सोमबार, असोज १७, २०७९
नेपाल समय
मेरो जीवन मेरो मर्जी-२

जसले घर त्यागेर अन्तरजातीय प्रेम रोजे

राज सरगम  |  काठमाडौं, शनिबार, चैत २६, २०७८
राज सरगम

राज सरगम

काठमाडौं, शनिबार, चैत २६, २०७८

२०७० सालको हिउँद याम। जाडोको मौसममा न्यायो प्रेममा थिए रंगकर्मी जीवन भट्टराई। त्यो न्यानो प्रेमको ओत लगाइदिएकी थिइन् रंगकर्मी लक्ष्मी बर्देवाले। ०७० सालमै जीवनका दाइ चिरञ्जीवी भट्टराई जापानबाट काठमाडौं ओर्लिएका थिए। लामो समयपछि दाजुभाइले त्यो साँझ सँगै कटाए। 

त्यही दिन चिरञ्जीवीलाई थाहा भयो, जीवन र लक्ष्मीबीच प्रेम अंकुराइरहेको रहेछ। तर, चिरञ्जीवीले जीवनलाई केही भनेनन्। भाइको प्रेम सम्बन्धप्रति मौन रहे।

केही दिनपछि दाजुभाइ हेटौँडा पुगे, जहाँ उनीहरुको स्थायी घर थियो। त्यहाँ स्थायी घर मात्रै थिएन, त्यहाँ उनीहरुको बाल्यकालीन समयका अवयव पनि सँगै थिए। वर्षौंपछि भेट भएका दाजुभाइ स्मृतिहरुमा रङमङिदै गए। तर, काठमाडौंमा मौन रहेका चिरञ्जीवीको घर पुगेपछि मुख खुल्यो, ‘कान्छो त यस्तो–यस्तो केटीको प्रेममा छ है।’

अचानक दाइको मुखबाट निस्किएको वाक्यले जीवनको अनुहार धमिलो बनायो, मन अमिलो बनायो। उनको मुटुले रफ्तार लियो। ढुकढुकीको रफ्तार पनि बढ्यो। एकै सवाल थियो जीवनसँग, ‘अब परिवारले के भन्ला?’ 

जीवनसँग सवाल मात्रै थियो, जवाफ थिएन। बुवाले चिरञ्जीवीको कुरा पत्याएनन्। पत्याउने आधार पनि थिएन, बाआमाका लागि जीवन सोझो र भलादमी छोरा पनि थिए। गुणी र विश्वासिला थिए। 

आमाको प्रतिक्रिया थियो, ‘यस्तो गर्न पाउँदैनस् है। नहुने कुरामा जोड गर्ने होइन। तैंले हाम्रो नाक काट्ने काम नगरेस्। गाउँ, समाज, इज्जत, प्रतिष्ठा बिर्सिन पाउँदैनस्।’

आमाको बोलीले जीवनको मनमा बज्र हान्यो। त्यही बज्रको घाउ बोकेर काठमाडौं फिरे। तर, बज्रको घाउभन्दा धेरै विशाल प्रेमको सागरमा डुबिसकेका थिए जीवन। पहिलोपटक सहर छिर्दा कसै न कसैको पहिलो साथी बन्छ कोही। जसले सहरको गल्ली र चोकहरुसँग परिचित मात्रै गराउँदैन, सहरलाई चिहाउने आँखीझ्यालसम्म पनि पुर्‍याइदिन्छ। लक्ष्मी जीवनका लागि त्यही साथी थिइन्। अनामनगरदेखि धोवीखोलाका छेवैछेउ लक्ष्मीलाई घरसम्म पुर्‍याउँथे। लक्ष्मीलाई घरसम्मै पुर्‍याएपछि छुट्टिन गाह्रो हुन्थ्यो। दुवै त्यतै कतै चिया–कफी पिएर बस्थे र बल्लतल्ल आफैंलाई सम्झाएर गह्रौं मन लिएर फिर्थे। 

त्यसबेला उनीहरुलाई कसैले चिन्थ्यो भने मैतीदेवी मन्दिरले मात्रै चिन्थ्यो। अन्जान भीडमा निस्फिक्री हिँड्थे। नयाँ कविताको पहिलो पाठक, स्रोता बन्थे। रंगमञ्चको छेउछाउमा हुने जीवनको संघर्षमा दुवैको हात र साथ सँगै हुन्थ्यो। 

