सोमबार, माघ ३, २०७८

स्वर्गै हो श्रीअन्तु

विनय सापकोटा  |  काठमाडौं, शनिबार, कार्तिक १३, २०७८

विनय सापकोटा

विनय सापकोटा

शनिबार, कार्तिक १३, २०७८, काठमाडौं

नेपाल समय

इलाम- इलाममा जन्मेहुर्के पनि श्रीअन्तु गएकै थिइनँ। अरुबाट सुनेको थिएँ। फोटोमा देखेको थिएँ।नजिकको तीर्थ हेलाँ भनेजस्तै घरबाट अढाई घण्टाको तीर्थ पुगेको थिइनँ।

पर्यटकहरु श्रीअन्तुमा झुल्केघाम हेर्न झुत्ती खेल्दै आइपुगे पनि म भने कहिल्यै पुग्न पाएको थिइनँ।केटौले उमेरमा कसैले कहाँ हो श्रीअन्तु? भनेर सोध्दा ‘हे हाम्रै घरमास्तिरहो नि’ भनियो होला तर आफैं भने पुगिएनछ। इलाममै हुँदा वास्ता भएन तर काठमाडौं आएपछि कसैले ‘कस्तो छ श्रीअन्तु भनेर?’ नसोधिदिए पनि हुन्थ्योझैं लाग्थ्यो।

धेरै जमर्कोपछि यो वर्ष मौका मिल्यो, त्यहाँ जाने। त्यो पनि पहिला तय भएको तिम्बूपोखरी जाने योजना तुहिएपछि।नेपालको पाँचथर, ताप्लेजुङ र भारतको सिक्किमसँग सीमा जोडिएको तिम्बुपोखरीजान जाडोको कारण गोठतल झरिसकेको सूचना पाएपछि त्यता जाने योजना रद्द भएको थियो।

अनि ठूलोबाकाछोरा कृष्णमणि र मश्रीअन्तु जाने भयौं। खासै टाढा त होइन। बरबोटेको विब्ल्याँटे बजारबाट साढे एक घण्टामा छिपिटार अनि त्यहाँबाट एक घण्टामा श्रीअन्तु।दिउँसो कन्यामको रोमाञ्चकता हेरेर मात्र अन्तु जानेदाजुभाइको सल्लाह भयो।

‘भर्खर पौने १२ बज्दैछ साढे १ मा त कसो कन्याम नपुगिएला?’ कृष्णमणिले भन्यो।

‘पुगिएला तर कति घण्टा डुल्न पाइएला त कन्याम ?,’मैले भने।

‘धेरै ढिलो भयो भने समय कम गर्नुपर्छ।’


 ‘अनि पाथिभरा नि?’

‘नजाऔं, आज भ्याइँदैन।’

‘ओके छ त,’ अन्तिममा मैले कुरा टुंग्याएँ।

दिउँसोको १२ बजे छिपिटारलाई छोडेर दुई किलोमिटर अघि बढ्यौं। भर्खरै पिच गरिएको बाटो, विभिन्न जातजातिका भेषभूषामा सजिएका युवायुवती साथै चिया, छुर्पी, ललिपप, अकबरेले भरिएका पसलले चियाबगानले कन्याम सजिएको थियो।

अहिले त सो ठाउँको प्रचार गर्न सूर्योदय नगरपालिकाले अंग्रेजी शब्दमा ठूलाठूला अक्षरले आकर्षक ढंगमा ‘कन्याम’ लेखिदिएको छ। जहाँ धेरै टिकटकर्सले भिडियो बनाइहेका हुन्छन्।


 ती सबै दृश्यलाई आँखा र क्यामेरामा कैद गर्दा घडीले पाँच हान्यो। घाम डुब्यो। भोलिपल्ट त्यही घामलाई श्रीअन्तुको डाँडाँबाट हेर्नु पर्नेछ। अब त्यताको बाटो तताउनु पर्ने भयो।

चिया खाँदै गर्दा पसलमा कुरा हुँदै थियो।‘तपाईंहरु श्रीअन्तु पनि जानुहुने ?’ बासना आइरहेको चिया चलाउँदै पसले दिदीले सोधिन्।

‘झुल्के घाम हेरौं भन्छ भाइ,’ कष्णमणिले मतिर हेर्दै भन्यो।

‘अहिलेसम्म त गाडी पाइएला। चिया पिएर गइरहाल्नुहोस् बरु,’ उनले सुझाइन।

‘बाटो कस्तो छ?’

