म एक्लै उभिएकी छु
अलि प...र हल्ला गरिरहेका छन्, एउटा झुण्ड
सायद उनीहरु डराइरहेका छन् मेरो छायासँग
किनकि म घामसँग उभिएकी छु। तर, एक्लै उभिएको छु म।
यी वाक्य कुनै प्रख्यात कविका कविताका अंश होइनन्। कुनै महान् दार्शनिकले दिएको अभिव्यक्ति पनि होइन। न त कुनै शासक र माफियाले थापेको अक्षरहरुको एम्बुस नै हो।
यी वाक्य त रेखा थापाको निजि विचार हुन्। जो वर्षौँदेखि उनको गोप्य डायरीमा बसेर परिवर्तनको नयाँ सपना डिजाइन गरिरहेका थिए। जो, कुरुप राज्य व्यवस्थासँग बार्गेनिङ गरिरहेका थिए।
000
बिहान ढिला उठ्थिन्, रेखा। ओछ्यानमै आइपुग्थ्यो तातो पानी र कफी। आनान्दले ब्रेकफास्ट गर्थिन्। आफ्नै अनुकुलको समयमा लन्च गर्थिन्। सुटिङको लागि कहाँ पुग्नु पर्ने हो, त्यही पुर्याउन निर्देशन दिन्थिन् सहयोगीलाई।
उनी सुटिङ स्पटमा पुगेपछि गाडीको ढोका खोल्न कोही न कोही दौडेर आउथे। उनलाई छाता ओढाउने मानिस छुट्टै थियो। निधारको पसिना पुछिदिने मानिस छुट्टै थियो। मिनेट मिनेटमा उनको श्रृंगार र मेकअप गरिदिने मानिस छुट्टै थियो। उनलाई स्कृप्टको संवाद सुनाउने मानिस छुट्टै थियो। उनी हिँड्ने बाटोमा काँडाहरु पन्छाउने मानिस छुट्टै थियो। उनको प्रत्येक पैतालाहरुको सुरक्षा गर्ने छुट्टै थियो।
एकदिनमा कुन चलचित्रको कति छायांकन गर्ने भन्ने कुरा रेखाकै मुडमा भर पर्दथ्याे। उनको दैनिकी प्रायः निर्देशक, निर्माता, गायक, संगीतकार वा विभिन्न सेलीब्रेटीहरुको भीडमै बित्थ्यो।
साँझ पनि उनलाई जे खान मन लाग्थ्यो, त्यहीँ खान्थिन्। जहाँ पुगेर डिनर गर्न मन लाग्छ, त्यहीँ पुगेर डिनर गर्थिन्। त्यो चाहे महंगा रेष्टुराँ, लाउन्ज, क्लब वा रिर्सोट नै किन नहोस्।
रेखासँग के नै अभाव थियो र? नाम, दाम र काम सबैमा अब्बल थिइन् उनी।
तर अहिले सब परिवर्तन भयो। चलचित्रले दिलाएको सफलता र सम्पन्नताले उनी सन्तुष्ट हुन सकिनन्। बाहिरबाट हेर्नेहरुले/देख्नेहरुले त रेखालाई भनिदिएकै थिए, नेपालकै नम्बर वान हिरोइन्। तर रेखा भने खुशी मात्र थिइन्, मनदेखि भने सन्तुष्ट थिइनन्।
अन्ततः रेखा अहिले आफ्नै सन्तुष्टिको लागि जनताको सेवक बन्ने ठोस निर्णयमा पुगेकी छन्। या भनौँ, राजनीतिको नयाँ रेखा कोरिरहेकी छन्, रेखा।
पेरिसडाँडा पुगेरै पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको हातबाट टीका लगाएर रेखाले ‘लालसलाम’ गर्न सिकेकी थिइन्। यहाँसम्म कि, ‘लालुपाते लुङ्ग्यो भुइँतिर’ बोलको गीतमा रेखा प्रचण्डसँगै नाचिन्। त्यसले नेपालको केन्द्रीय राजनीतिक वृत र सञ्चारमाध्यममा ठूलै कम्पन दियो।

तर अहिले भने रेखालाई माओवादी फगत विचारको झोलामात्र बोकेर हिँडेको पार्टी लाग्छ।
