सोमबार, असोज १७, २०७९
नेपाल समय

त्यो रत्यौली जसले ४९ वर्षको उमेरमा चन्द्रालाई 'सेलिब्रेटी' बनायो

नेपाल समय  |  काठमाडौं, बिहीबार, साउन ७, २०७८
नेपाल समय

नेपाल समय

काठमाडौं, बिहीबार, साउन ७, २०७८

‘जेठो जर्नेल, माइलो कर्नेल
हा बरै कान्छो चौतारीमा, 
स्यानीमाया...

घुनपुत्ला नलागोस् कहिल्यै
हा… बरै तिम्रो दौतरीमा 
स्यानीमाया...’

सुर्खेतस्थित पञ्चपुरी-४ बराइँचीकी चन्द्रा सुवेदी आफ्नो राइलो बुबाको छोराको बिहेमा यसैगरी रत्यौली गाइरहेकी थिइन्। ‘घुनपुत्ला’ अर्थात् अनाजमा लाग्ने किराहरुको नाम। छोराबुहारीको घरजम राम्रो होस्, उनी टुक्कामार्फत् यही आशिर्वाद दिइरहेकी थिइन्। 

तर, त्यसदिन उनले जे गाइन्, त्यो सधैँझै उनको गाउँमा मात्रै सीमित भएन। कसैले त्यो रमझम, त्यो भाका आफ्नो मोबाइलबाट खिच्यो र हाल्यो युट्युब तथा टिकटकतिर।

त्यसपछि उक्त टुक्रा यसरी ‘भाइरल’ भयो कि, त्यसका टुक्काहरुमाथि टिकटक बनाउनेहरुको संख्या ह्वात्तै बढ्यो। गाउँघरका बिहेमा रत्यौली गाउँदै रमाइरहेकी यी आमा ४९ वर्षको उमेरमा एकाएक ‘सेलिब्रेटी’ बनिन्।   

त्यसपछि बिहेमा गाएको त्यही रत्यौली उनले काठमाडौंमा आएर स्टुडियोमा रेकर्ड गराउने मौका पाइन्। त्यो मौका जुराइदिने नाम हो- वसन्त थापा। 

सोमबार ‘स्यानीमाया’ बोलको युट्युबमा रिलिज भएको उनको मीठासपूर्ण रत्यौली गीतलाई अहिलेसम्म ६ लाखभन्दा बढी पटक हेरिएको छ। 

०००

वसन्त थापा, लोक संगीतमा सधैँ केही नयाँ प्रयोग गर्न चाहने नाम हो। उनी सधैँ भन्ने गर्छन्, ‘भाका बनाउनु, गीत लेख्नु मेरा लागि सामान्य कुरा होइन, एकदमै असामान्य हो। एउटै मेलोडीका लागि म कतिऔँ दिनसम्म घोत्लिन्छु तर चित्त बुझेन भने फाल्दिन्छु।’

‘सालको पात टपरी’, ‘उही खोलीमा पानी’, ‘चौतारीको वर’, ‘लोभी आँखा’ आदि उनका ‘हिट’ सिर्जना हुन्, जसलाई युट्युबमा करोड बढी पटक हेरिएको छ। 

एक साँझ सधैँझै फरक सिर्जनाका लागि घोत्लिरहेका थिए, उनी। टिकटक खोल्नासाथ एउटा सानो ‘क्लिप’ उनको आँखामा पर्‍यो। जसलाई गाएका थिए, उमेश अधिकारीले। टुक्का उही थियो, ‘घुनपुत्ला नलागोस् कहिल्यै हा बरै तिम्रो दौंतरीमा, स्यानीमाया...।’ जसलाई गाएकी थिइन्, तिनै आमाले। 

चन्द्रा सुर्खेतबाट हिड्नासाथ यता वसन्तले उनका लागि ट्रयाक निर्माण गर्न थालिसकेका थिए। उनले गाएको स्केलभन्दा करिब डेढ स्केलमाथि प्रोगामिङ गरेका थिए। 

वसन्तलाई आमाले गाएको त्यो गीतको टोन र मेलोडीको मिटर पुरै ‘युनिक’ लाग्यो। त्यसको मौलिकताले यसरी हिर्कायो कि त्यहाँ उनले आफूले गाइरहेका सिर्जनाभन्दा बढी मिठास भेटे। तत्काल उमेशलाई सोधे, ‘यो गीत कसले गाएको? अहिलेसम्म रेकर्ड भएको छ कि छैन?’

