सोमबार, असोज १०, २०७९

'कमैया' मिट्ठूको कलाकर्म कथा

राज सरगम  |  काठमाडौं, बुधबार, साउन ६, २०७८

राज सरगम

राज सरगम

बुधबार, साउन ६, २०७८, काठमाडौं

नेपाल समय

बाल्यकालमा विद्यालय देख्नै नपाएका मिट्ठु थारूको दैनिकी महाजनको घरमा खेलेर बित्थ्यो, जहाँ उनका बाआमा कमैया–कमलरी थिए। कैलालीको टीकापुर नजिकैको गाउँ भगतपुरमा ३२ वर्षअघि जन्मिएका मिट्ठुको अघिल्लो तीन पुस्ताले कमैया–कमलरी प्रथा काटिसकेका थिए। कमैया बस्नुपर्ने उनी चौथो पुस्ता थिए।

वर्षमा तीन बोरा धान, एक बोरा गहुँ र केही किलो तोरीबापत वर्षभरि साहुमहाजनको काम गर्नुपर्ने दुःख मिट्ठुले नजिकबाट देखेका थिए।

२०५७ सालमा कमैया मुक्तिको घोषणपछि पश्चिम नेपालका दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुरका ३२ हजार ५०९ कमैया–कमलरीले नयाँ जीवन पाए।

कमैयाबाट मुक्ति त मिल्यो तर आर्थिक अवस्थाचाहिँ उस्तै रह्यो। सरकारले कमैया–कमलरीबाट मुक्त गराए पनि विपन्नताबाट मुक्त गराउन साधनस्रोत चाहिन्थ्यो, बनिबुतो गर्ने खेतबारी चाहिन्थ्यो।

अभावले पिरोलिएको मिट्ठुको जस्तो परिवार तिनै साहुमहाजनको घरमा काम गर्न जानुपर्ने वाध्यता थियो। ‘कमैया–कमलरी मुक्त भए पनि साहुको काम गर्न जाने दैनिकी छुटेको थिएन,’ मिट्ठु सम्झन्छन्।

०५७ सालमा कमैयाबाट भएपछि बाआमाले मिट्ठुका दाइलाई कतै टाढा काम गर्न पठाउने कुरा गरे। तर, पठाउने कहाँ? केही आइडिया थिएन। स्कुलको मुखसम्म देख्न नपाएका उनीहरुलाई बाहिरको संसारको बारेमा थाहा हुने कुरै भएन।

त्यहीबेला गाउँमा कसैले हल्ला चलायो– काठमाडौंका गार्मेन्ट र पस्मिना उद्योगमा काम पाइन्छ। कमैयाबाट मुक्ति पाएका दाजु त्यही वर्ष काठमाडौं हान्निए।

एक वर्षपछि गाउँ फर्किएका दाजुले मिट्ठुलाई पनि काठमाडौं ल्याउन चाहे। आफूजस्तै छोराहरू पनि कमैया बस्नुपर्ला भन्ने चिन्ताले पिरोलिएका बाआमालाई दुई छोरा काम गर्न काठमाडौं जाने कुराले खुशी बनायो।

गाउँमा अर्को डर पनि थियो। ०५७ सालतिर माओवादी द्वन्द्व चर्केको समयमा किशोरकिशोरीलाई ललाइफकाइ गरेर लैजान्थे। दुवै डरबाट बच्न बाआमाले १२ वर्षे छोरालाई काठमाडौं पठाए। 

काठमाडौं आएको पहिलो दिन मिट्ठुले दाजुले काम गर्ने गार्मेन्टमा रात काटे। भोलिपल्ट नुहाइधुवाइ गराएर मिट्ठुलाई दाजु र गार्मेन्ट साहुले कोटेश्वरको एउटा आलिसान भवन अगाडि पुर्‍यााए। त्यो घर थियो– पूर्वमेजर रामभरोस वैद्यको।

गाउँमा कमैयाबाट मुक्त भएर दाजुसँग सहर पसेका मिट्ठुले साहुको घरमा पनि घरायसी काम गर्नुपर्ने भयो। तर, यहाँँ भविष्यप्रतिको एउटा आशा थियो, भविष्य अंकुराउने मौका थियो। घरको कामको अलावा पढ्न पाउने सुविधा पनि थियो। 

