सोमबार, साउन २३, २०७९

प्रवर्तनको ६ महिनामै लोकप्रियताको शिखरतर्फ ‘बाछिटा’

नेपाल समय  |  काठमाडौं, शनिबार, कार्तिक २२, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, कार्तिक २२, २०७७, काठमाडौं

नेपाल समय

कविता विधाको अत्यन्त नवीन र प्रयोगशील एवम् सूक्ष्म उपविधाका रूपमा विकसित बाछिटाको छोटो समयमै लेखन, वाचन र समीक्षाका शृंखला बढेको छ। यति मात्र होइन, यसको  विकासका  लागि स्रष्टाहरूले संस्थागत पहल पनि थालेका छन्।  

शब्दार्थगत चिनारी
‘बाछिटा’ नेपाली भाषाको शब्द हो। ‘बाङ्गो छिटा’ विग्रहमा कर्मधारय समास भएर समस्त शब्दका रूपमा ‘बाछिटा’ शब्दको निर्माण हुन्छ। संस्कृतको ‘वक्र’ शब्दबाट तद्भव रूपमा ‘बाङ्गो’ शब्द नेपाली भाषामा प्रचलनमा छ। यसको अर्थ टेढो चालको वा सोझो नभएको भन्ने हुन्छ। 

यसै गरी संस्कृत भाषाको ‘क्षिप्त’ शब्द नेपाली तद्भव रूपमा ‘छिटो’ शब्द बनेर प्रयोग हुन्छ। ‘छिटो’ शब्दले त्वरित् वा शीघ्र भन्ने अर्थ बुझाउँछ भने मूलतः यसको अर्थ पानीको सानो थोपो भन्ने हुन्छ। 

‘छिटो’ शब्दले छचल्किएर, उछिट्टिएर आउने पानीको बिन्दु, जलकण अथवा शुद्धिका निमित्त सेचन गर्ने जल वा चोख्याउन छम्केको पानीको थोप्लो भन्ने अर्थ दिन्छ। 

यसरी दुई तत्सम शब्दका तद्भव रूप मिलेर बनेको ‘बाछिटा’ शब्दले हावाले हुत्याउँदा छड्के गरी परेको पानीको छिटा भन्ने बुझाउँछ। आकाशबाट खसेर हावाको वेगले बाङ्गो गरी परेको पानीको थोपालाई नै बाछिटा भनिन्छ। 

यही प्रकृतिपरक शब्द ‘बाछिटा’ लाई नेपाली साहित्यमा कविता विधाको उपविधाका रूपमा नामकरण गरी स्थापना गरिएकाले कविताको यस उपविधाले लघु संरचनामै चित्तलाई त्वरित् आकर्षित पार्ने तथा प्रभावकारी सन्देश दिने कार्य गर्छ भन्ने बुझिन्छ। 

परिभाषा

बाछिटा शब्द मूलतः प्रकृतिसित सम्बन्धित छ। त्यसैले बाछिटा विधामा पनि जीवनजगत् र भोगाइका अनन्त चेतना, चिन्तन र संवेगहरूलाई प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा प्रकृतीकरण गरेर चित्रण गरिन्छ। 

तीन, पाँच, तीन सग्ला अक्षरयुक्त सामञ्जस्यपूर्ण तीन पङ्क्तिमा संरचित प्रकृति वा अन्य विभिन्न बिम्बसहित लक्ष्यार्थ वा व्यङ्ग्यार्थ भएको शकलमा सकल भाव समेटिने कविताको लघुतम रूप बाछिटा हो।

बाछिटाका प्रवर्तक, सर्जक तथा अन्य समीक्षकहरूले पनि यसको स्वरूप र परिभाषाबारे आआफ्ना धारणा सार्वजनिक गरेका छन्।

बाछिटाबारे पहिलो परिभाषा अमर त्यागीले दिएका हुन्। यस्तै खगेन्द्र बस्याल, नारायण गैरे, चेतनाथ धमला, विष्णु भट्टराई ‘विभु’, शिव खनाल, नीरू गौतम, सुरेश काफ्ले, भारती न्यौपाने, सावित्रा पाण्डे, अम्बिका धिताल, केशब बैरागी माइलो आदिले पनि बाछिटाका परिभाषाहरू सार्वजनिक गरेका छन्। 

सबै व्यक्तिहरूका परिभाषाहरू हेर्दा बाछिटा लघुतम आयाममा रचिने सूत्रात्मक लेखन स्वरूपको कविताको उपविधाका रूपमा रहेको कुरा पुष्टि हुन्छ।

परिचय

बाछिटामा कथन, सूक्ति, भनाइ जस्तो सूत्रात्मकता हुन्छ। यसको संरचना क्रमशः तीन, पाँच, तीन सग्ला अक्षर भएका तीन पङ्क्ति गरी जम्मा एघार अक्षरको हुने भएकाले संरचना पक्ष केही जटिल जस्तो पनि लाग्छ तर यसमा ह्रस्व दीर्घको क्रम वा पिङ्गल शास्त्रले निर्देश गरेका गणको कुनै नियम रहँदैन। अक्षर मिलाउनका लागि अजन्तलाई हलन्त र हलन्तलाई अजन्त पार्न भने पाइँदैन। यसले मानक रूपको भाषिक शुद्धताको अपेक्षा गर्छ। 