आमाको बोली र लक्ष्मीको माया सँगसँगै बोकेर काठमाडौं फिरेका जीवनको आँखामा सबै घटनाहरु सरसर्ती घुमे। तर, लक्ष्मीको प्रेमले जित्यो। आमाको बोलीले बनाएको घाउमा लक्ष्मीको एक मुस्कानले मलमपट्टी गरिदियो। 


अन्ततः परिवारले थाहै नपाई लक्ष्मीसँग लगनगाँठो कसिदिए। जीवनले अन्तरजातीय विवाह गरेर आफ्नै परिवारसँग विद्रोह मात्रै गरेनन्, स्वयम्लाई बदले पनि। लक्ष्मीसँगको विवाहलाई लिएर घरपरिवारको बहिष्करणमा परे। तर, आशाको मधुरो दियो धिपधिप भने गरिरहेको थियो, ‘पक्कै घरमा एक दिन त बोलाउनुहुन्छ बाआमाले।’

000

लक्ष्मीसँगको प्रेमलाई विवाहमा परिणत गरेको दुई वर्षसम्म घरमा फिटिक्क कुराकानी भएन। पछिल्लो एक वर्षदेखि त उनले फोन पनि गरेका छैनन्। अचेल उनको फोन बजिरहँदा लाग्छ, ‘पक्कै घरबाटै आयो फोन।’ तर, उनको आशाको दियो एकैछिनमा झ्याप्पै निभ्छ। हतारिएर मोबाइलको स्क्रिन हेर्छन्। फोन कल घरको होइन, अरु कसैको हुन्छ। अन्ततः निराशाको गहिरो खाडलमा पर्छन्। भन्छन्, ‘बुवाआमाले हामी दुवैलाई घरमा बोलाउनका लागि कल गर्नुभएको हो कि भन्ने मनमा अनायसै आइरहन्छ।’ 

स्वाभावैले कम बोल्छन् जीवन। बाल्यकालदेखि कविता कोर्थे। स्कुले जीवनमा पनि सरल र सिधा विद्यार्थी थिए। कान्छो छोरो सोझो छ भनेर आमालाई चिन्ता हुन्थो। त्यही छोरोले एकदिन दलित युवतीसँग विवाह गरेर आमाबाको चित्त दुखाइदिए।

जीवनको कलिलो आँखाले छरछिमेकमा छुवाछुत देखेको थियो। तर, आफ्नो परिवारले विभेद गरेको भने कहिल्यै देखेनन्। बुवा नेपाली सेनाका जागिरे थिए। तर, आमाको पूजापाठ र धर्मकर्मप्रतिको चासोले गैरदलित हुनुको छनक भने उनलाई महसुस भइरह्यो।

त्यसैले पनि बुवाको भन्दा आमाले ज्यादा चित्त दुखाइन्। ‘ममीले साह्रै चित्त दुखाउनु भएको छ,’ दाइले सधैं जीवनलाई भन्छन्। 


यो पनि

साथमा हौसला थपिदिन्छन् दाइ, ‘एकदिन सामान्य हुन्छ। बिस्तारै बुझ्नुहोला नि।’ दाइले पहिल्यै जीवनको प्रेम सम्बन्ध थाहा पाएका थिए। उनले चाहेका भए यो सम्बन्धलाई विफल पनि बनाइदिन सक्थे। घरपरिवारलाई भड्काउन सक्थे। तर दाइले त्यसो गरेनन्। 

जीवनले विवाह गरेपछि आमाबुवाले दाइलाई नै गाली गरे। ‘तैले पहिला नै भन्नुपर्थ्यो। तँलाई पहिला नै थाहा थियो भाइको बारेमा। भाइलाई तैले नै सहयोग गरिस्। भाइलाई तैले नै बिगारिस्। भाइको पक्षमा तँ नै भइस्’, आमाले दाइलाई गनगन गरेकी थिइन्। 

जीवनले अन्तरजातीय विवाह गरेर आफ्नै परिवारसँग विद्रोह मात्रै गरेनन्, स्वयम्लाई बदले पनि। लक्ष्मीसँगको विवाहलाई लिएर घरपरिवारको बहिष्करणमा पारे। तर, आशाको मधुरो दियो धिपधिप भने गरिरहेको थियो, ‘पक्कै घरमा एक दिन त बोलाउनुहुन्छ बाआमाले।’