वैद्य परिवारले काम गरेबापत पढाइदिने भएका थिए। घरायसी काम गर्दै स्कुल जाने अवसर पाउनु मिट्ठुका लागि विल्कुल नौलो थियो। ‘मैले पढ्न नपाए पनि भाइले पढोस् भन्ने सोचले बिनाज्याला वैद्य अंकलकहाँ उसलाई लगेको थिएँ,’ मिट्ठुका दाजु बलराम सम्झिन्छन्।

१२ वर्षको उमेरमा पहिलोपटक मिट्ठु कक्षाकोठामा प्रवेश गरे– कोटेश्वरस्थित सरस्वती माविमा। चार कक्षामा भर्ना भएर स्कुल देख्न पाएका मिट्ठु दंग थिए।

बिहान–बेलुका भान्साको काम गर्दै, घरभरि झाडु–पोछा लगाउँदै बचेको समयमा पढे उनले। ०६४ सालमा एसएलसी पास गरे। १८ वर्षको उमेरमा एसएलसी पास भएपछि उनले चित्रकला पढ्ने इच्छा वैद्य परिवारलाई सुनाए। तर वैद्य परिवार राजी भएन। ‘चित्रकला पढेर भविष्य बन्दैन भन्नुभयो, त्यसपछि मन मारेँ। वैद्य अंकल–आन्टीले पढाइदिएको हुनाले उहाँहरुको कुरा नकार्न सकिनँ,’ मिट्ठु त्यतिबेलाको कुरा सम्झिन्छन्। 

त्यसो त अहिले पनि छोराछोरीले चित्रकला पढ्छु भन्दा ‘यसमा भविष्य छैन’ भन्ने अभिभावक प्रशस्तै छन्। त्यो बेला चित्रकला पढेर केको करिअर बन्थ्यो र! यस्तै सोच्यो वैद्य परिवारले।

मन नलागी–नलागी कमर्स पढ्न राजी भए मिट्ठु। कोटेश्वर बहुमुखी क्याम्पसमा प्लस टु भर्ना भए, तर पास गर्न सकेनन्। आफूलाई पढाएको वैद्य परिवारको सपना पूरा गर्न नसकेकोमा भित्रैभित्र पिरोलिएका मिट्ठुलाई आफ्नै सपनाले भने पछ्याइरहेको थियो। ‘उहाँहरूले चित्रकलामा लागेर केही गर्न सकिन्न भन्नुभएको थियो, आफूलाई भने चित्रकला नपढे जीवन चल्दैन कि जस्तो भएको थियो,’ मिट्ठु भन्छन्। प्लस टु मा दुई वर्ष गुमाएकोमा उनलाई पछुतो थियो।

काठमाडौं आएपछि चित्रकलामा चाख बढेको होइन मिट्ठुको। बाल्यकालमा महाजनको घरको आँगनमा पनि खुब चित्र कोर्थे। धर्साहरू जोडेर आकार बनाउँथे। राम्रो चित्र बनाएर साथीहरूबाट तारिफ बटुल्थे। आफैंले बनाएको चित्रको परिभाषा उनलाई थाहा थिएन। तर चित्र कोर्न भने उनलाई गहिरो दख्खल थियो। 

दैलो र पिँढीमा कोइलाले लेखेको देखेर आमा रिसाउँथिन् पनि। तर, उनले कोर्न छाडेनन्। भुइँ र भित्तामा आफूले कोरेका चित्र मेटिएर जाँदा मन कटक्क खान्थ्यो। नमेटिने चित्र कोर्न पाए हुन्थ्यो नि भन्ने लाग्थ्यो।

काठमाडौंमा त गाउँमा जस्तो माटोको भुइँ थिएन। सिन्काले कोरिने जमिन थिएन। भित्तालाई रंगाउने कोइला थिएन। कोइला पाए पनि भित्तो कोर्न कहाँ पाइन्थ्यो र। गाउँमा छुटेका कुराहरू सम्झिँदै विकल्पहरु खोज्थे उनी। यस्तै एउटा विकल्प बनेको थियो– वैद्यको घरमा पूजापाठ गर्दा प्रयोग गरिने रातो र पहेंलो टीका।

