जेठ १५ गते अर्थमन्त्री जनार्दन शर्माले प्रतिनिधि सभामा बजेट पेस गरेका थिए। निजी क्षेत्रहरूले बजेटमाथि प्रतिक्रिया जनाउने क्रम अझसम्म जारी छ। बजेटमाथि प्रतिक्रिया लिनका लागि अघिल्लो बिहीबार हामी सवारी साधन विक्रेताहरूका सोरुम चहारेका थियौँ। मेरो साथमा अफिसको एक जना दिदी पनि हुनुहुथ्यो। हामी रोयल इन्फिल्ड आयातकर्ता अल्फा अटोमोबाइल्स कम्पनीमा पुग्यौँ। कम्पनीका निर्देशक मेघराज पौडेल र म्यानेजर कल्पना भण्डारीसँग हाम्रो भेट भयो। उहाँहरुसँग दिदीको राम्रो चिनजान रहेछ। उहाँहरूसँग मेरो पहिलो थियो।
अल्फाको आर्थिक सहयोगमा हामी भेट भएको भोलिपल्ट (शुक्रबार)देखि 'रोयल इन्फिल्ड, लक्जरियस राइड' कार्यक्रम आयोजना गरिरहेको रहेछ। काठमाडौँदेखि कास्कीको घान्द्रुकसम्म तीन दिनको रोयल राइड रहेछ। नक्साल र बालाजु बुलेट सेन्टरले आयोजना गरेको।
म पनि रोयल राइडमा सहभागी हुने टुंगो लाग्यो। शुक्रबार बिहान नक्साल बुलेट सेन्टरका सञ्चालक सञ्जय महापुरुषको नेतृत्वमा बालाजुमा १७ वटा बुलेट बाइकसहित ३० जना भेला भयौँ। सञ्जय सर बुलेट सेन्टर सञ्चालक मात्र होइन, राम्रो राइडर नै हुनुहुँदोरहेछ भन्ने कुरा पनि जानकारी पाएँ। हामी ५ जना महिला र २५ जना पुरुष महापुरुषको नेतृत्वमा घान्द्रुक राइडका लागि तयार भयौँ। सुरुमा महिला राइडरहरू पनि जाने कुरा थियो रे! तर बिहीबार उहाँहरूलाई समस्या भएपछि आएन नपाउनु भएको रहेछ। बालाजुमा भेट भएपछि परिचयात्मक कार्यक्रम भयो। महापुरुषसहित राइडर सरहरूले ‘ब्रिफिङ’ सुरु गर्नु भयो। चियानास्ता पनि। यात्रा पनि सुरु भयो।
-1655454320.jpg?p=768&s=a1a4a8ecaf4e3e1cdb4e32f038732200)
बिहानको ७ बजेतिर बालाजुबाट निस्किएर कलंकी हुँदै करिब ९ बजेतिर धादिङको थाक्रेमा चियानास्ताको लागि रोकियौँ। पुनःयात्रा तर्फ नै लाग्यौँ। नौबिसे कट्ने बित्तिकै जाममा फसियो। बाइकलाई सानो ठाउँ भएपनि पुग्ने हो। तैपनि जाम कट्न हामीलाई निकै मुस्किल पर्यो। भित्रभित्रै, छेउछाउ र कुनाकानी ओभरटेक गर्दै अगाडि बढ्यौँ। मुग्लिङ्ग पुग्नुभन्दा ३ किलोमिटर बाँकी हुँदा पुनः जाममा बस्नुपर्ने भयो। केही समय बाइक रोकिए। केहीबेरको यात्रापछि हाम्रो टोली करिब १ बजेतिर मुग्लिङ, चितवनमा पुग्यो। जहाँ हाम्रो खाना खाने योजना थियो। खाना खायौँ। फेरि गन्तव्यतर्फ लाग्यौँ।
पृथ्वी राजमार्ग अन्तर्गतको मुग्लिङ-खैरेनी राजमार्गको करिब आठ किलोमिटर यात्रा सकेका थियौँ। बिहान पहिरो खसेको रहेछ, दुई बाइक र एउटा कार पनि पहिरोमै खसेछन्। पहिरो खसेको ठाउँदबाट पोखरा जानेबाटो ४ किलोमिटर यात्रा गर्दा खैरेनी पुगिन्छ। जाममा रोकिएका यात्रुले भन्दै थिए, ‘बाइकको एकजना जीवित मान्छे र कारको एकजना मृत लास भेटियो रे! अरु को अझै केही पत्तो छैन रे!’ हल्ला सुनियो।