भाइलाई रंगमञ्चमा लगाएर बिगार्‍यो भन्ने आरोप पनि खेप्नुपर्‍यो उनका दाइले। रंगमञ्चको सपना देखाउने पहिलो मान्छे नै जीवनका दाइ थिए। आठ कक्षादेखि नै जीवनलाई सडक नाटकमा खेलाएका थिए दाइले। दाइले जनचेतनामूलक नाटक गर्दा जीवन अनिवार्य जोडिन्थे। दाइ नाटक लेख्थे र निर्देशन पनि गर्थे। दाइ नै नाटकमा लागेपछि जीवनलाई पनि सहज हुँदै गयो। 

दाइकै नाटकमा खेल्दा एक हजार रुपैयाँ पहिलोपटक पारिश्रमिक पाएका थिए। दाइकै संगतले जीवनले ‘क्यारिकेचर’ पनि गर्न थाले। राजेश हमालदेखि महजोडीको सम्म आवाज निकालेर कक्षा कोठा हँसाउँथे। साथी–सर्कलमा फुरेको हाँसोले कोठा थर्किन्थ्यो। कहिलेकाहीँ शिक्षकबाट गाली खाने माध्यम पनि हुन्थ्यो। कविता लेखेर धेरैको मन जितेका थिए। 

दाइ पढाइ र रंगकर्मलाई अगाडि बढाउन काठमाडौं आए। नाटकमा संघर्ष गर्न थाले। ‘ताण्डव’ नामको स्वतन्त्र रंगमञ्च बनाएर संघर्ष गर्न थाले। जीवन पनि कमर्समा स्नातक सकेर दाजुलाई पछ्याउँदै काठमाडौं आए। 

दाइको नाटकमा उनी पनि जोडिए। फाट्टफुट्ट नाटकमा देखिँदै कन्स्ट्रक्सनमा लेखापालको जागिर पनि सुरु गरे। तर, दाइले नाटकमा उस्तो भविष्य देखेनन्। अनि बिदेसिने निधो गरे। 


जीवनमा कलाकारिताको भूत जगाएर दाइ जापानतिर लागे। दाइले नाटकमै ‘करिअर’ बनाउने भए सिकेरै लाग्नु भन्ने सुझाव दिएका थिए उनलाई। अनि उनी नाटक सिक्न मण्डला थिएटरमा जोडिए। 

नाटकमा जोडिएसँगै २०७१ सालतिर एन्टेना फाउण्डेशनको रेडियो नाटकमा सानो भूमिका निर्वाह गर्न पुगे जीवन। मुख्य भूमिकामा नाटक खेलिरहेकी लक्ष्मी बर्देवासँग पहिलो भेट यहीँ भएको थियो।  त्यो भेट मण्डला थिएटरमा पनि जारी रह्यो।

जीवन सुनाउँछन्, ‘बोलचाल चाहिँ मण्डलामा मैले नाटक सिक्न थालेपछि भएको थियो।’ बोलचाल र भेटघाटको सिलसिला केही वर्ष चल्यो। जीवनभन्दा एक वर्षअघिदेखि लक्ष्मी मण्डलामा नाटक गरिरहेकी थिइन्। ‘यूमा’ र ‘उपियाँको निबन्ध’मा सँगै काम गरे दुवैले। 

000

विवाह गरिसकेपछि एक दिन आमालाई फोन गरे जीवनले, ‘कस्तो छ आमा हजुरलाई?’ आमाले भनिन्, ‘किन सोधिरहन्छस्? भो बोल्नु पर्दैन।’ आमाको जवाफपछि जीवन केही बोल्न सकेनन्। जति बोल्नु थियो, उनको आँखा बोल्यो। आँखाले खसेको आँसुमै जीवनको सबै बोली खसेर छातीमा ठोक्कियो। आमाको प्रिय कान्छो छोरो भएकोले आमा पग्लिनुहोला लागेको थियो उनलाई। तर त्यसो भएन। 

त्यसदिनदेखि जीवनले घरमा खुलेर बोलेका छैनन्। मामाको घर उनको घरबाट नजिकै छ। मामातिरको परिवारको पनि चित्त दुखाइ छ, ‘भान्जाले नचिताएको सम्बन्ध जोड्यो।’ प्रेमका लागि आफ्नो मर्जीलाई सदर गरे उनले। भन्छन्, ‘केही सिनेमा, केही नाटक, केही अध्ययन र पे्रमले मलाई बदलेको हो। र अलिकति सहरको बसाइ पनि पाठ बन्यो।’ 

