सोमबार, मंसिर १९, २०७९

हिमालको काखबाट राष्ट्रिय खेलकुद नियाल्दा

विनय सापकोटा  |  काठमाडौं, मंगलबार, कार्तिक ८, २०७९

विनय सापकोटा

विनय सापकोटा

मंगलबार, कार्तिक ८, २०७९, काठमाडौं

नेपाल समय

पर्यटकलाई बिछट्टै लोभ्याउने स्थलमा पर्छ, पोखरा। पोखरा घुम्ने जोकोहीले उत्साहपूर्वक बोल्ने गर्दछन् यो। मेरा लागि यस पटकको पोखरा यात्रा थप उत्साहप्रद हुनेवाला थियो।

दुई साताअघि मात्र एक दिनका लागि पोखरा जान पाएको हो। सात दिनका लागि जाने तयारीमा थिएँ। तर भ्रमण घुम्नका लागि मात्र थिएन। नवौं राष्ट्रिय खेलकुद पोखरामा हुँदै थियो। त्यसकै सिलसिलामा म असोज २८ गते जाँदै थिएँ।

पोखरा जान सम्पादकको अनुमति पाएकै दिन रातको समयमा फोन आयो। मुकुन्दको रहेछ। उनी पहिलोपोस्टमा खेलकुदमा कलम चलाउँछन्। 

‘हेलो,’ मैले फोन उठाएँ।

‘अँ। पोखरा जाने, बस्ने केही योजना बन्यो?’ प्रश्न थियो।

‘छैन केही पनि,’ मैले उत्तर दिएँ।

‘म बाइकमा जाने सोचिरहेको छु। लग्ने हो बाइक?’

‘एक्लै पुर्‍याउने आँटै छैन।’

‘त्यसो भए मेरो बाइकमा जाऔं दुवै जना।’

मैले हुँदैन भन्ने कुरै थिएन। चारपांग्रेमा सहज नलाग्ने मैले बाइकको अफर किन छाड्नु? अब रमाइलो थपिँदै थियो। आफ्नै समयमा जान मिल्यो। ठाउँ हेर्दै, आराम गर्दै। बाइकको मजा यही हो।

मैले योजना बनाउन थालेँ। ३६ खेलका तीन सयभन्दा धेरै इभेन्ट भइरहेका थिए। सकेसम्म धेरै इभेन्ट कभरेज गर्ने अनि बीचमा केही समय निकालेर घुम्ने। मलाई थाहा थियो सेड्युल टाइट हुनेवाला छ।

अघिल्लो दिन बेलुका उद्घाटनको तालिका आइसकेछ। २८ असोजमा रंगशालामा ३ बजे उद्घाटन हुने भएपछि ९ बजे काठमाडौंबाट निस्कने योजना बनायौं। यो समय थानकोटमा धेरै जाम हुने याद नगरी हिँड्दा कम सकस भएन।

मुग्लिनमा चियाको चुस्की लिएर हामी मर्स्याङ्दीको छङछङ सुन्दै अघि लाग्यौं। यो बाटोमा यात्रा पहिलो थियो। गज्जबको बाटो, त्यसमाथि अग्लाअग्ला डाँडा साथै भर्खरै खुलेको मौसम। मोबाइल निकालेर भिडियो बनाउन लागेँ।

जामले हामीलाई एक घण्टा ढिलो गराएकै हो। भाग्यवश मलेखु पुग्नुअघि बाटो बनिरहेको ठाउँमा जामको सुरुमा पर्‍यौं। त्यहाँबाट अघि लाग्न पाएपछि त्रिशूलीको शान्तपन अनि भिरपाखा हेर्दै सरर अघि बढ्यौं। बाइकमा पछि बस्नुको रमाइलो भनेकै सबैतिर हेर्न पाउनु हो।

‘यो बाटो बसमा हिँड्दा पत्रु लागे पनि यसको असलियत बाइकमा हिँडेपछि थाहा हुने रहेछ। साइडमा देखिने रमाइला गाउँ बसमा मिस हुने रहेछन्,’ मैले मुकुन्दलाई जानकारी दिइरहेको थिएँ।

‘बसेर हेर्न हुन्थ्यो। तर पछिका बस र ट्रकले उछिन्ला अनि उद्घाटन हेर्न नपाइएला,’ जवाफ आयो।

मुग्लिनमा चियाको चुस्की लिएर हामी मर्स्याङ्दीको छङछङ सुन्दै अघि लाग्यौं। यो बाटोमा यात्रा पहिलो थियो। गज्जबको बाटो, त्यसमाथि अग्लाअग्ला डाँडा साथै भर्खरै खुलेको मौसम। मोबाइल निकालेर भिडियो बनाउन लागें।

‘ओहो! क्या दामी आयो,’ भिडियो सुरु नगर्दै मुखबाट फुत्किइहाल्यो।

तर सधैं त्यस्तो रहेन। तनहुँको बाटोले हायलकायलै बनायो। ट्रक अघि लागेको कुनै ठाउँमा त बाटै नदेखिने गरी धुलो हुन्थ्यो। अनि लगातार बाइक उफ्रिएर खुट्टा दुख्न थालिसकेको थियो।

