बिहीबार, जेठ १२, २०७९
यात्रा–अनुभूति

उँभो जाने भोटतिर

प्रकाश तिवारी  |  काठमाडौं, शनिबार, वैशाख २४, २०७९

प्रकाश तिवारी

प्रकाश तिवारी

शनिबार, वैशाख २४, २०७९, काठमाडौं

नेपाल समय

भोट जानु कुनै कालखण्डमा परदेश गएजस्तो मानिन्थ्यो। महाकवि लक्ष्मीप्रसाद देवकोटाले भोटलाई आधार–इलाका बनाएर मुनामदन लेखे। हाम्रा बाबु–बाजे भोटबाट ल्याएको नुन खान्थे। मनाङेहरू मंसिर लाग्दानलाग्दै गण्डक क्षेत्रको खेतबारीहरूमा पाति र खरको छाप्रो बनाएर बसेको अहिले पनि सम्झिन्छु म। उनीहरू चैतको समाप्तिपछि मात्र भोट फर्किन्थे। मलाई धेरै पहिलेदेखि भोट हेर्न जाने रहर थियो। 

२०७९ वैशाख १ गतेमात्र मेरो त्यो धोको पूरा भयो।  

चैत ३० गते  श्रीमती सुष्मासहित म हिमालपारिको जिल्ला मनाङ जाने उद्देश्य लिएर काठमाडौंबाट निस्कियौं। माइक्रो बस नौबिसे, मलेखु, मुग्लिन, डुम्रे हुँदै अघि बढ्यो। हामीलाई काठमाडौंबाट बेशीसहर पुग्न आठ घण्टा लाग्यो। अर्थात्, अघिपछिभन्दा दुई घण्टा बढी। कारण थियो, भन्सारदेखि तुरतुरे अनि पाउँदीदेखि सिउँडिबार क्षेत्रमा चलेको सडक बिस्तार कार्यक्रम। सडक बिस्तारका कारण माइक्रो बस ठाउँ–ठाउँमा रोकिन्थ्यो। वैशाख लाग्न नपाउँदै बढेको प्रचण्ड गर्मीले यात्रालाई अरू पट्यारलाग्दो बनाइरहेको थियो। 

एक गते दिनको बाह्र बजे हामी मनाङे चौताराबाट मनाङ जाने बोलेरो जिपमा चढ्यौँ। बेशीसहर र माथिल्लो मनाङबीचको दूरी सय किलोमिटर रहेछ। बाटो कच्चि भएकोले भाडा महँगै थियो। अर्थात प्रतिव्यक्ति तीन हजार। 

‘भाडा किन यति महँगो ? त्यति पैसा तिर्यो भने दिल्ली पुगिन्छ !’, चालकसँग सोधेँ मैले।‘ त्यो त हो सर। यो रूटमा वर्षमा छ सात महिना गाडी चल्छ। सात महिनाको कमाइले बाह्र महिना खानुपर्छ!’, चालकले जवाफ दिए।  

सर्वत्र हिउँ नै हिउँले ढाकेको थियो। त्यसो त मनाङ जाने भनेकै हिमाल हेर्नका लागि हो। हिमाल नेपालको अन्य भूभागबाट उत्तर दिशामा देखिन्छ। तर मनाङको विशेषता नै भनौँ, के उत्तर, के दक्षिण, के पूर्व, के पश्चिम, सबैतिर हिमालै हिमाल देखिँदो रहेछ।

मझौला कद, रातो वर्ण, आशलाग्दो अनुहारका थिए बोलेरो चालक। यात्राको अवसरमा धेरैभन्दा धेरै जानकारी आर्जन गर्न चाहन्थेँ। त्यसको लागि उनी उपयुक्त माध्यम हुनसक्थे। मैले चालकसँग उनको नाम सोधेँ। जबाफमा उनले आफ्नो नाम ‘लक्की’ भएको बताए। ‘भाइको त नामै लक्की रहेछ। अनलक्की दिन कहिल्यै आउँदैन होला है ?’ ठट्टा पनि गरेँ मैले।

‘किन नआउनु सर। राशीफल बिग्रेको दिन बर्बादै हुन्छ,’ फिस्स हाँस्दै उनले भने। म रोकिइनँ। ‘राशीफलमा हैन, पाखुरामा विश्वास राख्नुपर्छ। अनलक्की दिन कहिल्यै आउँदैन,’ थपेँ मैले। उनी मेरो भनाइबाट सन्तुष्ट थिएनन् सायद। हाँसे मात्र।

