मंगलबार, कार्तिक २, २०७८
  • गृहपृष्ठ
  • ब्लग
  • शोक र त्रासमा बाँचिरहेकाहरूसँग साक्षात्कार गर्न खोज्दा...

शोक र त्रासमा बाँचिरहेकाहरूसँग साक्षात्कार गर्न खोज्दा...

भानु बोखिम  |  काठमाडौं, शनिबार, असोज १६, २०७८

भानु बोखिम

भानु बोखिम

शनिबार, असोज १६, २०७८, काठमाडौं

नेपाल समय

दोस्रोपटक जाजरकोट सदरमुकाम पुग्दा भदौका अन्तिम दिन बित्दै थिए। कामको प्रकृति उस्तै भए पनि यो यात्रामा केही फरक जिम्मेवारी थियो। फरक यो अर्थमा कि यसपालिको काम मेरै अगुवाइमा भइरहेको थियो। अक्सर पहिलेका यस्ता यात्रा कुनै संस्था वा कार्यालयका नाममा हुन्थे। यात्रा झण्डै १० महिनाअघि अंकुराएको परिकल्पनालाई पूरा गर्नमा केन्द्रित थियो- जातीय विभेदका नाममा मारिएका युवाबारे एक वृत्तचित्र बनाउने।

यात्रामा थिए जीवनप्रकाश शेर्मा र केभिन अर्याल। जीवन र मैले इटहरीको जनता बहुमुखी क्याम्पसमा दुई दशकअगाडि प्रवीणता प्रमाणपत्र तह अध्ययन गरेका थियाैं। आज पनि ऊ इटहरीमै व्यापार व्यवसाय गरेर बसेको छ। सायद जीवन हुँदैन थियो भने वृत्तचित्र निर्माणका लागि जाजरकोट पुगिँदैन थियो। केभिन अर्याल बाँचेका नवराजको साथीहरु, मर्नेहरुको आँसु र पीडालाई क्यामेरामा कैद गर्न पुगेका थिए। ऊ दृश्य लिने विभिन्न कोणका बारेमा सोचिरहेको हुन्थ्यो। 

जाजरकोटमा चार दिन बिताउँदा हामी तीनै जनाले जवान सन्तान र पति गुमाउनेको आशा, निराशा र आँसु देख्यौं। उनीहरूको आँसु र दुःख हामी स्वयंले भोगेका त थिएनौं तर उनीहरूको पीडाले कताकता हामीलाई पनि दुख्यो। उनीहरु एकसाथ गरिब र दलित हुनुको पीडा भोगेको महसुस गरिरहेका थिए। यहाँबाट योजना बनाएमुताबिक प्रायः सबैलाई भेटियो अनि कुराकानी गरियो। हामीले भेटेकामध्ये विरलैको मात्र आँखा रसाएका थिएनन्। यसका निम्ति जाजरकोटको खलंगा र मटेला अनि रुकुमको चौरजहारी पुगियो। आफन्तले आँसु र आशाका कथा सुनाइरहँदा नवराजका बाँचेका साथीहरू भने बोल्न मानिरहेका थिएनन्।

 रुकुमपश्चिममा २०७७ जेठ १० मा मारिएका सन्दीप विककी आमा।

नवराज विक एक ऊर्जावान् युवक थिए। उनी भलिबलका राम्रा खेलाडी पनि थिए। खेल खेल्दै जाजरकोटका विभिन्न ठाउँमा हिँड्दा उनी एक ठकुरी युवतीको प्रेममा परे। तर नवराजले युवतीबाट निरन्तर माया पाउन सकेनन्। जात व्यवस्थाको संरचना रहेको समाजमा माया लगाउँदा नवराज मारिन पुगे। २०७७ जेठ १० गते नवराज १८ जना साथी लिएर प्रेमिकालाई भगाउन रुकुमको सोतीगाउँ गएका थिए। तर नवराज र उनका पाँचजना साथीलाई स्थानीयले लखेटी–लखेटी मारे। अन्य १२ जना कुटपिटमा परे। 

