सोमबार, मंसिर १२, २०७९
स्मृति

'नेपालगन्ज म बिर्सुं कसरी?'

राज सरगम  |  काठमाडौं, सोमबार, मंसिर १३, २०७८

राज सरगम

राज सरगम

सोमबार, मंसिर १३, २०७८, काठमाडौं

नेपाल समय

‘तपाईंको जीवनको टर्निङ प्वाइन्ट के हो?’ 

मदन पुरस्कार विजेता लेखक नीलम कार्की ‘निहारिका’लाई जब कसैले यस्तो जिज्ञासा राख्छ, उनी एकाएक तीन दशकअघिको नेपालगन्जमा फर्किन्छिन्। त्यो सहर जहाँ उनले नर्सिङमात्रै पढिनन्, जीवनको स्वर्णीम पलहरु बाँचिन्। त्यो सहर जसले उनलाई मिठा अनुभूतिहरुमात्रै दिएन, लेख्ने प्रेरणा पनि दियो। अनि, लेखकको परिचय पनि।

धेरै लेखकका पुस्तक र कथाहरुमा अनेक पात्रहरु नेपालगन्जमा बाँचेका छन्, तर नीलमका लागि भने यो आफै बाँचेको सहर हो। धेरैले उनलाई अहिले लेखकका रुपमा चिन्छन्। उनको नाम लिएपछि ०७४ सालमा मदन पुरस्कार पाउन सफल उनको पुस्तक ‘योगमाया’ सम्झिन्छन्। तर, उनी सिनियर नर्स पनि हुन् भन्ने धेरैलाई थाहा छैन। 

पछिल्लो समय अमेरिका रहेर लेखनकर्ममा सक्रिय रहेकी नीलम यतिखेर नेपालमा छिन्। इतिहास अनुसन्धान र महाभारतका पात्रलाई आफ्ना विषयवस्तु बनाउँदै हालै उनले बजारमा नयाँ सांस्कृतिक उपन्यास लिएर आएकी छिन्, ‘द्रोपदीको अवशेष’। जुम्लाको बहुपति विवाह प्रथालाई मुख्य कथानक बनाएर लेखिएको यो उपन्यासकै कार्यक्रमको सिलसिलामा गत हप्तामात्रै उनी सुर्खेत पुगेकी थिइन्। सुर्खेतबाट फर्कंदा केही दिन उनी नेपालगन्जमा पनि बसिन्। त्यहाँ पुगेपछि उनी ‘नोस्टाल्जिक’ नहुने कुरै भएन। नर्सिङ पढ्दाका ती दिनहरु फेरि ताजा भएर आए। भन्छिन्, ‘ओहो, क्या दिन थिए ती। अहिले पनि झलझली सम्झना आउँछ।’

इतिहास अनुसन्धान र महाभारतका पात्रलाई आफ्ना विषयवस्तु बनाउँदै हालै उनले बजारमा नयाँ सांस्कृतिक उपन्यास लिएर आएकी छिन्, ‘द्रोपदीको अवशेष’।

छात्रवृत्तिमा स्टार्फ नर्स पढ्ने अवसर पाएपछि पाल्पामा जन्मेकी नीलम ०४७ सालतिर नेपालगन्ज पुगेकी थिइन्। उनले त्यहाँ नेपालगन्जको प्रचण्ड गर्मी त महसुस गरिन् नै, सँगसँगै त्यसको बहुसांस्कृतिक चरित्र पनि देखिन्। 

उनी बस्ने नर्सिङ होस्टेल नजिकै थियो, मन्दिर र मस्जिद। बिहान झिसमिसेमै बज्ने बागेश्वरी मन्दिरको घन्टी, अनि नजिकै मस्जिदमा पुकारिने ‘अल्लाह’को नाम। हरेक बिहान यसैले ब्युँझाउँथ्यो उनलाई। माइकमा त्यही ‘अल्लाह’ र ‘शिव’ सुनेर उठ्ने बानी परेको थियो। ‘हाम्रा लागि मन्दिर र मस्जिदबाट आउने ती आवाजहरु बिहान उठ्ने अलार्म नै भएका थिए,’ नीलम सम्झिन्छिन्। 