तीन हरफका हरेक बाछिटामा तीन अक्षरको पहिलो हरफले विषयको उठान गरेपछि पाँच अक्षरको दोस्रो हरफले विषयको पुष्टि, व्याख्या, दृष्टान्त आदि प्रस्तुत गर्छ भने अन्तिमको तीन अक्षरको हरफले त्यस विषयको बैठान गरेर प्रभावकारी अर्थ छाड्न सफल हुन्छ।

पहिलो हरफ र अन्तिम हरफमा अनुप्रासीयता रहँदा यो बढी श्रुतिमधुर र लयात्मक लाग्छ तर अनुप्रासीयताको लालसामा सन्दर्भगत अर्थ नआउने शब्दको प्रयोगले बाछिटाको मर्म बिथोलिदिन सक्ने भएका कारण स्रष्टाले यस पक्षमा विशेष ख्याल गर्नुपर्छ।

यसमा सूक्तिमयता हुन सक्छ भने लोकोक्ति तथा उखान पनि बाछिटा बनेर आउन सक्छन्। यस्तै हावासहित परेको पानीकोे नाम बुझाउने शब्दको प्रयोग यस उपविधामा गरिएकाले स्वभावैले यसले प्रकृतिका विविध विषयलाई बिम्बका रूपमा ग्रहण गर्न सक्छ भन्ने पनि बुझ्नुपर्छ। 

बाछिटा हृदयबाट झ्वाट्ट निस्कने भावनाको एक मुल्कोको त्वरित् लेखन हो। यो अत्यन्त छोटो हुन्छ। तीन पङ्क्तिमा र ११ अक्षरमा मात्र सीमित हुने यसको आयाम पूर्वीय संस्कृत कविता सिद्धान्तमा अङ्कन भएका द्विपदी, त्रिपदी वा चतुष्पदी (मुक्तक) परम्पराको कविताका रूपमा देखिन्छ। 

नेपाली साहित्यमा परम्परादेखि प्रचलनमा रहेको मुक्तक, हिन्दी–उर्दूका सायरी वा सेर, यस्तै नेपालीमा विभिन्न लघुतम रूपका कविता,हाइकु जस्ता कविताका समकक्षी रचनाका रूपमा बाछिटा देखिन्छ। संरचना र आयामका दृष्टिले बाछिटा हाइकुसँग धेरै तुलनीय छ।

बाछिटामा तीन पङ्क्ति हुनुपर्छ तापनि अक्षर सङ्ख्याको सीमा भएका कारण अन्य कतिपय छोटा संरचनाका उपविधाका तुलनामा यो लेख्न जटिल पनि हुन सक्छ। अक्षर र पङ्क्ति सङ्ख्या मिलेर आए पनि सरल वा सामान्य व्याकरणिक पदावलीको जस्तो सोझो अर्थ बुझाउने बाछिटा उत्कृष्ट बन्न सक्दैन।

कुनै कुरा देखेर, सुनेर वा भोगेर मानिसका मनमा हुने उत्तेजनाको त्वरित् भाषिक प्रतिक्रियास्वरूप बाछिटा सिर्जना हुन सक्छ। अहिलेको प्रविधिको युगमा व्यस्त मान्छेका मनमा उठ्ने भावलाई छोटो र प्रभावकारी शैलीमा सीमित समयमा काव्यात्मक अभिव्यक्ति दिनुपर्दा बाछिटा महत्त्वपूर्ण माध्यम बन्न सक्छ।

साथै एक निमेषमै हेरेर पढ्न सकिने भएकाले पाठकको हृदयलाई आह्लादित बनाउन पनि यसले मद्दत गर्छ। पढ्नेबित्तिकै सामान्य पाठकमा पनि सिर्जनाको ऊर्जा भरिदिन सक्ने क्षमता बाछिटाले राख्छ। छोटोमा सरल तर प्रभावकारी हुनु बाछिटाको विशेषता हो। 

पदपूरणार्थ अनावश्यक रूपमा संयोजक, निपात जस्ता शब्दको जथाभावी प्रयोग गर्नु पनि औचित्य हुँदैन। तर, भावको गहनता, वाचन सरलता, श्रुतिमधुरता तथा निश्चित पदमा जोड दिन आउने यस्ता पद स्वीकार्य नै मानिन्छन्। थोरै शब्दले गहन भाव प्रकट गर्ने क्षमता बाछिटाले राख्छ। यसको भाव वा सन्देश पनि अत्यन्त प्रभावकारी हुन्छ। 

पृष्ठभूमि र प्रवर्तन

२०७७ साल जेठ २ (२०२० मे १५) मा लघुतम कविताका रूपमा ‘बाछिटा’ नामकरण गरी यस विधाको औपचारिक प्रारम्भ गरिएको हो। यस विधाको प्रवर्तन अमर त्यागी र खगेन्द्र बस्यालले गरेका हुन्। 

