बिहीबार, असोज २०, २०७९

महाकवि देवकोटाले २६ वर्ष बिताएको त्यो घर

राज सरगम  |  काठमाडौं, आइतबार, साउन २४, २०७८

राज सरगम

राज सरगम

आइतबार, साउन २४, २०७८, काठमाडौं

नेपाल समय

काठमाडौं– ६२ वर्षअघि महाकवि लक्ष्मीप्रसाद देवकोटा रहेनन्। अब उनको झल्को दिने घर पनि रहेन। देवकोटाले वि.सं. १९९० सालमा किनेको घरमा २६ वर्ष बिताएका थिए। अब त्यस्तै घर हुनेछैन र देवकोटाको सम्झना दिलाउन सक्ने चिजबिजहरू पनि हुनेछैनन्!

मैतीदेवीस्थित देवकोटा मार्गको प्रवेशद्वारबाट देखिने देवकोटाको जीर्ण घर अहिले भत्काइँदै छ। चर्किएको भित्तामा छिना हानेको आवाज टाढाटाढासम्म सुनिन्छ। छिनोले भित्ता चर्केपछि मजदुरहरु एक भएर भित्तालाई धकेल्छन् अनि गारो ढल्छ।

पुनर्निर्माण गर्न भत्काइँदै गरेको घरलाई शंकर लामिछानेले विम्ब–प्रतिविम्बमा ‘कविकुञ्ज’ लेखेका छन्। घरबाट कविकुञ्ज हुन पुगेको देवकोटा निवासलाई संग्रहालय बनाउने भनेर नेपाल प्रज्ञा प्रतिष्ठानले ०७५ सालमा २ करोड ५० लाखमा किनेको थियो। 

नयाँ ढाँचामा तीन तलाको घर निर्माणपछि पुरानो घरको झल्को देला–नदेला, पछिको कुरा भयो। तर कवि–लेखक पुष्कर लोहनी देवकोटाको घर भत्काउनुलाई जायज ठान्दैनन्। ‘देवकोटालाई बचाइराख्ने पहिलो कृति थियो, दोस्रो घर,’ लोहनी भन्छन्, ‘फ्रन्टलाइन बचाइदिएको भए पनि देवकोटाको हंश अडिने ठाउँ हुन्थ्यो।’ 

हुन त देवकोटा अक्षरमा अमर छन्। उनका कृति विश्व साहित्य बजारमा पुग्न सफल छन्। यस्ता महान स्रष्टाको घर आफैँमा एउटा खोज हुनसक्थ्यो। देवकोटाको जीवन बुझ्न चाहने नयाँ पुस्ताका लागि उनको घर चिन्तनको माध्यम हुन सक्थ्यो। देवकोटामाथि सोच्न बाध्य पार्थ्यो। लोहनी भन्छन्, ‘सिंहदरवारको फ्रन्टसाइट बचाएझैं देवकोटाको घरको फ्रन्टसाइट जोगाउन सकिन्थ्यो।’ 

घर भत्काउँदा निस्किएको धुलो उडेझैं देवकोटाको हंश पनि उडेको महशुस गर्छन् लोहनी। घरलाई पूरै भत्काउँदा देवकोटाका कुनै निशानी नरहने बताउँछन्। देवकोटाको घर भत्किँदा उनको मन भत्किएजस्तो भएको छ। 

बाल्यकालमा देवकोटाको घरमा बसेर पढेको धमिलो यादको सिलासिला लोहनी जोड्छन्। २०१० सालमा मैतीदेवीको बस्ती पातलो थियो। टिनका टहराहरु। टहराको बीचबाट साँघुरो गल्ली हुँदै पुष्कर लोहनी १५ वर्षको उमेरमा पहिलोपटक बुबाको हात समाएर महाकवि देवकोटाको घरमा पुगेका थिए।

लोहनीका बुबा नगरपालिकाको मुद्दा फाँटका हाकिम भएकाले देवकोटाले घरखेत थिचोमिचोको बारेमा बुझ्न बोलाएका थिए। बुबा माधव लोहनीलाई पछ्याएर गएका किशोर पुष्करलाई देखेर देवकोटाले ‘को हो’ भनेर सोधेका थिए। लोहनीका बुबाले छोरो भनेर चिनाएपछि देवकोटाले पढाइलेखाइका बारेमा सोधेको सम्झिन्छन् लोहनी। ‘देवकोटाले भोलिदेखि मेरो घर पढ्न आउनु भन्नुभएको थियो,’ लोहनीले सम्झिए।