जिपमा जम्माजम्मी छ जना यात्रु थियौँ। चालकको बायाँपट्टी दुईजना अनि पछिल्लो सिटमा चारजना। अर्थात् एक जोडी हामी। दुई जोडी पूर्वी नेपालबाट मनाङ घुम्न आएका युवायुवती। 

बेशिसहरबाट दुई घण्टाको यात्रा गरेका थियौँ। लक्की भाइले ‘झरना हेर्ने होला नि सर!’ भन्दै घ्याम्चेस्थित बुङ्ग झर्नावारी गाडी रोके। हामी हातमा मोवाइल लिएर बाहिर निस्कियौँ। बुङ्ग झरना साँच्चिकै अद्भूत थियो। जति हेर्यो उति हेरिरहुँ लाग्ने! भीमकाय पहाडको बीचबाट फुत्त बाहिर निस्केजस्तो! अनि झण्डै सय मिटर तल बगिरहेको मस्र्याङ्दी नदीमा मृदु झंकार छोड्दै खस्थ्यो। हामीले बुङ्ग झरनालाई क्यामराको लेन्सभित्र कैद गर्यौँ। मन भनिरहेको थियो, बुङ्ग झरनाको झरझर आवाज सुन्दै एक रात त्यहीँ बसौँ। तर चालकले गाडी हिँड्न लागेको इसारा दिइसकेका थिए। हामी बुङ्ग झरनाको मृदु सङ्गीतमा तरङ्गीत हुँदै गाडीमा चढ्यौँ। 

मलाई बेशिसहर–मनाङ सडक नेपाली सेनाले निर्माण गरेको हो भन्ने पूर्ब जानकारी थियो। तर उक्त सडकको ट्रयाक खोल्ने काम सकिएको मितिबारे थाहा थिएन। त्यसका लागि मैले भतिज कैलासको सहयोग शलिनुपर्यो। भतिज कैलाश लामो समय अन्नपूर्ण संरक्षण क्षेत्र मनाङमा काम गरेको थियो। मैले ऊमार्फत २०६९ सालमा चामेसम्म र २०७१ सालमा माथिल्लो मनाङमा गाडी पुगेको जानकारी पाएँ। 

बुङ्ग झरना साँच्चिकै अद्भूत थियो। जति हेर्यो उति हेरिरहुँ लाग्ने! भीमकाय पहाडको बीचबाट फुत्त बाहिर निस्केजस्तोे! अनि झण्डै सय मिटर तल बगिरहेको मस्र्याङ्दी नदीमा मृदु झंकार छोड्दै खस्थ्यो। मन भनिरहेको थियो, बुङ्ग झरनाको झरझर आवाज सुन्दै एक रात त्यहीँ बसौँ।

हामी मनाङको सीमा नजिक पुगेका थियौँ, लक्की भाइले सडक निर्माण क्रममा घटेको नमीठो घटना सुनाउन लागे। सडक निर्माण भैरहेका बेला गएको गएको पहिरोमा परी उक्त स्थानमा नेपाली सेनाका जवान तथा मजुदुरहरू मारिएका रहेछन्। सडकको दायाँ छेउमा पहिरोमा मृत्यु हुने सिपाही तथा श्रमिकको नाम अंकित शिलालेख थियो। उनले शिलालेखको छेउमा केहीबेर गाडी रोके। त्यस त्रासद घटनाको काल्पनिक चित्र मात्रले मन अमिलो भएर आयो। 

केही किलोमिटर माथि गएपछि मस्र्याङ्दी पारी ताल बजार देखा पर्यो। गत साल असारमा आएको भयानक वर्षा र बाढीले क्षतविक्षत पारेको तालबजारको केही दृष्य अहिले पनि देखिइरहेको थियो। चालक लक्की सुनाउन थाले ‘पोहोर सालको बाढीले ताल बजारका थुप्रै घरहरू बगायो। कतिपय घरहरू ढुङ्गा र बालुवाको बगरमा पुरिए। एउटा ट्रिपर बगरमा आधाआधी पुरियो। दिनको समयमा बाढी आएकाले मानिस चाहीँ जोगिए।’ 