बाटो पुरै खसेको थियो। डोजरले माथिको भिर खनेर बाटो खुलाउँदै थियो। अगाडि जानुभएको राइडर रमेश अवालले केही समय रोकिनुपर्ने बताउनु भयो।
माथि हेर्दा भिरयुक्त थियो। रुखले सास फेरेको महसुस भएन। सास फेरेको भए त पात हल्लिनुपर्ने, हल्लिएनन्। उफ् गर्मी! गर्मीको कुरा नगरुम्। कति हो कति। तातो पानी सडकमा राखिदिने हो भने चिया नै बन्ला जस्तो।
छेउमा स–साना पसल पनि रहेछन्। पानी पियौँ, त्यै पनि एक बोटलको त ३० रुपैयाँ पो रहेछ। करिब दुई घण्टा रोकिएपछि दिउँसोको साढे तीन बजेतिर बाईक जान मिल्ने बाटो खुल्यो। पुनः यात्रामा लाग्यौँ।
-1655454321.jpg?p=768&s=17019be5dfc155825303a9ea35541c08)
करिब साढे दुई घण्टाको यात्रा गरेपछि ६ बज्नै लागेको थियो। तनहुँको अकलामा पुगेर केही क्षण आराम गर्यौँ। त्यहाँ शिवमन्दिर पनि रहेछ। दर्शन पनि भयो। चिया-बिस्कुट नास्ता भयो। केही समयअघिको गर्मी बिर्सिने हो भने यात्रा बिर्सनलायक थिएन। गर्मीभन्दा पनि पहिरोसँगैको दुर्घटनाले चाहिँ मलाई झस्काइरह्यो।
यात्रा अघि बढिरह्यो। हावाले मेरो छोटो कपाल खुला छोड्दा पछाडि पुर्याउँथ्यो। बेलाबेला आफ्नै कपालले आफैँलाई पिट्थ्यो पनि तर कपाल छोटो भएकाले मलाई खासै दुख्न चाहिँ देख्दैनथ्यो। बुलेट बाइक खुला सडक भएको ठाउँमा राइडरले हुँइक्याउँथे। तीव्र गतिमा हुइँकिदा कताकता डर पनि लाग्थ्यो। तर त्यो भन्दा रमाइलो पनि उतिकै हुन्थ्यो। यतिकैमा हामी कास्की प्रवेश गर्यौँ।
लुम्लेको डाँडामा पुग्न उकालो चढ्दै गर्दा कुहिरो लाग्यो, पानी पर्न सुरु गर्यो। नेपालको सबैभन्दा बढी पानी पर्ने ठाउँ भनेर लुम्ले दर्ज छ। लुम्ले पुगेर पनि पानीमा नभिजे के रमाईलो! साझको सात बजेको थियो, कुहिरोले झनै अध्यारो भयो। बाईकको लाइटले ५ मिटर अगाडि ठहर्याउन पनि गाह्रो भइरहेको थियो। यात्रा भने निन्तर अगाडि बढिरह्यो। साथीहरु केही अगाडि केही पछाडि भयौँ।
यत्तिकैमा रोकेर राखेको ट्याक्सीमा अगाडिको बाइक ठोकिन पुग्यो। केही रकम जरिवाना तिरेर थोरै अगाडि गयौँ–लुम्लेको डाँडामा। अगाडिका बाइक त्यही रोकिएका रहेछन्, हामी पनि रोकियौँ। चिया लियौँ। सबैसँग रेनकोट थिएन, पानी ठूलै पर्यो।
मेलापाता गर्दा ओढ्ने पानी प्लास्टिकको बोरा किन्यौँ। प्लास्टिक बोराको माथिल्लो भागमा मन्टो र हात छिर्ने गरी तीन वटा प्वाल बनाएर ओत लाग्दै अगाडि बढ्यौँ। एउटा प्वालमा टाउको छिराइयो। दुई वटा प्वालमा दुवै हात। तर प्लास्टिक न हो। त्यो पनि तीनतिर प्वाल पारेको। आकाशबाट शरीरमा ठोक्किएको वर्षाको पानी आधाउधि तर्किन्थ्यो, आधाउधी शरीरभित्रै प्रवेश गर्थ्यो। जे भएपनि रोयल राइडमा प्लास्टिकको बोरा यादगार रह्यो।