‘अहिले त राम्रो छ नि’

‘रिजर्भ जानुहुन्छ त ?’उनले फेरि सोधिन्।

‘महँगो पर्ला नि!’

‘यो नम्बरमा फोन गर्नु त,’ उनले नम्बर दिइन्। डायल गरेँ। फोनमागाडी नभेटे रिजर्भ जाने सल्लाह भयो।

हामी छिपिटार फर्कियौँ। छिपिटार फर्कनटेम्पो ड्राइभरले श्रीअन्तु जाने टेम्पो मिलाइदिए। हामीले त कन्याममै ढिलो गरिसकेका रहेछौं। अबेर भएपछि गाडी नपाइने रहेछ। यद्यपी भाग्यले साथ दियो।


समालबुङकै एक दाइ कन्याम–फिक्कल टेम्पो चलाउँदा रहेछन्।उनी अर्का टेम्पोचालकसँग घर फर्कने कुरागर्दै थिए।कुरा गरेको त अघिन फोनमा कुरा भएको महोदय पनि उहाँ नै हुँनुहुँदो रहेछ। तर कसैको नाम भने सोधिएनछ। ब्लग लेख्दैगर्दा पो त्यो कुराको हेक्का रह्यो।

दशैंको समय भएर पेट्रोलपम्प रित्तै! ड्राइभर दाइ गनगनाउँदै थिए, ‘पम्पमा नि छैन। कतै पसलमा पनि छैन। कसरी जाने होला त अन्तु।’

छिमेकी मुलुक भारतमा नेपालभन्दा पेट्रोलको भाउ महंगो भएका कारण सीमावर्ती बजार फिक्कलमा भारतीयहरु पेट्रोल भर्न आउने रहेछन्।

यहाँका केही व्यापारीहरु बोतलमा भरेर उता लगेर पनि बेच्छन रे।यद्यपि उनले फोनफान गरेर पेट्रोलको जोहो गरे। अनि साँझ हामी मेची राजमार्गलाई छोडेर हामी पूर्वतिर लाग्यौं।


रात छिप्पिँदै गयो। सिद्धिखोलालाई छोडेर हामी अघि बढ्यौँ। अनि दुई सय भाडा लिएर हामीलाई श्रीअन्तुको भन्ज्याङ्मा छोडेर ड्राइभरदाइ आफ्नो गन्तव्यमा लागे। उनको घर पुग्न अझै निकै  समय लाग्छ रे। उनको घरबाट भारत पुग्न आघा घण्टा मात्र लाग्छ रे!

८ बज्नै लागेको रहेछ। मौसम निकै खुलेको छ, रिजर्भ गाडीमा आउने पर्यटक बाटोभरी छन्, बास नपइने त होइन?

अघिनै टेम्पोचालक दाइले यो शंका दुर गरिदिएका थिए। उनले एउटा फोन नम्बर दिँदै कोठा बुक गर्न सुझाए। त्यसैअनुसार गरेपछि मन शान्त भइसकेको थियो।

बुक गरेको झापाली होमस्टे थियो। एचेट बाथरुमसहितको कोठाको हजार रुपैयाँ, भेज खानाको दुई सय रुपैयाँ– रिसेप्सनमा बसेका एक जनाले रेट सुनाए। न महँगो न सस्तो।  हामीले हुन्छ भन्यौं।


फ्रेस भएर बाहिर निस्क्यौं। वरपर करिब ५० घरको चोक रहेछ। लगभग सबैमा होमस्टे। राती एकफेर चोकमा फन्को लागाएपछि थाहा भयो।

सीमा छेउमा रहेकाले त्यहाँबाट भारतका सिक्किम, मानेभञ्याङ, दार्जिलिङ, सिलिगुडी देखिने अनुमान लगाउन गाह्रो परेन। त्यहाँ बलेका ताराभन्दा बाक्लो झिलिमिलि बत्तिले रातमा दिपावली गरेको आभाष हुन्थ्यो।

सिरसिर हावाले कपाल फुरफुर उडाउँथ्यो, हात गोजीमा हालेर करिब आधा घण्टा हामीले ती बत्तिमा आखाँ डुलायौं। त्यत्तिकैमा फोन आयो।

‘हजुरहरु कता जानुभएछ। खाना तयार भयो,’ बोलावट आयो।


‘ए, हस। हामी आइहाल्यौं।’

जाडोमा तातो खाना। ओहो !

