सोमबार, माघ १६, २०७९
विभाजन रेखा

विघटित नेकपाको भग्नावशेषमा हराएको एमाले

मुमाराम खनाल  |  काठमाडौं, बुधबार, भदौ २, २०७८

मुमाराम खनाल

मुमाराम खनाल

बुधबार, भदौ २, २०७८, काठमाडौं

नेपाल समय

कहिलेकाहीं इतिहासप्रति मजाक गर्ने पात्रलाई इतिहासले यस्तो क्रूर मजाक गर्छ कि भाग्नका लागि पनि समय र ठाउँ पाउँदैन। समयले हानेको निर्मम थप्पड सहेर सोही ठाउँमा बसिरहन बाध्य पार्छ। र, बाध्यताको बन्धनमा जकडिएर इतिहासप्रति मजाक गरेको पात्र आफैं मजाकको पात्र बन्छ।

प्रसंग, इतिहासमा ‘विघटित नेकपा’ भनेर दर्ज भइसकेको नेपाल कम्युनिस्ट पार्टीको एकता र त्यसको विभाजनकारी शृंखलाको हो। सम्पूर्ण पार्टीपंक्तिलाई गुमराहमा राखेर एमाले र माओवादीका दुई शीर्ष नेताहरूले अँध्यारो कोठामा टुंग्याएको पार्टी एकताले नेकपालाई विघटन गरिसकेको छ भने एमालेलाई समेत विखण्डनतर्फ लगेको छ। 

यो आलेख तयार गर्दागर्दै नेकपा एमालेसमेत विभाजित भएको छ। भाग्यशाली नेपालीले अर्को नयाँ र समाजवादी एमाले नामको पार्टी पाएका छन्। यसै पनि नेपालमा कसैले राजनीतिक दल ठूला र बलिया बनाए भनेर उत्साहित बन्न आवश्यक छैन। किनकि उनीहरूले दलभन्दा झन् ठूला र अझ जटिल समस्या सँगसँगै बनाइरहेका हुन्छन्। त्यसैले एमाले विभाजनको परिघटनालाई नेकपा विघटनको भग्नावशेषबाट उडेको स्वाभाविक राजनीतिक धुवाँ ठान्नुपर्छ। 

नेकपाको एकतामा सम्मिलित केपी शर्मा ओली र पुष्पकमल दाहालले दुवैजना सँगसँगै अध्यक्ष बन्ने र पालैपालो प्रधानमन्त्री बन्ने सर्तमा पार्टी एकता गरेका थिए। उक्त परस्पर व्यक्तिगत स्वार्थको एकतालाई ‘बलियो कम्युनिस्ट पार्टी र स्थिर सरकार निर्माण गर्ने’ सुन्दर राजनीतिक भाष्य दिइएको थियो। विडम्बना! दुई पार्टी मिलेर ‘बलियो कम्युनिस्ट पार्टी’ बनाउने एकता तीनवटा पार्टी बनेर भत्किँदैछ। उता ‘स्थिर सरकार निर्माण गर्ने’ सपना संघीयदेखि प्रदेश सरकारसम्म भताभुंग र लथालिंग भएको छ।

विभाजनको बीजारोपण

नेकपाको आजको टुटफुट र विभाजनको बीजारोपण त्यसै दिन भएको थियो, जुन दिन ओलीले सर्तबमोजिम दाहाललाई प्रधानमन्त्री सुम्पिन अस्वीकार गरेका थिए। यसै बिन्दुबाट आरम्भ भएको नेकपाको आन्तरिक कलहले बितेको एक वर्षमा नेपालको राजनीति, संसद् र सरकारको त्रिपक्षीय समीकरणमाथि कल्पनासमेत गर्न नसकिने दुष्परिणाम निम्त्याएको छ। ६ महिना अवधिमा दुईदुई पटक संसद् विघटनसँगै ओली सरकारको अवसानसमेत भएको छ। ओली सरकारको अवसानपछि उक्त विघटनकारी सरुवा रोग ओलीको आफ्नै पार्टीमा सरिसकेको छ। 

