नयाँ दिल्ली- नागाल्याण्डको मोन जिल्लामा शनिबार राति गरिएको सैन्य अप्रेसनका क्रममा सर्वसाधारणको मृत्यु भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन्। उक्त अप्रेसनमा कति सर्वसाधारण मारिए भन्ने आधिकारिक विवरण भने आइसकेको छैन।
भारतीय समाचार एजेन्सी पीटीआईका अनुसार कम्तिमा पनि ११ जनाको मृत्यु भएको छ। नगा पिपुल्स फ्रन्टका नेता तथा राज्यका पूर्व मुख्यमन्त्री टीआर जेलियाङले कम्तिमा पनि १३ जनाको मृत्यु भएको बताएका छन्।
उक्त अप्रेसनमा भएको मानवीय क्षतिप्रति डिफेन्स विङले खेद प्रकट गरेको छ। डिफेन्स विङ कोहिमाले एक प्रेस विज्ञप्ति जारी गर्दै भनेको छ, 'उग्रवादीको सम्भावित गतिविधि भइरहेको विश्वस्त खुफिया सूचना प्राप्त भएको थियो। सोही सूचना आधारमा मोन जिल्लाको तिरु इलामा एक सैन्य अप्रेसनको योजना बनाइएको हो। तर, जुन घटना भयो, त्यसप्रति गहिरो खेद छ। सर्वसाधारणको दुर्भाग्यपूर्ण मृत्यु भएको छ। उक्त घटनाको उच्चस्थरीय छानबिन भइरहेको छ। कानुनका अनुसार यस मामिलाको उचित कारबाही गरिने छ।'
नागल्याण्डका गृह आयुक्त अभिजित सिन्हाले शनिबार रात नै मोन जिल्लामा मोबाइल, इन्टरनेट, डाटा सर्भिस तथा बल्क एसएमएसमा प्रतिबन्ध लगाएको थियो।