रमा खाने पेटमात्र बढेको देखिएको छ र नेपाली जनताको समस्यालाई सबैले नजर अन्दाज गरेको समसामयिक परिवेशमा निम्न मुक्तक उल्लेखनीय छ : 

आउनुहोस् पङ्क्ति बनाउनुहोस् ककसको अनुहार मिल्छ? 

छुट्याउनैपर्ने भो भ्रष्टाचारी ककसको निधार मिल्छ? 

कसैले लुकेर खाए, कसैले लुटेर खाए मेरो देश

खानेहरुको घैंटो ननापी भएन, ककसको आकार मिल्छ?  (पृ १८)

साँच्चै पङ्क्ति बनाएर उभ्याउने हो भने सयमा पचास प्रतिशत व्यक्ति भ्रष्टाचारको जालोमा उनिएर रहेका छन्। यो मुक्तकमा अत्यन्त मननीय विचार र समसामयिक साथै सान्दर्भिक विचारका रुपमा आएको छ। भ्रष्टाचार कसरी गर्ने र कसरी गर्दछन् भन्ने विषयमा सबै जानकार भइसकेका छन्। यहाँ भ्रष्टाचारको जालोले व्यक्तिलाई मात्र होइन राष्ट्रलाई पनि तहसनहस बनाएको छ। यसको संरक्षकका रुपमा माथिल्लो तहकै व्यक्तिहरु बनिरहेको अहिलेको परिप्रेक्षमा देशलाई जोगाउन लुकेर खाने, लुटेर खाने भ्रष्टाचारीहरुको घैंटो नाप्नुपर्ने र त्यो सम्पूर्ण नेपाली जनतालाई जानकारी होस् भन्नेतर्फ संकेत गर्दै प्रतिकारस्वरुप त्यस्ता व्यक्तिहरुलाई नङ्ग्याउनुपर्ने भाव यहाँ व्यक्त गरिएको छ।  

मुक्तकमा प्रतिकारको स्वरलाई विद्रोहमा रुपान्तरण गरेर देश र जनताप्रति उत्तरदायी हुन आग्रह गरिएका समसामयिक विषयले पनि स्थान दिइएको छ। मुक्तकमा तरबार सधैं बलियो नहुने र कलम बलियो भयो भने तरबारको औचित्य नरहने हुँदा त्यसको प्रतिस्थापित सत्यमा झुपडीको ढुङ्गाले दरबार पनि ढल्ल सक्ने भएकाले जनतालाई तिरस्कार गरिएमा सरकार पनि ढल्न सक्ने राजनीतिक यथार्थताको बोध पनि गराउने जमर्को गरिएको छ। यही यथार्थताको साँधमा छिमेकी मुलुकहरुले सीमास्तम्भ सारेर सधैं होच्याइरहेको अवस्थामा प्रतिकार र विद्रोहको मानसिकता नेपाली जनतामा हुनु स्वाभाविक भएकाले त्यस मानसिकताको उपजले पनि यहाँ स्थान पाएको छ। यस सन्दर्भमा निम्न पङ्क्ति सान्दर्भिक  छन् :

सिमानामाथि मनपरि कति सहनू?

उखेलिन्छन् किल्ला घरीघरी कति सहनू?

ए सरकार, एक एक थान हथियार उपहार दे 

सधैँ सधैँको दादागिरी कति सहनू? (पृ.५०)

समान मैत्रीपूर्ण राजनीतिक सम्बन्ध र परराष्ट्रनीतिका हामी पक्षपाती हौँ। सानो मुलुक भए पनि हामी अझसम्म कसैको अगाडि झुक्नु नपरेको सन्दर्भ इतिहासको पानामा कोरिएको छ। विशाल छाती र खुला हृदयका धनी हामी नेपालीले वीर गोरखालीको पगरी पनि गुथेका छौं। समसामयिक गतिविधिलाई प्रत्यक्ष रुपमा नियालिरहेका हामी नेपालीले विदेशी चलखेल र सिमाना मिचिएको विषयलाई प्रत्यक्ष रुपमा देखिरहेका छौं।

यसले सधैं विद्रोहको झिल्कालाई ज्वालामा रुपान्तरित हुन प्रोत्साहित गरिरहेकै हुन्छ। यही मानसिकताको यथार्थतामा मुक्तकमा सिमानामा मनपरि गरेर घरीघरी किल्ला सार्नेलाई निमिट्यान्न पार्न अब हतियार उठाउन परे उठाउन नेपाली जनता तम्तयार रहेका र अब सधैंको दादागिरी बन्द गरिदिने उपाय विद्रोह र प्रतिकार नै हो भन्ने भाव परिष्कृत रुपमा आएको छ। यसर्थमा ढकालजीका मुक्तक समकालीन समयका साक्षी हुन् भन्ने रमेश पौडेलको भनाइमा सत्यता देखिन्छ।  

मुक्तकमा प्रतिकारको स्वरलाई स्थान दिने क्रममा देशद्रोहीलाई जलाइदिने जिम्मेवारी आफूलाई दिन पनि आग्रह गरेको छ। त्यसका लागि मुक्तककार कलात्मक रुपमा प्रस्तुत हुँदै आफूसँग सलाई नभएको र कसैले सलाई दिएमा जलाई दिने अठोट गर्छन्। आफूले बोलेको कुरा नगरे आफैंलाई जलाइदिन गरेको आग्रहले देशप्रतिको माया, प्रेम र लागावलाई संकेत गरेको छ। एकातिर देशद्रोहीहरुले देशको स्वाभिमान, स्वतन्त्रता, अस्तित्वमा आघात पुर्‍याउने कार्य गरिरहेका छन् भने अर्कोतर्फ छिमेकी राष्ट्रहरुले पनि नेपाल र नेपालीको स्वाभिमानमा खेलवाड गर्ने प्रयत्न गरिरहेका छन्। यस्तो विषय सन्दर्भ पनि मुक्तकमा आएको छ : 

