मंगलबार, मंसिर १३, २०७९

एउटा गहिरो सागरको छाललहर [निबन्ध]

नवीन अभिलाषी  |  काठमाडौं, शनिबार, असोज १५, २०७९

नवीन अभिलाषी

नवीन अभिलाषी

शनिबार, असोज १५, २०७९, काठमाडौं

नेपाल समय

शब्द नै ब्रह्म भए जस्तो, बीज नै प्रकृति भए जस्तो, के ईश्वर(?)को विराट, अनुपम र अपरम्पार शक्तिको एक बुँद मानिस हो? ईश्वर के हो? ईश्वर र मानवबीचको भेद के हो? बालुवाको कणमा भूस्वरुप दृष्टिगत भए जस्तो फगत एउटा मानिस के ईश्वरको रुप हुन सक्छ?  

अमिबादेखि नियोकर्टेक्स ब्रेनसम्म। अजीव अल्पदेखि 'होमो सेपियन्स'सम्म। प्राक्मानवदेखि बुद्ध, कृष्ण र जिसससम्म। साढे चार अर्ब वर्ष लामो आयुको यो पृथ्वीतल करोडौँ जीवात्माको समानघाट हो। यही चिहानघारीमा उभिएर एक झिल्को बराबरको मानव आयुमा सागर गैरेले किन बेचिरहेछन् रंगहरु? किन पढिरहेछन् किताबहरु?  

मलाई ऐरे गैरे मन पदैनन्। तर सागर गैरे मन पर्छन्। 

मानिस, ढुंगाहरुको भीडमा ढुंगै त हो। आँसुको थोपामध्ये एक बुँद। आकाशमा एउटा शून्यता थामेर उभिएको एक टुक्रा आकाशै त हो मान्छे। विशाल गोदामभित्र कतै कुनामा छुटेको एउटा धानको बियाँ त हो मानिस। तोरीको एउटा गेडा त हो, कोलमा पेलिनबाट छुटेको। 

तर यसकै पनि त कति दुःखहरु छन् संसारमा। हरे!  

आफ्नै दुःखहरु पहाड लाग्न थालेपछि म कोहलपुर भागिआएको। भाँडोबाट भुंग्रोमा खसेको म। लकडाउनले कोठा–कार्यालयमा कैद थिएँ। तर, किताबको सिरानीमा मैले स्वच्छन्द आकाशको सपना देखेँ।  

एक दिन सपनाकै भीडमा ‘लकडाउन’ नामकै किताबले मेरो ढोका हान्यो। यो किताब सागर गैरे नामक एक लेखक प्राणीले बाँचेर सिध्याएको समयको प्रेतात्मा मात्र थियो। यो संसारमा लाखौँ–हजार राजा महाराजाको इतिहास त इतिहासकै गर्तमा पुरिएको छ, यो मृत माटोमा सागर गैरेको संस्मरण मरण भैसकेको ठहर गर्दै थिएँ मैले? 

तर दुर्भाग्यवस, त्यो किताब मन पर्‍यो। 

माकुराको त कथा छ संसारमा, मान्छेको नहुने कुरै भएन। हजारौँ फूलहरुको मृत्युले एउटा पर्फ्युमको जन्म हुन्छ। त्यस्तै चार दशक लामो समयका प्रत्येक सेकेन्डको घाँटी अठ्याएर लेखेको किताब हो ‘लकडाउन’। संसार नै त्रासको कोठामा कैद भैरहेको बेला सागर गैरेले मोबाइलमा लेखेको किताब थियो त्यो।  

किताब बेच्ने तर, नलेख्ने लेखराम (चितवन) लाई सागरले लेखेको पत्र छ त्यसमा, ‘अहिले म एउटा किनारमा पुगेको छु, तपाई अर्कै किनारमा पुग्नु भएको छ, तपाईका अर्कै साथीहरु छन्, मेरा अर्कै। साथी बनाउनु पनि त मान्छेको सिर्जनशीलता हो।’ 

