काठमाडौं– आधुनिक नेपाली कविताको विकासमा विशिष्ट योगदान गरी देशदेशान्तरमा नेपाली भाषासाहित्यको गरिमा बढाएबापत कवि शैलेन्द्र साकारलाई ‘देवकोटा काव्य पुरस्कार’ प्रदान गरिने भएको छ। ताम्रपत्रसहित सो पुरस्कारको राशि एक लाख रुपैयाँ छ।
साकार नेपाली भाषासाहित्यको श्रीवृद्धिका लागि ६ दशकअघिदेखि काव्यसाधनामा निरन्तर समर्पित छन्।
यसैगरी २५ हजार रुपैयाँ राशिसहितको ‘भद्र घले पदक’ नेपाल पत्रकार महासंघका पूर्वसभापति तारानाथ दाहाललाई प्रदान गरिने भएको छ।
त्रिमूर्ति निकेतनका संस्थापक या सदस्यमध्ये एक जनालाई हरेक वर्ष प्रदान गरिने सो पदक त्रिमूर्ति निकेतनको उचाइ अभिवृद्धिका लागि विशिष्ट योगदान पुर्याएबापत दाहाललाई समर्पण गर्न लागिएको भएको हो।
त्रिमूर्ति निकेतनका संस्थापक तथा अध्यक्ष इन्दिरा प्रसाईको अध्यक्षतामा बुधबार बसेको निकेतनको सभाले सो निणर्य गरेको हो।