आमाले गाएको त्यो गीतबारे उमेशले प्रष्ट पारिदिए। त्यसपछि वसन्तले फेरि सोधे– ‘सम्पर्क हुन सक्छ?’ ‘प्रयास गर्छु’ भनेर निस्किएका उमेशले केही बेरपछि ती आमाको छोरी पवित्रा चालिसेको नम्बर फेला पारे। 

जब वसन्तले पवित्रालाई फोन गरे, उनी झस्किइन्। ‘तपाई साँच्चै वसन्त थापा हो?’ उनले शंका गरिन्। साँच्चिकै हो भन्ने थाहा पाएपछि उनीहरुबीच संवाद भयो। 

वसन्तले पवित्रासँग आमाको प्रतिभाको प्रशंसा गरे। ‘यो गीत रेकर्ड गर्दिनुस्, तपाईंहरुले नसके म गर्न चाहन्छु,’ उनले प्रस्ताव राखे। छोरी पवित्रा खुशी भइन्। आमासँग सम्पर्क गराइन्। गीत रेकर्ड गराइदिने भनेपछि आमा झन् उत्साहित भइन्। ‘छिमेकी, आफन्त सबैले आश्वासन मात्रै दिए, तपाईले आज रेकर्ड गराइदिन्छु भन्नुभयो,’ उनले खुशी साटिन्।

त्यसपछि असार १६ गते बिहानै चन्द्रा बहिनी जानुका, छोरी पवित्रासहित सुर्खेतबाट बस चढिन्। बसमा उनीसँगै उनको गायिका बन्ने पुरानो र दपिएको सपना पनि चढिरहेको थियो। दौडिरहेको थियो। गाडीको गति र उनको खुशीको लय समानान्तर थिए। 

तर, काठमाडौंको यात्रा सोचेजस्तो सहज थिएन। जताततै बाढीपहिरो गइरहेको थियो। र, उनीभन्दा अघि काठमाडौंमा आइरहेका थिए, ती खबरहरु। 

नवलपरासीको थुन्चे र नारायणघाट मुग्लिन खण्डमा गएको पहिरोले उनीहरूको यात्रामा बाधा ल्याइदियो। नारायणघाट पुग्ने बेला जताततै पहिरो, पुल भत्किने भयो। कुनै कुनै ठाउँ ठूल्ठूला ढुंगा आएर बाटो छेकिन थाले। तैपनि डोजर लाउँदै, फाल्दै उनीहरुको बस काठमाडौंतिर हिँडिरहेको थियो।

उनी फेरि सेती दोभानको पहिरोमा परिन्, यात्रा अवरुद्ध भयो। रातैभर गाडीभित्र बास बस्नुपर्‍यो। त्यसपछि अर्को एक रात गैँडाकोटमा पहिरोमा परेर त्यसैगरी गाडीभित्र रात काट्नुपर्‍यो।

त्यतिबेला यी सबै ‘अपडेट’ लिइरहेका वसन्तलाई लाग्यो– काठमाडौं बोलाएर साह्रै दुःख पो दिए कि! तर, उता चन्द्रा भन्छिन्, ‘खासै दुःख लागेन। यो दुःखलाई पनि साथी मान्नुपर्छ, यो सुखलाई पनि साथी मान्नुपर्छ। जन्मेपछि कति भोग्नु छ कति, क्यार्ने?’

चन्द्रा सुर्खेतबाट हिड्नासाथ यता वसन्तले उनका लागि ट्रयाक निर्माण गर्न थालिसकेका थिए। उनले गाएको स्केलभन्दा करिब डेढ स्केलमाथि 'प्रोगामिङ' गरेका थिए। 

यता वसन्त ‘आमा’लाई स्वागत गर्न आतुर थिए, उता चन्द्रा ‘छोरा’सँग गीत गाउन आतुर थिइन्। करिब तीन रात चार दिनको सकसपूर्ण यात्रापछि चन्द्रा काठमाडौं ओर्लिइन्। जब वसन्तलाई भेटिन्, जोडले रोइन्। तर, त्यो रोदन खुशीको थियो। वसन्तलाई रुँदै भनेकी थिइन्, ‘मलाई गीत रेकर्ड गर्दिन्छु भनेर धेरैले झुक्याए बाबु, आफन्तहरुले पनि झुक्याए। आज तपाईले बोलाउँदा मेरो आवाजलाई पनि कसैले चिन्यो भन्ने लागिरा’छ।’ 