२ बजेपछि खाना खोज्न लागियो। साइडको पसलमा चटपटे खाने मनशायले आर्लिंदा हामी धुलैधुलो थियौं।चटपटेसँगै १५ मिनेटको बसाइपछि उकालो लाग्यौँ।

नेपाल समय
चटपटे।

थकानले होलो बाइकको स्पिड कम हुँदै गयो। एक–डेढ घण्टाको सकसपूर्ण यात्रापछि हामी पोखरा पुग्यौं।

काठमाडौंबाट जाने पत्रकारका लागि रंगशालामा र स्थानीयका लागि कभर्डहलमा मिडिया बक्स बनाइएको रहेछ। त्यहाँ पस्दा हामी भर्खरै धुलो खेलेर निस्किएझैं लागेछौं। हातमुख धोएर प्रचार–प्रसार शाखामा गएँ, अनि पहिले एक्रिडिएसन कार्ड मागेँ। राखेपबाट पाएपछि उद्घाटन सुरु भइहाल्यो।

भाषण सुरु भयो तर केही नबुझिने। मजाले नसुनिने। झुर साउन्ड सिस्टम रहेछ। त्यसैमा राम्रा नाच देख्न पाइयो। तर रातीको आतिसबाजी हेर्न सकिएन। गलिएछ। भोक पनि उस्तै लागिरहेको थियो।

धनगढीबाट आजै पोखरा पुगेका यज्ञ दाइहरू बसेको होटलमा एक कोठा खाली रहेछ। हामीले त्यहीँ बस्ने योजना बनायौं। तर त्यो होटलको खाना स्टाफ होटलमा पाइने खाले मात्र रहेछ। ज्यादै भोक लागेकाले मात्र हो, नभए खान गाह्रै पर्ने थियो सायद।

त्यो रात थकाइ मेट्न चाँडै सुतियो।

कमजोर व्यवस्थापन, आतिसबाजी, पुग्दो सामान नभएको, कमसल खेल सामग्री खरिद गरेको हल्ला बिहानैदेखि चलिरहेकै थिए। सबैजसो प्रतियोगितामा चल्ने हल्ला हुन्, यी। आज पनि चलिरहे।

प्रतियोगिताको दोस्रो दिन बिहान खासै इभेन्ट थिएनन्। ढिलो गरेर ११ बजे रंगशाला पुग्दा सबै साथीहरू त्यहीँ भेटिए। फेवातालको छालमा टल्किइरहेका घामका किरण, माछापुच्छ्रेलगायतका हिमालमा ठोक्किएका घाम किरण, सिरसिरे हावा, पोखरापारिका रमणीय गाउँ अनि नौला खेलाडी, व्यवस्थापक र दर्शक हेर्दै बिहान बितेको थियो।

पोखरा रंगशालामा १६ खेल गर्ने तालिका थियो। जता गए पनि खेलैखेल। कोही जितले रमाएका अनि कोही हारले अनुहारको रंग उडेका खेलाडी देखिन्थे। कोही खेलको प्रतीक्षामा उत्साही थिए। प्रतियोगिताको पहिलो दिनबाटै आर्मी क्लबले दबदबा बनाउन सुरु गरिहाल्यो। 

भूगोलको खेलमा प्रदेश आर्मी, एपीएफ र पुलिस क्लबभन्दा पछि पर्दै थिए। खेलकुदमा पहिलो पटक स्थलगत रिपोर्टिङको अवसर पाउँदा मैले आँखैअघि देखें- लामो संघर्षपछिको जितले दिएको मुस्कान, क्षमता हुँदाहुँदै चोटका कारण गुमेको साख, फेरिँदै गरेको परिचय, नयाँ स्टार खेलाडीको उदय अनि उमेर ढल्किएका खेलाडीले खोजेको विश्राम।

‘मैले देशमा अवसर पाइनँ। कहिल्यै पैसा भएन अनि भारतबाट खेलें,’ कर्णालीलाई पहिलो स्वर्ण दिलाएका दुर्गाबहादुर बुढाले जितपछि दुःखेसो पोखेका थिए। 

त्यसैगरी खेलमा विवादित बनेका उनी मात्र थिएनन्। एनआरएनएले नेपालमै बसेका खेलाडी खेलाएर रमितै गरेको थियो। विदेशमा बसिरहेका कति खेलाडी प्रदेश र क्लबमा पनि थिए।

प्रतियोगिताको दोस्रो दिन बिहान खासै इभेन्ट थिएनन्। ढिलो गरेर ११ बजे रंगशाला पुग्दा सबै साथीहरू त्यहीँ भेटिए। फेवातालको छालमा टल्किइरहेका घामका किरण, माछापुच्छ्रेलगायतका हिमालमा ठोक्किएका घाम किरण, सिरसिरे हावा, पोखरापारिका रमणीय गाउँ अनि नौला खेलाडी, व्यवस्थापक र दर्शक हेर्दै बिहान बितेको थियो।

‘खेलमा दलालहरू नहटेसम्म यसको विकास हुनै सक्दैन,’ तेस्रो दिन ट्राक एन्ड फिल्डका खेल चलिरहेका बेला एक जना कराइरहेको सुनिएको थियो। अर्कातिर खबर आइरहेका थिए, भलिबलका खेलाडी धमाधम घाइते हुँदै छन्।

