बिहीबार, असोज २०, २०७९

यस्तो छ प्रकाश सपुतको ‘पिर’की यी चर्चित पात्रको कथा

राज सरगम  |  काठमाडौं, सोमबार, फागुन ३०, २०७८

राज सरगम

राज सरगम

सोमबार, फागुन ३०, २०७८, काठमाडौं

नेपाल समय

जीवनको २८औँ बसन्तमा हिँडिरहेकी केशु पुन मगरलाई आफूले पाएको चर्चा सपनाजस्तो भएको छ यतिखेर। चर्चित हुने सपना उनले कहिल्यै देखिनन्, न त चर्चाकै लागि काम गरिन्। अभिनयमा लागेर हिट हुने हुटहुटी उनमा चलेन। तर, 'पिर'मार्फत् ‘हिट’ भइन्। 

'पिर'मा छोटो भूमिकामा देखिएकी उनलाई त्यही भूमिका चर्चाको मुख्य कारण बनिदियो। प्रकाश सपूतको गीत ‘पिर’ मा देहव्यापार गर्ने एक यौनकर्मीको भूमिका निर्वाह गरेकी केशु पुन मगर 'पिर'मा मुख्य भूमिकामा देखिएकी पात्रमा नै पर्छिन्। यो भूमिका दर्शकको केन्द्रमा पर्न सफल भएको पनि छ। 

पिरमा केशुको भूमिकामाथि सबैभन्दा बढी टिकाटिप्पणी भइरहेको छ। धेरैले उनको भूमिकालाई पुनःसम्पादन गराउन सुझाव दिएका छन्। तर यस्तो प्रतिक्रिया आउँला भनेर आफूले नसोचेको बताउँछिन् केशु। रक्तिम परिवारकी जनवादी कलाकार गीतमा कसरी जोडिइन् त? कसरी उनी यौनकर्मीको भूमिकामा देखिइन्? 

गत फागनु १ गते केशु गृहजिल्ला बाग्लुङमा थिइन्। घरायसी काम गर्नका लागि बाग्लुङ पुगेकी केशुलाई गायक/कलाकार प्रकाश सपुतले म्यासेज गरे। ‘मिलेर एउटा गीतमा काम गर्नुपर्‍यो’ केशुलाई प्रकाशको प्रस्ताव थियो। 

प्रकाशको प्रस्तावले केशुलाई तुरुन्तै काठमाडौं फर्कायो। काठमाडौं आएपछि प्रकाशसँग भेटिन्। प्रकाश र केशु दुवै बागलुङलाई प्रतिनिधित्व गर्छन्। उनीहरुको काम गर्ने क्षेत्र पनि एकै हो। तैपनि केशुलाई प्रकाशसँग काम गर्न रहर थियो। त्यो रहर पूरा हुने भएपछि केशु उत्साहित पनि थिइन्। 

प्रकाशले म्युजिक भिडियोमा काम गर्न प्रस्ताव गरे। सांगीतिक भिडियोको कथाको मर्म पनि सुनाए। ‘उहाँ (प्रकाश सपुत)ले सुनाएको कथाले मलाई सोचमग्न बनायो,’ प्रकाशले सुनाएको भिडियोको कथाबारे उनले भनिन्। 

केशुले सोच्नका लागि लागि केही समय लिइन्। प्रकाशको कुराले एकछिन केशु 'नर्भस' पनि भएकी थिइन्। बाल्यकालदेखि जनवादी गीत गाउँदै आएकी थिइन् केशु। ‘म छापामार युवती नभएपनि, बन्दुक नबोके पनि जनवादी गीत गाउँदै जनतालाई जागरुक बनाउन हिँडेकी कलाकार थिएँ।' यही बीचमा प्रकाशले भनेका थिए, ‘तिमीलाई काम गर्ने चाहना छ भने, अप्ठ्यारो लाग्दैन भने, काम गर्न सक्छौ।' 