एमाओवादीमा प्रवेश गरेर राजनीतिक करिअर सुरु गर्दाको त्यो पुरानो क्षणलाई सम्झदै रेखा भन्छिन्, ‘भोलीपल्ट मेरो नयाँ चलचित्र रिलिज हुँदै थियो, तर पनि अघिल्लो दिन साँझसम्म म प्रचण्डजीहरुको कार्यक्रमलाई नै समय दिइरहेको थिएँ। किनकि, त्यतिबेला माओवादीले जनताको लागि उठाएका क्रान्तिकारी एजेण्डा र ऐतिहासिक मुद्दाहरुले मलाई तानेको थियो। यदि ती एजेण्डा र मुद्दाहरु साँच्ची कार्यान्वयन हुन्थ्यो भने अहिले नेपाली जनताको जीवनस्तर कति सुन्दर हुन्थ्यो होला ? देशको समृद्धि र विकासले कति फट्को माथ्र्यो होला ? तर अफसोच्, माओवादीले उठाएका ती एजेण्डा र मुद्दाहरु फगत कोर्रा कागजमै सिमित रहे।’
पर्दामा देखिरहने उहीँ रेखा अचेल गाउँघरमै देखिन थालेकी छन्। जुन, उनको लागि सुन्दर र खुशीको कुरा हो। रेखालाई सायद अब पर्दाहरुमा मात्र सिमित रहनु छैन। उनलाई त्यही पुग्नुछ, जहाँबाट आँशु खसाल्दै मानिसहरु रेखालाई हेरिरहेका थिए।
विचारको बन्दी बनेरमात्र जनताको पेट नभरिने र मुलुकको परिवर्तन नहुने रेखाको तर्क छ। उनले थप्दै भनिन्, ‘रेखा थापाको मात्र पेट भरियो, अरु रेखाहरुको पेटले भोकको कर्कश अझै बन्द गर्न सकेका छैनन्। यदि हाम्रो राज्य व्यवस्था राम्रो हुन्थ्यो र सबै जनताको जीवनस्तर राम्रो हुन्थ्यो भने म चलचित्र गरेरै बस्थेँ। आफ्नो पेट अघाउने र अरुको पेटलाई भोको राखेर म गैरजिम्मेवार नागरिक बन्न सक्दिनँ। म आफ्नो सन्तुष्टी र परिवर्तनकै लागि राजनीतिको माध्यमबाट जनताको सेवामा लागेकी हुँ।’
रेखाको चलचित्र सफलतामा कुनै शंका छैन। तर ०७३ सालमा राष्ट्रिय प्रजातन्त्र पार्टीमा प्रवेश गरेकी रेखाको पछिल्लो समयको व्यस्तता भने अलि फरक खालको छ। स्थानीय तहको निर्वाचन मिती नजकिएसँगै उनी देशदौडाहमा छिन्। कहिले पूर्व पुग्छिन् त कहिले पश्चिम। कहिले पहाड पुग्छिन् त कहिले तराई।
सेलिब्रेटीको सेड्युलमा जीवन बाँचिरहेकी रेखा अचेल सामान्य जीवन बाँचिरहेकी छन्। उनी यसमै खुशी पनि छिन्। सामान्य जीवन बाँचिरहदा पनि उनीको व्यस्तता भने उस्तै छ, खासै घटेको छैन।
केही दिनअघि मात्र उनी धनुषा पुगेर फर्किइन्। ‘तराईको गर्मीले कत्तिको सतायो ?’ भनेर प्रश्न गर्दा उनले ठट्यौली पारामा हाँस्दै भनिन्, ‘तराईको गर्मीले छाला ढडेर आफैलाई काली भएको महशुस भइरहेको छ। तर, जनतासँग प्रत्यक्ष वातचित गर्ने मौका पाउँदा म यसमै खुशी छ। छाला ढडेकामा कुनै पश्चाताप छैन। म नयाँ अनुभव र आनन्द लिइरहेको छ।’

त्यसो त रेखा पहिले पनि देशदौडाहमै व्यस्त रहन्थिन्। त्यतिबेला विभिन्न चलचित्रको छायांकनको लागि पुग्थिन्। तर अहिले पार्टीका विभिन्न कार्यक्रम तथा आमसभाहरुलाई सम्बोधन गर्न त्यहाँ पुगिरहेकी छन्।
व्यस्तताले अचेल आफूले चाहेको समयमा खानसमेत पाउँदिनन्, रेखा।
केही दिनअघिको एउटा किस्सा सुनाउँदै उनले भनिन्, ‘अस्ती पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनसहित हामी मधेशको यात्रामा गएको थियौँ। बिहान ६ बजेतिर चियाँ खायौँ। त्यसपछि जनतासँग भेटघाट र वातचितमै व्यस्त रह्यौँ। ११ बज्नै लाग्दा मिठो भोक लागेको थियो। तर हामीसँग खाने समय नै थिएन। दिउँसो करिब २ बजे मात्र केही खायौँ। त्यो पनि राजमार्गछेवैको एउटा सानो टहराको खाजा पसलमा दही चिउरा खाएर भोक मेट्यौँ।’