तर, मेरो जीवनमा साथीको कुनै कदर छैन। 

एक बिहान मैले कोहलपुर छोड्ने छु, सागर गैरे छुट्नेछन्। म त फगत बतासको एक झोक्का हुँ। हुन सक्छ, उनी मेरो स्मृतिको विशाल वृक्षबाट पात खसेजस्तै खस्ने छन् त्यो दिन। तर, कसैलाई आश्चर्य लाग्ने छैन।  

नेपाल समय

आकांक्षा ट्रेडर्सको निजी छतमुनि रंग घोल्छन् र लत्पतिन्छन् उनी। यो सिमेन्टकृत शहरमा पनि आफ्नो आँगनको टुक्रामा गुर्धौली रोप्छन् र फूलाएर आफै मुस्काउछन्। जारका बोटल काटेर बरपीपलका बिरुवा हुर्काउछन् र खोला खोल्सा अनि नदि किनारमा रोपी हिँड्छन्। 

अहिले आँगनकै फूलको बोटमा भँगेराले गुड लगाएको छ। सागरलाई छटपटी छ। चराको दम्पतीले झार बोक्छन, तर सागर थाक्छन्। पसलको काउन्टरबाटै नियाल्छन्, उठेर फोटो खिच्छन्, फेसबुकमा लेख्छन्। झरी पर्छ, प्लास्टिकको छानो हालिदिन्छन्। हाँगा, पात मिलाइदिन्छन् पनि। 

बन्दै गरेको गुडँ हेर्न कुन कुन चराहरु आए? उनीहरुले के भने? सागरले कपोलकल्पित कथा नै निर्माण गर्छन्। र सुनाउँछन् मलाई।  

यदि चराको आँसु हुँदो हो त, हर्षभावले रुँदो हो, सागरको स्याहार देखेर। 

सागर गैरे रुन्छन् पनि। लेख्छन् पनि। लेख्छन् र रुन्छन्, कहिले रुन्छन् अनि कहिले लेख्छन्। ‘लकडाउन’ किताबका केही निबन्धहरु सागरका आँसुले ओसिला बनेका छन्। ‘बलैगाउँदेखि बाकुसम्म’ यात्रा निबन्ध संग्रहमा आँसुबाट उठेर लेखेका छन्। विदेशका बाटाहरुमा व्यक्तिगत अनुभूतिहरु छिमलेका छन्। अहिले अर्को किताब लेख्दैछन् उनी, गण्डकी र लुम्बिनी क्षेत्रको झन्डै सय वर्षदेखिको जनजीवनका मसिना कथाहरु, आम सपनाहरुको पाण्डुलिपी तयार पारिसकेका छन्। त्यसमा सागर गैरे कैयौँ पटक रोइदिएका छन्। 

फिल्म हेरेर रुने, कथा पढेर रुने, आफैले लेखेका कथामा आफै भावुक भैदिने, यति गहिरा गैरे कसरी व्यापारी बन्न सक्छन्? उनको कारोबार गर्ने र समवेदना लेख्ने हात के फरक छन्? सोँच्ने मस्तिष्क फरक छन? कि उनी अभिनय गर्दछन्?    

बुनेको कपडामुनि तुनेको चप्पल घिसारेर स्कूल पढेका सागर पाँच भाइमध्य जेठा हुन्। जेठो जिन्दगी भन्नु नै जाँठो जिन्दगी हो भन्छन् मान्छेहरु। एघार वर्ष अर्काको पसलमा कारिन्दा बाँचेका सागर गैरेको पाँच पाण्डवसँग अहिले के छैन? यसरी सबथोक छ भनुँ भने घमण्ड छैन, दम्भ र अहंकार छैन। 