सागर जस्तै शान्त रहन पनि सकिएन

हावाजस्तै चुपचाप वहन पनि सकिएन

स्वाभिमानमा जब खेलवाड मात्रै गरियो

सधैंसधैं बुद्ध बनी सहन पनि सकिएन। (पृ. ७०)

माथिका पङ्क्तिमा नेपालीको स्वाभिमानमा खेलवाड गरिएमा सधैं बुद्धजस्तै बनेर सहन नसकिने र विद्रोह गर्न तयार हुने विचार सिर्जनगत परिष्कारको सफल उदाहरण बनेको छ। यस विचारलाई प्रभावकारी बनाउन सागरजस्तो शान्त रहेर पनि नसकेको अर्थात् सागर उर्लिएमा संसार डुब्नेछ भन्ने संकेत र हावाजस्तै चुपचाप वहन पनि नसकेको अर्थात् हावा आँधीहुरीमा रुपान्तरित भएमा सबै तहसनहस पार्ने आशयलाई एकाकार गरेर विचारको पुञ्ज निर्माण गरिएको छ। यो विचार स्वाभिमानी नेपालीको पक्षमा गरिने विद्रोह र प्रतिकारको हो।

(घ) जीवन र यथार्थता

साहित्यकार आफूले भोगेको जीवनजगत्को यथार्थबाट निस्केर काल्पनिक संसारमा मात्र रमाउन सक्दैन र पाठकले पनि काल्पनिकताको अतिसय प्रयोगमा आनन्द लिने तथा अतिरञ्जनालाई त्यति महत्त्व दिएको हुँदैन। यस अर्थमा साहित्यकारले भोगेको जीवनका थथार्थ पक्षहरुलाई पनि कलमले सार्थक र आकर्षक तुल्याउने गर्दछ। जिन्दगीका मोडहरुमा आउने अनेक याम र त्यसका उतारचढाव पनि समकालीन लेखनका विषय हुन्। ढकालका मुक्तकमा पनि जीवनका यथार्थतामा समसामयिक विषयले स्थान पाएका छन्। जस्तै :

निकास खुल्दैमा विकास नहुने बुझियो

छाती जत्रो ठूलो आकाश नहुने रहेछ बुझियो

आफ्नाहरुले नै रहेछ कुम ठोकीठोकी हिँड्ने

आफन्तका सम्बन्धमा मिठास नहुने रहेछ बुझियो। (पृ.२०)

मुक्तककार देशको अवस्थाबाट वाकिब रहेका छन् र सामाजिक परिस्थितिबाट पनि। देशको परिस्थितिमा  सिर्जित यथार्थतामा जीवनको पारिवरिक सम्बन्धका छिटा पनि समाहित भएका हुन्छन्। जसरी देशको निकास खुल्दैमा विकास भएको देखिँदैन त्यसरी नै पारिवारिक जीवनमा मानिस बोलीवचनले छाती ठूलो भएको अभिव्यक्ति दिए पनि वास्तविकतामा नदेखिने यथार्थ निकै अमिलो हुन्छ। आफूलाई कष्ट तथा दुःख परेको अवस्थामा बल्ल खाइस् भन्ने प्रवृत्ति वास्तविक जीवनमा देखिने र आफन्तले नै बढी इष्र्यालाई उपहासमा रुपान्तरित गरिरहेका हुन्छन् भन्ने जीवनको यथार्थताले यहाँ आकर्षणता प्रस्तुत गरेको छ। 

मानिस एकातिर सामाजिक प्राणी हो भने अर्को तर्फ उसमा रहेका इष्या, प्रेम, दया, माया, करुणा, रिस आदि जस्ता भाव पनि समाहित हुन्छन्। मानिसले बालकदेखि वृद्ध हुँदासम्म खाऊँ मै लाऊँ सुखसयलमा मै बाँचू भन्दै जीवनको अन्तिम सत्यलाई बिर्सेको हुन्छ। मुक्तककारले यहाँ जीवनको अन्तिम सत्य के हो र मानिस कसरी जीवन बिताइरहेको छ भन्ने यथार्थको प्रस्तुति एकातिर गरेका छन् भने अर्कोतिर सचेतताको संकेतसमेत गरेका छन्। यस सन्दर्भमा यहाँ निम्न मुक्तक सान्दर्भिक छ : 

खोलाको पानी र जवानी उस्तै उस्तै

मुटुमा कोरिएको निशानी उस्तै उस्तै

हामी सबै पाहुना रहेछौं यो धर्तीको 

तिम्रो होस् वा मेरो कहानी उस्तै उस्तै। (पृ.२०)

मानिस आफू अमर हुन बलबुँता लगाएर वैज्ञानिक अविष्कार गर्दछ, चमत्कारयुक्त प्रयासमा लाग्दछ तर जति प्रयास गरे पनि आफ्नो यौवन अवस्था कहिल्यै फर्काउन सक्दैन। यस अर्थमा विज्ञानले ईश्वरीय शक्तिलाई पराजय गर्न सकेको छैन र हामी यस संसारका पाहुना भएर आएको सत्य साबित भएको छ।  मुक्तककार मानवीय संवेदनाका पक्षमा पनि संवेदनशील छन् र उनको विचारमा खोलाको पानी र जवानी जस्तै उस्तै हो र त्यसरी नै मुटुभित्र अमिट रुपमा दिइएको चोट पनि उस्तै हो भन्ने सन्दर्भलाई सादृश्यका रुपमा मानिस धर्तीको पाहुना भएको र सबैको बाटो एउटै भएको यथार्र्थलाई सबैले बुझ्नुपर्ने भावलाई समेटेका छन्।

