सोमबार, असोज ४, २०७८
  • गृहपृष्ठ
  • विचार
  • प्रतिक्रियाबाट शक्तिशाली बनेका ओलीको प्रतिपक्षी यात्रा

विभाजन रेखा

प्रतिक्रियाबाट शक्तिशाली बनेका ओलीको प्रतिपक्षी यात्रा

मुमाराम खनाल  |  काठमाडौं, बिहीबार, भदौ २४, २०७८

मुमाराम खनाल

मुमाराम खनाल

बिहीबार, भदौ २४, २०७८, काठमाडौं

नेपाल समय

व्यक्ति होस् वा दल, नेपाली राजनीतिमा एकअर्काप्रति गरिने तीव्र प्रतिक्रियाको बलियो स्थान छ। आलोचनाका नाममा गरिने व्यक्तिगत टीकाटिप्पणी र गालीगलौज अधिकांश राजनीतिक दलको वैचारिक गजुर हो। किनकि त्यसलाई दलहरूले वैचारिकीको सबैभन्दा माथिल्लो धुरीमा सजाएका छन्। र, नागरिकले देख्ने उक्त ‘वैचारिक गजुर’ राजनीतिक वितृष्णाको मुख्य स्रोत पनि हो। 

राजनीतिक दलहरूको जन्म, विकास र संस्थागत चरित्र बन्ने ऐतिहासिक प्रक्रियामा रहेको त्रुटिको प्रतिविम्ब नै आजको राजनीतिले उत्पन्न गरेको प्रतिक्रिया हो। किनकि  दल र त्यसका अमुक नेताले हासिल गरेको भनिएको राजनीतिक उपलब्धि नै राजनीतिक प्रतिक्रियाको उपज हो। कुनै दल वा नेताले अर्को दल वा नेताप्रति प्रतिक्रिया जनाउँदै जाँदा राजनीतिक रूपमा प्राप्त भएको 'असाधारण उपलब्धि' मुलुकका लागि भने प्रत्युत्पादक ठहरिएको छ।  

एउटा दलले अर्को दलप्रति तथा एउटा नेताले अर्को नेताप्रति गर्ने आलोचना, प्रतिक्रिया र गालीगलौजका आधारमा निर्माण भएको दल वा नेता जति शक्तिशाली हुन्छन्, मुलुक र नागरिक त्यत्तिकै कमजोर बन्छन्। दलको संरचना निर्माण र नेतृत्व छनोटको आधार क्षमता, पारदर्शिता र लोकतान्त्रिक नहुँदा एक जना नेताको प्रतिक्रियामा राजनीतिक दल बाँच्नु वा मर्नुपर्ने स्थिति बन्छ। लोकतन्त्रमा दलीय परम्पराको यस्तो 'गरिबी' मुलुकको गरिबीको मूल कारण पनि हो। 

प्रसंग पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको हो। पचासको दशकमा नेकपा एमालेमा अत्यन्त कमजोर अवस्थामा रहेका केपी ओली सत्तरीको दशकसम्म आइपुग्दा एमालेका सबैभन्दा शक्तिशाली नेता कसरी बन्न पुगे भनेर सामान्य अवलोकन गर्ने हो भने उनको वैचारिक, राजनीतिक र सांगठनिक क्षमताभन्दा बढी अर्को दल वा नेतामाथि जनाएको तिखो प्रतिक्रिया निर्णायक बनेको देखिन्छ। चाहे त्यो आफ्नै दलभित्र होस् वा बाहिर।

प्रतिक्रियाको प्रतिफल

राज्यसत्ता, राजनीतिक दल वा जुनसुकै संस्थाको हकमा शीर्ष स्थानमा नपुग्दासम्म पात्रको प्रतिक्रिया मात्रले पनि त्यहाँ एउटा महत्त्वपूर्ण स्थान बनाउन सक्छ। तर प्रतिक्रियाले बनाएको स्थानबाट संस्थाको शीर्ष ठाउँमा पुग्दा पनि सोही प्रतिक्रियाका आधारमा संस्था चलाउन थालियो भने त्यसले उल्टो यात्रातिर फर्काउँछ। अर्को शब्दमा भन्ने हो भने शीर्ष ठाउँमा पुग्न आफैले प्रयोग गरेको प्रतिक्रियाको साधन उक्त ठाउँमा पुगेपछि प्रत्युत्पादक बन्छ। 

