सोमबार, असोज ४, २०७८
  • गृहपृष्ठ
  • संवाद
  • कसैले साथ नदिए पनि महामन्त्रीमा लड्छु, जितेँ भने कांग्रेस सुधार्छु : गगन थापा [अन्तर्वार्ता]

कसैले साथ नदिए पनि महामन्त्रीमा लड्छु, जितेँ भने कांग्रेस सुधार्छु : गगन थापा [अन्तर्वार्ता]

तीर्थराज बस्नेत  |  काठमाडौं, शनिबार, भदौ १९, २०७८

तीर्थराज बस्नेत

तीर्थराज बस्नेत

शनिबार, भदौ १९, २०७८, काठमाडौं

नेपाल समय

सत्तारुढ नेपाली कांग्रेसको वडा तहको अधिवेशन शुक्रबार सुरु भएको छ। पार्टीको तल्ला तहको अधिवेशन थालनीसँगै केन्द्रीय नेतृत्वका लागि आकांक्षीहरुले धमाधम दाबी प्रस्तुत गरिरहेका छन्। यही क्रममा नेपाली कांग्रेसका प्रभावशाली युवा नेता गगन थापाले महामन्त्री पदका लागि आफ्नो उम्मेदवारी घोषणा गरिसकेका छन्। १३ औं महाधिवेशनमा पनि महामन्त्रीमा पदमा प्रतिस्पर्धा गरेका थापा शशांक कोइरालासँग पराजित भएका थिए। पूर्वस्वास्थ्यमन्त्रीसमेत रहेका थापाले पार्टीमा युवा पुस्ताले नेतृत्व गर्नुपर्ने अडान राख्दै आएका छन्। महामन्त्रीका उम्मेदवार थापासँग नेपाल समयका लागि तीर्थराज बस्‍नेतले महाधिवेशन केन्द्रित रहेर गरेको कुराकानी :

१४ औं महाधिवेशनमा महामन्त्री पदमा लड्ने घोषणा आफ्नै वडाबाट गर्नुभयो। कस्तो सन्देश दिन खोज्नुभएको हो? 

मैले धेरै पटक मनको कुरा सुनेर निर्णय गरेको छु, कुनै हिसाबकिताब नगरी। त्यसबाट कहिले मलाई लाभ भएको छ, कहिले हानि। यसपटक पनि त्यस्तै भयो। उम्मेदवारीका बारेमा सार्वजनिक संकल्प वा घोषणा गर्छु भन्ने मेरो केही योजना थिएन। वडास्तरीय कार्यकर्ता भेला थियो। म आज जे छु, त्यसमा सबैभन्दा ठूलो योगदान त्यही वडामा काम गर्ने पार्टीका साथीहरू र सिनियर नेताहरूको छ। म पहिलोपटक बोलेको पनि त्यहींबाट, पार्टी सदस्यता लिएको पनि त्यहींबाट। नारा लगाएको, जुलुसमा हिँडेको, भित्तामा पेन्टिङ गरेको जस्ता काम मैले त्यहींबाट सिकेको हुँ।

त्यसैले यसपटकको अधिवेशनमा मेरो तयारी यस्तो छ है, यो तयारीका बारेमा मैले तपाईंहरूकै बीचमा म यो बाटोमा हिँड्दैछु भन्ने योजना थियो। भेलामा सबैको परिचयात्मक कार्यक्रम गर्दै गर्दा नयाँ साथीहरूसँग परिचय गर्न खोजेको थिएँ। उम्मेदवारी घोषणा गर्छु भन्नेचाहिँ थिएन। बोल्दै गएँ– मनमा आयो भनिदिएँ। अलि पछाडि तयारीका साथ उम्मेदवारी घोषणा गर्थें होला। तर, अहिले सोच्दा ठिक गरेछु भन्ने लागेको छ। मैले सही ठाउँमा आफ्नो कुरा राखें। मेरो आधार त्यही हो, मेरो माटो त्यही हो। आखिर फर्कनुपर्ने त्यहीं नै हो। जे गरें ठिक गरें।  

सामान्यतया टिम बनाएर उम्मेदवारी घोषणा गर्ने चलन छ। तपाईंले त टिम बनिनसक्दै उम्मेदवारी घोषणा गर्नुभयो। यसको अर्थ के होला?  

अघिल्लो पटकको महाधिवेशनमा पनि यसैगरी उम्मेदवारी घोषणा गरेको थिएँ। महामन्त्री उठ्छु भनेर मन बनाएँ। अनि सार्वजनिक गरें। नेता र साथीहरूसँग छलफल गरें। त्यति बेला मेरो उमेर समूहका साथीहरू र नेताहरूसँग तपाईंहरूमध्ये कोही लड्नुहुन्छ भने भन्नुस् पनि भनेंको थिएँ। हाम्रो पुस्ताले  जिते पनि हारे पनि  महामन्त्रीमा दावा गर्नुपर्छ भनेर निर्णय गरेर अघि बढेको थिएँ। कृष्ण सिटौला सभापतिमा लड्ने तयारीमा हुनुहुन्थ्यो। उहाँ सभापतिमा लड्ने तयारीमा भएपछि किन सँगै नलड्ने भन्ने भयो। कुरा मिल्यो। सँगै लड्यौं। यस पटक परिस्थिति फरक छ। म विगत तीनचार वर्षदेखि थुप्रै नेताहरुसँग निरन्तर संवादमा  छु। आखिर अघि बढ्ने त समूहमै बसेर हो। 

कृष्ण सिटौला जोसँगै म महामन्त्री लडें र नजिक बसेर काम गरिरहेको छु। उहाँसँग अहिले पनि छलफल गरिरहेको छु। मलाई के विश्वास छ भने कि उहाँले मलाई कन्भिन्स गर्नुहुन्छ वा मैले कन्भिन्स गर्छु। जे भए पनि हामी कन्भिन्स भएर एकै ठाउँमा उभिन्छौं भन्ने पूर्ण विश्वास छ। हामीले पार्टीभित्र तीन वर्षयता एउटा अभ्यास गरिरहेका छौं। १२/१५ जना केन्द्रीय सदस्यहरु बसेर सल्लाह गर्ने, साझा धारणा बनाउने र पार्टीमा केही हस्तक्षेप गर्ने प्रयास गरेका छौं। केही परिणाम आयो, केही आएन। तर, हाम्रो प्रयास निरन्तर रह्यो। म ती दाइहरु र साथीहरुसँग पनि निरन्तर संवादमा छु। उहाँहरुसँग पनि समझदारी गर्ने हो। अरू सभापतिका आकांक्षी नेताहरूले पनि एकअर्कासँग कुरा गरिरहनुभएको छ। हामीसँग पनि कुराकानी भइरहकै छ। महामन्त्रीको उम्मेदवारचाहिँ मै हुँ। यो मेरो दाबी हो। 

कतिपयले तपाईंको उम्मेदवारीलाई लिएर ‘म उम्मेदवार हुँ, सम्भावित टिमले मलाई एडप्ट गर्न सक्छ, म खुला छु’ भन्ने सन्देश दिन खोज्नुभएको हो भनेर अर्थ्याएका छन् नि? 