हामी चढेको गाडी आफ्नै गतिमा माथि चढिरहेको थियो। भौगोलिक उचाइ बढ्दै जाँदा चिसोले उपस्थिति जनाउन सुरू गर्यो। त्यसमाथि मौसमले समेत बदलावको सङ्केत दिइरहेको थियो। सबैले ब्यागमा थन्क्याएका ज्याकेट निकालेर लगाउन थाले। चामे पुग्नुअगावै सिमसिम पानीको अभिशेष सुरु भयो। लक्की भाइले चामे बजारमा खाजा खानका लागि गाडी रोके। हामीले भारतीय मूलका नागरिकको होटलमा जेरी पुरीसहितको खाजा खायौँ। चामे मनाङ जिल्लाको सदरमुकाम हो। मस्र्याङ्दी नदीको किनार तथा पहाडको खोचमा अवस्थित चामे बजार सोचेभन्दा धेरै सानो लाग्यो मलाई। मूल सडकबाट हेर्दा बजार खासै देख्न सकिन मैले। 

'हाम्रो बिद्यालयमा पाँच कक्षासम्म पढाइ हुन्छ। विद्यार्थी भने चार जना छन्। एक जना चार कक्षामा, एक जना एकमा र शिशु कक्षामा दुई जना,’ लोकबहादुरले सुनाए। 

चामेबाट उकालो लागेपछि बर्षाले आफ्नो सक्रियता मजबुत गर्दै लगेको थियो। मेघ कर्कस ध्वनीका साथ गर्जिएको सुनिन्थ्यो। माथिल्लो मनाङबाट आएका सबारीचालकहरू लक्की भाइलाई हिमपातको खबर दिइरहेका थिए। नभन्दै पिसाङ्ग नजिक पुगेपछि हिम वर्षा सुरू भयो। आकाशबाट दही मथेपछिको नौनीजस्तै हिउँ झर्न लाग्यो। हिमपात देखेर सुषमा कम्ती रमाइनन्। उनी गाडी रोक्न लगाएर सारा शरीर सेताम्मे हुनेगरी हिउँमा नाचिन्।

हामी रातको आठ बज्न केही मिनेट बाँकी छँदा ३६४० मिटर उचाइमा अबस्थित माथिल्लो मनाङ्स्थित गन्तव्यस्थलमा  पुग्यौँ। हामीलाई बास बस्ने होटलको सहजिकरण भतिज कैलाशले गरिदिएको थियो। नत्र त्यस रात होटल भेट्न हम्मेहम्मे पर्ने रहेछ। 

दिनभरको अफ रोड यात्राबाट सुषमा निकै थाकेकी थिइन्। हिम वर्षा कायमै थियो। हामी ब्याग समाउँदै भतिज कैलाशले बुक गरिदिएको याक होटलतर्फ सोझियौँ। बाहिर हिउँ परेपनि होटलभित्र न्यानो थियो। होटलको डाइनिङ रूममा टिनको ड्रमजस्तो भाँडोमा आगो बालिएको थियो। युरोपियन मूलका नागरिकहरू आगोको ताप लिँदै अध्ययन गरिरहेका थिए। मनाङमा घर निर्माण तथा सजावटको काममा सल्लाको काठको प्रयोग अत्यधिक गरिने रहेछ। होटलको भित्री कोठाहरू सल्लाको काठबाट सजावट गरिएको थियो। मनाङमा कोठाको भाडा भने खासै महँगो होइन। एक रातका लागि एट्याच बाथरूमसहितको कोठाको मूल्य रू पाँच सय ! तर कोठाभन्दा खाना महँगो रहेछ त्यहाँ। अर्थात सादा खानाको पाँच सय।

हामी भोलिपल्ट बिहान अघिपछिभन्दा ढिलो उठ्यौँ। बिहान छ बजे उठेर झ्यालबाट हेर्दा गएरातिको हिम वर्षा पूरै थामिइसकेको देखिन्थ्यो। मौसम सफा थियो। आकाश कञ्चन थियो। घरका छाना, सडक, पहाड, पर्वत सर्वत्र हिउँ नै हिउँले ढाकेको थियो। त्यसो त मनाङ जाने भनेकै हिमाल हेर्नका लागि हो। हिमाल नेपालको अन्य भूभागबाट उत्तर दिशामा देखिन्छ। तर मनाङको विशेषता नै भनौँ, के उत्तर, के दक्षिण, के पूर्व, के पश्चिम, सबैतिर हिमालै हिमाल देखिँदो रहेछ। यस्तै दृष्य मैले मुस्ताङ् यात्रामा देखेको थिएँ। मनाङ–मुस्ताङलाई हिमालपारिको जिल्ला भनिएको त्यही भएर होला। 