चन्द्रा संगीतकी व्यवसायिक विद्यार्थी थिइनन्। त्यसैले उनलाई एकैपटक स्टुडियोमा छिराउनु उचित ठानेनन्, वसन्तले। उनले पूरै एकदिन आमालाई आफ्नो गाडी चढाए, गाउनुपर्ने गीतको ट्र्याक बजाए, अनि मस्त घुमाए। अनि, दुवै जनाले पालैपालो ट्र्याकअनुसार गाडीमै गाए। ‘उहाँसँग स्केलको ज्ञान थिएन, त्यसैले सहज होस् भनेर यो उपाय अपनाए,’ वसन्त सुनाउँछन्। 

त्यतिमात्रै होइन, वसन्तले उनलाई सुरबारे केही औपचारिक ज्ञान पनि दिए। स्टुडियोमा प्रोगामिङअनुसार गाउनुमा बाहिर खुला गाएजस्तो सहज हुन्न। त्यसैले उनलाई धेरै अभ्यास गराए। 

उनी जे रेकर्ड गराइरहेका थिए, त्यो रत्यौली थियो। टिकटकमा जे भाइरल भएको थियो, त्यो सभ्य रत्यौली थियो। हामीकहाँ रत्यौलीको के परम्परा छ भने जब पुरुषहरु बेहुली लिन जान्छन्, पुरुषको अनुपस्थितिमा महिलाहरु आफ्नो यौनिक कुन्ठा पोख्छन्, शृंगारिक तरिकाले गाउँछन्, अनि नाच्छन्। 

वसन्तलाई लाग्यो, यो यथार्थलाई लुकाएर गाउँदा रत्यौलीको परिचय नै बिग्रिन्छ। सँगसँगै डर पनि थियो, देखाएर गाउँदा गाली पो खाइन्छ कि!  तर, उनी अन्त्यमा आमाले आर्शिवाद दिएसँगै अन्य पाटो पनि समेट्ने निष्कर्षमा पुगे। रत्यौलिलाई एउटा अनुशासित संरचनामा उन्ने अनुष्ठान र यत्न थियो यो। 

त्यही अनुरुप गीतको ‘इन्ट्रो भोकल’ ज्योति मगरलाई गाउन लगाए। अश्लीलता र सभ्य रत्यौलीबीचको भेद छुट्याउनलाई बीचमा संवाद पनि राखे। ज्योतिले गाएको छोटो इन्ट्रोमा पुरुषको उपस्थिति देखाएनन्, तर आमाले गाएको गीतमा सबैलाई देखाए। 

वसन्तलाई लाग्छ, रत्यौली र तीजका भाका लगभग उस्तै-उस्तै हुन्छन्। ‘यदि शृंगार मिसाएर गाइयो भने त्यो रत्यौली भयो। आर्शिवाद मिसाएर गाइयो भने त्यो सभ्य रत्यौली भयो। तर, वेदना मिसाएर गाइयो भने त्यही भाका तीज गीत हुन्छ,’ उनी भन्छन्। त्यसैले आमाको यो भाकालाई उनले तीजको अवसरमा रिलिज गरेका छन्। 

यो गीत रेकर्ड गराउन करिब चार दिन लागेको बताउँछन्, वसन्त। आमासँग शब्द आफैँ थियो तर गीत पारिवारिक बनाउँदै जाँदा दुई छोरा र दुई बुहारीले गाउने शब्द थप्नुपर्‍यो, त्यसमा वसन्तले सहयोग गरे। 

वसन्तलाई लाग्छ, कोही युवाले यसरी यो भाका गाएको भए सायद उनी आकर्षित हुन्थेनन् तर एउटी आमाले गाएको देखेर लोभिए। 

रेकर्डिङ स्टुडियो छिर्दा चन्द्रा निकै अत्तालिएकी थिइन्। तर, पहिलोपल्ट भएकाले उत्साहित पनि थिइन्। 'गाउन सक्दिनँ कि बाबु!' भन्दै कहिलेकाँही उनी ‘नर्भस’ हुन्थिन्। तर, वसन्त उनलाई सहज बनाइदिन्थे, ‘सकिहालिन्छ नि आमा, किन नसक्नु?’ 