ओलीले जसरी अत्यधिक बहुमतसहितको सरकार र बलियो नेकपालाई बचाउन सकेनन् त्यसरी नै एमाले पनि बचाउन सकेनन्। ओलीले एमाले विभाजन गरेर आफ्ना विरोधीलाई नेकपा जिम्मा दिने उदेश्यले गत वर्ष वैशाख ८ गते दल विभाजनसम्बन्धी अध्यादेश ल्याएका थिए। त्यति बेला दल विभाजनका लागि संसदीय दल वा केन्द्रीय समितिमा ४० प्रतिशत हुनुपर्ने संख्यालाई ओलीले ३० प्रतिशत भए पुग्ने गरी प्रस्ताव गरेका थिए। तर आफ्नै पार्टीभित्र र बाहिरबाट समेत व्यापक दबाब परेपछि ओली उक्त अध्यादेश फिर्ता गर्न बाध्य भएका थिए। 

अर्को विश्मयकारी कुरा, उति बेला ओलीले ल्याएको अध्यादेशको विरोध गरेका सबै शक्ति मिलेर अझ विकृत रूपमा सोही अध्यादेश फेरि फर्काइएको छ। अध्यादेशमा पार्टी विभाजनका लागि संसदीय दल वा केन्द्रीय समितिको २० प्रतिशत सदस्य मात्र भए पनि पुग्ने गरी प्रस्ताव गरिएको छ। प्रस्ट छ, यो अध्यादेश एमालेको विभाजनमा माधव नेपाललाई वैधानिकता दिन ल्याइएको हो। अर्कोतिर, जनता समाजवादी पार्टीको अल्पमतमा परेर दलविहीन बन्न पुगेका महन्थ ठाकुर समूहलाई समेत राहत दिने उद्देश्य पनि सँगसँगै छ। 

एमालेको माधव नेपाल समूहलाई स्थायित्व नदिँदासम्म सरकारको स्थायित्वसमेत हुँदैन। त्यसैले प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी नेता पुष्पकमल दाहालको प्रस्ताव र अन्य सरकार समर्थक दलहरू तथा माधव नेपालसमेतको सहमतिमा अध्यादेश तयार गरिएको हो। 

एमालेको माधव नेपाल समूहलाई स्थायित्व नदिँदासम्म सरकारको स्थायित्वसमेत हुँदैन। त्यसैले प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी नेता पुष्पकमल दाहालको प्रस्ताव र अन्य सरकार समर्थक दलहरू तथा माधव नेपालसमेतको सहमतिमा अध्यादेश तयार गरिएको हो। हिजो आफैंले ओलीविरुद्ध मोर्चाबन्दी गर्दा उरालेको मुद्दालाई अझ विकृत बनाएर अध्यादेश ल्याउँदा न त ओलीको पार्टीसँग विरोध गर्न सक्ने नैतिकता छ, न गठबन्धन दलहरूसँग वकालत गर्ने आधार। 

तर पनि एमालेको छटपटीलाई सरकारको छटपटीसम्म संक्रमण नहोस् भनेर सरकार जतिसकै अप्रिय आलोचना र विवाद मोलेर भए पनि अध्यादेश ल्याउने निर्णयमा पुग्यो। एमाले विभाजनमार्फत सरकारलाई बलियो पार्ने प्रधानमन्त्री देउवाको उद्देश्य हो भने ओलीलाई कमजोर पारेर नेपाल समूहसँग पार्टी एकता गर्ने दाहालको। यसरी केपी ओलीले बीजारोपण गरेको विभाजनको बिउ एक वर्षमै झाँगिएर उनको घर नै भत्किन पुगेको छ।    

एमालेको छटपटी 

जतिसुकै अप्रिय भए पनि बरु सजिलोसँग मानिस मरेको हेर्न सकिन्छ। तर लामो समयसम्म पीडाले छटपटिएको हेर्न कठिन हुन्छ। केही समयदेखि पार्टी एकता र विभाजनको दोबाटोमा छटपटिएको नेकपा एमालेको दयनीय अवस्था हेर्न जोकसैलाई कठिन भएको थियो। उपचारका सबै विधि अपनाउँदा पनि एमालेको राजनीतिक क्यान्सर निको हुनुभन्दा झन् झन् पूरै शरीरमा फैलिँदै गयो। अर्थात्, एमाले आज मृत्युको नजिक छ। 