हामी होटलबाट निस्केर बेकरी सपमा एकएक कप तातो चिया पियौँ। चियाको मूल्य निकै महँगो थियो। काठमाडौंमा बीस–पच्चिस रूपैयाँमा पाइने चिया त्यहाँ एक सय पचास तिर्नुपर्यो! चियापछि हामी हिम दृष्यावलीयुक्त फोटोहरू लिन लाग्यौँ। त्यस बिहान नयाँ वर्ष मनाउन मनाङ पुगेका सयकडौँ स्वदेशी तथा विदेशी पर्यटकहरू समेत फोटो खिच्नमै व्यस्त देखिन्थे। हिमपातका कारण मनाङको दृष्य साँच्चिकै अद्भूत थियो। स्वर्गमा छु कि पृथ्वीमा? भ्रमित हुन्थ्यो मन।

त्यसपछि हामी खामसार गाउँ हेर्न साढे दुई किलोमिटर उकालो उक्लियौँ। सडक ठाडै  थियो। बाटोमा तिलिचो ताल र थोराङ्पास हुँदै मुस्ताङ जाने बिदेशी पर्यटकहरू लट्ठी टेकेर लर्कनै हिँडिरहेका भेटिन्थे। हामीलाई एक जना स्थानीयले ‘टासीदेले’ को अभिवादन चढाए। मैले पनि उनलाई सोही अभिवादन फर्काएँ। उनी स्थानीय हस्तकलाका सामान खाटमा राखेर बाटो छेउमा बसेका थिए।  

केही पाइला अघि बढेपछि हाम्रो भेट गोर्खाबाट आएर पानीको पाइप गाडिरहेका श्रमिकहरूसँग भयो। मेरो प्रश्नमा उनीहरूले दैनिक पन्ध्र सय मजदुरी पाउने गरेको बताए। केही क्षणमै हामी एउटा थुम्कोजस्तो स्थानमा पुग्यौँ। त्यस स्थानलाई स्थानीयहरू टंकी भन्दारहेछन्। टंकीबाट खामसार गाउँ देखिन्थ्यो। खामसार गाउँ बेशीसहरबाट आउने गाडीको अन्तिम मुकाम रहेछ। 

टंकीभन्दा सय, डेढ सय मिटर तल शान्त–सौम्य रूपमा मस्र्याङ्दी बगिरहेको थियो। हामीले लमजुङमा नदी भन्ने गरेको मस्र्याङ्दीलाई त्यहाँ नदी भन्न पटक्कै मन लागेन मलाई। लमजुङ, तनहुँ वा गोरखाबाट देखिने मस्र्याङ्दी नदी र त्यहाँ देखिने मस्र्याङ्दीमा आमूल भिन्नता थियो। मस्र्याङ्दी त्यहाँ मझौला खोला आकारमा बगिरहेको देखिन्थ्यो। मेरो अनुमानमा जँगार तर्दा घुँडाघुँडा पानी आउन सक्थ्यो। टंकीबाट उत्तर–पश्चिम दिशामा पहाडबाट झरना झैँ तल झरिरहेको मस्र्याङ्दीको सेतो गोरेटो देखिन्थ्यो।

केही दशक अघिसम्म मनाङे महिलाले बख्खु, पुरुषले पाखी अनि दोचा नामक बाक्लो जुत्ता लगाउँथे। अहिले भने धेरै मनाङेहरूले परम्परागत पोशाकको सट्टा ज्याकेट, स्विटर, सर्ट पाइन्ट लगाउँदा रहेछन्। भतिज कैलाशका अनुसार आजभोलि बख्खु, पाखी नार–फु का बासिन्दाले मात्र लगाउँदा रहेछन्। नार–फु लाई ‘द लस्ट भ्याली अफ नेपाल’ पनि भनिँदोरहेछ।

हामी मस्र्याङ्दीलाई एकटकले नियालिरहेका थियौँ। हामी उभिएको स्थानभन्दा केही माथि सानो पसल थियो। पसल छेउमा उभिएका दुई जना व्यक्तिले हामीलाई हेरिरहेका रहेछन्। तीमध्येका एक जनाले माथि आउन इसारा गरे। हामी सिँढी चढ्दै उनीहरू बसेको ठाउँमा पुग्यौँ। पछि थाहा भयो, उनीहरू स्थानीय टंकी आधारभूत विद्यालयका शिक्षक रहेछन्। 