‘मैले बनाएका चलचित्रहरुबाट धेरैले सहजै अनुमान लगाउन सक्छन्, मेरो व्यक्तित्वबारे’, रेखाले भनिन्, ‘यो केटी त विद्रोही रहिछ भन्ने सोच्नहुन्छ होला, म वास्तवमा छु पनि त्यस्तै।’
तर अचेल राजनीति चेत बढ्दै गएपछि रेखाल आफैलाई चलचित्रहरुमा त चटक मात्र देखाएको रहेछु भन्ने लाग्छ। उनले बुझिसकेकी छन्– क्रान्ति र परिवर्तनको लागि ग्राउन्डमै आएर काम गर्नुपर्दो रहेछ।
उनले सुनाइन्, ‘अचेल कहिलेकाही मैले त चलचित्रमा चटकमात्र देखाएको रहेछु भन्ने पो लाग्छ। वास्तवमा कुनै सिनेमाले, कुनै गीतले, कुनै पुस्तकले वा कुनै कविताले गर्ने काम त गर्ला। तर यी सबको काम वैचारिक परिवर्तनसँग जोडिएको हुन्छ। र वैचारिक परिवर्तन भन्ने कुरा तत्काल हुने कुरा होइन। लामो समय लाग्न सक्छ। तर हामीलाई चाहिएको परिवर्तनको लागि त ग्राउन्डमै उत्रिएर काम गर्नुपर्दो रहेछ। अहिले म त्यहीँ गरिरहेको छु।’
समाज र देशको अवस्था कस्तो बन्दै गइरहेको छ भन्ने कुरा हरेक नागरिकसँग प्रत्यक्ष जोडिएको पनि रेखाको स्वीकारोक्ति छ। देशको अवस्था नै खराब बन्दै गइरहेको छ भने चलचित्र क्षेत्र जति व्यवसायीक राम्रो बने पनि त्यसको अर्थ खराब अवस्थाले ‘कोल्याप्स’ पार्ने रेखाको बुझाइ छ।
‘मैले गरेका चलचित्रहरु समाजभित्रकै विषय हुन्’, रेखा सुुनाउछिन्, ‘तर चलचित्रले समाजको अवस्था मात्र परिवर्तन गरेर के गर्नु? जब कि व्यवस्था भने उही पुरानै छ।’
परिवर्तनको लागि नयाँ व्यवस्था र बलियो नीति चाहिने यथार्थमा ढुक्क छिन् अहिले, रेखा।
‘म कर्णालीमा बाल विवाहको अभियान लिएर गएको थिएँ। त्यहाँ जाँदा मैले नसोचेको दृश्यसँग साक्षत्कार गरेँ। त्यहाँका महिलाहरुले मसँग भन्थे, अर्को जुनीमा महिला भएर जन्मिन नपरोस्। जबकि, महिला भनेको समाजको बलियो शक्ति र विद्रोह भनेर म उनीहरुको अगाडि बोलिरहेको थिए। त्यहाँका महिलाहरुको कुरा सुन्दा मलाई भित्राभित्रै पोल्थ्यो। औडाह हुन्थ्यो।’

पहिले कुनै बच्चा आफ्नो आगाडि आएर मलाई पनि तपाईजस्तै हिरोइन बन्ने सपना छ भन्दा असाध्यै खुशी लाग्थ्यो, रेखालाई। तर अचेल रेखा आफै परिवर्तन भएकी छन्। अब उनी चलचित्रको मात्र हिरोइन् बन्न चाहन्नीन्। उनी समाजकै यर्थाथ हिरोइन् बन्न चाहन्छिन्। अब त उनी चाहन्छिन्, कुनै दिन फेरि बच्चाहरु आफ्नो अगाडि आएर भनिदिउन्, मलाई पनि तपाईजस्तै समाजको रियल हिरोइन् बन्न मन छ।
योगमायाहरुले उठाएको मुद्दा रेखा थापाहरुसम्म आइपुग्दा पनि देशको अवस्था र व्यवस्था उस्तै भएको देख्दा रेखालाई दुख लाग्छ।
रेखा भावुक हुँदै भन्छिन्, ‘अचेल म विभिन्न कार्यक्रममा उपस्थित हुने मानिसहरुको चेहेरा पढछु। एउटा आँखामा व्यवस्थाप्रतिको आक्रोश देख्छु, उसकै अर्को आँखामा उदास र निराश भएका सपना देख्छु। यस्तो अवस्था कस्ले बनायो ?’