‘यहाँबाट डाँडामा पुग्न कति बेर लाग्ला?’ खाना खाएपछि त्यहाँका वेटरलाई सोधें।

उनले जवाफ दिए, ‘आधा घण्टा।’

‘कति बजे निस्किएठिक होला?’

‘तपाईंहरु बिहान पौने ४ बजे हिँड्दा हुन्छ।’

‘आधा घण्टा बाटोमा अनि घाम झुल्किनुभन्दा अघि नै पुगिसक्नु पर्छ।’

‘हुन्छ। धन्यवाद।’


०००

बिहान सबैरै उठ्यौं र लाग्यौं दुई भाइ उकालो। मोबाइलकाटर्चलाइट बालेर हिँड्ने मानिस टन्नै थिए। हामी पनि सामेल भयौं। करिब दुई किमि बाटो ग्रावेल गरेको त्यहाँभन्दा तल चाहिँ कालो पत्रे। विभिन्न ठाउँमा उक्किएको थियो।

ग्राबेल गरेको बाटोमा चाहिँ सवारी निषेध गरिएको रहेछ। हिँड्नै पर्ने। त्यहाँभन्दा माथि होमस्टे पनि रहेनछन्।

झाडी, बुट्यान र घाँससँगै सल्ला, उत्तीस, दुधिलोका रुखहरु बाटो वरिपरि थिए। बिहान झिसमिसे उज्यालोमा सल्लाका रुखले आकास छोपेर बनाएको कोणमाथिबाट तलसम्म देखिन्थ्यो। पहाडमा हिँड्न बानी परेका हामीले बाटोमा धेरैलाई जित्यौँ।

५ बजेर ५ मिनेटमा ५० रुपैयाँको टिकट काटेर डाँडामा छि¥यौं। थुम्कोमा भुइँभरी टाइल बिच्छ्याइएको मधुरो देखियो। साथमा टावर र वरिपरी सल्लाका रुख। पूर्वतिर रुखबीच शिखर डढेको जस्तो देखियो।

‘आहा!’ अनायासै मुखबाट फुत्कियो। सल्लाका बीचबाट देखिने त्यो दृश्य निकै रोमाञ्चक हुने रहेछ।

‘जाऔं माथि टावरमा,’ कृष्णमणिले भन्यो, ‘एकैछिनमा भरिन्छ फेरि ठाउँ पाइन्न।’

पछाडी आउँदै गरेका मान्छेको ज्ञान थियो हामीलाई। हामी उक्लियौँ। टावरबाट अझै स्पष्ट देखिने रहेछ। रातो शिखर माथिबाट क्रमशः घामका रोशनीहरु देखिन थाले, लाग्यो घामले बाटो बनाउँदैछ।

त्यसपछि आकाश निलो देखियो। मैले मनमनै भने, ‘आहा! पूर्वपट्टिको आकाश कति सुन्दर।’

सिलिगुडी बजारको बत्ति देखेर एक बालखले आफ्नो बाबुलाई भन्यो,‘बाबा! इन्डियामा जहिल्यै झिलिमली हुन्छ हो?’


त्यो बच्चाको बाबुले के उत्तर दिए मैले सुनिनँ। तर ती बत्तिक्रमशः उज्यालोले निल्दै थियो। जसरी घाम नेपाली भूमिमा प्रवेश गर्ने तरखरमा थियो त्यसरी मेरो उत्साह पनि बढ्दै थियो– कस्तो देखिएला त?

टावरमै थिए बुटबलबाट आएका एक पर्यटक।

‘कहिले आउनु भएको,’ मैले सोधेँ।

‘तीन दिन भयो,’ उनले जवाफ फर्काए।

‘अब फर्किने होला नि?’

‘होइन नि।’

‘अनि यतै बस्ने त?’ म हासेँ।

‘हाहाहा! त्यस्तो होइन हामी अब दार्जिलिङ, सिक्किम घुम्न जाने हो। इलाम आएपछि त्यति किन छोड्नु भनेर।’

‘आहो! शुभयात्रा। अनि यहाँको बसाई कस्तो भयो नि?’

