दार्जिलिङमा जन्मिएका लेखनाथ छेत्री (३०) अचेल कालेबुङमा बस्छन्। स्वतन्त्र पत्रकार एवम् अनुवादक छेत्रीका दुई वटा कविता संग्रह ‘बाउको पसिना’ र ‘अक्षर अनप्लग्ड’ प्रकाशित छन्। क्षेत्रीले भारतीय पत्रकार रवीश कुमारको ‘द फ्री भ्वाइस’ को ‘मुक्त आवाज’ शीर्षकमा नेपाली अनुवाद पनि गरेका छन्। उनको हालै प्रकाशित उपन्यास ‘फुलाङ्गे’ र भारतीय नेपाली साहित्यबारे नेपाल समयले गरेको छोटो कुराकानीः
फुलाङ्गे कस्तो उपन्यास हो?
भारत स्वतन्त्र भएको दशकतिर नेपालका कतिपय क्षेत्रमा विधवाको बिहे असामाजिक कुरा मानिन्थ्यो। त्यति बेला विधवासँग बिहे गरिसकेपछि सामाजिक लाञ्छनाबाट बच्न भारत पसेको एक दम्पती जसको पछिल्लो पुस्ताले दार्जिलिङको सन् १९८६ को गोर्खाल्यान्ड आन्दोलन भेट्छन्, फुलाङ्गेको कथा मूलतः यसै परिवारको सेरोफेरोमा घुमेको छ।
सुवास घिसिङको अगुवाइमा दार्जिलिङले लडेको त्यस हिंसात्मक आन्दोलनको बृहत् स्वरूप अथवा डिस्कोर्स खोज्नेहरूका लागि त यस उपन्यासमा निराशाबाहेक केही पनि हात लाग्दैन। मूलधारमा विचारधाराहीन आन्दोलन चलिरहेका बेला तल्लो तहको सामाजिक मनोविज्ञानमा यसले कस्तो किसिमको असर छोड्छ, उपन्यासका साधारण चरित्रमार्फत त्यसलाई अध्ययन गर्ने कोसिस गरिएको छ।
अथवा भनौं, फुलाङ्गे सामान्य चरित्रको तहबाट आन्दोलनलाई हेर्ने एउटा झ्याल हो।
आख्यान लेखनमा कसरी आकर्षित हुनुभयो?
मेरो लेखनको सुरुआत कविताबाट भएको हो। सन् २०१२ देखि सक्रिय रूपमा लेखनमा आएपछि मेरा दुई कविता संग्रह प्रकाशित भए। मेरा कविता रुचाइए पनि। तर दुईवटा कविता संग्रह प्रकाशित भइसकेपछि अब कवितामा दिने नयाँ थोक र आफ्ना कुरा भन्ने नयाँ शिल्प मसँग छैन भन्ने लागिरह्यो। त्यसपछि पनि कवितालाई निरन्तरता दिनु उही कुरा दोहोर्याउनु हो जस्तो महसुस हुन थाल्यो।
कविताबाट केही समयका लागि अवकाश लिन मैले स्मृतिमा रहेका पुराना कथा कोट्याउन सुरु गरें। कोट्याउँदै जाँदा किशोरवयमा अघिल्लो पुस्ताले सुनाएको सन् १९८६ को गोर्खाल्यान्ड आन्दोलनको एउटा चरम ‘फ्यान्टासी’ जस्तो कथाबाट उपन्यास बन्छ भन्ने लाग्यो अनि आख्यानमा तानिएँ।
फुलाङ्गेमा सत्ता र शक्ति संघर्षको विषय छ। यस्तो कथा पुरानो भएन र?
मलाई लाग्छ, जबसम्म संघर्ष एउटा चरम बिन्दुमा पुग्दैन तबसम्म संघर्षबाट उब्जेका तमाम कथा कहिल्यै पुराना हुँदैनन्। यो त नयाँ नयाँ स्वरूपमा प्रकट भइरहन्छ। संघर्षको नकारात्मक पक्षका अध्ययनले हामीलाई सकारात्मक बाटोतिर जान प्रेरित गर्छ। फुलाङ्गे त्यही संघर्षको नयाँ स्वरूपको खोजी हो।
म ‘लेखनमा प्रयोगहरूको खोजी गर्दै नयाँ केही दिने’ विचारमा विश्वास नगर्ने लेखक परें। मूल कुरा हामीले आफ्नो कथा आफैं भन्नुपर्छ भन्ने पनि हो। म दबिएका ती पुराना र झिनामसिना तर, आफ्नै कथा भन्न मन पराउँछु।
दार्जिलिङ अझै कसैको कठपुतली छ भन्न खोज्नुभएको हो?