नवराजका बुबाले पहिले नै फोनमार्फत इन्द्रजंगलाई हामी आएको जानकारी गराएका थिए। हाम्रै सामुन्ने पनि फोन गरेर तर अर्कैले उठाएर भन्यो- ‘इन्द्रजंग गाउँ डुल्न गया छ।’

बाँचेकाहरूमा एक किसिमको चिडचिडाहट र त्रास देखिन्थ्यो। उनीहरु मिडियामा ती घटनाको कुरा गर्न चाहँदैन थिए। मैले इन्द्रजंग शाहसँग कुरा गर्न खोजेको थिएँ। जसको घर नवराजको घरदेखि नजिकै थियो, माथितिर हेर्दा १०० मिटरको दुरीमा। नवराजका बुबाले पहिले नै फोनमार्फत इन्द्रजंगलाई हामी आएको जानकारी गराएका थिए। हाम्रै सामुन्ने पनि फोन गरेर तर अर्कैले उठाएर भन्यो- ‘इन्द्रजंग गाउँ डुल्न गया छ।’ 

तर त्यसपछि तलबाट ऊ घरबाट निस्केर हिँडेको देखियो। ऊ घरमै थियो तर हामीसँग बोल्न चाहिरहेको थिएन। करिब आठ–नौ महिनाअघि जाँदा पनि नवराज हत्याकाण्डमा बाँचेका युवाले बोल्न आनाकानी गरेका थिए। सम्झाई–बुझाई गरेपछि इन्द्रजंग मात्र बोल्न तयार भए। यसपालि त उनी पनि तर्किंदै हिँडिरहेका थिए। 

‘म त जातभात नमान्ने भएकैले नवराजको साथी गएको हुँ’, त्यो बेला उसले भनेको थियो, ‘तर समाजले सानो, ठूलो जात भनेकै कारण यस्तो घटना भयो।’

उनीहरु बोल्न नचाहनुमा त्यहाँका मानिस अनेकन् अड्कलबाजी गर्थे। कोही धेरै बोल्दा अझै पनि हमला हुन्छ भनेर डराएका छन् भन्थे। कोही उता माओवादी नेता जनार्दन शर्मा नै लागेकाले यिनीहरूलाई लोभलालच देखाएका छन् भन्थे। त्यसपछि पनि इन्द्रजंगलाई फोन गरी नै रह्यौं। पछि त नवराजका बुबाको मोबाइलबाट गरेको कल उठ्नै छाड्यो। नवराजको घरमा बस्दाबस्दै पहिलोपटक भेटेको बेला इन्द्रजंग शाहको नम्बर लिएको कुरा सम्झें। मोबाइलमा चेक गर्दा इन्द्रजंग शाह जाजरकोट लेखिएको थियो। इन्द्रजंगको नम्बर डायल गरेर कालीबहादुर नेपालीलाई मेरो फोन थमाए। कालीबहादुर जाजरकोटमा कार्यरत पत्रकार हुन्, जसले हाम्रो त्यहाँको काममा सहयोग गरिरहेका थिए। 

‘इन्द्रजी, म कालीबहादुर नेपाली भन्ने मान्छे हुँ’, कालीबहादुरले भने, ‘काठमाडाैंबाट सरहरु आउनुभएको छ। तपाईंसँग कुराकानी गर्न खोज्नुभएको छ।’

‘म व्यस्त छु। भ्याउदिनँ।’

‘साँझतिर आउनू न, रम्भा होटलतिर’, कालीबहादुरले अनुरोध गरे। 

‘म पछि फोन गरौंला, तर भ्याउन गाह्रो छ।’