एमालेको राजनीतिक जीवन र मृत्युको बीचमा कोरिएको विभाजन रेखाले पूरै मुलुकको राजनीतिक परिदृश्यलाई उथलपुथल पारिदिएको छ। एमाले एउटा यस्तो उभयचर दल बनेर संसदीय राजनीतिको मानचित्रमा देखापर्‍यो, जसको कम्मरदेखि टाउकोसम्मको भाग प्रतिपक्षतर्फ छ भने कम्मरदेखि खुट्टासम्मको भाग सत्तापक्षतर्फ। यस्तो विरोधाभासभित्र बाँचेको राजनीतिक दलको छटपटी मुलुककै राजनीतिक छटपटीको एउटा अप्रिय अंश बनेको छ। 



मुलुकमा एमाले मात्र एउटा यस्तो पार्टी हो, जसको गाउँदेखि नै तहगत शुभचिन्तक, समर्थक, सदस्य, कार्यकर्ता र नेताहरूको भीमकाय पिरामिड आकारको संगठन छ। र, उक्त पिरामिड संगठन एमालेसँग सम्बद्ध सम्पूर्ण व्यक्तिहरूको आर्थिक उपार्जनसहित तलदेखि माथिसम्म जोडिएको छ। यद्यपि एमालेको यस्तो आर्थिक उपार्जनसहितको संगठन राज्यदोहनको मूल स्रोतमा आश्रित छ। तैपनि संगठित शक्तिका हिसाबले यसको प्रभाव राष्ट्रिय राजनीतिमा उल्लेखनीय छ।

गत वर्ष ठीक यही बेला विघटित नेकपाका एकजना प्रभावशाली नेता मित्र घनश्याम भुसालले कान्तिपुर दैनिकमा एउटा चर्चित लेख लेखेका थिए। लेखको शीर्षक थियो– ‘नेकपा : बाँच्नका लागि एक मात्र बाटो, यसै पनि घनश्याम भुसाल कम्युनिस्ट पार्टी र त्यसको ढाँचाबारे रोचक र घोचक लेखनमा प्रसिद्ध छन्। एमालेको छटपटीलाई घनश्यामको उक्त लेखबाट टिप्पणी गर्दा विषयवस्तु बुझ्न केही सजिलो हुनेछ।   

मित्र भुसालले दाबी गरेको एक मात्र ‘प्रेसक्रिप्सन’ ले समेत नेकपालाई बचाएन। नेकपा मरेन मात्र, राजनीतिक रूपमा त्यसको अन्तिम संस्कारसमेत हुन पाएन। अर्थात् एउटा राजनीतिक पार्टीले अराजनीतिक मृत्युवरण गर्नु थप दुःखदायी घटना बन्न पुग्यो।

तर अपशोच, मित्र भुसालले दाबी गरेको एक मात्र ‘प्रेसक्रिप्सन’ ले समेत नेकपालाई बचाएन। नेकपा मरेन मात्र, राजनीतिक रूपमा त्यसको अन्तिम संस्कारसमेत हुन पाएन। अर्थात् एउटा राजनीतिक पार्टीले अराजनीतिक मृत्युवरण गर्नु थप दुःखदायी घटना बन्न पुग्यो। एमाले बचाउने नाममा कतै भुसालले अर्को अचुक ‘प्रेसक्रिप्सन’ नदिऊन् जसको हालत फेरि नेकपाजस्तै होस्। 

विघटित नेकपा नामको ‘साम्राज्य’ लाई बचाउन नेकपासँग भएको राजनीतिक पुँजीलाई भुसालले यसरी व्याख्या गरेका थिए, ‘शब्दमा अहिले नेकपा नेपालको कम्युनिस्ट आन्दोलनका लागि एउटा विकसित साम्राज्यजस्तै हो। एउटा पार्टीका रूपमा यससँग के छैन ? सबै कुरा छ। संघीय संसद्मा कसैले हल्लाउनै नसक्ने बहुमत छ, झन्डै दुई तिहाइको। छवटा प्रदेशमा उस्तै बहुमतका साथ सरकार छन्। स्थानीय तहमा ‘कब्जा जस्तै छ।’