त्यसपछि बिछ्याइएको म्याट निकालेर खेल गराइयो। अर्को दिन फेरि राखियो। ‘म्याट नराखिकनै पनि खेलाएको भए हुने रहेछ। हामीले कभर्ड हलमा खेल्नुपर्ने हो। बाहिर यस्तो म्याट राख्ने अनि निकाल्ने। चाहिनेभन्दा धेरै नाटक गरेर दर्शकलाई देखाउने तर खेलाडीलाई हेला गर्ने भयो,’ स्वर्ण जितेपछि एपीएफ भलिबल टिमका कप्तान महेन्द्र श्रेष्ठको अनुहारमा हाँसो मात्र थिएन।

खेल भइरहँदा पत्रकारको नाताले मलाई एउटा फाइदा थियो, जता गयो, त्यतै स्टोरी लेख्न सकिने। नवौँ राष्ट्रिय खेलकुदमा ३६ खेलमा ५९६ भन्दा बढी खेल इभेन्ट भएका थिए। पोखरामा मात्रै हेम्जा, सराङकोट, फिस्टेल, गोष्टेघाट र उद्योग वाणिज्य संघको भवनमा विभिन्न खेलका स्पर्धा भए। यसबाहेक तनहुँ, पर्वत, स्याङ्जा, बाग्लुङ, नवलपुर र म्याग्दीमा पनि विभिन्न इभेन्ट भए। यी सबै इभेन्ट हुने स्थानमा त के पोखराकै सबै इभेन्ट भएको समयमा एक जना मात्रले कभर गर्न सक्ने स्थिति थिएन। एउटै इभेन्टमा पनि जित्नेको एउटा कथा, हार्नेको अर्कै कथा। व्यवस्थापनको अर्कै कथा। यी सबै विषय कभर गर्न सहज थिएन। तर पनि आफ्नो जिम्मेवारीमा परेकाले सकेसम्म हामी सबै पत्रकारको प्रयास कभर गर्नतर्फ नै हुन्थ्यो। यसक्रममा कतिपय कथाले त हाम्रा भोकतिर्खा पनि बिर्साइदिन्थे। 

हामी च्याम्पियनका कुरा सुन्न मन पराउने रहेछौं। हार्नेका कथा खोइ? एक पटक मनमा चस्का पर्‍यो। जितले धेरै खेलाडीको जीवन सफल पार्दै गइरहेको होला। तर यो राष्ट्रिय खेलकुदमा व्यहोरेको हारले कतिको खेलकुद यात्रा सकिँदै पनि थियो होला। 

विमान यात्रा गर्न नसक्ने कर्णालीका खेलाडीले कति सकस व्यहोरेर गण्डकी पुगेका थिए। यस्तै अनुभव बटुल्ने एक खेलाडी थिइन् रोल्पाबाट २३ घण्टाको पैदल यात्रा तय गरेर पुगेकी शर्मिला थापा मगर। क्रिकेट खेलाडी उनी दसै मनाउनका लागि रोल्पा पुगेकी भए पनि अन्तिम समयमा क्याप्टेनले फोन गरी टिममा परेको सुनाएपछि उनले वर्षा र पहिरोका कारण पोखरा पुग्न पैदल यात्रा तय गर्नुपरेको थियो।   

ट्र्याक एन्ड फिल्डका खेलाडीहरू पनि कर्णालीबाट तीन दिन पैदल यात्रा गरेर पोखरा आइपुगेका थिए। प्राप्ति शाही र विन्दा शाही, निशा मगरलाई सहभागी हुनु नै ठुलो कुरा भन्ने लागेर पहिरो छिचोल्दै लामो पैदल यात्रा गरे पोखरा पुगेका थिए। बजेट कम भएको भन्दै प्रदेशको बन्द प्रशिक्षणबाट नै उनीहरू घर पठाइएका थिए। अन्तिम समयमा मात्र गेममा बोलाइएकाले उनीहरू सास्ती व्यहोर्दै सहभागी हुने पोखरा पुगेका थिए। खेलाडीका संघर्षका कथा तयार पार्ने हो भने एउटा पुस्तक पनि कम होला। 

अझै दुःखदायी कुरा, तेक्वान्दोमा सहभागी ३३ जनाको टिमले खेल सकिँदा पनि 'किट' पाएका थिएनन्। कति लज्जास्पद कुरा हो यो? यी सबै कुराले खेलकुद अस्तव्यस्त र कोलाहल फैलाएको थियो। मिडिया सेन्टरमा बसेर ल्यापटपको किबोर्डका गोटी थिचिरहँदा यस्ता कुराले मेरो दिमाग थिचिरहेका हुन्थ्यो। अझ, लेख्दालेख्दा हैरान भइसके पनि नियामक निकायले कानमा तेल हालेर बस्दा आफ्नै कामप्रति पनि वितृष्णा जाग्ने रहेछ।

नेपाल समय
मिडिया सेन्टर नखुलेपछि सिँढीमा बसेर काम गर्दै पत्रकार। तस्बिर : एनएसजेएफ, गण्डकी