हुन त मुक्तककारले मानिसले सांसारिक यथार्थको बोध गरेको हुनुपर्ने विचारलाई प्राथमिकता दिएको सन्दर्भ एकातिर छ भने अर्कोतर्फ सांसारिक यथार्थ जीवनमा मानिस स्वार्थी भएको अभिव्यक्तिलाई पनि कौशलपूर्वक प्रस्तुत गरेका छन्। यसै सन्दर्भमा तलका शेरहरु उल्लेखनीय छन् ः

सधैं आफ्ना आफ्नै हुँदैनन् जानिराख्नुहोला

आफू रुँदा कोही रुँदैनन् जानिराख्नुहोला

मान्छेहरु यति धेरै स्वार्थी भैसके अचेल

पीडा दर्दमा कसैले छुँदैनन् जानिराख्नुहोला। (पृ. ६१)

मानिस जन्मन्छ र मर्छ त्यो सत्य हो। यस सत्यलाई बुझ्दाबुझ्दै पनि मानिसले आफ्नो स्वार्थका लागि आफ्नालाई पनि आफ्नो मानेको हुँदैन्। जन्म र मृत्युको बीचमा मानिसले जीवनयापन गर्दा सर्वप्रथम आफ्नो नातागोता, परिवारलाई सबैभन्दा नजिकको ठान्छ अनि मित्रजन र व्यवहारमा आएका व्यक्तिहरुलाई। तथापि यो भीडको जिन्दगीमा आफूलाई दुःख पर्दाको अवस्थामा कोही साथ नहुने  यथार्थलाई नकार्न सकिँदैन।

पीडामा मलम लगाउन नआउने तर आफ्नो स्वार्थ भएमा मात्र आफ्नोलाई आफ्नो भन्ने अन्यथा पराइको व्यवहार गर्ने स्वार्थी प्रवृत्ति अपनाइरहेको र मानवीय भावनामा ह्रास आइरहेको सन्दर्भलाई गजलकारले प्रस्तुत गरेर संसार बुझ्नुपर्ने भाव प्रस्तुत गरेका छन्। त्यस्तै मानिसको जीवनको उत्कृष्ट अवधि जवान भएको अवस्था हो र यो अवस्थामा मानिसले राम्रो देख्नु, मन पराउनु, आफ्नै बनाएर राख्ने इच्छा प्रकट गर्नु जीवनको वास्तविकताबाट पर रहनु हो। वृद्ध अवस्थामा पनि टाढा तथा जवानी सकिसकेपछि तिरस्कारको भागीदार हुने परिस्थिति जीवनको यथार्थ पक्ष हो। यस सन्दर्भमा गजलकार लेख्छन् :

आस हुँदो रहेछ आँखामा पानी हुँदासम्म

आफ्नै लाग्दो रहेछ हातको सिरानी हुँदासम्म

तिमीलाई फूल सम्झेर भमरा झुल्दा रहेछन्

पसल खुब चल्ने रहेछ जवानी हुँदासम्म। (पृ.६३)

मानिस आशाको खेती गरिरहेको छ र आशाको फल जति प्राप्त हुन्छ त्यसैमा सन्तुष्ट हुन्छ वा दुःखी पनि हुन्छ। जीवनसाथीको सन्दर्भ आयो भने त्यो आफ्नो पनको आभाससँगै बिताएका दिनहरुको हिसाबकिताबले निर्धारण गर्दछ। गजलकारले शृङ्गारिक भावमा हातको सिरानी भनेर आफ्नो मन, मुटु दिएको साथी तथा केही दिनका लागि भए पनि जवान अवस्थामा साथ दिने विपरीत लिङ्गी साथीको कल्पना गरेका छन्।

जीवनको उच्च र उत्कृष्ट क्षणमा भमरा डुल्ने तर पछि वा रूपको आकर्षण समाप्त भएपछि महत्त्व नदिने प्रवृत्तिलाई जवानी हुँदा पसल चल्ने प्रतीकात्मक प्रयोगबाट काव्यिक आकर्षणता थपेका छन्। यो प्रस्तुति उनको आधुनिक युगमा देखिएको यथार्थ पक्षको चित्रण पनि हो। यसै सन्दर्भसँग मेल हुने उनको अर्को गजल अंश : 

एकैनाश तन रहँदैन धन रहँदैन

जति थुनूँ आफूभित्र मन रहँदैन

थामेर थामिएन कहिल्यै समय पनि 

जवानी बूढो बन्दछ बचपन रहँदैन। (पृ. ६५)

वास्तवमा तन र धन एकैनाश रहनु र यसलाई कसैले छेकेर छेक्न नसक्ने यथार्थ सत्य हो। त्यसैले बचपन नरहने र युवा अवस्था पनि नरहने तथा बढ्यौलीले अवश्य छुनेछ । जीवनको यही यथार्थ पक्षलाई बुझेर क्रियाकलाप गर्नुपर्ने विचार मुक्तककारको छ। त्यसैले मानिसले उमेर बढ्दै गएमा ख्याल गर्नु पर्ने र जीवनमा आफूले पछुताउनुपर्ने अवस्था नआओस् समेत मुक्तककारको अभिव्यक्ति समय सान्दर्भिक छ। जस्तै : 