गगनगन्जको गल्ली 

नेपालगन्जको एक गल्ली
नेपालगन्ज जानेहरुले पक्कै गगनगन्जलाई सम्झिन्छन्। त्यो गगनगन्ज जहाँ पचासको दशकमा बादी प्रथा अत्यधिक थियो। बादी महिलाहरुका कारण त्यहाँका गल्लीहरुलाई अघोषित ‘रेडलाइट’ नै भनिन्थ्यो।

नीलमले पनि गगनगन्जका अनेक गसिपहरु सुनेकी थिइन्। नर्सिङ पढ्दा सातामा एक दिन प्राक्टिकल कोर्सका लागि बाहिर जान पाइन्थ्यो। एक दिन त्यही मौकामा गगनगन्ज जाने योजना बनाइन् उनले। त्यसपछि नेपालगन्जमै घर भएका नर्स पढ्ने साथीहरुलाई योजना सुनाइन्। सुरुमा त प्रस्ताव सुनेर साथीहरु तर्सिए। तर, पछि तयार भए। 

जब उनी र उनका साथीहरु गगनगन्जको गल्लीभित्र छिरे, त्यहाँको दृश्यले अचम्मितमात्रै भएनन्, तर्सिए पनि। ‘हामी त निकै डरायौं। महिलाहरु श्रृंगारिएर बसेका थिए। मोटो मोटा मान्छेहरु गल्लीमा हिँडिरहेका थिए। दृश्यले हिन्दी फिल्महरुमा देखेको रेडलाइड एरियाकै झल्को दिएको थियो,’ गगनगन्जको यो कथामाथि कुनै दिन लेख्ने चाहना पनि थियो नीलमको तर अझै जुरेको छैन। 

होस्टेलको झ्यालबाट देखिने कारागार

नीलम पढ्ने नर्सिङ क्याम्पसको पर्खालसँगै जोडिएको थियो, जिल्ला कारागार बाँके। हरेक दिन होस्टेलको झ्यालबाट देखिन्थे, कारागारभित्रका कैदीहरु। उनीहरुको सुरक्षामा तैनाथ हतियारधारी प्रहरी र कैदीहरुलाई देखेर तर्सिन्थिन् उनी। ‘त्यसैले झ्याल खोल्नै डर लाग्थ्यो,’ नीलम सम्झिन्छिन्, ‘कारागारका कैदीहरु रातभरी चिच्याउँथे, रोइरहेका हुन्थे। यता हामीलाई निदाउन गाह्रो हुन्थ्यो।’

एक दिन नीलमकै साथीको आफन्तलाई चेलिबेटी बेचबिखनको आरोपमा कारागारभित्र थुन्न ल्याइयो। ती आफन्तलाई साथीसँगै भेट्न गएकी थिइन्, नीलम। सधै‌ झ्यालबाट हेरिरहेको कारागारलाई गेटमा पुगेर हेर्दा झन् तर्सिएकी थिइन् उनी। नजिकै पुगेपछि त्यहाँ उनले साथीको आफन्त कैदीमात्रै देखिनन्, जेलभित्रै रोइरहेको बच्चा पनि देखिन्। आमासँगै जेल पुगेको त्यो बच्चाको रोदनले उनलाई लामो समय हिर्काइरह्यो। त्यसैले त होला, ०६० सालतिर कारगार वरिपरिको परिवेशमाथि कथा नै लेखिन्, ‘जेल मान्छे’।  