यीबाहेक उसु, ब्याडमिन्टन, कबड्डीका झगडा सामान्य लाग्छन्। जिम्न्यास्टिकको टालेको म्याट हेर्दा गाउँघरको प्रतियोगिता हेरेझैं लाग्यो। यसै मेसोमा म सेमी-कभर्ड हल छेउ भइरहेको खोखो प्रतियोगिता हेर्न पुगेको थिएँ।

प्रतियोगितामा सबैजसो खेलाडी विद्यालयस्तरका थिए। उनीहरू फिनिसिङमा चुकिरहेका हुन्थे। धेरै टिमका खेल हेरिसकेपछि लाग्यो- नेपालमा खोखोका पूर्णकालीन खेलाडी छैनन्। विद्यालयस्तरको प्रतियोगिताभन्दा माथिको थिएन, खोखो अनि जिम्न्यास्टिकका खेल।

त्यो दिन असोज पनि सकिँदै थियो। प्रतियोगिताको चौथो दिन। सुरुबाटै पोखराको आकाश खुलेपछि खेल हेर्न सबैभन्दा अग्लो स्थानमा बसेजस्तो देखिन्थ्यो, माछापुच्छ्रे हिमाल। त्यो दिन पोखरा झन् खुलेझैं लागेको थियो। 

एथ्लेटिक्सकी नयाँ खेलाडी जयरानी थारुले अर्को स्वर्ण पनि त्यही दिन जितेकी थिइन्। उनले लगातार दुई राष्ट्रिय रेकर्ड कायम गरिन्। खेल सकिँदा तीन राष्ट्रिय रेकर्डसँगै पाँच स्वर्ण जितिन् उनले। ‘यो फास्ट-ट्रयाक छ। यहाँ अझै धेरै रेकर्ड बन्नेवाला छन्,’ खेल चलिरहकै समय मुख्य प्रशिक्षक चन्द्र तामाङले भनेजस्तै भयो। अन्य खेलाडीले पनि रेकर्ड बनाए।

यस्तै, स्विमिङमा पनि रेकर्ड बने तर मापदण्डभन्दा छोटो पौडी पोखरीमा। सर्ट कोर्स र लङ कोर्समै विवादित बनेको पौडी पोखरी छोटो भए पनि संघले जबर्जस्ती प्रतियोगिता गराएको खुल्न गएको थियो।

धमाधम रेकर्ड तोडिन थालेपछि पोखरी छोटो भएका शंका उब्जिएको भोलिपल्ट थाहा पाएँ, पोखरी चार–पाँच सेन्टिमिटर मात्र होइन, १४ सेमी छोटो छ। यसबारे पौडी संघका अध्यक्ष अशोक वज्राचार्यलाई सोध्दा उनले सुरुमा तीन-चार इन्च छोटो भने। पछि कुरा मिलाउँदै एक-दुई इन्च छोटो भएको दाबी गरे। 

उनको यो कुरा धेरै गैरजिम्मेवार थियो। उनले नाप्नेको टेप नै गलत परेकोसम्म दाबी गर्न भ्याए। विवादबीच दुई पौडीबाज भने यो खेलकुदले चिनायो। त्यसमा एक थिइन्, दुआना लामा अनि अर्की एस्ली सापकोटा डंगोल। दुआनाले ९ स्वर्ण जितिन् अनि एसीले ६ स्वर्ण। नयाँ खेलाडी चिनाउन यति धेरै महत्त्वपूर्ण रह्यो यो खेलकुद। यदि पोखरीको विवाद नभएको भए कस्तो भव्य लाग्थ्यो होला यो प्रतियोगिता?

‘माछापुच्छ्रे हिमालको काखमा पौडिनुको मजा म जीवनभर भुल्ने छैन,’ दुवानाले प्रतियोगिता सकिएपछि मुस्काउँदै खुसी साटेकी थिइन्, ‘बिहानीपख पोखरीबाट देखिने हिमालले छुट्टै शक्ति दिन्छ।’

यस्तै, खुसी धेरै खेलाडीमा देखियो। जब उनीहरूले मेडल जिते, साइडमा हिमाल देखिने गरी फोटो खिचिरहेका हुन्थे। भेटिन्थे। फोटो जर्नलिस्टहरू पनि उसैगरी फोटो खिचिदिन्थे। यो कुराको सबैभन्दा ठूलो श्रेय राखेपका सदस्य सचिव टंकलाल घिसिङलाई जान्छ। उनले जतिबेला मिति निर्धारण गरे, उतिबेला पोखराको मौसम सबैभन्दा खुलेझैं लाग्थ्यो।

भर्खरै झरीले बिदा लिएको, दसैं सकिएको अनि तिहार नआउँदैको प्रतियोगितामा सबैभन्दा धेरै जुझारु गण्डकीका खेल पत्रकार नै थिए। समयमै सबै भेन्यूमा पुग्ने। सूचना ठीक समय उपलब्ध गराउन त्यहाँको एनएसजेएफ (नेपाल खेलकुद पत्रकार मञ्च, गण्डकी)का सहकर्मीले महत्त्वपूर्ण योगदान गरे।