उमेर चढ्दै जान थालेपछि ख्याल गर्नुहोला

रोग बढ्दै जान थालेपछि ख्याल गर्नुहोला

पछुतो हुनेछ केही गर्न सकिएन जीवनमा भने

बिस्तरामा पर्दै जान थालेपछि ख्याल गर्नुहोला। (पृ. ७३)

समयले पर्खदैन, बगेको खोला फर्कदैन भन्ने अभिव्यक्तिको आशय ढकालका उपर्युक्त अंशहरु सान्दर्भिक छन्। व्यक्तिको जीवनको यथार्थ पक्ष भनेको चालीस नाघिसकेपछिको रोगव्याधीले प्रवेश पाउने र दुःख दिने अवस्था हो। वास्तवमा जवान अवस्थामा आफ्नो जीउको विचार नगरी जे पायो, त्यही खाए पनि पच्ने र जहाँ सुते पनि मस्त निद्रा आउने दिन हो तर पछिको अवस्था भनेको चिसो पानी पिउँदा पनि हाच्छिउँ आउने, आँखामा चस्मा लगाउनुपर्ने र सबै कुरा खाएमा जीउलाई बिसन्चो लाग्ने समय हो। त्यसैले मुक्तककारको भनाइ उमेर चढ्दै गर्दाको समयमा ख्याल गर्नुपर्ने र रोग लागेपछि त अझ विशेष विचार पु¥याउनुपर्ने अभिव्यक्ति समसामयिक विषयमा सान्दर्भिक छ।

त्यस्तै मानिसले आफ्नो जीउ, घरपरिवार, आफन्त नभनी दिनरात कमाउनकै ध्याउन्नमा लागेको र मतलबी समाज बन्ने अवस्थामा पुगेको समसामयिक विषय मुक्तकमार्फत उठान गरिएको छ। यस सन्दर्भमा उनको निम्न मुक्तकको अंश सान्दर्भिक छ :

रगत पसिना माटोमा खन्याउँदै छ मान्छे

दिन रात नभनेर कमाउँदै छ मान्छे

कसैले कसैको मतलब गर्नै छाडे अचेल

आआफ्नै दुनियाँमा रमाउँदै छ मान्छे। (७७)

राष्ट्रले आर्थिक वृद्धिको आधार उद्योग, व्यवसाय, व्यापार, पर्यटन, कृषि आदिलाई प्रथमिकता दिएको छ तर यही देशमा बसेर अलिअलि पैसा कमाउने व्यक्ति होस् वा विदेशमा श्रम गरेर दिनरात दुःख गरेर पैसा कमाउने व्यक्ति होस्, उसले जग्गा जमिन मात्र किनिरहेको छ। यो राष्ट्रलाई अग्रगतिमा लैजाने कार्य होइन। त्यसै गरी आआफ्नै मात्र स्वार्थी विचारलाई बोकेर मानिस एक्लो बन्न लागेको र आफ्नै दुनियामा रमाउँदै हराउन लागेको पनि छ भन्ने समसामयिक यथार्थलाई ढकालले कलात्मक रूपमा पस्किएका छन्।

(ङ) राज्यव्यस्था र सबाल्टर्नको अवस्था

सबाल्टर्न वर्ग त्यो वर्ग हो जसलाई इतिहासबाट वञ्चित गरिएको हुन्छ। राज्य पक्ष वा सामाजिक मूल्यमान्यताका आधारमा पछाडि पारिएको हुन्छ। नेपालमा विभिन्न जात, जाति, धर्म, संस्कृति, वर्ग, लैङ्गिकता आदिका आधारमा सीमान्तीकृत गरिएका समूह, समुदाय र वर्ग छन्। प्रभुत्वशाली विचारधारकाका आधारमा निम्न वर्गलाई सधैं अधीनस्थ पार्ने कार्य भएको छ र यही समसामयिक विषयलाई पनि ढकालले आफ्ना मुक्तकहरुमा समावेश गरेका छन्। जुन निम्न रुपमा प्रस्तुत गर्नु सान्दर्भिक हुनेछ :

जोताहाले आफ्नै जमिन खन्ने दिन कहिले आउँछ? 

श्रमिकहरु पनि मालिक बन्ने दिन कहिले आउँछ?

वादप्रतिवादको कुरा होइन यो, स्वभाविक हो

हाम्रो समान अधिकार भन्ने दिन कहिले आउँछ? (पृ. १२)

राज्य व्यवस्थामा राज्यको बागडोर प्राप्त गर्नका लागि नारा लगाउनेहरुले सर्वहारा वर्गका लागि नारा लगाउँछन् र राज्य सञ्चालन गर्ने क्रममा श्रमिकहरुलाई बिर्सन्छन्। भन्नेले ‘जसको जोत उसको पोत’ भन्ने नारा लगाएर पनि आफूलाई स्थापित गरे र तल्लो तहलाई आफूले उनीहरुकै हितमा कार्य गरेको भन्ने भान पारे तर जोत्नेको जमिन हो भनेर लालपुर्जा दिने तथा प्राप्त हुने दिन कहिल्यै आएन भन्ने गजलकारको गुनासो यसबाट प्रस्ट हुन्छ। तर श्रमिकहरु मालिक बन्ने दिनमा पक्कै समानताका कुराहरु आउँछन् र सबैको हित हुने कुरामा गजलकार आशावादी छन्। त्यस्तै राज्यले निम्न वर्ग तथा श्रमिक वर्गको पक्षमा कार्य गरेको छैन भन्ने विचार पनि उनका गजलमा प्रस्तुत भएका छन्। यस विचारलाई गजलकार यसरी व्यक्त गर्दछन् : 

भाँचिन्छ वर्षौंदेखिको आस तब के हुन्छ? 

