काठमाडौं– कवि असीम सागरको कविता कृति ‘क’ सार्वजनिक भएको छ।
कोरोना भाइरस महामारीका कारण औपचारिक कार्यक्रमबिनै पुस्तक आइतबार बजारमा ल्याइएको हो।
असीम सागर साधारण नेपाली जनताका कवि रहेको पत्रकार एवम् कवि रूपेश श्रेष्ठले बताए। असीमका कविताले सडकका नागरिकको कथा भन्ने उनको भनाइ छ।
‘देखेर र भोगेर कविता लेख्नुमा ठूलो अन्तर हुन्छ। असीम सागरको कविता संग्रह ‘क’ मा भोगेर लेखेका कविता छन्,’ उनले भने, ‘सरल भाषामा यति ओजपूर्ण कविता लेख्न सकिन्छ, भन्ने असीमले प्रमाणित गरेका छन्।’
प्रकाशक फाइनप्रिन्टका सहसंस्थापक नीरज भारीले सरल किसिमका कविता लेख्ने सागरको यो कृतिमा सामान्य नागरिकका दुःख, पीडा अनि समाजमा व्याप्त बेथिति, विसंगतिलाई घतलाग्दो किसिमले प्रस्तुत गरिएको बताए। उनले भने, ‘यति ओजपूर्ण कृति प्रकाशन गर्न पाउनु हाम्रो लागि खुसीको विषय हो।’
जीवनमा आइपरेका घटना र विभिन्न अनुभवबाट निःसृत भावलाई नै कविताका रुपमा प्रस्तुत गरेको लेखक सागरले बताए।
‘जीवन बाँच्दै जाँदा कैयौं पटक चोइटिएको छु। भाँच्चिएको छु। दुखेको छु,’ उनले भने, ‘तिनै दुखाइ र असन्तुष्टि नै मेरा कविताका अंश हुन्। जसलाई मैंले आफ्नै आँसुको मसीले लेखेको छु।’
यसरी आफू जस्तै दुखेका हजारौं मानिसका साझा सन्तुष्टि र दुखाई नै यो कविताकृति ‘क’ रहेको उनले बताए। ‘यही ‘क’माथि सत्ताको आँखा र ध्यान जाओस्, बस्, मलाई यत्ति भए पुग्छ,’ उनले भने।
आम मानिसको भोगाइ एवम् जीवनबारे कविता लेख्न रूचाउने कवि असीम सागर नेपाली कविताको क्षेत्रमा परिचित नाउँ हो।
जून पोखिएको रात र अस्तित्वका आवाजहरु (गजल सङ्ग्रह) प्रकाशन गरिसकेका उनले खडानन्द मनमाया स्मृति पुरस्कार, जोगमाया चापागाईं गजल पुरस्कार, भावतरङ्ग साहित्य सम्मान (सिक्किम), बसिबियाँलो साहित्य सम्मान (कालेबुङ) जस्ता पुरस्कार एवम् सम्मान पाएका छन्। उनी राष्ट्रिय कविता प्रतियोगिताका विजेतासमेत हुन् ।