नवराजको घरमा भर्खरै देखिएका इन्द्रजंगका भाइले दाइ घरमै छ भनेका थिए। त्यही भएर हामीले मैले फोन गरेर कालीबहादुरलाई बोल्न लगाएका थिएँ। उनी कुनै नियमित काममा आबद्ध थिएनन्। उनले चाहेको भए हामीसँग कुरा गर्न फुर्सद नै फुर्सद थियो। तर उनले चाहिरहेका थिएनन्। त्यो दिन अरूसँग कुराकानी गरेर हामी होटल फर्कियौं। 

इन्द्रजंगझैं घटनामा घाइते भएका अर्का थिए गोविन्द शाही। उनी खलंगाबाट करिब आठ–नौ किलोमिटरमा रहेको मटेलामा बस्थे। नवराजका बुबाले उनी साँझतिर खलंगा आउन सक्छन् भनेका थिए। तर साँझसम्म पनि उनी आएनन्। त्यसपछि मैले इन्द्रजंग शाहलाई नै फोन गरे अनि पहिलो भेट सम्झाउँदै भोलि बिहान रम्भा होटलमा चिया खान बोलाए। तर उनको जवाफ अघि कालीबहादुर नेपालीलाई दिएजस्तै थियो। तैपनि उनी बिहान चिया खान आउँछन् कि भन्ने झिनो आस राखें। 

भोलि बिहान ७ः३० बजेतिर इन्द्रजंग शाहको नम्बर डायल गरें। ‘हेलो’ उताबाट आवाज आयो। ‘इन्द्रजी, के छ खबर?’ मैले सोधें। 

‘इन्द्र सुर्खेत गइगया’, उताबाट जवाफ आयो। 

‘तपाईं को बोल्नु भो त?’ 

‘म इन्द्रका बुबा।’ 

इन्द्रजंग त्यहीं छन् भन्ने प्रमाण त्यही मोबाइल फोन थियो। अहिलेको समयमा कोही पनि सेलफोन घरमा छोडेर टाढाको यात्रामा निस्कँदैन। भुलेर जान सक्ने सम्भावना हुन सक्छ। तर उसले अघिल्लो दिनदेखि गरेको बहानाबाजीले फोन भुलेको हैन भन्ने निश्चित थियो। 

अन्तिम दिन पत्रकार महासंघका अध्यक्ष बालकुमार शर्माले सरोज भडेललाई भेटाउने भए। उनी पनि नवराजसँग गएका थिए। उनी कार्यरत खंलगाकै एक फर्निचर पसलमा गएर भेटियो। सुरुमै बोल्न आनाकानी गरे तर पछि तयार भए। 

‘नवराज मेरो भाइ जस्तो हो’, सरोजले भने, ‘बिहे गर्छु भन्यो। भाइको बिहा हुन्छ भने जाऊ न त भने। तर नवराज फर्किएर आएन। अरू पनि मरे। हामी पनि मुस्किलले बाँच्यौं।’

ऊ दबिएको आवाजमा बोलिरहेको थियो। उसको आवाजले यो विषयमा बोल्न नचाहेको जनाउँथ्यो। त्यहाँ गरिएका कुराकानीमध्ये सबभन्दा छोटो कुराकानी सरोजसँगको भएको थियो। प्रायः सबै प्रश्नको उत्तर उनले एक वाक्यमा टुंग्याइदिन्थे। सरोजसँगको कुराका आधारमा भन्दा हत्याकाण्डमा बाँचेकाहरु अझै पनि त्रसित छन्। त्रासकै कारण बोल्न हिच्किचाउँछन्। तर कतिपयले शंका गरेझैं लोभलालचमा परेर मुख बन्द गर्न खोजेका भने हैनन्।  

घटनामा राजनीति जोडिएपछि अझ त्रास बढेको हो। यो घटना हुँदा रुकुम पश्चिमबाट निर्वाचित सांसद जनार्दन शर्माले संसदमै नवराज विकहरुलाई भेरीले बगाएको भनेका थिए। घटनामा नवराजसहित गणेश बुढा, सन्दीप विक, लोकेन्द्र सुनार, टीकाराम सुनार र गोविन्द शाही मारिएका थिए। 