अझ अगाडि बढेर भुसालले लेखेका थिए, ‘भन्नका लागि ८ लाख त सदस्य नै छन्, हरेक ३७ जना नेपालीमा एक जना पार्टी सदस्य। मन्दिर व्यवस्थापन समितिदेखि वन, कुलापानी, टोल विकास, आमा समूह, विद्यालय व्यवस्थापन, वैदेशिक रोजगारी, कर्मचारी, ठेकेदार, कामदारलगायत समाजका सबै क्षेत्रको नेतृत्वमा नेकपाहरू छन्। ......पहिलो पुस्तासँगै हुर्केको संघर्ष, संगठन, सिद्धान्तका साथै समाज र राजनीतिका अनेकौं क्षेत्रमा स्थापित, सक्षम र आत्मविश्वासी दोस्रो पुस्ताका सयौं नेताहरूको पंक्ति छ। के छैन नेकपासँग?’ 

‘सबै भएको’ नेकपाको साम्राज्य ढलिसकेको छ। तर क्रूर समयको संयोग कस्तो परेको छ भने नेकपा बचाउन यति राम्रो र एक मात्र ‘प्रेसक्रिप्सन’ दिएका मित्र घनश्याम भुसालको राजनीतिक जीवन नै नेकपाको जस्तै दुर्घटना नजिक पुगेको छ। यो विडम्बनालाई भुसालले त अर्को कुनै लेखमार्फत ‘यसो यसो’ नभएकाले ‘यसो’ भएको हो भनेर आफ्नो सत्यताको थप प्रस्टीकरण लेख्लान्। तर नेकपाको दलीय साम्राज्य ढल्दा त्यसले लाछेको एमाले र माओवादीको बुट्यान सही सलामत ठडिन भने प्रायः असम्भव छ। अहिले एमालेको छटपटी यही हो।

भुसालले आफ्नो लेखमा उल्लेख गरेको दलीय साम्राज्यवाद नै नेकपा पतनको प्रमुख कारण हो भन्न भने उनले सकेनन्। किनकि उनी त्यही दलका नेता मात्र थिएनन्, उक्त दलीय साम्राज्यवाद निर्माणका नेताको नेतृत्वमा निर्मित सरकारका मन्त्री पनि थिए। त्यसैले उनले लेख्न नमिलेको वा नचाहेको वाक्यलाई पूरा गरिदिनु यहाँ मेरो मित्रवत् कर्तव्य पनि बन्छ। त्यो के हो भने नेकपा एमाले वा माओवादी– दलीय साम्राज्यवादको अहंकारले ल्याएको व्यक्तिवादी छटपटीको कहींं न कहीं पतन त अनिवार्य छ। 

दलीय साम्राज्य

वास्तवमा एमालेलाई दलीय साम्राज्यवादको केन्द्र बनाउन खोजेका केपी शर्मा ओली र माओवादीलाई दलीय साम्राज्यवादको केन्द्र बनाउन खोजेका पुष्पकमल दाहालको उद्देश्य एक्लाएक्लै पूर्ति हुन नसकेपछि दुई दलीय साम्राज्यवादलाई एक दलीय साम्राज्यमा बदलेर पालैपालो ‘सम्राट्’ बन्ने योजना बनेको थियो। र, कमरेड भुसाललाई पनि थाहा भएकै कुरा हो, कुनै नामुद बिचौलिया व्यापारीको घरमा सम्पन्न नेकपारूपी ‘साम्राज्य’ को जन्म पार्टीका नेता, कार्यकर्ता र सदस्यहरुको चाहना र छलफलबाट भएको थिएन।  