एक दिन नीलमकै साथीको आफन्तलाई चेलिबेटी बेचबिखनको आरोपमा कारागारभित्र थुन्न ल्याइयो। ती आफन्तलाई साथीसँगै भेट्न गएकी थिइन्, नीलम। सधै‌ झ्यालबाट हेरिरहेको कारागारलाई गेटमा पुगेर हेर्दा झन् तर्सिएकी थिइन् उनी।

त्यो रोइरहेको बच्चाको दृश्यले आज पनि उस्तै तर्र्साउँछ उनलाई। भन्छिन्,‘उसलाई देखेर जेलमाथि कथा त लेखेर तर उसको उद्धार गर्न सकिनँ। आज पनि यो सम्झिँदा पछुतो लाग्छ।’ हरेक रात कारागारबाट नर्सिङ होस्टेलको भित्तासम्म आइपुग्ने चित्कारले नीलम र उनका साथीहरुलाई अनेक सोच्न बाध्य बनाउँथे। कहिलेकाहीँ चिच्याहट सुनेर उनीहरु अनुमान गर्थे– ‘पक्कै मानसिक समस्या भएका कैदीहरु होलान्!’ त्यही बीचमा कसैले फेरि थप्थ्यो, ‘होइन, प्रहरीको चुटाइ सहन नसकेर चिच्याएको होला!’ नर्सिङ होस्टलको पश्चिम पट्टी अग्लो पर्खालले घेरिएको उक्त कारागारबाट आउने ती आवाजपछिका कारणहरु खोज्दाखोज्दै नेपालगन्जमा नीलमका तीन वर्ष बिते। तर, सधैँ त्यसको जवाफ रहस्यमै रह्यो। 

भूतको डर 

नर्सिङ होस्टेलसँगै कारागारमात्रै जोडिएको थिएन, भेरी अञ्चल अस्पतालको पोष्टमार्टम भवन पनि जोडिएको थियो। सामान्य मानिसका लागि दुबै घर डर पैदा गर्ने स्थान थिए। पोष्टमार्टम भवनतिर एउटा झ्याल थियो जो दिउँसै पनि खोल्न डराउँथे होस्टेलका विद्यार्थीहरु। ‘हामी दिउँसै पनि पोष्टमार्टम भवनतिरको झ्याल खोल्न डराउँथ्यौं। किनभने त्यहाँबाट दुर्घटनामा परेका मानिस भूत बनेर आउँछन् अनि तर्साउँछ भन्ने हल्ला होस्टेलभर फैलाइएको थियो,’ नीलम सम्झिन्छिन्। 

एकदिन कर्णालीबाट दुर्घटनामा परेर ज्यान गुमाएका मान्छेहरु पोष्टमार्टम गर्न त्यहाँ ल्याइएको थियो। निलम आफैंलाई सोध्थिन्, ‘ती मान्छेहरुको पोष्टमार्टम किन गरेका होला?’

उनलाई लाग्थ्यो, कम्तीमा पोस्टमार्टम नगरेको भए यसरी सर्वत्र डरले घेरिनु त पर्थेन। 

ती वृद्धा आमा 

०४६ को आन्दोलन सकिएसँगै देशमा परिवर्तनको लहर चलेको थियो। त्यही समय नीलम पनि आफ्नो भविष्य खोज्दै नर्सिङ पढिरहेकी थिइन्। नेपालगन्जमा राजनीतिको प्रभाव ठूलै थियो। घरघरमा झण्डा झुन्डाइएको थियो। कलेजमा युवा विद्यार्थीहरुलाई पार्टीले तानातान गरेको अवस्था थियो। अनेरास्ववियु बन्ने कि नेविसंघ, विद्यार्थीहरु दुविधामा हुन्थे। तर पनि यो राजनीतिले नीलम र उनका साथीहरुलाई छोएको थिएन। उनीहरुको होस्टेलमा चाहिँ नर्स भएका कारण बढी बिरामीकै कुरा हुन्थ्यो। अस्पतालभित्र अनेक बिरामी आउँथे। बिरामीको हेरचाहमा खुब सन्तोष मिल्थ्यो नीलमलाई। बिरामीको औषधी र खानपिनमा ख्याल गर्दा र मिठो बोलेर उनीहरुको दुखाइ कम गराउँदाजस्तो आनन्द कहीँ मिल्थेन उनलाई। 