हामीले पसलमा चियाको अर्डर गर्यौँ। चियाको सुर्कीसँगै शिक्षकद्धयसंग कुराकानी सुरु भयो। मैले शिक्षक लोक बहादुर सुवेदीसँग टंकी आधारभूत विद्यालयका बारेमा सोधपुछ गरेँ। ‘हाम्रो बिद्यालयमा पाँच कक्षासम्म पढाइ हुन्छ। बिद्यार्थी भने चार जना छन्। एक जना चार कक्षामा, एक जना एकमा र शिशू कक्षामा दुई जना,’ लोकबहादुरले सुनाए। 

शिक्षक सविन खड्का लोकबहादुरभन्दा बोलक्कड रहेछन्। उनले समग्र मनाङको शैक्षिक तथा राजनैतिक गतिबिधिका बारेमा सुनाउन थाले –

‘मनाङ जिल्लाभरमा जम्माजम्मी दुई वटा मा.वि. र दुई वटा उच्च मा.वि. छन्। धनीमानिले काठमाडौं लगेर छोराछोरी पढाउँछन्। सन्तानलाई विदेशमा राखेर पढाउने मनाङे पनि छन्। मनाङ जिल्लाको कूल मतदाता संख्या ५ हजार ६ सय हाराहारी छ। निर्वाचन हुँदा पच्चिस सय, तीन हजार जति भोट खस्छ। राजनीतिक जय पराजयको कुरा गर्ने हो भने, यस जिल्लाबाट २०६४ सालको संसदीय निर्वाचनमा माओवादीले जितेको थियो। २०७० मा कांग्रेसले र २०७४ मा एमालेले जित्यो। यसपटक दीपक मनाङे नेपाली कांग्रेसमा प्रवेश गरेकाले कांग्रेस विजयी हुनसक्छ। मस्र्याङ्दी नदी तिलिचो ताल हुँदै तल झर्छ। मनाङका अधिकांश बासिन्दा वौद्धमार्गी छन्,’ सविनले सुनाए। 

बख्खु, राढी–पाखी बुन्नु, याक, चौँरी, भेडा–बाख्रा पाल्नु, जौ, फापर, करू, आलु, स्याउ आदिको खेति गर्नु यहाँको परम्परागत ब्यबसाय रहेछ। मनाङमा कृषियोग्य भूमि एकदमै कम छ। पछिल्ला दिनहरूमा पर्यटन एउटा राम्रो ब्यबसायको रूपमा बिकसित भैरहेको रहेछ। म तिलिचो तालतर्फको यात्राबारे बुझ्न उत्सुक थिएँ। मेरो जिज्ञासा पूरा गर्न शिक्षक लोकबहादुर अघि सरे–

‘हामी त एकै दिनमा तिलिचो पुगेर फर्किन सक्छौँ। हिँड्न सक्ने मान्छे थोराङ्पास हुँदै एक दिनाम मुस्ताङ पुग्न सक्छ,’ उनले सुनाए। अन्य यात्री भने तिलिचो जान दुई दिन लाग्छ भन्थे। 

बिहानको खाना खाएपछि हामी प्रकृति संरक्षण कोष अन्तर्गतको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाको स्थानीय कार्यालयमा पुग्यौँ। हामी जाँदा कार्यालय सुनसान थियो। हाम्रो आवाज सुनेर टोम कासी गुरूङ नाम गरेकी युवती बाहिर निस्किइन्। उनी सोही कार्यालयकी कर्मचारी रहिछन्। कार्यालय प्रमुख कामविशेषले चामे गएका रहेछन्। मैले टोम कासीसंग एक्यापको बारेमा सोधेँ।

बख्खु, राढी–पाखी बुन्नु, याक, चौँरी, भेडा–बाख्रा पाल्नु, जौ, फापर, करू, आलु, स्याउ आदिको खेति गर्नु यहाँको परम्परागत ब्यबसाय रहेछ। मनाङमा कृषियोग्य भूमि एकदमै कम छ।