आमाको स्वर चित्त नबुझे पनि वसन्त रिसाउँदैनथे। न आमालाई ‘यो भएन’ नै भन्थे। आमाको मनोबल नघटोस् भनेर कहिले ‘आज बार ठीक छैन, भोलि गरौँ आमा’ भन्दै निस्कन्थे त कहिले के। यो क्रम चार दिनसम्म चल्यो। हरेक दिन दिउँसो २ बजेदेखि साँझ ८ बजेसम्म। र, चार पटकको प्रयासपछि फाइनल भयो, आमाको स्वर। 

‘आम रत्यौलीभन्दा पूरै फरक छ, आमाले गाएको यो रत्यौली,’ वसन्त भन्छन्, ‘त्यसको उठानमा साँच्चै मिठास छ। म आफैलाई पनि सिक्न समय लागेको थियो। सायद यही फरकपनकै कारण यो भाका भाइरल भयो।’

वसन्तलाई लाग्छ, कोही युवाले यसरी यो भाका गाएको भए सायद उनी आकर्षित हुन्थेनन् तर एउटी आमाले गाएको देखेर लोभिए। 

गीतको छायांकनका क्रममा लिइएको तस्बिर। 

टिकटकमा यो भाका सुन्नेबित्तिकै उनले संगीतकर्मी आशिष अविरललाई यो सुनाएका थिए। प्रतिक्रियामा उनले ‘राम्रो’ भएपनि त्यति टाढाबाट आमालाई लिएर आएर गीत रेकर्ड गराएर भिडियो बनाउँदा धेरै खर्च लाग्ने भन्दै नगर्न सुझाव दिएका थिए। तर, उनको मन मानेन। 

अस्ति राति १० बजेतिर छोराले डाउनलोड गरेर लिएर आएर देखाएको थियो। घरमा डिजे छ, सुनेको सुनेकै गर्छन्। बुढेसकालमा सेलिब्रेटी भइयो, बाबु, म त अचम्ममा छु।

हामीकहाँ प्रायःजसो नयाँ गीतमा पुरानै गीतका नोटेसनहरुको लाइन लाउने परम्परा छ। तर, यो त आफैमा मौलिक थियो। ‘त्यसैले यसमा लगानी गर्दा मलाई आत्मसन्तुष्टि मिल्छ भन्ने भयो,’ गीत निर्माणमा ५ लाख खर्च गरेका उनी भन्छन्, ‘यहाँ त गीत के हो भन्ने थाहा नपाएका बच्चाहरु, जसलाई स्कुल पठाउनुपर्ने हो, उनीहरुलाई भाइरल बनाइँदैछ। तर जसले जिन्दगी पढिसकेका छन्, जसले जिन्दगी बुझिसकेका छन्, ती आमाहरूले अझै गीत गाउन पाउनुभएको छैन। मैले चन्द्रा सुवेदीमा त्यही आमा पाएँ। एउटा प्रतिभालाई कुनै उमेरको हदबन्दी लाग्दैन भन्ने सन्देश दिन पनि मैले उहाँलाई यहाँसम्म ल्याउन चाहेँ।’

०००

चन्द्रा काठमाडौंमा १६ दिन बसिन्। ‘इन्द्रेणी’का कृष्ण कँडेल साइनोले उनको दाइ पर्छन्। बाल्यकालमा सँगै घास दाउरा गरेका उनीहरु ३० वर्षदेखि भेटेका थिएनन्। कृष्णलाई भेट्ने, ‘इन्द्रेणी’ उनीसँगै दोहोरी गाउने उनको अर्को सपना थियो। 

वसन्तले त्यो पनि पूरा गरिदिए। आउँदा चार दिन लगाएर बसमा आएकी उनी फर्कदा प्लेन चढेर फर्किइन्। त्यो पनि ‘गायिका’को नयाँ परिचयसहित। अहिले घरतिर उनको शान नै बेग्लै छ। मान्छेहरु आउँछन्, भेट्छन्, बधाई दिन्छन्, अनि सोध्ने गर्छन्, ‘अब काठमाडौं जानुहुन्छ कि नाइ?’