-1655454320.jpg?p=768&s=01277f64bb756dc7075b43f068585992)
नयाँ बजार पुगेर स्थानीयलाई घान्द्रुकको बाटो सोध्दै अगाडि लाग्यौँ। केही बेरको यात्रापछि कच्ची उकालो बाटो आयो। करिब ८ किलोमिटर कच्ची उकालो चढेपछि चौर (खर्क)मा पुग्यौँ। जहाँ गाडी पार्किङ गर्ने व्यवस्था गरिएको रहेछ। त्यहीँ बाइक पार्क गर्यौँ।
‘बजेटले तलसम्म मात्रै भेटेपछि यताको बाटो यत्तिकै छोडिएको हो, अब अर्को साल(वर्ष) को बजेट आएपछि माथिसम्म बाटो पिज गरिदिन्छु भनेका छन्। नेताहरुले,' किन यति बाटो पिज गर्न छोडिएको रहेछ भन्ने हाम्रो प्रश्नमा पार्किङ सञ्चालक एक व्यक्तिले बताए। बाइक त्यहीँ पार्क गर्यौँ। अध्यारोमा मोबाइलको बत्ति बाल्दै सिढिको बाटो चढेर करिब १० मिनेट हिडेपछि होटलमा पुग्यौँ। पहिल्यै भनेको भएर हामीलाई कुरिरहनु भएको रहेछ उहाँहरुले।
त्यहाँ पुग्दा करिब १२ बजेको थियो। रात छिप्पेको कारण पहिला खाना खाएर कोठामा जाने त्यत्तै फ्रेस हुने कुरा भयो। फापरको साग पाउने रहेछ, साग र अचार नै त्यसैको थियो। अचार पनि फापरकै। सागलाई गुन्द्रुक बनाएर बनाइएको। जे होस, ताजा र मिठो थियो।
अर्को दिन बिहानै ५ बजे उठेर अन्नपूर्ण हिमाल, सूर्योदय, ग्रामीण बस्ती, वन जङ्गल र फरक संस्कृति हेर्ने सम्झौता गर्दै हामी कोठातिर लाग्यौँ।
000
ढिला नै सुतेको भएपनि बिहान ५ बजे उठेर डाँडा हेरेको कुहिरो र तलपट्टी जंगल पो देखियो। यद्यपि, बिहानको चिसो हावा, हरियाली दृश्य र पुरानो मोडलका घर, घरको आगनी छेउछाउमा रंगिचङ्गी फुलहरु...त्यसैमा रमायौँ। फोटाहरु पनि खिच्यौँ।
त्यसपछि नास्ता लियौँ र गाउँ डुल्न निस्कियौँ। केही साथी ओरालो लाग्नु भयो हामी उकालो। फापरको साग जताततै रहेछ, खेती स्वरुप लगाएको भन्दा पनि आफै उम्रिदो रहेछ। हरियाली थियो।
हिँड्दै गर्दा बाटोको बायातर्फ दिलकुमारी होमस्टे रहेछ। सञ्चिालिका दिलकुमारी ‘आमा’ सँग एकछिन गफ गर्यौँ। गुरुङ ड्रेस लगायौँ। ‘तपाईंहरू हिजो साँझ चाडै आएको भए गुरुङ्ग सेलो सुन्न पाउनु हुन्थ्यो’ दिलकुमारी आमाले भन्नु भयो, ‘पहिलो कुरा त तपाईहरु ढिला आउनु भयो फेरि पहिला नै भनेको पनि हुनुपर्छ।’
यत्तिकैमा १२ बज्नै आँटेछ पत्तै भएन। पुनः होटलमा सबैजना भेला भयौँ। त्यहाँको सुन्दर/मनोरम दृश्य क्यामरा र स्मरणमा कैद गर्दै खाना खाएर पोखरातर्फ प्रस्थान गर्यौँ।
-1655454321.jpg?p=768&s=fa1a0e54575cc54e190b8ee64c96301d)
सारङकोटको डाडाँबाट पोखरा बजार नियाल्दै आयौँ। होटल आइपुग्दा दिउँसोको करिब साढे तीन भएको थियो। यो दिन हाम्रो योजनामा लेकसाइड घुम्ने उल्लेख गरिएको थियो। यद्यपि हामीहरु कति साथी स्विमिङमा लाग्यौँ त कति लेकसाइडतिर लाग्नुभयो। मलाई फेरि पौडिन नआउने, दाजुहरुले सिकाउनु भयो, करिब ३ घण्टा जति पानीमा नै रमायौँ।