नेपाली कांग्रेसका साथीहरू जो यसपटक महाधिवेशन प्रतिनिधि भएर आउँदै हुनुहुन्छ। उहाँहरूका पनि सभापतिको उम्मेदवारका बारेमा केही अनुमान छन्। दुई जना लड्नुहुन्छ कि चार जना लड्नुहुन्छ, को लड्नुहुन्छ वा हुँदैन भन्नेबारे सबैका आँकलन छन्। महामन्त्री पनि को–को लड्नुहुन्छ भन्ने अनुमान छ। तर, सबैलाई थाहा छ- एकजना महामन्त्रीको उम्मेदवार म हुँ। मलाई सबैले मत हाल्नुहुन्छ भन्ने होइन, मत हाल्नेलाई मात्र होइन नहाल्नेलाई पनि गगन थापा महामन्त्रीको उम्मेदवार हो भन्ने थाहा छ। 

तीन–चार जना नेताहरु एकअर्कासँग छलफल गरेर सभापतिको उम्मेदवार तय गर्ने प्रयास गरिरहनुभएको छ। मचाहिँ त्यसमा कृष्ण सिटौला पनि थप्नुपर्छ भन्छु। जो–जो सभापतिको आकांक्षी हुनुहुन्छ, उहाँहरुबीच सहमति गरेर उम्मेदवार बनाउनुपर्छ। र त्यसरी बनेको टिमभित्र बसेर हामीले काम गर्ने हो। उहाँहरुले बनाउन सक्नुभएन भने पनि हामीले हस्तक्षेप गर्नुपर्छ।

सभापतिका आकांक्षीहरूले मलाई व्यक्तिगत रूपमा पालैपालो फरकफरक ठाउँमा बोलाएर मसँग महामन्त्री बनेर लड्नपर्‍यो, सँगै बसेर काम गरौं भन्नुभएको छ। मैले उहाँहरुसँग बसेर छलफल गरिरहेको छु। किनभने मैले अहिल्यै तपाईं नै हो, म तपाईंसँग छु भन्न किन आवश्यक ठानिनँ भने उहाँहरुकै बीचमा कुराकानी भइरहेको छ। र पार्टीका साथीहरूले पनि बिस्तारै आफ्ना कुरा व्यक्त गरिरहनुभएको छ। म उचित समयको पर्खाइमा छु।  म संवादमा थिएँ, छु र भोलि पनि जारी रहनेछ। 

तपाईंले महामन्त्रीमा लड्ने घोषणा गरेपछि कार्यकर्ता तहमा एउटा ऊर्जा थपेको देखिन्छ। तर, कसको नेतृत्व र टिममा लड्नुहुन्छ? भन्ने प्रश्न अझै अनुत्तरित छ। यसबारे केही संकेत गरिदिन मिल्छ? 

पहिला त यो महाधिवेशनमा कतिवटा समूह बन्छ र तिनको नेतृत्व क–कसले गर्छ भन्ने टुंगो लागेको छैन। यस्तो अवस्थामा मैले यसरी जान्छु भन्ने अवस्था पनि रहेन। यतिचाहिँ भन्न सकिन्छ कि तीन–चार जना नेताहरु एकअर्कासँग छलफल गरेर सभापतिको उम्मेदवार तय गर्ने प्रयास गरिरहनुभएको छ। मचाहिँ त्यसमा कृष्ण सिटौला पनि थप्नुपर्छ भन्छु। जो–जो सभापतिको आकांक्षी हुनुहुन्छ, उहाँहरुबीचमा सहमति गरेर उम्मेदवार बनाउनुपर्छ। र त्यसरी बनेको टिमभित्र बसेर हामीले काम गर्ने हो। उहाँहरुले बनाउन सक्नुभएन भने पनि हामीले  हस्तक्षेप गर्नुपर्छ।


तर, एक जना सभापतिको उम्मेदवार बनाउने हो र त्यही टिममा बसेर काम गर्ने हो। यसो भन्दै गर्दा चारपाँच जनामा कसले सफलता प्राप्त गर्छ? कसलाई सजिलो होला भनेर हेरिएला। अर्को कुरा कोसँग काम गर्दा सहज हुन्छ भनेर हेरिएला। महत्त्वपूर्ण कुराचाहिँ महाधिवेशन भनेको आवधिक हो। नेतृत्व आउने चार वर्षका लागि न हो। म कांग्रेसको महामन्त्री भएँ भने पनि चार वर्षका लागि हो।

सभापति र महामन्त्रीको जुन लिडरसिप हुन्छ, यो चार वर्षमा कांग्रेस हाँकिरहँदा देशमा के हुन्छ त? भन्नेबारे पनि विचार गर्नुपर्छ। एकडेढ वर्ष कांग्रेस नेतृत्वको सरकार चल्छ। त्यसपछि निर्वाचन हुन्छ। निर्वाचनमा कांग्रेसले जनताको मत प्राप्त गरेर आफूलाई पहिलो होइन एकल बहुमत प्राप्त गरेर देश चलाउने अवस्थाको पार्टी बनाउनुपर्छ। यस्तै द्वन्द्व व्यवस्थापन गर्न सक्ने नेतृत्व हामीलाई चाहिएको हो। मलाई महामन्त्रीका रूपमा त्यो काम गर्न सक्छु भन्ने दृढ विश्वास छ। यस्तो काम गर्न को सभापति हुँदा सजिलो होला भनेर त मेरा पनि मनका कुरा छन्। पार्टीका साथीको मनमा पनि कुरा छन्। त्यो भन्नुपर्ने ठाउँमा भनौंला पनि। अहिले उहाँहरुबीच पनि त कुरा चलिरहेको छ। यस्तो बेलामा बढी जान्ने किन हुने? 

सभापतिका आकांक्षीहरूबीच संवाद हुँदै गर्दा यसमा तपाईंहरूको कुनै योगदान छ र? तपाईंहरू मिल्नुस् भनेर सुझाव वा दबाब दिनुभएको छ कि? 

छ। यसको पृष्ठभूमिमा हामीहरुकै मेहनत छ। हामी लगातार उहाँहरुसँग बसेका छौं। आफूआफूबीच पनि छलफल गरेका छौं। हामीले उहाँहरुलाई के सन्देश दिएका छौं भने तपाईंहरु तीनचार जना सभापतिको उम्मेदवार हुनुभयो भने तपाईंहरुसँग कोही पनि पदाधिकारी लड्दैन। एकदम सामान्य अंकगणितको कुरा गरौं न। सभापतिका उम्मेदवार दुईतीन जना हुनुभयो भने जो साथीले पदाधिकारी लड्ने तयारी गरेका हुन्छन् त्यसका लागि त आत्मघाती भइहाल्यो नि। किन लड्ने त्यहाँ गएर? आफ्नै बाटो खोज्छ नि उसले। त्यसैले हामीले भन्नुपर्ने हुन्छ- कि तपाईंहरुले एउटा टिम बनाउनुस्, नत्र हामी समूहगत निर्णय गरेर अघि बढ्छौं। जोसँग हामी उभिन्छौं, त्यही सभापतिको उम्मेदवार भयो।

सकेसम्म त्यो अवस्था नआओस् भनेर हामीले लगातार उहाँहरूलाई भन्यौं। उहाँहरूले यस्तो अवस्था आउन दिँदैनौं, हाम्रो बीचमा छलफल भइरहेको छ, सकेसम्म अगाडि नै मिलाउँछौं, नभए पनि जिल्ला अधिवेशन सकिएलगत्तै हामीले एकजना सभापतिको उम्मेदवार तय गर्छौं भनिसक्नुभएको छ। सायद त्यसरी टुंगिन्छ होला। 

सभापतिका आकांक्षीहरू एक ठाउँमा आउने र एउटै टिम बनेर प्रतिस्पर्धा गर्ने अवस्था आउँछ होइन त? 