नेपाली कविताको लघुतम उपविधाका रूपमा बाछिटाको प्रवर्तन भएको त्यस मितिभन्दा पहिलेदेखि नै बाछिटाको संरचनाका लघुतम संरचना लेखिँदै र प्रकाशित हुँदै आएका थिए। यसभन्दा ६–७ महिनापहिले २०७६ कात्तिक १७ गते नीरू गौतमले ‘हाइकु हाइकु हाइकु’ नामक फेसबुक पेजमार्फत शीर्षक नराखिकनै ३–५–३ अक्षरसंरचनाका दुईवटा रचना सार्वजनिक गरेकी छन्।

सम्भवतः यिनै रचना नै बाछिटा स्वरूपका पहिलो सार्वजनिक रचना हुन्। यसपछि उनले ०७७ बैशाख १६ गतेदेखि ‘लघुहाइकु’ शीर्षकमा यस्ता रचना सार्वजनिक गरेकी छ।(गौतमले अरू कसैले लेखेको देखेर आपूmले त्यस किसिमका रचना गरेको भने पनि उक्त स्रोतको सन्दर्भको खोज गर्दा प्रमाण नभेटिएकाले प्रमाणसहित भेटिएका गौतमका रचना नै पहिलो सार्वजनिक रचना मानिएका छन्।) 

यस्तै खगेन्द्र बस्यालले पनि ०७६मङ्सिर ९ गते ‘लघुहाइकु’ शीर्षकमा र १० गते ‘३–५–३ को लघुहाइकु’ भनेरसामाजिक सञ्जालमार्फत नै यस विधाका रचना सार्वजनिक गरेका छन्।यसपछि उनले क्रमशः ‘मसिना टुक्रा’,‘हाइकु शैलीका टुक्रा’,‘फिलिङ्गा’ आदि नामले पनि यस्ता रचना सार्वजनिक गर्दै आएकाथिए भने ०७६ फागुन २५ गतेबाट ‘बाछिटा’ शीर्षकमा नै रचना प्रस्तुत गरेका छन्। 

बस्यालका अनुसार लघुहाइकु भनेर लेख्दा हाइकु विधालाई बिगारेको आरोप लाग्न सक्ने सुझाव आएका कारण यस संरचनाका सिर्जनालाई ‘बाछिटा’ नाम दिइएको हो। यस उपविधालाई बाछिटा नाम दिएर प्रकाशित गर्ने पहिलो सर्जक खगेन्द्र बस्याल नै देखिन्छन्।

यसै गरी लता पौडेलले पनि ०७६ मङ्सिर २० गतेदेखि विधाको नाम नराखी यसप्रकारका रचना सार्वजनिक गरेको देखिन्छ। गोविन्द खनालले २०७६ मङ्सिर २७ गते ‘लघुहाइकु’शीिर्षकमा पहिलोपटक सामाजिक सञ्जालमार्फत यस्ता संरचनाका सिर्जना सार्वजनिक गरेका देखिन्छन्।

यसपछि राष्ट्रिय बाछिटा प्रतिष्ठानका प्रमुख सल्लाहकार अमर त्यागीले ०७६ माघ ५ गते ‘सूत्रहाइकु’ नाम दिएर यस संरचनाका सिर्जना सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका छन्। यस्तैआर्त अकुलीन र श्याम मकाजुले ०७७ बैशाख २९ गतेदेखि ‘लघुहाइकु’ नाममा यस संरचनाका सिर्जना गरेका छन्। 

अकुलीनले चाहिँ यसै मितिमा नेपाली भाषा, थारु भाषा, हिन्दी भाषा र अछामी उपभाषिकामा समेत ‘लघुहाइकु’ शीर्षकमा यसप्रकारका रचना सार्वजनिक गरेका छन्। नेपालीइतर भाषामा यस स्वरूपका रचना सार्वजनिक गर्ने पहिलो सर्जकका रूपमा आर्त अकुलीन देखिन्छन्।

प्रतिष्ठानका प्रमुख सल्लाहकार त्यागी र अध्यक्ष खगेन्द्र बस्यालका अनुसार अन्य केही सर्जकले समेत ०७७ जेठ २ गतेभन्दा पहिले नै यस संरचनाका कविताको सिर्जना गरेका छन्। सिर्जना सार्वजनिक भएको मितिसहितको प्रमाण नभएका कारण यस लेखमा ती सर्जकको नाम प्रस्तुत गरिएको छैन। 

यही पृष्ठभूमिमा अमर त्यागी र खगेन्द्र बस्यालको सल्लाहअनुसार त्यागीको प्रस्ताव तथा बस्यालको सहमति र समर्थनमा नेपाली कविताको लघुतम स्वरूपमा रहेको ३–५–३ अक्षरका तीन हरफमा रचना गरिने यस उपविधाको नाम ‘बाछिटा’ राखिएको हो। यसको औपचारिक नामकरण वि.सं २०७७ जेठ २ गते (१५ मे २०२० सन्) गरिएको हो।