माओवादीले गरिब र दलितका निम्ति १० वर्ष जनुयद्ध गर्‍यो। तर त्यही जनयुद्धबाट स्थापित एक नेताले दलित र गरिबलाई थप पीडा थियो। मारिनेका आफन्तले जनार्दन शर्माबाट यो कुराको अपेक्षा गरेका थिएनन्। 

‘हाम्रो छोरालाई भेरीले बगाया, जनार्दनले काठमाडाैंबाट कसरी देख्यो?’ मरेका ६ मध्ये अधिकांशका आफन्तले यही प्रश्न सोधेका थिए। 


रुकुमपश्चिममा २०७७ जेठ १० मा मारिएका गणेश बुढामगरकी आमा।

काठमाडाैंबाटै सुन्दा जनार्दनको दाबीमा सत्यताको अंशमा देख्न सकिएला। तर जाजरकोटमै पुगेर सुन्दा यो पूर्णतया असत्य साबित हुन्छ। मर्ने ६ युवा भेरीमै खेल्दै हुर्किएका थिए। उनीहरुलाई हिउँदको शान्त भेरीले त परै जाओस्, बर्खामा उर्लेको भेरीले पनि बगाउन गाह्रै पर्थ्यो। उनीहरु मारिएको जेठ १० गतेसम्म भेरी उर्लिसकेको थिएन। ‘हाम्रा छोरा बाह्रैमास भेरी खेल्न्या हुन्’, लक्ष्मी विक भन्छिन्, ‘जेठको महिना कसरी बगेर मर्छन्?’

सायद यो प्रश्नको उत्तर जनार्दनसँग पनि छैन। तर जनार्दनको दाबीले यो घटनामा राजनीतिक रङ लाग्यो। घटनाका दोषीहरु माओवादी भएकाले जनार्दनले बचाउन खोजे भन्ने बुझाइ छ पीडितको। माओवादीले गरिब र दलितका निम्ति १० वर्ष जनुयद्ध गर्‍यो। तर त्यही जनयुद्धबाट स्थापित एक नेताले दलित र गरिबलाई थप पीडा थियो। मारिनेका आफन्तले जनार्दन शर्माबाट यो कुराको अपेक्षा गरेका थिएनन्। 

नवराज विक हत्याकाण्डको मुद्दा अदालतमा विचाराधीन छ। केही आरोपित धरौटीमा छुटेका छन्। यो एउटा अदालती प्रकृया हो। तर जनार्दनको दाबीको कारण धरौटीमा छुटेका माथि पनि पीडितको शंका छ। भन्छन्, ‘उनेरु दोष लाग्या भए पनि निस्केर आइग्या छन्, हाम्रा लग्याहरु कहिले आउने नाइँ’। 


प्रकाशित: October 2, 2021 | 14:13:24 काठमाडौं, शनिबार, असोज १६, २०७८
भानु बोखिम

भानु बोखिम

काठमाडौं, शनिबार, असोज १६, २०७८

थप समाचार

राष्ट्रपति सडकमा देखिँदा श्रद्धाले झुक्न पाउने कहिले?

हाम्रा राष्ट्रपति, प्रधानमन्त्रीहरु सडकमा देखिँदा हाम्रो आधा शरीर श्रद्धाले आफैं निहुरियोस्। गाडीमा हाम्रा सम्माननीयहरु हुइँकिँदा सडकको किनारामा उभिएर परर्र ताली पड्काउन पाइयोस्। मोबाइल झिकेर उनीहरुको फोटो कैद गर्ने रहर पलाओस्।

देशभित्रका 'शरणार्थी'हरु!

अलमल छ जीवन, जीविका र भविष्य! पीडा र विपत्तिको विषम परिस्थितिहरुमा पनि जनता आफैंले उठ्नुपर्छ, राज्य नामको जिनिसबाट कुनै सहयोग पाउँदैन भने उसले राज्यलाई आफूले सक्दा आफ्नो पसिनाको केही भाग राज्यको निमित्त किन छुट्टयाउने?