‘कठपुतली’ लाई म राजनीतिक अर्थबाट केलाउन प्रयोग गरिएको शब्दका रूपमा बुझ्न आग्रह गर्छु। किनभने यो उपन्यासको पाश्र्वमा राजनीतिक उपनिवेशवादी आधार छ।
राजनीतिक रूपमा आजसम्म दार्जिलिङ कसैको कठपुतली बन्न अभिशप्त छ। यहाँ दसकौंदेखि बहुसंख्यक सत्ता अनि अल्पसंख्यक रैथानेमाझ निरन्तर संघर्ष छ। यो संघर्ष अल्पसंख्यक रैथानेको पहिचानको संकटको उपज हो। बहुसंख्यक सत्ता सोच्छ, दार्जिलिङ हाम्रो हो तर त्यहाँका मान्छे हाम्रा होइनन्।
राजनीतिक स्तरमा यस समस्याको उठान गर्दै हामीमाझ केही नेतृत्व आए। तर बृहत् विचारधारा अनि रणनीतिक आन्दोलनको अभावका कारण हरेकचोटि उनीहरूले बहुसंख्यक सत्ताअगाडि घुँडा टेक्ने स्थिति निर्माण भयो। उनीहरूका निम्ति सत्ताले बजाएको बिनमा नाच्नुपर्ने परिस्थिति निर्माण भयो। आन्दोलन नै सत्ताशक्तिको कूटनीतिक जालमा फसेपछि त्यसले ग्रामीण स्तरमा पर्ने प्रभाव वा त्यसबाट निर्मित चरित्रको अध्ययन गर्ने कोसिस गरेको छु।
हाम्रा नेतृत्वको तहलाई शक्तिको आडमा सत्ताले नचाउन थालेदेखि आन्दोलनमा सरिक इमानदार सीधासोझा आन्दोलनकारीहरू पनि नाच्नुपर्ने भयो। त्यो कठपुतलीपन कसोकसो गरेर अझसम्म कायमै छ। यसको अर्थ ठूलो शक्तिसित पूर्वाधार तयार नगरी लड्दा र विचारधारासित नलड्दा दार्जिलिङलाई सदैव कठपुतली नै बन्नुपर्ने बाध्यता आइपरेको छ।
विगतमा पूर्वोत्तर भारतले नेपाली साहित्यमा भ्रमर, बसाइँ, माइतघर जस्ता मानक उपन्यास दिएको इतिहास छ। अब यस्ता उपन्यास लेखिन छाडेका हुन् या चर्चामा नआएका हुन्?
यी उपन्यासहरू निश्चय नै यताबाट लेखिएका उत्कृष्ट उपन्यास हुन्। तर ती मानक उपन्यास हुन् भन्ने म मान्दिनँ। अझ यीमध्ये कतिपय यस्ता पुस्तकहरू छन् जसलाई आजको समयमा पुनरवलोकन गरिन जरुरी छ। विशेषगरी मोदी सरकारले गत वर्ष नागरिकता संशोधन कानुन लागू गरेपछि ‘बसाइँ’ जस्तो उपन्यासले कतै हामीलाई कठघरामै उभ्याउने त होइन? भन्ने पनि लाग्छ।
यो सत्य हो– युवा पुस्तामा आजको भारतीय नेपाली लेखन कविता विधातर्फ बढी केन्द्रित छ। तर हाम्रो मूल मुद्दालाई सम्बोधन गरेर यहाँ उपन्यास नलेखिएका होइनन्। युवा पुस्तामा छुदेन काविमो, सञ्जीव छेत्री, सुरज धड्कन जस्ता दह्रा आख्यानकार हामीसँग छन्। अघिल्लो पुस्तामा भगिरत रावत, सञ्जय विष्ट, उदय थुलुङ, प्रकाश हाङ्खिमहरू लिनैपर्ने नाम हुन्, जो निरन्तर आख्यान लेखनमा सक्रिय छन्।
दुःखको कुरा, हामीसँग साहित्यको एक बृहत् बजार व्यवस्थापन छैन जसका कारण यताबाट लेखिएका आख्यान आफ्नै साँघुरो क्षेत्रभित्र सीमित हुन बाध्य छन्, अनि उनीहरूले पाउनपर्ने चर्चा पाउँदैनन्। यसको अर्थ बलिया आख्यानहरू अझै छायामा छन् भन्ने हो।
उपन्यासलाई लोकजीवन, लोककला र लोकविश्वासका सन्दर्भले कत्तिको जीवन्त बनाउँछन् जस्तो लाग्छ?