यसरी नेपाली साहित्यमा कविता विधाको लघुतम उपविधाका रूपमा बाछिटाको प्रवर्तन भएको हो भने यसका प्रवर्तक अमर त्यागी र खगेन्द्र बस्याल हुन्। यस उपविधाका कविता रचना गर्ने सक्रिय स्रष्टामध्ये अधिकांश हाइकु सर्जक छन्।

प्रवर्तनपछि त्यागी बाछिटाको विधागत अवधारणा तयार पार्ने क्रममा तथा बस्याल नयाँनयाँ बाछिटाको सिर्जना तथा प्रकाशन गर्ने क्रममा लागेका देखिन्छन्। त्यागीले विभिन्न मितिमा बाछिटासम्बन्धी आफ्ना अवधारणा सार्वजनिक गरेका छन्। 

यसका साथै बाछिटाको व्यापक प्रसार गर्ने तथा सङ्गठन तयार पार्ने काम पनि भएको देखिन्छ। यसपछि सयौँ लेखकले बाछिटा विधाका रचना लेखन र प्रकाशन गरेका छन्। यसको तथ्याङ्क अद्यावधिक गर्ने कार्य भइरहेको कुरा समितिले जनाएको छ। 

कतिपय लेखकले अङ्ग्रेजी, हिन्दी, नेपालभाषा आदिमा पनि बाछिटाको लेखन गरेका छन् भने केही समीक्षकहरूले बाछिटाको विधागत अवधारणाबारे तथा बाछिटाको विश्लेषण गरेर विभिन्न लेखहरू पनि प्रस्तुत गरेका छन्।

बाछिटाको विधागत मान्यता 

बाछिटाको विधागत परिचय दिने क्रममा विभिन्न व्यक्तिहरूले बुँदागत रूपमा आआप्mना धारणा सार्वजनिक गरेका छन्।
‘राष्ट्रिय बाछिटा प्रतिष्ठान, नेपाल’ का प्रमुख सल्लाहकार अमर त्यागीले आफ्ना धारणा यसरी प्रस्तुत गरेका छन् : 

१.  पहिलो पङ्क्तिका तीन अक्षरले विषयवस्तुलाई सूक्ष्म रूपमा उठान गर्ने, दोस्रो पङ्क्तिका पाँच अक्षरले विषयवस्तुलाई सहज रूपमा उत्कर्षमा पुर्‍याउने र तेस्रो पङ्क्तिका तीन अक्षरले विषयवस्तुलाई प्रभावकारी र अर्थपूर्ण रूपमा पुष्टि गर्ने। 

२. तीन पाँच तीन अक्षरको तीन पङ्क्तिबिच एक आपसमा सामञ्जस्य हुनुपर्ने। 

३. व्याकरणिक अक्षरसंरचना बिगार्न नपाइने।

४. अभिव्यक्ति प्रतीकात्मक हुनुपर्ने।

५.  प्रकृतिपरक बिम्ब वा झलक आउनैपर्ने। 

उनले बाछिटामा क्रियापदको प्रयोगमा न्यूनीकरण हुनुपर्ने धारणासमेत राखेका छन्। 

यस्तै ‘राष्ट्रिय बाछिटा प्रतिष्ठान, नेपाल’ का अध्यक्ष खगेन्द्र बस्यालको मान्यता यस्तो छ :

१.  बाछिटामा प्रयुक्त शब्दमा प्रकृति–बिम्ब आउनुपर्छ।

२.  बाछिटा थोरै शब्दले धेरै भाव देखाउन सक्ने गरी गागरमा सागर अटाउने कलाका रूपमा प्रस्तुत गर्नुपर्छ। 

३.  यसमा लक्ष्यार्थ वा व्यङ्ग्यार्थमा जोड दिनुपर्छ। 

४.  ३–५–३ अक्षरका क्रमशः तीन पङ्क्तिभित्र आपसी सम्बन्ध रहने हुँदा यसले शब्दहरूलाई अझै गतिशील बनाउँछ। 

५. भरसक निपात र संयोजक शब्द प्रयोग नगरिकनै शब्दलाई चामत्कारिक बनाउन सक्ने मौलिक अभिव्यक्तिका रूपमा यसलाई प्रस्तुत गर्नुपर्छ।

६.  यसमा एकै झोक्कामा तथा अत्यन्तै थोरै समयमा सम्पूर्ण जीवन देखाउने काव्यको सशक्त लघुतम अभिव्यक्ति हुनुपर्छ।

७.  यो साङ्केतिक प्रभावकारी झट्काका रूपमा आउनुपर्छ।

८. समग्रमा बाछिटा जनजीवनको प्रिय लोलीतर्फ उन्मुख अत्यन्तै तीव्रता एवम् तीक्ष्णताका साथ मार्मिक रूपमा आउने साहित्यको प्रभावकारी बोली हो।

अर्का बाछिटा समीक्षक भरत सिग्देलको धारणा यस्तो छ :