जुम्लाबाट आएकी एक वृद्धा आमा थिइन्, जसलाई उनी सधैँ सम्झिरहिन्छन्। भेरी अञ्चल अस्पतालमा उनको हेरचाह गर्ने अवसर पाएकी थिइन्। यति नजिक भएकी थिइन् कि एकदिन ती आमाले उनलाई आफ्नो छोरासँग बिहे गर्न प्रस्ताव नै राखिन्। आमा बिरामी भएको थाहा भएपछि कामका लागि भारत गएका उनका छोरा पनि अस्पताल आइपुगेका थिए। आमाले नीलमको हात समातेर पटकपटक त्यस्तो प्रस्ताव राख्दा ती छोरा र नीलमका अन्य नर्स साथीहरु पनि छेउमै थिए। ‘साथीहरु खुब हाँसे, उनीहरुका लागि आमाको त्यो प्रस्ताव मलाई जिस्क्याउने बहाना बन्यो,’ नीलमले सुनाइन्।

नेपालगन्जमा रहँदा नीलम र उनका साथीहरुको धेरैजसो समय अस्पतालभित्र डिउटीमै बित्थ्यो। तर, फुर्सद पनि मिल्थ्यो जसको फाइदा उनीहरु भरपुर उठाउँथे। सिनेमाप्रति अगाध मोह थियो उनीहरुको।  होस्टेलको मेचमा जहिल्यै बिहान सात बजे खाना खुवाइन्थ्यो। शनिबार बबविदाको दिन बिहानै खाना खाएर उनीहरु आठ बजेको शो हेर्न सिनेमा हल पुग्थे। 

नीलम होस्टेलबाट निस्किएपछि आफूलाई निकै स्वतन्त्र अनुभूत गर्थिन्। नयाँ कपडा लगाएर नेपालगन्ज सहरको गल्लीहरुमा सफर गर्ने मौका मिल्थ्यो, शनिबार।  नयाँ कपडा लगाएर साथीहरुसँग समूहमा फिल्म हेर्न जान्थिन् नीलम। ‘ल्याण्डलाइनमा फोन गरेर टिकट बुक गरिन्थ्यो,’ नीलम सम्झिन्छिन्, ‘हामी (नर्स)लाई देखेपछि हलको टिकट काउण्टरदेखि टिकट जाँच गर्नेसम्मको अनुहार उज्यालो हुन्थ्यो। उनीहरु आफैं सिटको व्यवस्थापन गरिदिन्थे। हप्तामा दुइटा नयाँ फिल्म रिलिज भएको छ भने हामी बिहान एउटा हलमा एउटा शो हेर्थ्यौं, अर्को हलमा अर्को। साताभरीको सिनेमा प्यास यसरी एकैदिनमा मेट्थ्यौं।’

यतिमात्रै होइन, नीलम त सिनेमा हेरिसकेपछि कलाकारले बोल्ने संवाद पनि हुबहु नक्कल गर्न खोज्थिन्। यस्तो लाग्छ, टिकटक हुँदो हो त्यो समय खुब फलोअर्स कमाउँथिन्। ‘त्यतिबेला फिल्मको संवाद बोलेर म साथीहरुलाई खुब देखाउँथे। अनि मेरो अभिनयमा साथीहरु खुब रमाउँथे,’ उनी सम्झिन्छिन्।

बेवारिसे शिशु र चिरहरणको कर्ण

नीलमको नर्सिङ तेस्रो वर्षका कक्षा सुरु हुँदै थियो। एकदिन अस्पतालमा प्रहरीहरुले बेवारिसे फेला परेको नवजात शिशु लिएर आइपुगे। एयरपोर्टको नजिकै झाडीमा फेला परेका ती शिशुको हेरचाह गर्ने डिउटी नीलमकै सिफ्टमा आइपुग्यो। त्यतिबेला बच्चाको अवस्था बुझ्न समय समयमा प्रहरी आइरहन्थे। उनी हरेक दिन प्रहरीलाई सोध्थिन्, ‘बच्चाको आमा पत्ता लाग्यो?’