त्यसैले माग्नेहरु पनि उनको आँगनमा आएर मुस्कुराउँछन्। 

नेपाल समय

उनको दैलो चिहाउनेहरु खाली हात फर्किनुपर्दैन। जोगीदेखि मगन्तेसम्म, ग्राहकदेखि लेखक, साहित्यकार र मास्टरसम्म उनको ट्रेडर्समा पस्छन्। वर्षौं पहिले छुटेका सम्बन्ध नवीकरण गर्न पुराना साथी र चिनेजानेकाहरु त्यही पसलमा फर्किन्छन्। भीक्षा लिन आएको जोगी होस् या मगन्ते, हार्डवेयरका सरसामान किन्ने ग्राहक या जो सुकै होस्, क्षणभरमै कुराकानी आत्मीय भइजान्छ। सम्बन्ध बन्छ। 

बैदारे काका बेचैनी, पीडा र अपमानले सडकमा रन्थनिरहेको बेला सागरको आँखामा परे। छोराहरुले सताएर सडकमा पुगेका वृद्ध बैदारे काकाले आफ्नो मान्छे कोही पाएनन्। सडकबाट उठाएर सागरले घर ल्याए। पानी पीलाए, खाना खुवाए र मुलायम ओछ्यानमा आराम गराए। 

ब्युँझिएपछि बैदारे काका फेरि रोए। ‘मलाई आफ्नै छोराले हेपे, बाटोमा मिल्काए, तिमी को हौ? कस्तो मान्छे हौ तिमी? जीवनभर पालेर हुर्काएको छोराले लखेट्यो, तर तिमी बाटोमा भेटेको मलाई सुत्ने आफ्नै ओछ्यान दियौ!’ बैदारे काकालाई उद्धृत गर्दै गैरे भावुक भइहाल्छन्।    

चराको गुडँमा छानो हाल्ने सागरले जिउँदो मान्छेलाई मानो दिने कुरा त्यति आश्चर्य लाग्दो होइन। आश्चर्यजनक त यो हो, स्वार्थ विना मन्दिरमा भेटी समेत नचढाउने मान्छेको भीडमा मानवीय मूल्य मर्न दिएका छैनन् सागरले। त्यसैले माग्नेहरुले पनि उनलाई सम्झन्छन्। 

सम्झनेहरुमा कवि लेखक पनि छन्। हार्डवेयरका सामानसँगै किताब पनि बेचिदिन्छन् उनले। बेरोजगार मजदुरलाई काम लगाइदिन सक्छन्।  

एउटै समयमा अनेक जीवन सचेतपूर्वक बाँचिरहेका मानिस हुन् उनी। यो नै एउटा मानिसको अर्थपूर्ण अस्तित्व हो। 

एक विहान पाँचै बजे फोन बज्यो। 

‘आउनुस् नवीनजी, चिया खाम्।’ यो मध्यरातमा कस्ले चिया खान्छ? बिहान ३ बजे सुतेर ११ बज्ने ब्युँझिने मेरो लागि ५ बजेको समय मध्यरात हो। म उठेँ, र गएँ। बास्तोला दाजुले चिया बनाइसकेका हुँदा रहेछन्। त्यसपछि सागर गैरेले सुरु गरे, खड्ग शमशेरकालीन इतिहास।

‘जंगबहादुरले प्रधानमन्त्रीको रोलक्रम तयार गरेका थिए। आफूपछि रणोद्दीपसिंह क्रमशः जगत शम्शेर र धीर शम्शेर थिए। जंगबहादुरको मृत्युपछि रणोद्दीप सिंह प्रधानमन्त्री भए। रणोद्दीप सिंह आफू जंगबहादुरका जेठा छोरा जगतजंगलाई सत्ता छोडेर बाँकी जीवन शान्तिपूर्वक बिताउन चाहन्थे।  विक्रम सम्वत १९४२ को एक रात रणोद्दीप सिंहको कोठामा अचानक खड्ग शम्शेर, भीम शम्शेर र डम्बर शम्शेर पुगे। खड्ग शम्शेरले रणोद्दीपमाथि गोली चलाए। त्यतिबेला उनि जम्मा १७ वर्षका रहेछन् नवीनजी।’