‘बसाइ रमाइलो भयो। साथीहरु टन्नै छौं नि हामी। रमाइलो गर्यौं,’ उनले कुरा टुंग्गाए।

घाम झुल्किन लागेको ठाउँतिरको भिडियो २० मिनेटभन्दा लामो भइसकेको थियो। झुल्किएला, झुल्किएला, अब त झुल्किहाल्यो भन्दा भन्दै पौने छ बज्यो। झुल्किएन। त्यतिन्जेल हामीले पूर्वी आकाशमा खुब चमकधमक देख्यौं।

ठिक ५:४६ बजे सूर्यनारायणले दर्शन दिए। क्षितिजको केही माथिबाट उज्यालो रेखा देखियो। त्यो रेखामुनि अँध्यारो थियो। त्यो अँध्यारोको बिचबाट सूर्योदय हुने रहेछन्। पहिलो पटक सूर्योदय हेर्ने मान्छेका लागि त्यो दृश्य कल्पनाबाहिरको हुने रहेछ।


मैले चाहिँ सन्दकपुर र सिद्धिथुम्काबाट सूर्योदय अवलोकन गरिसकेको थिएँ। त्यसअर्थमा घाम झुल्किँदा देखिने दृष्यबारे हल्का जानकार थिएँ भनौं। यद्यपी श्रीअन्तुबाट देखिने दृश्य चाहिँ विषेश रहेछ।

उपस्थित सबै धन्य भए। त्यसलाई त ठ्याक्कै शब्दमा बयान गर्नै नसकिने। कसैले कोक्रोमा नानी हल्लिरहेको जस्तै भने। कसैले बल्दै गरेको कोइला निस्किएको जस्तै भने।

जसले जे देखे पनि त्यो अद्भुत थियो। र, त्यो हेर्नेको मनमा सँधै रहिरहनेछ।

घाम झुल्किएसँगै सबैले एकै स्वमा कराउँदा निकै रोमाञ्चक अनुभव हुने रहेछ। त्यो रोमाञ्चकता सायदै कसैले भुल्ला।

फर्किंदा गेटमा टिकट काटिरहेका दिपेन पुलामीलाई सोधेँ,‘आज कति जति दर्शक आगमन भयो?’

‘बिहान मात्र ४ सय जनाले भ्रमण गरे। दिउँसो पनि पर्यटकहरु आउँछन्,’ उनले भने।

उनीसँगै दुई जना टिकट काट्ननगरपालिकाको तर्फबाट बसेका रहेछन्। यो सिजनमा पर्यटकहरु धेरै भएमा टिकट काट्ने तीन जनासम्म बस्ने दिपेनले सुनाए।

उनले भने, ‘श्रीअन्तुमा हुने भनेकै आन्तरिक पर्यटक हुन्। अहिले पर्यटक आगमनको संख्या निकै राम्रो छ। अब सिजन लाग्दैछ। केही दिन भयो संख्या बढेको।’

श्रीअन्तुमा दिउँसो पनि फाट्टफुट्ट मान्छे आइरहने रहेछन्। यहाँबाट मुख्य हेर्ने भनेको सूर्योदय नै हो। त्यसबाहेकमलाई कञ्चनजङ्घा हिमालमा बिहानै टल्किएको घाम खुब मनपर्यो। यता भारतको सीमाना, तराईका भूभाग, टिस्टा नदीसम्म देखिने रहेछ। दार्जिलिङको विभिन्न ठाउँ, वस्ती, बजारहरु देख्न पाइने रहेछ। हेरेर नअघाइने।

कुराकानी चल्दै गर्दा दिपनेले भने, ‘यहाँ धेरै सल्ला, उत्तिस र यो उचाइमा हुने अन्य रुखहरु पाइन्छन्।’ उनका अनुसार श्रीअन्तुमा देशका सबै भेगका पर्यटकहरु आउने गरेका छन्। पूर्वदेखि पश्चिमसम्मका मानिस यहाँ आउने गरेका छन्। भारतको पश्चिम बंगालदेखि धेरै आउँछन्।