हो मलाई एकदम विश्वास छ। उहाँहरुको आ–आफ्नो हिसाबकिताब छ। पार्टीभित्रको ‘डायनामिक्स’ उहाँहरूले पनि बुझ्नुभएको छ। महाधिवेशनमा दुई–तीन जना उम्मेदवार हुँदा के हुन्छ भन्ने पनि बुझ्नुभएकै छ। नेतृत्व परिवर्तन गर्नुपर्छ पनि भन्ने र आफैं हुनुपर्छ पनि भन्ने कुरा त मिल्दैन। यति कुरा त उहाँहरुले बुझ्नुभएको छ।  

भनिन्छ, राजनीति सम्भावनाको खेल पनि हो। भोलि घुमिफिरी संस्थापन पक्ष अर्थात् शेरबहादुर देउवाले महामन्त्री लड्न प्रस्ताव गर्नुभयो भने तपाईं के गर्नुहुन्छ?  

म चाहन्छु, आदरणीय सभापति शेरबहादुर देउवाले यस पटक महाधिवेशनमा प्रतिस्पर्धा गर्नु हुँदैन। उहाँले प्रधामन्त्रीका रूपमा १७–१८ महिना मुलुक चलाउनुपर्नेछ। प्रधानमन्त्री पार्टी सभापतिको प्रतिस्पर्धामा आउने कुरा आफैंमा उपयुक्त होइन र उमेरका हिसाबले पनि। उहाँको नेतृत्व कतिपय हिसाबले असफल पनि भयो। पछिल्लो समयमा हामीले केही सफलता पनि प्राप्त गरेका छौं। पार्टी अहिले फेरि सरकारमा पुगेको छ। यो एउटा पक्ष भयो। तर, यसका विविध पक्ष छन्। खासगरी इलोक्टोरोल पोलिटिक्समा पार्टीलाई अनुकूलता छ। त्यसैले म उहाँको आशीर्वाद चाहन्छु। म उहाँको कार्यकर्ता हुँ, त्यसैले शुभेच्छा र माया चाहन्छु।

म उहाँसँग आग्रह गर्छु– अधिवेशन गराउनुस्, सफलता भइहाल्यो र सबैलाई लड्नका लागि छोडिदिनुस्। सफलतापूर्वक सरकार चलाएर चुनावमा जाँदा नयाँ नेतृत्वले कांग्रेसलाई बहुमत भएको पार्टी बनाउँछ। त्यसतर्फ जानुपर्छ भन्ने मेरो जोडदार आग्रह, सुझाव र निवेदन छ। म उहाँलाई व्यक्तिगत रूपमा र सार्वजनिक रूपमा यही भन्छु। पार्टी र उहाँका लागि पनि यो निर्णय सर्वाेत्तम हुनेछ। 

तपाईंले जुन पदमा दाबी गरिरहनुभएको छ। त्यो पदमा पनि आकांक्षीको लर्कै लाग्ने स्थिति छ। भोलि तपाईं टिममा नपर्ने स्थिति आइपर्‍यो भने एकल महामन्त्रीको उम्मेदवार बनेर मैदानमा होमिने सामर्थ्य छ? 

लडिहाल्छु नि। तपाईंले भनेजस्तो पक्कै नहोला। तैपनि १४ औं महाधिवेशनको महामन्त्रीको उम्मेदवार म हुँ। यसमा कुनै ‘इफ बट’ को कुरै छैन। मेरो ठाउँ कहाँनेर बन्छ, कसरी बन्छ? त्यो एउटा पक्ष भयो। अधिवेशनपछि म महामन्त्री हुन्छु कि हुन्न त्यो मदताताको निर्णयको कुरा हो। उम्मेदवारी त मेरो निर्णय हो। यो निर्णय मैले लिइसकें। अघिल्लो अधिवेशन सकिइसकेपछि म पार्टी केन्द्रीय सदस्यको जिम्मेवारीमा रहें।सांसद र मन्त्री भएँ। म धेरै घुमिरहनेमध्ये पर्छु। पार्टीको कार्यक्रममा गाउँसहर, मधेस, पहाड, देशविदेश गइरहन्छु। पार्टीकै साथीहरूका बीचमा काम गरिरहेको छु।

पार्टीका समर्थक र शुभेच्छुकहरु पार्टीको नेतृत्वमा आओस् भन्ने चाहन्छन्। त्यसकै आधारमा म उम्मेदवार बन्ने निधोमा पुगेको हुँ। मलाई पार्टीका प्रतिनिधिहरुले राखिदिन खोजेको ठाउँ महामन्त्री हो। मैले दाबी गरेको भन्दा पनि उहाँहरुले मलाई राखिदिन खोजेको चाहनालाई सम्बोधन गर्ने प्रयास गरेको हुँ। 

पार्टीको भविष्यका बारेमा र खासगरी पार्टीका माध्यमबाट देशका बारेमा मेरा आफ्ना चिन्तन छन्। म त्यही सोचिरहेको हुन्छु। देशैभरि जाँदै गर्दा जनता जो कांग्रेसलाई माया गर्नुहुन्छ, शुभेच्छुक हुनुहुन्छ। उहाँहरूसँग भेट्दा तपाईं नेतृत्वमा आउनुपर्‍यो, पार्टी सम्हाल्नुपर्‍यो र चिन्ता देशको भयो भन्नुहुन्छ। पार्टीका सदस्यहरूलाई भेट्दै गर्दा तपाईंहरुले अझै खुट्टा कमाउने? आउनुपर्‍यो, आँट गर्नुपर्‍यो, तपाईंले जिम्मा लिनुस्, सक्नुहुन्छ, तपाईंमा ठूलो भरोसा छ भन्नुहुन्छ। जनता र शुभेच्छुकका कुरा सुनेर त मलाई यसै पटक पार्टी सभापति बन्ने चाहना पलाएको थियो। मैले साथीहरुसँग प्रस्ताव पनि गरें। यसमा लुकाउने कुरा केही छैन। तर, बहुसंख्यकले चाहिँ तपाईंलाई अब आउने महाधिवेशनमा महामन्त्री बनाउने हो भनेका छन्। कसैले तपाईं फेरि उत्ताउलो भएर सभापति नलड्नुस् नि भनेका छन्। कसैले नआत्तिनुस् है, अघिल्लो पटक तपाईंलाई सहयोग गर्न सकेनौं, यसपटक गर्ने हो भनेका छन्।


यस्ता कुरा सुनिसकेपछि आफैंभित्र धारणा बनाउँदै गर्दा के टुंगोमा पुगें भने जनताको पंक्ति म कांग्रेस नेतृत्वमा आएर, पार्टीलाई सुदृढ बनाएर देशमा सही काम गरोस् भन्ने चाहन्छ। पार्टीका समर्थक र शुभेच्छुकहरु पार्टीको नेतृत्वमा आओस् भन्ने चाहन्छन्। म त्यसकै आधारमा यो निधोमा पुगेको हुँ। मलाई पार्टीका प्रतिनिधिहरुले राखिदिन खोजेको ठाउँ महामन्त्री हो। मैले दाबी गरेको भन्दा पनि उहाँहरुले मलाई राखिदिन खोजेको चाहनालाई सम्बोधन गर्ने प्रयास गरेको हुँ। उहाँहरुको आग्रहलाई मैले हस भनेर स्वीकार गरेको हुँ।   

यहाँले अघि पनि सिटौलाको प्रसंग उप्काउनुभयो। र अहिले सभापतिका आकांक्षीको समूहमा उहाँलाई समावेश गर्नुपर्छ भन्नुभयो। सिटौला सभापति लड्ने स्थितिमा तपाईं सोही टिमबाट महामन्त्री लड्ने सम्भावना छ वा छैन? 