१.  बाछिटा तीन, पाँच, तीन अक्षरसंरचनामा रचना गरिने तीन पङ्क्तिको काव्यविधा हो।

२.  यसमा शब्दको व्याकरणिक नियम वा हिज्जे बिगार्न पाइँदैन। 

३.  सकभर निपात र संयोजक शब्दको प्रयोग गर्नु हुँदैन।

४.  बाछिटाका तीनै पङ्क्तिबिच सामञ्जस्य हुनुपर्छ। 

५.  अभिव्यक्ति प्रतीकात्मक हुनुपर्छ। 

६.  प्रकृतिपरक बिम्ब वा झलक आउनुपर्छ।

७. भावनाको तीव्रता एवम् अनुभूतिको तीक्ष्णता प्रतीकात्मक र मार्मिक रूपमा आएमा प्रकृतिको बिम्ब वा झलक नआए पनि बाछिटा बन्छ।

८.  जीवनलाई प्रकृतीकरण वा प्रकृतिलाई मानवीकरण गर्दा बाछिटा प्रकृतिपरक र प्रतीकात्मक बन्छ।

ती समग्र धारणालाई एकीकृत गरेर हेरेपछि बाछिटालाई बुझ्नका लागि निम्नलिखित मान्यता बनाउन सकिन्छ : 

१. बाछिटा कविताको लघुतम उपविधा हो ।

२. यो क्रमशः तीन, पाँच, तीन अक्षरका तीन पङ्क्तिको संरचनामा सिर्जना गरिन्छ। 

३. यसका तीन पङ्क्तिमा अर्थगत सामञ्जस्य रहनुपर्छ।

४. यसले शकलमा सकल भाव समेट्न सक्छ। 

५. यसले अभिधाभन्दा लक्षणा र व्यञ्जनागत अर्थ सम्प्रेषण गर्छ।

६. यो प्राकृतिक वा अन्य बिम्बले युक्त हुन्छ।

७. यसले प्रतीकात्मक अर्थ प्रदान गर्छ।

यसरी नेपाली साहित्यमा कविता विधाको अत्यन्त नवीन र आयामगत दृष्टिले सूक्ष्म उपविधाका रूपमा बाछिटाको प्रारम्भ भएको कुरा उल्लिखित मान्यताबाट स्पष्ट हुन्छ।

६ महिनामै लोकप्रिय

बाछिटा उपविधा प्रवर्तन भएको  ६ महिना अवधिमै लोकप्रिय हुन थालेको छ। बाछिटालाई सङ्गठनात्मक रूपमा अगि बढाउने उद्देश्यले २०७७ साउन १९ गते ‘राष्ट्रिय बाछिटा प्रतिष्ठान, नेपाल’ नामक संस्थाको स्थापना गरी खगेन्द्र बस्यालको अध्यक्षतामा एक कार्यकारिणी समिति चयन गरिएको छ। यस समितिको चयनपछि अभियानकै रूपमा बाछिटा लेखन, वाचन जस्ता क्रियाकलाप भएका छन्। 

कतिपय समीक्षकले बाछिटा समीक्षा लेखन गर्ने क्रम चलेको छ भने समितिका महासचिव विष्णु भट्टराईको सक्रियतामा हरेक शनिबार ‘चित्रमा बाछिटा प्रतियोगिता’ तथा समिति सदस्य केशव न्यौपानेको कलासंयोजनमा ‘दृश्यमा बाछिटा’ पनि प्रस्तुत हुने गरेको  छ। यस्तै प्रत्यक्ष (लाइभ) बाछिटा वाचन कार्यक्रम पनि सञ्चालन भइरहेको देखिन्छ।

फेसबुकमा ‘बाछिटा चौतारी’ नामक पेजको निर्माण गरी त्यहाँ एक हजार पाँच सय सदस्यले बाछिटा प्रस्तुत गर्ने गरेको देखिन्छ। यस्तै ‘बाछिटा अभ्यास चौतारी’ नामको मेसेन्जर समूह निर्माण गरी त्यसमा पनि बाछिटा लेखन र प्रस्तुति गर्ने गरिएको छ।

बाछिटा प्रतिष्ठानको गठनपछि बाछिटा विधा आरम्भ भएको १११ औँ दिनको अवसर पारेर अनलाइन रूपमा बाछिटा वाचनको बृहत् कार्यक्रम पनि समितिले सम्पन्न गरेको छ। पछिल्लो समयमा कतिपय बाछिटा सर्जकले साहित्यका नवरसको प्रयोग गरेर विभिन्न रसभावका बाछिटाको सिर्जना पनि गरिरहेका छन्।

प्रतिष्ठानका अध्यक्ष बस्याल बाछिटाका माध्यमबाट देश र समाजसुधारको कार्यक्रम अगाडि बढाउन खोजिएको बताउँछन्। उनका अनुसार आगामी दिनमा शिक्षा, स्वाथ्य, समाज, संस्कृति, राजनीति, देशका राष्ट्रिय योजना आदि विषय प्रस्तुत गरेर बाछिटालाई सन्देशमूलक बनाउन सकिने तथा जनचेतना जगाउने एवम् राज्यको सकारात्मक कार्यमा साहित्यका माध्यमबाट सहयोगी बन्न सकिनेछ। 