जवाफमा उनी भन्छिन्, ‘खोइ, हेरौँ।’ 

महिलाहरू स्वतन्त्र हुँदै गइरहेका देख्दा चन्द्रालाई बडो खुशी लाग्छ। भन्दै थिइन्, ‘मलाई पनि धेरैले एल्बम निकाल नभनेका होइनन्। तर, त्यतिखेर धेरैजसो महिलाहरु चुलाचौकामा अल्झिन्थे, उनीहरुलाई बाहिर निस्किन गाह्रो हुन्थ्यो। अहिलेको जस्तो परिवेश थिएन। बालबच्चा हुर्काउँदै ठिक्क हुन्थ्यो।’ उनका एक छोरा र तीन छोरी छन्।

चन्द्राका छोरी–ज्वाइ सधैँ उनलाई भन्ने गर्थे– आमाको एउटा गीत रेकर्ड गर्न पाए हुने। वसन्तले त्यो चाहना पूरा गरिदिएपछि आज चन्द्रा भन्छिन्, ‘छोरीहरु मरेर गएपनि ममीको एउटा एल्बम चिनो राख्न पाए हुन्थ्यो भन्थे। खुशी छु, वसन्त छोराका कारण यो उमेरमा छोरीहरूको त्यो चाहना पूरा भएको छ।’

सोमबार चन्द्राले गाएको ‘रत्यौली गीत’ रिलिज हुँदा उनी सुर्खेतस्थित गाउँमै थिइन्। गीत सुनेर, भिडियोमा आफूलाई देखेर अहिले उनी मक्ख छिन्। नेपाल समयसँग भन्दै थिइन्,‘अस्ति राति १० बजेतिर छोराले डाउनलोड गरेर लिएर आएर देखाएको थियो। घरमा डिजे छ, सुनेको सुनेकै गर्छन्। बुढेसकालमा सेलिब्रेटी भइयो, बाबु, म त अचम्ममा छु।’

चन्द्रालाई काठमाडौं ल्याएर वसन्तले बनाएको गीतः


तपाईं को प्रतिक्रिया

तपाईं को प्रतिक्रिया

ट्रेंडिंग

युक्रेनका ४ क्षेत्र गाभेको औपचारिक घोषणा गर्दै रुस

युक्रेनका लुहान्स्क, दोनत्स्क, जापोरिज्जिया र केरसन क्षेत्रलाई रुसमा गाभ्ने घोषणा गर्न लागिएको छ। 'क्रेमलिन दरबारमा स्थानीय समयअनुसार दिउँसो ३ बजे ती ४ क्षेत्र रुसमा गाभिएको घोषणा हुनेछ,' क्रेमलिन प्रवक्ता दिमित्री पेस्कोभले भनेका छन्।

पाँच दलको सिट भागबण्डा अन्तिम चरणमा [सूचीसहित]

लामो समयको गृहकार्यपछि धेरैजसो निर्वाचन क्षेत्रको भागबण्डा मिलेको छ तर केहीमा भने किचलो कायमै छ।

सोलुको सकस: कांग्रेस नछाड्ने, माओवादी नमान्ने

२०७४ को चुनावमा जितेकाले आफैंले पाउनुपर्ने माओवादीको अडान छ। यस पटक गठबन्धनले चुनाव लड्ने हुँदा सोलुखुम्बु आफूले पाउनुपर्ने दाबी कांग्रेसले गरिरहेको छ।

समानुपातिक सूची परिवर्तन नभए आफैँ संघर्षमा उत्रने शेखर-गगनको चेतावनी

समान अवसर र न्यायका लागि विरोध र संघर्षका कार्यक्रम गर्दै आएका आफूनिकट नेताहरूसँग छलफल नेता कोइराला र महामन्त्री थापाले यस्तो बताएका हुन्। बत्तिसपुतलीस्थित अनुपम फुडल्यान्डमा असन्तुष्ट नेताहरुसँग उनीहरूले छलफल गरेका हुन्।

भीम रावल पार्टी सम्पर्कमा नआएपछि ओलीको सोधीखोजी

४ मंसिरमा हुने निर्वाचनका लागि एमाले जिल्ला कमिटीले अछाम क्षेत्र–१ बाट रावललाई मात्र सिफारिस गरे पनि पछिल्लो समय पार्टी सम्पर्कमा नआएपछि के भएको हो भनेर बुझ्न सुदूरपश्चिम एमाले नेताहरु पुगे ओली निवास।

सिभिल र हिमालयन मर्ज भएपछि ६ महिनामा 'सिनर्जी' आउँछ : सुनील पोखरेल [अन्तर्वार्ता]

हिमालय बैंक लिगेसी बोकेको पुरानो बैंक हो। हामीसँग साना तथा मझौला प्रकृतिको बिजनेस छ। हिमालयनको ठूला र कर्पोरेट बिजनेस छ। हाम्रा स-साना ग्राहक छन् तर उसका ठूला ग्राहक छन्।

आजदेखि निर्वाचन आचारसंहिता लागु : के गर्न पाइन्छ, के पाइँदैन?