मलाई लाग्छ, उहाँ लड्नुहुन्न। किनकि पटकपटकको छलफलमा हामीले के भन्दै आएका छौं भने एक पटक सभापतिमा प्रतिस्पर्धा गरिसकेपछि आउन सकिएन भने नयाँलाई ठाउँ दिनुपर्छ। मलाई लागेको यही हो। जब सभापतिले निर्वाचनमा पार्टी लिएर जान्छ र पार्टी परास्त हुन्छ भने पनि उसले नयाँलाई ठाउँ दिनुपर्छ। हामीले अनुशरण गरेको पद्धति यही हो। जस्तै- बेलायत भनौं न। पार्लियामेन्टी डेमोक्रेसी पद्धतिमा संसदीय प्रणाली र राजनीतिक दलको नेतृत्व चयनको सम्बन्ध बनेको हुन्छ।

हाम्रो जस्तो जमेको पोखरी काहीं पनि हुँदैन। नेतृत्वमा एउटै मान्छे २० औं वर्ष, ३० औं वर्षसम्म बसिरहने। कांग्रेस हेरे पनि, एमाले हेरे पनि, माओवादी हेरे पनि त्यही हो। हाम्रो संसदीय प्रणाली र पार्टीभित्रको निर्वाचन प्रणाली बीचमा संगति नमिल्दा यस्तो भएको हो। त्यसैले एक पटक सभापतिको प्रत्यासी भइसकेका आदरणीय नेता कृष्णप्रसाद सिटौलासँग के अनुरोध गर्छु भने अब सभापति नलड्नुहोस्। उहाँको चिन्ता पनि हाम्रै बारेमा छ। उहाँले हामीसँगको भेटघाटमा त्यही कुरा भन्नुहुन्छ। मेरो पार्टीका बारेमा भएको चिन्ता एक ठाउँमा छँदैछ। जो साथीले हिजो दुःखका दिनमा मलाई सहयोग गरे। उनीहरुको भविष्य र भविष्यको जिम्मेवारीबारे मेरो बढी चिन्ता हो भन्ने कुरा छ। 

सभापतिका आकांक्षीहरूबीच कुरा मिल्न सकेन। साझा टिम बन्न सकेन भने तपाईंहरु जसलाई युवा नेता भनेर परिभाषित गर्ने गरिन्छ, एक ठाउँमा आएर छुट्टै प्यानल बनाउने र प्रतिस्पर्धा गर्ने सम्भावना छ?

हाम्रो आँट नहुने त कुरै भएन। १० गते जिल्ला अधिवेशन हुन्छ। जिल्ला अधिवेशन सकिएपछि जिल्ला सभापति निर्वाचित भएर काठमाडौं आइसकेपछि र केन्द्रीय समितिमा रहेका साथीहरू जो हुनुहुन्छ, त्यस बेलासम्म नेताहरूले समझदारी गरेर उम्मेदवार तय गर्न सक्नुभएन भने हामीबीच छलफल गरेर यस पटक फलानालाई अघि सारेर जाँदा सफलता प्राप्त हुन्छ र यसका आधार यी हुन् भनेर जानुपर्ने अवस्थामा हामी पुग्छौं। हामीले आँट गरेर हाम्रै बीचमा उम्मेदवार बनाउने भन्दा पनि होस पुर्‍याएर गर्ने हो। नेताहरुले समझदारी गर्न सक्नुभएन भने हामीले गराइदिने हो। त्यो समझदारी गराउने आँट र क्षमता हामीले राख्छौं।  

विधानमा एउटा व्यवस्था छ। जुन व्यवस्थाले शीर्ष नेताहरुलाई झस्काएको पनि देखिन्छ। यसपटकको महाधिवेशनमा प्रतिस्पर्धा गरेर पराजित हुने व्यक्ति पाँच वर्ष पार्टी जिम्मवारीमा रहँदैन। यो त्रुटि हो कि युवा नेतृत्व स्थापित गर्ने कडी?  

त्यसबारे विधान निर्माण हुँदै गर्दा केही छलफल भएकै हो। खासगरी नेकपा एमालेको अघिल्लो अधिवेशन हेर्‍यौं। त्यसबारे पनि चर्चा भयो। प्रतिस्पर्धा गर्दा पराजित भएपछि केन्द्रीय सदस्य मनोनीत हुँदा केही फाइदा त होला। तर, त्यसले पार्टीलाई एक प्रकारले गिजोलेर राख्छ। जो प्रतिस्पर्धामा परास्त भयो। उसले पाँच वर्ष केन्द्रीय समितिबाहिर रहेर पनि लगातार मेहनत गर्ने, योग्यता राख्ने, क्षमता राख्ने र नथाकीकन काम गरिरहनुपर्छ। त्यसैले यही बाटोमा जाऔं भनेर हामीले यो निधो गरेका हौं। 

१३औं महाधिवेशनमा पराजित भइसकेपछि आगामी महाधिवेशनमा जित्ने गरी तयारी र रणनीति बनाउँछु भन्नुभएको थियो। विगत साढे पाँच वर्षमा कस्तो तयारी गर्नुभयो? कस्तो रणनीति छ तपाईंको? 

यसमा दुईवटा कुरा छन्। पहिलाे कुरा, पार्टीका साथीहरुलाई महामन्त्रीका रूपमा स्वीकार्य बनाउन सक्छु भनेर काम गरें। महामन्त्रीका रुपमा साथीहरुले कस्तो व्यक्तिलाई देख्न चाहन्छन्? म त्यो भन्दा पहिला पार्टीका विषयमा धेरै कुरामा जिम्मा लिने, पार्टीको प्रमुख धार समात्ने, पार्टीको भारी बोक्न तयार छु भन्ने भन्दा पनि पार्टीभित्रको विद्रोही चेत भएको मान्छे हुँ। त्यो चेतका साथ आफ्ना अभिव्यक्ति राखिदिएपछि पुग्छ। सिंगो पार्टी पंक्तिलाई समाएर–डोराएर हिँड्नुपर्ने काम होइन भन्ने सोचबाट प्रभावित भएको अवस्था थियो मेरो।

विगत चार–पाँच वर्ष मैले अब आउने महाधिवेशनमा आफूलाई सभापति वा महामन्त्री बनाउने हो भने पार्टीका साथीहरूलाई केही प्रभाव पार्नैपर्छ भन्ने सोचाइ राखें। त्यसले मलाई एकदमै मद्दत गर्‍यो। अहिले मलाई महामन्त्री बनाउनुपर्छ भनेर साथीहरुले भन्दै गर्दा यो गुट, त्यो गुट भन्ने केही पनि छैन। सभापतिका बारेमा आफ्ना प्राथमिकता होलान्। तर कार्यकर्ताबीचमा ‘यसलाई पार्टीको चिन्ता पनि छ र पार्टीलाई सम्हाल्न सक्छ’ भन्ने विश्वास दिलाएको छु। 

दोस्रो कुरा, मैले आफूलाई कसरी तयार गरें, साथीहरूको बीचमा कसरी प्रस्तुत गरें भने पार्टी महामन्त्रीको रोलचाहिँ के हो त? यो मैले पनि बुझ्नुपर्‍यो र साथीहरुलाई पनि बुझाउनुपर्‍यो। पार्टी उपभापति हुनु र महामन्त्री हुनु फरक हो।