यसरी यस विधाको सिर्जना र समीक्षामा कलम चलाउने तथा अन्य विविध रूपबाट यस विधाकेन्द्रित कार्यक्रममा धेरै स्रष्टाहरूको सक्रिय संलग्नता रहेको देखिएकाले बाछिटा विधाको विकास हुने र नेपाली साहित्यमा कविताको सशक्त लघुतम उपविधाका रूपमा स्थापित हुनेमा आशावादी हुन सकिन्छ। 

उपसंहार

बाछिटा लेखन नेपाली कविता परम्परामा देखिएको प्रयोगशील लेखनकला हो। यो नेपाली साहित्यमा कविताको लघुतम उपविधाका रूपमा स्थापना भई विकसित हुने क्रममा छ। यो सानो संरचनाको कविता भएकाले लेखन र पठन समयका दृष्टिले पनि पनि सूक्ष्म हुन्छ।

मानसिकतामा एक झल्को प्रवाह भयो भने त्यस झङ्कारले बाछिटाको त्वरित् लेखन हुन सक्छ र एक दृष्टिमै पठन पनि हुन सक्छ। तर, यसको प्रभाव दीर्घकालीन रहन सक्छ। 

कुनै पनि साहित्यिक विधालाई नियमन गर्न त्यसमा केही विधागत मान्यता निर्माण गरिएका हुन्छन्। बाछिटाका पनि केही विधागत मान्यता स्थापित गरिएको कुरा माथि नै आइसकेको छ। तर, कठोर नियममा बाँधिएर साहित्यको सिर्जना हुन सक्दैन। साहित्य त स्वतन्त्रताबाट प्रस्फुटन हुन्छ। 

पूर्वीय तथा पश्चिमी साहित्यको इतिहास हेर्ने हो भने पहिले साहित्यिक ग्रन्थ देखा परेपछि साहित्य सिद्धान्त बनेका देखिन्छन्। पूर्वमा ‘रामायण’ र ‘महाभारत’ अनि विभिन्न ग्रन्थहरूको रचना भएपछि मात्र काव्यसिद्धान्त स्थापित भएको हो भने पश्चिममा प्राचीन कालदेखि नै विभिन्न नाटककारले नाट्यकृतिको रचना गरे, होमरका ‘इलियड’ र ‘ओडिसी’ नामक कालजयी महाकाव्यहरू आए। त्यसपछि मात्र नाटक र महाकाव्यसम्बन्धी काव्यशास्त्रीय सिद्धान्तका कृति देखा परेका हुन्। त्यसैले साहित्यिक रचनाको प्रवृत्ति हेरेर सिद्धान्त निर्माण गरिनुपर्छ। 

बाछिटालाई पनि कठिन सीमामा बाँध्नुभन्दा आधारभूत मान्यता स्थापित गरेर सर्जकहरूलाई केही स्वतन्त्रता छाडिदिने हो भने प्रकृतिभन्दा बाहिरबाट समेत विभिन्न बिम्ब, प्रतीक, दृष्टान्त, सूक्ति, लोकोक्ति आदि कुराहरू बाछिटाका रूपमा आउन सक्छन्। यसबाट बाछिटा लेखनमा विविधता आई यसले थप जीवन्तता र सशक्तता प्राप्त गर्न सक्छ।

समयका क्रममा उठेर बिचमै फुट्ने पानीको फोका जस्तो बाछिटा नबनोस्, एक लहडबाजीमा आरम्भ गरिएको र कुनै टुङ्गोमा नपुगी बिचमै हराएर गएका विभिन्न साहित्यिक अभियान जस्तो बाछिटा नबनोस् भन्नका लागि यसका प्रवर्तक र सहयात्रीहरूले सचेततासाथ सम्पूर्ण सर्जक र समीक्षकहरूलाई साथमा लिएर बाछिटा प्रवर्धनको विकासका क्रियाकलाप अगि बढाउनु समुचित हुन्छ।  

एक बिस बाछिटाकारका दुई बिस बाछिटा

१. अमर त्यागी

क.  सहेली                 ख. धरामा
       मैत्रीको बाली            सुनको झुप्पा
       बयेली।                    गरामा। 

२. अम्बिका धिताल

क.  शिरको                ख.  झल्कन्छ
      सगरमाथा                   गाग्रीमा आधा
      वीरको।                      छल्कन्छ। 

३. आर्त अकुलीन

क.  छहरा                   ख.  मङ्सिर
      नेपाली छाती                 पुसको कम्प
      पहरा।                         शिशिर।  

४. इन्दिरा प्रसाई 

क. श्रापित                     ख.  शिखर
     धरा चित्कार                    यात्राविहीन
      बधिर।                          अनर्थ।  

५. केशब बैरागी माइलो  

क. खोला हो                      ख. लोहोरो 
     बगिरहने                           फर्किनुपर्छ 
     चोला हो।                          दोहोरो।  
  
६. केशव न्यौपाने

 क. प्रदीप्त                       ख. खेतमा 
     आनन्दी मन                      बग्दछ सधैँ 
     उद्दीप्त।                           पसिना।

७. खगेन्द्र बस्याल    

क.  मैलिन्न                    ख.   पसिना 
      निःस्वार्थी पुष्प                 पातीको मुन्टो 
      वैलिन्न।                          दक्षिणा।  