पार्टी महासचिव रहेका माधव नेपालसँग प्रतिक्रिया गर्दै जाँदा ओली एमालेका बलिया विपक्षी नेता भए। संगठन निर्माण गर्ने झन्झट उनले गर्नु परेन। थप प्रतिक्रिया गर्दै जाँदा एमालेको अध्यक्ष भए। उनले पार्टीमा प्रकट भएका संकटलाई चिन्न र समाधान गर्नु परेन।

दुइतिहाई बहुमतसहितको संघीय सत्ता, छ वटा प्रदेशसहित बलियो प्रादेशिक सरकार र मुलुकका अधिकांश स्थानीय तहलाई नियन्त्रण गरेको केपी ओलीको सत्ता कसरी तासको घरजस्तै गल्र्यामगुर्लुम ढल्यो? तीसको दशकदेखि मुलुककै दुई बलिया र समानान्तर कम्युनिस्ट पार्टीका रूपमा रहेका माले हुँदै निर्माण भएको एमाले र चौथो महाधिवेशन हुँदै निर्माण भएको माओवादी एकताबद्ध भएर कसरी नेपाल कम्युनिस्ट पार्टी बन्यो? र, उक्त बलियो कम्युनिस्ट पार्टीका अध्यक्ष बनेका केपी ओलीले कसरी उक्त पार्टीलाई तीनवटा समूहमा विभाजित गरे? यी प्रश्नको सर्वाधिक छोटो उत्तर खोज्ने हो भने सम्भावित उत्तर हुनेछ– केपी ओलीको प्रतिक्रिया। 

पार्टी महासचिव रहेका माधव नेपालसँग प्रतिक्रिया गर्दै जाँदा ओली एमालेका बलिया विपक्षी नेता भए। संगठन निर्माण गर्ने झन्झट उनले गर्नु परेन। थप प्रतिक्रिया गर्दै जाँदा एमालेको अध्यक्ष भए। उनले पार्टीमा प्रकट भएका संकटलाई चिन्न र समाधान गर्नु परेन। माधव नेपालका हरेक कमजोरीमाथि कटाक्ष गर्दागर्दै उनी आफैं कति बलियो भएँ भन्ने तथ्यसमेत थाहा पाएनन्। 

माओवादी र पुष्पकमल दाहालमाथिको ओलीको आलोचना र प्रतिक्रियाले पनि उस्तै काम गर्‍यो। पहिलो संविधानसभा निर्वाचनमा करिबकरिब विघटनजस्तै भएको पार्टी दोस्रो संविधानसभा निर्वाचनसम्म आउँदा झण्डै–झण्डै माओवादीलाई नै विघटित बनाइदियो। तर आफ्नै पार्टीसमेत सहभागी बनेको १२ बुँदे सहमति र शान्ति प्रक्रियाको संस्थागत स्वामित्व उनले लिनु परेन। त्यसको विरोध र प्रतिक्रियाले उनको पार्टी र उनको निजी व्यक्तित्व भने उँचो बन्दै गयो। 

मधेस आन्दोलनले खोजेको क्षेत्रीय पहिचान र त्यसको राष्ट्रिय आयामको बहसमा ओलीको तिखो प्रतिक्रिया रह्यो। नेपालको जातीय र क्षेत्रीय विविधतामाथि आलोचना र प्रतिक्रिया गर्दै जाँदा उनी राष्ट्रियता, धर्म र संस्कृतिका धरोहर बने। गणतन्त्र, संघीयता र धर्म निरपेक्षताप्रति नागरिकको सरोकार र प्रतिक्रिया बढ्दै जाँदा उनी झन् झन् राष्ट्रवादी बन्दै गए। तर समावेशी, समानुपातिक र सहभागितामूलक लोकतन्त्र र त्यसको संवैधानिक संवेदनशीलताबारे कुनै मतलब गरेनन्। अर्थात् आफैंले हतार गरेर जारी गर्न लगाएको संविधानमाथि प्रतिक्रिया गर्दा उनले वाहवाही पाए। र, खाँटी राष्ट्रवादी नेतामा दरिए। 