महामन्त्रीको मूलतः तीनवटा भूमिका छ। महासमिति, महाधिवेशन वा बैठकको प्रस्ताव गर्ने जिम्मेवारी महामन्त्रीको हो। पार्टीको पोजिसन र त्यसको प्रस्तावक हो महामन्त्री भनेको। त्यसकारण हामी पार्टीको सैद्धान्तिक पक्षको कुरा गर्छौं। पार्टीको वैचारिक पक्षको कुरा गर्छौं।

त्यस सन्दर्भमा पार्टीलाई कहाँनेर उम्भाउने हो भन्ने निर्णय गर्ने जिम्मेवारी सभापतिको हो। तर त्यसका लागि राजनीतिक लाइन के लिनुपर्छ भनेर प्रस्ताव गर्नेचाहिँ महामन्त्रीले हो। एउटा ऐतिहासिक दृष्टिकोणका साथ हेर्ने हो भने पार्टी कहाँबाट आएको हो? कसरी आएको हो? कुनै पनि विषय हाम्रो धारणा जे बन्छ, कसरी बन्छ भनेर हेर्ने हो र काम गर्ने हो। त्यस विषयमा मैले योगदान गर्ने हो। 

देशभरका कांग्रेस कार्यकर्तालाई मात्रै होइन, आममानिसलाई कांग्रेसले यो निर्णय किन गर्‍यो भन्नेचाहिँ ठिक ढंगले विश्वस्त तुल्याउनुपर्‍यो। त्यसलाई आमकार्यकर्ताबीच लैजान पनि सक्नुपर्‍यो। त्यो काम कसले गर्ने हो? कसले बुझाउने? 

मैले काम गर्ने भनेको चाहिँ समसामयिक विषयमा हो। प्रत्येक दिन मुद्दा आउँछन्। ती मुद्दामा कांग्रेस कहाँनेर उभिने र कसरी प्रस्तुत हुने भन्ने हो। आज हामी सरकारमा छौं। एमाले फुटेर नयाँ पार्टी बनेको छ। देशभरका कांग्रेस कार्यकर्तालाई मात्रै होइन, आममानिसलाई कांग्रेसले यो निर्णय किन गर्‍यो भन्नेचाहिँ ठिक ढंगले विश्वस्त तुल्याउनुपर्‍यो। त्यसलाई आमकार्यकर्ताबीच लैजान पनि सक्नुपर्‍यो। त्यो काम कसले गर्ने हो? बुझाउने कसले हो? म अहिले कतै अन्तर्वार्ता दिन गएँ भने ती मेरा व्यक्तिगत कुरा हुने भए। यस्तो हुनुपर्थ्यो, यस्तो गर्नुपर्थ्यो भन्ने हुने भए। अब त पार्टीको जिम्मा लिएर भन्ने हो, यो निर्णय यस कारणले गरेको भनेर। त्यो काम महामन्त्रीको हो। 


अनि अर्को र महत्त्वपूर्ण काम भनेको पार्टी व्यवस्थापन हो। १० लाख क्रियाशील सदस्य भएको पार्टी सानो होइन नि। पार्टीभित्र अनेक बेथिति छन्। तिनलाई हटाउने र व्यवस्थापन गर्ने जिम्मेवारी महामन्त्रीको हो।  

यो भनिरहँदा अहिले जो महामन्त्री हुनुहुन्छ, उहाँहरू असफल हुनुभयो भन्न खोज्नुभएको  हो? 

त्यो होइन। उहाँहरू सबैका आ–आफ्ना योग्यता होलान्। मलाई अरुका बारेमा टिप्पणी गरेर आफ्ना कुरा स्थापित गर्नु छैन। मैले अहिले जे कुरा गरिरहेको छु। त्यो रातारात र यो कालखण्डमा मात्रै भएको होइन। अघिल्लो कालखण्डमा पनि हो।  १० औं, १५ औं वर्षदेखि बिग्रँदै आएको कुरा हो। मलाई कुनै पनि साथीले महामन्त्रीका रूपमा देख्दा तीनवटा पक्ष थाहा पाउनुहुनेछ। एउटा– कुनै पनि विषयमा पार्टीले लिनुपर्ने अडानमा स्पष्टता, त्यसलाई संगठनको तल्लो तहसम्म लैजाने कुरा। म महामन्त्री भएपछि कुनै पनि विषयमा कांग्रेसको पक्षधरता यो हो र यस कारणले गर्दा हो भनेर पार्टीले नागरिकस्तरसम्म सम्प्रेषण गरेको पाउनु हुनेछ। 

अर्को कुरा नेपाली कांग्रेसको व्यवस्थापनको हो। अहिले पार्टी अस्तव्यस्त र बिजोग अवस्थामा छ। त्यो सम्हालिएको देख्न पाउनुहुनेछ। तेस्रो र महत्त्वपूर्ण कुराचाहिँ कांग्रेस पार्टी अर्को आउने महाधिवेशनपछि निर्वाचनमा जान्छ। आगामी मंसिरबाट अर्को मंसिरसम्म एक वर्षसम्म शेरबहादुर देउवा नेतृत्वको सरकार रहन्छ जो पार्टी सभापति भए पनि। त्यो एक वर्षभित्र सरकारले सही ढंगले काम गर्न सक्नुपर्‍यो। एक वर्षपछि मंसिरमा चुनाव हुन्छ। तीन तहका निर्वाचनमा जाँदै गर्दा पार्टीले जित्न सक्नुपर्छ।

हामीले सबै काम विधान मिचेर गरेका छौं। हामी विधान मान्दैनौं। विधान उल्लंघन गर्ने काम सभापतिबाट सुरु हुन्छ। शेरबहादुर दाइ मात्रै होइन, सुशील दाइ हुँदा पनि त्यही थियो। वर्षौंदेखि हामी बाहिर कानुनी शासनका पक्षमा आन्दोलन गरिरहेका छौं भित्रभित्रचाहिँ पार्टी विधानलाई धुजाधुजा बनाइरहेका छौं।

अबको निर्वाचनमा करिब ३०–३५ लाख नयाँ मतदाता आउँदै हुनुहुन्छ। कांग्रेस महामन्त्री भएपछि ती मतदातालाई कांग्रेसका पक्षमा मत हाल्न मन लाग्ने पार्टी बनाउनुपर्छ मैले। नयाँ मतदाता जोड्नका लागि चाहिँ मैले मेरो ठाउँबाट योगदान गर्न सक्छु भन्ने विश्वास छ। मेरा शुभेच्छुकले मलाई के भनेका छन् भने 'तपाईं ठिक हुनुहुन्छ। तपाईंलाई विश्वास र भरोसा गर्छौं। तर, तपाईंको पार्टीमाथि अनेकन् प्रश्न छन्।' म महामन्त्री भएपछि मलाई व्यक्तिगत रूपमा गरेका विश्वासलाई पार्टीमा अनुवाद गर्ने हो। त्यहाँभित्र थुप्रै काम गर्नुपर्नेछ र गर्न सक्ने बनाउनुपर्छ। यो कुरा मलाई मनमा लागेर वा सोचेर बताएको होइन। पार्टीका शुभेच्छुक, समर्थक र सदस्यहरुले छलफलका क्रममा मलाई बताएका हुन्। उनीहरुले मलाई तँ भइस् भने कम्युनिकेट गर्छस्, पार्टीलाई वैचारिक स्पष्टता  दिन्छस्, नयाँ मतदातालाई आकर्षित गर्छस्, कांग्रेसभित्र पुनर्संरचना गर्छस्। भोलि पार्टी सरकारमा पुग्दै गर्दा डेलिभरी गर्न सक्ने बनाउँछस् भनेका छन्।

पार्टीमा सदस्य थपिनु त्यो पार्टीका लागि सुखद हो। तर, क्रियाशील सदस्यताका नाममा पार्टीभित्र विवाद हुने गर्छ। सदस्य थप्ने र थपिने कुरा त राम्रो होइन र? साधारण सदस्यको अभिलेखसमेत राख्न नसक्ने पार्टी कसरी बलियो बनाउनुहुन्छ तपाईंले?