भुसालले भनेजस्तै ८ लाख पार्टी सदस्य (वास्तविक संख्या यसभन्दा बढी छ) हरूको बलमा निर्माण भएको नेकपारूपी साम्राज्यको जग कस्तो थियो? त्यो जग त्यस्तै थियो– जस्तो अहिले एमालेको भयो वा माओवादी केन्द्रको छ। वास्तवमा केही अपवाद छाडेर पार्टीका समर्थकदेखि शीर्ष नेतृत्वसम्म कुनै काम नगरीकन वा ‘साम्राज्य’ कायम गरेको पार्टीको बलमा राज्यदोहनको एउटा भीमकाय मेसिनका रूपमा रहेको थियो– नेकपा। जसरी अहिले एमाले र माओवादी केन्द्र छन्। मूलतः राज्यदोहनमा बाँचेको नेकपाको त्यही परजीवी संगठन नै समस्याको जड थियो र छ। 

नेकपा (एमाले/माओवादी) संगठनको जति विशाल साम्राज्य छ, त्यसले त्यति नै विशाल समस्याको साम्राज्य पनि बोकेको छ। यो एउटाबाट दुईवटा हुनु र दुईवटाबाट तीनवटा हुनुमा नेपाली नागरिकलाई केही पनि फरक पर्दैन।   

अहिले एमाले र माओवादी केन्द्रका नाममा दुई फ्याक भए पनि यसको चरित्र उही हो। यसले दिने परिणाम पनि उही हो। यसले गर्ने र गरिरहेको कर्म पनि उही हो। नेकपा (एमाले/माओवादी) संगठनको जति विशाल साम्राज्य छ, त्यसले त्यति नै विशाल समस्याको साम्राज्य पनि बोकेको छ। यो एउटाबाट दुईवटा हुनु र दुईवटाबाट तीनवटा हुनुमा नेपाली नागरिकलाई केही पनि फरक पर्दैन।   

भुसालको लेखले उल्लेख गरेको अर्को रोचक पक्ष छ। उनले लेखेका थिए, ‘मन्दिर व्यवस्थापन समितिदेखि वन, कुलापानी, टोल विकास, आमा समूह, विद्यालय व्यवस्थापन, वैदेशिक रोजगारी, कर्मचारी, ठेकेदार, कामदारलगायत समाजका सबै क्षेत्रको नेतृत्वमा नेकपाहरू’ थिए। अहिले एमालेमा छन्। अझ थप्न सकिन्छ, नपढ्ने विद्यार्थी, पढाउन नपर्ने शिक्षक र प्राध्यापक, काम नगर्ने मजदुर, व्यवसाय नभएका बिचौलिया व्यवसायी दजस्ता संगठनहरू पार्टी र समाज कब्जा गर्नका लागी हरहमेसा तयार भएर बसेका छन्। 

यस्तै संगठित शक्तिहरूलाई कब्जा गरेर अमुक नेता पार्टीको शीर्ष नेतृत्वमा पुग्छ। विभिन्न तहगत नेतृत्वमा पुग्छ। नेता, सांसद र मन्त्री हुन्छ। पूरै समाज र सामाजिक संस्था कब्जा गरेर बसेको यही संगठित जमातको बलमा नेतृत्वमा पुगेपछि उसैको सहयोग र स्वार्थमा काम गर्नुपर्ने बाध्यता उत्पन्न हुन्छ। पार्टीको तलदेखि माथिसम्म पार्टी र राज्यका पदहरूको बाँडफाँट हुन्छ। अनि यस्तै पदका आधारमा राज्यस्रोतमा समेत बाँडफाँट हुन्छ। 

पहिले पार्टीभित्र रहेका गुटका शीर्ष नेतृत्वबीचको बाँडफाँट सम्पन्न हुन्छ। त्यसपछि सोही अनुपातमा संगठनको तलदेखि माथिसम्म तहगत बाँडफाँटको उत्सव चल्छ। केही दिनसम्म पद पाउनेहरू उत्साहित हुन्छन् र नपाउनेहरू असन्तुष्ट। स्पष्ट छ, असन्तुष्टहरूले कम्युनिस्ट पार्टी र नेतृत्व सही नभएको, पार्टीमा विचलन आएको र सही कम्युनिस्ट बन्नका लागि के गर्नुपर्छ भन्ने खालका लेख लेख्छन्। लेख्न नजान्नेले रेडियो, टीभी वा चौबाटोमै भए पनि एकले अर्कोलाई गाली गर्छन्। कहिले एउटा त कहिले अर्को गुट सत्ता र शक्तिमा जान्छ, पात्रहरू यता वा उता पर्छन् तर पार्टीको चरित्र उही रहिरहन्छ।