यसरी पार्टीको नेता र मुलुकको प्रधानमन्त्री बन्नका लागि केपी ओलीको प्रतिक्रियाले गजबको काम गर्‍यो। ओलीका लागि नेपालका राजनीतिक दल निर्माणको ऐतिहासिक परम्परा र आधार वरदान साबित भए। किनकि नेपालको दलीय विकासको परम्परा आफ्नो सामर्थ्य र क्षमताका आधारमा निर्माण भएको थिएन, बरु एकअर्काको सत्तोसराप, आलोचना र प्रतिक्रियाबाट निर्माण भएको थियो। उक्त विरासतलाई ओलीले गजबसँग प्रयोग गरे। र, पार्टी र मुलुकको शीर्ष स्थानमा पुगे। 

यो कुरा केपी ओलीको हकमा मात्र लागू हुने विषय भने होइन। यहाँ प्रसंगवस केपी ओली बलियो सत्ताधारी शक्तिबाट कसरी कमजोर विपक्षी कित्तामा सीमित भए भन्ने अभिप्राय रहेकाले मात्र उनको चर्चा गरिएको हो। एकाध अपवाद छाडेर नेपालका हरेक बाँकी नेताहरूका सन्दर्भमा पनि माथिको कुरा हुबहु लागू हुन्छ। 

प्रतिक्रियाको ‘ब्याकफायर’

नेपालको राजनीतिमा प्रतिक्रियाको परम्परा जतिसुकै बलियो भए तापनि त्यसले काम गर्ने भनेको प्रतिपक्षमा हुँदा मात्र हो। जब कुनै व्यक्ति सरकार, दल वा संस्थाको शीर्ष स्थानमा पुग्छ, तब प्रतिक्रियाले उल्टो भूमिका खेल्न थाल्छ। किनकि शीर्ष स्थानमा पुगेपछि नागरिकले उसले हिजो विपक्षीमाथि गरेका प्रतिक्रिया र आलोचनाको प्रतिफल खोज्न थाल्छ। दलको एजेन्डा, चुनावी प्रतिबद्धता र आचरणको प्रतिपालना खोज्छ। 

तर ओलीले प्रतिक्रियाबाट प्राप्त गरेको विरासत पनि प्रतिक्रियाबाट नै बाँच्छ भन्ने गलत निष्कर्ष निकाले। पार्टी र सरकारको मुख्य ठाउँमा पुगेपछि विरोधी र आलोचकप्रति उनको प्रतिक्रिया कम भएन, अझ बढेर गयो। आधार विनाका विकासका गफमाथि नागरिकको व्यंग्यलाई अझ तिखो प्रहारबाट जवाफ दिन थाले। दलभित्रका प्रतिपक्षीलाई उनले कुनै मानिसको व्यवहारसमेत गर्न छोडे। समकक्षी नेताहरूलाई जथाभाबी व्यक्तिगत टीकाटिप्पणी र गालीगलौज गर्ने उनको दैनिकी नै बन्यो।

यसो हुनु ओलीका लागि स्वाभाविक थियो। किनकि आलोचना र प्रतिक्रिया मात्र गरेर एक दिन पार्टी र मुलुकको यस्तो शक्तिशाली ठाउँमा पुगिनेछ भन्ने कुरामा ओली आफैंलाई पनि विश्वास थिएन। तर पुगे। उनका आसेपासेका लागि ओली नेता मात्र रहेका थिएनन्, ‘राजनेता’ भइसकेका थिए। ओलीबाट निजी फाइदा लिन बसेको त्यस्तो आसेपासे समूहको निरन्तर संगतले गर्दा उनी आफैं पनि ‘राजनेता’ भइसकेको भ्रममा थिए। 