यसमा दुई पक्ष छन्। एउटा पार्टीको विधानको पक्ष। मेरो अडान के हो भने देशमा कानुन र संविधानको शासन खोज्ने पार्टीले पहिला पार्टीभित्र विधानअनुसार शासन चलाउनुपर्छ। हाम्रो पार्टीको विधानले के भन्छ– साधारण सदस्यको अभिलेख राख भन्छ। तीन वर्ष क्रियाशील सदस्य बाँड, चौथो वर्ष नबाँड भन्छ। पार्टी विधानले रमेश लेखकको समिति, कृष्णप्रसाद सिटौलाको समिति चिन्दैन। विधानले शेरबहादुर दाइको घरमा बस्ने पदाधिकारी, पूर्वपदाधिकारी बैठक चिन्दैन। हामीले सबै काम विधान मिचेर गरेका छौं। हामी विधान मान्दैनौं। विधान उल्लंघन गर्ने काम सभापतिबाट सुरु हुन्छ। शेरबहादुर दाइ मात्रै होइन, सुशील दाइ हुँदा पनि त्यही हो। वर्षौंदेखि हामी बाहिर कानुनी शासनका पक्षमा आन्दोलन गरिरहेका र भित्रभित्र पार्टी विधानलाई धुजाधुजा बनाइरहेका छौं। जुन दिनसम्म कांग्रेस सञ्चालनको मूल मन्त्र विधिको शासन, विधानको शासन अक्षरसः पालना गर्ने भन्ने हुँदैन त्यो दिनसम्म यस्तो समस्या आइरहन्छ। 

मचाहिँ पार्टीमा दुई खालका सदस्यता राख्न हुँदैन भन्ने पक्षमा छु। यसमा हामीले लबिङ गरेका छौं र एक तहसम्मको सफलता पनि प्राप्त गरेका छौं। कोही मान्छे पार्टीको सदस्य बन्छु भनेर आउँछ भने रोकिदिने भन्ने हुन्छ? मेरै क्षेत्रमा क्रियाशील बन्छु भनेर आउनेलाई मैले दिन सक्दिनँ। कस्तो पार्टी होला त? म तिम्रो पार्टीको सदस्यता लिन्छु, लेबी तिर्छु, कर्मठ कार्यकर्ता भएर काम गर्छु भन्दा हैन हाम्रोमा त मिल्दैन भन्ने। यो त रेजिमेन्डेट पार्टी भएन। यस्तो व्यवहार कम्युनिस्ट पार्टीलाई सुहाउँछ। हामी कार्यकर्तामा आधारित पार्टी होइनौं।

कसैको अप्ठ्याराले जनतालाई अप्ठ्यारो बनाउन पाइन्छ? यत्रो दिनसम्म मन्त्रालय खाली राख्ने? अहिले काम गर्दै जाने, सल्लाह गर्दै जाने र मिलेन भने त्यसलाई बदल्ने पो हो त। ५० औं दिनसम्म मन्त्रालय खाली राखेर हुन्छ? मन्त्रालयले गर्ने कामसँग कर्मचारी वा मन्त्रीको कुरा जोडिएको छैन नि। आमजनताको कुरा जोडिएको हुन्छ।

मानौं न काठमाडौं जिल्लामा ५० हजार कांग्रेस सदस्य भए। अब आउने अधिवेशनमा कोही काठमाडौंको सभापति लड्न चाह्यो। काठमाडौं सभापति लड्न चाहने व्यक्तिले कम्तीमा पन्ध्र सय-दुई हजार सदस्यको समर्थन लिनुपर्ने व्यवस्था गरौं न। जब तपाईंले सदस्यता नै रोकिदिन थाल्नुहुन्छ तब समस्या आउँछ। सोही कारण अहिले समस्या आएको हो। कांग्रेसको सदस्य भने सकिइहाल्यो नि। कोही पनि मान्छे आएर सय रुपैयाँ तिरेर म कांग्रेसको सबै कुरा मान्छु र सदस्यता लिन्छु भन्यो भने दिने हो नि। 

राजनीतिको चक्र घुमिफिरी कांग्रेसका पक्षमा आइपुगेको छ। कांग्रेस नेतृत्वमा सरकार बनेको छ। तर, डेढ महिनासम्म सरकारले पूर्णता पाउन सकेको छैन। के भन्नुहुन्छ?  

मलाई अहिले केमा आपत्ति छ भने यत्रो दिनसम्म र प्रधानमन्त्री चलाएर आइसकेका नेताहरुले किन मन्त्रिपरिषद् विस्तार गर्न नसकेको? मन्त्री र मन्त्रालयले गर्ने कामसँग जनताको दैनिक जीवन जोडिएको छ। हाम्रा अप्ठ्यारा होलान्। तर, कसैको अप्ठ्याराले जनतालाई अप्ठ्यारो बनाउन पाइन्छ? यत्रो दिनसम्म खाली राख्ने? अहिले काम गर्दै जाने, सल्लाह गर्दै जाने र मिलेन भने बरु त्यसलाई बदल्ने पो हो त। ५० औं दिनसम्म मन्त्रालय खाली राखेर हुन्छ? मन्त्रालयले गर्ने कामसँग कर्मचारी वा मन्त्रीको कुरा जोडिएको छैन नि। आमजनताको कुरा जोडिएको छ। यस्तो निर्णय हुँदै गर्दा पार्टीभित्र जुन प्रतिरोध हुनुपर्ने हो किन हुँदैन भन्ने कुराको सन्दर्भमा पार्टी सञ्चालनको विषय जोडिन्छ। जसका बारेमा अघि हामीले कुराकानी गर्‍याैं। म महामन्त्री भएको नेपाली कांग्रेसले चाहिँ चाहे सरकारमा हुँदै गर्दा होस्, वा बाहिर हुँदै गर्दा होस्। जनताले प्रश्न गर्न नसक्ने पार्टी बनाउने हो। यो एउटा उदाहरण मात्रै हो। यस्ता दर्जनौं कुरा पार्टीको जीवनमा आइरहन्छ। जनताको आँखाबाट हेर्दै गर्दा त्यो निर्णय सही हो कि गलत हो भनेर उसले सोच्दछ। हामी त्यहाँनेर खरो उत्रनुपर्छ। 

यहाँले कुनै सन्दर्भमा प्रधानमन्त्रीले चाहे आफू मन्त्री बन्न तयार छु भन्नुभयो। क्याबिनेट विस्तार भइनसकेको अवस्थामा मन्त्री बन्ने सम्भावना जीवितै छ कि समाप्त भइसक्यो?  