पदमाेदय हाइस्कुलमा पढ्दै गरेका लोहनी भोलिपल्टै कापीकलम बोकेर देवकोटा निवासमा ट्युसन पढ्न पुगेका थिए। टिनको टहरोको किनारबाट निस्किएको गल्ली। गल्ली सकिएसँगै फराकिलो आँगन। घरभित्र पस्नेबित्तिकै ढोकाको छेउमा थियो भर्‍याङ। भर्‍याङ चढेर लोहनी जब लामो कोठामा पुगे, आफूजस्तै केटाहरु पढ्नका लागि पुगिसकेका थिए। फराकिलो कोठा थियो जहाँ केही सुकुल विछ्याइएका हुन्थ्यो। केही थान कपडाको चकटी थिए। जो गए पनि त्यही बस्नुपर्ने थियो। ‘त्यो कोठामा खासै फर्निचर थिएनन्। सबैजना भुइँमा बस्थ्यौं। उहाँ बेग्लै चकटीमा बसेर पढाउनु हुन्थ्यो,’ पुष्कर बितेका दिन सम्झिएर भन्छन्। 

ट्युसन पढ्न राणा, व्यापारी, हाकिमहरूका केटाकेटी आउने गर्थे। साथीहरूबीच गफिनुपर्‍यो भने भर्‍याङको डिलमा बसेर गफिएको सम्झन्छन् उनी। लोहनीलाई थाहा भएसम्म देवकोटा अठार घण्टासम्म पढ्ने–पढाउने गर्थे। राजनीतिकर्मीदेखि कवि, लेखक जो आउँदा पनि त्यही ट्युसन पढ्ने कोठामै जमघट हुन्थ्यो।

अर्को माथिल्लो कोठा पनि फराकिलो थियो। पछि देवकोटाले अर्को तला थपेको बताउँछन् लोहनी। माथिल्लो तलामा भने टिनको छानो हालेको थियो।

भित्तामा एउटा ‘ब्ल्याक एण्ड ह्वाइट’को फोटो सम्झिन्छन् लोहनी। त्यो फोटो देवकोटाका छोराको थियो, जो सानैमा बितेका थिए। भित्तामा केही टाँगिएका हुन्थेनन्, तर भित्तामा ठोकिएका किलाको डाम भने याद गर्छन् लोहनी। काँटी ठोक्दा चोइटिएका भित्ता सम्झिन्छन्। भन्छन्, ‘देवकोटाको घरमा ट्युसन पढ्न एक महिना गएँ। त्यतिबेला हामीलाई झ्यालले लोभ्याउँथ्यो।’

झ्यालको मसिना प्वालबाट बिहानी घामको उज्यालो कोठामा छिर्ने गरेको बताउँछन् उनी। लोहनीको सम्झनामा ती झ्यालबाट बाहिर दुनियाँ हेरेको अझै धुमिल सम्झना छ। भन्छन्, ‘त्यो झ्यालबाट धोवीखोलातिर हेर्थ्यौं।’

प्रायः सबै कोठामा घाम पर्थ्यो।। तर लेखन कोठा पस्न अवसर नपाएको बताउँछन् लोहनी। कहिलेकाहीँ आँगनमा पातलो दोलाइँ ओढेर चुरोट तान्दै लेखिबस्ने महाकवि देखेर तर्किँदै भर्‍याङ उक्लिएको सम्झन्छन् लोहनी। भन्छन्, ‘उहाँलाई देखेर सानोमा डराइन्थ्यो। एकदम अनुशासनका साथ घरमा प्रवेश गर्थें।’




महाकवि देवकोटासँग ट्युसन पढेका पुष्कर लोहनी

उमेरले आठ दशक काटिसकेका लोहनीलाई पछिल्लो समय देवकोटाको घर हेर्ने रहर थियो। घरको भित्तालाई स्पर्श गर्दै बाल्यकालमा चढेको भर्‍याङ उक्लन मन थियो। झ्यालको ससाना छिद्रबाट कवि मनले बाहिर चिहाउन मन थियो। तर लोहनीका सपना घरसँगै भत्किएर गए। 