राखेपले कुनै खेलको समय र खेलतालिका कसैलाई उपलब्ध गराएको थिएन। काठमाडौंबाट त्यहाँ पुग्नेलाई खेलतालिका, स्थान र समय खोज्नै हैरान हुन्थ्यो। खेलबारे जानकारी दिन नसक्नु सम्बन्धित खेल संघको लापरबाही नै हो।

यस्तो अवस्थामा काम गर्न सकस हुने भइहाल्यो। ‘राष्ट्रिय खेलकुदलाई साँच्चिकै राष्ट्रिय खेल बनाउन र अन्तर्राष्ट्रिय स्तरसम्मको प्रचारमा सञ्चारकर्मीको महत्त्वपूर्ण भूमिका छ,’ खेल सकिएपछि युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराले भने।

बाँकी कुरा जेसुकै होस्, खेल हुनु राम्रो हो। व्यवस्थापन/लापरबाही सुध्रिँदै जाला। खेलाडीका लागि खेल हुनु मुख्य कुरा हो। खेल भएपछि पो बुझिन्छ के-के समस्या छन् भन्ने। हरेक दुई वर्षमा हुने भनिएको राष्ट्रिय खेलकुद २०३८ मा सुरु भए पनि नवौं संस्करण हुन ४१ वर्ष लागेको छ।

खेलकुद पर्खिएर बस्नेहरूका लागि यो नजिकका चाडपर्वभन्दा ठूलो कुरा हो। स्वर्ण जितेका मौसम राना मगरलाई मैले सोधेको थिएँ, ‘बक्सिङको मजा केमा छ?’

‘जब रिङभित्र आफू र विपक्षी मात्र हुन्छ। बाहिरबाट जोशका साथ हल्ला आइरहेको हुन्छ। त्यस्तोमा हानेको 'पन्च' सही ठाउँमा लाग्यो भने सबैभन्दा रमाइलो पल त्यो हो,’ उनले गोल्ड मेडल देखाएर हाँस्दै भने।

हाइजम्पमा धेरै उफ्रन सकियो भने, दौडमा जतिसक्दो धेरै शरीरलाई दुःख दिएर दौडन सक्यो भने, लङजम्पमा सबैभन्दा लामो फाल हाल्न सकियो भने, भलिबलमा बलियो स्पाइक हान्न पाइयो भने,  पोस्टमा ताकेर हानेको बल गोल भयो भने सबैभन्दा धेरै खुसी मिल्ने रहेछ यस्ता खुसी देख्न पनि खेल हुनैपर्ने रहेछ!

खेल भएपछि पोखरमा बिक्री बढ्यो। हजारौं मानिस बाहिरबाट आएर बसे, खाए अनि रमाइलो गरे। त्यसले स्थानीय पर्यटन पनि बढाएको छ। यसरी मजा लिन म कहाँ छुट्थें र? पोखरको दोस्रो रात लेकसाइड घुम्न निस्किएँ। रातको १० बजेतिर लेकसाइडको असली रमाइलो देखिन्छ भन्ने सुनेको थिएँ।

झिलीमिली सडक अनि देशकै सम्भवतः सबैभन्दा व्यवस्थित बजार। सामान सजाएर राख्ने हो भने पसल पनि रमणीय लाग्ने रहेछ। नेपालका हरेक बजारले लेकसाइडबाट यो कुरा सिक्नुपर्छ।

रात त परिसक्यो, अब के गर्ने?

हामी लाग्यौं, ‘बिजी बी’तर्फ। त्यहाँ रातमा रंगीबिरंगी लाइटमा मदमस्त हुनेहरूको भीड थियो। छेउमै लाइभ म्युजिक अनि ज्यानको भार बिर्सिएर नाचिरहेका पर्यटक।

अरु पाँच साथीसँगै म पनि भीडमा मिसिएँ। भीडमा हराएँ। आफैंलाई संगीतको लयमा ढालें अनि उफ्रन थालें। ११ बजे लाइभ म्युजिक सकिएर डिजे सुरु भयो। हामी झुमिरह्यौं।

१२ बजेपछि याद भयो- ओहो, बिहानै रंगशाला जानु छ। अनि हिँड्दैहिँड्दै हल्लन चोक पुगेर सुत्यौं।

बिहान थाहा भयो, पोखरामा चिसो बढ्न थालेको अनि घाँटी ख्याप्पै बसेको। बिहान साढे ७ बजे रंगशाला पुग्दा मिडिया सेन्टर खुलेकै थिएन। पारिलो घाममा ट्र्याक एन्ड फिल्डका खेल भइरहेका थिए। त्यो दिनभरि मैले आफ्नो काम गरें। खेलाडीका सुख–दुःखका गफ गर्ने। लेखेर अफिस पठाउने। यो कम मजाको काम होइन?