उनले आफ्ना दुःख सम्झिइन्। छापामार साथीहरूका दुःख पनि सम्झिइन्। प्रकाशले भनेको कुरा पनि सम्झिइन्। 'मेरो दुःख र कथा पनि धेरै छापामार युवतीहरूको भन्दा कम छैन भन्ने लागेर त्यही भूमिका निभाउन तयार भएँ,’ उनले निर्णय लिँदाको क्षण सुनाइन्। 'उहाँको कुरा सुनेपछि काम गर्ने हौसला आयो। अनि सहकार्य गर्न तयार भएँ। 'पिर'सँग जोडिएँ,’ 'पिर'मा देखिएको उनको भूमिकाबारे केसुले खुलाइन्।  


नेपाल समय

दश वर्ष जनयुद्ध गरेर धेरै पूर्वलडाकु बेघरबार भए। बेरोजगार भए। चप्पल लगाएर हिडेँका केही क्रान्तिकारी लडाकु सिंहदरबार पसे। केही ठेकदार भए। नेता भए। केही लडाकु भने ‘पिर’ गीतको भिडियोमा देखाइका पात्रजस्तै सहरका गल्लीमा भविष्य खोजेर भौतारिए। केही ऋण गरेर खाडी देशमा श्रमका लागि जान बाध्य भए। असली पीडितको वास्तविक कथालाई आम मानिससम्म पुर्‍याउन सकिन्छ भन्ने लाग्यो केशुलाई। उनी भन्छिन्, ‘अप्ठ्यारो हुन्न भने मात्र खेल्नुस् भन्नुभयो प्रकाश दाईले। मैले भूमिका गरेका जस्ता पात्र सहरमा पूर्वलडाकु महिला सँगसँगै अरु पनि धेरै छन्। एउटा विम्बको रुपमा भूमिका निर्वाह गर्न पछाडि हटिनँ।’ 

'पिर'मा घाइते पूर्वलडाकुले आफ्नो यौनेच्छा मेटाउन देहव्यापार गर्ने एक युवती अगाडि उभिएर जब अनुहार हेर्छ, युवक आत्तिन्छ, तर्सिन्छ। आफूसँगै जनयुद्धमा होमिएकी छापामार कमरेडअगाडि अनायसै हात उठाएर सलाम गर्छ। युवतीले पनि हात उठाएर सलाम गर्छिन्। यो भूमिका निभाएका बेला भने निकै गाह्रो भएको केशुले सम्झिइन्, ‘निक्कै भावुक भएकी थिएँ म। मैले भेटेका साथीहरुको कथा थियो त्यो, जसलाई मनबाटै सम्झिनु पर्ने थियो, जो दशवर्षे सशस्त्र संघर्षमा सँगसँगै हिँडेका थिए। फरक यत्ति थियो, कसैको हातमा बन्दुक थियो, कसैसँग गीतसंगीत थियो।’ 

नेपाल समय

लामो समय अभिनय र निर्देशनमा चासो राखेकी केशुले पिर गीतमा संवाद त केही बोल्नु परेन तर मनमा त्यो अवस्थाबाट गुज्रिनु परेको अनुभूति गर्न साह्रै गाह्रो भएको थियो। ‘मैले अभिनयको मुड बनाउँदा पनि खुबै भक्कानिएँ,’ 'पिर'मा अभिनयको क्षण सम्झिइन्। 

समयसँगै आफूलाई लैजान सक्नु कला हो। केशुले पनि कलात्मक जीवनशैली बाँच्न खोजिन्। जनताका जागरुक बनाउन जनवादी गीत गाउने र नाच्ने केशु अहिले मायाप्रेमका गीतमा अभिनय गर्छिन्। जसले मनोरञ्जन मात्रै दिन्छ भन्ने उनलाई लागेको छ। तर, समाजको सत्य कुरालाई गीतंसंगीत र भिडियोबाट देखाउन कोसिस गरेर चौतर्फी आलोचना भएकोप्रति उनी दुःखी छिन्। भन्छिन्, ‘सत्य र राम्रो काम स्वीकार्नै गाह्रो मान्ने समाज छ।’ 