त्यो लामो कोठामा देवकोटाले पढाइरहेको दृष्य, लेखन कोठामा बसेर सोचिरहँदाको दृष्य, उनले कविता कोरिरहँदाको आसपासको दृष्य घरसँगै भत्किएर गएको छ। देवकोटाको जीवनशैली झल्काउने जीवन्त दृष्य घरसँगै मेटिन पुगेको छ।  

कविता कर्ममा हराइरहने महाकविको झल्को दिने घरको मुहार फेर्नु महाकविको हंश खेद्नु जत्तिकै लाग्छ लोहनीलाई। देवकोटा बिते पनि उनले हिँडेको पदचाप, उनले छोएका भित्ताहरु, बसेको ठाउँहरु, उनले चिहाउने झ्यालहरु र उनले भेटघाट गरिरहने कक्षहरु आफैंमा संग्रहालय थियो। लोहनी भन्छन्, ‘पुरानो घरमा देवकोटाको हंश छुटेको थियो।’

देवकोटाका कविताका हरफ सुनेका भित्ताहरू धुलाम्मे भएर गए। ती भित्ताका आडमा बसेका पुस्तकहरु अब नयाँ र्‍याकमा बस्न विवश हुनेछन्। पुरानो घरको मौलिकता पक्कै भेटिन्न। पुरानो घरको तिर्सना नयाँ घरले पक्कै मेटाउन सक्दैन। लोहनी भन्छन्, ‘कम्तीमा घरको फ्रन्टसाइड जोगाउनु पर्थ्याे।’

शंकर लामिछाने, भवानी भिक्षु, श्यामदास वैष्णव, जनकलाल शर्मा, माधवप्रसाद घिमिरे जस्ता साहित्यकारहरुको बाक्लै आउजाउ हुने यो घर इतिहास थियो। जनकलाल शर्माले राहुन सांकृत्यानलाई देवकोटाको निवासमा लगेको घटना आफ्ना संस्मरणमा पनि लेखेका छन्। 


भत्काउनुअघि महाकवि देवकोटाको घर

भावी पुस्ताले महाकविको घर कस्तो थियो भनेर देख्न नपाउने भएको छ। घरसँगै सबै कक्षहरु भत्किएर गएका छन्। ‘आफू जन्मे–हुर्केको घर भत्काएको देख्दा मनमा अनेकौं तरंग उत्पन्न हुँदा रहेछन्। दुख्दो पनि रहेछ। कोठा–कोठाको याद बौरिएर आएको छ यसपालि,’ महाकवि देवकोटाका छोरा डा. पदमप्रसाद देवकोटाले भत्काइरहेको घरको फोटो सेयर गर्दै सामाजिक सञ्जालमा लेखेका छन्।

देवकोटाकी छोरी अम्बिकादेवी रिमालले लामो समयदेखि घर रेखदेख गर्दै आएकी थिइन्। घर भत्काएर एकेडेमीले अझै राम्रो घर बनाउन खोजेको बताइन् उनले। भनिन्, ‘प्रतिष्ठानले राम्रै गर्लान् भन्ने विश्वास छ। महाकवि पुरानो घरमा बस्दा रहेछन् भन्ने किन पार्नु।’

विश्वमा कवि–साहित्यकारहरुको सम्मान र सम्झना दिगो बनाउन सरकारको तर्फबाट संरक्षण गरिँदै आएको छ। ऐतिहासिक धरोहरको रूपमा नयाँ पुस्तामा हस्तान्तरण गर्न सकिने एउटा अवसर गुमेको बताउँछन प्राडा. अभि सुवेदी। भन्छन्, ‘देवकोटाको घर भत्काउनु अगाडि कम्तीमा प्रज्ञिक, विज्ञ तथा आर्किटेक्चरहरू बीच छलफल चलाउन सकिन्थ्यो।’ 

देवकोटाको घर भत्काउनुलाई गलत मान्छन् वरिष्ठ पत्रकार कनकमणि दीक्षित। उनी सामाजिक सञ्जालमा लेख्छन्, ‘महाकविले सास फेरेको घर हो। जीर्ण अवस्थामा भए पनि आजसम्म बचेको लक्ष्मीप्रसाद देवकोटाको घर भत्काएर ‘उस्तै उस्तै’ संग्रहालय निर्माण गर्नुको तुक छैन। पुरातत्व विभाग, कामनपा, प्रमका या महाकविको परिवारले यो ‘डिमोलिसन’ कार्य रोक्न लगाओस्।’ 

पक्कै पनि, नयाँ बनाउन भनेको पुरानोको विनाश हुनु हो। तर पुराना वास्तुकलालाई जस्ताको तस्तै कायम राख्न सकिने प्रविधि नेपालमा पनि प्रयोग भएको छ। जसरी सेक्सपियरको घर आज पनि उस्तै छ। जसरी सिंहदरबारको फ्रन्टसाइट उस्तै छ। के देवकोटाको कविकुञ्ज पनि त्यसैगरी संरक्षण गर्न सकिन्थेन र?