राजनीतिक प्रतिक्रियाको लत लागेका ओलीले काम गर्ने ठाउँमा पुग्दा पनि प्रतिक्रिया गर्न छाडेनन्। उनको लोकप्रियता, विश्वास र छवि बिग्रिंदै गयो। विकास र समृद्धिको उनको गफ आफैंले पनि पत्याउन नसक्ने स्थानमा झर्यो। रेल, पानीजहाज र ग्यासको पाइप व्यावसायिक कमेडियनका लागि मात्र काम लाग्यो। प्रधानमन्त्री र पार्टी अध्यक्षका रूपमा ओलीले जतिजति मच्चिँदै आफ्ना विपक्षी र आलोचकमाथि प्रतिक्रियामार्फत खनिँदै गए, त्यतित्यति उनको बहिगर्मनको बाटो पनि छोटिँदै गयो। उनलाई सबैले थप गल्ती नगर्न सल्लाह दिए। तर ओलीले आफ्नै इतिहासको दास बनेर प्रतिक्रिया गर्न छाडेनन्। 

ओली त्यस्ता भाग्यशाली राजनीतिज्ञ हुन्– जसलाई उनका मित्रले मात्र होइन, परम शत्रुले समेत गल्ती गर्नबाट जोगिन सल्लाह दिएका थिए। नत्र राजनीतिमा आफ्नो विरोधी नेतालाई सकेसम्म बढी गल्ती गर्न दिइन्छ। र, त्यही गल्तीको तापमा राजनीतिको रोटी सेकिन्छ। तर ओलीले भने विरोधीलाई सजिलैसँग उनको हातबाट राजनीतिको बागडोर लिने राजमार्ग निर्माण गरिदिन लागिपरिरहेका थिए। 

नेपोलियन बोनापार्टले भनेका पनि छन्– जब आफ्नो शत्रुले कुनै गल्ती गरिरहेको छ भने उसलाई गल्ती गर्नबाट नरोक। तर ओलीलाई उनको पार्टी, प्रतिपक्ष, नागरिक जगत्, सञ्चार जगत्, प्रबुद्ध व्यक्तिजस्ता लोकतन्त्रका महत्त्वपूर्ण संस्था र तप्काले निकै प्रेम गरे। उनलाई थप गल्ती नगर्न सल्लाह दिए। रोकिन आग्रह गरे। तर उनी साधारण व्यक्ति थिएनन्, असाधारण केपी ओली थिए। प्रतिक्रियाबाट अझ बलियो बन्छु भन्ने उनको विश्वास डगमगाएन। किनकि उनको समग्र उत्थानको इतिहास नै प्रतिक्रियाको उपज थियो।  

यसरी ओलीका प्रतिक्रिया रोकिएन। बढ्दै गए। सोही अनुपातमा गल्ती पनि थपिँदै गए। र, इतिहासमा जुद्धशमशेरपछि सबैभन्दा काम गर्न अनुकूल राजनीतिक वातावरण बनेको टिप्पणीबाट उदाएको ओलीको बलियो सरकार आफ्नै पार्टीको चरम अविश्वासमा अत्यन्तै कमजोर बनेर अस्तायो। बलियो सत्ताबाट ओर्लिएर कमजोर प्रतिपक्षको भूमिकामा साँघुरियो। 

असाध्यै ठूलो राजनीतिक नोक्सानी व्यहोरेपछि केही डराएका ओलीले प्रतिपक्षको भूमिकामा आक्रामक बन्ने सम्भावना पनि कम छ। तैपनि ओलीको प्रतिक्रियात्मक क्षमताले उनी प्रतिपक्षमा हुँदा सदनमा प्रतिपक्षको भूमिका आमनागरिकले अनुभुति गर्न सक्ने स्तरको हुनेछ भनेर अपेक्षा गर्न सकिन्छ। 

अब प्रश्न उठ्छ, सरकार, सदन र पार्टीलाई सही ढंगको नेतृत्व दिन नसकेर असफल भएका ओलीले प्रमुख प्रतिपक्ष दल र नेताका रूपमा सफल भूमिका निर्वाह गर्लान्? यसप्रति भने केही सकारात्मक आशा राख्न सकिन्छ। किनकि ओलीको तिखो प्रतिक्रिया र आलोचना संस्थापन शक्तिको भूमिकामा नकारात्मक हुने भए तापनि त्यसको उपयोग प्रतिपक्षमा सकारात्मक हुन सक्छ।