दिपेनले सुनाए, ‘कहिलेकाहिँ दिल्लीका मानिस पनि आउँछन्।’ अहिले सूर्योदय नगरपालिकाको पहिलो प्राथमिकता नै पर्यटकीय स्थल बनाउनु रहेछ।


उनले डाँडामुनिको बाटोबारे भने, ‘अहिले बाटो पनि भर्खरै सोलिङ गरिसकेको छ। त्यसलाई प्राकृतिक नै राख्ने भन्ने हिसाबले त्यसलाई पेलेर गिटी राख्ने अनि सिधा र हिँड्न सजिलो बाटो बनाउने योजना छ।’

दिपेसँगको कुराकानीपछि भक्का पखाएको खुब मजाले हेरेँ। एउटा खाएँ पनि। स्थानीय महिलाहरु भक्का बनाउन ठिक्का पारेको पिठो किनेर पकाउँछन् रे।

मैले अघिबाटै पर उभिइरहेको घोडा हेरिरहेको थिएँ। ‘दाइ घोडा के को लागि,’ मैले सोधेँ।

घोडाका मालिकले जवाफ फर्काए, ‘यहिँ आउने पर्यटकका लागि नि भाइ। चढेर तल जान र फोटो खिच्न पाइन्छ।’

‘चढेर फोटो खिचेको कति? अनि तलसम्म गएको कति हो नि?’

‘फोटो खिचेको चाहिँ २५ रुपैयाँ। अनि तलसम्म पुगेको ३०० मात्र।’

मैले चढाइदिन अनुरोधर गरेँ। अनि फोटो लिएँ। पछि लाग्यो– तलसम्म आएको भए पनि हुने रहेछ। लाग्यो– घोडामा चढेर कन्याम, समालबुङ, फिक्काल अनि उत्तर बंगाल हेर्दै फर्कन थप स्वादिलो हुन्थ्यो होला।

खास ठाउँमा गरेको हर्कत पनि खास नै लाग्ने रहेछ।ती पलहरु अझै मानसपटलमा सुन्दर रुपमा सजिएका छन्।


 फर्किँदा कृष्णमणिले साथी भेट्यो र गफिन थाल्यो। ‘के छ हौ खबर ?’ उसको पहिलो प्रश्न थियो।

‘ठिकै छ हौ,’ जवाफ आएको थियो।

‘अनि ढिलो गरेर आइयो त।’

‘अनि होटेलमा राती साथीहरुसँग बसेर रमाइलो गरियो। बिहान त उठ्नै सकिएन नि।’

‘हाहाहाहा!’

‘अब यसो घुमेर आउने हो। गको ल?’

‘हुन्छ,’ कुरा टुंगियो।

साथी उकालो लाग्यो, हामी ओरालो झर्यौं। उसले नसुन्ने भएपछि कृष्णमणिले भन्यो,‘भनेपछि केटाहरुले टन्नै रक्सी पिएछन्। बिहान उठ्नै नसक्ने गरी।’

म फिस्स हासेँ र मानिसहरुको भीड हेर्नमा व्यस्त बनेँ। त्यहि मेसोमा ओराला लाग्यौं।

अब हामीलाई पोखरी हेर्नु थियो। बाटो नभुलिईकन फर्कन मनै नमान्ने। कहिले कुन दृश्यले तान्छ त कहिले कुन डाडाँले। बाटोभरि कञ्चनजंघा हिमालले चिहाइरने रहेछ। उकालो चढ्दा लागेको समयभन्दा आघा घण्टा धेरै बाटो वरपर डुलिएछ।

बल्ल, भञ्याङ् नजिकैको पोखरीमा पुगियो। एक हुल मान्छे चिया पिएर पोखरी र चिया बगान हेरिरहेका थिए।

एक हुल घोडसवार गरिरहेका थिए। केही मानिस पोखरी हेरिरहेका थिए भने कोही चाहिँ फोटो खिच्नमै व्यस्त देखिन्थे। त्यसैमध्यको एक हल हामी चाहिँ केही बेर टिकटक बनाउनमा व्यस्त रह्यौं। बिहानीको घाममा जतैबाट खिचे पनि फोटो राम्रो नै आउने।