८. चेतनाथ धमला    

 क.  खोलाको                 ख.  चिउला 
       गतिशीलता                    नवसौन्दर्य 
       चोलाको।                      जीवन।  

९. दीक्षा सापकोटा

 क. सिउँडी                  ख.  उमङ्ग 
      काँढाबिचको                 शिशिरसँगै 
      जिन्दगी।                      वसन्त। 

१०. नारायण खनाल

क.  बिहान                    ख. सुनामी 
     अँध्यारो रात                   प्रमत्त वेग 
      चिहान।                       नोक्सानी। 

११. नारायण गैरे

क.  आदिम                   ख. भित्तो छ 
      नदीको बास                  मायाको बारी 
      जोखिम।                      रित्तो छ। 

१२.  निरु गौतम

क.   टारीमा                      ख. रातमा 
       पसिना फुल्छ                   जून ताराको 
       बारीमा।                          साथमा।  

१३. भरत सिग्देल

क. निशाको                      ख. नाङ्गियो 
    गर्भमा भ्रूण                         न्यायको तुलो 
    उषाको।                            बाङ्गियो।  

१४. भारती न्यौपाने

क.   धरणी               ख.  साधना 
       मातृत्व दिने              कर्मयोगको
       जननी।                    भावना। 

१५. विष्णु भट्टराई विभु

क.   क्षितिज              ख.  तस्कर 
      देख्दछ चक्षु              जङ्गलभित्र 
      नजिक।                   लस्कर। 

१६. शिव खनाल    

क.  चट्टान                  ख. समता 
      हेर उनको                 हेर माटोको 
      अडान।                    ममता।  

१७. शेखरकुमार श्रेष्ठ   

 क. जवानी                ख.  लहरा 
      फूलको यौटा              मौकामा चढ्छ 
       कहानी।                   पहरा।  

१८. शेष पौडेल

क. पहिरो                      ख. परीको 
     प्रकृति : अन्धो,                सादृश्य ध्वनि 
     बहिरो।                          चरीको। 

१९. सावित्रा पाण्डेय   

क. किनार                     ख. पाखामा 
    भोग्छ नदीको                  गुराँस फुल्छ 
    प्रहार।                          आँखामा। 

२०.  सुरेश काफ्ले   

क. रातको                     ख.  समय 
    जूनै छ राम्रो                     घामको चाल 
    मनको।                          सङ्घर्ष।  

(यो आलेख तयार पार्ने क्रममा अमर त्यागी (साहित्यपोस्टडटकम), भरत सिग्देल (रातेपाटीडटकम), सुरेश काफ्ले (साहित्यपोस्टडटकम), बाछिटाका सहप्रवर्तक अमर त्यागी र खगेन्द्र बस्यालसँग गरिएका फोनवार्ता तथा फेसबुकबाट विभिन्न व्यक्तिका स्टाटस र बाछिटाको मेसेन्जर समूहमा प्रस्तुत सामग्रीको उपयोग गरिएकाले सम्बन्धित सबैप्रति आभार व्यक्त गर्दछु।) - sheshpaudel40@gmail.com


प्रकाशित: November 7, 2020 | 08:27:00 काठमाडौं, शनिबार, कार्तिक २२, २०७७

तपाईं को प्रतिक्रिया

तपाईं को प्रतिक्रिया

ट्रेंडिंग

प्रकाशमानले भने- फर्स्ट म्यान बनेर देशको विकास गर्ने चाहना छ

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले प्रधानमन्त्री बनेर नेपालको विकास गर्ने चाहना प्रकट गरेका छन्।

कथा, किंवदन्ती र रीतिरिवाजको संयोजन रातो मच्छिन्द्रनाथलाई आँखैअगाडि कोर्दा...

रातो मच्छिन्द्रनाथको रथ निर्माणलाई प्रत्यक्ष हेरेरै १९ वटा चित्र कोरेकी सुशीलाले १६ चित्र भने १६ दिन लगातार बनाएकी थिइन्। उडान सीमाभन्दा बाहिर शीर्षक दिएर उनका चित्रलाई गत १७ जुलाईबाट म्युजियम अफ नेपाली आर्टले प्रदर्शनीमा ल्याएको छ।

नुवाकोटको बेलकोटगढी केन्द्र बनाएर ५.३ म्याग्‍निच्युडको भूकम्प

शनिबार बिहान ५ बजेर २६ मिनेटमा नुवाकोटको बेलकोटगढी केन्द्र बनाएर भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ। भूकम्पको धक्का काठमाडौं र आसपासका क्षेत्रमा समेत महसुस गरिएको थियो।

काठमाडौं उपत्यकामा भूकम्पको धक्का महसुस

काठमाडौं उपत्यकामा भूकम्पको धक्का महसुस भएको छ।

जनकपुरका पूर्वमेयर र पूर्वउपमेयरबाट ७ लाख क्षतिपूर्ति भराउन अदालतको आदेश

जनकपुरधाम उपमहानगरपालिकाका निवर्तमान मेयर लालकिशोर साह र उपप्रमुख रीताकुमारी मिश्रलाई स्थानीय एक व्यक्तिको घर भत्काएको विषयमा ७ लाख रुपैयाँ क्षतिपूर्ति उपलब्ध गराउन उच्च अदालत जनकपुरले आदेश गरेको छ।