बास छाडेर टाढिन्छ खास तब के हुन्छ? 

ऋण तिर्नु छ, जीवन फेर्नु छ भनेर उड्नेको 

रातो बाकसमा आउँछ लास तब के हुन्छ? (पृ. ५५)

वास्तवमा श्रमिक वर्गले स्वदेशमा पनि जोत्ने खेत प्राप्त गर्न सकेको छैन न त राज्यले रोजगारको व्यवस्था गरेर खान लगाउन पुग्ने वातावरण तयार गरेको छ। नेपाली निम्न वर्ग मात्र नभई मध्यम वर्ग पनि बास छाडेर ऋण तिरेर नयाँ परिवर्तन ल्याउन विदेशमा काम गर्न जानुपर्ने बाध्यात्मक परिस्थिति छ। यसरी श्रम गर्दा कैयौ नेपालीको अकालमा मृत्युका कारण लास रातो बाकसमा आउने गरेकोमा पनि गजलकार चिन्तित छन्।

यो पनि राज्य व्यवस्थामा देखिएको कमिकमजोरीका कारण नेपालीजनले भोग्नुपरेको पीडा हो। त्यस्तै विश्व विज्ञान र प्रविधि साथै विकासको गतिमा फड्को मारिरहेको अवस्थामा आफूलाई पनि नवयुगको भन्ने रुचाउने नयाँ पुस्ताले पनि विश्वका सबै कुराहरुको अनुभूति गर्न चाहन्छ तर राज्य यसमा अनउत्तरदायी भएको देखिन्छ। यस सन्दर्भलाई गजलकार ढकालले यसरी सम्बोधन गरेका छन् :

युवाहरु सधैं हतार हतार देखिन्छन्

हिजो जस्तै आज लगातार देखिन्छन्

देश कसरी बन्छ केटाकेटी र बूढाबूढीले?

गर्न सक्नेहरु दुबई कतार देखिन्छन्। (पृ. ८२)

युवा अवस्थामा चाहना धेरै हुन्छन्। यसलाई सम्बोधन गर्न अहिलेको अवस्थामा राज्यव्यवस्था सक्षम देखिँदैन। फलस्वरुप नेपाली युवायुवती विदेश जान हतार गरिरहेका हुन्छन्। आफ्नो ऊर्जाशील समय विदेशमा खर्च गरेर बुढ्यौलीमा स्वदेश फर्किएर कसरी देशको उन्नति हुने हो भन्ने प्रश्न गजलकारको छ। यसबाट गजलकार ढकालले देश बनाउनका लागि युवालाई स्वदेशमा श्रम गर्नुपर्दछ भन्ने भावना जागृत गराउनुपर्ने र राज्यले पनि त्यसका लागि सोच्नुपर्ने सङ्केत उपयुक्र्त गजलाशंबाट दिएका छन्। 

(च) स्वधीनता र स्वतन्त्रता 

स्वाधीनता र स्वतन्त्रता सबैलाई प्यारो हुन्छ। व्यक्तिगत रुपमा भन्दा राष्ट्रिय सवालमा स्वतन्त्रताको महत्त्व अझ सर्वपरी हुन्छ। नेपाल र नेपालीले पनि स्वधीनताका लागि धेरै सङ्घर्ष गर्दैं आएका छन्। विश्वको इतिहासमा पनि वीर गोर्खाली भनेर पहिचान कायम छ र राज्य पनि कुनै देशको पनि अधीनमा नरहेको एक स्वतन्त्र, अविभाज्य, सार्वभौमसत्ता सम्पन्न छ।

पुर्खाको बलिदान र उनीहरुको सहासका कारण आज पनि उनीहरुको रगतले नेपाली जनलाई पराधीनता स्वीकार गर्न रोक लगाइरहेको छ। समकालीन नेपालको इतिहासमा पनि नेपाली जनताले कुनै पनि दमन, शोषण र अन्याय नसहेको साथै त्यसको प्रतिकार गरी शासनसत्ता नै परिवर्तन गरेको यथार्थ वि.सं. २०४७, २०६२/२०६३ को आन्दोलनबाट हामीलाई ज्ञात भएकै छ। यस सन्दर्भमा गजलका निम्न अंशहरुलाई हेर्न सकिन्छ : 

धर्ती बिछ्याई आकाश ओढेको ज्यान हो मेरो

सङ्घर्षमा सयौँ छाक छाडेको ज्यान हो मेरो

न झुकियो कहिल्यै, न स्विकारियो पराधीता नै 

स्वतन्त्रताको लागि बन्धन तोडेको ज्यान हो मेरो। (पृ. ४३)

नेपालीजन कैयौं दिन भोकै बस्न सक्छ। पीडा पनि सहन सक्छ तर आफ्नो स्वधीनता र स्वतन्त्रतामा आँच आएमा त्यसको प्रतिकारमा तुरुन्त उत्रन्छ भन्ने विचारलाई गजलकारले नेपाली कहिल्यै नझुकेको विषयबाट प्रस्ट पारेका छन्। त्यस्तै सिमानाको विषयमा पनि प्रश्न उठाएर जन्मभूमिप्रतिको मायालाई पनि समकालीनताकै परिप्रेक्ष्यमा प्रस्तुत गजलकार ढकालले यस सङ्ग्रहमा प्रस्तुत गरेका छन्। जस्तै :