अब म मन्त्री बन्ने सम्भावना छैन। तर, आज मलाई खुसी लागेको छ। पार्टीका बहुसंख्यक सभापतिहरूले  प्रधानमन्त्रीलाई भेट्नुभएको छ। फलानोलाई स्वास्थ्यमन्त्रीको जिम्मेवारी देऊ, बनाउनुपर्छ भन्नुभएको छ। सांसदहरुले गएर पनि त्यही भन्नुभएको छ। पार्टीका नेताहरु र मन्त्रिपरिषद्मा गएका साथीहरुले भन्नुभएको छ। एउटा मन्त्रालय सम्हालेर निस्किएको मान्छेले त्यही मन्त्रालय दिनुपर्छ भनिरहँदा मैले पक्कै केही न केही त गरें होला नि। मलाई पार्टीले सांसदको जिम्मा होस् वा मन्त्रीको जिम्मा, संसदीय समितिको सभापतिको जिम्मेवारी होस् वा सडकमा आन्दोलनमा कार्यकर्ताको जिम्मेवारी दिएको छ। मैले पाएको जिम्मवारी इमानदारीपूर्वक पूरा गरेको छु। पार्टीका साथीहरुको शिर निहुराउन दिएको छैन। 

कतिपय विषयमा सरकार विवादमा पनि परेको छ। यसको उदाहरण जयसिंह धामी प्रकरणलाई नै लिन सकिन्छ। कांग्रेस सुदृढीकरणको कुरा गरिरहँदा यसले पार्टीलाई हानि गर्ला। यसलाई कसरी लिनुभएको छ? 

आगामी निर्वाचनमा आउने परिणाम धेरै हदसम्म अबको १६–१७ महिना प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वमा रहेको सरकारले गर्ने काममा निर्भर गर्छ। अहिले ओलीजीकै सरकार थियो भने हाम्रो निर्वाचनको परिणाम उहाँको काममा निर्भर रहन्थ्यो। ओलीजीको सरकारको विफलताको मूल्य उहाँले चुकाउनुपर्थ्यो। त्यसको फाइदा हामीले लिन्थ्यौं। इलेक्टोरल पोलिटिक्स भनेकै यही हो। तर, हाम्रो नेतृत्वमा सरकार हुँदै गर्दा हिजो केपी ओलीले  के गर्नुभयो र केही गर्नु भएन भन्ने कुराले मतदातालाई केही फरक पार्दैन। हामीले के गर्‍यौं, गर्दैछौं र गर्नेछौं भन्ने कुराले फरक पार्छ।

त्यसैले हामीले शेरबहादुर देउवालाई भेटेर भन्यौं- आफ्नो कार्यकाल सफल रहोस्, सुखद रहोस् भन्नेमा तपाईं जति चिन्तित हुनुहुन्छ होला, तपाईंको भन्दा बढी चिन्ता हामीलाई छ। तपाईंको भन्दा बढी चासो हामीलाई छ। किनकि निर्वाचनमा मत माग्न जाने त हामी हौं। मत माग्न हामी कुनै भारी नबोकीकन जान पाउनुपर्छ। हामीले भविष्य देखाएर मत माग्न पाउनुपर्छ। अबको पाँच वर्ष यो गर्छौं भनेर। तपाईंको यो कार्यकालमा असफलताको चुली भयो भने त्यसले हामीलाई यसरी थिच्छ कि अब हामी यो गर्छौं भनेर भन्ने आधार रहँदैन। यतिबेला प्रधानमन्त्रीले केही कुरा गर्दाखेरी के सोच्नुपर्छ भने आफूलाई एउटा सामान्य मानिसको जुत्तामा खुट्टा राखेर प्रधानमन्त्रीतर्फ फर्केर हेर्नुपर्‍यो। उहाँले सोच्नुपर्छ- मेरो कुरालाई जनताले कसरी लिएका होलान्? मन्त्रिमण्डल गठन गर्न सकिनँ, कसरी लिएका होलान्? सीमा विवाद सम्बन्धी वा अहिले हामीले दार्चुलाको कुराकानी गर्‍यौं। यो विषयलाई कसरी लिएका होलान्? 

कतिपय अवस्थामा चाहिँ प्रधानमन्त्रीका आफ्ना सीमा हुन्छन्। तर, मैले के गर्न खोजेको, कसरी गर्न खोजेको भन्ने कुरा कम्युनिकेट गर्नुपर्छ। यसरी प्रधानमन्त्रीले सोच्नुभयो, प्रधानमन्त्रीको टिमले सोच्यो र यसरी गर्दै गयो भने काम पनि ठिक गर्दै जान्छौं। गल्ती कमीकमजोरी भयो भने सच्याउँदै जान्छौं। मूलतः जनतालाई विश्वासमा लिँदै जान्छौं। अहिले प्राविधिक रुपमा बहुमत भयो त। अब १७–१८ महिना कसले हल्लाउन सक्छ र हामी नै राजा हौं भनेर जान थाल्यौं भने चाहिँ चुनावमा जनताले हिसाबकिताब देखाइदिन्छन्।

सरकारले ढिलोचाँडो निर्वाचन गराउनेछ। सरकारको कार्यशैलीले आगामी चुनावमा पार्टीको जित र हारमा धेरै भूमिका खेल्नेछ। सरकारले कस्ता प्राथमिकता बनाएर काम गर्नुपर्छ, जसले कांग्रेसलाई बहुमत दिलाउँछ? 

संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधानका आधारमा प्रधानमन्त्री ओली निर्वाचित भएर आइसकेपछि हामीले तीनचार वर्ष उहाँमाथि उठाएका प्रश्नहरु हेर्नुपर्छ। खासगरी संविधानप्रतिको उहाँको प्रतिबद्धता र निष्ठामा हाम्रा धेरै प्रश्न रहे। चाहे त्यो संघीयताका सन्दर्भमा होला वा अरू। अदालतदेखि अख्तियारसम्म र प्रधानमन्त्री कार्यालयले शक्तिको दुरुपयोग गरेका विषयमा हाम्रा कति विमति थिए। हामीले तीन वर्षसम्म आफैंले उठाएका एकएक प्रश्न हेर्नुपर्छ। बालुवाटारमा बैठक राख्ने वा नराख्ने कुरामा बैठक राख्न हुँदैन भन्दा कति साथी रिसाउनुभयो। ससाना कुरामा पनि प्रधानमन्त्रीको टाउको दुखाउने भन्नुभयो। हामीले सानो वा ठूलो कुरा होइन। हिजो हामीले के प्रश्न उठाएका थियौं? त्यसलाई हेर्ने हो। सरकारको एउटा प्राथमिकता भनेको त म जे गर्छु, खाता पल्टाएर हेर्छु भन्ने हुनुपर्‍यो। 

दोस्रो कोभिड व्यवस्थापन हो। जसरी प्रधानमन्त्रीले खोप, खोप, खोप भन्नुभएको छ। तर, खोप मात्रै होइन कोभिडको सगम्र व्यवस्थापन गर्नुपर्छ। कोभिड व्यवस्थापन ठिक ढंगले गर्‍यो भने त्यसले गैरस्वास्थ्य क्षेत्रमा सकारात्मक प्रभाव पार्छ। 