आज एमालेभित्र देखिएको समस्या नौलो होइन। न त भुसालको लेख नै नयाँ हो। २०४६ सालको राजनीतिक परिवर्तनपछि संसदीय व्यवस्थालाई स्वीकार गरे यता सरकारमा जानु, मन्त्री बन्नु, चुनाव जित्नु, फेरि मन्त्री बन्नु र पुनः चुनाव जित्नका लागि कमाउनु एमालेका नेताहरूको राजनीतिक चक्र हो। मित्र घनश्याम भुसाल पनि यही चक्रका एकजना पात्र मात्र हुन्। नत्र लगातार तीन दशकदेखि स्वार्थको उही लयमा चलिरहेको पार्टीलाई भुसालले वर्षैपिच्छे ‘एमाले यसरी बाँच्छ’ र ‘एमाले कसरी मर्छ’ भन्दै उही कुरा दोहोर्याउने थिएनन्। 

भुसालले एमालेलाई ‘मर्नु न बाँच्नु’ को दोसाँधमा देखे पनि उनले त्यसको निरन्तर उपयोग गरिरहेकै छन्। अथवा अर्को वाक्यमा उनले एमालेलाई योगदान गरिरहेका छन् भन्न पनि सकिन्छ। तर एमाले पंक्तिमा माथिका दोहनकारी र शक्तिशाली लाग्ने संगठित मेसिनलाई प्रयोग गर्न जेजस्तो साम, दाम, दण्ड र भेद चाहिन्छ, त्यस अनुकूलको चरित्र उनको छैन। त्यसैले उनी आफूले जानेको र आफू अट्न सक्ने एमाले बनाउन चाहन्छन्। जो उनको लेखमा अभिव्यक्त हुन्छ। हिजोको नेकपाजस्तै आजको एमालेको राज्यदोहनकारी संगठन कब्जा गर्न भुसाललाई भन्दा पार्टी र व्यक्तिगत चरित्रको हिसाबले महेश बस्नेतलाई सजिलो हुन्छ। 

 नागरिक र राज्यलाई कमजोर बनाउने पार्टी भुसाललाई पनि बलियो चाहिएको छ। राज्यसत्तालाई बिना लगानीको उद्योग बनाउने दबंग बस्नेतलाई त पार्टी र सरकार बिना सास लिनसमेत गाह्रो हुनु स्वाभाविक छ।

यहींनेर भुसालको छटपटी बुझ्न सकिन्छ। किनकि एमालेभित्र रहेका यी दुवै प्रवृत्ति प्रकारान्तरले एउटै देखिन्छन्। नागरिक र राज्यलाई कमजोर बनाउने पार्टी भुसाललाई पनि बलियो चाहिएको छ। राज्यसत्तालाई बिना लगानीको उद्योग बनाउने दबंग बस्नेतलाई त पार्टी र सरकार बिना सास लिनसमेत गाह्रो हुनु स्वाभाविक छ। त्यसकारण एमाले, माओवादी वा कुनै अन्य दलको एकता र विभाजनमा नागरिकले कुनै हानि देख्दैन। उनीहरूलाई फरक पनि पर्दैन। त्यही दललाई उपयोग गरेर बाँच्नेहरुलाई मात्र दलीय साम्राज्यको विस्तारले अर्थ राख्ने हो। 

त्यसैले बस्नेतको हाँगो खोज्दै जाँदा केपी ओलीकहाँ पुगिन्छ भने भुसालको खोज्दै जाँदा माधव नेपालकहाँ पुगिएला। तर समस्याको जरोमा भने कहिल्यै पुगिँदैन। हिजो नेकपालाई ठूलो बनाइरहँदा भुसालले पनि समस्यालाई झन् ठूलो बनाइरहेका थिए। जसरी आज एमालेलाई ठूलो बनाउने नाममा समस्या झन् ठूलो बनाउन लागिरहेका छन्। एमाले एकता भएन र सानो तर परिणाममुखी पार्टी बनाउन घनश्याम भुसाललाई सजिलो हुनुपर्ने हो। तर किन आज उनी केपी ओलीलाई एकताका लागि हारगुहार गर्न बाध्य भए? 