सीमा रक्षाको लागि यस्तो करार लिएर आउनुहोला

जन्मभूमिप्रतिको थोरै भएनि प्यार लिएर आउनुहोला

हेप्नेहरुले काट्न सक्छन् र काटिन पनि सक्छन्

एउटा हातमा कलेजो अर्को हातमा हतियार लिएर आउनुहोला। (पृ. १९)

पृथ्वीनारायण शाहको भनाइमा नेपाल ‘दुई ढुङ्गा बीचको तरुल। शाहले दुई ठूला राष्ट्रहरुको दबदबालाई कसरी व्यवस्थित गर्नुपर्छ भन्ने सन्देश पहिले छाडेका हुन्। यो सानो मुलुुकमा आँखा गाडेर सिमाना मिचिरहेका अवस्था छ। लिपुलेक र लिम्पियाधुराजस्ता प्रत्यक्ष देखिने ठूलो भूभागलाई त प्रत्यक्ष थाहा पाउने विषय हुन आउँछ तर सिमानामा थाहा नै नपाइने पिलरहरु सारेर कैयौ जमिन आफूतर्फ परिएको र नेपाली जनताले त्यसको विरोध गरेको पनि वर्तमान अवस्था छ।

त्यसैले सीमा रक्षाका लागि प्यार र करार लिएर आउन मुक्तककारले अनुरोध गरेका छन्। यस्तो परिस्थितिमा हेप्नेहरुसँग प्रतिकार गर्न हिम्मत र हातमा हतियार पनि लिएर आउनुपर्ने क्रान्तिकारी विचार पनि प्रस्तुत गरेका छन्। त्यस्तै यस्तो समसामयिक विषयलाई समेट्दै मुक्तककार ढकालले सरकार र पत्रकारको पनि भूमिका नदेखिएको बताएका छन्। यस्तो अभिव्यक्तिका लागि मुक्तकको निम्न अंश सान्दर्भिक देखिन्छ :

देशको सीमा मिचिँदैछ सरकारहरु कहाँ गए? 

मुकदर्शक छ अखबार पत्रकारहरु कहाँ गए? 

वीरताले कोरिएको इतिहासले धिकार्दै छ

गोखार्ली सान कहाँ गयो, हतियारहरु कहाँ गए? (पृ. ६४)

सिमानामा बस्ने नेपालीले सिमाना संरक्षण गर्ने प्रयास गरेका छन् तर पनि प्रभावकारी रुपमा त्यसको प्रतिकार हुन सकेको छैन। रातारात सिमानाका पिलरहरु सारेर नेपाली भूभागलाई कब्जा भइरहेको छ। यस्तो अवस्थामा सरकार मुकदर्शक बन्ने र पत्रकारले पनि आफ्नो स्वार्थमा मात्र कलम चलाउने प्रवृत्तिले गर्दा सीमा मिचिने क्रम रोकिएको छैन्।

वीरताले कोरिएको इतिहासलाई सम्झेर त्यसको प्रतिकार गर्नुपर्ने विचार मुक्तककारको छ। यसमा गोर्खाली सान कहाँ गयो, हतियारहरु कहाँ गए भन्ने अभिव्यक्तिसमेत प्रस्तुत गरेर ढकालले यस्ता मिचाहा प्रवृत्तिविरुद्धमा हतियारसहितको लडाइँ लड्न पनि तयार हुनुपर्ने सङ्केत दिएका छन्। त्यस्तै सीमा बचाउन गाह्रो भएको वर्तमान अवस्थामा गोर्खालीको महिमा पनि कायम गर्न कठिन भएको अभिव्यक्ति मुक्तकमा प्रस्तुत भएको छ। जुन निम्न मुक्तकबाट हेर्न सकिन्छ :

हामीलाई हाम्रो गरिमा बचाउन गाह्रो हुने भयो

किल्ला सर्न थाले सीमा बचाउन गाह्रो हुने भयो 

इतिहास कसरी बच्ला खै देशै नबचे पछि?

वीर गोर्खालीको महिमा बचाउन गाह्रो हुने भयो। (पृ. ५८)

राष्ट्रकवि माधवप्रसाद घिमिरेले ‘नेपाल हामी रहौंला कहाँ नेपालै नरहे’ भनेर नेपाली पहिचान र अस्तित्वका लागि सर्वपरि राष्ट्र रहेको अभिव्यक्ति दिएका छन्। त्यस्तै यस मुक्तकमा पनि सबैभन्दा पहिला नेपाल देशको अस्तित्व भएमा मात्र हामी नेपालीको अस्तित्व र पहिचान हुने भएकाले किल्ला सार्न थालेको वर्तनमान अवस्थामा प्रतिकार नगरेमा वीर गोर्खालीको महिमा नबच्ने र देश पनि नरहने पूर्व सङ्केत मुक्तककारले दिएका छन्।

त्यसैले नेपाल र नेपालीको इतिहास बचाउन पनि सिमानाको रक्षा गर्नुपर्ने भाव प्रस्तुत भएको पाइन्छ। यो भाव पनि राष्ट्रको स्वधीनता र स्वतन्त्रताको समकालीन सन्दर्भ हो। त्यस्तै मुक्तककारले अझसम्म हामीले नेपालीपन र पहिचानलाई कायम राखिरहेका छौं र त्यसलाई विचलित बनाउन हुन्न भन्ने भाव पनि मुक्तकमा प्रस्तुत गरेका छन्। जुन निम्न मुक्तकमा हेर्न सकिन्छ :