आफ्नो विवाह पनि परिवारकै एक अंश मान्छन् जीवन। परिवार एकदिन अवश्य फर्किने छ। बुबाआमा आफूसँग आएर बसिदिए अथवा जीवन र लक्ष्मीलाई घरमा बोलाइदिए हुन्थ्यो लाग्छ जीवनलाई। खैर, समयले बनाएको घाउलाई समयले नै निको बनाउँदै लैजाला।

लक्ष्मी दलित हुन् भन्ने कुरा साथी भएको एक वर्षपछि थाहा पाएका थिए जीवनले। लक्ष्मी स्वयम्ले आफ्नोबारे बताएकी थिइन्। जीवन सुनाउँछन्, ‘उनी स्पष्ट छिन्। कुनै कुरा लुकाउँदिनन्। लक्ष्मीले नै भनेपछि मैले थाहा पाएको हुँ।’ 

000

विगत आठ वर्षदेखि यो जोडीले संघर्ष गरिरहेको छ। दुःख गरिरहेको छ। सपना देखिरहेको छ। जीवन भन्छन्, ‘घर परिवारमा छोराले बाटो बिरायो भन्ने होला तर म जहाँ छु त्यहाँ खुशी छु। आफू बाँच्नुको सार्थकता मिलेको लाग्छ। यो भन्दा खुशी अन्त सायदै हुँदैनथ्यो होला।’

भाडाको फ्ल्याटमा बस्दै आएका छन् जीवन र लक्ष्मी। आफ्नो आवश्यकता मिलिजुली पूरा गरेका छन्। घरपरिवारको सहयोगको अपेक्षा राख्न छोडिदिए जीवनले। दाइको सहयोग भने आशिष जस्तो लाग्छ उनलाई।  

नेपाल समय

लक्ष्मी र जीवनको प्रेमको क्षेत्र एकै छ। सम्बन्धको क्षेत्र एकै छ। कर्मको क्षेत्र पनि एकै छ। एकै हुनुको अन्तर्य छ, दुवै खुसी छन्। भन्छन्, ‘कम्तीमा स्वतन्त्र भएर आफ्नो जीवनसाथी छान्न पाएँ। अलिकति मर्जीले खुशी मिल्छ भने परम्परागत समाज सोचेर किन पिरोलिने?’

बुवाआमासँग पनि हरेश खाएका छैनन् जीवनले। बरु लक्ष्मीले भनेको सम्झिन्छन्, ‘मसँग विवाह गरेर तपाईंको परिवार छुट्यो।’ तर, आफ्नो विवाह पनि परिवारकै एक अंश मान्छन् जीवन। परिवार एकदिन अवश्य फर्किने छ, बुवाआमा आफूसँग आएर बसिदिए अथवा दुवैलाई घरमा बोलाइदिए हुन्थ्यो लाग्छ जीवनलाई। खैर, समयले बनाएको घाउलाई समयले नै निको बनाउँदै लैजाला।

लक्ष्मीले बाआमालाई लिएर भनेकी थिइन्, ‘हामीसँग आएर बस्नु भए कस्तरी राख्थे हुँला, कति सेवा गर्थें हुला।’ तर, सबैको भाग्य उस्तो हुँदैन। सबैको समय सँगै आउँदैन। एक न एक दिन त कसो नआउला!

000

रामेछापकी लक्ष्मी बर्देवा र हेटौँडाका जीवन भट्टराईले कर्मथलो काठमाडौं बनाए। विवाहमण्डप पनि काठमाडौंमै सजाए। काठमाडौंमै संघर्षरत छन्। रंगमञ्चमा सक्रिय छन्। फिल्म र म्युजिक भिडियोमा पनि सँगसँगै काम गरिरहेका छन्। 

स्थापित कलाकार भइसकेकी छिन् लक्ष्मी। जीवनले पनि दर्जनौ म्युजिक भिडियो र सिनेमामा अभिनय गरिसकेका छन्। दुवैजना कविता लेख्छन्। स्क्रिप्ट पनि मिलेर पढेर सल्लाह सुझाव आदानप्रदान गर्छन्। अहिलेसम्म एक दर्जन जति नाटक खेलेका छन् जीवनले। राजन खतिवडा, दयाहाङ राई, प्रविण खतिवडा, सृजना सुब्वा, केदार श्रेष्ठ, बुद्धि तामाङ, सुदाम सिकेलगायत रंगकर्मीका निर्देशनमा अभिनय गरेका छन्। 