धेरै वा थोरैको मात्र कुरा हो, भुसालसहित सम्पूर्ण एमालेजनलाई पार्टीको दोहनकारी संरचना र त्यसले निर्माण गरेको सामाजिक ‘इन्जिनियरिङ’प्रति कुनै गुनासो छैन। न त उनलाई यसको दलाल चरित्रसँग निर्णायक संघर्षको खाँचो छ। नत्र भुसालले बारम्बार इंगित गर्ने दलाल पुँजीवादको सबैभन्दा ठूलो साम्राज्य एमाले हो। र, त्यसका असल सारथी केपी ओली हुन्। त्यसपछिको साम्राज्य माओवादी र सारथी दाहाल हुन्। आसेपासे र दलाल पुँजीवादको सबैभन्दा अग्लो महल ढल्दा नागरिक चिन्तित हुनुपर्ने कुनै कारण देखिन्न। 

हुन त, लोकतन्त्रमा दलहरु बलिया बन्नु स्वस्थकर मानिन्छ। तर नेपाल अपवाद हो। नाम मात्रको औपचारिक लोकतन्त्रमा बलियो दल र नेता हुनु अझ बढी निरंकुशता, अधिनायकवादी र भ्रष्टाचारी हुँदो रहेछ। दलीय साम्राज्यको दलदलले न समृद्धि ल्याउँछ, न सुशासन। आपैंmले जताततै विभाजनको खेती गरिसकेपछि आआफ्नै सहयात्रीलाई सरापेर विभाजनको कुरूप उत्सव मनाउने समृद्ध वामपन्थी परम्परा मास्न पनि त भएन। 


प्रकाशित: August 18, 2021 | 18:21:45 काठमाडौं, बुधबार, भदौ २, २०७८

तपाईं को प्रतिक्रिया

ट्रेंडिंग

बक्स अफिसमा नयाँ रेकर्ड बनाउँदै पठान

फिल्मले सबैभन्दा छोटो समयमा ४ सय करोडभन्दा बढीको व्यापार गर्ने हिन्दी चलचित्रको रेकर्ड पनि कायम गरेको छ। चौथो दिनमात्र पठानले १०० करोडभन्दा बढीको बिजनेस गरेको छ।

रवि लामिछानेले लिए नागरिकता

लामिछानेले जिल्ला प्रशासन काठमाडौंमा अमेरिकी नागरिकता त्यागेको निस्सा पेस गरेपछि दोस्रो पटक नेपाली नागरिकता लिएका हुन्।

लाइन मिचेर नागरिकता लिन सीडीओ कार्यालय पुगे रवि

रवि लामिछाने नागरिकता लिन जिल्ला प्रशासन कार्यालय काठमाडौं पुगेका छन्। आइतबार दिउँसो १२ बजे उनी नागरिकता लिन सीडीओ कार्यालय पुगेका हुन्।

रविको राजीनामापछि रास्वपाको पहिलो बैठक बस्दै

राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति बैठक बस्ने भएको छ।

प्रथम सरस्वती कराते कपको उपाधी इचङुनारायण र ब्रह्मास्मी स्कुललाई

प्रथम सरस्वती कप सिनियर/जुनियरको उपाधी इचङुनारायण डोजो र ब्रह्मास्मी स्कुलले जितेको छ।

चितवन-२ मा उपनिर्वाचन हुने, अयोग्य ठहरिएका रवि चुनाव लड्न पाउलान्?

पुनः नागरिकता प्राप्त गरेसँगै चितवन क्षेत्र नम्बर २ मा अब हुने उपनिर्वाचनमा उनी सहभागी हुन सक्नेछन्। तर त्यसअघि अन्य कसुरमा उनीमाथि कारबाही नभएको अवस्थामा मात्रै उपनिर्वाचनमा उम्मेदवार हुन पाउने छन्।

मुक्तिनाथ बैंकका गार्डले सांग्रिलाको एटीएम फुटाउन खोजेपछि...