आगामी मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनका लागि आचारसंहिता बुधारदेखि लागु गरिएको छ।

अलमुताइरीप्रति कप्तान किरणको अझै गुनासो, भने - व्यक्तिका लागि भन्दा पनि देशका लागि खेल्छौं

नेपाल राष्ट्रिय फुटबल टोलीका कप्तान किरण चेम्जोङले प्रशिक्षक अबदुल्ला अलमुताइरीले आफूलाई टिमबाट निकालेकोमा दुखेसो पोखेका छन्। व्यवसायिक फुटबलका क्रममा भारतमा रहेका किरण बंगलादेशसँगको मैत्रीपूर्ण खेलका लागि नेपाल आएका हुन्।

मोरङ-३ : चुनावमा प्रभाव पार्ने यस्तो छ मेडिकल कलेज कनेक्सन

सुनिल शर्माले आफ्नो नोबेल मेडिकल कलेजमार्फत राजनीतिक प्रभाव बढाएका छन्। निर्वाचन क्षेत्रमा नागरिकको निःशुल्क र कम शुल्कमा उपचारको व्यवस्था मिलाएर उनले मतदाताको प्रभाव बढाएका हुन्। उता राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट उम्मेदवार बन्ने तयारीमा रहेकी रेखा थापाले पनि अभियान तीव्र बनाएकी छिन्।

मधेसवादी दलको कमजोरीमा 'जाल' थाप्दै एमाले!

मधेसवादी दलका एजेन्डाहरू पहिलेभन्दा कमजोर बन्दै गएपछि सत्ताको लोभ गर्नेहरू राजनीतिक सुरक्षाका निम्ति एमाले प्रवेश गरिरहेका छन् भने एमालेले पनि मधेसवादी दलको कमजोरीको फाइदा उठाएको राजनीतिक विश्लेषण गरिँदै छ।

थप समाचार

नेपाल समय
कला/साहित्य

संकटमा सखिया

'पहिले थारु समुदायमा पढाइ थिएन, सबै युवायुवतीहरु गाउँमा हुन्थे, दिनभर काम गर्ने बेलुका नाच्ने गरिएको थियो,'सुशील चौधरीले भने, 'अहिले अध्ययनका लागि कामका लागि सबै युवाहरु गाउँ बाहिर जान थालेका छन्। अर्को कुरा मनोरन्जनका विभिन्न साधनहरु पनि देखा परे। त्यसले मौलिक परम्पराहरु मासिने अवस्थामा पुगेका छन।'
नेपाल समय
फिल्म

९६ वर्षअघि महँगो फिल्म बनाएकी एसियाकै पहिलो महिला निर्देशक फातमा बेगम

एकातिर यो फिल्म पहिलो पटक महिलाले निर्देशन गरेको चर्चा भइरहेको थियो भने अर्कोतिर यसमा देखाइएको भीएफएक्सले पनि तारिफ पाइरहेको थियो।
नेपाल समय
कला/साहित्य

बडादसैं र मालश्रीको 'कनेक्सन'

६ वटा ऋतुका धुनमध्ये मालश्री एक हो, जसको मधुर आवाजले दसैं आएको आभाष दिलाउँछ ।
नेपाल समय
कला/साहित्य

सपना, संघर्ष र स्वाभिमानको कथा 'बुह्रान'

जातीय, भाषिक, क्षेत्रीय, लैंगिक, वर्गीय र सांस्कृतिक विभेदविरुद्ध लेखिएका विरलै उत्कृष्ट कृतिहरू मध्ये एक हो बुह्रान।
नेपाल समय
कला/साहित्य

एउटा गहिरो सागरको छाललहर [निबन्ध]

मानिस, ढुंगाहरुको भिडमा ढुँगै त हो। आसुको थोपामध्ये एक बुँद। आकाशमा एउटा शून्यता थामेर उभिएको एक टुक्रा आकाशै त हो मान्छे। विशाल गोदाम भित्र कतै कुनामा छुटेको एउटा धानको बियाँ त हो मानिस। तोरीको एउटा गेडा त हो, कोलमा पेलिनबाट छुटेको।

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

House -138, Suruchi Marg, New Baneshwor, Kathmandu, Nepal
फोन : +977-1-4790242 / +977-1-4790040
इमेल : nepalsamayanews@gmail.com
  • प्रबन्ध निर्देशक
    तरुणप्रताप शाह
  • प्रधान सम्पादक
    नारायण अमृत
  • महाप्रबन्धक
    जीवन तिम्सिना