आफूले गर्न नसक्ने तर अरुले गरेको कामलाई खोट देखाउने प्रवृत्तिप्रति उनको गुनासो छ, ‘आमूल देश परिवर्तनका लागि १० वर्ष क्रान्ति गरेर आउनु भएका क्रान्तिकारी योद्धा तथा नेता १६ मिनेटको गीतमा तीस सेकेन्डको मेरो भूमिकाले सिंगो पार्टी तथा कार्यकर्तालाई हल्लाउछ भने कस्तो खालको क्रान्ति गर्‍यौं हामीले? कसको परिवर्तनका लागि छापामारले बन्दुक बोके? अहिले विवादमा तान्नु भन्दा पनि आफ्नो नेतृत्वमा भएको कमजोरी सच्याउनेतिर लाग्नु पर्ने होइन र?’ केशुका गहमा आँसु भरिए।

000

गाउँघर, वनजंगल, नदी तथा खोला र पहाडका भिराला बाटाहरुमा सँगैसँगै बन्दुक र गीत लिएर जनतालाई जागरुक गर्न हिँडेकी थिइन् केशु। एक दशकजस्तो बागलुङ र गुल्मीका, रुकुमरोल्पाका केही भागमा उनले गीत गाइन्, नाचिन्। भोक र तिर्खा बिर्सिएर मुक्तिको नारा लगाउँदै हिँडिन्। 'परिवर्तनका लागि गीत गाउन र बन्दुक बोक्नै उस्तैउस्तै थियो,' उनी भन्छिन्, ‘जनवादी कलाकारले बन्दुक नबोके पनि क्रान्तिका गीत बोकेर हिडेँका थिए। ती लडाकु दिदीबहिनी र ममा केही अन्तर छैन। म यस्तो पेसामा लागेको छु नभने पनि कहीँ न कहीँ भेटिन्छन् छापामार पूर्व लडाकुहरु।’ 

जीवन सबैको एकनास हुँदैन। बाल्यकालदेखि नै जनवादी गीत गाउन होमिएकी केशुले कक्षा ६ पढ्दादेखि नै विद्यालयमा हुने कार्यक्रमको नेतृत्व गर्थिन्। सबैलाई भनेजस्तो नहोला, पनि तर परिस्थितिले मान्छेलाई कहाँ/कता पुर्‍याउँछ कसलाई थाहा हुन्छ र? क्रान्तिमा होमिएका केही पात्र हुने-खाने पनि भए। ‘लक्जरी लाईफ’ जिइरहेका पनि छन्। कसैले भने रातदिन संघर्ष गर्दा पनि छोराछोरीलाई विद्यालयसम्म पुर्‍याउन सकेका छैनन्। 

नेपाल समय

'केही छापामार पूर्वलडाकु महिला विदेशी भूमिका काम गरिरहेका होलान्, कसले खोजेको छ र? ज्यान जोखिममा राखेर आफ्नो शरीर बेच्न विवश होलान् कतिपय, सम्बन्धित निकाय मौन छ। बेपत्ता मानिस त खोज्न नसकेको बेला देहव्यापारमा लागेका छापामार पूर्वलडाकु महिलाको तथ्यांक कसले संकलन गर्या छ र?,' केशु भन्छिन्, ‘मसँगै धेरै दिदीबहिनीले सहरका दोहोरी साँझमा गीत गाउन सक्छन् भने अप्ठ्यारो घडी आइपरे देहव्यापार गर्न पनि विवश नहोलान् भन्न सकिन्न।’ केशुले पनि आधा दशक नयाँबसपार्कका बार तथा दोहोरी साँझमा गीत गाएकी छिन्। 

000

२०६२/६३ को जनआन्दोलनसँगै माओवादीले विस्तृत शान्ति सम्झौता गर्‍यो। जंगल र पहाडका कुनाकन्दारामा लुकेर हिँड्ने माओवादी सहर केन्द्रित भए। कामको खोजीमा सहरतर्फ लागे। केशु पनि सहर पसिन्। जनवादी गीत गाउँदै हिँडेकी केशुले गीत गाउने धोको लिएर काठमाडौं आएपनि त्यो रहर पूरा भएन। बरु उनले जीवन धान्नका लागि काम खोजिन्। चिनेका नेताकार्यकर्तालाई अनुरोध गरिन्। पढ्दापढ्दैको उमेरमा जनवादी गीत गाउन हिँडेकी केशुले पढाइकै कारण 'राम्रो' जागिर पाउने सम्भावना रहेन। निराश हुँदै दोहोरी साँझहरुमा गीत गाउन पसिन्। भन्छिन्, ‘काठमाडौं आउँदाका दिनमा धेरै दुःख पाएँ। भनेजस्तो काम पाइनँ। पछि रातिराति दोहोरी साँझहरुमा गीत गाउने र नाच्नुपर्ने भयो। त्यसका लागि तयार नभए अर्को विकल्प थिएन।’