अर्को दिन दिनभर काममै व्यस्त भएँ। पोखरा डुल्न भ्याएको होइन। बिहान–बेलुका चिसो बढ्न थालेकाले ओछ्यान प्यारो लाग्ने भइसकेको थियो। दिउँसो खेलमै मजा।

डेभिज् फल्स र महेन्द्र गुफा हेर्न निस्किएँ, एक साँझ। डेभिज् फल्सको चर्चा धेरै हुने गरेको थियो तर नामअनुसारको ठाउँ होइन रहेछ।

नेपाल समय

महेन्द्र गुफा जान नपाउँदै रात पर्‍यो।

‘त्यो धेरै महत्त्वपूर्ण ठाउँ छ। समय लाग्छ, आज भ्याइँदैन होला,’ मुकुन्दको भनाइ थियो।

‘फेरि आउने हो?’ मैले सोधें।

‘हुन्छ।’

‘भोलि पुमिकोट महादेवबाट फर्किंदा निस्कौंला हुन्न?’ मैले प्रस्ताव राखें।

हामी त्यहाँबाट निस्कियौं। खाना खाएर होटल फर्कियौं। आज हाम्रो अर्कै कोठा थियो। पहिलेको कोठामा खासै राम्रो नेट नचल्ने भएकाले परिवर्तन गर्न भनेका थियौं। भएछ। आजका खेलका केही अपडेट बाँकी थिएँ। ती काम भ्याएर म सुतें।

बिहान साढे ५ बजेको आलर्म अफ गरेर म फेरि सुतें।

६ नबज्दै डाँडातिर लाग्ने योजना बेलुकाकै थियो। उठ्न मन भए पो!

६ बज्न लागिसकेपछि उठ्नै कर लाग्यो। पुमिकोट महादेवसम्मको ४१ किमि लामो यात्राभरिको सिरेटोले आङ जिरिंग बनाउँथ्यो। काठमाडौंबाट न्यानो कपडा नबोक्नुको सजाय थियो, यो।

तर डाँडामा पुगेपछि सबै भुलिएछ। लाग्यो, हामी माछापुच्छ्रेअघिको डाँडामा छौं। आमनेसामने। बिहानको घाममा टल्किएको हिमाललाई हामीले महादेवको साइडबाट निकै बेर नियाल्यौं। एकैछिन लाग्यो, यो कैलाश पर्वत पो हो कि!

अर्कोतिर रहेको काउडाँडा र सराङकोट। त्यहाँबाट पनि यस्तै हिमाल देखिएला नि! मैले मनमनै सोचें। पुगेको भए भन्न पनि सक्थें कि!

महादेवको ठूलो मूर्ति वरिपरि भक्तिभावले मानिस हिँडिरहेका देखिन्थे। महादेवलाई प्रणाम गरिसकेपछि हामीले फर्किने निधो गर्‍यौं। फर्किंदा गुम्बाको बाटो १५ किमि मात्र रहेछ। धेरै छिटो भयो तर गुफा हेर्न भ्याइएन।

त्यसको दुई दिनमै खेलकुद समापन आइहाल्यो। रंगशालामै प्रधानमन्त्री शेरबहादुर देउवाले समापन गरे। त्यो दिन दुई कुरा हाँस्यास्पद भए, शोक मनाउने क्रममा धुन बजाइयो अनि एउटै फुटबल खेलमा दुई पटक राष्ट्रगान सुनाइयो। यस्तो हुन नहुने फुटबलका जानकार बताउँछन्।

समापनको साँझ पनि साउन्ड सिस्टम खराब नै थियो। मिलन नेवारले गीत गाउँदा धुन एकातिर, गीत अर्कोतिर सुनिएकै हो। त्यसबीच प्रधानमन्त्रीले भनेको एउटा कुरा चाहिँ सबैलाई याद हुनुपर्छ। उनले भनेका थिए, ‘खेल नियमित हुन नसक्दा खेल प्रतिभा पलायन हुन सक्ने सम्भावना रहन्छ।’ उनले भनेका यत्ति कुरा पनि ख्याल गर्ने हो भने खेलका धेरै गतिविधि हुने थिए। तर हाम्रो देशमा यस्तो कुरा भाषणमा सीमित हुने गरेका छन्।

देउवाले समापन मन्तव्य दिएपछि दसौं खेलकुद प्रतियोगिता आयोजक कर्णाली प्रदेशले पनि आफ्नो प्रस्तुति दियो। प्रधानमन्त्री देउवाले खेलकुदको च्याम्पियन त्रिभुवन आर्मी क्लबलाई रनिङ ट्रफी प्रदान गरेसँगै आर्मी क्लब १० लाखको रनिङ ट्रफी पाउने पहिलो क्लब भएको छ।

राष्ट्रिय खेलकुदमा यसै वर्षबाट मात्र रनिङ ट्रफी दिने चलन बसाइएको हो। यो ट्रफी निकै कलात्मक देखिन्छ। जुन दिन शेरबहादुर देउवाले त्यो ट्रफी सार्वजनिक गरे, मलाई त्यो दिन ट्रफी असुन्दर लागेको थियो। तर खेलकुद समापनमा मेरो हेर्ने नजर नै बदलियो। मैले त्यो ट्रफी पाउन खेलाडीले गरेको मेहनत र संघर्ष देखिरहेको थिएँ।

नपाउनेका पीडा र उनीहरूभित्रको भावना बुझेको थिएँ। अनि पाएपछिको जोश देखेको थिएँ। आज मलाई त्यो ट्रफी सुन्दर लाग्ने रहेछ। कुनै कुराको सुन्दरता त्यसको ‘अपियरेन्स’ ले मात्र निर्धारण नगर्ने रहेछ।

