चितवनको भरतपुर महानगरमा मतपरिणाम अद्यावधिक भइरहेको छ। निर्वाचन आयोगको आधिकारीक जानकारी अनुसार नेकपा एमालेले र गठबन्धनका तर्फबाट नेकपा माओवादीको मतान्तर धेरै छैन। एकअर्का उम्मेदवार आलोपालो अग्रता लिइरहेका छन्।
शुक्रबार राति अबेर बसेको सर्वदलीय बैठकले शनिबार बिहान ९ बजेदेखि सुरु गर्ने भनेपनि ३ घण्टा भन्दा बढी अबेर गरी मतगणना सुरु भएको थियो। बिहान ८ बजेदेखि नै औद्योगिक प्रर्दशनी केन्द्रको गेट अगाडि नेता तथा कार्यकर्ताको भिड सुरु भइसकेको थियो। मतगणना सुरु हुनु ४ घण्टा अगाडिदेखि जम्मा भएका कार्यकर्ता तथा नेता गेटभित्र प्रवेश नपाएपछि गेटबाहिरबाटै भित्रका दृश्य नियालिरहेका थिए। ८ बजे नै पुगेका उनीहरु कतिबेला ९ बज्छ र मतगणना सुरु होला भन्दै घडी हेर्दै थिए।
करिब १० बजेतिर भरतपुर महानगरका गठबन्धनकी उम्मेदवार रेनु दाहाल र एमालेका उम्मेदवार विजय सुवेदी मतगणना केन्द्रभित्र प्रवेश गरे। स्वतन्त्र रुपमा उम्मेदवारी दिएका जगन्नाथ पौडेल भने ९ बजे नै मतगणनास्थल आइपुगेका थिए।
तर साँढे ११ बजेसम्म पनि मतगणना सुरु हुन सकेको थिएन। कारण– स्वतन्त्र उम्मेदवारले आफ्ना प्रतिनीधिलाई पनि मतगणनामा सहभागी गराउनुपर्छ भन्दै विरोध गरिरहेका थिए। शुक्रबार बेलुका नै सहमति भएपनि स्वतन्त्र तर्फका उम्मेदवारले चित्त बुझाएका थिएनन्। शनिबार पनि उनीहरुले विरोध गरिरहे। तर उनीहरुको विरोधको अर्थ रहेन। बिहान ११ बजेर ५१ मिनेटमा मुख्य निर्वाचन अधिकृतको कार्यालयका सूचना अधिकारीले मतगणनाका लागि मतपेटिका खन्याए। मतगणनाको आगडि भागमा लहरै सँगै बसेका भरतपुरका तिनै जना मेयरका उम्मेदवारले मुसुक्क मुस्काउँदै मतगणनाको स्वागत गरे।
मत गणना सुरु भयो। बाहिरपट्टी ५ सयको हाराहारीमा नेता तथा कार्यकर्ता चुनावी परिणाम कुरिरहेका थिए। चर्को घाममा पनि उनीहरुलाई घामको भन्दा मत परिणामको चासो थियो।
रमाइलो के थियो भने भरतपुरको मतपरिणाम कुरेर बसेकाहरु प्रत्येक मिनेटमा काठमाडौं महानगरको मतपरिणामबारेमा चासो देखाउँथे। कतिपयलाई भरतपुरको भन्दा काठमाडौंमा बालेनले के गर्लान् भन्ने चासो थियो। बालेनको अग्रता हुँदा प्रतीक्षारत युवाहरू धेरैजसो हौसिन्थे।
बाहिर रहेका नेताकार्यकर्ता लगायतलाई मतगणनाबारे जानकारी गराउन ब्लक सीको ढोका अगाडि दुईतिर फर्काएर माइक राखिएको थियो। नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र म्यादी प्रहरीको बाक्लो उपस्थिति थियो। उम्मेदवारका प्रतिनिधि, सञ्चारकर्मी गेटपास देखाउँदै भित्रबाहिर आउजाउ गरिरहेका थिए।