केशुले आफूलाई सहरीया बनाउन विवश भइन्। दोहोरी साँझमा गीत गाउन र नाच्न थालिन्। उनीसँगै थिए केही जनवादी गीत गाउने र वाद्यवादन बजाउने कलाकार। नयाँ बसपार्कका केही बार रेस्टुरेन्ट तथा दोहोरी साँझमा गीत गाउन थालेपछि कलाकार हुने मोह पनि हराउदै गएको थियो उनको। भन्छिन्, ‘परिस्थितिले मान्छेको सपना बन्ने भत्किने गर्दोरहेछ। मैले गीतसंगीत र अभिनयलाई माया मार्दै थिएँ।’

दोहोरी साँझमा धेरैपटक उनले प्रकाश सपूत जस्ता कलाकारलाई भेटिन् पनि। आफूजस्तै साथीहरु भेट्दा उनलाई अलिकति हौसला आउँथ्यो। छिट्टो घुलमिलिन्थे। प्रकाशलाई पनि उनले नजिकबाट चिन्ने मौका पाइन्। भन्छिन्, ‘दश वर्षको आन्दोलनले कसैलाई सिंहदरबार पुर्‍यायो भने कसैकसैलाई दोहोरी साँझ पनि पुर्‍यायो।’

नेपाल समय

जनताका लागि 'छापामार' शैलीमा गीत गाएकी केशुलाई जनताका घरघरमा पुग्दा लागेको थियो। गाउँघरका सोझासाँझा जनतालाई जगाउदै हिँडेका दिन सम्झिएर अनुहार मलिन बनाइन् उनले। ‘जनवादी गीतले देशको परिवर्तन गर्नु थियो। दोहोरी गीतले पुँजीपतिलाई क्षणिक मनोरञ्जन दिनु त हो,’ उनले भनिन्। पाँच वर्ष उनले दोहोरी साँझमा गीत गाइन्। नाचिन्। दुईचार पैसा जोहो गरेर दोहोरी साँझमा नाच्न चटक्कै छोडिन्। उनी चिया बनाउने कामतर्फ लागिन्।  

000

सहरमा जीवन निर्वाह गर्न गाह्रो छ। बढ्दो महङ्गीले थोरै कमाइले पुग्दैन। जनताको जीवनशैली नै परिवर्तन गर्न हिँडेको पार्टी विलाए जस्तै भएको छ। तिनले देखाएको क्रान्तिको बाटो हिँडेका कोही लडाकु 'अयोग्य' भए, कोही खाडी गए। सानतिनो काम गरेर न खान पुग्यो। तर इज्जतका साथ कमाएर खाने सपना देखेर केशुले गंगबुस्थित विष्णुमती नदीको किनार 'बागलुङ कालिका क्याफे' खोलिन्। भन्छिन्, ‘चार/पाँच वर्ष भयो चिया पसल चलाउन थालेको। अहिले खुशी छु।’

खुशी खोज्न उनले चिया पसल खोलिन्। चिया पसलबाट सामान्य घरव्यवहार चलेको बताउँछिन्। आफूसँगै गाउँगाउँ हिडेका कलाकार तथा पूर्वलडाकु उनका चिया पसलमा आक्कलझुक्कल पुग्छन्। चिया पिउँछन्। गीतसंगीत रुचाउनेहरू गीतसंगीतका सपना देखाउँछन्। अभिनयमा निरन्तरता दिन अनुरोध गर्छन्। बिर्सिएको कुरालाई उनी सम्झन नचाहँदा नचाहँदै गीतसंगीतमै फर्किइन् केशु। केही गीतमा उनले निर्देशन र अभिनय पनि गरेकी छन्। चिया पसल र दोहोरी साँझमा दुःख बराबरी देखिए पनि एउटा भिन्नतालाई उनी सधैं महसुस गर्छिन्। भन्छिन्, ‘दोहोरी साँझ अर्काको रुचि र अधीनमा काम गर्नुपर्‍यो। शरीर र कला दुवैलाई प्रदर्शन गर्नुपर्‍यो। तर चिया पसलमा स्वतन्त्रता छ। सेवा गरेर खुशी हुन सकिन्छ।’


