नेपालको दलीय विकासको परम्परा आफ्नो सामर्थ्य र क्षमताका आधारमा निर्माण भएको थिएन, बरु एकअर्काको सत्तोसराप, आलोचना र प्रतिक्रियाबाट निर्माण भएको थियो। उक्त विरासतलाई ओलीले गजबसँग प्रयोग गरे। र, पार्टी र मुलुकको शीर्ष स्थानमा पुगे।
भाग्यशाली नेपालीले अर्को नयाँ र समाजवादी एमाले नामको पार्टी पाएका छन्। यसै पनि नेपालमा कसैले राजनीतिक दल ठूला र बलिया बनाए भनेर उत्साहित बन्न आवश्यक छैन। किनकि उनीहरूले दलभन्दा झन् ठूला र अझ जटिल समस्या सँगसँगै बनाइरहेका हुन्छन्।
लोकतन्त्रको लामो इतिहास र बलियो संस्थागत अभ्यास भएका मुलुकमा समेत लोकतन्त्रको अवस्था चिन्ताजनक छ भने लोकतन्त्रको संस्थागत चरित्र विकास नभएको र व्यक्ति केन्द्रित दलीय संरचना भएको हाम्रो जस्तो मुलुकमा लोकतन्त्रका नाममा व्यक्तिवादी अल्पतन्त्रले शासन गर्नु कुनै आश्चर्य होइन।
लोकतन्त्रको प्रमुख चालक शक्ति भनेका राजनीतिक दल हुन्। राजनीतिक दलहरूको आन्तरिक लोकतन्त्र पारदर्शी र सुदृढ भए मात्र लोकतन्त्रले काम गर्ने हो। तर हाम्रो मुलुकका राजनीतिक दलहरू संस्थागत संरचनामा रहेर कुनै पनि निर्णय गर्न सक्ने अवस्थामा छैनन्।
एमाले र माओवादी केन्द्रको एकता वा विभाजनलाई उनीहरूको पार्टीगत मामिला भनेर उम्किन सकिएला। तर ओलीको संस्थागत अरुचि र स्वेच्छाचारिताले दिनप्रतिदिन लोकतन्त्रको संस्थागत संरचनामा आक्रमण हुनु गम्भीर विषय हो।
बाँच्नै नसक्ने भइसकेको नेकपालाई अतिरिक्त जीवन दिन खोज्दा परिस्थिति आजको प्रतिकूल दिनसम्म आइपुगेको हो। बरु ओलीलाई एमाले बनाउन सजिलो बनाइदिएको भए आज दाहाल–नेपालको राजनीति पनि अपेक्षाकृत सजिलो हुने थियो।