२१ वर्षको चलचित्र करिअरमा आफूले अभियान र चेतनाको लागिमात्र काम गरेको लाग्छ, रेखालाई। तर अब भने उनी कानून र नीतिको लागि काम गर्न चाहन्छिन्। उनी भन्छिन्, ‘भाषण र एजेण्डाले मात्रै देश परिवर्तन नहुदोरहेछ भन्ने थाहा भइसक्यो। अब विचारको मात्र राजनीतिको गरेर केही फाइदा छैन। मैले उठाएका मुद्दाहरु पनि केवल अभियानकै रुप मात्रै थिए। चेतनाका रुप मात्रै थिए। तर, मुख्य कुरा नीति र कानून रहेछ। त्यसको लागि म राजनीतिमा आउन बाध्य भएँ।’
नेपालको नीति र कानून पनि फितलो रहेको रेखाको टिप्पणी छ। मधेशी जनताको लागि तयार पारिएको नीतिले पहाडमा अर्थ नराख्ने र पहाडी जनताको लागि तयार पारिएको नीतिले हिमालमा अर्थ नराख्ने रेखा सुनाउँछिन्। सेवाको लागि कुनै योग्यता र विशेष क्षेत्र आवश्यक नरहने पनि उनको दावी छ।
उनी भन्छिन्, ‘नीति नियम भनेको जनताको आवश्यकता अनुसार बनाउने हो। तराइमा बस्ने जनताको लागि हिमालीहरुको कानूनले काम गर्दैन। र हिमालीहरुको लागि तराईको कानूनले काम गर्दैन। फेरि जनताको सेवक बन्ने मन नै हुने भने सेवाको लागि कुनै योग्यता र विशेष क्षेत्र चाहिँदैन।’

रेखाले उदाहरण नै दिइन्, ‘मानिलिउँ कि एउटा वडाको नेतृत्व गर्न कोही पात्रले इच्छा व्यक्त गरिरहेको छ। अब उसलाई त्यो वडाको सेवा गर्न त्यही वडाका मानिसहरुको चाहना र भावना बुझे मात्र पनि पुग्छ। यो आवश्यक छैन कि उसले समग्र जिल्लाकै ज्ञान लिनुपर्छ। मुख्य कुरा भनेको त्यहाका स्थानीयहरुको भावना उसले कतिसम्म बुझ्नसक्छ भन्नेमा भर पर्छ।’
आफूले कसैको लहलहैमा लागेर राजनीति सुरु नगरेको उनले स्पष्ट पारिन्। उनले भनिन्, ‘मलाई पहिले माओवादीले टिकट दिएकै थियो नि, तर मैले रुचाइन। अहिले राप्रपामा छु, तर कुनै पदको लागि लोभ गरेर लागेकी होइन।’
अबको नयाँ व्यवस्थामा जनता मालिक र नेताहरु सेवक हुनुपर्ने उनको जोड छ। थप्दै सुनाइन्, ‘म वैचारिक रुपमा स्पष्ट भएरै राजनीतिमा लागेकी हुँ।’
राजनीतिलाई सिन्डिकेटले कुरुप बनाउँदै लगेको पनि उनी बताउँछिन्। राजनीति विसुद्ध रुपमा जनताको सेवासँग जोडिएको र जोकोहीले पनि राजनीति गर्न पाउनुपर्ने उनको तर्क छ।
उनले व्यंग गर्दै भनिन्, ‘सिन्डीकेटले राजनीतिलाई कुरुप बनाउँदै लग्यो। कुनै कलाकारले, कुनै डाक्टरले, कुनै शिक्षकले राजनीति नै गर्न पाउँदैन भन्ने हुँदैन। राजनीति भनेको विसुद्धको जनताको सेवा हो। र त्यो सेवा गर्न कुनै क्षेत्र र मापदण्डले तय गर्दैन। तर सेवालाई व्यापारसँग तुलना गर्ने हो भने फेरि त्यो राजनीतिको काम छैन। तर म त्यसको विरोधी हु्ँ। सेवा फरक हो। व्यापार फरक हो।’