प्रकाशित: March 14, 2022 | 21:13:40 काठमाडौं, सोमबार, फागुन ३०, २०७८

तपाईं को प्रतिक्रिया

ट्रेंडिंग

युक्रेनका ४ क्षेत्र गाभेको औपचारिक घोषणा गर्दै रुस

युक्रेनका लुहान्स्क, दोनत्स्क, जापोरिज्जिया र केरसन क्षेत्रलाई रुसमा गाभ्ने घोषणा गर्न लागिएको छ। 'क्रेमलिन दरबारमा स्थानीय समयअनुसार दिउँसो ३ बजे ती ४ क्षेत्र रुसमा गाभिएको घोषणा हुनेछ,' क्रेमलिन प्रवक्ता दिमित्री पेस्कोभले भनेका छन्।

पाँच दलको सिट भागबण्डा अन्तिम चरणमा [सूचीसहित]

लामो समयको गृहकार्यपछि धेरैजसो निर्वाचन क्षेत्रको भागबण्डा मिलेको छ तर केहीमा भने किचलो कायमै छ।

सोलुको सकस: कांग्रेस नछाड्ने, माओवादी नमान्ने

२०७४ को चुनावमा जितेकाले आफैंले पाउनुपर्ने माओवादीको अडान छ। यस पटक गठबन्धनले चुनाव लड्ने हुँदा सोलुखुम्बु आफूले पाउनुपर्ने दाबी कांग्रेसले गरिरहेको छ।

समानुपातिक सूची परिवर्तन नभए आफैँ संघर्षमा उत्रने शेखर-गगनको चेतावनी

समान अवसर र न्यायका लागि विरोध र संघर्षका कार्यक्रम गर्दै आएका आफूनिकट नेताहरूसँग छलफल नेता कोइराला र महामन्त्री थापाले यस्तो बताएका हुन्। बत्तिसपुतलीस्थित अनुपम फुडल्यान्डमा असन्तुष्ट नेताहरुसँग उनीहरूले छलफल गरेका हुन्।

भीम रावल पार्टी सम्पर्कमा नआएपछि ओलीको सोधीखोजी

४ मंसिरमा हुने निर्वाचनका लागि एमाले जिल्ला कमिटीले अछाम क्षेत्र–१ बाट रावललाई मात्र सिफारिस गरे पनि पछिल्लो समय पार्टी सम्पर्कमा नआएपछि के भएको हो भनेर बुझ्न सुदूरपश्चिम एमाले नेताहरु पुगे ओली निवास।

सिभिल र हिमालयन मर्ज भएपछि ६ महिनामा 'सिनर्जी' आउँछ : सुनील पोखरेल [अन्तर्वार्ता]

हिमालय बैंक लिगेसी बोकेको पुरानो बैंक हो। हामीसँग साना तथा मझौला प्रकृतिको बिजनेस छ। हिमालयनको ठूला र कर्पोरेट बिजनेस छ। हाम्रा स-साना ग्राहक छन् तर उसका ठूला ग्राहक छन्।

आजदेखि निर्वाचन आचारसंहिता लागु : के गर्न पाइन्छ, के पाइँदैन?