तर द्विविधा कहाँनेर छ भने दुई दुईपटक आफैंले भंग गरेको संसदमा उनको प्रतिक्रियाले पुरानै ओज पाउन सक्ने सम्भावना क्षीण छ। सत्ताको शीर्ष स्थानमा हुँदा व्यक्त भएका प्रतिक्रियाले उनको सशक्त व्यंग्यात्मक प्रतिक्रियामा स्खलन आएको छ। सत्ताधारी दलले अगाडि सारेका नीति तथा कार्यक्रमप्रति ओलीको आलोचनाले अधिक राजनीतिक घनत्व पाउने छैन। त्यसो त असाध्यै ठूलो राजनीतिक नोक्सानी व्यहोरेपछि केही डराएका ओलीले प्रतिपक्षको भूमिकामा आक्रामक बन्ने सम्भावना पनि कम छ। तैपनि ओलीको प्रतिक्रियात्मक क्षमताले उनी प्रतिपक्षमा हुँदा सदनमा प्रतिपक्षको भूमिका आमनागरिकले अनुभुति गर्न सक्ने स्तरको हुनेछ भनेर अपेक्षा गर्न सकिन्छ। 

‘कुनै मुलुकका नागरिक स्वतन्त्र छन् या छैनन् भन्ने थाहा पाउन यति मात्र जान्दा पुग्छ– त्यहाँ विपक्षी छन् कि छैनन्। र, छन् भने कस्तो अवस्थामा छन्।’ यो भनाइ विख्यात पुस्तक ‘ब्रिटिस संविधान’ का लेखक सर आइवर जैनिंग्सको हो। आफ्नै गल्तीले सत्ताबाट प्रतिपक्षमा ओर्लिनुपरे पनि संसदमा विपक्षको अझ रचनात्मक भूमिका हुन्छ। सत्तामा असफल भएको पाठ सिकेर केपी ओली र नेकपा एमाले विपक्षी भूमिकामा भने सफल होऊन्। 


प्रकाशित: September 9, 2021 | 07:25:00 काठमाडौं, बिहीबार, भदौ २४, २०७८
मुमाराम खनाल

मुमाराम खनाल

काठमाडौं, बिहीबार, भदौ २४, २०७८

थप समाचार

अस्तव्यस्त नेवानि, आन्दोलित कर्मचारी र एअरपोर्ट प्लटिङको जोखिम

महाप्रबन्धक कार्यालयमा उपस्थित नै नहुने या हुनसक्ने परिस्थिति निर्माण हुन नसक्ने र आन्दोलनले निकास नपाउने वस्था रहेमा नेवानिको हालत झन् बिग्रनेमा कुनै शंका छैन। लोकतान्त्रिक भनिएको देउवा नेतृत्वको सरकारले पनि आजसम्म यसमा कुनै ठोस निर्णय गर्न सकेको देखिँदैन।

राज्यले ढाँट्‍ने, नागरिक चुक्‍ने र नयाँ पुस्ताले सरापिरहने कहिलेसम्म?

शेरबहादुर देउवा र डा. रामशरण महतजस्ता अमेरिकी नीतिपरस्त नेताहरू संयुक्त राष्ट्रसङ्घको दिगो विकास लक्ष्यको एक पाटोका रूपमा एमसीसीलाई अर्थ्याउँदै दुनियाँलाई भ्रम छरिरहेका छन्।

ओलीपछि देउवाको मनोरञ्जन

नयाँ संविधानअन्तर्गत भएको चुनावले दिएको पहिलो सरकारले एक संसदीय अवधिभर काम गरिदिएको भए त्यसको अर्थै अलग्गै हुन्थ्यो र त्यो सकारात्मक हुन्थ्यो। तर ओली दोस्रो पटक प्रधानमन्त्री बनेदेखि नै आफ्नै पक्षमा बारम्बार सकारात्मक कम नकारात्मक प्रभाव विस्तार गर्न सक्षम रहे।

गति शून्य भो, गियर चेन्ज गरौं प्रधानमन्त्रीज्यू!