उपन्यासमा मात्र नभएर साहित्यको हरेक विधामा लोकजीवन, लोककला र लोकविश्वासले धेरै महत्त्व राख्छन्। लेखनलाई मौलिक रूप दिन यी विषय मूल खाँबो हुन्। विश्व फाँटमा हाम्रो साहित्यलाई एउटा छुट्टै पहिचान दिने कुराहरु यिनै हुन्।
म भारतबाट सुरु भएको ‘हस्तक्षेप लेखन’ आन्दोलनसँग आबद्ध छु, जसको अनेक बुँदामध्ये एउटा बुँदा हो ‘अग्र्यानिक लेखन’। उपन्यासमा मैले यसमाथि विशेष ध्यान दिएको छु। लोकजीवनको प्रकटीकरण कुनकुन सन्दर्भमा भएको छ– उपन्यास पढेपछि निश्चय नै थाहा हुनेछ।
कतिपय उपन्यास केही समय चर्चामा रहेर हराउँछन् र पुस्तकालयमा सीमित हुन्छन्। ‘फुलाङ्गे’ यस्तो नहुने आधार के देख्नुभएको छ?
शाश्वत लेखन सायद हरेक लेखकको एउटा चाहना हो। आफ्नो लेखन कालजयी बनून् भन्ने हरेक लेखकको चाहना हुन्छ। तर मेरो विचारमा लेखनको मूल उद्देश्य भनेको चेतनाको निर्माण हो। सीमित अवधिभित्रमा पनि उपन्यासले चाहेको चेतनाको निर्माण पाठकमा गर्यो, त्यसपछि एकाएक चर्चाबाट हरायो भने पनि त्यसमा मेरो गुनासो रहने छैन। उपन्यासले साँच्चै त्यो चेतनाको निर्माण गर्न सकेन भने त्यो चिन्ताको विषय बन्छ।
समालोचकहरूले ‘भारतीय नेपाली साहित्यकार’ भनिरहँदा भौगोलिक रूपमा कित्ता छुट्ट्याएको जस्तो लाग्दैन?
कलासाहित्यको कुनै सिमाना हुँदैन। विशेष भाषा अनि संस्कृतिका कारण नेपालसँग हामी जसरी जोडिएका छौं, त्यसलाई नकार्न सकिन्न। तर जस्तो किसिमको समस्या भारतमा बस्ने रैथाने नेपाली भाषीहरूले आजको दिनमा भोग्न परिरहेको छ, यस हिसाबले हेर्दा कित्ता छुट्ट्याइनु जरुरी छ भन्ने लाग्छ।
भारत (संविधानको आठौं अनुसूची) मा समेटिएका २२ भाषामध्ये एउटा भाषा नेपाली पनि हो। तर भारत सरकारले प्रायोजन गर्ने साहित्य अकादमीका राष्ट्रिय कार्यक्रमतिर सहभागी बन्न जब भारतीय नेपाली भाषी साहित्यकारलाई बोलाइन्छ, त्यति बेला ‘नेपालको नागरिक हो’ भनेर लाञ्छना लगाइएका अनेकौं खल्लो प्रसंग हामीसँग छन्।
आजको समयमा भारतमा बस्ने नेपाली भाषीहरू भारतकै खाँट्टी नागरिक हुन् भनेर एक बहुसंख्यक सत्ताको चेतनामा स्थापित गर्नका लागि संघर्ष गर्नुपरिरहेको स्थिति छ। यस कोणबाट हेर्दा यताका लेखकलाई ‘भारतीय नेपाली साहित्यकार’ भनेर छुट्याइनुलाई सकारात्मक देखिन्छ। यसमा हामीलाई केही आपत्ति छैन।
‘फुलाङ्गे’ नपढेमा नेपाली उपन्यासका पाठकले के गुमाउँछन् जस्तो लाग्छ?
आजको साहित्यको बजारमा अनेक किसिमका पुस्तक छन्। कस्तो किताब पढ्ने र कस्तो नपढ्ने भन्ने नितान्त पाठकको रुचिको विषय हो। म कसैमाथि मेरो उपन्यास थोपर्न चाहन्नँ। यो त पाठकको निजी विषय हो।
एक ठोस रणनीति अनि विचारधाराहीन आन्दोलन जब आफूलाई ठिकसँग प्रस्तुत गर्न नसक्ने ‘हेजिमोनाइज्ड’ समाजमा पुग्छ त्यसले कस्तो परिस्थिति निर्माण गर्छ? कसरी अवसरवादीहरू त्यस समाजमा आफूलाई स्थापित गर्नका निम्ति यस्ता आन्दोलनलाई तल्लो तहमा प्रयोग गर्छन्? अनि कसरी यस्ता विचारहीन आन्दोलनले प्रेम, मित्रताजस्ता मानवीय मूल्यहरूमा चोट पार्छ? भन्ने कुराहरू जान्न चाहने पाठकका लागि यो उपन्यास पक्कै रुचिको विषय बन्न सक्छ।