तेस्रो भनेको हाम्रो अर्थतन्त्र चौपट भएको छ। यसलाई ढाकछोप गर्ने प्रयास गर्न हुँदैन। गएको एकडेढ वर्षमा लाखौं मानिसको जीवन बिजोग भएको छ। सिंहदरबारमा बसेर बेलाबेलामा भेटघाट गरेर हुँदैन। अहिले त युद्धका बेला जसरी काम गर्नुपर्छ। त्यसैले मैले प्रधानमन्त्रीलाई भनेको तपाईंले कसरी प्रधानमन्त्री चलाउन सक्नुहुन्छ? १७–१८ महिना त तपाईंले २४ घण्टामा १७–१८ घण्टा काम गर्नुपर्छ। म स्वास्थ्यमन्त्री रहँदा मलाई ६ महिना समय थियो। मन्त्री पद जान्छ भन्ने पहिलै थाहा थियो। हामीले २० घण्टासम्म काम गर्‍यौं। किनकि समय छैन भनेपछि त युद्ध जस्तो भन्ने भयो नि। बीपी कोइरालाको कार्यकाललाई हामीले जसरी स्वर्णिम काल भनेर सम्झन्छौं। बीपीले पनि त्यही १८–१९ महिना चलाउनुभएको हो। त्यसैले म अर्को पटक सभापति बनेर फेरि पार्टी जिताएर बहुमत प्राप्त गरेर प्रधानमन्त्री बनेर मेरो नाम लेखाउँछु भनेर लाग्नै पर्दैन। अहिल्यै गजबसँग चलाइदिएमा बीपी कोइरालाको हाराहारीमा पार्टीका साथीहरुले  शेरबहादुर दाइलाई उभ्याउने ठाउँ देख्छु म। 


प्रकाशित: September 4, 2021 | 11:30:06 काठमाडौं, शनिबार, भदौ १९, २०७८
तीर्थराज बस्नेत

तीर्थराज बस्नेत

काठमाडौं, शनिबार, भदौ १९, २०७८

थप समाचार

हाम्रो पुस्ताले देश हाँक्ने बेला भइसक्यो, आकांक्षी नमिले सभापतिको उम्मेदवार हामी तोक्छौं : गुरुराज घिमिरे [अन्तर्वार्ता]

महाधिवेशन सुनिश्चित गर्ने जिम्मेवारी छोडेर अहिले नै म फलानो पदमा उठ्छु भनेर ज्यादा शक्ति खर्च गर्ने बेला भइसकेको छैन। समय आएपछि त्यो विषयमा म पनि बोलौंला।

ओलीको दोहोरो चरित्रले एमसीसी पास हुन सकेन : वर्षमान पुन [अन्तर्वार्ता]

बैठक राखेर अमेरिकीहरूलाई एमसीसीका पक्षमा रहेको देखाउने अनि रातारात अधिवेशन अन्त्य गरेर चिनियाँहरुलाई मैले रोकें भनेर भन्नुुभयो। यसको साक्षी त हामी छौं नि। अहिले त विपक्षी एमालेले एमसीसी पास हुुनु हुँदैन भनिरहेको छ।

चुनौतीको चाङमा रहेका अर्थमन्त्रीले आलोकाँचो काम गरिरहेका छन् : डा. पुष्प कँडेल [अन्तर्वार्ता]

सबै कम्युनिस्ट सरकारले श्वेतपत्र जारी गरेका छैनन्। तत्कालीन अर्थमन्त्री डा. युवराज खतिवडाले श्वेतपत्र जारी गरेका थिए। अहिलेका अर्थमन्त्रीले डा. खतिवडाको सिको गरेका हुन्।

रेशम चौधरीको रिहाइ कानुनअनुसार नै हुनेछ : महन्थ ठाकुर [अन्तर्वार्ता]

हतियारको बलमा आन्दोलन गर्ने माओवादी नेताहरु प्रधानमन्त्रीसम्म भइसके। उनीहरूमाथि लगाइएका मुद्दा सबै फिर्ता भए। मधेसी थारूसँग मात्रै यो विभेद किन?

आन्तरिक अन्तरविरोध नभएको र सकुशल पार्टी माओवादी मात्रै हो : देवेन्द्र पौडेल [अन्तर्वार्ता]

तत्कालिन नेकपा (एमाले)को विभाजन अनिवार्य थियो। विभाजनको लागि सहज बनाउने उद्देश्यसहित अध्यादेश आयो र अध्यादेशले कहीँ न कहीँ एउटा आकार लिइसकेपछि सदनभित्र पनि गठबन्धन बहुमतको रुपमा छ।

ट्रेंडिंग

नेपाल समय
राजनीति

भीम रावलले लिएको त्यो यु–टर्न, जसले उनलाई यता न उताको बनायो

पार्टीभित्र अन्तरसंघर्ष चर्काएर पार्टी फुटाउन उद्यत उनै रावल ओलीको दौराको फेर समाएर एमालेमै बसेका छन्। माधवकुमार नेपाललगायतले नयाँ पार्टी खोल्दा रावल पछि हटे।
नेपाल समय
श्रृंखला

कंगोमा कुटाइ खाएका नमराजको बयानः सेनाका क्याप्टेनहरूले मलाई फुटबल बनाएर हाने

फेरि पनि मलाई हान्न आउँदा मैले हात खडा गरी 'सर! मेरो गल्ती भए सजाय दिनुस्, यसरी नकुट्नुस्' भन्दा पनि 'तँ बढी बोलिस्' भनेर मलाई सहसेनानी (क्याप्टेन) इन्द्रबहादुर थापा र सहसेनानी सुबास हुमागाई (क्याप्टेन)ले फुटबल खेलेजस्तो गरी हान्नुभयो।
नेपाल समय
शिक्षा

तलबभत्ता निकासा नभएपछि देशभरका ईसीडी शिक्षक र विद्यालयका कर्मचारी आन्दोलित

स्थानीय तहले सरकारले तोकेबमोजिम ईसीडी शिक्षक (बाल विकास सहजकर्ता) र विद्यालय कर्मचारीको वृद्धि भएको तलब निकासा नगरेको भन्दै आन्दोलनमा उत्रिएका छन्।
नेपाल समय
संवाद

राष्ट्र बैंकको पैसा वाणिज्य बैंकमा सार्नेबित्तिकै तरलताको समस्या हट्छ : भुवनकुमार दाहाल [अन्तर्वार्ता]

बैंकहरुको आइडल फन्ड राष्ट्र बैंकमा छैन। उनीहरुले विभिन्न ऋणपत्रमा लगानी गरिरहेका छन्। आफूसँग आइडल रकम नभएपछि बैंकहरुले ऋणपत्र धितो राखेर ५ प्रतिशतमा राष्ट्र बैंकबाट ऋण लिनुपर्‍यो। बैंकहरुमा अहिले तरलताको अभाव नभएर आइडल फन्डको दबाब मात्र हो।
नेपाल समय
श्रृंखला

अनियमितताबारे हुनुपर्ने सेनाको अनुसन्धान किन मोडियो सूचनाको स्रोततिर?

जसको जागिर गुम्यो, उनीहरुलाई ‘कोर्ट अफ इन्क्वायरी’को टोलीले बयान नलिनुले नै छानबिन कतिसम्म फितलो र पूर्वाग्रही थियो भन्ने प्रष्ट देखाउँछ।

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

House -138, Suruchi Marg, New Baneshwor, Kathmandu, Nepal
फोन : +977-1-4790242 / +977-1-4790040
इमेल : info@nepalsamaya.com nepalsamayanews@gmail.com
  • प्रबन्ध निर्देशक
    तरुणप्रताप शाह
  • सम्पादकीय निर्देशक
    मुमाराम खनाल
  • प्रधान सम्पादक
    नारायण अमृत
Copyright © 2021. Design & Development by Cn’C