कविता पनि कोर्ने जीवनको कविताको पहिलो स्रोता लक्ष्मी हुन्। उनी आफ्ना कविताका हरफबाटै लक्ष्मीलाई तारिफ गर्छन्। भन्छन्, ‘कुनै व्यापारी, कर्मचारी, शिक्षक पेशामा लागेको भए आफूले पाएको प्रेम सम्भवतः सफल हुन्थेन,’ उनी भन्छन्, ‘थिएटरको सर्कल र लेख्न बानी भएरै नै मैले लक्ष्मीसँग विवाह गर्नसकें। नत्र म पनि त्यहीँबाट आएको हुँ। मैले पनि यही परम्परागत समाजको घमण्ड गर्थे कि!’ 

(‘मेरो जीवन, मेरो मर्जी’ शृंखला हरेक शनिबार प्रकाशित हुनेछ।)

तपाईं को प्रतिक्रिया

तपाईं को प्रतिक्रिया

ट्रेंडिंग

युक्रेनका ४ क्षेत्र गाभेको औपचारिक घोषणा गर्दै रुस

युक्रेनका लुहान्स्क, दोनत्स्क, जापोरिज्जिया र केरसन क्षेत्रलाई रुसमा गाभ्ने घोषणा गर्न लागिएको छ। 'क्रेमलिन दरबारमा स्थानीय समयअनुसार दिउँसो ३ बजे ती ४ क्षेत्र रुसमा गाभिएको घोषणा हुनेछ,' क्रेमलिन प्रवक्ता दिमित्री पेस्कोभले भनेका छन्।

पाँच दलको सिट भागबण्डा अन्तिम चरणमा [सूचीसहित]

लामो समयको गृहकार्यपछि धेरैजसो निर्वाचन क्षेत्रको भागबण्डा मिलेको छ तर केहीमा भने किचलो कायमै छ।

सोलुको सकस: कांग्रेस नछाड्ने, माओवादी नमान्ने

२०७४ को चुनावमा जितेकाले आफैंले पाउनुपर्ने माओवादीको अडान छ। यस पटक गठबन्धनले चुनाव लड्ने हुँदा सोलुखुम्बु आफूले पाउनुपर्ने दाबी कांग्रेसले गरिरहेको छ।

समानुपातिक सूची परिवर्तन नभए आफैँ संघर्षमा उत्रने शेखर-गगनको चेतावनी

समान अवसर र न्यायका लागि विरोध र संघर्षका कार्यक्रम गर्दै आएका आफूनिकट नेताहरूसँग छलफल नेता कोइराला र महामन्त्री थापाले यस्तो बताएका हुन्। बत्तिसपुतलीस्थित अनुपम फुडल्यान्डमा असन्तुष्ट नेताहरुसँग उनीहरूले छलफल गरेका हुन्।

भीम रावल पार्टी सम्पर्कमा नआएपछि ओलीको सोधीखोजी

४ मंसिरमा हुने निर्वाचनका लागि एमाले जिल्ला कमिटीले अछाम क्षेत्र–१ बाट रावललाई मात्र सिफारिस गरे पनि पछिल्लो समय पार्टी सम्पर्कमा नआएपछि के भएको हो भनेर बुझ्न सुदूरपश्चिम एमाले नेताहरु पुगे ओली निवास।

सिभिल र हिमालयन मर्ज भएपछि ६ महिनामा 'सिनर्जी' आउँछ : सुनील पोखरेल [अन्तर्वार्ता]

हिमालय बैंक लिगेसी बोकेको पुरानो बैंक हो। हामीसँग साना तथा मझौला प्रकृतिको बिजनेस छ। हिमालयनको ठूला र कर्पोरेट बिजनेस छ। हाम्रा स-साना ग्राहक छन् तर उसका ठूला ग्राहक छन्।

आजदेखि निर्वाचन आचारसंहिता लागु : के गर्न पाइन्छ, के पाइँदैन?