‘एक्यापको स्थापना सन् १९८६ मा भएको हो। अन्नपूर्ण क्षेत्रको प्राकृतिक संरक्षण एवम् सामाजिक आर्थिक विकासबीच दिगो सन्तुलन कायम गर्नु यसको उद्देश्य रहेको छ। हाम्रो काम अन्नपूर्ण क्षेत्रको पदयात्रामा आउने विदेशी पर्यटकहरूको अभिलेख राख्ने, यार्सागुम्बा लगायतका जडिबुटी एवम् वन पैदाबरको बेचबिखनलाई नियमित र व्यवस्थित गर्नु हो। कार्यालयमा यतिबेला दुई जना कर्मचारी मात्र छौँ। कार्यालय प्रमुख र म। अन्नपूर्ण पदयात्रामा आउने विदेशी पर्यटकले यस कार्यालयमा आएर आफ्नो अभिलेख दर्ता गराउनु पर्छ। तर कतिपय पर्यटक यहाँ नआइ सिधै माथि जान्छन्। त्यही कारण हाम्रो अभिलेख सतप्रतिसत सही हुन सकेको छैन। तलपट्टी माथि जाने अर्को पनि बाटो छ। दर्ता नगराई पदयात्रामा जानेको चेक जाँच गर्न जनशक्तिको अभाव छ। गएको फागुनमा १००० विदेशी पर्यटक आएको रेकर्ड छ हामीसंग। कोरोना महामारीले पर्यटक आगमनमा समेत ठूलो प्रभाव पार्यो। कोरोनाभन्दा पहिले एकै महिनामा तीन हजार पर्यटक आएको रेकर्ड छ,’ टोम कासीले सुनाइन्।  

जति माथि लाग्यो उति समथर रहेछ मनाङ। हिँड्न सक्नेहरू त्यही बाटो तिलिचो तालका साथै थोराङ पास हुँदै मुस्ताङ जाँदा रहेछन्। प्राकृतिक सौन्दर्यको अपार खानी हो मनाङ। मनाङको सुन्दरताको वयान शब्दमा सम्भव छैन। गुरूङ, लामा, पुनेल लगायत अल्प संख्यामा दलित समूदायको बसोवास रहेको मनाङ बाह्रै महिना ठण्डी हुने क्षेत्रमध्येको एक हो। त्यसैले जुनसुकै महिनामा किन नहोस् मनाङ यात्रामा जानेहरूले गरम कपडा बोकेर जानै पर्छ। बेशिसहर मनाङ रूटमा यात्रा गर्दा आधी दर्जनभन्दा बढी मनमोहक झरनाहरू हेर्न सकिन्छ। झरना प्रेमीहरूका लागि यात्राको सबैभन्दा उपयुक्त समय बर्षा ऋतु रहेछ। अक्टोपस झरनालाई त्यो रूटको अर्को सुन्दर झरना भन्न सकिन्छ। 

केही दशक अघिसम्म मनाङे महिलाले बख्खु, पुरुषले पाखी अनि दोचा नामक बाक्लो जुत्ता लगाउँथे। अहिले भने धेरै मनाङेहरूले परम्परागत पोशाकको सट्टा ज्याकेट, सुइटर, सर्ट पाइन्ट लगाउँदा रहेछन्। भतिज कैलासका अनुसार आजभोलि बख्खु, पाखी नार–फु का बासिन्दाले मात्र लगाउँदा रहेछन्। नार–फु लाई ‘द लस्ट भ्याली अफ नेपाल’ पनि भनिँदोरहेछ।

मनाङको रमणीय प्राकृतिक छटाले मन मष्तिस्कको यावत तनाव द्रविभूत गरिरहेको थियो। फर्किने दिन आइहाल्यो। बैशाख तीन गतेको बिहान हामीले बेशिसहर जाने बोलेरो जिप पक्रियौँ। गाडीमा हामीबाहेक स्पेनी महिला र उनको नेपाली गाइड थियो। चालक बुद्धले यात्रालाई गन्तब्यसम्म सहिसलामत पुर्याउने जिम्मेवारी समालेका थिए। चालक बुद्ध हँसीमजाक गर्ने स्वभावका रहेछन्। उनी ड्राइभिङकै बीचमा रमाइलो गफ गरिरहन्थे। 

‘एअरपोर्ट छ, जहाज छैन। चौकी छ, चोर छैन। अदालत छ, मुद्दा छैन। सानोतिनो झैझडा गाउँले आफै मिलाउँछन्। मनाङको विशेषता यस्तै छ सर।’ बुद्धले ठट्यौली पारामा सुनाए। बाटोका ठाउँ–ठाउँमा स्थानीय सल्लाको मुढाबाट बनाइएका पुलहरू थिए। लाग्थ्यो ती पुल फलामे पुलजतिकै बलिया थिए। बुद्धले मुढे पुललाई सङ्केत गर्दै अर्को ठट्टा गरिहाले– ‘अर्गानिक ब्रिज !’ 