कामको प्राथमिकता तोकेर एकदुई गर्दै टुंग्याउँदै जाने हो भने यो सरकारलाई आफू स्वयंको र नेपाली कांग्रेस पार्टीको उज्यालो छवि निर्माण गर्ने अवसर थियो तर त्यस्तो हुन सकेको देखिँदैन। सरकारको प्राथमिकता भने आफ्नै आयु लम्ब्याउन मात्रै केन्द्रित हुन थालेको त होइन भन्ने जस्तो देखिन थालेको छ।

सूचना-प्रविधिमा यसरी चुक्यो लेखा परीक्षण

राष्ट्रिय सूचना प्रविधि केन्द्रका कामकारबाहीका सम्बन्धमा प्रतिवेदनमा उल्लेख गरिएको विषयवस्तुले केन्द्रलाई मार्गदर्शन गर्न सकेको छैन। महालेखाले तथ्यपरक मूल्यांकन नगरिदिएका कारण सरकारी इमेल सेवा सम्बन्धमा सामाजिक सञ्जालमा नकारात्मक अफवाह फैलिइरहेको छ।

ट्रेंडिंग

नेपाल समय
राजनीति

भीम रावलले लिएको त्यो यु–टर्न, जसले उनलाई यता न उताको बनायो

पार्टीभित्र अन्तरसंघर्ष चर्काएर पार्टी फुटाउन उद्यत उनै रावल ओलीको दौराको फेर समाएर एमालेमै बसेका छन्। माधवकुमार नेपाललगायतले नयाँ पार्टी खोल्दा रावल पछि हटे।
नेपाल समय
श्रृंखला

कंगोमा कुटाइ खाएका नमराजको बयानः सेनाका क्याप्टेनहरूले मलाई फुटबल बनाएर हाने

फेरि पनि मलाई हान्न आउँदा मैले हात खडा गरी 'सर! मेरो गल्ती भए सजाय दिनुस्, यसरी नकुट्नुस्' भन्दा पनि 'तँ बढी बोलिस्' भनेर मलाई सहसेनानी (क्याप्टेन) इन्द्रबहादुर थापा र सहसेनानी सुबास हुमागाई (क्याप्टेन)ले फुटबल खेलेजस्तो गरी हान्नुभयो।
नेपाल समय
शिक्षा

तलबभत्ता निकासा नभएपछि देशभरका ईसीडी शिक्षक र विद्यालयका कर्मचारी आन्दोलित

स्थानीय तहले सरकारले तोकेबमोजिम ईसीडी शिक्षक (बाल विकास सहजकर्ता) र विद्यालय कर्मचारीको वृद्धि भएको तलब निकासा नगरेको भन्दै आन्दोलनमा उत्रिएका छन्।
नेपाल समय
संवाद

राष्ट्र बैंकको पैसा वाणिज्य बैंकमा सार्नेबित्तिकै तरलताको समस्या हट्छ : भुवनकुमार दाहाल [अन्तर्वार्ता]

बैंकहरुको आइडल फन्ड राष्ट्र बैंकमा छैन। उनीहरुले विभिन्न ऋणपत्रमा लगानी गरिरहेका छन्। आफूसँग आइडल रकम नभएपछि बैंकहरुले ऋणपत्र धितो राखेर ५ प्रतिशतमा राष्ट्र बैंकबाट ऋण लिनुपर्‍यो। बैंकहरुमा अहिले तरलताको अभाव नभएर आइडल फन्डको दबाब मात्र हो।
नेपाल समय
श्रृंखला

अनियमितताबारे हुनुपर्ने सेनाको अनुसन्धान किन मोडियो सूचनाको स्रोततिर?

जसको जागिर गुम्यो, उनीहरुलाई ‘कोर्ट अफ इन्क्वायरी’को टोलीले बयान नलिनुले नै छानबिन कतिसम्म फितलो र पूर्वाग्रही थियो भन्ने प्रष्ट देखाउँछ।

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

House -138, Suruchi Marg, New Baneshwor, Kathmandu, Nepal
फोन : +977-1-4790242 / +977-1-4790040
इमेल : info@nepalsamaya.com nepalsamayanews@gmail.com
  • प्रबन्ध निर्देशक
    तरुणप्रताप शाह
  • सम्पादकीय निर्देशक
    मुमाराम खनाल
  • प्रधान सम्पादक
    नारायण अमृत
Copyright © 2021. Design & Development by Cn’C