एटीएम फोडेर पैसा झिक्न खोज्ने एकजनालाई प्रहरीले शुक्रबार पक्राउ गरेको छ।

रविको राजनीतिक यात्रा: ६ महिनामा अविश्वसनीय छलाङ, अचानक उपलब्धि शून्य

उनले हासिल गरेका उपप्रधान तथा गृहमन्त्री र सांसद पद गएको छ। त्यतिमात्र नभएर उनी आफैंले ६ महिनाअघि गठन गरेको पार्टीबाट पनि उनी बेदखल भएका छन्। रविको आफ्नै शब्दमा भन्ने हो भने उनी अनागरिक भएका छन्।

डिल्लीबजारस्थित फ्युजन कन्सल्टेन्सीबाट तीन जना पक्राउ

डिल्लीबजारस्थित फ्युजन कन्सल्टेन्सीमा प्रहरीले छापा मारेर तीन जनालाई पक्राउ गरेको छ।

लोकदोहोरी गायक भीम पौडेलको निधन

लोकदोहोरी गायक भीम पौडेलको निधन भएको छ। स्याङजा खुदी घर भएका पौडेल लामो समयदेखि लोकदोहोरी गायनमा सक्रिय थिए।

थप समाचार

नेपाल समय
ब्लग

देउवाको आत्मझ्वाँक

‘राजनीतिमा जे पनि सम्भव हुन्छ, किनबेच चलिरहन्छ,’ देउवाले राजनीति पढाए आत्मालाई। ‘हुन त म पनि कति न बाँकी छु र अब? मै पनि बेचिएर, टुक्रिएर यत्रै त भइसकेको छु,’ आत्माले सानो चित्त बनायो।
नेपाल समय
ब्लग

मेस्सीले विश्वकप जित्दा खसेको आँसु

यो संस्मरण लेख्दै गर्दा छोरी ८ महिनाकी छिन् र उनी मस्त निदाइरहेकी छिन्। के उनले उनको देशले विश्वकप जितेको सपना देखिरहेकी छिन्?
नेपाल समय
ब्लग

असुरक्षित सडकको सिकार भएका महावीर

वैज्ञानिक समाजवादी पार्टीमा जोडिएपछि सेलिब्रेटी छविप्रतिको मोह घट्दै गएको थियो। समानता र विभेदको अन्त्य उनका अर्जुन दृष्टि थिए। उनको उद्देश्य र काम जात व्यवस्था अन्त्य गर्नेमा केन्द्रित थियो।
नेपाल समय
ब्लग

हिमालको काखबाट राष्ट्रिय खेलकुद नियाल्दा

प्रतियोगिताको दोस्रो दिन बिहान खासै इभेन्ट थिएनन्। ढिलो गरेर ११ बजे रंगशाला पुग्दा सबै साथीहरू त्यहीँ भेटिए। फेवातालको छालमा टल्किइरहेका घामका किरण, माछापुच्छ्रेलगायतका हिमालमा ठोक्किएका घाम किरण, सिरसिरे हावा, पोखरापारिका रमणीय गाउँ अनि नौला खेलाडी, व्यवस्थापक र दर्शक हेर्दै बिहान बितेको थियो।
नेपाल समय
ब्लग

अनि दसैं आउँथ्यो गाउँमा

घर लिपपोत गरेपछि पनि हाम्रो दसैंको चटारो सकिन्थेन। विद्यालय र घरको लिपपोतपछि बल्ल गाउँ सफाइ अभियान चल्थ्यो। मेरो गाउँ मगर समुदायको बाहुल्यता भएको क्षेत्रमा पर्छ। त्यसैले त्यहाँ सामूहिकता बलियो थियो।

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

House -138, Suruchi Marg, New Baneshwor, Kathmandu, Nepal
फोन : +977-1-4790242 / +977-1-4790040
इमेल : nepalsamayanews@gmail.com
  • प्रबन्ध निर्देशक
    तरुणप्रताप शाह
  • प्रधान सम्पादक
    नारायण अमृत
  • महाप्रबन्धक
    जीवन तिम्सिना