स्कुलको होमवर्क लेख्ने कपीमा उनी चित्र बनाउँथे। तर चित्त बुझ्थेन। आफ्नो चित्र रंगीन होस् भन्ने चाहन्थे। ‘जब पूजापाठ सकेर अंकल आन्टी अफिसतिर जानुहुन्थ्यो, म पूजाको थालीको टीकाले कापीमा कोरेको चित्र रंगाउन थाल्थेँ। त्यसरी रंगाउने दैनिकीचाहिँ हरेक आइतबार आउने कान्तिपुरको ‘कोपिला’ थियो,’ मिट्ठु सम्झिन्छन्।

वैद्यको घरमा पत्रपत्रिका नियमित आउँथ्यो। बिहान स्कुल जानुअघि उनी पत्रपत्रिका हेर्थे। पढ्थे। यस्तैमा कोपिलामा बच्चाहरुले कोरेको रंगीन चित्रले उनलाई लोभ्याउँथ्यो। त्यो चित्रमा उनले रङ संयोजन हेर्थे। त्यसपछि उनले कोपिला नियमित राख्न थाले र चित्रहरुलाई गहिरोसँग ध्यान दिन थाले। 

चित्रमा थुप्रै रङ प्रयोग भएको हुन्थ्यो तर उनीसँग त्यो किन्ने पैसा हुँदैनथ्यो। पैसा माग्ने पनि आँट थिएन। घरमा आमाबालाईझैं झट्ट भन्न सक्थेनन् वैद्य अंकल–आन्टीलाई। विकल्पमा निलो रङको साबुनले कापीमा रङ भर्थे।

आर्ट पढ्ने तीव्र इच्छा मार्न नसकेर उनले दाजुलाई ऋण खोज्न पनि लगाए। त्यसपछि दाजुले नै वैद्य परिवारसँग मिट्ठुले पढ्न चाहेको विषयको बारेमा कुरा गरिदिए। त्यसपछि बल्ल उनीहरु राजी भए मिट्ठुलाई आर्ट पढाउन।

२०७२ सालमा फाइन आर्टस पढ्न पुनः प्लस टुमै भर्ना भए उनी बिजेश्वरी माविमा। आफूलाई मन लागेको विषय पढ्न थालेपछि उनले बनाएको पहिलो क्यानभास थियो– नेवार महिलाहरूले ढुंगेधारामा अँजुली थापेर पानी पिइरहेको। त्यो चित्र उनले ३५ सय रुपैयाँमा बेचे। बच्चैदेखिको रुचीको पहिलो कमाइ थियो त्यो। वैद्य परिवारले त त्यो कुरा पत्याउँदा पनि पत्याएन।

फेरि उनले केही अन्य क्यानाभास बनाएर सहरका आर्ट ग्यालरीमा बेच्न हिँडे। आधा दर्जनजति क्यानभास ग्यालरीमा बेचेपछि पूर्वमेजर वैद्यको सहयोगमा उनले स्कुलमा कला शिक्षणको रूपमा हप्ताको दुई दिन पढाउन थाले। यसले उनलाई आफ्नो क्षेत्रमा गम्भीर भएर लाग्न सहयोग पुग्यो। त्यसपछि वैद्य परिवार पनि खुसी भयो, उनीप्रति विश्वास बढ्यो।

मिट्ठु चित्रकारमात्र होइन, मूर्तिकार पनि हुन्। मूर्ति बनाउने पनि उनको सानैदेखिको रुची हो। आमाले भित्तो टाल्ने माटो मुछिरहेका बेला उनी माटोको मूर्ति बनाउन खोज्थे। भित्तामा थारू संस्कृति झल्किने चित्रको आकार आमाले निकालिरहँदा उनी ध्यानले हेर्थे र माटोलाई अनेक आकारमा ढाल्थे। ‘भित्तामा माटोको थुप्रो पारेको देखेर आमा गाली गर्नुहुन्थ्यो। आमालाई उपद्रोजस्तो भए पनि मेरा लागि त्यो ‘दिल्लगी’ थियो,’ मिट्ठु सम्झिन्छन्।

काठमाडौं आएर कलेज जीवन छिचोल्दै जाँदा उनी मूर्तितिर पनि आकर्षित भए। माटोबाट मूर्ति बनाउन सिकेका मिट्ठु अहिले प्लाष्टर पेरिस, फाइबर ग्लास, सिमेन्टलगायतका सामग्रीले मूर्ति बनाउँछन्। 