जसरी देवकोटाका कृति नयाँ नयाँ गातामा आइरहे, त्यसैगरी कविकुञ्जलाई पनि नयाँ नयाँ प्रविधिको प्रयोग गरेर जस्ताको तस्तै संरक्षण गर्न सकेको भए भावी पुस्तालाई पनि सधैं नयाँ हुन्थ्यो कि। 


प्रकाशित: August 8, 2021 | 10:50:00 काठमाडौं, आइतबार, साउन २४, २०७८

तपाईं को प्रतिक्रिया

ट्रेंडिंग

युक्रेनका ४ क्षेत्र गाभेको औपचारिक घोषणा गर्दै रुस

युक्रेनका लुहान्स्क, दोनत्स्क, जापोरिज्जिया र केरसन क्षेत्रलाई रुसमा गाभ्ने घोषणा गर्न लागिएको छ। 'क्रेमलिन दरबारमा स्थानीय समयअनुसार दिउँसो ३ बजे ती ४ क्षेत्र रुसमा गाभिएको घोषणा हुनेछ,' क्रेमलिन प्रवक्ता दिमित्री पेस्कोभले भनेका छन्।

पाँच दलको सिट भागबण्डा अन्तिम चरणमा [सूचीसहित]

लामो समयको गृहकार्यपछि धेरैजसो निर्वाचन क्षेत्रको भागबण्डा मिलेको छ तर केहीमा भने किचलो कायमै छ।

सोलुको सकस: कांग्रेस नछाड्ने, माओवादी नमान्ने

२०७४ को चुनावमा जितेकाले आफैंले पाउनुपर्ने माओवादीको अडान छ। यस पटक गठबन्धनले चुनाव लड्ने हुँदा सोलुखुम्बु आफूले पाउनुपर्ने दाबी कांग्रेसले गरिरहेको छ।

समानुपातिक सूची परिवर्तन नभए आफैँ संघर्षमा उत्रने शेखर-गगनको चेतावनी

समान अवसर र न्यायका लागि विरोध र संघर्षका कार्यक्रम गर्दै आएका आफूनिकट नेताहरूसँग छलफल नेता कोइराला र महामन्त्री थापाले यस्तो बताएका हुन्। बत्तिसपुतलीस्थित अनुपम फुडल्यान्डमा असन्तुष्ट नेताहरुसँग उनीहरूले छलफल गरेका हुन्।

भीम रावल पार्टी सम्पर्कमा नआएपछि ओलीको सोधीखोजी

४ मंसिरमा हुने निर्वाचनका लागि एमाले जिल्ला कमिटीले अछाम क्षेत्र–१ बाट रावललाई मात्र सिफारिस गरे पनि पछिल्लो समय पार्टी सम्पर्कमा नआएपछि के भएको हो भनेर बुझ्न सुदूरपश्चिम एमाले नेताहरु पुगे ओली निवास।

सिभिल र हिमालयन मर्ज भएपछि ६ महिनामा 'सिनर्जी' आउँछ : सुनील पोखरेल [अन्तर्वार्ता]

हिमालय बैंक लिगेसी बोकेको पुरानो बैंक हो। हामीसँग साना तथा मझौला प्रकृतिको बिजनेस छ। हिमालयनको ठूला र कर्पोरेट बिजनेस छ। हाम्रा स-साना ग्राहक छन् तर उसका ठूला ग्राहक छन्।

आजदेखि निर्वाचन आचारसंहिता लागु : के गर्न पाइन्छ, के पाइँदैन?