हामी हाम्रो शान बोकेर हिँडेका छौं

जहाँ जान्छौँ पहिचान बोकेर हिँडेका छौँ

शिर नझुकाउनु हामीले सिकेको यत्ति हो

श्रद्धाले पुर्खाको योगदान बोकेर हिँडेका छौँ। (पृ. ८४)

नेपाली वीरले आफ्नो रगतले लेखेको इतिहास आफैंमा गौरवको विषय बनेको छ। नेपालीको गौरवगाथाले विश्वमा आफ्नो अलग पहिचानको सिर्जना गगरेको छ। पुर्खाको सहास, समर्पण तथा त्यागबाट नेपालीपनको गौरव अझसम्म कायम छ। हामीले पुर्खाको योगदानको कदर गर्दै श्रद्धा गरेका छौं र त्यो श्रद्धा शिर नझुकाउनुसँग पनि सम्बद्ध भएको छ। अर्थात् आज पनि हामी नेपाली विश्वसामु शिर नझुकाई बाँचिरहेको यथार्थलाई सार्थक गर्नुपर्ने मुक्तककारको आशय उक्त पङ्तिहरूमा रहेको देखिन्छ। यसबाट मुक्तककार ढकाल नेपाल र नेपालीको पहिचान पुर्खाको योगदानमा पनि निहित रहेको अभिव्यक्ति दिँदै उनीहरूप्रति श्रद्धाभाव व्यक्त गर्न सफल छन्।  

निष्कर्ष

ढकालका मुक्तकहरु समसामयिक सन्दर्भमा बृहत् क्षेत्रलाई समेटन सफल छन्। सामाजिक विसङ्गति र विकृति, आधुनिकताको विषय र वास्तविक जीवनको यथार्थता, राज्यव्यस्थाले गर्दा मानवीय जीवनमा परेको असर र मानसिक तनावको अवस्था, वैदेशिक हस्तक्षेपका कारण देशमा परेको असर, मानव र मानवीयताका सवाल पनि समसामयिक सन्दर्भसँग गाँसिएका छन्। उनका मुक्तकहरु बिम्ब र प्रतीकका आधारमा वजनदार हुनुका साथै समसामयिक विषयलाई उठान गरेर सम्बन्धित पक्षलाई चोटिलो प्रहार गरेर सतर्क गराउन सक्षम छन्। 

उनी देशप्रेमबाट बाहिर मन डुलाउन सकेका छैनन्। एकातिर भारत र अर्कोतिर चीनको बीचमा अवस्थित नेपालको राजनीतिक परिस्थितिले चेपिएर पनि मैत्रिपूर्ण सम्बन्धको विकासमा आदर सत्कार गरिरहँदाको अवस्थामा सीमा अतिक्रमणको समसामयिक विषयले पनि यहाँ महत्त्वका साथ स्थान पाएको छ। यस्तो ठूला देशहरुले सानो देशलाई समानताको आधारमा हेर्नुको साट्टा वर्तमान् हेपाहा प्रवृत्तिको पराकाष्ठाको अतिसय पीडालाई मुक्तकमा विद्रोहात्मक तवरबाट आक्रमक रुपमा प्रस्तुत गरिएको छ। वर्तमानमा बढ्दै गरेको भ्रष्टाचार र युवा पुस्ता विदेशिनुपरेको परिस्थितिको जिम्मेवार सरकार रहेको हुनाले कुशल शासक हुनुपर्ने भावले मुक्तक आक्रोशित रुपमा देखिएका छन्।

समग्रमा जीवनका तितामिठा अनुभूति, जीवनको वास्तविक मूल्य, लोभीस्वार्थी दुनियाँको जालझेल, युवाको अवस्था, नारी संवेदना, प्राकृतिक सम्पदा संरक्षणका पक्ष, असल शासन र कुशल नेतृत्वको चाहना, स्वदेशप्रतिको प्रेम, रोजगारी र विदेशिनुको पीडा आदि जस्ता समसामयिक विषयहरुले ढकालका मुक्तकमा स्थान पाएका छन्। यस्ता समसामयिक विषयतर्फ बढी केन्द्रित रहेका उनका मुक्तकमा खारिएको, परिस्कृत तर सरल सहज अभिव्यक्तिले स्थान पाएका छन् र यही आधारमा उनका मुक्तक समसामयिक लेखनको एक उत्कृष्ट नमुना हुन्।


प्रकाशित: January 8, 2022 | 07:51:42 काठमाडौं, शनिबार, पुष २४, २०७८

तपाईं को प्रतिक्रिया

ट्रेंडिंग

फ्यानको मायाले रोइन् ‘पठान’की दीपिका

फिल्म सफल भएपछि निर्माता तथा कलाकार उत्साहित छन्।

रास्वपालाई गृह मन्त्रालय फिर्ता दिने प्रधानमन्त्री प्रचण्डको संकेत

पार्टी मुख्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकबाट बाहिरिने क्रममा प्रधानमन्त्री प्रचण्डले रास्वपाले उठाएको विषय समाधान हुने बताएर गृह मन्त्रालय फिर्ता दिने संकेत गरेका हुन्।

दलका कार्यकर्ता प्राज्ञ भएपछि योग्य कलाकारले कहिले पाउने अवसर?