४५ दिनमा सकिएको थियो पहिलो प्रतिनिधिसभा निर्वाचन, नेकपाले ल्याएको थियो ४ सिट

विसं २०१५ फागुन ७ गते प्रारम्भ भई विभिन्न चरणमा सम्पन्न भएको प्रतिनिधिसभाको आम निर्वाचन चैत २८ गतेसम्म ४५ दिनमा पूरा भएको थियो।

प्राध्यापक लोकराज बराल भन्छन्ः दोस्रो पुस्ताले शेरबहादुर, केपी ओली र प्रचण्डलाई रिप्लेस गर्नुपर्छ [अन्तर्वार्ता]

अहिलेको राजनीति दोस्रो पुस्ताका नेताहरूले सुधार्न अबको निर्वाचन (पार्टीको आन्तरिक र आमनिर्वाचन) मा एकदमै शक्तिशाली भएर आउनुपर्छ।

कोरोना उपचारका लागि टेकु पुगेका बिरामीलाई फिर्ता पठाउँदै अस्पताल

अस्पतालमा आएका बिरामीलाई फिर्ता नपठाइ उपचार गर्‍यो। देशभरका अस्तपालहरुले अक्सिजनको अभावका कारण बिरामीलाई अन्य अस्पतालमा रेफर गरिरहँदा टेकु अस्पतालले भने अस्पतालको प्रांगणमा राखेरै पनि उपचार गर्‍यो। नेपालमा कोरोनाको पहिलो र दोस्रो संक्रमितको टेकु अस्पतालमा नै उपचार भएको थियो।

परिवार वधको डरलाग्दो शृंखला: किन बढ्दैछ आफ्नैबाट असुरक्षा?

सम्बन्धका कारण पति–पत्नीको हत्या वा आत्महत्या मात्र नभएर पछिल्लो समय बढ्दै गएको परिवार वधकै कारक मनोसामाजिक समस्या भएको मनोविद् गोपाल ढकाल बताउँछन्।

ताइवानमा किन नजर लगाउँछन् चीन-अमेरिका?

रणनीतिक र व्यापारिक महत्त्वका कारण दुवै देश ताइवानलाई आफ्नो नियन्त्रणमा ल्याउन प्रयासरत छन्।

थप समाचार

नेपाल समय
कला/साहित्य

‘बूढो समय’ लिएर आए बाबुराम

शनिबार राजधानीमा आयोजित कार्यक्रममा कृतिकार बाबुराम श्रेष्ठ ‘यात्री’, गीतकार डा. कृष्णहरि बराल, ज्ञानु अधिकारी, महेश पौड्याल र सुरेश किरणले संयुक्त रुपमा पुस्तकको लोकापर्ण गरेका हुन्।
नेपाल समय
संगीत

परम्परा, संवेग र मनोरञ्जनको त्रिकोणात्मक कथामा सोनाको तीज गीत

सोना अमात्य युट्युव च्यानलबाट सार्वजनिक गरिएको भिडियोमार्फत व्यवहारमा बाँधिएर स्वच्छन्दताको थोरै मात्र अनुभूति गर्न पाएका महिलाहरुलाई खुलेर नाच्न आग्रह गरिएको छ।
नेपाल समय
रचना

कथा, किंवदन्ती र रीतिरिवाजको संयोजन रातो मच्छिन्द्रनाथलाई आँखैअगाडि कोर्दा...

रातो मच्छिन्द्रनाथको रथ निर्माणलाई प्रत्यक्ष हेरेरै १९ वटा चित्र कोरेकी सुशीलाले १६ चित्र भने १६ दिन लगातार बनाएकी थिइन्। उडान सीमाभन्दा बाहिर शीर्षक दिएर उनका चित्रलाई गत १७ जुलाईबाट म्युजियम अफ नेपाली आर्टले प्रदर्शनीमा ल्याएको छ।
नेपाल समय
फिल्म

गुरुदत्त-वहिदा भेट र बहुचर्चित फिल्म 'प्यासा'का ती परिघटनाहरु

गुरुदत्तले सधैं आफूलाई अभिनेताको रूपमा कमै बताउने गरेका छन्। आफ्नै फिल्ममा उनी सधैं दोस्रो वा तेस्रो रोजाइमा हुन्थे।
नेपाल समय
कला/साहित्य

मेलिना राईको इन्गेजमेन्ट तोडियो

गायिका मेलिना राईले प्रेमी सञ्जीव बराइलीबीचको इंगेजमेन्ट तोडिएको छ।

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

House -138, Suruchi Marg, New Baneshwor, Kathmandu, Nepal
फोन : +977-1-4790242 / +977-1-4790040
इमेल : nepalsamayanews@gmail.com
  • प्रबन्ध निर्देशक
    तरुणप्रताप शाह
  • प्रधान सम्पादक
    नारायण अमृत
  • महाप्रबन्धक
    जीवन तिम्सिना