आगामी मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनका लागि आचारसंहिता बुधारदेखि लागु गरिएको छ।

अलमुताइरीप्रति कप्तान किरणको अझै गुनासो, भने - व्यक्तिका लागि भन्दा पनि देशका लागि खेल्छौं

नेपाल राष्ट्रिय फुटबल टोलीका कप्तान किरण चेम्जोङले प्रशिक्षक अबदुल्ला अलमुताइरीले आफूलाई टिमबाट निकालेकोमा दुखेसो पोखेका छन्। व्यवसायिक फुटबलका क्रममा भारतमा रहेका किरण बंगलादेशसँगको मैत्रीपूर्ण खेलका लागि नेपाल आएका हुन्।

मोरङ-३ : चुनावमा प्रभाव पार्ने यस्तो छ मेडिकल कलेज कनेक्सन

सुनिल शर्माले आफ्नो नोबेल मेडिकल कलेजमार्फत राजनीतिक प्रभाव बढाएका छन्। निर्वाचन क्षेत्रमा नागरिकको निःशुल्क र कम शुल्कमा उपचारको व्यवस्था मिलाएर उनले मतदाताको प्रभाव बढाएका हुन्। उता राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट उम्मेदवार बन्ने तयारीमा रहेकी रेखा थापाले पनि अभियान तीव्र बनाएकी छिन्।

मधेसवादी दलको कमजोरीमा 'जाल' थाप्दै एमाले!

मधेसवादी दलका एजेन्डाहरू पहिलेभन्दा कमजोर बन्दै गएपछि सत्ताको लोभ गर्नेहरू राजनीतिक सुरक्षाका निम्ति एमाले प्रवेश गरिरहेका छन् भने एमालेले पनि मधेसवादी दलको कमजोरीको फाइदा उठाएको राजनीतिक विश्लेषण गरिँदै छ।

थप समाचार

नेपाल समय
संगीत

दसैंमा बज्ने कालजयी १० गीत

सङ्गीत क्षेत्रमा लागेका अधिकांशले चाडबाडसम्बन्धी गीत गाउने गरेका छन्, धेरै दशैं गीत बज्ने गरे पनि दसैँभरि धेरै बज्ने मुख्य दश गीतले नेपालीको मन छुने गरेको छ।
नेपाल समय
कला/साहित्य

अनि दसैंमा गुन्जिन्छ 'रातो टीका निधारमा टलक्क टल्कियो'

दसैं नेपालीको मौलिक चाड हो। मौलिकतासँग नेपाल मनको आत्मीयता जोडिएकाले पनि रातो टीका निधारमा टलक्क टल्कियो गीतले दसैंलाई सम्झाइरहने ठान्छन्, संगीतकार बाँस्कोटा।
नेपाल समय
रचना

श्रीमानको साथी

घरमा कति योजना, कार्यक्रम वा पारिवारिक जमघटहरु चाहे ती जतिसुकै महत्वपूर्ण हुन् तर बीचमा कतै त्यो मान्छेको प्रसंग आइपुग्छ अनि ती सबै भताभुंग हुन्छन् अर्थात् सारा संसार एकातिर अर्कोतिर एकमात्र उ। कहिलेकाहीँ त लाग्ने कि त्यो साथी नभेट्दासम्म यो मान्छेको जीवन कसरी चलेको थियो होला, अहिलेको यसको पारा हेर्दा?
नेपाल समय
कला/साहित्य

त्यसैले देवेन्द्र बब्लुको दसैं काठमाडौंमै

माया बसेजस्तो, म त पर्खेको पख्र्यै छु, मायालु, मनमायाजस्ता चर्चित गीत गायक देवेन्द्र यसपालिको दसैं बिदामा सांगीतिक यात्रामा हुनेछन्।
नेपाल समय
कला/साहित्य

कोरानापछिको दसैं मनाउन गाउँ फर्किंदैछन् यी गायक-कलाकार

काठमाडौंलाई कार्यथलो बनाएर नाम अनि दाम कमाएकाहरू र यही घरजम गरिरहेका गायक÷कलाकारहरू पनि कोरोनाका कारण दुई वर्ष दसैं मनाउन नपाएकामा यसपालि पुख्र्यौली थलो गाउँ फर्किंदैछन्।

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

House -138, Suruchi Marg, New Baneshwor, Kathmandu, Nepal
फोन : +977-1-4790242 / +977-1-4790040
इमेल : nepalsamayanews@gmail.com
  • प्रबन्ध निर्देशक
    तरुणप्रताप शाह
  • प्रधान सम्पादक
    नारायण अमृत
  • महाप्रबन्धक
    जीवन तिम्सिना