राजनीतिमा चासो नदिने स्रष्टाप्रति राज्यले दायित्व बिर्सिंदा सहरमा कलाकार डिप्रेसनबाट गुज्रिनुपरेको र गाउँमा हराउनुपरेको वा खाडी मुलुक पलायन हुनुपर्ने अवस्था छ। कला र गलाका लागि सिर्जिएका चलचित्र विकास बोर्ड, प्रज्ञा प्रतिष्ठानलगायतका संस्था राजनीतिमय भएपछि स्रष्टाहरू ओझेल पर्दै छन्।

तत्काल पानी पर्ने सम्भावना छैन, आज काठमाडौंको तापक्रम कति?

देशैभर तत्काल पानी पर्ने सम्भावना नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

आन्तरिक उडानमा थप पाँच नियम

आन्तरिक हवाई उडानलाई थप सुरक्षित, भरपर्दो, मर्यादित र व्यावसायिक बनाउने उद्देश्यले नयाँ हवाई उडान व्यवस्था गरिएको प्राधिकरणले बताएको छ।

नेपालमा पनि राम्रो छ कमाइ 'पठान'को, शुक्रबारदेखि 'ह्यारीकी प्यारी' सँग प्रतिस्पर्धा

नेपालमा मनोज राठीले पठान ल्याएका हुन्। फिल्मले १ सातामा नेपालबाट ६ करोड रूपैयाँ कमाएको छ।

राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनविरुद्ध सर्वोच्चमा रिट

संविधानविपरीत निर्वाचनको मिति तय गरिएको दाबीसहित अधिवक्ता ज्ञानेन्द्रराज आरणले सर्वोच्चमा रिट दायर गरेका हुन्।

अस्ट्रेलियाको ब्रिसबेनमा घन्कियो नेपथ्य

नेपथ्यले अस्ट्रेलियाको तेस्रो ठूलो सहर ब्रिसबेनमा योसहित पाँचौं पटक सांगीतिक प्रस्तुति दिएको हो।

बैतडीस्थित देहिमाण्डौंको चडेखानमा पुग्यो टेलिकमको नेटवर्क

बैतडी जिल्लाको दशरथ चन्द नगरपालिका-२ अन्तर्गत चडेखानमा नेपाल टेलिकमको टावर विस्तार गरिएको छ।

प्रचण्ड-ओली बाध्यात्मक प्याचअप : 'सगुन' बँडाइदेखि नै अविश्वास

बाध्यात्मक प्याचअप गरेका प्रचण्ड–ओलीबीच सहकार्य त छ तर सहकार्यको सुरुआती दिनदेखि नै अविश्वासले डेरा जमाएको छ।

थप समाचार

नेपाल समय
पुस्तक

पत्रकार दामोदर न्यौपानेको ‘घरको शिक्षा’ लोकार्पण

पत्रकार दामोदर न्यौपानेको नवौं कृति ‘घरको शिक्षा’ लोकार्पण भएको छ।
नेपाल समय
पुस्तक

जानुका खतिवडाको उपन्यास ‘आतोओडा’ विमोचित

झापा, गौरादहको सीमान्तकृत सन्थाल जातिको जनजीवनमा आधारित उपन्यास ‘आतोओडा’ शनिबार काठमाडौंको मण्डला थिएटरमा आख्यानकार नारायण ढकाल, महेशविक्रम शाह, समालोचक विन्दु शर्मा र उपन्यासकी लेखक जानुका खतिवडाले संयुक्त रुपमा विमोचन गरे।
नेपाल समय
पुस्तक

'थिएटरका मान्छे फिल्ममा गइरहेका छन् र फिल्मका मान्छे थिएटर गर्न इच्छुक छन्'

‘महानगर’ फिल्मका निर्देशक मोहन राईद्वारा अनुदित पुस्तकलाई अभि सुवेदीसहित जोएल हिबोनेट, नविन सुब्बा, सुष्मा राईले संयुक्त रुपमा विमोचन गरेका थिए।
नेपाल समय
पुस्तक

एक केजीको बच्चा हुर्काउन संघर्षरत कर्णालीका आमाको कथा बोल्ने 'शून्यको मूल्य'

डा. केसीलाई पूर्ण जीवन बुझ्न समाजै बुझ्नुपर्छ र समाजका असली पात्रसँग संगत गर्नुपर्छ भन्ने लाग्यो। त्यसैको फलस्वरुप संगत गरे बिरामीसँग डाक्टर भएर। आमाको बिरामी छोरा भएर। पढ्न रहर हुँदाहुँदा पनि स्कुल जान नपाएको बालक भएर। बिरामीको विश्वासिलो साथी भएर। अनि, जन्माए- नयाँ पुस्तालाई कर्णाली बुझाउने खुराक शून्यको मूल्य।
नेपाल समय
पुस्तक

कसरी जन्मिन्छन् रातारात अनुवादक?

अनुवाद गर्दा मिहिनेत र समय लाग्छ। अनुवादककाअनुसार विदेशी पुस्तक अनुवाद गर्दा त्यहाँ प्रयोग भएका शब्दको अर्थ नबुझ्दा पनि हप्तौँसम्म अड्चन आइपर्छ। तर, पारिश्रमिक देख्दा त्यसमा जाँगर नचल्ने प्रसाईं बताउँछन्।

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

House -138, Suruchi Marg, New Baneshwor, Kathmandu, Nepal
फोन : +977-1-4790242 / +977-1-4790040
इमेल : nepalsamayanews@gmail.com

विज्ञापनको लागी

Charu shrestha 9841428229 Yubaraj Khatiwada 9801146990
  • प्रबन्ध निर्देशक
    तरुणप्रताप शाह
  • प्रधान सम्पादक
    नारायण अमृत
  • महाप्रबन्धक
    जीवन तिम्सिना