बिजेश्वरी माविको मिलनसार, मेहनती र लगनशिल विद्यार्थीमा कहलिएका मिट्ठु कोर्डिनेटर विपिन श्रेष्ठका लागि सम्भावना बोकेको कलाकार लाग्थ्यो। भन्छन्, ‘उसको रूची मूर्तिमा गहिरो थियो। आज त्यही रूचीलाई प्रोफेसन बनाएको देख्दा खुशी लागेको छ।’

पहिलेपहिले उनले अर्धकदका मूर्ति थुप्रै बनाए। पूर्णकदको मूर्ति भने थारु राजा डंगीशरणको बनाएका थिए। १२ औं शताब्दीका राजा थिए उनी। त्यो मूर्ति तत्कालीन उरही गाविस दाङको थारु सांस्कृतिक संग्रहालयमा राखिएको छ। तीन वर्षदेखि यस संग्रहालयमा काम गरिरहेका छन् उनी। कहिले सामूहिक त कहिले एकल रूपमा काम गर्छन्।

एकल रूपमा एक दर्जनजति मूर्ति बनाएका छन भने संग्रहालय निर्माणको क्रममा सामूहिक रूपमा थुप्रै मूर्ति बनाए। गुर्रर बाबाको मूर्ति पनि बनाएका छन् मिट्ठुले, जो थारु समुदायका सृष्टिकर्ता भएको जनविश्वास छ। 

अहिले त उनी कन्ट्याक्टका आधारमा काम गर्छन्। पहिलोपटक बनाएको मूर्तिको २० हजार लिएका थिए, अहिले १ लाखसम्म लिन्छन्।

चित्र र मूर्ति सँगसँगै बनाउँदै आइरहेका मिट्ठु ललितकला क्याम्पसमा २०७४ सालमा भर्ना भए स्नातकका लागि। तर, दोस्रो वर्षमा पढाइलाई बे्रक लगाए। कारण– कामको भ्याइनभ्याइ थियो। अब फेरि स्नातक पूरा गर्ने सोचमा छन्।

अविवाहित मिट्ठु थारु संस्कृति र इतिहासलाई कला र मूर्तिमार्फत प्रवद्र्धनका साथै स्थापित गर्न लागिरहेका छन्। उनले २०७६ मा ललितकला विशेष पुरस्कार पनि पाइसकेका छन्।

चाडपर्व पारेर कैलालीको भजनी पुग्दा गाउँमा बाआमा छुटेझैं लाग्छ उनलाई। ६५ वर्षीय बा खुशीराम डगौरा थारु र ५५ वर्षीय आमा अँगनीदेवी मात्रै छन्। छोराहरु कमाउने भएपछि उनीहरुले कमैया कमलरी बसेको सपनाजस्तो लाग्दो होला। मोबाइल चलाउन नआउने बाआमासँग बोल्न मन लाग्यो भने मिट्ठु छिमेकीको घरमा फोन गर्छन्। ‘फोनमा आमा बोल्नेबित्तिकै बिहे गर्, अब त बुढो भइस्’ भन्नुहुन्छ,’ लजालु स्वभावका मिटठु खितखिताउँछन्।

आफ्नो कलाले बजार पाएपछि मिट्ठुले वैद्यको घर छोडे। भन्छन्, ‘म आफैंले काम गरेर कमाउन थालेपछि अंकल–आन्टीलाई दुःख दिन मन लागेन। सल्लाह गरेरै सरें। उहाँहरुले आशीर्वाद दिनुभयो।’

अहिले पनि वैद्य परिवारले फोन गरिरहन्छन्, उनी पनि गर्छन्। हप्ता– पन्ध्र दिनमा वैद्य निवास पुग्छन्। मार्बल कारखानामा काम गर्दै आएका दाजु बलराम भन्छन्, ‘उसले कलाकारिताबाट हामीलाई विश्वस्त पारेको छ।’ मिट्ठुले स्वयम् तथा आफन्तलाई मात्रै होइन, आफूलाई स्कुल देखाइदिएका छन्, वैद्य परिवारको मनसमेत कलाकारिताबाट जितेका छन्। भन्छन्, ‘आफ्नै आमाबुबाले झैं गाइड गर्नुभएको अंकल–आन्टीलाई कहाँ भुल्न सक्छु र!’ कलाको संघर्षपूर्ण यात्रामा यात्रारत मिट्ठुले अझै धेरै सिक्नु पर्नेछ। भन्छन्, ‘सिक्नुपर्ने धेरै छ, त्यसैले अरूको संघर्ष सुन्न थालेपछि आफ्नो केही होइनजस्तो लाग्छ।’