तर, ‘अहँ’ भन्ने जवाफले सधै‌ निराश बनाउँथ्यो उनलाई। बच्चाको हेरचाहमा कुनै कसर बाँकी राखेकी थिइनन् उनले। तैपनि विस्तारै पेट फुलिँदै गएर शिशुको मृत्यु भयो। ‘धेरैपछि कतै पत्रिकामा बच्चाको आमा फेला पर्यो भन्ने खबर पढ्न पाएको थिएँ,’ नीलम भन्छिन्,‘त्यो नवजात शिशुको मृत्युले मलाई निकै दुखेको थियो। मेरो ‘चिरहरण’उपन्यासको कर्ण पात्र त्यही शिशुबाट प्रभावित हो। यो कुरा मैले उपन्यासको भूमिकामा पनि खुलाएको छु।’

साथीहरुको अफेयर किस्सा

नेपालगन्ज नजिकै थियो, भारतको रुपैडिया बजार। नीलम र उनका साथीहरु कपडा किनमेलका लागि शिक्षक र वार्डेनलाई छलेर खुब जान्थे यो बजार। त्यहीँ किनेको कपडा लगाएर शनिबार उनीहरु फिल्म हेर्न निस्कन्थे। 

‘अल्लारे उमेर थियो। केही नयाँ चिज किन्यो कि खुशी ह्वात्तै बढ्थ्यो,’ निलम सम्झिन्छिन्,‘मेरा तीनजना मिल्ने साथी थिए। तीनैजनाको ब्वाइफ्रेन्ड थिए। उनीहरुको आफ्नो ब्वाइफ्रेन्डबारे हरेक कुरा मलाई सुनाउँथे। लभ लेटर खुब आउँथ्यो। त्यो पनि पढेर सुनाउँथे।’

क्याम्पसका केटीहरुलाई जिस्काउन गेट अगाडी थुप्रै युवाहरु धर्ना दिएर बसेका हुन्थे। तिनीहरुसँग बच्दै हिँडेका दिनहरु नीलमले अझै बिर्सेकी छैनन्। प्रेम पत्रका किस्सा पनि अनेक छन्। ‘एकजना साथीलाई त उसको ब्वाइफ्रेन्डले अनेक आर्ट गरेको पत्र पठाउँथ्यो,’ नीलम सम्झिन्छिन्,‘कहिले पत्रको खाम त कहिले टिसर्टहरुमा पनि आर्ट गरेर पठाउँथ्यो। त्यसको ‘रिप्लाइ’ पठाउन म पनि सहयोग गर्थें। एक दिन त साथीको पत्रमा सायरी पनि आफैं लेखिदिएँ।’ साथीलाई हुलाकसम्म पत्र पठाउन पनि निकै सहयोग गर्थिन्, नीलम। ‘उसलाई हुलाकसम्म पुुर्याउन हामीले पर्खालसम्म उकाल्थ्यौं। ऊ पर्खाल नाघेर चिठी पोष्ट गराउन हुलाक जान्थी। सधैँ जाने भएर होला, हुलाकवालाले पनि राम्ररी चिनेको थियो उसलाई,’ उनी सम्झिन्छिन्।’ 