 पोखरी वरिपरि थुप्रै कटेज रहेछन्। ती कटेज हेरेपछि लाग्छ– यहाँ त एक दिन बस्नै पर्छ। बगानकै एक सुन्दर कटेजमा एक रात बास बसेको कति रहेछ? ‘तीन हजार रुपैयाँ,’ कटेजका एक जनाले जवाफ दिए। चियाका बुट्यानबीच निकै आकर्षक ढंगले बनाइएको थियो त्यो कोठा।

त्यहाँ वरिपरिका चिया बगान स्थानीय व्यापारीहरुकै रहेछन्। पोखरीमा बोट पनि थिए। तर कोभिड महाभारीपछि चल्न सकेका रहेनछन्। बोटहरु सबैथोत्रिएका थिए। त्यो हेरिसक्दै गर्दा फोन आयो। अनि फोनमा खाना खाने सूचना।

खाना खाएर हामी गएकै बाटो भएर फर्कियौँ। त्यसको केही दिनमा दशैं थियो। दसैंमा अविरल वर्षाका कारण सिजनमा केही दिन पर्यटन आवागनमा बाधा पर्यो। वर्षा रोकिएपछि फोटो हेर्दै जाने क्रममा मिराज रिसोर्टलखेको फोटो देखा पर्यो। जहाँ फोन नम्बर पनि थियो।त्यसमा फोन लगाएँ। उनले अहिले कोभिडको महामारी घटेपछि विस्तारै पर्यटकको संख्या बढ्दै गएको जानकारी दिए।

अनि पछिल्लो हप्ता आएको अविरल वर्षाले कस्तो प्रभाव पार्यो नि? जवाफमा उनले भने, ‘धेरै पर्यटक अलपत्र परे। आउँदै गरेका पर्यटक पनि वर्षाले आउन नपाएको गुनासो यहाँ आउने मानिसले सुनाउँदै थिए।’


तर चर्चित होटेलहरु भरिए पनि सबै होमस्टे र होटेल नभरिएको उनले जानकारी दिए। ‘कतिपय त खाली पनि रहेछन्। एकदुई जनाले मलाई सुनाउँदै थिए। तर धेरैजसो चाहिँ भरिएकै छन्,’ उनले जानकारी दिए।

खैर जो होस्। मैले श्रीअन्तु नजिकबाट देखेँ। त्यहाँ किन देशभरिबाट मानिस आउँछन् भन्ने कुरा नजिकबाट बुझेँ। त्यसैले अब कसैले श्रीअन्तु गएको छस्?भनेर प्रश्न गर्यो भने धकाउनु पर्दैन। र, अब चाहिँ गर्वले छाति ठोकेर भन्न सक्छु श्रीअन्तु स्वर्गै हो।


प्रकाशित: October 30, 2021 | 07:40:00 काठमाडौं, शनिबार, कार्तिक १३, २०७८
विनय सापकोटा

विनय सापकोटा

काठमाडौं, शनिबार, कार्तिक १३, २०७८

थप समाचार

यस कारण जोगाऔं रैथाने बिउ र वनस्पति

डार्बिनको बाँच्नका लागि संघर्ष एवं अनुकूलता र छनोटको सिद्धान्तबाट जीव तथा वनस्पति सधैं तनावमा रहन्छन् भन्ने कुरा बुझ्न सकिन्छ। आनुवंशिक तथा उत्परिवर्तनले जीव र वनस्पतिबीच अस्तित्वको संघर्ष रहिरहन्छ।

मलाई एक्स नभन्‍नु है!

आधा घण्टाको 'व्यग्र' र 'लामो' प्रतीक्षापछि उनी आइपुगिन्। लाजले होला उनका गाला राता देखिन्थे। फोनमा घन्टौं गफिने उनी भेटमा एक शब्द बोलिनन्। केवल कर्के आँखाले हेरिन्।

बाटो बिराएका पूर्वशिक्षक प्रचण्डको एउटा ठूलो भ्रम

एउटा छविलालले बाटो बिराउँदा समाजले ठूलो मूल्य चुकाउनुपरेको छ। वाध्यताबस देशका लाखौं युवाले बाटो बिराएर कोही अरबको खाडी पुगेका छन् त कोही पूर्ण रुपमा अमेरिका, अस्ट्रेलियातिर हराएका छन्।