मैले टाउको हल्लाएँ। 

नेपाल समय

राजनीतिशास्त्रमा डिग्री लिएका सागरका रुचिका विषयहरु के मात्रै छैनन्? धर्म, राजनीति, इतिहास, भूगोल, समाज, संस्कृति, खेलकुद। साहित्य त उनको जीवनकै रोज्जा विषय भई नै हाल्यो, अर्थ वाणिज्य उनको पेसा व्यवसाय र गरिखाने बाटो। राजा महाराजाको यौनकाण्डदेखि बाँकेबर्दियाका तमाम भुईं मानिसका सन्तानदर सन्तानको इतिहास उनले जान्ने ठेक्का लिएर बसेका छन्। मान्छेको नाम सुनेर अनुहार सम्झिने र अनुहार देखेर नाम याद गरिहाल्ने सागर आफै बोल्ने किताब हुन्।  

चरा जस्तो होईन नी समय। जुवामा नारेको हल गोरु जस्तो पनि होइन। रोक्न, छेक्न सकिदैन यसलाई। तीन दशक लामो घामपानी उनी कोहलपुरकै बासिन्दा भएर तापेका छन्। वीरगञ्जबाट ल्याएको फोनिक्स साइकल कुदाएर कोहलपुर नेपालगञ्ज गर्दासमेत उनलाई कोहलपुरको यसरी विकास होला भन्ने कल्पनै थिएन। 

उनले थाहा पाउँदा कोहलपुर चौराहामा सानो झुपडी बजार थियो। त्यहीँबाट छुट्थे बस। त्रिभुवन हाईस्कुल थियो चौराहादेखि दक्षिणमा। सिमित घर र पसलहरु थिए। टाउन प्लानिङ भित्र बयर र बेलका झाडीहरु थिए, दिउँसै मान्छे हिड्न डराउँथे। 

तीस वर्षमा कोहलपुरले कोल्टो फेर्‍यो। एक दिन डी–क्याफेमा सिङ्गल सटको अमेरिकानो पिउँदै सागरले भने, ‘१४० वर्ष पुरानो नेपालगन्ज र कहाँ जम्मा ४० वर्षको कोहलपुर!’ कोहलपुर र नेपालगञ्जबीच नजानिदो स्पर्धा छ, त्यो सागर गैरेको भावभङ्गीबाट चुहियो। उता नेपालगञ्जका थुप्रै मानिसको व्यवहारबाट पोखिन्छ। 

भूगोलको कथा कम रोचक हुँदैन। मानिसको मात्र होइन भूगोलको पनि अतीत हुन्छ। मानिसका पैताला परेको भूगोलको अतीत झन् सुन्नै पर्ने अतीत हो। कोहलपुर उदाउँदो सहर हो। एउटा केन्द्र हो यो। मध्यपश्चिम नेपालको पहाडी क्षेत्रका मानिसको सपना बिसाउने बिसौना हो। 

एक साँझ गुँरास क्याफेमा बसेर कोहलपुर टाउन प्लानको कथा सुनाए उनले। यहाँका थारुहरु जग्गा धनिको अनिच्छा हुँदाहुँदै पनि मुआब्जा बुझ्न बाध्य भए। कोहलपुरको उदाङ्गो चौरमा पहिले थारुहरु जन्मिन्थे, मर्थे र यहीँ गाडिन्थे। 

‘झाडी फाँडियो, खाडल पुरियो। अग्लो होटल म्याक्स भएको ठाउँमा ठूलो बरको रुख थियो नवीन जी।’ उनले कफि ताने। अहिलेको वडा नम्बर ११ को कार्यालयमा आँपको बगैँचा थियो। त्यहाँ नजिकै कुसुमको रुख पनि थियो। बसपार्क एरियामा छिचोल्नै नसकिने बेल र खयर घारी। ‘त्यो चौर थारुहरुको चिहान हो नि।’ कोहलपुरको टुँडिखेललाई उनले संकेत गरे।   