बाहिर रहेका नेता तथा कार्यकर्तालाई आश थियो- माइकिङमार्फत् मतपरिणामको जानकारी हुनेछ। औद्योगिक प्रर्दशनी केन्द्रको ब्लक 'सी'देखि बाहिरी गेटसम्म करिब पचास मिटरको दुरी छ। तर मतपरिणामबारे माइकमा जानकारी नगराएपछि बाहिर रहेका कार्यकर्ताहरु रुष्ट देखिए। उनीहरुले मतपरिणामका लागि लागिभित्र रहेका आफन्त, उम्मेदवार, मिडियाको सहयोग लिइरहेका थिए। कोही व्यक्ति बाहिर निस्कनेवित्तिकै सबैको मुखमा मतपरिणमको प्रश्न उब्जिन्थ्यो।

जब मतपरिणाम सुन्थे उनीहरुको अनुहारको भाव परिवर्तन हुन्थ्यो। आफ्नो उम्मेदवारको मतले अग्रता लिँदा उनीहरुको अनुहारमा अर्कै खुसी देखिन्थ्यो। अर्को पक्षका कार्यकर्ता भने भर्खर त मतगणना सुरु भएको छ अहिल्यै खुसी दुखी हुनुपर्ने अवस्था छैन भन्दै चित्त बुझाउँथे।
अघिल्लो निर्वाचनमा मतपत्र च्यातिएको घटनालाई स्मरण गर्दै यसपटक पनि नजितेमा च्यात्ने त होला नि भन्दै व्यंग्य गर्नेको अर्को जमात थियो। त्यसो त यसपटक मतपत्रलाई सुरक्षित राख्नका लागि तारजाली लगाएर ८ वटा सिसी क्यामेराको निगानीमा मतगणना गरिएको छ।
अघिल्लो निर्वाचनमा मतपत्र च्यातिएको घटनालाई स्मरण गर्दै यसपटक पनि नजितेमा च्यात्ने त होला नि भन्दै व्यंग्य गर्नेको अर्को जमात थियो।
पहिलो चरणको मतपरिणाम सार्वजनिक नहँदै जगन्नाथ पौडेल, विजय सुवेदी, रेनु दाहाललगायत उम्मेदवा बाहिरिए। उता स्वतन्त्रका अन्य उम्मेदवारहरू पनि असन्तुष्ट हुँदै बाहिरिए। मतगणनामा आफ्ना प्रतिनिधि नराखेको भन्दै स्वतन्त्रका उम्मेदवारले गुनासो पोख्दै थिए। स्वतन्त्रका उम्मेदवारको गुनासो निर्वाचन आयोगले नसुनेको उनीहरुको गुनासो थियो।
२०७४ को निर्वाचनमा मतपत्र च्यातिएपछि यसपटक त्यो गल्ति हुन नदिनका लागि निर्वाचन आयोगले सम्पूर्ण तयारी गरेको हो। गत निर्वाचनमा मतपत्र च्यातिएपछि चर्चामा आएको भरतपुरमा देशकै नजर छ। यसपटकको नतिजा के आउला भन्ने खुल्दुली सबैलाई छ। भरतपुरबासी प्रत्येक मिनेटमा मतगणनको परिणाम जान्न चाहन्छन्। बाहिर बसेका नेता कार्यकर्ता आआफ्नै पक्षमा मत परिणाम आउने आशा गर्दै कुरिरहेका छन्। साँझ परिसक्दासमेत मानिसको भिड कम भएको थिएन।
रमाइलो के थियो भने भरतपुरको मतपरिणाम कुरेर बसेकाहरु प्रत्येक मिनेटमा काठमाडौं महानगरको मतपरिणामबारेमा चासो देखाउँथे। कतिपयलाई भरतपुरको भन्दा काठमाडौंमा बालेनले के गर्लान् भन्ने चासो थियो। बालेनको अग्रता हुँदा प्रतीक्षारत युवाहरू धेरैजसो हौसिन्थे।