समापन समारोहमा पनि आतिसबाजी गरिएको थियो। त्यो धेरै रोमाञ्चक थियो। तर नेपालको कानुनले आतिसबाजी गर्न अनुमति नदिए पनि राखेपले त्यो नियम मिचेरै समर्थकलाई जबर्जस्ती रमाइलो गरायो। यस्तो कुराले मन खिन्न पनि बनाउने रहेछ।

नेपाल समय

समापन सोचेजस्तो र प्रचार गरिएजस्तो भव्य नभए पनि रमाइलै भयो। खासगरी रंगशालामा अन्तिमको डिजे। सबै प्रदेशका सदस्यसचिव, राखेप कर्मचारी, दर्शक, खेलाडी कलाकार सँगै नाचिरहेका थिए। राखेप सदस्य सचिव टंकलाल घिसिङ बेतमासले नाचिरहेका देखिन्थे। उनको मुहारमा ठूलो खुसी र उल्लास झल्किरहेको थियो किनभने आफैं अघि सरेर प्रतियागिता जो समापन गरेका थिए।

सयौं मानिस नाचिरहेको भीडमा मैले पनि मन थाम्न सकिनँ। आधा घण्टाको नाचपछि ९ बज्दा  भोक लाग्यो। बिहान खाजा मात्र खाएको हो। काममा यति धेरै व्यस्त भइएछ कि दिउँसो खाजा खानै भ्याएकै रहेनछु। भोकले च्यापेपछि पो थाहा भयो। अनि याद आयो- काकाको भोजनगृह। त्यहाँ गएर 'पण्डित भोजन' अर्डर गर्‍यौं। कपाकप खायौं।

काठमाडौं लैजाने केही गिफ्ट लिन मन थियो। बिहान हेरेर फर्किएको पसल बन्द भइसकेछ। मैले मुस्ताङको स्याउ मिस गरिरहेको थिएँ। त्यसका व्यापारी पनि घर लागिसकेछन्। मलाई पोखरा बस्न पुगेकै थिएन। अझै दुई दिन बस्न थियो र घुम्नु थियो, पर्वतारोहण संग्रहालय, काउडाँडा, सराङकोट। सेतीबगर र बाँकी ठाउँ। फेवातालमा बोटिङ गर्न पनि भ्याएकै थिएन। तर बिताएको समय अविस्मरणीय भयो। पोखराको त्यो मौसम, हजारौं खेलाडीको लस्कर, जितको उमंग, हारको पीडा अनि काम गर्दाको रोमाञ्चकता।

बेगनास ताल पुग्ने अनि घान्द्रुक जाने कथा पनि कथा नै बनिरहेको थियो। भोलिपल्ट काठमाडौं फर्किने सल्लाह अघि नै फिक्स थियो। यी सबै ठाउँ अर्को पटक आउँदा घुम्ने वाचा गर्दै खेलकुदको अनुभव संगालेर काठमाडौं फर्किएँ।

नेपाल समय
२०८१ मंसिरमा हुने दसौँ खेलकुदका लागि कर्णाली प्रदेशलाई झन्डा हस्तान्तरण। तस्बिर : एनएसजेएफ, गण्डकी

प्रकाशित: October 25, 2022 | 07:50:30 काठमाडौं, मंगलबार, कार्तिक ८, २०७९

तपाईं को प्रतिक्रिया

ट्रेंडिंग

काठमाडौं महानगरको प्रस्टीकरण : तीन निकायको सहकार्यमा अनधिकृत सुकुम्बासी बस्ती हटाउँछौं

राष्ट्रिय भूमि आयोगले काठमाडौं नगरभित्रका सुकुम्बासीको समस्या समाधान गर्न ढिलाइ गरेपछि आफैं अगाडि सर्नुपरेको प्रस्टीकरण काठमाडौं महानगरले दिएको छ।

समानुपातिकतर्फ १ करोड मतगणना हुँदा कुन दललाई कति?

निर्वाचन आयोगका अनुसार आज बिहान ९ बजेसम्म एक करोड आठ लाख दुई हजार ९०७ मतगणना भएको छ।

देशव्यापी सांगीतिक यात्रामा निस्किँदै नेपथ्य

देशको पूर्वी कुनादेखि पश्चिम कुनासम्म आफ्ना लोक–रक धुन सुनाउने योजनाका साथ नेपथ्य यसै साता काठमाडौंबाट बाहिरिने भएको हो।

असुरक्षित सडकको सिकार भएका महावीर

वैज्ञानिक समाजवादी पार्टीमा जोडिएपछि सेलिब्रेटी छविप्रतिको मोह घट्दै गएको थियो। समानता र विभेदको अन्त्य उनका अर्जुन दृष्टि थिए। उनको उद्देश्य र काम जात व्यवस्था अन्त्य गर्नेमा केन्द्रित थियो।

के हो रामकुमारीको सन्देश?