प्रकाशित: July 21, 2021 | 05:25:00 काठमाडौं, बुधबार, साउन ६, २०७८

तपाईं को प्रतिक्रिया

ट्रेंडिंग

चीनमा सैन्य 'कू' को हल्ला, राष्ट्रपति सी नजरबन्दमा छन् त?

सोसल मिडियामा भने सीबारे अनेकन 'हल्ला' भइरहेका छन्। चीनियाँ राष्ट्रपति सीलाई वास्तवमा के भएको भन्‍ने कुरालाई सहजै भन्‍न सकिँदैन।

समान अवसरको मागसहित शेखर समूहले खवरदारी सभा गर्ने

नेपाली कांग्रेसको डा. शेखर कोइराला समूहले पार्टीभित्र समान अवसर र न्यायका लागि खवरदारी सभा आयोजना गर्ने भएको छ।

लेखक केशव दाहालको 'माधवी ओ माधवी' सार्वजनिक

'मोक्षभूमि' उपन्यासका लेखक केशव दाहालको गैरआख्यान निर्बन्ध लेखन संगालो 'माधवी ओ माधवी' शुक्रबार विमोचन गरिएको छ।

काठमाडौंका १० निर्वाचन क्षेत्र : पुराना दललाई स्वतन्त्र र नयाँ दल चुनौती

स्वतन्त्रदेखि झिनामसिनाका पार्टीबाट उम्मेदवारी घोषणा गरिएपछि संघीय राजधानीसमेत रहेको काठमाडौंका १० निर्वाचन क्षेत्रमा ठूला दलहरूलाई चुनाव जित्न गठबन्धनको भर। गठबन्धन गर्दा कांग्रेसको सुरक्षित किल्ला अन्य दललाई सुम्पिनुपर्ने बाध्यता।

वित्तीय संघीयता मजबुत बनाउन राजनीतिक र प्रशासनिक इच्छाशक्ति आवश्यक

राजस्व बाँडफाँटका कतिपय मुद्दामा केन्द्र, प्रदेश र स्थानीयबीच समन्वय अभाव देखिन्छ। यसका लागि वित्तीय हस्तान्तरण ऐनमा केही संशोधन गरेर अगाडि बढ्न आवश्यक छ।

कार्यकालपछि राष्ट्रपति भण्डारीले राजनीतिक नेतृत्व गरे अति राम्रो : गोकुल बाँस्कोटा

बिहीबार ट्विट गर्दै बाँस्कोटाले पूर्वराष्ट्रपतिले राजनीति गर्नु हुँदैन भन्ने कानुनी व्यवस्था नरहेको उल्लेख गर्दै राष्ट्रपतिलाई राजनीतिक नेतृत्व लिन सुझाव दिएका हुन्।

ब्याजदर बढेपछि व्यापारी र बैंकर्सबीच द्वन्द्व, हस्तक्षेप नगर्ने पक्षमा राष्ट्र बैंक

बैंक तथा वित्तीय संस्थाले ब्याजदर बढाएको विषयमा निजी क्षेत्रका उद्योगी र व्यापारी असन्तुष्ट छन्। निक्षेपको ब्याज बढाउँदा कर्जाको पनि ब्याज बढ्ने भएकाले त्यसले उद्योग र व्यापार सञ्चालनमा नकारात्मक असर पार्ने भन्दै उनीहरू असन्तुष्ट बनेका हुन्।

निधिले छोडे पनि धनुषा-३ मा गठबन्धनको हानाथाप, को बन्ला जुलीको प्रतिस्पर्धी?