साझ खाना खाएर गित संगीत र कुराहरुमा लाग्यौँ। राइडर प्रमोद श्रेष्ठ ठिक एक महिना अगाडि सगरमाथा चढेर आउनु भएको रहेछ, उहाँका अनुभवहरु पनि सुन्ने मौका मिल्यो। उचाइमा पुगेर करिब आधा घण्टा बस्दा संसार जितेको जस्तो छुट्टै किसिमको भावुकपन उत्पन्न भएको बताउनु भयो। उहाँ उमेर ५२ वर्षको भएपनि निकै क्रियाशील हुनुहुँदो रहेछ। म आफू धेरै नै प्रभावित भएँ। म मात्रै हैन ग्रुपका सबैजनाले उहाँलाई प्रशंसा नै गर्नुभयो। ‘दाईबाट हामीले केही सिक्नुपर्छ। पहिला धेरै संघर्ष गर्नुभएको रे, अहिले पनि गर्नुहुन्छ।’ ग्रुपको एकजना राइडरले भन्नु भयो, ‘मौका मिल्दा रमाईलो गर्न पन पछि पर्नुहुन्न।’
यस्तै–यस्तै गफलाई बिट मार्दै हामी कोठामा लाग्यौँ।
000
आइतबार बिहान पनि कोही पौडन लाग्यौँ त कोही लेकसाइड। नेतृत्वको रुपमा जानु भएका राइडर भने बाईकको अवस्था हेर्ने बनाउने गर्नुभयो। त्यस्तो केही भएको रहेनछ। बिहान करिब १० बजेपछि नास्ता गरेर हामी काठमाडौँको यात्रा तयार सुरु गर्यौँ।
पोखराबाट काठमाडौँ आउदा मैले राइडर चेन्ज गर्नु पर्ने भयो। राइडर–प्रमोद श्रेष्ठसँग यात्रा तय गरेँ। यात्रामा पनि सगरमाथा चढ्दाका क्षणहरुको बारेमा सोधे। खर्चिलो हुनेहुँदा जान चाहेपनि साधरण व्यत्तिलाई गाह्रो हुने बताउनु भयो।
फर्कदा पनि मुग्लिङ्ग (उही पहिलाकै ठाउँ) मा करिब आधा घण्टा जाममा पर्यौँ। जाम खुलेपछि अगाडि बढ्यौँ। साढे दुई बजेतिर मुग्लिङ्ग आयौँ, खाना खानको लागि बाइकबाट झर्दै गर्दा मेरो खुट्टामा साइलेन्सरले पोल्यो।
जे होस होटलमा घिउकुमारी रहेछ। पहिला त्यही लगाए, त्यसपछि आइस लगाएँ। खासै दुखेको भने थिएन तर दाजुहरुले पानी फोका आउछ भन्दै हुनुहुन्थ्यो...हल्का डर पनि लाग्यो। ‘राइडयात्राको चिनो त राख्न पर्यो नि! केही हुन्न’ एक जना राइडरले भन्नु भयो। खाना खाएर अगाडि बढ्यौँ। साँझको करिब आठ बजे कलंकी आएर आ-आफ्नो बासस्थानतर्फ लाग्यौँ।
सुरुमा केही डर लागेको थियो। सबै त चिनजानकै हुनुहुन्छ होला म एक्लै भन्ने लागेको थियो। त्यसमा पनि केटी मान्छे। यद्यपि सुरुमा बाइकको पछाडि बसेर राइडरलाई समाउन पनि असहज लागेको मलाई फकर्दा सम्म सबैमा आफ्नोपन पाए। यात्रा निकै रमाईलो भयो। अपरिचित सबै आफ्नै महसुस भयो। सञ्जय सरले शुक्रबार हिँड्ने समयमा यात्राको बिफ्रिङ गर्दाका शब्द महसुस भयो। ‘हामी भाइचारा/भातृत्वको लागि यो यात्रा गर्दैछौँ।’ अन्ततः यात्रा सभ्य, भव्य र सौहादपूर्ण रुपमा सकियो।
थप तस्बिर
-1655454321.jpg?p=768&s=f843f484646ec0ccae1362f2d7dcb6ae)