त्यो घसरिया टोल

नेपालगन्जमा रहेको घसरिया टोल (हालको रंगशाला पछाडि) सँग पनि नीलमको अविस्मरण्ीय स्मृति छ। घोडाका लागि घाँस काटेर बेच्ने समुदायको बस्ती थियो त्यो। त्यहाँ नै उनको फिल्ड डिउटी परेको थियो। डिउटीका क्रममा उनको यस्तो एउटा परिवारसँग भेट भयो जसका सबै सदस्यको शरीरमा लुतो आएको थियो। 

लुतोबाट निको हुन निमको पत्ता र केही औषधीको प्रयोग गराउन सिकाउँथिन् उनी। र, त्यही अनुसार केस रिपोर्ट बनाउँथिन्। तर, एक दिन उनी आफैंलाई लुतो सरिहाल्यो।

नीलमले नेपालगन्जमा नर्सिङ शिक्षामात्रै पाइनन्, अनेक कथा र त्यसका पात्रहरु पनि भेटिन्। नेपालगन्जमै रहँदा उनले दुई उपन्यास पनि लेखिन्, ‘मौन जीवन’ र ‘नियतिको खेल।’ पहिलो उपन्यास ‘मौन जीवन’ लेख्दा २० वर्षकी थिइन् उनी। त्यतिबेला यो उपन्यास उनले आमाको सञ्चय कोषको २५ हजार रुपैयाँ खर्चेर छापेकी थिइन्।  

मदन पुरुस्कार जित्ने चौथी महिला श्रष्टाको परिचय बनाएकी नीलमका कथा र उपन्यासमा कहीँ न कहीँ नेपालगन्जको परिवेश भेटिएकै हुन्छन्। नर्सिङ कोर्सभन्दाको बाहिरको किताब पढ्ने बानी उनलाई नेपालगन्जबाटै भयो। नेपालगन्जको सांस्कृतिक मेलमिलाप र सामाजिक सद्भाव र विविधताले उनलाई सधैं लोभ्याइरह्यो। 

चालिसको दशकतिर नर्स बन्ने सपना बोकेर नेपालगन्ज पुगेकी उनी आज स्थापित लेखक बनेकी छिन्– ‘यसमा कहीँ न कहीँ नेपालगन्जको हावाको पनि प्रभाव छ। म नेपालगन्ज कसरी बिर्सुं?’


प्रकाशित: November 29, 2021 | 14:00:00 काठमाडौं, सोमबार, मंसिर १३, २०७८

तपाईं को प्रतिक्रिया

ट्रेंडिंग

चितवनका तीन क्षेत्रमा कसको अवस्था कस्तो?

प्रतिनिधिसभामा तीनवटा निर्वाचन क्षेत्र रहेको चितवनमा तीनवटै क्षेत्रको मतगणना भइरहेको छ।

काठमाडौं-९ मा एमालेका कृष्णगोपाल श्रेष्ठ विजयी

यो एमालेको दोस्रो जित हो। यसअघि एमालेले ललितपुर २ मा जित निकालेको थियो।

गुल्मी-२ मा ठूलो मतान्तरले पछि परिन् झाँक्री

गुल्मी क्षेत्र नम्बर २ मा सत्ता गठबन्धनकी उम्मेदवार रामकुमारी झाँक्रीलाई भारी मतले पछि पार्दै नेकपा एमालेका गोकर्ण विष्टले अग्रता कायम राखेका छन्।

समानुपातिक मतमा स्वतन्त्र पार्टी तेस्रो, एमालेलाई पछ्याउँदै कांग्रेस

प्रत्यक्षतर्फ चार वटा निर्वाचन क्षेत्रको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ भने समानुपातिकतर्फ पनि मतगणना भइरहेको छ।