आगामी मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनका लागि आचारसंहिता बुधारदेखि लागु गरिएको छ।

अलमुताइरीप्रति कप्तान किरणको अझै गुनासो, भने - व्यक्तिका लागि भन्दा पनि देशका लागि खेल्छौं

नेपाल राष्ट्रिय फुटबल टोलीका कप्तान किरण चेम्जोङले प्रशिक्षक अबदुल्ला अलमुताइरीले आफूलाई टिमबाट निकालेकोमा दुखेसो पोखेका छन्। व्यवसायिक फुटबलका क्रममा भारतमा रहेका किरण बंगलादेशसँगको मैत्रीपूर्ण खेलका लागि नेपाल आएका हुन्।

मोरङ-३ : चुनावमा प्रभाव पार्ने यस्तो छ मेडिकल कलेज कनेक्सन

सुनिल शर्माले आफ्नो नोबेल मेडिकल कलेजमार्फत राजनीतिक प्रभाव बढाएका छन्। निर्वाचन क्षेत्रमा नागरिकको निःशुल्क र कम शुल्कमा उपचारको व्यवस्था मिलाएर उनले मतदाताको प्रभाव बढाएका हुन्। उता राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट उम्मेदवार बन्ने तयारीमा रहेकी रेखा थापाले पनि अभियान तीव्र बनाएकी छिन्।

मधेसवादी दलको कमजोरीमा 'जाल' थाप्दै एमाले!

मधेसवादी दलका एजेन्डाहरू पहिलेभन्दा कमजोर बन्दै गएपछि सत्ताको लोभ गर्नेहरू राजनीतिक सुरक्षाका निम्ति एमाले प्रवेश गरिरहेका छन् भने एमालेले पनि मधेसवादी दलको कमजोरीको फाइदा उठाएको राजनीतिक विश्लेषण गरिँदै छ।

थप समाचार

नेपाल समय
संगीत

दसैंमा बज्ने कालजयी १० गीत

सङ्गीत क्षेत्रमा लागेका अधिकांशले चाडबाडसम्बन्धी गीत गाउने गरेका छन्, धेरै दशैं गीत बज्ने गरे पनि दसैँभरि धेरै बज्ने मुख्य दश गीतले नेपालीको मन छुने गरेको छ।
नेपाल समय
कला/साहित्य

अनि दसैंमा गुन्जिन्छ 'रातो टीका निधारमा टलक्क टल्कियो'

दसैं नेपालीको मौलिक चाड हो। मौलिकतासँग नेपाल मनको आत्मीयता जोडिएकाले पनि रातो टीका निधारमा टलक्क टल्कियो गीतले दसैंलाई सम्झाइरहने ठान्छन्, संगीतकार बाँस्कोटा।
नेपाल समय
रचना

श्रीमानको साथी

घरमा कति योजना, कार्यक्रम वा पारिवारिक जमघटहरु चाहे ती जतिसुकै महत्वपूर्ण हुन् तर बीचमा कतै त्यो मान्छेको प्रसंग आइपुग्छ अनि ती सबै भताभुंग हुन्छन् अर्थात् सारा संसार एकातिर अर्कोतिर एकमात्र उ। कहिलेकाहीँ त लाग्ने कि त्यो साथी नभेट्दासम्म यो मान्छेको जीवन कसरी चलेको थियो होला, अहिलेको यसको पारा हेर्दा?
नेपाल समय
कला/साहित्य

त्यसैले देवेन्द्र बब्लुको दसैं काठमाडौंमै

माया बसेजस्तो, म त पर्खेको पख्र्यै छु, मायालु, मनमायाजस्ता चर्चित गीत गायक देवेन्द्र यसपालिको दसैं बिदामा सांगीतिक यात्रामा हुनेछन्।
नेपाल समय
कला/साहित्य

कोरानापछिको दसैं मनाउन गाउँ फर्किंदैछन् यी गायक-कलाकार

काठमाडौंलाई कार्यथलो बनाएर नाम अनि दाम कमाएकाहरू र यही घरजम गरिरहेका गायक÷कलाकारहरू पनि कोरोनाका कारण दुई वर्ष दसैं मनाउन नपाएकामा यसपालि पुख्र्यौली थलो गाउँ फर्किंदैछन्।

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

House -138, Suruchi Marg, New Baneshwor, Kathmandu, Nepal
फोन : +977-1-4790242 / +977-1-4790040
इमेल : nepalsamayanews@gmail.com
  • प्रबन्ध निर्देशक
    तरुणप्रताप शाह
  • प्रधान सम्पादक
    नारायण अमृत
  • महाप्रबन्धक
    जीवन तिम्सिना