खुलेको मुस्कानसहित उक्त तस्बिर सार्वजनिक भएपछि बाम एकताको आकलन धेरैले गरे। हुन पनि चुनावी मतपरिणाम आउँदै गर्दा बाम एकता गरेर नयाँ सरकार बनाउनुपर्ने धारणा एमाले र नेकपा एसका धेरै नेताको देखिन्छ।

धनुषा ४ मा कांग्रेसका यादवले ६८६ मतले लिए अग्रता

मतगणना जारी रहँदा नेपाली कांग्रेसका महेन्द्र यादवले आफ्नो अग्रता बढाउँदै लगेका छन्। मतगणनाको सुरुदेखि नै नेकपा (एमाले) रघुवीर महासेठले अग्रता लिएका थिए।

सरकार गठनको पहिलो प्रयास गठबन्धनले गर्ने, प्रधानमन्त्रीको दौडमा को–को?

सत्ता गठबन्धनकै सरकार बने प्रधानमन्त्री को? कांग्रेसभित्र कम्तीमा ५ आकांक्षी देखिँदा माओवादी अध्यक्ष प्रचण्ड पनि यसैको दौडधूपमा छन्।

धनुषा ४ मा रघुवीर महासेठलाई पछि पार्दै कांग्रेस उम्मेदवारको अग्रता

धनुषा ४ मा नेपाली कांग्रेसका उम्मेदवार महेन्द्र यादवले अग्रता लिएका छन्। आइतबार साँझबाट पछि परेका उनले पछिल्लो अपडेटअनुसार अग्रता कायम गरेका हुन्।

कर्जा-निक्षेप अनुपातमा राष्ट्र बैंक लचक

तोकिएको कर्जा–निक्षेप अनुपात नपुगे बैंक तथा वित्तीय संस्थालाई लाग्ने जरीवानालाई तरलता जोखिममा समेत आधारित हुने गरी पुनरवलोकन गर्न सकिने व्यवस्था गरी लचकता अपनााएको हो।

थप समाचार

नेपाल समय
ब्लग

असुरक्षित सडकको सिकार भएका महावीर

वैज्ञानिक समाजवादी पार्टीमा जोडिएपछि सेलिब्रेटी छविप्रतिको मोह घट्दै गएको थियो। समानता र विभेदको अन्त्य उनका अर्जुन दृष्टि थिए। उनको उद्देश्य र काम जात व्यवस्था अन्त्य गर्नेमा केन्द्रित थियो।
नेपाल समय
ब्लग

हिमालको काखबाट राष्ट्रिय खेलकुद नियाल्दा

प्रतियोगिताको दोस्रो दिन बिहान खासै इभेन्ट थिएनन्। ढिलो गरेर ११ बजे रंगशाला पुग्दा सबै साथीहरू त्यहीँ भेटिए। फेवातालको छालमा टल्किइरहेका घामका किरण, माछापुच्छ्रेलगायतका हिमालमा ठोक्किएका घाम किरण, सिरसिरे हावा, पोखरापारिका रमणीय गाउँ अनि नौला खेलाडी, व्यवस्थापक र दर्शक हेर्दै बिहान बितेको थियो।
नेपाल समय
ब्लग

अनि दसैं आउँथ्यो गाउँमा

घर लिपपोत गरेपछि पनि हाम्रो दसैंको चटारो सकिन्थेन। विद्यालय र घरको लिपपोतपछि बल्ल गाउँ सफाइ अभियान चल्थ्यो। मेरो गाउँ मगर समुदायको बाहुल्यता भएको क्षेत्रमा पर्छ। त्यसैले त्यहाँ सामूहिकता बलियो थियो।
नेपाल समय
ब्लग

बलात्कारका बेला किन प्रतिवाद गर्न सक्दैनन् पीडित?

कुनै बेला पीडितको शरीर फ्रिज भएर बेहोसको अवस्थामा पुगिसकेका हुन्छन्। त्यसैले १ चोटी मात्र हैन ३-४ चोटी बलात्कार गर्दा पनि किन पीडित त्यही बसिरह्यो भन्ने प्रश्न गलत हो। यो फ्रिज भएकै आधारमा केटी किन चिच्याइन? ढोकामा चुकुल नलागेको बेला पनि किन भागेन? सबै व्याख्या हुन्छ।
नेपाल समय
ब्लग

सिंहदरबारलाई चिठ्ठी

तिम्रो निर्माणक्रममा बडाहाकिमहरु चाकु र मासको पिठोको थुप्रोमा थुक्दै र कुल्चँदै हिँड्थे रे। त्यसो गर्नुको कारण चाकु र मास चोरी नहोस् भनेर रहेछ। यसरी निर्माणक्रमबाटै यस्तो प्रकृया सुरु भएर हो कि किन हो यहाँबाट प्रवाहित सबै सेवामा हरेक सम्बन्धित सेवाप्रदायक र सेवाग्राही आज पनि चोर्न मात्र उद्दत छन्।

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

House -138, Suruchi Marg, New Baneshwor, Kathmandu, Nepal
फोन : +977-1-4790242 / +977-1-4790040
इमेल : nepalsamayanews@gmail.com
  • प्रबन्ध निर्देशक
    तरुणप्रताप शाह
  • प्रधान सम्पादक
    नारायण अमृत
  • महाप्रबन्धक
    जीवन तिम्सिना