जसको जग्गामा टाउन प्लानिङ बस्यो उनिहरुलाई प्राथमिकतामा राखेर एक एक वटा घडेरी किन्ने मौका पनि दिइएको थियो। पैतीस सय रुपैयाँ प्रतिकट्ठामा नम्बरी जग्गा बेच्न बाध्य भएका थिए थारुहरु। पछि ९ धुरको घडेरीलाई २५ हजार तिर्न सहमत भएनन् उनीहरु। 

‘कस्तो दुर्भाग्य हेर्नुस् न! जसको जमिनमा टाउन प्लानिङ खडा भयो, त्यही जमिनमा अहिले कुनै थारुहरुको घडेरी छैन, घर छैन। उनीहरुले कमाउँदै आएको झन्डै चालीस बिघा जमिनको त क्षतिपूर्ति नै पाएनन् नि, नवीनजी।’ थारुहरुले नै यो शहरको नामाकरण गरेका थिए। तोरी पेल्ने कोलबाट कोहलपुर्वा बनाएका थिए थारुहरुले। अहिले पश्चिम नेपालका तीन प्रदेशको ट्रान्जिट पोइन्ट कोहलपुर नगरपालिका बनिसकेको छ। 

मानिस बाँच्नु र सचेतपूर्ण बाँच्नुमा भिन्नता छ। 

तमाम कथा र किस्सा बोकी बाँचेका उनि नामुद व्यापारी हुन्, तर साइकल चढ्छन् अहिले पनि। बिहानी अध्यारोमै हेलमेट लगाउँछन्, र निस्किन्छन्। कहिले सम्झना चौक र जीगाउँ पुग्छन्, कहिले गाभर र चिसापानी। कहिले डुल्छन् नेपालगञ्ज र त्यसआसपासका प्राचिन गाउँहरु। जहाँ पुगे पनि मान्छेसँग भेट्नु, सुन्नु र बुझ्नु उनको बिहानी नित्य शैली हो। 

त्यसपछि मात्रै सूर्यले पूर्वमा टाउको उठाउँछ। कोहलपुर त सुतिरहेकै हुन्छ। कोहलपुर बजार ब्युँझिने बेला सागर गैरेले कोहलपुरलाई एक फन्को लगाएर पसलको सटर उठाइसकेका हुन्छन्। 

एक बिहान दुःखलाल थारुलाई भेटेछन् उनले। पेडारीका दुःखलालको जीवनमा दुःख त कति हो कति। दुखलाल उनै हुन्, जस्ले बैजनाथ थारुलाई तत्कालीन राज्यले दिएको यातना आफ्नै आँखाले देखेका छन् र त्यो घटनाक्रम जान्दछन्। फोनमा सागरले सोधे मलाई, ‘नवीनजी, आजको मेरो स्टाटस हेर्नुभो?’ 

त्यसपछि मैले हेरेँ। 

उनले बाँकेका थारु आन्दोलनका एक मूर्धन्य जोधा बैजनाथ थारुबारे लेखेका रहेछन्। साविक चिसापानी, टिटिहरिया, नौबस्ता र वनकटवा गाविस मिलाएर बैजनाथ गाउँपालिका बनाइएको छ अहिले। यी सबैको इतिहासमा कुनै न कुनै रुपले बैजनाथ थारुको भूमिका र स्मृति जोडिएको छ। विस १९४६ कार्तिक १२ गते जन्मिएका थारु बीपी विचारबाट प्रभावित थिए। राणा र जमिन्दारी प्रथाविरुद्धमा थिए बैजनाथ। जमिन्दारको ज्यादतीविरुद्व विद्रोहको नेतृत्व गरेका बैजनाथलाई समाउन भारतबाट भाडामा सुरक्षाकर्मी नै झिकाइएको थियो।