'बर्ड वाचिङ' मा कीर्तिमान बनाएकी फिबीको प्रेरणादायी कथा

आफ्नो पुस्तक ‘बर्डिङ अन अ बरौड टाइम’ मा उनले चराप्रतिको लगावलाई क्यान्सरको मृत्यु चेतावनीबाट भएको बताएकी छन्। ‘मान्छेका लागि बर्डिङ धेरै कुरा हुन सक्छ तर मेरा लागि भने यो जीवनमरणको कुरा थियो,’ उनले भनेकी छन्।

डब्लूटीओबाट नेपाल अलग हुनै सक्दैन

साफ्टा त निष्क्रियजस्तै भइसकेको छ। भारत–पाकिस्तान द्वन्द्वका कारण सार्कका सबै गतिविधि रोकिएको अवस्था छ। बिमस्टेक सुरु भएको २३–२४ वर्ष भयो। तर कार्यान्वयन भइरहेको छैन।

सामाजिक छैनन् सामाजिक सञ्जाल

अनगिन्ती समस्याको जडका रुपमा सामाजिक सञ्जाललाई लिइए तापनि यसको उपयोग गरेमा फाइदैफाइदा पनि त छन्। डिजिटल दुनियाँ भएकाले यसकै माध्यमबाट व्यापार, व्यवसाय तथा दैनिक जीवनलाई सहजीकरण गर्नेहरु पनि छन्। कैयौं छुटेका सम्बन्ध जोडिएका पनि छन्।

ट्रेंडिंग

नेपाल समय
समाज

४४ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा १७ वर्षीय किशोर पक्राउ

४४ वर्षीया महिलालाई बलात्कार गरेको अभियोगमा बन्दीपुर गाउँपालिका-२ पौवा बस्‍ने १७ वर्षीय किशोर पक्राउ परेका छन्।
नेपाल समय
शिक्षा

१२ पछि के पढ्ने? यस्ता छन् विकल्प

१२ पछि के पढ्ने? विकल्प धेरै छन् भविष्य खोज्दै विद्यार्थी
नेपाल समय
फुटबल

साफ फाइनलमा नेपाल भारतसँग पराजित

साफ च्याम्पियनसिपअन्तर्गत शनिबार माल्दिभ्सको राजधानी मालेमा भएको फाइनलमा भारतले नेपाललाई ३–० गोलले पराजित गर्दै उपाधि जितेको हो।
नेपाल समय
फुटबल

साफ फाइनल : नेपालको सुरुवाती ११ सार्वजनिक

गोलरक्षकमा कप्तान किरण चेम्जोङले नै निरन्तरता पाएका छन्। डिफेन्डरतर्फ अनन्त तामाङ र दिनेश राजवंशीले सेन्टर डिफेन्स तथा विंगब्याकमा गौतम श्रेष्ठ र सुमन अर्याल खेल्नेछन्।
नेपाल समय
विदेश

दुर्गा पूजा पण्डालमा तोडफोडपछि बंगलादेशमा हिंसात्मक प्रदर्शन

बंगलादेशमा दुर्गा पूजा पण्डालमा तोडफोडपछि बंगलादेशमा हिंसात्मक प्रदर्शनहरु भएका छन्। शुक्रबार हिन्दु मन्दिर र दुर्गा पूजा पण्डालमा तोडफोड भएपछि राजधानी ढाका र नोआखालीमा प्रदर्शनहरु भएका हुन्।

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

House -138, Suruchi Marg, New Baneshwor, Kathmandu, Nepal
फोन : +977-1-4790242 / +977-1-4790040
इमेल : info@nepalsamaya.com nepalsamayanews@gmail.com
  • प्रबन्ध निर्देशक
    तरुणप्रताप शाह
  • सम्पादकीय निर्देशक
    मुमाराम खनाल
  • प्रधान सम्पादक
    नारायण अमृत
Copyright © 2021. Design & Development by Cn’C