गुल्मी-२ मा झाँक्रीलाई पछि पार्दै विष्टको अग्रता

आइतबार भएको निर्वाचन जारी मतगणनामा विष्ट ६७२ मतसहित अगाडि छन्।

युथ युनेस्को क्लब युएसएको इन्टरनेशनल मिडिया एडभाइजरमा बस्नेत

अमेरिकाको क्यालिफोर्नियामा युवा केन्द्रित रचनात्मक कार्यहरू सञ्चालन गर्दै आएको युथ युनेस्को क्लब युएसएले सञ्चारकर्मी मनोज बस्नेतलाई अन्तर्राष्ट्रिय सञ्चार सल्लाहकारमा मनोनयन गरेको छ।

दुई क्षेत्रमा स्वतन्त्र पार्टी अगाडि, दुई-दुईमा कांग्रेस र एमाले

काठमाडौं हिजो आइतबार सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन अन्तर्गत आज बिहानदेखि केही क्षेत्रमा मतगणना सुरु भएको छ।

बाजुरामा गोली लागेका एक जनाको मृत्यु

कांग्रेस र एमालेका कार्यकर्ताबीच विवाद भएपछि मतदान सकिनै लाग्दा झडप भएको हो।

जेलबाट मतदान गरेपछि रेशम चौधरीले भने– बडा मज्जा आयो

कैदीबन्दीले पनि निर्वाचनमा सहभागी हुन पाउने भएपछि उनीहरु उत्साहित भएका थिए। काठमाडौं उपत्यकामा १८२ जना कैदीबन्दी मतदान गर्न योग्य भएको निर्वाचन अयोगको तथ्यांक छ।

थप समाचार

नेपाल समय
फिल्म

शवाना आजमी भन्छिन्- रंगमञ्चका लागि यो कठिन समय

दोस्रो अन्तर्राष्ट्रिय नाट्य महोत्सवको लागि काठमाडौं आएकी आजमीले दिल खोलेर नेपाली सौन्दर्य, कला र संस्कृतिको प्रशंसा गरिन्। पत्रकारसँगको भेटघाटमा उनले भनिन्, ‘नेपालको कला, संस्कृतिको म सदैव प्रशंसक हुँ। नेपाल संस्कृति र कलामा धनी छ।’
नेपाल समय
फेसन

कतारको सांस्कृतिक नियम तोडेपछि आलोचित भइन् पूर्वमिस क्रोएसिया

कतारमा फुटबल विश्वकपको समय लगाएको ड्रेसका कारण उनलाई आलोचनाको पात्र बनाइएको हो।
नेपाल समय
कला/साहित्य

हस्तकला व्यापार मेला मंसिर २३ देखि

मेलामा फिलगिरी, थोज्यामाज्या (धातु पत्रकला) र पौभा थाङ्का गरी तीनवटा विधाका कला प्रदर्शनी हुनेछ। नेपाली हस्तकलाको प्रवर्द्धन गर्दै विदेशसम्म पहिचान गराउन मेलाको आयोजना गरिएको हो।
नेपाल समय
कला/साहित्य

नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव सुरु हुँदै

१२ देशका १८ नाटकको ३० मञ्चनसहित कार्यशाला, मास्टर क्लास, अन्तरक्रिया कार्यक्रम तालिका सार्वजनिक गरिएको महोत्सवमा विश्वभरबाट २०० बढी नाट्य कलाकार सहभागी छन्।
नेपाल समय
कला/साहित्य

उम्मेदवार कलाकार : मतदातासँग कोही खुसी, कोही आक्रोशित

निर्वाचनमा हार बेहोरे पनि केही उम्मेदवार कलाकारले मतदातालाई धन्यवाद दिएका छन् भने केहीले मतदातासँग आक्रोश पोखेका छन्।

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

House -138, Suruchi Marg, New Baneshwor, Kathmandu, Nepal
फोन : +977-1-4790242 / +977-1-4790040
इमेल : nepalsamayanews@gmail.com
  • प्रबन्ध निर्देशक
    तरुणप्रताप शाह
  • प्रधान सम्पादक
    नारायण अमृत
  • महाप्रबन्धक
    जीवन तिम्सिना