उनको ठट्टा सुनेर स्पेनी महिला लगायत हामी सबै मरिमरि हाँस्यौँ।  दुई दिनअघि परेको पानीले यात्रालाई पहिलेभन्दा असहज बनाइरहेको थियो। तर चालक बुद्धले गर्ने हाँसीमजाकले असहजतालाई सहजतामा रूपान्तरण गरिदिन्थ्यो। यस्तै रमाइलो वातावरणका माझ दिनको तीन बजे हामी लमजुङ जिल्लाको सदरमुकाम बेशिसहर पुग्यौँ। जिपबाट उत्रँदा नजिकै मुहम्मद रफीले गाएको कर्णप्रिय गीत गुञ्जिरहेको थियो– 

आदमि मुसाफिर है, आता है जाता है 

आतेजाते रस्ते मेँ, यादे छोड जाता है 


प्रकाशित: May 7, 2022 | 10:55:13 काठमाडौं, शनिबार, वैशाख २४, २०७९

तपाईं को प्रतिक्रिया

तपाईं को प्रतिक्रिया

ट्रेंडिंग

धनगढीको गेटालाई अलपत्र पारेर देउवाको गृहजिल्लामा नयाँ मेडिकल कलेज किन?

आर्थिक वर्ष २०७३/०७४ बाट गेटामा कलेज निर्माण थालिएको थियो। मेडिकल कलेज पूर्वाधार निर्माण विकास समितिका कार्यकारी निर्देशक हेमराज पुजाराका अनुसार मेडिकल कलेजमा पूर्वाधार निर्माणको काम ९० प्रतिशत सकिएको छ।

स्थानीय सरकार हाँक्ने नारीशक्ति

अहिले चुनिएका महिला प्रमुख मध्ये कोही यसअघि पनि पालिका हाँकिसकेका छन्, कसैले उपप्रमुखको जिम्मेवारी सम्हालेका छन् भने कोहीले अघिल्लो निर्वाचनमा पराजय भोगेका थिए।

कोअर्डिनेटरले यौन दुर्व्यवहार गरेको भन्दै सेन्ट लरेन्स कलेजका विद्यार्थी आन्दोलित

कलेजकै कोअर्डिनेटर जनार्दन अधिकारीले कक्षा ११ को छात्राहरूमाथि यौन दुर्व्यवहार गरेको भन्दै विद्यार्थीले प्रदर्शन गरेका हुन्।

दमकको धक्काले झापामा हल्लिएन एमाले, माओवादी 'निल'

देशभर एमालेलाई बढार्न माओवादीलगायतका पाँच दलहरुलाई वैशाखी बनाएको कांग्रेसले कचनकवलमा भने राप्रपालाई पारस्त गर्न एमालेलाई वैशाखी बनायो। झापामा एमालेलाई परास्त गर्न राप्रपासँग पनि तालमेल भएको छ। यी तथ्यहरुलाई केलाएर हेर्दा दलका सिद्धान्त र विचारको सबैभन्दा ठूलो मजाक झापामा बन्‍यो।

काठमाडौंको १ लाख ३७ हजार मत गनियो, बालेनको फराकिलो अग्रता कायमै

स्थानीय तह सदस्य निर्वाचन २०७९ अन्तर्गत काठमाडौं महानगरपालिकामा करिब १ लाख ९० हजार मत खसेकोमा आज साँझसम्ममा १ लाख ३७ हजार ४५२ मत गनेर सकिएको छ।

भरतपुरको मतगणना स्थगित

एमालेका ती प्रतिनिधिलाई प्रहरीले नियन्त्रणमा लिएको र एमालेले उनको रिहाइ नभएसम्म मतगणना स्थगित भएको निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ।

भरतपुरमा अब १४ हजार मत गन्न बाँकी, कसको मत कति?

रेनुले ४५ हजार ८८७ मत प्राप्त गर्दा नेकपा (एमाले)का विजय सुवेदीले ३४ हजार ९९३ मत प्राप्त गरेका हुन्। स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले १३ हजार ९३७ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

राप्रपा बन्ला राष्ट्रिय दल?