आगामी मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनका लागि आचारसंहिता बुधारदेखि लागु गरिएको छ।

अलमुताइरीप्रति कप्तान किरणको अझै गुनासो, भने - व्यक्तिका लागि भन्दा पनि देशका लागि खेल्छौं

नेपाल राष्ट्रिय फुटबल टोलीका कप्तान किरण चेम्जोङले प्रशिक्षक अबदुल्ला अलमुताइरीले आफूलाई टिमबाट निकालेकोमा दुखेसो पोखेका छन्। व्यवसायिक फुटबलका क्रममा भारतमा रहेका किरण बंगलादेशसँगको मैत्रीपूर्ण खेलका लागि नेपाल आएका हुन्।

मोरङ-३ : चुनावमा प्रभाव पार्ने यस्तो छ मेडिकल कलेज कनेक्सन

सुनिल शर्माले आफ्नो नोबेल मेडिकल कलेजमार्फत राजनीतिक प्रभाव बढाएका छन्। निर्वाचन क्षेत्रमा नागरिकको निःशुल्क र कम शुल्कमा उपचारको व्यवस्था मिलाएर उनले मतदाताको प्रभाव बढाएका हुन्। उता राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट उम्मेदवार बन्ने तयारीमा रहेकी रेखा थापाले पनि अभियान तीव्र बनाएकी छिन्।

मधेसवादी दलको कमजोरीमा 'जाल' थाप्दै एमाले!

मधेसवादी दलका एजेन्डाहरू पहिलेभन्दा कमजोर बन्दै गएपछि सत्ताको लोभ गर्नेहरू राजनीतिक सुरक्षाका निम्ति एमाले प्रवेश गरिरहेका छन् भने एमालेले पनि मधेसवादी दलको कमजोरीको फाइदा उठाएको राजनीतिक विश्लेषण गरिँदै छ।

थप समाचार

नेपाल समय
कला/साहित्य

संकटमा सखिया

'पहिले थारु समुदायमा पढाइ थिएन, सबै युवायुवतीहरु गाउँमा हुन्थे, दिनभर काम गर्ने बेलुका नाच्ने गरिएको थियो,'सुशील चौधरीले भने, 'अहिले अध्ययनका लागि कामका लागि सबै युवाहरु गाउँ बाहिर जान थालेका छन्। अर्को कुरा मनोरन्जनका विभिन्न साधनहरु पनि देखा परे। त्यसले मौलिक परम्पराहरु मासिने अवस्थामा पुगेका छन।'
नेपाल समय
फिल्म

९६ वर्षअघि महँगो फिल्म बनाएकी एसियाकै पहिलो महिला निर्देशक फातमा बेगम

एकातिर यो फिल्म पहिलो पटक महिलाले निर्देशन गरेको चर्चा भइरहेको थियो भने अर्कोतिर यसमा देखाइएको भीएफएक्सले पनि तारिफ पाइरहेको थियो।
नेपाल समय
कला/साहित्य

बडादसैं र मालश्रीको 'कनेक्सन'

६ वटा ऋतुका धुनमध्ये मालश्री एक हो, जसको मधुर आवाजले दसैं आएको आभाष दिलाउँछ ।
नेपाल समय
कला/साहित्य

सपना, संघर्ष र स्वाभिमानको कथा 'बुह्रान'

जातीय, भाषिक, क्षेत्रीय, लैंगिक, वर्गीय र सांस्कृतिक विभेदविरुद्ध लेखिएका विरलै उत्कृष्ट कृतिहरू मध्ये एक हो बुह्रान।
नेपाल समय
कला/साहित्य

एउटा गहिरो सागरको छाललहर [निबन्ध]

मानिस, ढुंगाहरुको भिडमा ढुँगै त हो। आसुको थोपामध्ये एक बुँद। आकाशमा एउटा शून्यता थामेर उभिएको एक टुक्रा आकाशै त हो मान्छे। विशाल गोदाम भित्र कतै कुनामा छुटेको एउटा धानको बियाँ त हो मानिस। तोरीको एउटा गेडा त हो, कोलमा पेलिनबाट छुटेको।

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

House -138, Suruchi Marg, New Baneshwor, Kathmandu, Nepal
फोन : +977-1-4790242 / +977-1-4790040
इमेल : nepalsamayanews@gmail.com
  • प्रबन्ध निर्देशक
    तरुणप्रताप शाह
  • प्रधान सम्पादक
    नारायण अमृत
  • महाप्रबन्धक
    जीवन तिम्सिना