भाडामा आएका भारतीय सुरक्षाकर्मीले पेडारी गाउँलाई चारैतिरबाट घेरा हाले र बैजनाथलाई समाए। निर्मम यातना दिए। त्यसको तीन दिनपछि २००७ चैत्र १४ गते बैजनाथ थारुको मृत्यु भयो।  

सागर भन्छन्, ‘बैजनाथको हत्या गरिएको पनि सात दशक पुगिसकेछ।’ 

समाज र संस्कृतिका तमाम कुराहरुबारे मिहीन रुपले सोच्न, बोल्न र बुझाउन सक्ने उनको आफ्नै रोचक शैली छ। सामान्य भोगाईलाई आकर्षक रुपमा व्यक्त गर्ने शैलीले उनलाई सुन्न बाध्य पार्छ। उनलाई सुनिरहनुमा आनन्द छ। वस्तुभाउलाई कुँडो खुवाउन बनाइने काठको डुडँदेखि कोहलपुरमा टाँगा चलाउने लाहोर बड्डाका किस्सासम्म उनलाई थाहा छ। पूर्ववडाध्यक्ष कर्णबहादुर थापाले सुनाएका ननभेज जोकजस्ता एकदम सस्ता सन्दर्भदेखि इरानको हिजाब आन्दोलन जस्तो गम्भीर विषयले सागरलाई समाउँछ। 

जीवन सपनाको उडान जस्तो हुन्न। रोमाञ्चकताले उद्वेलित भएर डायरीमा कोरिएको स्वैरकल्पनाशिल कविता जस्तो पनि हुन्न। जीवन त पानीको लहरहरु संगै बगिहिँड्ने ढुंगा जस्तो पो हुन्छ त। ठोक्किदै, टुक्रिँदै कण कणमा विभक्त भएर एउटा आकार लिने। सागर त एक गहिरो जीवन लिएर बाँचेका हुन्, उनका छालका उडानहरुले मलाई पनि छोइदिएको छ। 


प्रकाशित: October 1, 2022 | 06:05:00 काठमाडौं, शनिबार, असोज १५, २०७९

तपाईं को प्रतिक्रिया

ट्रेंडिंग

चितवनका तीन क्षेत्रमा कसको अवस्था कस्तो?

प्रतिनिधिसभामा तीनवटा निर्वाचन क्षेत्र रहेको चितवनमा तीनवटै क्षेत्रको मतगणना भइरहेको छ।

काठमाडौं-९ मा एमालेका कृष्णगोपाल श्रेष्ठ विजयी

यो एमालेको दोस्रो जित हो। यसअघि एमालेले ललितपुर २ मा जित निकालेको थियो।

गुल्मी-२ मा ठूलो मतान्तरले पछि परिन् झाँक्री

गुल्मी क्षेत्र नम्बर २ मा सत्ता गठबन्धनकी उम्मेदवार रामकुमारी झाँक्रीलाई भारी मतले पछि पार्दै नेकपा एमालेका गोकर्ण विष्टले अग्रता कायम राखेका छन्।

समानुपातिक मतमा स्वतन्त्र पार्टी तेस्रो, एमालेलाई पछ्याउँदै कांग्रेस

प्रत्यक्षतर्फ चार वटा निर्वाचन क्षेत्रको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ भने समानुपातिकतर्फ पनि मतगणना भइरहेको छ।

गुल्मी-२ मा झाँक्रीलाई पछि पार्दै विष्टको अग्रता

आइतबार भएको निर्वाचन जारी मतगणनामा विष्ट ६७२ मतसहित अगाडि छन्।

युथ युनेस्को क्लब युएसएको इन्टरनेशनल मिडिया एडभाइजरमा बस्नेत

अमेरिकाको क्यालिफोर्नियामा युवा केन्द्रित रचनात्मक कार्यहरू सञ्चालन गर्दै आएको युथ युनेस्को क्लब युएसएले सञ्चारकर्मी मनोज बस्नेतलाई अन्तर्राष्ट्रिय सञ्चार सल्लाहकारमा मनोनयन गरेको छ।