अब त मुख खोल एमाले युवा

पुस्ता हस्तान्तरणको बहस गर्न नेपाली राजनीतिक नेतृत्व संकीर्ण छ। व्यवहारमा उतार्नुपर्ने बेला यो शब्द झन् राजनीतिक 'ट्याबू' बन्छ। नेपालका राजनैतिक नेतृत्व वर्गको क्रिर्याकलाप हेर्दा अपवादबाहेक मृत्युपछि मात्र पद छाड्ने मनशाय भेटिन्छ।

आर्थिक संकटले ‘रोएको’ त्यो चार महिना [हिमालयशमशेरका ती दिन]

म सानो छँदै मेरी आमाको मृत्यु भयो। तर मलाई हेला हुन्छ भनेर मेरो बुबाले म १२ वर्षको नपुगुन्जेल दोस्रो विवाह गर्नुभएन। मेरो लालनपालन धाई आमाले गर्नुभएको थियो। मेरा वरिपरि नोकर चाकर, आठपहरिया र ड्राइभरहरु हुने गर्थे।

हाम्लाई पनि मायाले हेर ऋषि दाइ!

ऋषि दाइसित मेरो अहिलेसम्म कुनै पनि सुमधुर सम्बन्धका डोरीहरू बाटिएका छैनन्। तथापि, सदैव म उनको विशिष्ट फ्यान भए पनि उनले त्यसलाई कहिल्यै पर्वाह भने गरेनन्।

ट्रेंडिंग

नेपाल समय
राजनीति

गगन र विश्वप्रकाशः संघर्ष कि सहकार्य?

यसअघि प्रश्न गर्ने ठाउँमा रहेका उनीहरु अब उत्तर दिने ठाउँमा आइपुगेका छन्। त्यसकारण अबको चार वर्ष उनीहरुको अग्निपरीक्षा हुनेछ।
नेपाल समय
शिक्षा

आयोगको परीक्षामा उमेर हद हटाउन राहत शिक्षकको माग

नेपाल राहत शिक्षक केन्द्रीय कार्यसमितिले शिक्षक सेवा आयोगले खुलाएको विज्ञापनमा राहत शिक्षकका लागि उमेरहद हटाउन माग गरेका छन्।
नेपाल समय
समाज

भत्क्यो मण्डला : त्यो घर जहाँबाट दयाहाङ 'स्टार' बने

‘कला र सिर्जनामा सिंगो शक्ति खर्चिएका थियौं। कलाकारको सपनामात्रै होइन मण्डलासँग जोडिएको इतिहास पनि भत्केझैं लाग्छ।’
नेपाल समय
संवाद

एमसीसीमा परराष्ट्रलाई बाइपास गरियो, नेताहरूले नै जनतालाई भ्रमित पारे : प्रा.डा. खड्ग केसी [अन्तर्वार्ता]

एमसीसीमा परराष्ट्र मन्त्रालयलाई बाइपास गरिएको छ भनेपछि कति गैरजिम्मेवार रुपमा यसलाई अघि बढाइएको होला त? एमसीसी हस्ताक्षर हुने समयमा परराष्ट्रलाई सोध्‍नु पर्दैन? अर्थ मन्त्रालयमा मात्रै त्यो विज्ञता थियो?
नेपाल समय
श्रृंखला

पेन्सनपट्टासँगै विगत बन्यो सैनिक हिरासतमा मैले पाएको यातनाको कथा [भिडियोसहित]

नेपाल समयले उनका विषयमा ‘गनले अन्याय, गनले न्याय’ शीर्षकमा श्रृंखलाबद्ध रिपोर्टिङ गरेको थियो। लवकुमार गुरुङले जागिर छाडेपछि हाम्रा सहकर्मी अनिल यादवसँग सुनाएको आफ्नो यातनाको कथा जस्ताको तस्तैः

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

House -138, Suruchi Marg, New Baneshwor, Kathmandu, Nepal
फोन : +977-1-4790242 / +977-1-4790040
इमेल : info@nepalsamaya.com nepalsamayanews@gmail.com
  • प्रबन्ध निर्देशक
    तरुणप्रताप शाह
  • सम्पादकीय निर्देशक
    मुमाराम खनाल
  • प्रधान सम्पादक
    नारायण अमृत
Copyright © 2022. Design & Development by Cn’C