आगामी स्थानीय तहको निर्वाचनमा राप्रपाबाट नेतृत्वमा पुग्नेहरु कसैले पनि भ्रष्टाचार गर्न नपाउने गरी पार्टीले सर्कुलर नै जारी गरेको पनि रेखाले जानकारी दिइन्। उनले भनिन्, ‘हाम्रो पार्टीबाट नेतृत्वमा पुगेका जो कोहीले पनि भ्रष्टाचार गर्दैन। यदि गरेको पाइएमा हामी आफै जनकारवाही गछौँ। यो कुरा म आफैले पनि व्यक्तिगत रुपमा धेरै उम्मेद्वारलाई भनिसकेको छु, अध्यक्ष ज्यु पनि त्यसको साक्षी हुनुहुन्छ।’
तर आत्मसम्मान र स्वाभिमानलाई नै खतरामा राखेर यस्तो पुरानै संस्कारलाई भने रेखा जोगाउन चाहन्नन्।
पछिल्लो समय नेपालमा बहस भइरहने एउटा मुख्य विषय भनेको समावेशीको मुद्दा पनि हो। तर रेखा भने यसबारे अब फराकिलो भएर सोच्नुपर्ने बताउँछिन्। समावेशीको नाममा विभेदका बाछिटाहरु झन् दिर्घकालिन बन्दै गएको उनको ठम्याइ छ। उनले सुनाइन्, ‘म पहिले कोटा विरोधी थिएन। तर अहिले हुँ। अब सबै स्वस्थ प्रतिस्पर्धामा उत्रिनुपर्छ। समावेशीले झन् विभेद्को बाछिटाहरु झन् स्पष्ट देखाउँदै लग्यो। अब यसमा फराकिलो भएर सोच्नैपर्छ।’
के को लागि यो सब?
अहिले आफू जनताको आवाज बनेर लागिरहेको रेखाले बताइन्।
नेपाली जनताको खुशी र भावनाकै खातिर आफूले राजनीतिक सेवाको बाटो रोजेको उनले स्पष्ट पारिन्।
उनले भनिन्, ‘म अहिले जनताको आवाज हुँ। जनतालाई वैकल्पिक शक्ति र नयाँ अनुहार चाहिएको छ। हामी जमिनमुनिको बिन थियौँ, अब हरियो भएर वृक्ष बनेर माटोबाहिर आउँदैछौ।’
त्यसो त, आफूलाई कुनै पदको लोभ नरहेको रेखा बताउँछिन्। तर पार्टी र जनताले विश्वास गरे संघीय चुनावमा भने सोच्न सकिने उनले बताइन्।
अन्त्यमा, आखिर जिन्दगी के रहेछ त ? भनेर सोध्दा उनी भन्छिन्, ‘जिवन मेरो लागि एउटा सुन्दर उपहार हो। अचेल हासो र आशुसँग खासै अट्याचमेन्ट छैन। समयको वेगले गल्ती सिकाउछ। पाठ सिकाउँछ। आजसम्मको यात्रामा भेटिएका र छुटेकाहरुसँग मेरो सधै प्रेम रहनेछ।’
हरेक घटनाहरु कुनै कारणले नै निम्तिने रेखाको ठम्याइ छ। उनले मुस्कुराउँदै थपिन्, ‘म त दुश्मनहरुलाई पनि प्रेम गर्छु।’
उसो भए दुश्मनहरुलाई पनि प्रेम गर्नु कारण चाही के हो ? भनेर प्रश्न गर्दा उनले हँसिलो अनुहारमा भनिन्, ‘छ एउटा कारण। तपाईसँग यसरी बोलिरहेको छु, त्यसको पनि एउटा कारण छ। त्यो कारण के हो भने तपाईको यो फिचर्सले कि मलाई राम्रो गर्छ कि मलाई कन्ट्रोभर्सीमा ल्याउँछ। हा हा हा...’