स्थानीय निर्वाचनको लोकप्रिय मतमा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जसपा, लोसपासँगै राप्रपा छ। राप्रपाले पाइरहेको मत हेर्दा अबको संघीय निर्वाचनबाट राष्ट्रिय पार्टी बन्ने सम्भावना देखिन्छ।

भलिबलमा भविष्य खोजिरहेका धीरज, जसलाई खेलबाटै देशको शीर उँचो पार्नु छ

१६ वर्षकै उमेरदेखि भलिबल खेल्न सुरु गरेका धीरजले राष्ट्रिय टिमको जर्सीमा खेल्ने सपना भने साकार पार्न सकेका छैनन्। तर, जीवनको एक कालखण्डमा राष्ट्रिय टिमको जर्सी लगाएर खेल्ने उनको सपना मजबुत बन्दै गइरहेको छ।

काठमाडौं महानगरमा १ लाख २८ हजार मतगणना हुँदा कसले कति पाए?

पछिल्लो गणनाअनुसार प्रमुख पदमा स्वतन्त्र उमेदवार बालेन्द्र साह (बालेन)को अग्रता थप फराकिलो बनेको छ। उनले ४३ हजार ८५० मत पाएका छन्।

थप समाचार

नेपाल समय
ब्लग

रुकुमको सोती घटना पछ्याउँदा

रुकुम पश्चिम चौरजहारी नगरपालिका वडा नम्बर ८ सोती गाउँ भेरी नदी किनारमा भएको घटनाको नागरिक तहबाट स्वतन्त्र रुपमा स्थलगत अध्ययन, अवलोकन र सरोकारवालाहरुसँग छलफल र अन्तरक्रिया समेत गरी घटनाको वास्तविकता सत्य तथ्यमा आधारित रहेर प्रतिवेदन सार्वजनिक गर्ने गरी अध्ययन टोली बुटवलबाट त्यहाँ पुगेको थियो।
नेपाल समय
ब्लग

प्रश्नले पनि अन्याय गर्दैछ बलात्कार पीडितलाई

संसारमा महिला र पुरुष प्राकृतिक रूपमा विशिष्ट भिन्नतासहित निर्मित छन्। पुरुषको अंग स्वयं पुरुषको इच्छा तथा मानसिकता विपरीत (बलात्कारमा) प्रयोग गर्न सम्भव छैन। त्यसैले नेपाली समाज अर्थात् दक्षिण एसियाको बलात्कारको जुन कन्टेन्ट छ, त्यसको प्राथमिक कारण शारीरिकभन्दा बढी मानसिक संरचना हो।
नेपाल समय
ब्लग

भरतपुर मतगणनामा जे देखियो

रमाइलो के थियो भने भरतपुरको मतपरिणाम कुरेर बसेकाहरु प्रत्येक मिनेटमा काठमाडौं महानगरको मतपरिणामबारेमा चासो देखाउँथे। कतिपयलाई भरतपुरको भन्दा काठमाडौंमा बालेनले के गर्लान् भन्ने चासो थियो। बालेनको अग्रता हुँदा प्रतीक्षारत युवाहरू धेरैजसो हौसिन्थे।
नेपाल समय
ब्लग

गाउँमा चुनावी 'दलदल'

सायद ‘दलदल’मा नफसेको मान्छे भेट्न अहिले गाह्रो छ। दलदलमा फस्नेहरुबीच बोलचाल नै बन्द हुने स्थिति छ। कसैको झगडा परेको त कतै हात मिचामिचको स्थितिसम्म बनेका खबर साथीहरुले सुनाइबस्छन्।
नेपाल समय
ब्लग

बिस्केक उपसंहार

हामीले म्याक्सिम गोर्कीको विश्वप्रसिद्ध पुस्तक ‘आमा’बारे केही बेर चर्चा गर्यौं। त्यो किताबले विश्वका धेरै मानिसलाई कम्युनिस्ट बनाएको मानिन्छ।

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

House -138, Suruchi Marg, New Baneshwor, Kathmandu, Nepal
फोन : +977-1-4790242 / +977-1-4790040
इमेल : nepalsamayanews@gmail.com
  • प्रबन्ध निर्देशक
    तरुणप्रताप शाह
  • प्रधान सम्पादक
    नारायण अमृत
  • महाप्रबन्धक
    जीवन तिम्सिना