दुई क्षेत्रमा स्वतन्त्र पार्टी अगाडि, दुई-दुईमा कांग्रेस र एमाले

काठमाडौं हिजो आइतबार सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन अन्तर्गत आज बिहानदेखि केही क्षेत्रमा मतगणना सुरु भएको छ।

बाजुरामा गोली लागेका एक जनाको मृत्यु

कांग्रेस र एमालेका कार्यकर्ताबीच विवाद भएपछि मतदान सकिनै लाग्दा झडप भएको हो।

जेलबाट मतदान गरेपछि रेशम चौधरीले भने– बडा मज्जा आयो

कैदीबन्दीले पनि निर्वाचनमा सहभागी हुन पाउने भएपछि उनीहरु उत्साहित भएका थिए। काठमाडौं उपत्यकामा १८२ जना कैदीबन्दी मतदान गर्न योग्य भएको निर्वाचन अयोगको तथ्यांक छ।

थप समाचार

नेपाल समय
फिल्म

महजोडीको फिल्म 'महापुरूष'ले कमायो १० करोड

यसवर्ष कबड्डी ४ र प्रेम गीत ३ पछि १० करोड ग्रस गर्ने यो तेस्रो चलचित्र बनेको छ। नेपाली चलचित्रले हलमै यत्तिको व्यवसाय गर्नुलाई ‘ब्लकबस्टर’ मानिन्छ।
नेपाल समय
फिल्म

शवाना आजमी भन्छिन्- रंगमञ्चका लागि यो कठिन समय

दोस्रो अन्तर्राष्ट्रिय नाट्य महोत्सवको लागि काठमाडौं आएकी आजमीले दिल खोलेर नेपाली सौन्दर्य, कला र संस्कृतिको प्रशंसा गरिन्। पत्रकारसँगको भेटघाटमा उनले भनिन्, ‘नेपालको कला, संस्कृतिको म सदैव प्रशंसक हुँ। नेपाल संस्कृति र कलामा धनी छ।’
नेपाल समय
फेसन

कतारको सांस्कृतिक नियम तोडेपछि आलोचित भइन् पूर्वमिस क्रोएसिया

कतारमा फुटबल विश्वकपको समय लगाएको ड्रेसका कारण उनलाई आलोचनाको पात्र बनाइएको हो।
नेपाल समय
कला/साहित्य

हस्तकला व्यापार मेला मंसिर २३ देखि

मेलामा फिलगिरी, थोज्यामाज्या (धातु पत्रकला) र पौभा थाङ्का गरी तीनवटा विधाका कला प्रदर्शनी हुनेछ। नेपाली हस्तकलाको प्रवर्द्धन गर्दै विदेशसम्म पहिचान गराउन मेलाको आयोजना गरिएको हो।
नेपाल समय
कला/साहित्य

नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव सुरु हुँदै

१२ देशका १८ नाटकको ३० मञ्चनसहित कार्यशाला, मास्टर क्लास, अन्तरक्रिया कार्यक्रम तालिका सार्वजनिक गरिएको महोत्सवमा विश्वभरबाट २०० बढी नाट्य कलाकार सहभागी छन्।

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

House -138, Suruchi Marg, New Baneshwor, Kathmandu, Nepal
फोन : +977-1-4790242 / +977-1-4790040
इमेल : nepalsamayanews@gmail.com
  • प्रबन्ध निर्देशक
    तरुणप्रताप शाह
  • प्रधान सम्पादक
    नारायण अमृत
  • महाप्रबन्धक
    जीवन तिम्सिना