उता २०७४ सालमा धनुषा ३ बाट निर्वाचित सांसद एंव लोसपाका वरिष्ठ नेता राजेन्द्र महतोले यही क्षेत्रबाट चुनावी मैदानमा उत्रने तयारीमा छन् भने लालकिशोर साह, जितेन्द्रकुमार यादव, विजयकुमार भगत र सर्वजित ठाकुरको नाम सिफारिस गरेको छ।

प्रेमगीत–३ लाई लिएर किन आयो चलचित्र क्षेत्रमा हलचल?

‘प्रेमगीत–३’लाई लिएर नेपाली फिल्मकर्मीहरू विभाजित भएका छन्। कोही हिन्दी भर्सनलाई नेपाली फिल्मसरह कर छुट दिनुपर्ने र कोही दिन नहुने पक्षमा उभिएका छन्।

सरकारको आग्रह लत्याउँदै सीपीसीको सुरक्षा रणनीति बैठकमा राष्ट्रपति भण्डारी सहभागी

चिनियाँ कम्युनिस्ट पार्टीले बुधबार आयोजना गरेको भर्चुअल सम्मेलनमा राष्ट्रपति भण्डारीले रेकर्डेड भिडियो सन्देश पठाएको राष्ट्रपति कार्यालयले पुष्टि गरेको छ।

थप समाचार

नेपाल समय
पुस्तक

२५० वर्षको इतिहाससहित ‘नेपाली महाकाव्यको इतिहास र विश्लेषण’ प्रकाशित

कृतिमा पछिल्लो अध्ययन अनुसार पहिलो मानिएको रमेश मल्लद्वारा लिखित ‘मदन दीपिका’ (वि.सं १८२२) महाकाव्यदेखि २०७८ सालसम्म लेखिएका महाकाव्यहरूको विश्लेषण गरिएको छ।
नेपाल समय
कला/साहित्य

मंसिर ९ गतेदेखि अन्तर्राष्ट्रिय नाटक महोत्सव सुरु हुँदै

निर्देशक एवं वरिष्ठ रङ्गकर्मी अनुप बरालले आफूलाई रङ्गकर्मको नोकर भएर बाँच्न मन लाग्ने बताए। महोत्सवलाई सम्पूर्ण रङ्गकर्मीहरुको साझा महोत्सवको रुपमा लिनुपर्ने उनको भनाइ छ।
नेपाल समय
फिल्म

'ऐना झ्यालको पुतली' को माग डायस्पोरामा पनि

नेपालमा दर्शक र समीक्षकबाट दशककै उत्कृष्ट फिल्मको प्रतिक्रिया पाएको ‘ऐना झ्यालको पुतली’ले विदेश यात्राको तय गरेको छ।
नेपाल समय
फिल्म

कर चुक्ता नगरेका कारण प्रेमगीत-३ को सेन्सर रोकिएको थियो : भुवन केसी

बोर्डले केही दिनसम्म रोकिराखेको सेन्सर अनुमति करचुक्ता प्रमाणपत्र पेस गरेपछि भने सेन्सर पास गर्नका लागि केन्द्रीय चलचित्र जाँच समितिमा सिफारिस गरिएको जानकारीसमेत बोर्डले दिएको छ।
नेपाल समय
संगीत

नेपथ्य व्याण्ड ‘म्यूजिक फर ह्युम्यानिटी’का साथ मानवता प्रवर्धन अभियानमा

यसरी आफ्नो स्वरलाई हस्तक्षेपमुक्त विद्यालय बनाउने, शान्तिको कामना गर्ने र युद्धविरोधी आवाजमा समेत रुपान्तरण गर्दै आएको नेपथ्यले आउँदो वर्ष ‘मानवता प्रवर्धन अभियान’ मार्फत मानवीय आयामहरुलाई आफ्नो आवाजको उद्देश्य बनाउने सोच लिएको छ। यसै प्रणलाई सार्थक तुल्याउन नेपथ्यले मुलुकभर फैलिएको अग्रणी सामाजिक संस्था ‘मानव सेवा आश्रम’ सँग हातेमालो गरेको छ।

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

House -138, Suruchi Marg, New Baneshwor, Kathmandu, Nepal
फोन : +977-1-4790242 / +977-1-4790040
इमेल : nepalsamayanews@gmail.com
  • प्रबन्ध निर्देशक
    तरुणप्रताप शाह
  • प्रधान सम्पादक
    नारायण अमृत
  • महाप्रबन्धक
    जीवन तिम्सिना